विकासन्युज

माछापुच्छ्रे बैंकको प्रस्तावित लाभांश पारित, मर्जरमा जान सञ्चालक समितिले पाए अख्तियारी

काठमाडौं । माछापुच्छ्रे बैंकको प्रस्तावित १४ प्रतिशत लाभांश पारित भएको छ । असोज १८ गते सम्पन्न बैंकको २५औं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको उक्त लाभांश पारित गरेको हो । यससँगै बैंकका सेयरधनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश पाउने भएका छन् । साथै, सभाले माछापुच्छ्रे बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने सम्बन्धि कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय समेत गरेको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६२ करोड ५५ लाख रुपैंया खुद नाफा गरेर प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८५ पैसा कायम गरेको थियो । हाल बैंकको चुक्ता पुँजी १० अर्ब २५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ६९ करोड रुपैयाँ संचित रहेको छ । बैंकको २५औं वार्षिक साधारण सभा होटल पोखरा ग्राण्डमा सम्पन्न भएको छ । उक्त सभाले बैंकको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिबेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८०/८१ को लागि जि.पि.राजबहाक एण्ड कम्पनी लेखापरीक्षक नियुक्ती गर्ने निर्णय गरेको छ । सभामा बोल्दै बैंकका अध्यक्ष डा.उपेन्द्र महतोले देशको आर्थिक स्थितिलाई मजबुत बनाउन सन्तुलित रुपमा निक्षेप तथा कर्जा लगानीलाई वृद्धि गरी कर्जाको गुणस्तरमा सुधार गर्दै कृषि, नवीकरणीय उर्जा, साना तथा मझौला उद्योग लगायतका क्षेत्रहरुमा आफ्नो लगानी विस्तार गर्ने बताएका छन् । साथै, सेयरधनीहरुलाई समेत उचित प्रतिफल प्रदान गर्ने रणनीतिमा बैंक सदैव लागि परेको उनले जानकारी गराए । डा.महतोले नेपाल राष्ट्र बैंकले अवलम्बन गरेको नीति अनुरुप बैंकले मर्जरको लागि प्रयत्न गरिरहेको जानकारी गराउँदै बैंक सँधै अर्थपुर्ण मर्जरका लागि सकारात्मक रही सोही बमोजिम छलफल  गर्दै आइरहेको जानकारी गराए । हाल बैंकले देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ वटा एटिएम मार्फत १५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ ।

‘रिगल’को कैद मिनाहाविरूद्ध सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल ‘रिगल’को कैद मिनाहा गर्ने सरकारी निर्णयविरूद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपषिद कार्यालयलगायतका विपक्षीलाई कैद मिनाहा गर्नुको लिखित कारण पेश गर्न आदेश दिएको हो । त्यस्तै, सर्वोच्चले उनको कैद माफी गर्दा भएका सबै निर्णयको सक्कल प्रति झिकाउन आदेश दिँदै विपक्षीहरुलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । बाँकेका चेतन मानन्धरकी श्रीमती भारती शेर्पा मानन्धरले दिएको रिटमा अर्को सुनुवाइको पेशी असोज २५ गतेलाई तोक्न पनि आदेश गरेको छ । त्यस्तै, सो दिनको बहसमा महान्यायाधिवक्तालाई नै उपस्थित हुन समेत सर्वोच्चको आदेश छ । बाँकेको नेपालगञ्जमा दिउँसै व्यक्तिको हत्या गरेको आरोपमा दोषी ठहर भएका रिगललाई संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले बाँकी कैद मिनाह गरेका थिए । सो विरुद्ध रिगलले हत्या गरेका चेतन मानन्धरकी श्रीमती भारतीले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

