विकासन्युज

नर्सिङ परिषद्को परीक्षा मंसिर ९ गते हुने

काठमाडौं । नेपाल नर्सिङ परिषद्ले लिने नाम दर्ताको परीक्षा आगामी मंसिर ९ गते हुने भएको छ । परिषद्ले बिहीबार एक सूचना जारी गर्दै नाम दर्ता परीक्षा वार्षिक कार्य तालिका अनुसार मंसिर ९ गते परीक्षा हुने जनाएको हो । परिषद्का अनुसार प्रविणता प्रमाणपत्र तह र बीएस्सी नर्सिङ उत्तिर्ण गरेका विद्यार्थीहरु सो परीक्षामा सहभागी हुन पाउनेछन् । परीक्षामा सहभागी हुनका लागि असोज २१ गतेदेखि कात्तिक २० गतेसम्म अनलाइनबाट फारम भर्नुपर्ने परिषद्ले सूचनामा उल्लेख गरेको छ । साथै दोब्बर दस्तुर बुझाएर कात्तिकको २१ देखि २३ गतेसम्म फारम भर्न पाइने छ । परिषद्का अनुसार परीक्षा दस्तुर तीन हजार एक सय लाग्नेछ भने, दोब्बर दस्तुर छ हजार एक सय लाग्नेछ । सो दस्तुर खल्तीमार्फत् बुझाउनुपर्ने छ । परीक्षामा एक सयवटा प्रश्नहरु सोधिने र उत्तिर्ण हुनको लागि ५० अंक ल्याउनुपर्ने जनाइएको छ ।

शुक्रबार र शनिबार काठमाडौंमा स्टार्टअप एण्ड आईडिया फेस्ट, यस्ता छन् मुख्य आकर्षण

काठमाडौं । शुक्रबार र शनिबार काठमाडौंको बानेश्वर बैंक्वटमा स्टार्टअप एण्ड आईडिया फेस्ट तथा स्टिम क्याम्प हुने भएको छ । लिभिङ विथ आईसीटीको मुख्य आयोजनामा हुने फेस्टमा सातै प्रदेशका स्टार्टअपसहित १०० बढी डिजिटल स्टार्टअप र इन्नोभेसनहरुको प्रदर्शनी हुनेछ । आईसीटी अवार्ड २०२३ को प्रि इभेन्ट क्याम्पियनको रूपमा हुने स्टार्टअप एण्ड आईडिया फेस्ट तथा स्टिम क्याम्पमा द स्क्वाइड अफ चेन्जमेकरको सहकार्य रहेको छ । फेस्टमा सातै प्रदेशका ३० बढी स्टार्टअपका साथै आईसीटी अवार्ड २०२३ मा प्रतिस्पर्धाबाट छनौट भएका उत्कृष्ट १२ स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरुले समेत फेस्टमा आफ्ना आइडिया र प्रडक्टहरु प्रदर्शनी गर्नेछन् । कार्यक्रममा स्क्वाइड अफ चेन्जमेकरले रोबोट, रकेट, थ्रीडी प्रिन्टङसहित बालबालिकाले बनाएका नयाँ प्रोजेक्टहरुलाई पनि प्रर्दशनीमा राख्नेछ । नेपालमै केही नयाँ काम गरिरहेका स्टार्टअप, विद्यार्थी र इन्नोभेटरहरुलाई प्रवर्द्धन गर्न २ दिने स्टार्टअप एन्ड आइडिया फेस्ट आयोजना गरिएको लिभिङ विथ आईसीटीको अध्यक्ष राजन लम्सालले बताए । कार्यक्रमको मुख्य आकर्षणको रूपमा नयाँ नयाँ आईडिया, इन्नोभेसन तथा प्रडक्टको प्रदर्शनी, आईडिया पिचिङ, एष्ट्रोनोमी क्याम्प, रकेट तथा रोबोटिक्स क्याम्प, लगानीको अवसर, गेम र आकर्षक पुरस्कारको समेत व्यवस्था रहेको छ । फेस्ट तथा स्टिम क्याम्पमा सहभागी हुने अवलोकनकर्ताले कुनै शुल्क तिर्नु पर्ने छैन् । यसअघि मंगलबार र बुधबार किंग्स कलेजमा काठमाण्डौ बाहिरबाट सहभागी हुन आएका स्टार्टअपहरुलाई मेन्टरिङ तथा इन्क्युवेसन सेसनहरु सञ्चालन भइसकेको छ । कार्यक्रममार्फत स्टार्टअप र आइडियामा लगानी गर्न चाहनेहरुलाई पनि आयोजकले सहकार्य र इकोसिस्टम विकासका लागि आह्वान गरेको छ । अवलोकनकर्ताले आफूलाई मन परेका स्टार्टअप र प्रडक्टलाई भोट पनि गर्न सक्नेछन् । नेपालको प्रतिष्ठित प्रविधि अवार्डको रूपमा परिचित आइसिटी अवार्डको आठौं संस्करणमा यस पटक विभिन्न १३ विधामा ५०० बढीको नोमिनेसन प्राप्त भएको थियो । हाल आईसीटी अवार्ड २०२३ को नोमिनेसन र छनौट प्रक्रिया सञ्चालनमा रहेको छ । यस पटक आईसिटी अवार्डको ग्रान्ड फिनालेमा सातै प्रदेशका उत्कृष्ट एक(एक स्टार्टअपलाई प्रोभिसियल रिकग्निसन अवार्ड समेत प्रदान गरिने छ । आईसीटी अवार्डको ग्राण्ड फिनाले आगामी पुस ६ गते द सोल्टी काठमाण्डौमा आयोजना हुनेछ। स्टार्टअप एन्ड आइडिया फेस्ट र स्टिम क्याम्पसँगै अवार्डका लागि दर्जनौँ प्रि–इभेन्ट सञ्चालन हुनेछन् । कान्तिपुर टेलिभिजनले २ महिनासम्म स्टार्टअप र आइडिया पिचिङको विशेष कार्यक्रमका रुपमा टेलिभिजन सिरिजहरु पनि प्रशारण गर्नेछ ।

