विकासन्युज

एमसिसीले आर्थिक विकासको ढोका खोल्यो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राज्य अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरसन (एमसिसी)ले नेपाल र अमेरिकाबीच आर्थिक साझेदारीको नयाँ ढोका खुलेको बताएका छन् । एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश गरेको अवसरमा बुधबार काठमाडौँ आयोजित विशेष समारोहमा प्रधानमन्त्रीले परियोजना कार्यान्वयनबाट नेपालको व्यापार सञ्जाललाई एशियाका विशाल अर्थतन्त्र भएका मुलुकसँग जोड्ने र देशको आर्थिक वृद्वि तथा गरिबी घटाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री दाहालले भने, “नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गरेकामा अमेरिकी सरकारप्रति धन्यवाद व्यक्त गर्दछु ।” एमसिसी परियोजना पूरा भएपछि नेपालको समग्र अर्थतन्त्र सुदृढ बन्ने बताउँदै प्रधानमन्त्री दाहालले नेपालको विकासमा अमेरिकाको सहयोग महत्वपूर्ण रहेको उल्लेख गरे । उनले यस परियोजनाले नेपालमा भरपर्दो विद्युत् सेवा र सडक सञ्जालको निर्माण हुने विश्वास व्यक्त गर्दै विद्युत् प्रसारण लाइन बनेपछि बिजुली निर्यात सहज हुने र त्यसले देशको आर्थिक उन्नयनमा योगदान गर्ने बताए । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको विकासमा सघाउने एमसिसी कार्यान्वयनबाट उन्नत सडक एवं भरपर्दो विद्युत् आपूर्ति भई नेपाली जनता लाभान्वित हुने बताए । उनले परियोजनामा नेपाल सरकारको समेत लगानी रहेकाले परियोजना कार्यान्वयनमा अवरोध गर्न नहुनेमा जोड दिँदै सरकारका तर्फबाट परियोजना सम्पन्न गर्न हरसंवभ सहयोग हुने प्रतिबद्धता व्यक्त गरे । एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइटले नेपालको आर्थिक विकासको मेरुदण्डका रूपमा एमसिसी परियोजनाले योगदान गर्ने विश्वास व्यक्त गर्दै नेपाल सरकारसँगको सहकार्यमा परियोजना विकास गरिएको स्पष्ट गर्नुभयो । परियोजनाका कार्यक्रम र लक्ष्यमा दुवै पक्षको समान स्वामित्व रहेको बताए । परियोजनाको सफल कार्यान्वयनका निम्ति आफू प्रतिबद्ध साझेदारका रूपमा उभिएको उल्लेख गर्दै उनले नेपाल सरकारको नेतृत्व र यस कार्यक्रमको कार्यान्वयनका लागि जिम्मेवार निकाय एमसिए–नेपालप्रति आफू पूर्ण विश्वस्त रहेको बताए । नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्सनले एमसिसी नेपाल कम्प्याक्ट नेपाली जनताको आर्थिक विकासमा सहयोग गर्ने महत्वपूर्ण अमेरिकी प्रयास भएको उल्लेख गर्दै नेपाल र अमेरिकाको ७६ वर्ष पुरानो सम्बन्धमा यो एउटा महत्वपूर्ण कोशेढुङ्गा भएको बताए । आफ्नो तीनदिने नेपाल भ्रमणका क्रममा एमसीसीका प्रमुख कार्यकारी अधिकृत अल्ब्राइटले कम्प्याक्ट कार्यान्वयनसँग सम्बद्ध नेपाल सरकारका उच्च राजनीतिक अधिकारी एवं विभिन्न सरोकारवालासँग भेट्नुका साथै जलवायु संरक्षणको महत्वमाथि जोड दिन वृक्षरोपण कार्यक्रममा समेत सहभागी भएका थिए । उनले नागरिक समाजका विभिन्न सदस्यहरू तथा युवा उद्यमीहरूसँग अन्तरक्रिया गर्नुका साथै जलविद्युत् उत्पादनमा संलग्न उद्यमीहरूसँग अनुभव आदानप्रदान गर्दै नेपालको आर्थिक विकासमा कम्प्याक्टले गर्ने योगदानमाथि प्रकाश पारेक ाथिए । नेपाल सरकार तथा एमसिसीबीच नेपालमा विद्युत् आपूर्तिको विश्वसनियतामा वृद्धि गर्ने विद्युत् प्रसारण आयोजना र यातायातको लागत घटाउने सडक मर्मत आयोजनाका लागि आर्थिक सहयोगसम्बन्धी सम्झौता एमसीसी नेपाल कम्प्याक्टमा २०७४ साल भदौ २९ गते हस्ताक्षर भएको थियो । अमेरिकी अनुदान कार्यक्रममार्फत नेपाल सरकार र एमसीसीले नेपाली जनताका लागि सडक सुधार गर्ने र स्वच्छ तथा सुपथ विद्युत्मा भरपर्दो पहुँच बढाउने गरी तर्जुमा गरिएका परियोजनामार्फत मुलुकको ऊर्जा र यातायात क्षेत्रलाई सुदृढ तुल्याउने अपेक्षा गरिएको छ । लामो बहसपछि संसद्ले गत वर्ष मात्र यस सम्झौतालाई व्याख्यात्मक घोषणासहित अनुमोदन गरेको थियो । एमसिसी नेपाल कम्याक्टअन्तर्गत बन्ने विद्युत् प्रसारण लाइन र सडक आयोजनाको काम शुरु भएको मितिले पाँच वर्षभित्रमा सम्पन्न गरिसक्नु पर्नेछ ।

