विकासन्युज

कानुनी छिद्रबाट आममाफी दिने काम बन्द गरियोस् : गगनकुमार थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले गम्भीर अपराधमा संलग्न कैदीलाई आममाफी दिने काम तत्काल बन्द गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आज बैठकको विशेष समयमा थापाले आगामी दिनमा यस्तो गल्ति दोहोरिन नदिन विद्यमान कानुनमा स्पष्टता र नयाँ कानुन निर्माणका लागि सरकारलाई निर्देशन दिन माग गरे । संविधान दिवसका अवसरमा सरकारले छ सय ७० कैदीलाई आममाफी दिएको सम्बन्धमा नेता थापाले भने, ‘संविधानको मर्मविपरीत कानुनी छिद्रबाट बदनियतका साथ छिरेर गम्भीर अपराधमा दोषी ठहर गरिएकोलाई कैद मिनाहा गरिएको छ । यो निर्णय गलत छ । यसको विरोध स्वभाविक र बाञ्छनीय छ । यसको विरोध हुन्छ । यो विषय अदालत ढोकासम्म पुगेको छ र हामीसबैलाई गिज्याइरहेको छ ।’ मानवीय त्रुटी वा कुनै व्यक्ति अन्यायमा परेको अवस्थामा कानुनसम्मत रुपमा कैदीलाई आममाफी दिने सुविधा विश्वमै रहेको उल्लेख गर्दै सांसद थापाले यसको मूल मर्म कुनै पनि व्यक्ति अन्यायमा पर्दै भन्ने भएको स्पष्ट पारे । साथै उनले कानुनका छिद्र खोजेर गम्भीर अपराधमा संलग्न कैदीलाई स्वार्थ पूर्ति गर्ने काम गर्न नहुनेमा जोड दिए । जन्मकैद पाएका व्यक्तिले यस्तो सुविधा पाउनु हुँदैन भन्ने स्पष्ट रहेको उल्लेख गर्दै उनले अदालतको अवहेलना मुद्दा खेपिरहेको व्यक्तिले समेत उन्मिुक्ती पाएको भन्दै चिन्ता व्यक्त गरे । आधार र कानुन नखुलाई आममाफी दिन नमिल्ने व्यवस्थाप्रति जानकारी गराउँदै नेता थापाले अनावश्यक राष्ट्रपति संस्थालाई बदनाम गराउन नहुने बताए । उनले यस सम्बन्धमा सरकारले स्पष्ट पारी आगामी दिनमा सुधारको खाँचो औँल्याउदै कानुनका छिद्र टालेर एकीकृत कानुन बनाएर अपव्यख्या गर्न नमिल्ने गरी नयाँ कानुन निर्माणको माग गरे ।

देशभर पुँजी बजार सम्बन्धी सचेतना फैलाउँदै सेबोन र एफएनसीसीआई

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) बीच देशभर पुँजी बजार सम्बन्धि सचेतना फैलाउने सम्बन्धी सम्झौता भएको छ । सो सम्बन्धमा बिहीबार एफएनसीसीआईको केन्द्रिय कार्यालयमा आयोजित ‘शिक्षा तथा सचेतना सम्बन्धि सम्झौता’ नामक एक कार्यक्रममा सेबोनका अध्यक्ष रमेशकुमार हमाल र एफएनसीसीआईका अध्यक्ष चन्द्र प्रसाद ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता अनुसार सेबोनले महासंघको सहकार्यमा देशभर सेयर बजारसङ्ग सम्बन्धि सचेतना फैलाउने र शिक्षा प्रदान गर्ने छ । त्यस्तै, विश्व लगानिकर्ता सप्ताह २०२३ को अवसर पारेर सो कार्यक्रम गर्न लागेको सेबोनले जनाएको छ । सेबोन र महासंघको संयुक्त रुपमा यो कार्यक्रम पहिलोपटक भएको बताउँदै महासंघको जिल्ला नगरतर्फका उपाध्यक्ष सुरज कृष्ण वैद्यले देशभरिका दुर दराजका मान्छेले पनि सेयर बजारमा लगानी गर्ने वातावरण होस् भन्ने हेतुले यो कार्यक्रम गर्न लागिएको बताए । साथै, सेयर कारोबार गर्दा जोखिम र लगानीकर्ताको रकम नडुबोस् भन्ने उद्देश्यले यो सचेतना कार्यक्रमको शुरुवात गरिएको उनको भनाई छ । त्यस्तै, महासंघको वस्तुगत तर्फका उपाध्यक्ष हेमराज ढकालले सेबोन र महासंघबीचको सहकार्यले पुँजी बजारमा तरङ्ग ल्याउने बताएका छन् ।

