विकासन्युज

सीजीनेटले सार्वजनिक गर्यो ‘ह्याट्रिक दक्षिणा’ क्याम्पेन, क्याशब्याक पाइने

काठमाडौं । सीजी कम्युनिकेशन्सले सीजी डिजिटल र पेमेन्ट पार्टनर ईसेवा संग सहकार्य गर्दै आफ्नो दशैँ क्याम्पेन ह्याट्रिक दक्षिणा सार्वजनिक गरेको छ । नजिकिदो महान चाड दशैँ र क्रिकेट विश्वकप लाई दृष्टिगत गर्दैै ह्याट्रिक दक्षिणा क्याम्पेनले उपभोक्तालाई अतुलनिय फाइदा प्रदान गर्ने लक्ष्य लिएको कम्पनीको भनाई छ । सीजी डिजिटल र सीजीनेट विचको सहकार्य मार्फत यस योजना अन्तर्गत उपभोक्ताले पहिले कै मूल्यमा तेब्बर गतिको ईन्टरनेट सुविधा प्राप्त गर्न सक्नेछन् । साथै, योजना अन्तर्गत उपलब्ध गरिएका विभिन्न कम्बो छुटको लाभ लिँदै ३२,८५९ रुपैयाँ पर्ने ४३ ईञ्चको सीजी स्मार्ट टीभीका साथमा ३ महिनाका लागि सीजीनेट+आईपीटीभीको ८० एमबीपीएस सेवा प्राप्त गर्न सक्नेछन् । यो वास्तविक मूल्यको आधा हो । त्यसैगरी ३२ ईञ्चको सीजी स्मार्ट टीभी, २२६४४ रुपैयाँमा खरिद गर्दा ३ महिनाका लागि सीजीनेट+ आईपीटीभीको ५० एमबीपीएस सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । सीजी स्मार्ट टीभीका लागि अधिकतम छुट सुविधाका साथै यस अफर अन्तर्गत उपभोक्ताले ५० र ८० एमबीपीएस गतिको ईन्टरनेट सुविधा खरिद गर्दा तेब्बर गतिको ईन्टरनेट सुविधा प्राप्त गर्न सक्नेछन् । साथै उपभोक्ताले ईसेवाका माध्यमबाट सीजीनेटका प्याकेजहरु खरिद गर्दा ५ सय रुपैयाँसम्मको क्याशब्याक प्राप्त गर्न सक्नेछन् । सीजीनेटले भरखरै आफ्ना सेवाहरु पोखरा, बिराटनगर, ईटहरी, धरान र बीरगंज लगायत प्रमुख सहरमा बिस्तारित गरेको छ । कम्पनीका सेवाको उपभोक हेटौडा, बुटवल, भैरहवा, भरतपूर, सिमरा, बर्दिघाट, काठमाडौं, ललितपुर र भक्तपुरमा समेत उपलब्ध छ । उपभोक्ताको उत्साहजनक मागलाई विशेष ध्यानमा राखि सीजीनेटले आफ्ना सेवा प्याकेजहरुमा आईपीटीभीपनि समावेश गर्दै सर्वसाधारणका साथै विजनेसहरुलाई पनि कनेक्टिभिटी ट्रान्सफरमेशनको आफ्नो यस उत्साहजनक यात्रामा समावेश गर्ने प्रयास गरेको छ ।

बीवाइडीको ब्लेड ब्याट्री टेष्ट कार्यक्रम सम्पन्न, एनसीएम ब्याट्री भन्दा सुरक्षीत

काठमाडौं । बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंक प्रालिले ब्लेड ब्याट्री र एनसीएम ब्याट्री दुबैको ‘नेल पेनीट्रेसन टेष्ट’ गरेको छ । आज काठमाडौंमा भएको उक्त परिक्षणमा रियोले दुबै ब्याट्रीलाई प्वाल पारिएको थियो । यसरी प्वालपार्दा ब्लेड ब्याट्रीले कुनै किसिमको आवाज आउने, धुँवा निस्कने वा आगोलागी हुने कुनै घटना भएन । त्यहि एनसीएम ब्याट्री भने पड्केर ठूलो आवाजसहित आगलागी भएको थियो । ‘नेल पेनीट्रेसन टेष्ट’ ब्याट्रीको तापक्रम बढाएर गरिने सबैभन्दा कठिन परिक्षण हो । ब्याट्रीलाई मेसिनले थिचेर र सियो जस्तो किलाले प्वाल पारेर यसको परिक्षण गरिएको थियो । यसरी प्वाल पर्दा बीवाइडीको ब्लेड व्याट्री ६० डिग्रीसम्म तातेको थियो । त्यहि एनसीएम ब्याट्री ५०० डिग्री तातेर आगलागी भएको थियो । कम्पनीले बिक्री गर्ने सबै गाडीमा ब्लेड ब्याट्री प्रयोग भएको बताउँदै साइमेक्स इंकको सीईओ सहिल श्रेष्ठले भने, ‘सुरक्षामा अब्बल ब्लेड ब्याट्री रहेका सबै गाडी हामीले उपलब्ध गराएका छौं । प्रोडक्ट रेन्जसँग बीवाइडीको ब्लेड ब्याट्रीको सुरक्षामा एकिन गराउन यो परिक्षण गरेका हौं ।’ बीवाइडी हेडक्वाटरको सहयोग र बीवाइडी भारत टेक्नीकल सपोर्टमा उक्त कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले बताए ।

