विकासन्युज

बहुउद्देश्यीय सहकारी संघ रुपन्देहीको अध्यक्षमा डुम्रे

काठमाडौं । बहुउद्देश्यीय सहकारी संघ लिमिटेड रुपन्देहीको अध्यक्षमा रमणी डुम्रे चयन भएका छन् । संघको प्रारम्भिक साधारण सभाले डुम्रेलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । सहकारीको सञ्चालक समितिको उपाध्यक्षमा मोतीलाल ढकाल, सचिवमा यादव कोइराला, कोशाध्यक्षमा कमला थापा र सदस्यहरुमा महेन्द्रराज शर्मा अर्याल, गुनमाया थापा र जगन्नाथ न्यौपाने चयन भएका छन् । त्यस्तै, सहकारीको लेखा समितिमा शंकर भण्डारी, प्रकाश खनाल र जितेन्द्र यादव चयन भएका छन् । प्रारम्भिक साधारण सभामा राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष तथा संविधान सभा सदस्य ओमदेवी मल्लले सहकारी क्षेत्रमा समस्या आउनुमा सिद्धान्त, मूल्य र मान्यता नबुझ्नु भएको बताउँदै सहकारीको अभियानले सरकारलाई बुझाउन नसकेको बताइन् । त्यस्तै, सभामा बोल्दै लुम्बिनी प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष गोविन्द केसीले युवाहरुको विदेश पलायन नरोक्ने हो भने मुलुकको भविष्य संकटमा पर्ने विचार व्यक्त गरेका थिए । राष्ट्रिय सहकारी विकास बोर्डका कार्यकारी सञ्चालक सन्दीप सापकोटाले बैंकर र मिटर ब्याजीको प्रवेशले सहकारीमा समस्या आएको बताएका थिए । सहकारीका अध्यक्ष तथा कार्यक्रमका सभापति रमणी डुम्रेले सहकारीको गठनले रुपन्देहीमा सहकारी अभियान नयाँ उचाईमा पुग्ने बताए ।

शारीरिक सुगठनमा जमेका ‘सुनिल’

