विकासन्युज

मुद्दती खातामा प्यान नम्बर अनिवार्य

काठमाडौँ । ५० लाख रुपैयाँभन्दा माथिको मुद्दती खाता खोल्दा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य उल्लेख गर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार एकीकृत निर्देशन २०७९ जारी गर्दै ५० लाख रुपैयाँभन्दा बढीको मुद्दती निक्षेप खाता खोल्दा प्यान नम्बर अनिवार्य गरिएको हो । ‘इजाजतपत्रप्राप्त संस्थाले कुनै प्राकृतिक व्यक्तिको ५० लाख रुपैयाँभन्दा बढीको मुद्दती निक्षेप स्वीकार गर्दा निक्षेपकर्ताको स्थायी लेखा नम्बर अनिवार्य रुपमा लिनुपर्नेछ,’ एकीकृत निर्देशनमा उल्लेख छ । यसअघि सो व्यवस्था लागू भएको थिएन ।

सेयर कर्जा सीमा अधिकतम २० करोड रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको १२ करोडको सीमा हटेको छ । राष्ट्र बैंकले बिहीबार एकीकृत निर्देशन जारी गर्दै सेयर धितो कर्जालाई व्यक्तिगत तर्फ १५ करोड र संस्थागत २० करोड रुपैयाँ पुर्याएको हो । ‘कुनै एक वा सबै इजाजतपत्र प्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १५ करोड रुपैयाँ कायम गरिएको छ, धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताका लागि यस्तो कर्जाको अधिकतम सीमा २० करोड रुपैयाँ कायम गरिएको छ,’ एकीकृत निर्देशनमा भनिएको छ । अब सेयर धितो राखेर व्यक्तिगत लगानीकर्ताले १५ करोड रुपैयाँसम्म कर्जा लिन पाउने छन् भने संस्थागत लगानीकर्ता २० करोड रुपैयाँ कर्जा लिन पाउने छन् । यसअघि व्यक्तिगत र संस्थागत दुवैतर्फ १२ करोड रुपैयाँसम्म सेयर धितो कर्जा लिन पाउने व्यवस्थ थियो । राष्ट्र बैंकले पूँजी बजारमा ब्यक्तिगत लगानीकर्ताभन्दा संस्थागत लगानीकर्तालाई बढी सक्रिय बनाउन खोजिएको देखिन्छ ।

अनलाइन अटो शो गर्दै नाडा

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले अनलाइन अटो शो गर्ने भएको छ । सो सम्बन्धमा नाडा र हाम्रो बजार डटकमबीच सहकार्य भएको छ । असोज १८ गते नाडाको सचिवालय टेकुमा आयोजित एक कार्यक्रममा दुई संस्थाले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त पत्रमा नाडाका तर्फबाट अध्यक्ष डा.ध्रुव थापा तथा हाम्रो बजार डटकमका तर्फबाट केएमजीका बजार प्रबन्धक सागर केसीले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता अनुसार डिजिटल अटो एक्सपो गर्ने हाम्रो बजार डट कमले काठमाडौको भृकुटीमण्डपमा हालै सम्पन्न नाडा अटो शो २०२३ का सन्दर्भमा भएका सम्पूर्ण गतिविधिहरुबारे नाडाडटहाम्रोबजारडटकमबाट दैनिक रुपमा प्रसारण गर्ने छ ।