मध्यपुरथिमि नगरपालिकाको आम्दानी सवा २४ करोड, कुन वडाको कति ?

काठमाडौं । मध्यपुरथिमि नगरपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा २४ करोड रुपैयाँभन्दा बढी आन्तरिक आम्दानी गरेको छ । नगरपालिकाको १ देखि ९ वडा कार्यालय र नगर कार्यपालिकाको राजस्व शाखा गरी १० वटा सङ्कलन केन्द्रबाट गत आवमा २४ करोड १३ लाख ३८ हजार ७४८ रुपैयाँ आन्तरिक आम्दानी गरेको हो । मध्यपुरथिमिले गत आवमा नगर कार्यपालिकाको राजस्व शाखाले सङ्कलन केन्द्रमध्ये सबैभन्दा धेरै ८ करोड ५ लाख ३० हजार ८५८ रुपैयाँ आन्तरिक आम्दानी गरेको आर्थिक शाखाले जानकारी दिए । वडा कार्यालयमध्ये सबैभन्दा धेरै वडा नं ३ ले आम्दानी गरेको छ । वडा नं ३ ले ३ करोड ९८ लाख १७ हजार २२५ रुपैयाँ आम्दानी गरेको हो । वडाले ४ करोड ५० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको थियो । वडा नं ३ का वडाध्यक्ष एवं नगर प्रवक्ता कृष्णहरि आचार्यले भने, “व्यवसाय दर्ता अभियानअन्तर्गत जनप्रतिनिधि र कर्मचारीको संयुक्त टोली घरघर र पसलपसलमा पुगेर व्यवसाय दर्ताका लागि अनुरोध गरिएको र सोअनुसार करिब चार सय व्यवसाय नयाँ दर्ता गर्न सफल भएकाले करिब चार करोड राजस्व सङ्कलन गर्न सफल भएको हो ।” वडा कार्यालयमध्ये वडा नं २ ले २ करोड २७ लाख ५५ हजार ७७४ रुपैयाँ, वडा नं १ ले २ करोड २२ लाख ४२ हजार ९५६रुपैयाँ, वडा नं ४ ले १ करोड ९२ लाख ६४ हजार ६२० रुपैयाँ, वडा नं ९ ले १ करोड ६३ लाख ८२ हजार ५८७ रुपैया सङ्कलन गरेको नगरपालिकाका सूचना अधिकारी एवं महाशाखा प्रमुख केशव सिलवालले जानकारी दिए । यसैगरी वडा नं ५ ले १ करोड ५० लाख ५५ हजार ९८रुपैयाँ, वडा नं ६ ले ९७ लाख ५९ हजार २१७ रुपैयाँ, वडा नं ८ ले ८८ लाख ४६ हजार ८ सय रुपैयाँ र सबैभन्दा कम वडा नं ७ ले ६६ हजार ८३ हजार ७२४ रुपैयाँ आम्दानी गरेको सिलवालको भनाइ छ ।

सोनापुर मिनरल्स आजै आईपीओ निष्काशन बन्द गर्दै

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बुधबार म्याद थप गरी असोज २८ गतेसम्म आवेदन दिन सकिने सूचना प्रकाशित गरेको थियो । असोज १४ गतेदेखि बिक्री खुला गरेको कम्पनीले मागभन्दा बढी आवेदन परेपछि आज असोज १८ गते नै निष्काशन बन्द गर्ने भएको हो । कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँमा स्थानीयले खरिद नगरेको सेयरसहित ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको हो । कर्मचारीलाई भने प्रतिकित्ता २२५ रुपैयाँमा ६ लाख ८ हजार २८४ कित्ता सेयर सुरक्षित राखिएको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सकिनेछ । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