डिशहोममा नयाँ नेपाली फिल्मको मेला, चलचित्र छक्का पञ्जा ४ प्रदर्शनमा

काठमाडौं । बर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु, डिशहोममा मात्र एक्सक्लुशिभ प्रदर्शन भइरहेको छ । विभिन्न कारणवस हल सम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाएका दर्शकहरुले अब डिशहोम मार्फत सपरिवार एकै साथ वसेर हेर्न सक्नेछन् । अहिले दिपकराज गिरी, केदार घिमिरे, बुद्धी तामाङ आदी कलाकारहरुको अभिनय रहेको सुपरहिट चलचित्र छक्का पञ्जा ४ डिशहोम सिनेमाघर च्यानल नं. १०८ मा असोज १९ गते देखि प्रदर्शन भईरहेको कम्पनीले जनाएको छ । प्रकास, कृष्ण लिला, नाई नभन्नु ल ६, प्रसाद २, लाखे, घन चक्कर, मन्त्र, राधा, गुञ्जन, तिम्रो मेरो साथ, पासो, ह्यारिकी प्यारी, काँडेतार, गणपति जस्ता नयाँ चलचित्रहरु डिशहोम सिनेमाघर को साथै प्लस मुभि र रमाइलो टिभीमा प्रदर्शन हुनेछन् । सिनेमाघर च्यानल नं. १०८ मा चलचित्र हेर्न डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. १६६००१२२००० मा फोन गरेर, नजिकैको डिशहोम विक्रेता वा डिलरदाई मार्फत सेवा लिएर र आफ्नै मोबाईलबाट एसएमएस पठाएर चलचित्र हेर्न सकिन्छ । यस्तै डिशहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक बाेनस संगै नयाँ नयाँ नेपाली चलचित्र हेर्न सिनेमाघर च्यानल नं. १०८ को टिकट निशुल्क पनि पाउन सकिनेछ । ३ महिना अथवा एक हजार रुपैयाँमा वा सो भन्दा माथिको रिचार्जमा ३२५ रुपैयाँ बरावरको एउटा मुभी टिकट, ६ महिना अथवा दुई हजार रुपैयाँ वा सो भन्दा माथिको रिचार्जमा ६५० रुपैयाँ बरावरको २ ओटा मुभी टिकट, १२ महिना अथवा पाँच हजार रुपैयाँ वा सो भन्दा माथिको रिचार्जमा १३ सय रुपैयाँ बरावरको ४ ओटा मुभी टिकट ग्राहकहरुले पाउन सकिने कम्पनीले जनाएको छ । डिशहोमको नियमित प्याकेज रिचार्ज गरेको भोलिपल्ट बिहान ६ बजे पछि ८ अंकको सिनेमाघर च्यानल नं. १०८ को टिकट कुपन नम्वर ग्राहकको रजिष्टर्ड मोवाईल नं. मा एसएमएस मार्फत प्राप्त हुनेछ ।

गृह मन्त्रालयले ल्यायो तेजावको खरिद बिक्रीमा कडाई गर्ने नियमावली

काठमाडौं । गृह मन्त्रालयले तेजाबको खरिद बिक्रीमा कडाई गर्ने व्यवस्था सम्बन्धी नियमाली जारी गरेको छ । मन्त्रालयले तेजाब तथा रासायनिक पदार्थको पहुँचमा कडाई गर्ने उद्देश्यले बिहीबार ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली’ राजपत्रमा प्रकाशित गरेको छ । नियमावलीले तेजाव तथा घातक रासायनिक पदार्थ प्रयोजनको लागि सम्बन्धित उद्योगलाई मात्रै अनुमति दिने व्यवस्था गरेको छ । त्यस्ता घातक पदार्थहरुको पैठारी गर्दा पूर्व स्वीकृत लिनुपर्ने, प्रयोजनको लागि स्वीकृति लिनुपर्ने, बीमा गराउनुपर्ने लगायतका स्पष्ट किटानी व्यवस्था नियमावलीमा गरिएको छ ।