क्यानद्धारा आयोजित सबै खेलको टिकट आईएमई पेले बेच्ने, ब्राण्ड एम्बेसडरमा केसी र कामी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र आईएमई डिजिटल सोलुसन (आईएमई पे) बिच रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता अनुसार आईएमई पे अबको २ वर्षको लागि नेपाल क्रिकेट संघले देश भित्र आयोजना गर्ने अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलहरूको टिकेटिङ्ग पार्टनरका रूपमा रहने छ । सम्झौता लागू भएसँगै आउँदो २ वर्षको समय अवधिमा नेपाल क्रिकेट संघले नेपालमा आयोजना गर्ने सम्पूर्ण अन्तर्राष्ट्रिय खेलहरूको फिजिकल र अनलाईन टिकेटको विक्रीको जिम्मेवारी पनि आईएमई पेले पाएको छ । राजधानी काठमाडौंमा बिहीबार सम्पन्न एक समारोहकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । पत्रमा नेपाल क्रिकेट संघको तर्फबाट सचिव पारस खड्का र आईएमई डिजिटल सोलुसनका तर्फबाट आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले हस्ताक्षर गरेका हुन् । नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय स्तरमा पाएको सफलता र ख्यातिलाई संस्थागत गर्दै सिङ्गो नेपाली क्रिकेटको विकास र विस्तारका लागि सम्पूर्ण क्षेत्रको संयुक्त पहलको आवश्यकता रहेको छ। सोही आवश्यकता महसुस गरी यो समझदारी भएको हो । नेपाल क्रिकेट संघका सचिव पारस खड्काले आईएमई पेसँगको यो साझेदारीले नेपाली क्रिकेटको बहुआयामिक विकासमा सहयोग पुग्ने बताए । ‘नेपाली क्रिकेटको स्तर वृद्धि र दिगो विकासका लागी आउँदो दिनहरूमा हामीले अन्तर्राष्ट्रिय टोलीहरूसँग धेरै भन्दा धेरै खेलहरू खेल्नु पर्ने अवस्था रहेको छ । यसै बिचमा आई एम ई पे जस्तो संस्थाले नेपाली क्रिकेटमा लगानी गर्ने निर्णय गर्नु हामी सबैका लागि खुसीको खबर हो,’ संघका सचिव पारस खड्काले भने । यस्तै, नेपाली क्रिकेटको विकासका विभिन्न आयामहरूमा जोडिन पाउँदा गौरवान्वित रहेको आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताएका छन् । ’आइएमई पे’ को डिजिटल वित्तीय समावेशिताको महाअभियानलाई खेल तथा खेलाडीसँग जोड्दा झनै प्रभावकारी रूपमा लागु गर्न सकिने भएकोले यस साझेदारीप्रति उत्साहित रहेको पनि प्रमुख कार्यकारी रेग्मीले बताए । यसैगरी आइएमई ग्रुपले क्रिकेटर करन केसी र सोमपाल कामीलाई ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ । आइएमईले खेलाडीको मनोबल बढाउन प्रतिबद्ध रहेको भन्दै नयाँ ब्राण्ड एम्बेसडरहरु मार्फत आइएमई ग्रुपको साख बढाउन सहयोग पुग्ने विश्वास लिइएको बताएको छ ।