मोरङ्गमा नबिल बैंकको २६६ औं शाखा उद्घाटन

मोरङ्ग । मोरङ्गमा नबिल बैंकको २६६ औं शाखा उद्घाटन गरिएको छ । नबिल बैंकको २६६ औँ शाखा मोरङ्ग जिल्लाको सुन्दर हरैँचा नगरपालिका गोठगाँउ अवस्थित पुर्वाञ्चल विश्वविद्यालय परिसरमा उद्घाटन गरिएको छ । बैंकिङ पहुँच तथा सेवा विस्तार रणनीतिका साथ गोठगाँउमा शाखा विस्तार गरिएको नबिल बैंकले जनाएको छ । गोठगाँउ शाखाको उद्घाटन प्रमुख अतिथी पुर्वाञ्चल विश्वविद्यालयका उप कुलपति प्रा.डा.यादव राज कोईराला, नबिल बैंकका संचालक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा अथितिहरु पुर्वाञ्चल विश्वविद्यालयका रजिस्ट्रार निलमणि पोखरेल, उद्योग संघठन मोरङ्गका सभापति राकेश सुराना, नबिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे लगायत बैंकका उच्चअधिकारीहरूको उपस्थितीे रहेको थियो । नबिल बैंकका संचालक पौड्यालले पुर्वाञ्चल विश्वविद्यालय, गोठगाँउ क्षेत्रमा सहज वित्तीय पहुँच दिने र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले शाखा विस्तार गरिएको बताए । मन्तब्य दिने क्रममा प्रमुख अतिथी कोईरालाले यस क्षेत्रमा नबिल बैंकको उपस्थितिले खुसी तुल्याएको बताए । उनले स्थानीय स्तरमा वित्तीय पहुँच र आर्थिक उपार्जनका क्रियाकलापको लागि बैंकको उपस्थिति अर्थपूर्ण रहने बताए । पुर्वाञ्चल विश्वविद्यालय केन्दीय कार्यालय परिसरबाट हुने बैंकिङ सेवा विस्तारले विश्वविद्यालयका विद्यार्थी, कर्मचारी साथै स्थानिय वासी समेत लाभान्वित हुने कुरा बताए । बैंकले देशभर २६६ शाखा सञ्जालसहित १९ वटा एक्सटेन्सन काउन्टर र ३१० एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएकोे छ । नबिल बैंकसँग हालसम्म १८ लाखभन्दा बढी ग्राहक संख्या पुगेको छ ।