तातोपानी नाकामा चहलपहल बढ्यो, साढे १ करोड राजस्व सङ्कलन

चौतारा । दसैँ, तिहारलगायतका चाडपर्वलाई लक्षित गरेर व्यापारीले चीनबाट सामान आयात गर्न थालेपछि तातोपानी नाकामा चहलपहल बढ्दै गएको छ । जाडोका लागि तयारी कपडा, फलफूल, जुत्ताचप्पल, तिहारका सामान, ऊनका सामग्री, विद्युतीय सामान चीनका विभिन्न क्षेत्रबाट नेपाली व्यापारीले ल्याउन थालेका छन् । तातोपानी नाकाबाट दसैँको सामान बोकेर दैनिक ३० कन्टेरको जाँचपास भई काठमाडौं भित्रने गरेको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख दयानन्द केसी बताउँछन् । उनका अनुसार चालु आर्थिक वर्षको दुई महिनामा एक करोड ६२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको जनाइएको छ । आयातनिर्यात सहज भएमा सरकारले राखेको लक्ष्यअनुरूप राजस्व सङ्कलन हुने केसीको भनाइ छ । ट्रान्स सिल्क ग्रुपका संयोजक विजय शेर्पाका अनुसार जाडोका कपडा, जुत्ताचप्पल, तिहारका सामान, विद्युतीय सामग्री चीनबाट आइरहेका छन् । आयात भएका सामानमध्ये ५० प्रतिशत स्याउ रहेको शेर्पा बताउँछन् । नाकाबाट मानव आवतजावत खुला हुँदा तातोपानी क्षेत्रका होटल, लजसमेत भरिभराउ हुन थालेका छन् । विसं २०७२ को भूकम्प र कोरोना महामारीले थला परेको नाका आठ वर्षपछि सर्वसाधारणका लागिसमेत खुला भएपछि यस वर्ष भने नाकाबाट दसैँको सामान आपूर्ति हुन थालेको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोक श्रेष्ठ बताउँछन् ।

बचतकर्ताको करोडौं रकम हिनामिना गर्ने देउराली सहकारीका अध्यक्ष पक्राउ, सीआईबीले अनुसन्धान गर्दै

काठमाडौं । देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाई पक्राउ परेका छन् । बचतकर्ताको करोडौं रकम हिनामिना गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो । काभ्रेका ३९ वर्षीय चौलागाईं असोज १६ गते (मंगलबार) नै पक्राउ परेका हुन् । सीआईबीका अनुसार चौलागाईंमाथि सहकारीको ४ करोड ४९ लाख ९९ हजार ४४३ रुपैयाँ हिनामिना गरेको आरोप छ । यो विषयमा सीआईबीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी गराएको छ । साथै, उक्त सहकारीबाट पीडित निक्षेपकर्ताहरुले तत्काल ब्यूरोमा सम्पर्क गर्न समेत सीआईबीले अनुरोध गरेको छ ।

नेपाल वायुसेवा निगम चार अर्ब ऋण तिर्न सफल भएको छ : पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल युरोपेली संघ (ईयू) को सुरक्षा सूचीबाट छिट्टै हट्ने दाबी गरेका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा मन्त्री किराँतीले ईयूको प्राविधिक टोलीले नेपालको हवाई सुरक्षा प्रणालीबारे ‘अडिट’ गरेर गएकाले सुरक्षा सूचीबाट हट्नेमा विश्वास व्यक्त गरे । ‘नेपालको हवाई क्षेत्र ईयूको सुरक्षा सूचीबाट चाँडै हट्नेछ । सेप्टेम्बर ११ देखि १५ सम्म ईयूको टोलीले अडिट गरेर गएको छ । प्राधिकरण विभाजनसम्बन्धी विधेयक पनि अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सहमतिसहित मन्त्रिपरिषदमा गएको छ,’ पर्यटनमन्त्रीले भने । ईयूको प्राविधिक टोलीले ‘अनसाइड अडिट’ गरेर गएको प्राधिकरणले जनाएको छ । ईयूअन्तर्गतको युरोपेली आयोगले सन् २०१३ देखि नेपालको हवाई क्षेत्रमाथि गम्भीर सुरक्षा चासो देखाउँदै कालोसूचीमा राखेको थियो । सन् २०१३ बाटै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को गम्भीर सुरक्षा चासो (एसएससी)को सूचीमा राखेकोमा सन् २०१७ जुलाईबाट हटाएको थियो । नेपालले हवाई सुरक्षा दरमा वृद्धि गरेकाले ईयूको कालोसूचीबाट हट्ने मन्त्री किराँतीको विश्वास छ । पर्यटनमन्त्री किरातीले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम सञ्चालन नाफामा रहेकाले चार अर्ब ऋण तिर्न सफल भएको उल्लेख गरे । उनले निगमको ग्राउन्डेड वाई-१२ जहाज चलाउन पनि नसकिने र भाडामा लगाउन पनि समस्या रहेको तथा जहाज पार्किङ शुल्क र बीमाको रकम तिर्नुपर्ने समस्या रहेको भन्दै यो व्यवस्थापन चुनौतीपूर्ण रहेको उल्लेख गरे । समितिका सभापति राजकिशोर यादवले निगमको विद्यमान कमजोर अवस्थालाई सुधार गर्न समितिले ताकेता गर्नुपर्ने खाँचो औंल्याए । उनले समितिले उपसमिति बनाएर निगमलाई कमजोर अवस्थामा पुर्‍याउनेको पहिचान गरी निगमको दीर्घकालीन हितका लागि उपयुक्त काम गर्नुपर्ने बताए । उक्त विषयमा समितिले आवश्यक परेमा छानबिन र अध्ययन गर्नुपर्ने उनको भनाइ छ । बैठकमा अभिलेख संरक्षण ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भएको छ ।