महेन्द्रनगर । डेढ दशकअघि घरबाट विद्यालय जाँदा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ गोवरियाका सुनिल चन्द कभर्डहल पुगेर जिम गरिरहेको हेर्न खुबै रहर गर्थे । यहाँको राष्ट्रिय बाल विद्यालयमा माध्यमिक तह अध्ययन गर्दा घरबाट हिँडेर विद्यालय पुग्ने चन्द बाटोमा पर्ने कभर्डहल ‘जिम हाउस’ नपुगेको दिन हुन्थेन् । एसएलसी सकेर बिदाको समय कभर्डहल परिसरमा रहेको जिममा प्रशिक्षण थालेका चन्दले एक दशकपछि सुदूरपश्चिमबाटै पहिलोपटक नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ६५ किलो तौल समुहमा काष्य पदक जिते । सुदूरपश्चिममै व्यावसायिकरुपले शारीरिक सुगठनमा लागेका चन्दले राष्ट्रियस्तरमा हुने हरेक प्रतियोगितामा भाग लिनुका साथै रित्तो हात बिरलै फर्किनुपरेको छ । ३२ वर्षीय चन्दले हालै कैलालीको धनगढीमा सम्पन्न प्रथम सुदूरपश्चिम श्री शारीरिक सुगठनको उपाधिसमेत जितेका छन् । ‘स्कुल जाँदा बाटोबाट सधैँ रहरले जिम हेर्थे, पछि गएर अभ्यास नै गर्न थालेँ’, चार महिना भारोत्तलनसमेत खेलेका चन्दले भने, ‘त्यो बेला व्यावसायिक रुपले भन्दा पनि फिटनेसका लागि जिम गर्ने मात्रै थिए ।’ महेन्द्रनगरमा रोयल व्यायामशालासमेत सञ्चालन गरिरहेका चन्दले यहाँ युवाको आर्कषणले थप उत्साह मिलेको बताए । ‘शारीरिक सुगठन स्वास्थ्यसँगै अनुशासन र राम्रो आनाबानीको विकासका लागि निकै सहयोगी छ’, उनले भने, ‘अहिले युवाले यसलाई सकारात्मक रुपमा अङ्गीकार गरेको पाउँछु ।’ उनले नियमित प्रशिक्षण र भोजनको सन्तुलनमा समेत ध्यान दिनुपर्नेमा जोड दिए । हाल कञ्चनपुरको महेन्द्रनगरमा चार वटा जिम हाउस सञ्चालनमा छन् । ‘पछिल्लो समय स्वास्थ्यप्रति सचेत भएर फिटनेसमा ध्यान दिनेको जमात बढ्दै छ’, चन्दले भने, ‘शारीरिक सुगठनले ढिलो गरी भए पनि सुदूरपश्चिममा व्यावसायिकता पाउँदैछ ।’ महेन्द्रनगरदेखि स्नातक पढ्न काठमाडौँ पुग्दासम्म चन्दले शारीरिक सुगठनलाई निरन्तरता दिएको बताए । ‘स्नातक सकेर महेन्द्रनगरमै आएर जिम खोले’, उनले भने, ‘जिमको आम्दानीले आफ्नो सामान्य खर्च मात्रै चलेको छ ।’ उनले शारीरिक सुगठनका प्रतियोगितामा भाग लिनुअघि तयारीमा मात्रै लाखौँ रकम खर्च हुने गरेको बताए । डेढ दशकदेखि शारीरिक सुगठनमा सक्रिय चन्दले सन्तुलित आहारामा मात्रै मासिक ६० हजार खर्च हुने गरेको बताए । मिस्टर हिमालयलगायतका थुप्रै राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी हुँदै आएका चन्दले यसमा आबद्ध खेलाडीलाई सङ्गठित गर्न शारीरिक सुगठनको जिल्ला सङ्घ गठनको गृहकार्य गरिरहेको बताए । ‘जिल्ला खेलकुद समितिसित समन्वय गरेर सङ्घ गठनका लागि लागिरहेका छौँ’, उनले भने, ‘विभिन्न कुलतमा युवा लाग्नुभन्दा खेलकुदमा आकर्षित गराउने खालका योजना ल्याउन जरुरी छ ।’ रासस

भायानेटले ल्यायो चाडपर्व छुटहरूको अफर

काठमाडौं । नेपालको पहिलो फाइबर इन्टरनेट, आइपीटीभी र मल्टि–गिग इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले १२५एमबीपीएसको इन्टरनेट सेवा वार्षिक ८,४०० रुपैयाँको सुपथ मूल्यमा सार्वजनिक गरेको घोषणा गरेको छ। यसका साथै महान् चाड दसैँ र तिहारको पावन अवसरमा भायानेटले आफ्ना ग्राहकहरूलाई अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका होम एप्लायन्समा ५० प्रतिशतसम्मको छुट पनि उपलब्ध गराउने भएको छ। भायानेटको ‘चाडमा चौका’ चाडपर्व अभियानमा ग्राहकहरूले अब प्रतिवर्ष भ्याट बाहेकको रु ८४०० मा १२५ एकबीपीएस इन्टरनेटको मज्जा लिन सक्नेछन्, जुन बजारमा उपलब्ध यो स्पीडको इन्टरनेटका लागि प्रस्ताव गरिएको सबैभन्दा कम मूल्य हो। यसका साथै भायानेटले यस अभियान अवधिभर २०० एमबीपीएस र ३०० एमबीपीएस प्याकेजका लागि पनि छुट ल्याएको छ। यस अफरलाई अझ गतिशील बनाउन भायानेटले आफ्ना ग्राहकहरूलाई विशेष छुट उपलब्ध गराउन लोकप्रियब्रान्ड अल्टिमा र हिमस्टारसँग साझेदारी गरेको छ। वार्षिक इन्टरनेट योजनाहरू छनौट गर्ने भायानेट ग्राहकहरू चार लोकप्रिय इलेक्ट्रोनिक उत्पादनहरूको खरिदमा ५० प्रतिशत सम्म छुटका लागि योग्य हुनेछन्। त्यसैले यस अभियानको नाम ‘चाडमा चौका’ राखिएको छ। छुट प्राप्त हुने चार वस्तुहरूमा अल्टिमा वायरलेस इयरबड्स, हिमस्टारको स्मार्ट टिभी, रेफ्रिजरेटरर वासिंग मेसिन रहनेछन्। चाडपर्वको अवधिमा यी वस्तुहरू नेपालीहरूका बीचमा लोकप्रिय हुन्छन् र ज्यादा खरिद गरिन्छन्। दसैँको समयमायी वस्तुहरू घरमा जोड्दा चाडपर्वको रौनक अझै धेरै बढाउन मद्दत गर्दछ। उपलब्ध छुटहरू यसप्रकार छन् : – अल्टिमा वायरलेस इयरबड्स : भ्याटसहितको मूल्य १२२५ -हिमस्टार ४३ इन्च स्मार्ट टिभी : भ्याटसहितको मूल्य २७,५०० – हिमस्टार ५५ इन्च स्मार्ट टिभी : भ्याटसहितको मूल्य ५४,००० – हिमस्टार रेफ्रिजरेटर : भ्याटसहितको मूल्य १७,५१० – हिमस्टार वाशिङ मेसिन : भ्याटसहितको मूल्य ४१,२००