५ अर्ब ४७ करोड लागतमा सोलुखुम्बुमा मिडल इन्खु हाइड्रोपावर निर्माण हुने

काठमाडौं । पछिल्ला दिनमा जलविद्युत् आयोजनाको केन्द्रका रुपमा स्थापित हुँदै गएको सोलुखुम्बुमा थप एक आयोजना निर्माण हुने भएको छ । करिब २८ मेगावाट (२७ दशमलव नौ) मेगावाट क्षमताको मिडल इन्खु जलविद्युत् आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कनको प्रक्रिया अगाडि बढाइएको छ । वातावरणीय प्रभाव मूल्याङ्कनबाट प्राप्त विवरण सार्वजनिक गर्दैै वन तथा वातावरण मन्त्रालय र सम्बन्धित आयोजनाले त्यसमा सुझाव दिन आज एक सूचनामार्फत आग्रह गरेको छ । सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र माप्य दूधकोशी गाउँपालिका–७ मा अवस्थित रहेको सो आयोजना नदी प्रवाहमा आधारित प्रकृतिको छ । यस जलविद्युत् आयोजनाको ग्रस हेड चार सय २३ मिटर छ । सो आयोजनाको वार्षिक ऊर्जा उत्पादन एक सय ६४ गिगावाट घण्टा छ । प्रस्तावित आयोजनाको हेडवक्र्स, इन्टेक एप्रोच क्यानल, डिसेन्डर इन्खु खोलाको दायाँ किनारमा प्रस्ताव गरिएको छ । बाँकी हेडरेस टनेल, सर्ज साफ्ट, पेनस्टक पाइप, विद्युत्गृह, टेलरेस, स्वीचयार्ड, टर्बाइन इन्खु खोलाको बायाँ किनारमा प्रस्ताव गरिएको छ । आयोजनाबाट उत्पादित बिजुली एक सय ३२ केभी क्षमताको २५ किलोमिटर लामो प्रसारण लाइनमार्फत स्थानीय तिङ्ला सवस्टेशनमा जोडिनेछ । आयोजनाको कूल लागत पाँच अर्ब ४७ करोड ९८ लाख २३ हजार बराबर रहने प्रस्ताव गरिएको छ । यस आधारमा आयोजनाको प्रतिमेगावाट लागत १९ करोड ३५ लाख ५० हजार बराबर रहनेछ । आयोजनाको निर्माण चरणमा प्रत्यक्षरुपमा तीन सय ३७ जनाले रोजगारी प्राप्त गर्नेछन् । त्यसमा ४८ जना दक्ष, ५० जना अर्धदक्ष र कामदार र श्रमिक भने दुई सय ३९ जना रहने छन् । दक्षता र क्षमताअनुसार आयोजना प्रभावितलाई आयोजनामा रोजगारी प्रदान गरिनेछ । आयोजनाका विभिन्न संरचनाको निर्माणका लागि १७ दशमलव ४१ हेक्टर जग्गा आवश्यक पर्नेछ । त्यसमा १ दशमलव ४१ हेक्टर स्थायीरूपमा र छ हेक्टर अस्थायीरूपमा प्रयोग गरिनेछ । निर्माण सामग्री जस्तै तेल, मोबिल, ग्रिज, इन्धन तथा अन्य तरल पदार्थको चुहावट, ध्वनि प्रदूषण, जमीनको अस्थिरता र माटोको क्षयीकरण, प्राकृतिक जल बहावमार्गमा परिवर्तन, आयोजनाको संरचनाले भूवनोटमा परिवर्तन, ढुङ्गा खानी सञ्चालन, निर्माण सामग्री थुपार्ने र उत्खनन गर्दा निस्कने माटो तथा ढुङ्गाले पार्ने प्रभावआदि जस्ता प्रभाव निर्माण चरणमा देखिनेछ । यसका साथै सञ्चालन चरणमा खोलाको पानीको बहावमा कमी, खोलाको स्थानीय जलवायुमा प्रभाव, विद्युत् गृहबाट निस्कने ध्वनि, तेल, ग्रिज तथा अन्य रासायनिक पदार्थको चुहावट, पानीको गुणस्तरमा पर्ने प्रभाव, खोला थुनिएर हुनसक्ने असरआदि रहेको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख छ । सो आयोजनाको प्रस्तावक विद्युत् विकास विभाग छ । रासस

एभरेष्ट बैंकका ग्राहकलाई निरभाना फिजियोथेरापी सेन्टरमा २५ प्रतिशत छुट

काठमाडौं । एभरेष्ट बैंकका ग्राहकलाई निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टरमा विशेष छुट हुने भएको छ । एभरेष्ट बैंक र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टर, लाजिम्पाट बिच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यो संगै बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुले उक्त वेलनेस सेन्टरबाट विभिन्न सेवामा २५ प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् । बैंकका रिटेल तथा एसएमई प्रमुख विष्णु प्रसाद ज्ञवाली र वेलनेस सेन्टरका प्रबन्ध निर्देशक रजुल श्रेष्ठद्घारा हस्ताक्षर भएको छ । उक्त सम्झौता लागू भए संगै बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा तिनका पारिवारीक सदस्यहरुले उक्त वेलनेस सेन्टरबाट विभिन्न सेवामा १० प्रतिशत देखी २५ प्रतिशतसम्मको विशेष छुटको लाभ लिन सक्ने बैंकले जनाएको छ । सो समारोहमा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रती, बजार अधिकृत एलिना कार्की तथा वेलनेस सेन्टरका तर्फबाट सञ्चालन तथा बजार निर्देशक स्वर्णिम सुवालको समेत उपस्थिति रहेको थियो ।