पाँंच हजारले गरे नेक इन्जेनियम अवलोकन

काठमाडौं । भक्तपुरमा एकदिने नेक इन्जेनियम २०२३ प्रदर्शनी बिहीबार सकिएको छ । प्रदर्शनीको झण्डै पाँंच हजार विद्यार्थीले अवलोकन गरेको जनाइएको छ । त्यसका लागि आयोजकले काठमाडौं उपत्यकाका विभिन्न स्कुल कलेजहरुलाई निमन्त्रणा गरिएको थिको । साथै काठमाडौंको दुई छुुटाछुटै स्थानहरुबाट प्रदर्शनीमा आउने विद्यार्थीलाई निशुल्क बस सुविधाको व्यवस्था गरेको थियो । जिल्लाको चाँंगुनारायण नगरपालिका दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेजको आयोजनामा प्रदर्शनी भएको हो । प्रदर्शनीमा आन्तरिक र बाह्य गरी एक सय भन्दा वढी स्टलहरु रहेका थिए । विशेष गरी इन्जिनियरिंग सम्वन्धि सम्वन्धित स्टलहरु वढी रहेका थिए । बाहिरका प्लस टु साइन्स र भित्रका स्नातक तहका इन्जिनियरिंगका विद्यार्थीले स्टल राखेको जनाइएको छ । प्रदर्शनीको एक कार्यक्रमवीच चाँंगुनारायण नगरपालिकाका प्रमुख एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा गठित व्यवस्थापन समितिका अध्यक्ष जीवन खत्रीले रिवन काटेर गरेका थिए । त्यस अवसरमा उनले कलेजलाई देशकै उत्कृष्ट प्राविधिक कलेजको रुपमा विकास गर्ने योजना रहेको बताए । कलेजका कार्यबाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीले सैद्धान्तिक रुपमा सिकेका ज्ञानलाई व्यवहारिक रुपमा बुझ्ने बनाउन प्रदर्शनीको आयोजना गरेको सुनाए । प्रदर्शनी संयोजक विजय श्रेष्ठले प्रदर्शनीको क्रममा विविध प्रतियोगिता हुने जनाए । उनका अनुसार प्रदर्शनीमा ब्याच वाइज प्रोजेक्ट, ओपन प्रोजेक्ट, पोस्टर डिस्प्ले, रोबोटिक्स, पेपर ब्रिज डिजाइन, फास्टेस्ट कोडिङ प्रतियोगिता र ओपन साइन्ससहित विभिन्न प्रकारका प्रतियोगिताहरू हुने छन् । दस जोड दुईका विद्यार्थीहरूको लागि परियोजना प्रतियोगितासमेत हुने छन् । प्रदर्शनीलाई अझ रोमाञ्चक बनाउन विजेताहरूको लागि पुरस्कारको व्यवस्था रहेको उनले सुनाए । असाधारण प्रतिभा र रचनात्मकता प्रदर्शन गर्नेहरूलाई पुरस्कारहरूको व्यवस्था रहेको उनको भनाई थियो । प्रदर्शनीमा दस जोड दुईका विद्यार्थीहरूका लागि खुला विज्ञान परियोजना प्रतियोगिता पनि हुने जनाइयो । यहाँं सहभागी प्रतियोगीहरुमध्ये सर्वाेत्कृष्टलाई ३० हजारसम्मको पुरस्कारको व्यवस्था रहेको जनाइएको छ । ‘यो प्रदर्शनी प्रतिभा प्रस्फुटन मात्र होइन; यो इन्जिनियरहरू, आविष्कारकहरू र समस्या समाधानकर्ताहरूको भावी पुस्तालाई उनीहरूको कडा परिश्रमको इनाम दिँदै प्रेरणा दिनेबारे हो, प्रदर्शनी संयोजक श्रेष्ठले थपे, चाहे तपाईं विद्यार्थी, शिक्षक वा प्राविधिक नै किन नहोस् सवैका लागि नेटवर्किङका अवसरहरू र अत्याधुनिक परियोजनाहरू र डिजाइनहरू हेर्ने मौकाले भरिएको हुने हामी प्रतिज्ञा गर्दछौ ।’ विचारलाई यथार्थमा रूपान्तरण गर्दै भन्ने नाराका साथ प्रदर्शनी र प्रतियोगिताहरू हुन लागेको जनाएको छ । नेपालभरका कलेज र संस्थाहरूका विद्यार्थी, शिक्षक र प्राविधिक उत्साहीहरूलाई आयोजक नेपाल इन्जिनियरिङ कलेजमा प्रेरणा र आविष्कारको दिनमा सामेल हुन हार्दिक निमन्त्रणा गरेको छ । प्रदर्शनीका लागि प्रभु बैंक, सिद्धार्थ बैंक, नेपाल इको प्यानललगायतको प्रायोजन रहेको जनाइएको छ । त्यसकारण त्यहाँं उनीहरुका स्टलहरु पनि रहेका छन् ।