भूकम्प प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बझाङ जिल्ला र आसपासका क्षेत्र केन्द्रबिन्दु भई गएको भूकम्पबाट पीडित र प्रभावित जनतालाई तत्काल राहत, उद्दार र व्यवस्थापनका लागि निर्देशन दिएका छन् । बिहिबार बसेको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषद्को १२ औं बैठकलाई सम्बोधन गर्दै उनले सो निर्देशन दिएका हुन् । ‘अहिले बझाङ र आसपासको क्षेत्रमा भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिको राहत र व्यवस्थापनका लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देशन गर्दछौं, हालसम्म भएको उद्दार, राहत र व्यवस्थापनमा भएको पहलकदमीका लागि सम्बन्धित सबैलाई धन्यवाद पनि दिन चाहन्छौं’, उनले भने । उनले सो अवसरमा प्राकृतिक विपद्ले सिर्जना गरेको संकटसँग जुध्न तीनै तहका सरकार, नागरिक समाज, राजनीतिक दल तथा जनसमुदायको एकीकृत र समन्वयात्मक पहलकदमी जरुरी रहेको बताए । प्रधानमन्त्रीले सरकारका तर्फबाट राहत, उद्दार, उपचार, पुनस्र्थापना तथा पुनर्निर्माणमा कुनै कमी हुन नदिइने पनि प्रतिवद्धता समेत उनले व्यक्त गरे ।

हुन्डाईले तीन दिने ‘फेस्टिभ कार्निभल’ गर्ने

काठमाडौं । हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले भोलि शुक्रवारबाट ‘फेस्टिभ कार्निभल’ आयोजना गर्ने भएको छ । कम्पनीले आफ्ना देशभर रहेका सबै शोरुमहरुमा उक्त कार्निभल आयोजना गर्न लागेको हो । कम्पनीले आउँदै गरेको चाडपर्वलाई लक्षित गरेर संचालन गरिरहेको हुन्डाई फेस्टिभ डिलाइट अन्तर्गत नै ‘फेस्टिभ कार्निभल’ आयोजना गर्न लागेको हो । यसलाई दशैं अगाडिको शुभकामना आदान प्रदान गर्ने थलोको रुपमा लिएको कम्पनीले जनाएकाे छ । कार्निभलमा हुन्डाईको सबै शोरुमहरुमा फरक(फरक कार्यक्रमहरु आयोजना गरिनेछ । लाइभ फुड स्टल, लाईभ सांगितिक प्रस्तुति, बच्चाहरुको खेल्ने क्षेत्र, गाडी सम्बन्धि आवश्यक विभिन्न टीप्स र ट्रीक, निःशुल्क गाडीको परीक्षण र चेक जाँच, मूल्यांकन तथा एक्सचेन्ज सुविधा, ईभी सम्बन्धि विशेष जानकारी र अन्तर्क्रिया, ईभीको हाई भोल्टेज चेकअप, मोटोर र्याली जस्ता विभिन्न कार्यक्रम संचालन हुनेछन् । तीन दिन चल्ने कार्निभललाई अझै रोचक र प्रतिस्पर्धी बनाउन हुन्डाई टीकटक प्रतिस्पर्धा, एक्सटर ट्रेजर हन्ट, टेष्ट ड्राइभ एण्ड विन र महिला चालकहरुप्रति लक्षित ‘ह्वील अन हिल्स’ कार्यक्रम संचालन हुनेछ छ । कार्निभलमा समावेस भएर विजेता बन्ने सहभागीले विश्व प्रसिद्ध ब्रान्ड बोस्च तथा होलपुलकाका वाशिङ मसिन, माइक्रोवेभ ओवन, मिक्सर ग्राइन्डरहरु पाउन सक्नेछन् ।