सेयर बजार र घरजग्गाका कारण अर्थतन्त्र नबिग्रिएको दावी

काठमाडौं । पछिल्लो समय सर्वसाधारणदेखि विज्ञहरुले सार्वजनिक रुपमा नै सेयर बजार र घरजग्गामा लगानी बढेका कारण अर्थतन्त्रमा समस्या आएको बताउँदै आएका छन् । बैंक तथा वित्तीय संस्थाहरुलाई पनि सो क्षेत्रमा मात्रै कर्जा प्रवाह गरेको आरोप लाग्दै आएको छ । साथै सेयर बजार र घरजग्गालाई अनुत्पादक क्षेत्रका रुपमा चित्रण गरिँदै आएको छ । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले भने सेयर बजार र घरजग्गामा लगानी गरेका कारण अर्थतन्त्र नबिग्रिएको र यस क्षेत्रलाई उत्पादनमुलक क्षेत्रका रुपमा घोषणा गर्नु पर्ने माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सेयर बजार र घरजग्गाका कारण अर्थतन्त्र नबिग्रिएको बताए । बिहीबार उद्योग वाणिज्य महासंघ र नेपाल धितोपत्र बोर्ड (सेबोन)को शिक्षा तथा सचेतना सम्बन्धि सम्झौता कार्यक्रममा उनले पूँजी बजारमा ६० लाख मान्छे जोडिएको हुँदा सेयर बजारप्रति नकारात्मक धारणा नराख्न सबैलाई आग्रह गरे । अहिले त्रासको स्थिती सिर्जना गरिएको हुँदा सकारात्मक सन्देश प्रवाहमा जोड दिनु पर्ने उनको भनाइ छ । ‘बैंकमा ५ खर्ब रुपैयाँ पैसा छ तर, पैसाको अभावमा व्यवसाय क्रियाकलाप बढ्न सकिरहेको छैन किनभने आम मानिसमा त्रासको वातावरण छ,’ उनले भने, ‘घरजग्गामा लगानी गरेका कारण सबै बिग्रियो, सबै व्यवसायीहरु घरजग्गामा डाइभर्ट भए भन्ने भाष्य तयार पारियो, व्यवसायीहरुका कारण मात्रै अहिलेकाे स्थिती  आएको होइन ।’ सेयर बजारमा कारोबार गर्ने ब्यक्ति तथा संस्थाका कारण मात्रै अहिलेको स्थिती नआएको उनको भनाइ छ । अहिलेको स्थिती आउनुमा आन्तरिकतर्फ नियामकीय व्यवस्थादेखि बाह्य कारण रहेको उनले बताए । साथै, बढी हल्ला र त्रासले पनि नकरात्मकता बढेको उनको भनाइ । सकारात्मक सन्देश प्रवाह गर्नु अहिलेको वास्तविक खाचो रहेको उनले बताए । ‘कोरोनापछि धेरै नकारात्मकता फैलियो, चाहिने भन्दा बढी त्रास देखाईयो, जसले गर्दा अहिलेको स्थिति आयो, सर्वसाधारणमा मनोबल बढाउन रास्ट्र बैंक, सेबोन लगायत सबैले सकारात्मक भूमिका खेल्नु पर्छ,’ उनले भने । महासंघको जिल्ला नगरतर्फका उपाध्यक्ष सुरकृष्ण वैद्य पूँजी बजार अनुत्पादक नभई उत्पादनमुलक क्षेत्र भएको बताउँछन् । पूँजी बजारलाई अनुत्पादकमुलक क्षेत्र भनेर गलत प्रचार गरिएकाले सो शब्द फिर्ता लिनुपर्ने उनको भनाइ छ । उद्योगी व्यवसायीलाई लगानी अभाव भएको बेला सेयर बजार लगानी जुटाउने स्रोत रहेको उनले बताए । ‘सेयर कारोबार बजार उत्पादनमुलक क्षेत्र हो, अर्थतन्त्रलाई चलायमान गर्ने क्षेत्र सेयर बजार हो, कुनै व्यवसाय गरेर ५ वर्षमा १ करोड रुपैयाँ कमायो भने त्यो रकम सहज रुपमा निकाल्न सकिँदैन, यदि सेयर बजारमा सोही बराबरको रकम कमायो भने ३ दिनभित्र निकाल्न सकिन्छ,’ उनले भने, ‘लगानीकर्ताले सेयर बजारबाट कमाएको रकमले होटल, सिमेन्ट, डण्डी, पर्यटनदेखि सबै उद्योगमा लागनी गर्न सक्छन्, त्यसकारण अनुत्पादक भन्ने शब्द हटाउनु पर्छ ।’ दूरदराजका मान्छेलाई पनि पूँजी बजार सहज रुपमा पहुँच पुर्याउन पहलकदमी चाल्नु पर्ने उनले बताए । साथै, लगानीकर्ताले कारोबार गर्दा तत्काल फाइदा हुने र दीर्घकाल फाइदा हुने गरी लगानी गर्नु पर्ने उनको भनाइ छ । सेयर कारोबार गर्दा लगानीकर्ताको लगानी नडुबोस् भन्ने हेतुले सचेतना आवश्यक रहेको उनको भनाइ छ । महासंघका वस्तुगततर्फका उपाध्यक्ष हेमराज ढकाल पूँजी बजारले लगानीको ठूलो हिस्सा ओगटेको बताउँछन् । सेयर बजार र घरजग्गा कारोबारका बारेमा नकारात्मक सन्देश प्रवाह गरेको हुँदा घाइते अवस्थामा पुगेको उनको भनाइ छ । ‘पूँजी बजारले लगानीको ठूलो हिस्सा ओगटेको छ, सेयर बजार र घरजग्गा कारोबारका बारेमा नकारात्मक सन्देश फैलाउँदा अहिले घाइते अवस्थामा छ,’ उनले भने, ‘पूँजी बजारमा ठूलो हिस्सा सरकारपछि निजी क्षेत्रले ओगटेको छ, महासंघ र सेबोनको सहकार्यले बजारमा तरङ्ग ल्याउने छ ।’ महासंघको एशोसिएटतर्फको उपाध्यक्ष ज्योत्सना श्रेष्ठले सेयर बजारलाई उत्पादनमुल्क क्षेत्रका रुपमा विकास गर्नु पर्ने बताइन् । सेयर बजारलाई पूँजीको जोहो गर्ने स्रोतका रुपमा लिनु पर्ने उनको भनाइ छ । हकप्रद सेयर सेयरधनीहरुको नैसर्गिक अधिकार सेबानका अध्यक्ष रमेशकुमार हमालले हकप्रद सेयर सेयरधनीहरुको नैसर्गिक अधिकार रहेको बताए । कमजोर कम्पनीले नै हकप्रद सेयर जारी गर्ने अभ्यास विश्वभर रहेको उनको भनाइ छ । ‘हकप्रद सेयर सेयरधनीहरुको नैसर्गीक अधिकार हो, कम्पनी अफ्ठ्यारोमा परेका बेला ७५ प्रतिशत सेयरधनीहरुले साधारण सभाबाट पारित गरेर कम्पनी जोगाउनु पर्छ भन्छन्, हकप्रद सेयर संसारका अन्य देशहरुमा पनि जारी गर्ने अभ्यास छ,’ उनले भने, ‘म २०१७ मा नेपाल आउँदा हकप्रद सेयर जारी गरेका अधिकांश कम्पनीहरुको सेयर मूल्य बढेको थियो तर, अहिले बजारमा हकप्रद सेयर बन्द गर्नु पर्ने आवाज उठेको छ ।’ देश विकास गर्नका लागि सोचमा परिवर्तन र सहकार्य आवश्यक रहेको उनको भनाइ छ । सिस्टम अनुसार सबै अघि बढ्नु पर्ने उनले बताए । अहिले समाजमा देखिएको नकारात्मकताले देश विकास हुन नसक्ने उनको भनाइ छ । सबैको सहकार्यले नै अघि बढ्नु पर्ने उनले बताए । ‘प्रधानमन्त्री, मन्त्री लगायत कुनै पनि पदाधिकारीलाई असिमित अधिकार दिनु हुँदैन, सिस्टमले चल्नु पर्छ, धितोपत्र बोर्डका अध्यक्षले चाह्यो भने आज आईपीओ बन्द गर्ने, ५ वर्ष पछि खोल्ने अधिकार अध्यक्षलाई दियो भनेसंस्था ध्वस्त हुन्छ,’ उनले भने, ‘त्यसैले कसैलाई पनि असिमित अधिकार दिनु हुँदैन, देश विकास गर्न सकारात्मक सोच र सहकार्य जरुरी छ ।’