लक्ष्मी सनराइज बैंकले ६ ठाउँको घरजग्गा बेच्दै

काठमाडौं । लक्ष्मी सनराइज बैंकले गैरबैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । साविक सनराइज बैंकको स्वामित्वमा रहेका गैर बैंकिङ सम्पत्ति घर तथा जग्गा बिक्री गर्ने भएको हो । बैंकका अनुसार मोरङ्ग र झापा जिल्लाका विभिन्न स्थानमा रहेको सो सम्पत्ति बिक्री गर्ने भएको हो । मोरङ्गको मधुमल्ला ९ स्थित कित्ता नम्बर २१६६ र ५५१ को क्रमशः ०–३–४–० र ०–१–०–० क्षेत्रफल भएको जग्गा, वडा नम्बर ५ स्थित कित्ता नम्बर ९१५ र ६२२ को क्रमशः ०–१–३–० र ०–१–०–० क्षेत्रफल, वडा नम्बर ८ स्थित कित्ता नम्बर ३३१ को ०–१०–०–० र झापाको शिवगंज ७ स्थित कित्ता नम्बर १९६८९ को ०–१०–०–० क्षेत्रफल भएको जग्गा बिक्री गर्ने बैंकले जनाएको छ । बैंकले बिक्री गर्न लागेको सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ । सो सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी ७ दिनभित्र शीलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ ।

अब नेपाल फर्किंदा अरूको सामान लिएर आए कारबाही

काठमाडौं । दसैंमा नेपाल फर्किनेहरूले विमानस्थलमा भेटेका व्यक्तिको आग्रहका आधारमा मोबाइल, ल्यापटप, सुनलगायतका सामग्री सँगै ल्याएको खण्डमा जफत गरिने भएको छ । श्रम स्वीकृति लिएर विदेशमा काम गरेर नेपाल फर्किनेहरूका लागि मात्र छुट दिएको कानुनी प्रावधान दुरुपयोग गर्ने प्रवृत्ति बढेकाले त्यसलाई निरुत्साहित पार्न कडाइ गर्न लागेको भन्सार विभागले जनाएको छ । यात्रुहरूले कानुनी व्यवस्थाविपरीत सामान ल्याएमा माल वस्तु जफत गरिने र सोको दोब्बर मूल्यबराबर जरिमाना तथा कैद सजायसमेत हुने जनाएको छ । व्यक्तिगत प्रयोगका सामानबाहेक अन्य व्यक्तिको सामान र कानुनले प्रतिबन्ध गरेका मालसामान ल्याएमा कानुनअनुसार कारबाही गर्ने चेतावनी त्रिभुवन विमानस्थल भन्सार कार्यालयले गरेको हो । भन्सार विभागले कानुनले छुट दिएका व्यक्तिगत प्रयोगका सामानबाहेक अन्य व्यक्तिको सामान र नेपालको कानुनले प्रतिबन्ध गरेका मालसामान नल्याउनु पनि अनुरोध गरेको छ । विगतमा विभिन्न मुलुकबाट स्वदेश फर्कंदा विदेशका विमानस्थलमा केही व्यक्ति तथा समूहले विभिन्न प्रलोभन देखाई विभिन्न मालसामान नेपालको विमानस्थलसम्म पु¥याइदिनु र विमानस्थलमा आफ्नो मान्छेले लिन आउने भनेर दिएर पठाउने गर्दै आएका थिए । यसपालि मोटरसाइकलको बे्रक सुको आवरणमा एक क्विन्टल सुन भित्रिएपछि झस्किएको विमानस्थलसहित भन्सार कार्यालयले विभिन्न आवरणमा अवैध सामान भित्रिएला र सोझासिधा फस्ला भनेर अग्रिम रूपमा स्वदेश फर्किनेलाई चेतावनी दिएको हो । विमानस्थलस्थित भन्सार कार्यालयका अनुसार साउदी अरब, युनाइटेड अरब इमिरेट्स, कतार, हङकङ, थाइलैन्ड तथा मलेसियाका अन्तर्राष्ट्रिय विमानस्थल तथा आसपासबाट केही अपरिचित व्यक्तिले मेरो घरको सामान हो, मेरो आफन्त त्रिभुवन विमानस्थलमा लिन आउँछन् र लगेबापत केही पैसा दिन्छु भनेर प्रलोभनमा पारी ल्यापटप, मोबाइल, सुन, घडी आदि पठाउने गरेका छन् । कार्यालयका अनुसार यसरी त्यस्ता मालवस्तु ल्याउने व्यक्ति कानुनी कारबाहीमा पर्ने घटना बढ्दै गएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