सेयर बजारलाई उत्पादनमुलक क्षेत्र घोषणा गर्न महासंघका तीन उपाध्यक्षको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षहरुले सेयर बजार उत्पादनमुलक क्षेत्र भएको दाबी गरेका छन् । बिहीबार उद्योग वाणिज्य महासंघ र नेपाल धितोपत्र बोर्ड (सेबोन)को शिक्षा तथा सचेतना सम्बन्धि सम्झौता कार्यक्रममा बोल्दै महासंघ उपाध्यक्षहरुले सेयर बजारलाई उत्पादनमुलक क्षेत्र घोषणा गर्नुपर्ने माग गरेका हुन् । महासंघको जिल्ला नगरतर्फका उपाध्यक्ष सुरकृष्ण वैद्यले पूँजी बजार अनुत्पादक नभई उत्पादनमुलक क्षेत्र भएको बताए । पूँजी बजारलाई अनुत्पादकमुलक क्षेत्र भनेर गलत प्रचार गरिएकाले सो शब्द फिर्ता लिनुपर्ने उनको भनाइ छ । उद्योगी व्यवसायीलाई लगानी अभाव भएमा सेयर बजारबाट सहज रुपमा स्रोत जुटाउन सक्ने उनले बताए । ‘सेयर कारोबार उत्पादनमुलक क्षेत्र हो, अर्थतन्त्रलाई चलायमान गर्ने क्षेत्र सेयर बजार हो, कुनै व्यवसायीले ५ वर्षमा १ करोड रुपैयाँ कमायो भने त्यो रकम सहज रुपमा निकाल्न सकिँदैन, यदि सेयर बजारमा सोही बराबरको रकम कामायो भने ३ दिनभित्र निकाल्न सकिन्छ,’ उनले भने, ‘लगानीकर्ताले सेयर बजारबाट कमाएको रकम होटल, सिमेन्ट, डण्डी, पर्यटनदेखि सबै उद्योगमा लागनी गर्न सक्छ, त्यसकारण सेयर बजार उत्पादनमुलक क्षेत्र हो ।’ दूरदराजका मान्छेलाइ पनि पूँजी बजार ल्याउन महासंघले सकारात्मक भूमिका निर्वाह गर्ने उनले बताए । साथै, लगानीकर्ताले कारोबार गर्दा तत्काल फाइदा हुने र दीर्घकाल फाइदा हुने गरी लगानी गर्नु पर्ने उनको भनाइ छ । सेयर कारोबार गर्दा लगानीकर्ताको लगानी नडुबोस् भन्ने हेतुले महासंघले सचेतना कार्यक्रम गर्ने उनको भनाइ छ । आगामी दिनमा कुनै दुर्घटना नघटोस् भनेर यो कार्यक्रम गर्न लागिएको उनले बताए । महासंघकाे वस्तुगततर्फका उपाध्यक्ष हेमराज ढकाल पूँजी बजारमा लगानीको ठूलो हिस्सा रहेकाे बताउँछन् । सेयर बजार र घरजग्गाका बारेमा नकारात्मक सन्देश प्रवाह गरेको हुँदा अहिले घाइते अवस्थामा पुगेको उनको भनाइ छ । ‘पूँजी बजारले लगानीको ठूलो हिस्सा ओगटेको छ, सेयर बजार र घरजग्गाका बारेमा नकारात्मक सन्देश फैलाउँदा अहिले घाइते अवस्थामा छ,’ उनले भने, ‘पूँजी बजारमा ठूलो हिस्सा सरकारपछि निजी क्षेत्रले ओगटेको छ, महासंघ र सेबोनको सहकार्यले बजारमा तरङ्ग ल्याउने छ ।’ सेयर बजारबाट पूँजीको जोहो कसरी गर्ने भनेर तालिमको व्यवस्था गर्नु पर्ने उनले बताए । सेयर बजारलाई सकारात्मक बाटोमा लैजान महासंघ सधै सकारात्मक रहेको उनको भनाइ छ । महासंघको एशोसिएटतर्फको उपाध्यक्ष ज्योत्सना श्रेष्ठले सेयर बजारलाई उत्पादनमुल्क क्षेत्रका रुपमा विकास गर्नु पर्ने बताइन् ।