एभरेष्ट बैंकको वित्तिय अगुवाइमा कजरिया टायल्सले नेपालमै उत्पादन गर्ने

काठमाडौं । एभरेष्ट बैंकको अगुवाईमा कजरिया रमेश टायल्समा लगानी गर्ने सम्बन्धमा सहवित्तियकरण अन्तर्गत सहभागी बैंकहरुबीच वित्तीय सहजिकरण गर्ने कार्य सम्पन्न भएको छ । अगुवा बैंकको तर्फबाट एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृतसुदेश खालिङ तथा रमेश कर्पका तर्फबाट कम्पनीका उपाध्यक्ष रोहित गुप्ताले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।  कार्यक्रममा सह–वित्तियकरणका अन्य सदस्य बैंकहरु नबिल बैंक, नेपाल एबीआई बैंक र प्रभु बैंकका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो । नेपाललाई टायल्स उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ नवलपरासीमा रहेको प्लान्टबाट उत्पादन हुने टायल्सको कुल लागत ४०० रूपैयाँ करोड मध्ये सह–वित्तियकरण अन्तर्गत ३०० रूपैयाँ करोड लगानी रहने कम्पनीले जनाएकाे छ । विश्वको सातौं ठूलो टायल्स उत्पादन कम्पनी कजरिया सेरामिक्स  भारतको संयुक्त लगानी रहेको कजरिया रमेश टायल्स लिमिटेडले नेपालमा आधुनिक उपकरणहरु प्रयोग गरी गुणस्तिरीय टायल्स तथा सेरामिक्सका अन्य उत्पादनहरु अन्तराष्ट्रिय मापदण्ड बमोजिम गुणस्तिरीय हुने जनाएको छ । मार्च २०२४ बाट शुरुवात हुने उक्त परियोजनाले देशमा हुने टायल्सको माग पूरा गरी आयात प्रतिस्थापन गर्नेमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ ।

