काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल ‘रिगल’को कैद मिनाहा गर्ने सरकारी निर्णयविरूद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपषिद कार्यालयलगायतका विपक्षीलाई कैद मिनाहा गर्नुको लिखित कारण पेश गर्न आदेश दिएको हो ।
त्यस्तै, सर्वोच्चले उनको कैद माफी गर्दा भएका सबै निर्णयको सक्कल प्रति झिकाउन आदेश दिँदै विपक्षीहरुलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।
बाँकेका चेतन मानन्धरकी श्रीमती भारती शेर्पा मानन्धरले दिएको रिटमा अर्को सुनुवाइको पेशी असोज २५ गतेलाई तोक्न पनि आदेश गरेको छ । त्यस्तै, सो दिनको बहसमा महान्यायाधिवक्तालाई नै उपस्थित हुन समेत सर्वोच्चको आदेश छ ।
बाँकेको नेपालगञ्जमा दिउँसै व्यक्तिको हत्या गरेको आरोपमा दोषी ठहर भएका रिगललाई संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले बाँकी कैद मिनाह गरेका थिए । सो विरुद्ध रिगलले हत्या गरेका चेतन मानन्धरकी श्रीमती भारतीले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।