फोनपेको नयाँ ‘सुपरयात्रा’ अभियान, म्याकबुक एयर जित्ने मौका

काठमाडौं । फोनपे ले ‘फोनपे सुपरयात्रा’ नामक नयाँ अभियान संचालन गरेको छ | मोबाइल बैंकिङ एप मार्फत एयरलाइन टिकेट खरिद गर्दा ग्राहकहरुबीच डिजिटल भुक्तानीको सहज हुने कम्पनीले जनाएकाे छ । ‘सुपरयात्रा’ अभियान असोज १७ देखि कार्तिक ११ सम्म लागू हुनेछ। यस अभियान अन्तर्गत एक भाग्यशाली ग्राहकले उपहार स्वरुप म्याकबुक एयर प्राप्त गर्ने छन् ।अतिरिक्त लाभको रूपमा, नयाँ ग्राहकहरूले प्रोमो कोड सुपरयात्रा २०० प्रयोग गरी आफ्नो पहिलो एयरलाइन टिकट खरिद गर्दा २०० रूपैयाँ क्यास ब्याक को मजा लिन सक्नेछन् । यस अभियानमा सहभागि हुन ग्राहकहरुले तोकिएको अभियान अवधिमा मोबाइल बैंकिङ एप मार्फत कम्तीमा एउटा एयरलाइन टिकट खरिद गर्नुपर्ने कम्पनीले जनाएकाे छ । यस अभियानले मोबाइल बैंकिङ एप मार्फत एयरलाइन टिकटहरू खरिद गर्ने सहजतालाई मनाउनुको साथ साथै यस चाडपर्वको घडिमा अधिकांश ग्राहकहरुको यात्रामा थप उर्जा थप्ने लक्ष्य पनि राखेको छ।  

रियलमीको सि ५१ र सि ५३ बजारमा, कति पर्छ मूल्य ?