शाखा प्रमुख र अभिकर्ताको सेटिङ : नक्कली कागजात बनाएर कर्जा स्वीकृत

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी नेपाल)को विरगञ्ज शाखा कार्यालयमा कार्यरत बिपिन कुमार साह ५ वर्षअघि रौतहटको गौर शाखा प्रमुख भएर सरुवा भए । एलआईसी नेपालमा एक दशकदेखि कार्यरत साहले गौर शाखामा करिब २ वर्ष काम गरे । गौर शाखामा अभिकर्ताको रुपमा विगत १९ वर्षदेखि कार्यरत थिए, सत्येन्द्र पाण्डे । सफल अभिकर्ताका रुपमा चिनिएका पाण्डे र शाखा प्रबन्धक साहको सम्बन्ध बलियो बन्दै गयो । अभिकर्ता पाण्डे बीमा सम्बन्धि कारोबारका लागि गौर शाखा धाइरहन्थे । कारोबारकै शिलशिलामा अभिकर्ता पाण्डे र शाखा प्रमुख साहको सम्बन्ध थप मजबुत बन्दै गयो । उनीहरु एकदमै मिल्ने साथी बने । नातेदार भने होइनन् । दुवै जना एक अर्काको कुरालाई नकार्न सक्दैनथे । आन्तरिक कुराहरु एक आपसमा साटासाट हुन थाले । शाखा प्रमुख साह र अभिकर्ता पाण्डे आफ्नो लक्ष्य पुरा गर्न रातदिन खटेर काम गर्न थाले । ‘शाखा प्रमुख साहलाई कम्पनीले दिएको विजनेश टार्गेट पुरा गर्न र अभिकर्ता पाण्डेलाई स्कीम अनुसारको कमिसन पाउन पर्ने कडा मेहेनत गर्थे,’ स्रोतले भन्यो, ‘दुवै जनाले आफ्नो लक्ष्य पुरा गर्न ग्राहकको नाममा कर्जा लिने काम गर्न थाले, डकुमेन्टको काम अभिकर्ता पाण्डेले मिलाउँथे भने कम्पनीको सिस्टममा ठिक्क पार्ने काम प्रमुख साहले गर्थे ।’ कम्पनीबाट कर्जा लिएर नयाँ बीमा लेख जारी गर्न थाले । सो अवधिमा ४३ वटा बीमा लेख जारी गरेको कम्पनी स्रोतको भनाइ छ । सो समयमा कम्पनीले ल्याएको करोडपति योजना तिनै अभिकर्ता पाण्डेले जिते । गौर शाखाले गरेको बिजनेसको प्रगति देखेर कम्पनीलाई पनि आशंका नलागेको होइन । सोही आशंकाले २ वर्षपछि प्रमुख साहको सरुवा तौलिहवा शाखामा भयो । अब दुई मिल्ने साथी साह र पाण्डेबीचको सम्बन्धमा दरार आउन थाल्यो । गौर शाखामा नेतृत्व गरेका साहले तौलिहवा शाखामा राम्रो पफर्मेन्स देखाउन सकेनन् । कर्जा नलिएका बीमितहरु समस्यामा परेको भन्दै गुनासो गर्न थाले । आफूहरुले कर्जा नलिएको भन्दै उनीहरुले हारगुहार गर्न थाले । यो बिचमा पाण्डे र साहको सम्बन्धमा दरार सिर्जना हुन थाल्यो । कम्पनीले अनुसन्धान अगाडि बढायो । प्रमुख साह र अभिकर्ता पाण्डेले नक्कली कागजहरु बनाएर बीमितहरुको नाममा कम्पनीबाट कर्जा लिएको प्रारम्भिक अनुसन्धानबाट खुल्यो । व्यवसायिक र वित्तीय स्वार्थ बाँझिने गरी दुवै