सरकारले आगामी बजेटको तयारी अहिलेदेखि नै गर्नुपर्छ : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले आगामी बजेटको तयारी अहिलेदेखि नै गर्नुपर्ने बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पहुँच पुग्ने ठाउँमा मात्रै बजेट विनियोजन भएको अवस्थाको अन्त्य गर्नुपर्ने र आवश्यकताका आधारमा बजेट विनियोजन हुनुपर्नेमा जोड दिए । अर्थमन्त्री महतले सबैभन्दा धेरै जनसंख्यालाई प्रभाव पार्ने र शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका आवश्यक क्षेत्रको पहिचान गरी आगामी वर्षको बजेट विनियोजन हुनुपर्ने आवश्यकता रहेको बताए । उनले सबैभन्दा चाँडै प्रतिफल दिने विषयलाई प्राथमिकतामा राख्न आवश्यक रहेको पनि बताए । सामाजिक सुरक्षाका दायित्व र वैदेशिक ऋणको दायित्व बढीरहेको बताए । अर्थमन्त्री महतले श्रोत तथा साधन न्युन र आवश्यकता धेरै भएको भन्दै त्यसलाई चिरेर काम गर्नुपर्ने आवश्यकता रहेको जानकारी दिए । ‘स्वास्थ्यको कुरा गर्ने बित्तिकै हाम्रा आवश्यकता अत्यन्त ज्यादा र हाम्रो श्रोत तथा साधन न्युन छन् । त्यसको बीचमा हामीले काम गर्नुपर्ने जरुरी छ । आवश्यकता धेरै छन् । साधन श्रोत थोरै छ । अब यसको अन्त्य गर्नुपर्छ । सरकारले आउने बजेटको तयारी अहिलेदेखि नै गर्नुपर्छ । हाम्रा सामाजिक सुरक्षाका दायित्व बढीरहेका छन्, तलव भत्ता आदि इत्यादि कम गर्नसक्ने अवस्था छैन । वैदेशिक ऋणको दायित्व पनि बढ्दैछ’, उनले भने । मन्त्री महतले थोरै श्रोत, साधनलाई प्राथमिकताका साथ कसरी खर्च गर्ने भन्ने चुनौति सरकारसँग रहेको बताए ।
मिर्गौला ७० प्रतिशत बिग्रेपछि मात्र रोग लागेको थाहा हुन्छ : डा. कटवाल
मानिसको शरिरमा लाग्ने धेरै प्रकारका रोगहरुमध्ये पछिल्लो समयमा मिर्गौला रोगीहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । प्रारम्भिक सजगता अपनाउँदा मिर्गौला सम्बन्धी धेरै रोगहरु नलाग्ने र लागिसकेपछि पनि प्रारम्भिक चरणमा उपचार गर्दा सहज, सस्तो र निको हुने सम्भावना धेरै हुने विशेषज्ञहरुको भनाइ छ । मिर्गौला रोग लाग्नु अगाडिका सावधानी र लागिसकेपछिको गर्नुपर्ने सही जानकारी प्राप्त गर्न नसक्दा धेरै बिरामीहरुले अनावश्यक समस्या झेल्नुपरेको पनि देखिन्छ । प्रस्तुत छ, मिर्गौला सम्बन्धी रोग र खासगरी रोग लागिसकेपछिको अवस्थाका बारेमा सुमेरु अस्पताल धापाखेल ललितपुरका वरिष्ठ कन्सल्टेन्ट, युरोलोजिस्ट तथा मिर्गौला प्रत्यारोपण सर्जन डा. विजयमान प्रधान कटवालसँग गरिएको कुराकानीको सम्पादित अंश : पछिल्लो समयमा मिर्गौला रोगीहरुको संख्या बढ्दै गएको देखिन्छ, सामान्यतया मिर्गौलामा देखिने समस्यालाई प्रारम्भिक रुपमा कसरी बुझ्न सकिन्छ ? मिर्गौलाको समस्या भन्ने वित्तिकै हामीले मिर्गौला फेल भएको विषयलाई मात्रै बुझ्ने समस्या देखिन्छ । त्यो होइन, त्यो भनेको