तोलामा ४ हजारले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा यस साता सुनको मूल्य तीन हजार नौ सय १५ रुपैयाँले ओरालो लागेको छ । साताको पहिलो दिन आइतबार प्रति दस ग्राम ९६ हजार एक सय ९५ रुपैयाँ रहेको सुनको मूल्य साताको अन्तिम कारोबार भएको दिन आजसम्म आइपुग्दा ओरालो लागेको हो । आज प्रति दस ग्राम सुनको मूल्य ९३ हजार दुई सय ८० रुपैयाँमा झरेको छ । साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति दस ग्राम तीन हजार नौ सय १५ ले कम हो ।  नेपाली बजारमा साताको पहिलो दिन आइतबारको तुलनामा दोस्रो दिन स्थिर रहेको सुनको मूल्य अन्य सबै दिन ओरालो लागेको छ । यो साता नेपाली बजारमा चाँदीको मूल्यमा पनि कमी आएको छ । साताको पहिलो दिन प्रतिदस ग्राम एक हजार दुई सय २६ मा कारोबार भएको चाँदीको मूल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रतिदस ग्राम एक हजार तीन सय ९५ मा झरेको छ । यो साता विश्व बजारमा सुनको मूल्यमा कमी आयो । अमेरिकी बजारमा सुनको बिक्री बढ्नाका साथै अमेरिकी डलर मजबुत बनेकाले मूल्यमा उच्च गिरावट आएको हो । विश्व बजारमा कच्चा तेलको मूल्यमासमेत कमी आएकाले त्यसले विश्व अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न गई सुनको मूल्यमा कमी आएको बताइएको छ । अमेरिकी डलर मजबुत बन्दै जाँदा त्यसको असरस्वरुप त्यहाँको शेयर बजारमा भने गिरावट देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको कमीले नेपाली बजारमा समेत मूल्यमा उच्च गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।

कुमारी बैंकले एकैपटक संचालनमा ल्यायो ५ वटा शाखा

काठमाडौं । कुमारी बैंकले ५ नयाँ शाखा विस्तार गरेको छ । कुमारी बैंकले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा बागमती प्रदेशस्थित काठमाण्डौं जिल्लाको कपन, सितापाइला, डल्लु र ललितपुर जिल्लाको भैसेँपाटी, टौखेल समेत गरी ५ स्थानमा शुक्रबारबाट शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु विस्तार गरेको हो । बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पुर्याउने योजना बनाएको बैंकले जनाएको छ । विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०९ शाखा सञ्जाल, ३०९ एटिएम, ४८ एक्सटेन्सन काउन्टर तथा ६४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