१० हजार कित्ता खरिद गर्न मिल्ने माथिल्लो मैलुङको आईपीओ आजदेखि बिक्री खुला

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युतले आज असोज १८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीकलाई बिक्रीपश्चात् सर्वसाधारण लगानीकर्तालाई आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको १५ प्रतिशत अर्थात् १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत् अर्थात् १ लाख ५० हजार कित्ता विदेशमा रोजगार गरी रहेका नेपाली र ५ प्रतिशत अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरी बाँडफाँट गरिसकेको छ । अब स्थानीयले आवेदन नदिएको ९ हजार २ सय कित्ता सेयरसहित कूल १२ लाख ८४ हजार २ सय कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा असोज २२ गते र ढिलोमा कात्तिक २ गतेसम्म आवेदन दिने सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयर अनलाइन मार्फत् आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

महासंघ अध्यक्ष ढकाल र इन्डोनेशियाका राजदूतबिच भेटवार्ता, भिसा र व्यापार सम्बन्धका बारेमा छलफल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि गणतन्त्र इन्डोनेशियाका राजदूत हेरु हार्तान्तो सुबोलोबिच महासंघको सचिवालय, टेकू, काठमाडौँमा बुधबार भेटवार्ता सम्पन्न भएको छ । भेटका अवसरमा दुई देशबिच आपसी सहकार्य, व्यापार अभिवृद्धि र जनस्तरसम्म सम्बन्ध विस्तारबारे छलफल भएको छ । उक्त अवसरमा अध्यक्ष ढकालले इन्डोनेशिया सरकारले नेपाली पर्यटकलाई दिएको अन अराइभल भिसाको व्यवस्था पुनस्थापनाका लागि पहल गरिदिन राजदूतसँग आग्रह गरका छन् । इन्डोनेशियाले कोभिड महामारीदेखि नेपालीहरुलाई दिँदै आएको अन अराइभल भिसा रोकेको थियो । नेपालका लागि गणतन्त्र इन्डोनेशियाका अवैतनिक वाणिज्यदूत समेत रहेका ढकालले नेपाल र इन्डोनेशियाबिच व्यापार अभिवृद्धि गर्न नेपालबाट हुने निर्यात बढाउन सहजीकरणका लागि राजदूतलाई आग्रह समेत गरेका छन्। उक्त अवसरमा राजदूत सुबोलोले अध्यक्ष ढकालले उठाएका विषयमा आफूले सक्दो सहयोग गर्ने र यसका लागि इन्डोनेशिया सरकारसँग कुराकानी गर्ने बताए । उनले नेपाली पर्यटकलाई दिइएको अन अराइभल भिसाको सुविधा पुर्नस्थापनाका लागि आफूले पहल गर्ने समेत बताए । उनले नेपाली व्यवसायीले इन्डोनेशियामा धेरै वस्तुहरु निर्यात गरिरहेको बताउँदै थप निर्यातका लागि आफूले सहजीकरण गर्ने समेत बताएका छन् ।  नेपालले कार्पेट, चिया तथा टेक्टटाइल जस्ता वस्तुहरु इन्डोनेशियामा निर्यात गर्छ भने इन्डोनेशियाबाट पाल्म आइल, मसिनरी र इलेक्ट्रोनिक्स सामग्रीहरु आयात गर्ने गर्छ । नेपाल र गणतन्त्र इन्डोनेशियाबिच सुमधुर कुटनैतिक सम्बन्ध रहेको छ । दुई देशबिचको व्यापारिक सम्बन्ध पनि बढ्दो क्रममा रहेको छ ।

इमर्जिङ्ग नेपालको सीईओमा विशाल उप्रेती नियुक्त, कम्पनीले थप उचाई लिने विश्वास

काठमाडौं । इमर्जिङ्ग नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा विशाल उप्रेती नियुक्त भएका छन् । असोज १७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उप्रेतीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीले उनलाई चार वर्षको लागि सीईओ पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त सीईओ उप्रेतीले असोज १८ गतेदेखि नै आफ्नो कार्यभार सम्हाल्ने छन् । उप्रेती यसअघि एनआईसी एशिया बैंकको जोखिम व्यवस्थापन विभागमा र बैंकको सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा प्रमुख जोखिम अधिकृत, अनुपालना अधिकृत र कम्पनी सचिवको रुपमा कार्यरत थिए । उप्रेतीले भारतको इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्टस् अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सी र नेपालको त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेका छन् । पूर्वाधार विकासका क्षेत्रहरुमा लगानी गर्दै देशको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले स्थापित यस कम्पनीले नवनियुक्त सीईओ उप्रेतीको नेतृत्वमा थप उचाई लिने विश्वास कम्पनीले लिएको छ ।