मिर्गौला रोगको अन्तिम अवस्था हो । समस्या भन्ने वित्तिकै मिर्गौलामा हुने क्यान्सर, मिर्गौलामा हुने पत्थरी, मिर्गौलामा हुने टिवी, मिर्गौलामा हुने साधारण संक्रमण र मिर्गौलामा हुने वंशानुगत डिसअर्डर पनि मिर्गौलामा हुने समस्याहरु हुन् । मिर्गौलामा धेरै प्रकारको रोगहरु लाग्ने गर्छ । त्यसको भिन्दाभिन्दै सिन्ड्रमहरु हुन्छ । हामीले अन्य रोगहरुको उपचार गर्ने प्रकृयामा पनि अल्ट्रासाउन्ड गर्दा मिर्गौलामा लागेका रोगहरुको बारेमा थाहा पाउन सक्छौं । कहिलेकाहीँ पत्थरी लुकेर बसेको हुनसक्छ । टिबी भयो भने पिसाबमा रगत आउने, पिप आउने तथा पिसाब पोल्ने हुनसक्छ । क्यान्सर भएको छ भने पिसाबमा रगत आउनसक्छ, छाम्दाखेरी डल्लोजस्तो हुने साइडमा ठूलो हुन्छ । पत्थरी भयो भने पत्थरी पिसाबको नलीमा आएर अड्केर सहनै नसक्नेगरी दुख्ने पनि हुन्छ । साथै वंशानुगत समस्याले पनि मिर्गौलामा समस्या देखिन सक्छ । केही तथ्यांकहरुले विकसित मुलुकमा प्रौढ अवस्थामा मात्रै धेरै मानिसहरुलाई मिर्गौला रोग लाग्ने देखाएको छ भने नेपालमा युवा अवस्थामा नै त्यस्ता रोगीको संख्या बढी देखिएको छ, तपाईंहरुले यसलाई कसरी हेरिरहनुभएको छ ? विकसित मुलुकहरुमा मानिसहरुले आफ्नो नियमित स्वास्थ्य जाँच गर्छन् । जसको खर्च बीमाले कभर गर्छ । वर्ष-वर्ष दिनमा अनिवार्य रुपमा सबैले स्वास्थ्य जाँच गर्ने गर्छन् । तर, नेपालमा भने साधारण स्वास्थ्य जाँच गर्न जाँदा पनि हाम्रो पैसा खर्च गर्नुपर्ने हुन्छ । हाम्रो पुरै शरिरको जाँच गर्दा १५/२० हजार रुपैयाँ खर्च हुन्छ । साधारण नेपाली परिवारमा यो खर्च गरेर स्वास्थ्य जाँच गर्ने विषयमा समस्या पनि छ । रोग लागिसकेपछि डाक्टरकोमा जाने कारणले गर्दा पनि रोगलाई निको गराउन गाह्रो हुन्छ, तर शुरुवाती अवस्थामा पत्ता लगाउन सकियो भने रोगलाई नियन्त्रण गर्न सकिन्छ । कुनैपनि रोग वर्षमा एक पटक पत्ता लाग्नु र ४/५ वर्षमा एकपटक पत्ता लाग्नुमा फरक हुन्छ । ढिलो पत्ता लाग्दा रोग निको नै नहुने अवस्थामा पुगिसकेको हुन्छ । मिर्गौलाको रोग यस्तो हुन्छ की हामीलाई लागेको नै थाहा हुँदैन । हाम्रो मिर्गौला ७० प्रतिशत नबिग्रने बेलासम्म रोग लागेको थाहा नै हुँदैन । त्यतिबेलासम्म खानाको रुची भइरहेको हुन्छ, पिसाब राम्रोसँग आइरहेको हुन्छ । त्यसपछि ७०/८० प्रतिशत बिग्रेपछि मात्रै भोक कम लाग्ने, पिसाब कम आउने जस्तो समस्या देखिन थाल्छ । मिर्गौला रोग लागिसकेपछि उपचार गर्ने कार्य महंगो र बोझिलो देखिन्छ, मिर्गौलालाई रोगबाट नै बचाउन जीवनशैली र खानपानमा आधारभूत कस्तो ख्याल राख्दा सम्भव छ ? यो कारणले पत्थरी बन्छ भन्ने छैन, सामान्यतया गर्मी ठाउँमा बस्ने र पसिना धेरै आउने मानिसले पानी कम पिउने गर्छ भने त्यो मान्छेलाई पत्थरी बढी भएको देखिन्छ । मिर्गौला सामान्य भएको मानिसले पानी र झोलिलो पदार्थ २४ घण्टामा ३ देखि ४ लिटर खायो भने मिर्गौलाको धेरै रोगबाट बच्न सकिन्छ । त्यसपछि, रक्तचाप वा मधुमेहको कारणले मिर्गौला धेरै बिग्रेको देखिन्छ । हामीले रक्तचाप र मधुमेहलाई नियन्त्रणमा राख्न सक्यौं भने पनि मिर्गौला फेल हुने समस्याबाट बच्न सकिन्छ । अर्को समस्या पिसाबबाट प्रोटिन लस हुने हुन्छ, अन्य मेडिकल रोगहरु हुन्छन्, जसलाई लागेको शुरु अवस्थाबाटै थाहा पाउन सकियो भने निको बनाउन सकिन्छ । हामीसँग भएका दुइवटा मिर्गौला एकैपटक फेल हुन्छन् की हामीले दुईवटै बिग्रेपछि मात्रै थाहा पाउँछौं ? यदि पत्थरीको कारण मिर्गौलामा समस्या भएको छ भने जुन मिर्गौलामा पत्थरी भएको छ त्यसलाई उपचार गरेमा निको हुन्छ । तर, पत्थरी दुईवटै मिर्गौलामा भयो भने समस्या हुन्छ । यस्तो समस्या निकै कमलाई हुन्छ । केही विरामीहरु दुईवटै मिर्गौलामा पत्थरी भएर बिग्रेपछि आएको पनि देखिन्छ । अन्य कारणले बिग्रने भनेको शरिरमा रगतमा फोहोर भएर दुईवटै मिर्गौलाले एकैपटक छान्नुपर्ने अवस्थामा साधारण भाषामा भन्दा मिर्गौलाको फिल्टरका प्वालहरु टालिदै गएर फोहोर नछानिने अवस्थामा मिर्गौला फेल हुनसक्छ । मधमेह र उच्च रक्तचाप छ भनेपनि विस्तारै–विस्तारै दुवै मिर्गौलाहरु एकैपटक बिग्रदै जाने अवस्था हुन्छ । हामीले हेर्दापनि समस्या भनेको मिर्गौला फेल भएकाहरुको मात्रै देखिरहेका हुन्छौं, किनभने अन्य सामान्य रोग लागेको अवस्थालाई महत्व दिइँदैन । मिर्गौलाको निको नहुने रोग लाग्ने भनेकै फेल हुने हो । क्यान्सर भयो भने कि उपचार हुन्छ, कि रोगीको मृत्यु हुन्छ । त्यस्तै मिर्गौला फेल हुने भनेको क्रोनिक रोग हो । जुन लागिसकेपछि गर्ने उपचारमा सबैलाई थाहा हुन्छ । मिर्गौलाको रोग लागिसकेपछि फेल हुने भनेको ५ देखि १० प्रतिशत मात्रै रहेको देखिन्छ । मिर्गौला बिग्रिसकेपछि वा फेल भइसकेपछि कुन उपचार पद्दती प्रयोग गर्दा उपयुक्त हुन्छ ? मिर्गौला फेल भइसकेपछि तुरुन्तै बाँच्ने उपाय भनेको डाइलासिस हो, जुन अस्थायी उपचार हो । यो भनेको कृत्रिम प्रकृयाद्वारा रगत छान्ने हो । तर, स्थायी समाधान भनेको प्रत्यारोपण नै हो । यदि प्रत्यारोपण गर्ने हो भने साधारण मान्छे जस्तै जिउन सकिन्छ । त्यसैले उत्तम विकल्प भनेको मिर्गौलाको प्रत्यारोपण नै हो । डाइलोसिस भनेको पनि दुई प्रकारको हुन्छ । पेरिटोरियल डाइलासिस जुन पेटबाट गर्न सकिन्छ, अर्को हेमोडाइलोसिस हुन्छ, जुन रगत छान्ने काम गरिन्छ । हेमोडाइलोसिस अस्पताल आएर मात्रै गर्न सकिन्छ, जुन सरकारले निःशुल्क रुपमा उपलब्ध गराएको छ । हप्ताको दुई पटक गर्नुपर्ने हुन्छ । पेरिटोरियल डाइलासिस भनेको मिर्गौलाले २४ सै घण्टा काम गरेजस्तै आठ-आठ घण्टामा घरमा आँफै बसेर गर्न मिल्छ । यो रगतमा नभएर पेटमा गर्ने हो । यसमा प्रयोग हुने पानी पनि सरकारले निःशुल्क रुपमा उपलब्ध गराएको छ । यो