स्वास्थ्य क्षेत्रको मुख्य समस्या : जनसंख्याको अनुपातमा दरबन्दीकाे अभाव

काठमाडौं । पछिल्लो समय देशका केही अस्पतालहरुमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि बिरामी आफन्तहरुले कुटपिट तथा दुव्र्यवहारका घट्ना घटाइरहेका  छन् । साेही विषयलाई लिएर चिकित्सकहरुले ओपिडी सेवा प्रभावित हुनेगरी राजधानी केन्द्रित आन्दोलन गरिरहेका छन् । चिकित्सकहरुकै आन्दोलनलाई सम्बोधन गर्ने उद्देश्यले शुक्रबार संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्याे। वैठकमा आन्दोलनकारी चिकित्सकदेखि सांसद र मन्त्रीहरुले स्वास्थ्य क्षेत्रमा देखिएको समस्या जनसंख्याको अनुपातमा चिकित्सकको व्यवस्था नभएकै कारणले भएकाे बताएका छन् । वैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या दरबन्दीको व्यवस्थापन नगरी गर्न नसकिने बताए । उनले अहिलेकै दरबन्दी कायम राखेर देखिएका समस्या समाधान गर्न नसकिने समेत धारणा व्यक्त गरेका छन् । ‘दरबन्दी यही राखेर हामीले जे नीति, कानून बनाएपनि (चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आन्दोलनलाई ईंगित गर्दै) हामीले यस्ता समस्या समाधान गर्न सक्दैनौं’, मन्त्री बस्नेतले भने । साथै उनले सरकारी बजेटबाट अस्पतालहरुमा दरबन्दी थप्ने कार्य गरेमा आफूले दातृ निकायहरुसँग सहयोग जुटाएर समेत प्रविधिको व्यवस्थापन गर्ने बताएका थिए । उनले अहिले तत्काल २९ हजार नर्सिङ कर्मचारीको आवश्यकता भएको समेत बताएका थिए । मन्त्री बस्नेतका अनुसार भएको चिकित्सकहरुको दरबन्दीमा पनि पहुँचको आधारमा धेरै चिकित्सकहरु राजधानी बस्ने र ग्रामिण क्षेत्रमा नजाने समस्या देखिएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो आंकडाअनुसार अहिले आठ सय जना भन्दा धेरै डाक्टरहरु काजमा रहेर काम गरिरहेका छन् । तर, चिकित्सकहरुले सिर्जना गरेको विकृतिको विषयमा भने चिकित्सकहरुको आन्दोलनले केही बोल्न खोजेको देखिँदैन । ‘धेरैजना डाक्टरहरु काजमा छन्, ती अधिकांश पहुँचवाला हुन्, २० जना अर्थोपेडिक भए पुग्ने ट्रमा सेन्टरमा ४२ जना अर्थोपेडिक छन्’, मन्त्री बस्नेतले भने, एउटा डाक्टर १६ वर्षदेखि बिमारीको नाममा काठमाडौंमा बसेका छन् ।’ चिकित्सकहरुको काजको विषयमा देखिएको समस्यालाई आफूले पार्टीमा पनि राखेर समाधान गर्नेतर्फ लागेको उनको भनाइ छ । उनले स्वास्थ्य मन्त्रीको तहबाट मात्रै स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधान हुने अवस्था नरहेको भन्दै ‘कलेक्टिभ’ प्रयासको आवश्यकता भएको बताएका थिए । डेढलाख जनसंख्या बराबर १ जना चिकित्सक विश्व स्वास्थ्य संगठनले गुणस्तरीय स्वास्थ्य सेवाका लागि प्रति एकहजार जनसंख्या बराबर एक जना चिकित्सक हुनुपर्ने मान्यता अगाडि सारेको छ । तर, नेपालमा प्रति डेढ लाख जनसंख्या बराबर एक जना चिकित्सकले काम गर्नुपर्ने अवस्था रहेको शुक्रबार भएको समितिको बैठकमा बोल्ने चिकित्सक र सांसदहरुले बताएका थिए । एक दिनको ओपिडी समयमा ८० जना सम्म बिमारी हेर्नुपर्ने अवस्थाले बिमारी र बिमारीका आफन्तलाई रोगको बारेमा बुझाउन नसकिएको चिकित्सकहरुले गुनासो राखेका थिए । नेपाल आवासी डाक्टर एशोसिएसनका अध्यक्ष डाक्टर कपिल गौतमले नेपालमा चिकित्सकहरुको उत्पादनमा कमि नभएपनि डेढलाख जनसंख्या बराबर एक जना चिकित्सकले उपचार गर्नुपरेको बताए । एकजना आवासीय चिकित्सकले निरन्तर ४० घण्टासम्म ड्युटी गर्नुपरेको अवस्थामा डाक्टरको निद्रा र प्यासलाई कसैले नहेरेको भन्दै पिडा व्यक्त गरेका थिए । साथै उनले १० वर्ष लागेर विशेषज्ञता हासिल गर्दा सरकारले मासिक ४८ हजार तलब दिने गरेको र निजी क्षेत्रमा २० हजारमा काम गर्नुपर्ने अवस्था रहेको बताए । नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. श्यामबाबु यादवले पनि स्वास्थ्य क्षेत्रमा देखिएको समस्याको प्रमुख कारण भनेको जनशक्तिको अभाव नै मुख्य भएको बताएका थिए । नेपाली कांग्रेसका नेता तथा सांसद डा.चन्द्रकान्त भण्डारीले पनि जनशक्तिको समस्या भएपनि दरबन्दी नबढाइएको बताए । उनले आफूहरुले सो विषयमा बारम्बार आवाज उठाइरहेपनि समस्या समाधान नभएको भनाइ राखेका थिए । ‘समस्या जनशक्तिको छ, दरबन्दी बढ्दैन’, उनले भने, ‘हामीले बारम्बार आवाज उठाइरहेका छौं, तर, जनरल एजुकेसन पढेकाको बाहुल्यता भएको प्रशासन भएको हुँदा सम्बोधन हुन सकेको छैन ।’ राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा सांसद सुमना श्रेष्ठले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्न छुट्टै समिति बनाएर काम गर्नुपर्ने बताएकी थिइन । उनले अस्पतालमा देखिएका कतिपय समस्यामा अस्पताल प्रशासनको कमजोरी भएपनि डाक्टरलाई मात्रै आरोप आउने गरेको बताएकी थिइन् । गृहसचिव दिनेशकुमार भट्टराईले फस्र्ट ब्रेन भनिएका डाक्टरहरुले आन्दोलनको नाममा कतै आफ्नो जिम्मेवारी भुलिरहेका त छैनन् भनेर डाक्टरहरुलाई घुमाउरो पारामा प्रश्न तेर्साएका थिए । गृहमन्त्रालयले चिकित्सक र स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि उचित भूमिका निर्वाह गरेको उनको भनाइ थियो ।