पुल्चोक क्याम्पसका निमित्त क्याम्पस प्रमुख र सबै विभागीय प्रमुखले दिए राजीनामा

काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसका निमित्त प्रमुखसहित प्राज्ञिक र प्रशासनिक सबै विभागका प्रमुखले सामूहिक राजीनामा दिएका छन् । निमित्त क्याम्पस प्रमुख लोकनाथ रेग्मीको अध्यक्षतामा बसेको बैठकले सामूहिक राजीनामा दिने निर्णय गरेको हो । स्रोतका अनुसार सहायक क्याम्पस प्रमुखहरु, विभागीय प्रमुख र उपप्रमुख, एमएस्सी कोर्डिनेटरहरु, निर्देशक र प्रशासन प्रमुखले सामूहिक राजीनामा दिने निर्णय गरेका हुन् । सो निर्णय अनुसार उनीहरु सबैले निमित्त क्याम्पस प्रमुख रेग्मीमार्फत इन्जिनियरिङ अध्ययन संस्थानको डिन कार्यालयमा राजीनामा बुझाएका स्रोतले बतायो ।

प्राइम र लुम्बिनी विकास बैंकले पनि शुरु गरे ‘कार्डलेस क्यास विथड्रल’ सेवा

काठमाडौं । नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स (नेप्स) सदस्य बैंकहरु प्राइम कमर्सिअल बैंक र लुम्बिनी विकास बैंकले कार्डलेस क्यास विथड्रल सेवा शुरु गरेका छन् । दुई बैंकले हालै नेप्सको कार्ड प्रोसेसिङ्ग स्वीच प्रयोग गरी उक्त सेवा सुचारु गरेका हुन् । यस सेवाको कार्यान्वयनसँगै अब यी बैंकहरुका ग्राहकहरुले एटिम कार्ड बिना नै एटिम मेसिनहरुबाट सहज र सुरक्षित तवरले नगद निकाल्न सक्ने छन् । कार्डलेस क्यास विथड्रल गर्नका लागि यी बैंकहरुका ग्राहकहरुले आफ्नो मोबाईल बैंकिङ्ग एप लगइन गरी कार्डलेस विथड्रल सेलेक्ट गर्नु पर्नेछ । साथै, आफुले झिक्न चाहेको रकम प्रविष्ट गरि प्रोसिड थिच्नु पर्नेछ । यस पश्चात दर्ता गरिएको मोबाईल नम्बरमा ग्राहकलाई ओटीपी कोड पठाइने छ । त्यसपछि ग्राहकले यी बैंकहरुका कुनै एटीएममा गई कार्डलेस ट्रान्जेक्सन चयन गर्नुपर्ने छ र मागिएको विवरण जस्तै आफ्नो मोबाईल नम्बर, पठाईएको ओटीपी कोड तथा आफुले झिक्न चाहेको रकम प्रविष्ट गरी कार्डबिना एटीएम मेसिनबाट नगद निकाल्न सक्नेछन् । हालसम्म नेप्सका सदस्य बैंकहरु मध्य कार्डलेस क्यास विथड्रल सेवा लक्ष्मी सनराज बैंक, माछापुच्छ्रे बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, ज्योति बिकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंकहरुमा कार्यान्वयन भइसकेको छ ।

मःममा साङ्ला भेटिएपछि महानगरले लाजिम्पाटको एक रेष्टुरेन्टमा लगायो ताला

तस्वीरः सामाजिक सञ्जाल काठमाडौं । काठमाडौं महानगरपालिकाले लाजिम्पाटमा रहेको फो ९९ रेष्टुरेन्टमा ताला लगाएको छ । उक्त रेष्टुरेन्टको मःममा साङ्ला भेटिएपछि महानगरले उक्त रेष्टुरेन्टमा ताला लगाएको हो । ग्राहकबाट आएको उजुरीको आधारमा महानगरको टोलीले अनुगमन गर्दा मःममा साङ्ला भेटिएको हो । महानगर प्रहरी प्रमुख राजु पाण्डे, स्वास्थ्य विभागका कर्मचारी सहितको टोलीले अनुगमन गर्दा भान्सा अस्वस्थ ढंगले चलाइएको र भान्छामा साङ्ला तथा फोहोर देखिएपछि ताला लगाइएको बताइएको छ । यससँगै उक्त रेष्टुरेन्टलाई जरिवाना गर्ने वा मुद्दा चलाउने भन्ने विषयमा भने हालसम्म टुंगो लागेको छैन । यसविषयमा महानगरको प्राविधिक टोलीले अध्ययर गरेपछि मात्रै टुंगो लाग्ने महानगर स्रोतले बतायो ।