भी२९ फाइभजी फोनसँगै भिभोले ल्यायो नयाँ अफर, मोबाइल किन्दा बुलेट बाइक पाइने

काठमाडौं । भिभोले नेपाली बजारमा फ्ल्यागशिप भी सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन भी२९ फाइभजी सार्वजनिक गरेको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै भिभोले उक्त स्मार्टफोन सार्वजनिक गरेको हो । आधुनिक डिजाइन र स्मार्ट लुक्स भएको सो फोन नेपालभर उपलब्ध हुने कम्पनीले जानकारी गराएको छ । कम्पनीका अनुसार यो फोनमा १२०हर्ज थ्री डी कर्भ स्क्रीन, औरा लाइट पोर्ट्रेट, ५० एमपी अटोफोकस ग्रुप सेल्फी लगायतका विशेषताहरू रहेका छन् । नयाँ फोन सार्वजनिक गर्दै भिभो नेपालका जनरल म्यानेजर माइकल भिभोको याे स्मार्टफोन धेरै ग्राहकको रोजाइमा पर्ने बताउँछन् । ‘भिभोको भी सिरिजले फोटोग्राफी, डिजाइन र कार्यसम्पादन क्षमताले प्रयोगकर्ताहरूलाई निरन्तर आकर्षित गर्दै आइरहेको छ, भी२९ फाइभजीको इमेजिङ र आकर्षक डिजाइनमा विकास भएको छ,’ उनले भने- ‘यो फोन ग्राहकको रोजाइमा पर्ने आशा लिएका छौं, आगामी दिनमा पनि नयाँ मोडलका स्मार्ट फोन ल्याउने नै छौं ।’ भिभो भी२९ फाइभजी डिजाइन, क्यामेरा क्षमताहरू र कार्यसम्पादनको उत्कृष्ट संयोजन भएको यो स्मार्टफोन दुई कलर पिंक ब्लू र नोबेल ब्ल्याकमा उपलब्ध रहेको कम्पनीले जानकारी गराएको छ । यो स्मार्टफोनको १२० हर्दजको थ्रीडी कभंड स्क्रिनले अल्ट्रा(स्लिम सौन्दर्य डिजाइनसँगै इमर्सिभ तथा दृश्यात्मक रूपमा आकर्षक अनुभव प्रदान गर्ने र यसमा ५०एमपी एचडी अटोफोकस क्यामेरा जडान गरिएको माइकल बताउँछन् । भी२९ मा ५०एमपी ओआईएस अल्ट्रा(सेन्सिङ क्यामेरा, एमपी अल्ट्रा वाइड एंगल क्यामेरा, र २एमपी मोनोक्रोम क्यामेरा रहेको छ । कम्पनीका अनुसार भिभो भी२९ फाइभजीमा क्वालकम स्न्यापड्रेगन ७७८ जी प्रोसेसर रहेको छ जसमा ८० वाट फ्ल्यासचार्ज रहेको छ भने ४६०० हर्ज व्याट्री छ । त्यस्तै, नेपाली बजारमा भिभो भी२९ फाइभजीको मूल्य ५९ हजार ९९९ रुपैयाँ तोकिएको कम्पनीले जानकारी गराइको छ । फोन किन्दा बुलेट बाइक उपहार  भिभोले नयाँ फोन सार्वजनिक गरेसँगै दशैं तिहार अफर पनि सार्वजनिक गरेको छ । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै ‘आयो दशैं, लाग्यो तिहार, भिभो किन्दा बुलेट उपहार’ अफर ल्याएको हो । कम्पनीका अनुसार यो अफर अक्टोबर ५ देखि नोभेम्बर २१ सम्म लागू हुनेछ । सो अफर अन्तर्गत एक जना विजेताले नयाँ भिभो भी२९ फाइभजी जित्न सक्नेछन् भने ग्राण्ड पुरस्कार अन्तर्गत एक जना विजेताले रोयल इनफिल्ड बाइक जित्ने मौका पाउनेछन् । यसको साथै, भिभोले विजेताहरूका लागि बाई वान- गेट-वन अफर पनि ल्याएको छ । सो अफरबाट ६०० देखि १००० ग्राहकहरूले ब्लुटुथ स्पिकर प्राप्त गर्ने छन् । यस्तै, तीनदेखि पाँच हजार भिभोका ग्राहकहरूले स्टाइलिश ब्याग र  ५ देखि ८ हजार ग्राहकले भिभोको बोतल पाउँने छन् । कम्पनीले १० देखि १५ हजार ग्राहकहरूले रिचार्ज कार्ड प्राप्त गर्न सक्ने पनि बताएको छ । यो अफरमा सहभागी हुन चाहाने ग्राहकहरूले हरेक भिभो फोनको खरिदमा vivodashain.com मा रजिस्टर्ड गरी  पुरस्कारहरू प्राप्त गर्न सकिने छ ।