काठमाडौँ । रियलमीले दुई नयाँ स्मार्टफोन रियलमी सी ५१ र रियलमी सी ५३ बजारमा ल्याएको छ । रियलमी सी ५१ मा भएको ३३ वाटको सुपरभोक फास्ट चार्जरको मद्दतले ० देखि ५० प्रतिशत सम्म मात्र २८ मिनेटमा नै चार्ज हुनसक्छ । ५० मेगापिक्सेल एआई क्यामाराको मद्दतले रियलमी सी ५१ ले असाधारण क्रिएटीभिटी प्रदान गर्दै अति आकर्षक तस्बिरहरू निकाल्दछ । १२८ जिबीको स्टोरेज भएको यस रियलमी सी ५१ मा सबै एप, तस्बिर र अत्यावश्यक फाइलहरूका लागि पर्याप्त स्पेस छ । ४ जिबीको बिल्ट–इन र्‍यामका साथै डिआरइ टेक्नोलोजीमार्फत थप ४ जिबी र्‍याम बढाउन पनि मिल्छ । ५००० एमएएचको हेभी ब्याट्री पावरले ग्राहकहरुलाई दिनभर भिडियो हेर्न अथवा खेल खेल्न प्रशस्त पावर पनि हुन्छ । रियलमी सी ५१ मा फास्ट पर्फमेन्स र प्रभावकारी प्रोसेसिङको लागि पावरफुल अक्टा–कोर चिपसेट राखिएको छ । आकर्षक १७.१३ सिएम (६.७४ इन्च) ९० हर्ज डिस्प्लेमा रहेको मिनी क्याप्सुलले सिमलेस तथा भाइब्रेन्ट भिजुअल अनुभव प्रदान गर्दछ । प्रशस्त स्टोरेज र आकर्षक डिस्प्लेयुक्त  सी ५१ ले आधुनिक स्मार्टफोनहरूको लागि नयाँ बेन्चमार्क सेट गरेको छ । त्यस्तै रियलमी सी ५३ मा १०८ मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरा रहेको छ । यसमा १८ वाट क्विक चार्जको सुविधा भएको रियलमी सी ५३ मा शक्तिशाली ५००० एमएएचको विशाल ब्याट्री राखिएको छ जसले गर्दा दिनभरि फोन चलाउँदा पनि समस्या हुँदैन । यसमा १७.१३ सेन्टिमिटर (६.७४ इन्च) ९० हर्जको डिस्प्ले रहेको छ । अक्टा–कोर चिपसेटले एडभान्स टेकनोलोजी र इफिसियन्ट प्रोसेसिङ क्षमताहरूको साथमा उत्कृष्ट पर्फरमेन्स तथा अनुभव सुनिश्चित गर्दछ । रियलमी सी ५१ दुई कलर मिन्ट ग्रिन र ब्ल्याकमा उपलब्ध छ भने रियलमी सी ५३ गोल्ड  र ब्ल्याक कलरमा उपलब्ध छ । रियलमी सी ५१ जिबी ६४ जिबि भेरियन्टमा उपलब्ध छ र यसको मूल्य १५,९९९ रूपैयाँ रहेको छ । त्यस्तै, रियलमी सी ५३ ४ जिबी १२८ जिबी भेरियन्टमा उपलब्ध छ र यसको मूल्य १७,९९९ रूपैयाँ  रहेको छ ।

लगातार झरीपछि आजदेखि मौसममा  क्रमिक सुधार

काठमाडौं । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार आएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि मौसम सुधार हुँदैगएको छ । महाशाखाका मौसमविद् गोविन्द झाले अब मौसममा सुधार हुँदै जाने बताए । ‘मौसम विस्तारै सुधार हुँदै गएको छ । देशको पूर्वी भेगमा न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ, उक्त प्रणाली उत्तर पश्चिमतर्फ सर्ने क्रममा रहेकाले त्यो पनि विस्तारै कमजोर हुने देखिन्छ । भारतको सिक्किम आसपास र बङ्गलादेशतिर यसले असर गर्ने देखिन्छ’, उनले भने। मौसमविद् झाका अनुसार कोशी प्रदेशमा आज बाक्लो बादल लागको छ । अन्य भेगमा सामान्यतया मौसम सफा छ । अबको दुई तीन दिनलाई हल्का वर्षाको सम्भावना रहे पनि भारी वर्षाको सम्भावना नरहेको उनले उल्लेख गरे ।   महाशाखाको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिनमा अहिले कोशी र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा छ । दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेश थोरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि नेपालमा हाल भारतको पश्चिम बङ्गाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसका कारण देशका केही भागमा थोरै असर रहे पनि क्रमशः मौसममा सुधार आउने महाशाखाले जनाएको छ । शुक्रबार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