जनाको मिलेमतोमा कर्जा लिएर आफ्नो फाइदा उठाएको कम्पनीको अनुसन्धानले देखायो । उनीहरुको मिलोमतोमा नक्कली कागजात बनाई बीमितको नाममा कर्जा लिएर रकम आफुले प्रयोग गर्ने गरेको भेटिएको कम्पनीको भनाइ छ । ‘यदि साहले स्वीकृत नगरेको भए यो समस्या आउने थिएन तर, कर्जा स्वीकृत गरेर शाखा प्रमुख साहले ठूलो गल्ति गरे, स्वार्थ बाँझिने गरी दुवै जनाले गलत काम गरेको देखिएको छ,’ कम्पनी स्रोतले भन्यो, ‘बिना डकुमेन्टेसन कर्जा स्वीकृत गरेको हुँदा प्रमुख साहको ठूलो गल्ति देखिन्छ ।’ स्रोतका अनुसार उक्त कर्जा रकम अभिकर्ता पाण्डेको नाममा ट्रान्सफर भएको हुँदा स्वार्थ देखिन्छ । तर, पाण्डे प्रमाणका आधारमा बलियो देखिन्छन् । किनभने उक्त कर्जा ग्राहकको नामबाट स्वीकृत गराएर पाण्डे आफूले चलाउने गरेको भेटिएको स्रोतको कम्पनी स्रोतको दावी छ । सो घटना बाहिरिएपछि प्रमुख साह र अभिकर्ता पाण्डेबीच उक्त समस्या समाधान गर्न पटक–पटक छलफल पनि भयो । दुवै जनाबीच सम्झौता भएर ग्राहकको रकम तिरेर पोलिसी निरन्तर गरेको भेटिएको कम्पनी स्रोतको दावी । ‘ग्राहकको समस्या समाधान भएपनि दुवै जनाले वित्तीय स्वार्थ हुने गरी ठगी गरेका छन्, प्रमुख साहको जागिर जाने सम्भावना छ, वित्तीय संस्थामा काम गर्ने ब्यक्तिले कसैको पैसा निकाल्नु सामान्य विषय होइन, अर्काको पैसा निकालेर अवैधानिक हिसाबले चलाउनु भनेको ठूलो वित्तीय ठगी हो,’ उनले भने । बिना कागजात शाखा प्रमुखले कर्जा स्वीकृत गरेको र सो घटनामा आफ्नो संलग्नता नरहेको अभिकर्ता सत्येन्द्र पाण्डे बताउँछन् । उक्त वर्ष आफ्नो १ करोड २४ लाख रुपैयाँ हिनामिना भएको उनको भनाइ छ । जसमध्ये ५० लाख रुपैयाँको प्रमाण आफूसँग सुरक्षित रहेको उनले बताए । उनका अनुसार आफू जस्तै ५० जना अभिकर्ता र ५ सय भन्दा बढी बीमाधारी पीडित छन् । बिपिनकुमार साहसँग कार्यालयमा काम गर्ने बाहेक अन्य सम्बन्ध नरहेको उनको प्रष्टिकरण छ । ‘कम्पनीले मलाई २०२१ मा करोडपति अवार्डबाट सम्मानित गरेको थियो, वर्षैपिच्छे प्रमाणहरु दिँदै आएको छ,’ उनले भने, ‘मेरो सम्बन्ध सबैसँग राम्रो छ । तर, सिस्टम र नियम खिलाप गरेकाले मैले आवाज उठाएको हो, कम्पनीले विश्वसनियता भङ्ग गर्याे भनेर मलाई कारवाही भयो ।’ उनले वार्षिक ३ करोड रुपैयाँ बराबरको कारोबार गरिरहेको धारणा राखे । उनी गौरस्थित आँखा अस्पतालमा काम गर्छन् । पार्ट टाइमको रुपमा बीमा अभिकर्ता भएर काम गरिरहेको उनको भनाइ छ । कम्पनीले सोमबार सूचना जारी गर्दै गौर शाखामा अभिकर्ताको रुपमा कार्यरत सत्येन्द्र पाण्डे र कर्मचारी (शाखा प्रबन्धक)विपीन कुमार साहलाई निलम्बन गरेको जानकारी दिएको छ । साथै, थप कानुनी कारवाहीको प्रक्रिया अघि बढिरहेको एलआईसी नेपालले बीमा प्राधिकरणलाई जानकारी गराएको छ । गैर–जम्मेवारपूर्ण रुपमा काम गरेको भन्दै अभिकर्ता पाण्डे र शाखा प्रबन्धक साहलाई तत्काल निलम्बन गरिएको र थप कानुनी कारवाहीका लागि नेपाल बीमा प्राधिकरणलाई जानकारी गराएको एलआईसी नेपालका सूचना अधिकारी सुदर्शन गिरीले बताए । गिरीका अनुसार गौर शाखामा अभिकर्ताको रुपमा कार्यरत पाण्डे र कर्मचारी कुमार साह दुवै जनाले मिलेमतोमा गैर–जिम्मेवारपूर्ण कार्यमा दोषी देखिएकाले निलम्बन गरिएको हो । ‘दुवै जनालाई गैर–जिम्मेवारपूर्ण कार्यमा प्रथम दृष्टीमै दोषी पाइएकोले निलम्बन गरिएको हो, थप कानूनी कारवाहीको लागि प्राधिकरणलाई जानकारी गराएका छौं,’ उनले भने । साथै, अभिकर्ता पाण्डेसँग आगामी दिनमा अभिकर्ताको हैसियतमा कुनै पनि कारोबार नगर्न कम्पनीले सबैलाई आग्रह गरेको छ । बीमा प्राधिकरण लगायत अन्य नियामकीय तथा नीति नियम र निर्देशिकाबाट सञ्चालित हुँदै आएको एलआईसी नेपालले बीमितहरुको बीमा रकम शतप्रतिशत सुरक्षित रहेको सूचना अधिकारी गिरीले बताए । ‘एलआईसी नेपालको नाममा चेक बनाएर ठगी गर्ने काम गरे, एलआईसीको नाममा चेक भएपछि अरुको पनि बीमा गर्न पाउँछन्, सो चेकबाट फरक–फरक ब्यक्तिहरुको बीमा गर्ने काम गरे,’ उनले भने, ‘त्यसबाट उनीहरुले कमिसन खाने काम, विदेश भ्रमण गर्ने काम गरे ।’ नेपाल बीमा प्राधिकरणका गुनासो व्यवस्थापन अधिकृत तथा उपनिर्देशक विरोध भट्टका अनुसार सो विषयमा प्राधिकरण राम्रोसँग जानकार छ । बीमितले कर्जा नमागेको भएपनि गलत प्रमाण जुटाएर कर्जा लिने काम अभिकर्ता पाण्डे र शाखा प्रबन्धक साहले गरेको आधारमा निलम्बन गरेको उनको भनाइ छ । नक्कली कागजकै भरमा शाखा प्रबन्धक साहले कम्पनीको प्रणालीमा कर्जा लिएको देखाउने गरेका थिए । एलआईसी नेपालको नाममा चेक बनाएर ठगी गरेको पुष्टि भएको उनको भनाइ छ । ‘यो मुद्दा अनुसन्धानकै क्रममा छ, बीमितको पैसा फिर्ता गरेर कर्मचारी र अभिकर्तालाई मुद्दा हालेर रकम असुल गर्नुस् भनेका छौं, अहिले बिमितको रकम फिर्ता गरिसकेको छ,’ उनले भने, ‘केही दिनभित्र सो मुद्दा किनारा लाग्छ, एलआईसीले अनुसन्धान प्रतिवेदन पेश गरेपछि प्राधिकरणले थप कारवाही गर्छ ।’

अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी खुल्यो, कोरिडोर अझै ठप्प

ढोरपाटन (बागलुङ) । दुई दिनदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ । निरन्तर वर्षाको कारण सडक माथिदेखि खसेको पहिरोले लोकमार्गअन्तर्गत बागलुङको बुर्तिबाङ–पूर्वी रुकुम खण्डको निसीखोला गाउँपालिका–१ पाखुतेमा अवरुद्ध भएको थियो । मङ्गलबार साँझदेखि अवरुद्ध भएको सडक अहिलेसम्म पनि दुईतर्फी सञ्चालनमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । सडकमा ठूलो पहिरो झरेका कारण दुईतर्फी खुलाउन नसकेको उहाँको भनाइ छ । अहिले पनि दुईतर्फी सञ्चालनका लागि मेसिन प्रयोग गरेर काम गरिरहेको केसीले जानकारी दिए । आज दिउँसोसम्म पूर्णरुपमा सञ्चालनमा आउने उनको भनाइ छ । सडक ठप्प भएपछि अलपत्र परेका यात्रु तथा सवारी साधन गन्तव्यतर्फ लाग्न थालेको प्रहरी नायब उपरीक्षक केसीले बताए । काठमाडौँ, पोखरादेखि पूर्वी रुकुमको रुकुमकोट, काँक्री, लुकुम र रोल्पा जाने सवारी साधान पनि सडकमा रोकिएका थिए । यता पहिरोले अवरुद्ध बनेको कालिगण्डकी कोरिडोर अहिलेसम्म सञ्चालनमा आएको छैन । मङ्गलबार कोरिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा माथिदेखि खसेको लेदोसहितको पहिरोले सडक पूर्णरुपमा ठप्प भएको थियो । अहिले बागलुङ नगरपालिकाको डोजर प्रयोग गरेर सडक खुलाउने प्रयास गरेको केसीले जानकारी दिए । रासस

नेपालगञ्जमा निषेधाज्ञा खुकुलो

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा खुकुलो बनाइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम आज बिहान ८ बजेदेखि राति ८ बजेसम्मका लागि निषेधाज्ञा हटाइएको जानकारी दिए । उपमहानगर क्षेत्रभित्र मङ्गलबारदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी भएकोमा राति ८ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म पूर्ववत्रुपमा उपमहानगर क्षेत्रभित्र पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहनाकाको चार किल्लामा निषेधाज्ञा आदेश जारी भएको जिल्ला प्रशासन कार्यालय, बाँकेले जनाएको छ । स्थानीय प्रशासन ऐनको दफा ३(क) बमोजिम चार किल्लाभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक, प्रदर्शन, प्रचारप्रसार सामग्री टास्न वा लेख्न नपाइने र हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकैठाँउमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न सार्वजनिक सम्पत्तिको संरक्षण, सामाजिक सद्भाव कायम गर्न एवं मानवअधिकारको सम्मान गर्न अनुरोध गर्दै स्थानीय प्रशासनले सार्वजनिक स्थानमा होहल्ला गर्नेजस्ता अवाञ्छित क्रियाकलाप तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर पार्ने खालका कार्य नगर्न र नगराउन अपिलसमेत गरेको छ । हिजो मात्रै जिल्ला प्रसासन कार्यालय, बाँकेमा बसेको सर्वपक्षीय बैठकले निषेधाज्ञा खुकुलो बनाउन जिल्ला सुरक्षा समितिमा सिफारिस गर्दै सामाजिक सद्भाव कायम राख्न र सद्भाव भड्किन नदिने प्रतिबद्धता व्यक्त गरेको थियो । सो बैठकले सबै क्षेत्रको उल्लेख्य सहभागिता हुने गरी सद्भाव ¥याली आयोजना गर्नेसमेत निर्णय गरेको थियो । सामाजिक सञ्जालमा आएको विषयलाई लिएर हिन्दू र मुस्लिम समुदायबीचको सद्भाव भड्किँदा त्यसले उग्ररुप लिँदा नेपालगञ्ज तनावग्रस्त बनेको थियो । रासस