अपर तामाकोशीको हकप्रदबाट ७८ प्रतिशत रकम सङ्कलन, चुक्ता पुँजी २१ अर्ब नाघ्ने

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीका सेयरधनीहरुबाट हकप्रद सेयरबापतको ७८ प्रतिशत रकम सङ्कलन भएको छ । दोलखामा सञ्चालित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनीले गत भदौ १८ गतेदेखि सेयरधनीहरुलाई १ कित्ता शेयर बराबर १ कित्ताको प्रति सेयर १०० रूपैयाँ अंकित दरका हकप्रद शेयर निश्कासन गरिरहेको छ । कम्पनीका संस्थापकहरु नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम), नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानले आफ्नो सेयर अनुपातमा हकप्रद सेयर बापतको रकम शतप्रतिशत चुक्ता गरिसकेका छन् । संस्थापकहरुले ५ अर्ब ४० करोड ९ लाख रुपैयाँ चुक्ता गरेका हुन् । कम्पनीको ४९ प्रतिशत साधारण सेयरमध्ये सर्वसाधारणहरुबाट ५ अर्ब १९ करोड ९१ लाख रुपैयाँ चुक्ता हुनु पर्ने छ । मंगलबारसम्ममा सर्वसाधारण सेयरधनीबाट २ अर्ब ८३ करोड अर्थात ५५ प्रतिशत रकम सङ्कलन भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन प्रसाद गौतमले बताए । गौतमले भने,‘संस्थापकबाट शतप्रतिशत र सर्वसाधारणबाट ५५ प्रतिशत गरी हालसम्म ७८ प्रतिशत रकम सङ्कलन भइरहेको छ, सेयर भर्ने स्थानहरुमा व्यापक भीडभाड देखिएको छ, बाँकी ६ दिनमा अपेक्षाकृत रुपमै रकम सङ्कलन हुने देखिएको छ ।’ हकप्रद सेयर भर्ने अन्तिम दिन आगामी २२ असोज सोमबारसम्म रहेको छ । १० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीमा प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत र नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको २/२ प्रतिशत संस्थापक सेयर रहेको छ । सेयर स्वामित्वअनुसार, प्राधिकरणले ४ अर्ब ३४ करोड १९ लाख, नेपाल टेलिकमले ६३ करोड ५४ लाख र नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानले २१ करोड १८ लाख/२१ करोड १८ लाख रुपैयाँ हकप्रद सेयर बापतको रकम चुक्ता गरिसकेका छन् । कम्पनीको ४९ प्रतिशत साधारण सेयरमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको १७.२८ प्रतिशत, आयोजनामा ऋण प्रवाह गर्ने कर्मचारीहरुको २.८८ प्रतिशत, कम्पनी र प्राधिकरणका कर्मचारीहरुको ८.८४ प्रतिशत, दोलखाबासीको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत साधारण सेयर स्वामित्व छ । सर्वसाधारणतर्फबाट ५ अर्ब १९ करोड ९१ लाख रुपैयाँ चुक्ता हुनु पर्ने छ । यसअनुसार कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार, सर्वसाधारणले १ अर्ब ५८ करोड ८५ लाख, दोलखाबासीले १ अर्ब ५ करोड ९० लाख, कम्पनी र प्राधिकरणका कर्मचारीहरुले ४० करोड ६६ लाख ५६ हजार र आयोजनामा कर्जा प्रवाह गर्ने संस्थाका कर्मचारीहरुले ३० करोड ४९ लाख ९२ हजार रुपैयाँ हकप्रद सेयरबापत चुक्ता गर्नु पर्ने छ । हकप्रद सेयरबापतको रकम संकलनपछि कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्ने छ ।

४ करोड राजश्व छली फरार रहेका एक उद्योग सञ्चालक पक्राउ

काठमाडौं । राजश्ज छली गरी फरार रहेका नेपाल पान मसला उद्योगका सञ्चालक कुतबुद्दिन शेष प्रकाउ परेका छन् । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले करिब ४ करोड रुपैयाँ राजश्व छलेका सञ्चालक शेषलाई असोज १७ गते बुधबार कपिलवस्तुको चन्द्रौटाबाट पक्राउ गरेको हो । कपिलवस्तुको शिवराज नगरपालिका-४ घर भई हाल बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१ बस्ने कपिलवस्तुका ३६ वर्षिय शेषले उद्योग चलाउँदा अन्तःशुल्क, मूल्य अभिवृद्धि कर र आयकरको राजश्व चुहावट गरेको पाइएको छ । प्रहरीले गरेको अनुसन्धान अनुसार सञ्चालक शेषले उद्योग चलाउँदा कच्चा पदार्थको हिसाब-किताब र लेखा लापरबाही तथा त्रुटीपुर्ण तवरले राखी प्रचलित कानून बमोजिम कच्चा पदार्थ एवं प्याकेजिङ् मेटेरियलको खपत र सोबाट हुने उत्पादनको हिसाब उद्योग विभागबाट प्राप्त भएको नियमअनुसार नराखी बढी गुट्खा उत्पादन गरी स्टिकर नलगाएर बिक्रि वितरण गरेको पाइएको छ । तुलसीपुरको उच्च अदालतको २०७८ पुस १४ गतेको फैसलाले प्रतिवादीलाई ६ महिना कैद र विगो रकम ३ करोड ९९ लाख १० हजार ९०३ रुपैयाँ तथा जरिवाना १ करोड ९९ लाख ५५ हजार ४५२ रुपैयाँ समेत गरी कूल ५ करोड ९८ लाख ६६ हजार ३५५ रुपैयाँ वेरुजू माग गरेको छ । कपिलवस्तुको चन्द्रौटाबाट पक्राउ परेका उनलाई प्रहरी टोलीले असोज १८ गते काठमाडौं जिल्ला अदालतमा पेश गरेको हो ।