मुस्ताङ जाने पर्यटकलाई सधैँ बैसरी पहिरोको चुनौती

गण्डकी । सोह्र श्राद्धका कारण केही दिनयता हिमालपारिको जिल्ला मुस्ताङ धार्मिक पर्यटकले खचाखच छ । दिनहुँजसो मुुस्ताङ जाने र फर्कने पर्यटकका कारण जोमसोम–बेनी सडकखण्डमा गाडी लस्करै गुडेका देखिन्छन् । उक्त सडकखण्डमा बैसरीलगायत केही स्थानमा पटक पटक गइरहने पहिरोका कारण घन्टौँ गाडी रोकिदा यात्रुले सास्ती भोग्नुपरेको छ । सोह्र श्राद्धलाई लक्षित गरी मङ्गलबार नवलपुरबाट हिँडेका सरोज ढकाल र उनको परिबार बेलुका गलेश्वर आएर बस्यो । बुधबार बिहानै मुस्ताङका लागि हिँडेका उनीहरू त्यहाँबाट करिब दुई तीन किलोमिटरको दूरीमा पुग्दा सडकमाथिबाट खसेको पहिरोले अघि बढ्नसक्ने अवस्था रहेन । ढकाल परिवार त्यहाँबाट सुरक्षित भई बस्नका लागि पुनः गलेश्वर नै फर्कियो । दिउँसो ३ः३० बजे पहिरो पन्छाएपछि मात्रै उनीहरू मुस्ताङतर्फ अघि बढे। ढकाल परिवार जस्तै यस सडकखण्डमा यात्रा गर्ने जो कोही पनि यो समस्या दिनानुदिन भोग्दै आएका छन् । बुधबार बैसरीदेखि रुप्सेलगायत चार पाँच ठाउँमा पहिरो गएको थियो । त्यसो त मङ्गलबार पनि झण्डै दिनभर जस्तै उक्त क्षेत्रका पहिरोका कारण पर्यटकले सास्ती भोग्नुपरेको थियो । बैसरीको पहिरोको कष्टले पर्यटकलाई सास्ती भएको बताउने ‘पुन होटेल’ बैसरीका सञ्चालक जसमाया पुन यहाँको पहिरोको जोखिम आफूहरूका लागि दैनिकी जस्तै बनेको बताउछिन् । वर्षातमा यहाँ जाने गरेका पहिरोले बेनीसम्म आउन जान पनि निकै समस्या हुने गरेको बताउँदै पुनले हिउँद लागिसके पनि समस्या ज्युुकोत्युँ रहेको दुखेसो सुनाइन् । “दिनदिनै जाने गरेको पहिराले बाटो अवरुद्ध हुँदा पर्यटकले निकै कष्ट पाउने गरेका छन्”, उनले भनिन्, “वर्षौंदेखिको समस्या समाधान नहुुँदा स्थानीयले भोग्ने गरेका दुःख त कति छन् कति ।” उक्त खण्डमा निर्माण कार्यलाई बढाए पनि कछुवाको गतिमा हुँदा समस्या पर्ने गरेको स्थानीयको दुःखेसो छ । विसं २०७२ जेठ ९ गते राति बैसरीमा आएको पहिरो उक्त स्थान र आसपासका क्षेत्रमा लगातार रुपमा पहिरोको समस्या पर्ने गरेको छ । उक्त समयमा बस्तीमाथिबाट पहाडको ढिस्कै खसेर कालीगण्डकी नदी १६ घण्टासम्म थुनिएको अवस्थालाई यहाँका स्थानीय कल्पनासमेत गर्न सक्दैनन् । बेनी जोमसोम आवतजावत गर्ने यात्रुका लागि चौतारीजस्तै बनेको यो ठाउँ बेगखोला, बैसरी भगवती, राम्चे, पिप्लेलगायत आसपासका स्थानका मानिसको किनमेल गर्ने स्थानीय बजारसमेत थियो । बैसरीको त्यो प्राचीन मौलिकता पहिरोसँगै हराएको अर्का स्थानीय सोमबहादुर पुनले बताए । केही दिनअघि मात्र बैसरीमा पहिरो खस्दा एक चालकले ज्यान गुमाएको उनले जानकारी दिए। “मुस्ताङ जाने पर्यटक बर्सेनि बढ्दै गएका अवस्थामा बैसरीको पहिरो दीर्घकालीन समस्याका रुपमा चुनौती बनेको छ”, उनले भने, “निर्माणाधीन सडकलाई चाँडो सम्पन्न गर्ने गरी संवेदनशील ठाउँलाई प्राथमिकताका साथ काम गर्नु आवश्यक छ ।” मुस्ताङमा पर्यटकको बढ्दो आकर्षणलाई आत्मसात् गर्दै सडक पूर्वाधारलाई व्यवस्थित गर्ने कुुरालाई उच्च प्राथमिकतामा राख्नुपर्ने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका अधिकृत सागर श्रेष्ठले बताउछन् । पर्यटकीयरुपमा मुस्ताङको धेरै सम्भावना रहेको उल्लेख गर्दै उनले यहाँको प्रवद्र्धनमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय निरन्तर लागिरहेको बताए। “राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मञ्चमा पनि मुस्ताङको प्रवद्र्धनलाई प्राथमिकतामा साथ उठाउने गरिएको छ”, उनले भने । हिन्दू र बौद्ध धर्मको साझा तीर्थस्थल मुक्तिनाथ स्वदेशीका साथै विदेशी पर्यटकको आकर्षक गन्तव्य हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको दर्शन भ्रमण गरेसँगै यहाँ भारतीय पर्यटकको आकर्षण अझै बढेको छ । पछिल्ला वर्षमा भारतीय दर्शनार्थी बर्सेनि ठूलो सङ्ख्यामा आउने गरेको मुक्तिनाथ मन्दिरका पूूजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए । उपल्लो मुस्ताङस्थित माटाको सहरका रुपमा परिचित लोमन्थाङ, नेपाल चीनबीचको कोरोला नाकाका साथै दामोदर कुण्ड आदिले यहाँको महिमा र गरिमा अझै बढाएको छ ।  रासस