अर्थतन्त्रलाई डीप डिप्रेसनमा जानबाट रोक्न समयमै सुधार गर्नुपर्छ : राजेश कुमार अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामनासहित अर्थतन्त्रका विषयमा छलफल गरेको छ । बिहिबार परिसंघ सचिवालयमा आयोजित बधाई कार्यक्रममा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले सेजन अध्यक्ष सुजन ओलीसहित कार्यसमिति सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । सो अवसरमा उनले मुलुकको अर्थतन्त्र जटिल अवस्थामा रहेकाले सुधारका लागि सबैको प्रयासको खाँचो रहेको बताए । विदेशी मुद्रा संचितीमा दबाब पर्दा लिइएको नीति, कोभिड १९ को असरबाट बाहिर निस्कन नपाउँदै प्रभावित क्षेत्रलाई दिइएको छुट तथा सुविधा एकै पटक हटाउँदा अर्थतन्त्र आजको अवस्थामा आइपुगेको उनले बताए । आर्थिक मन्दीका कारण उद्योग व्यवसायी, सरकारलगायत सर्वसाधारण समेत खर्च गर्न डराएका कारणले माग घटेको भन्दै उनले अर्थतन्त्रलाई चलायमान बनाउन बजारमा पैसा पठाउनुपर्नेमा जोड दिए । उनले अर्थतन्त्रलाई थप जटिलतामा जानबाट रोक्न समयमै सुधार गरिनुपर्ने बताए । ‘अर्थतन्त्रलाई डीप डिप्रेसनमा जानबाट रोक्न समयमै सुधार गर्नुपर्छ, ढिलो गरी गरिने सुधारले काम नगर्न पनि सक्छ’, उनले भने । अर्थतन्त्रलाई छिट्टै सुधारतर्फ लैजान सरकारले पूँजीगत खर्च गर्नुपर्ने, निर्माण व्यवसायीहरुलाई दिनुपर्ने भुक्तानी दिनुपर्ने उनले बताए । यसैगरी राष्ट्र बैंकले प्रभावित क्षेत्रका लागि कर्जाको पुनर्संरचना र पुनर्कर्जाको पैसा दिनुपर्ने बताए । सेजनका नवनिर्वाचित अध्यक्ष ओलीले व्यवसायिक वातावरण बनाउन काम गर्नुपर्ने बताए । सेजन नीतिगत सुधारमा लागेको भन्दै कानून तथा नीतिगत सुधारका लागि सहकार्य गरेर अगाडि बढ्न सकिने बताए । सो कार्यक्रममा परिसंघका उपाध्यक्षहरु विरेन्द्रराज पाण्डे, भीम घिमिरे, परिसंघ पदाधिकारी सदस्य गोकुल भण्डारी, सन्दिप सारडालगायत सहभागी थिए ।