साउदी उडेको जहाज बीचबाटोबाटै फर्कियो

काठमाडौं । काठमाडौंबाट साउदी अरबको दमाम उडेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाज बीचबाटै काठमाडौँ फर्किएको छ । गए राति १२ बजेर १४ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दमाम उडेको नेपाल एयरलाइन्सको आर ए ४१२ जहाज आज बिहान ४ बजेर ५१ मिनेटमा पुनः काठमाडौं अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार काठमाडौं –दमाम उडानको उक्त जहाजको ‘टिकास उपकरण’मा समस्या देखिएकाले पुनः काठमाडौँ फर्काइएको हो । पाकिस्तानको आकाशमा पुगेपछि प्राविधिक समस्या देखिएपछि विमान चालकले जहाज काठमाडौँ फर्काएका थिए । जहाज उडानको क्रममा अन्य जहाज नजिक आएमा सङ्केत गर्ने उपकरणलाई टिकास भनिन्छ । ‘टिकास जहाज भित्रको सिस्टम हो, यसलाई ‘ट्राफिक अलर्ट एन्ड कोलिजन अभोइडेन्स सिस्टम’ भनिन्छ, जसले कुनै जहाज नजिक आएको खण्डमा सम्भावित जोखिमबाट जोगाउन आवश्यक निर्देशन दिन्छ’, महाप्रबन्धक तिवारीले भने । उक्त जहाजका यात्रुलाई अर्को जहाजको व्यवस्था गरेर गन्तव्यमा पठाइने विमानस्थलले जनाएको छ । रासस

सिनर्जी पावरको हकप्रद सेयर बाँडफाँट सम्पन्न, कतिले पाए ?

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टको हकप्रद सेयर बाँडफाँट गरिएको छ । हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार कम्पनीको हकप्रद सेयर असोज १६ गते बाँडफाँट गरिएको हो । कम्पनीको हकप्रद सेयरमा रितपूर्वक आवेदन दिएका ४४ हजार ७९४ जना आवेदकले ३४ लाख ६९ हजार ६१४ कित्ता सेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ । कम्पनीले गत भदौ ३ गतेदेखि भदौ ३१ गतेसम्म हाल कायम चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको २ः१ अनुपात अर्थात् ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । आफ्नो कायम हकभन्दा बढी सेयर माग गरी आवेदन दिएका लगानीकर्ताको रकम असोज १९ गतेदेखि फिर्ता गर्ने कम्पनीले जनाएको छ ।