डाइलासिस गर्दा बिरामीले स्वयं आफैले आफ्नो काम गर्दै गर्न सक्छ । साथै उसलाई पानी र खाना खान पनि समस्या हुँदैन । तर, रगतबाट गर्ने डाइलासिसमा पानी खान मिल्दैन यी दुईवटा डाइलासिस मध्ये पेरिटोरियल डाइलासिस बिरामी र उसको परिवारको लागि सहज देखिन्छ । साथै हेमोडाइलासिस गरेको बिरामी भन्दा पेरिटोरियल गरेको बिरामी हेर्दापनि बढी स्वस्थ देखिन्छ । तपाईं मिर्गौला प्रत्यारोपणको क्षेत्रमा काम गर्नुभएको सफल चिकित्सक पनि हुनुहुन्छ, मिर्गौला रोगी र आफन्तहरुले प्रत्यारोपणको विषयमालाई कसरी बुझ्नुपर्छ ? सामान्यतया विद्यमान कानूनअनुसार प्रत्यारोपणको लागि कसरी अगाडि बढ्न सकिन्छ भन्ने सल्लाह दिनुहुन्छ ? संसारभरी नै अंग किनबेच गर्न पाईंदैन । सरकारले बनाएको कानून एकदम ठिक छ । त्यसैले आफ्नो परिवारका सदस्यबीचमा समस्याको आधारमा एकले अर्कोलाई दिने गर्दा किनबेच हुने सम्भावना हुँदैन । कहिलेकाहीँ एउटै परिवारभित्रका सदस्यमध्ये एकले अर्कोलाई मिर्गौला दिन खोज्दा पनि नमिल्न सक्छ । त्यसैले त्यस्तो अवस्थामा समस्या भएका दुई परिवारबीचमा साटासाट गर्न सकिन्छ । त्यो भनेको आफ्नै परिवारको सदस्यालाई दिएको बराबर नै भयो । रगतको ग्रुप नमिलेपछि आफ्नो परिवारको सदस्यलाई दिन मिल्दैन र त्यस्तै रगतको ग्रुप नमिलेपछि अर्को परिवारको सदस्यले पनि उसको परिवारको सदस्यलाई दिन नमिलिरहेको हुन्छ । तर, त्यस्तो अवस्थामा एक अर्को परिवारका सदस्य बीचमा मिल्दा साटासाट गर्न सकिन्छ । नेपालमा नै यस्तो अभ्यास सयौं भइसकेको छ । मिर्गौला प्रत्यारोपण गरिसकेपछिको नियमित औषधि सेवन र स्वस्थ रहने विषय कत्तिको खर्चिलो र सहज छ ? हो । पैसा नै छैन भने प्रत्यारोपण गरेर मात्रै हुँदैन । पैसा कमाउन सकिने स्थिति हुनुपर्छ । प्रत्यारोपण गरेको शुरुमा महिनाको ३० देखि ४० हजार रुपैयाँसम्म औषधिको लागि खर्च हुन्छ । जुन ३/४ महिनासम्म खर्च हुन्छ । अप्रेसन गरिसकेपछि सरकारले पनि दुई लाख दिन्छ । केही पछि सँधैका लागि महिनाको १० देखि १५ हजार औषधिको लागि छुट्याउनै पर्छ । तर, प्रत्यारोपण गरिसकेपछि काम गरेर पैसा कमाउन पनि सकिन्छ भने सरकारले पनि उपचारको लागि महिनाको पाँच हजार दिने व्यवस्था पनि गरेको छ । जसले गर्दा खर्च गर्न गाह्रो नहुन पनि सक्छ ।
शक्तिशाली नेताले भनेको मात्रै यहाँ लागू हुँदोरहेछ : सांसद सापकोटा
काठमाडौं । ‘सदनमा आएपछि कानुन निर्माणका अतिरिक्त जनताका विकास निर्माणसम्बन्धी समसामयिक विषयमा केही गरौँला भन्ने उद्देश्य लिएकी थिएँ, तर चाहेको र सोचेको काम गर्न सकिएको छैन ।’ जनमत पार्टीकी नेतृ गोमालाभ सापकोटाले भनिन्, ‘सदनमा आएपछि कानुन निर्माणसँगै आफूले प्रतिनिधित्व गरेको ठाउँको विकास निर्माण गरौँ भन्ने थियो, त्यो नसक्ने परिस्थिति देखियो ।’ निर्वाचन क्षेत्र विकासका लागि बजेट माग्दा सरकारले आर्थिक सङ्कट र राजस्व असुली कमजोर देखाउने गरेको उल्लेख गर्दै उनले भनिन्, ‘मन्त्री र प्रधानमन्त्रीका जिल्लामा भने त्यो लागू भएन । शक्तिशाली नेताले भनेको मात्रै लागू हुँदोरहेछ ।’ प्रदेश र स्थानीय तहको विकास निर्माणको आ–आफ्नै शैली र क्षेत्र रहेको उल्लेख गर्दै सांसद सापकोटाले सङ्घीय सांसदले पनि मतदाताका अपेक्षा पूरा गर्नु प्राथमिक दायित्व भएको विचार प्रकट गरिन् । ‘कानुन निर्माण पनि गर्नुपर्छ, तर जनताले जिताएर पठाइसकेपछि उनीहरूको पनि विकास निर्माणमा आशा र अपेक्षा हुन्छ, त्यसलाई जनप्रतिनिधिले सम्बोधन गर्न कोसिस गर्नुपर्छ’, उनले भनिन् । छोटो राजनीति यात्रामै सङ्घीय संसद्मा पुग्ने जनप्रतिनिधि बन्न सफल सांसद सापकोटा कानुन तर्जुमा र विकास निर्माणबीच तादम्यता मिलाएर जाँदा देश र जनताको हित नै हुने तर्क गर्छिन् । महोत्तरीको महोत्तरी गाउँपालिका–३ स्थायी ठेगाना भई विसं २०७६ देखि राजनीतिमा प्रवेश गरेकी उनीसँग जनमत पार्टी महोत्तरीको जिल्ला अध्यक्ष भएर काम गरेको अनुभव छ । सामाजिक एवं जनचेतनामूलक कार्यक्रममा अग्रणी भूमिका निर्वाह गर्दै आएकी सांसद सापकोटाले राजनीतिमा आउनुअघि १० वर्ष शिक्षिका भएर काम गरिन् । सांसदको मूल दायित्व कानुन बनाउने सन्दर्भमा गर्नुपर्ने भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै उनी सदनमा आएपछि विकासको पाटोबाट पनि जनताप्रति सांसदको केही कर्तव्य रहने बताउँछिन् । राजनीतिक सिद्धान्त, दृष्टिकोण र अभ्यास तथा सांसदप्रति समाजको बुझाइबीच ठूलो भिन्नता रहेको उल्लेख गर्दै उनले ठूला दलले भागबण्डा एवं आवश्यक चासो नदिएकाले मूल विषय कानुन निर्माण ओझेलमा परेको प्रतिक्रिया दिइन् । सदनमा प्रतिपक्षी दलले कतिपय अवस्थामा स–साना विषय उठाएर जनभावनाविपरीत सदन अवरोध गरेको घटना सुनाउँदै सांसद सापकोटाले संसद् अवरुद्ध हुँदा पर्ने प्रभाव र बाधा अड्चनको मूल्याङ्कन जरुरी रहेको धारणा राखिन् । एक प्रश्नको जवाफमा उनले कतिपय जनप्रतिनिधिले संविधान र प्रतिनिधिसभा नियमावलीभन्दा बाहिर गएर सदनमा दिने अभिव्यक्ति र प्रस्तुतिले बोलेका विषय रेकर्डबाट हटाउनुपर्ने अवस्था आउने गरेको बताइन् । सांसद सापकोटाले भनिन्, ‘नियमावलीको परिधिभित्र रही निर्वाचन क्षेत्र, जिल्ला, देश र दुनियाँको कुरा सदनमा उठाउन पाइन्छ, कुनै रोकटोक हुन्न । तर बोल्दा नियमावलीको उल्लङ्घन गरिनुहुन्न ।’ परिवार पाल्न रोजगारीका लागि कुनै पनि नेपाली विदेश जान पर्ने बाध्यात्मक अवस्था नआओस्, देशमै काम दिन सकियोस्, त्यसका लागि काम गरौँ भन्ने उद्देश्य लिएर सदनमा आएको उल्लेख गर्दै उनले जनतासँग पनि त्यही भनी मत मागेको घटना सुनाइन् । डा चन्द्रकान्त (सीके) राउत अध्यक्ष रहेको जनमत पार्टीबाट प्रतिनिधिसभामा चार महिला र दुई पुरुष सांसदको प्रतिनिधित्व छ । सो दल प्रतिनिधिसभामा आठौँ ठूलो राजनीतिक पार्टी हो । सांसद सापकोटाले भनिन्, ‘भ्रष्टाचार निर्मूल पार्ने पार्टीको धारणा छ, हामीले सदनमा बारम्बार यही मुद्दा उठाउँदै आएका छौँ । तर ठूला भनिएका दलले त्यसलाई बेवास्ता गरिरहेको देखिन्छ ।’ मुलुकको विकास निर्माणमा संलग्न हुनुपर्ने युवाशक्तिलाई स्वदेशमै स्थापित गर्न चाल्नुपर्ने कदमबारे पार्टीले सरकारलाई सुझाव दिँदै आएको सांसद सापकोटाले बताइन् । जनताले आगामी दिनमा यस्ता समस्या र पीडा भोग्न नपरोस् भनी जनचेतामूलक अभियान एवं जनजागरण कार्यक्रम गरिरहेको उनले जानकारी दिइन् । रासस
शुक्रबार यी स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौं । नेपालमा हाल भारतको पश्चिम बङ्गाल र झारखण्ड आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । त्यही कारणले बदली र वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहिरहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
फुडमाण्डुको बडादसैँ बाइट्स क्याम्पेन सार्वजनिक, के छ विशेषता ?
काठमाडौं । नेपालको पहिलो तथा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा ‘बडा दशैं बाइट्स’ नामक अफर क्याम्पेन लिएर आएको छ। यो क्याम्पेनमा उपभोक्ताले दुईवटा अफर प्राप्त गर्न सक्नेछन् । पहिलो अफर अन्तर्गत ‘बडा दशैं बाइट्स’ मा हरेक दिन विभिन्न रेस्टुरेन्टहरूबाट २५ प्रतिशत फ्ल्याट डिस्काउन्ट पाउन सकिनेछ । दोस्रो अफर अन्तर्गत ‘बडा दशैं कम्बो बाइट्स’ मा ३० भन्दा बढी प्रख्यात रेस्टुरेन्टहरूबाट मन लोभ्याउने कम्बो खानाहरुमा ५० प्रतिशतसम्मको डिस्काउन्ट पाउन सकिनेछ । यसबारे फूडमान्डुकी ब्रान्ड एंड मार्केटिङ मेनेजर, सुश्री इनशा भट्टराईले भनिन्, ‘यस अभियान मार्फत हाम्रा ग्राहकहरूसँग दशैं मनाउन पाउँदा हामी अत्यन्तै उत्साहित छौं । हामी सधैं उत्कृष्ट खाना र डेलिभरीद्वारा आफ्ना ग्राहकहरूलाई सेवा दिने प्रयासमा लागिरहेका हुन्छौं । आशा छ कि यी विशेष अफरहरूले हाम्रा ग्राहकहरुको यस उत्सवमा थप आनन्द र स्वादिष्टता ल्याउनेछ र प्रियजनहरूसँग अविस्मरणीय पलहरू सिर्जना गर्न मद्दत गरोस् ।’ यो अभियान कार्तिक २ गतेसम्म चल्ने छ । यी अफरहरूको फाइदा उठाउनको लागि, फूडमान्डुुको वेबसाइटमा वा फूडमान्डुुको एप डाउनलोड गरेर फूड अर्डर गर्न सकिने जनाइएको छ ।
ज्योति विकास बैंकद्वारा क्युआर अडियो अलर्ट सेवा सार्वजनिक
काठमाडौं । ज्योति विकास बैंकले क्युआर कोड मार्फत भएको भुक्तानीको जानकारी भ्वाइस मेसेजबाट तत्काल प्राप्त हुने नवीन प्रविधिमा आधारित ‘कोइलीः क्युआर अडियो अलर्ट डिभाइस’सेवा ग्राहकको लागि सार्वजनिक गरेको छ । बैंकले डिजिटल बैंकिङ्गलाई थप सरल, सहज र सुरक्षित बनाउने उद्देश्यका साथ बैंकको क्युआर कोड भुक्तानी प्रणालीमा आबद्ध मर्चेन्ट र ग्राहकहरूलाई सहजता प्रदान गर्न यो सेवा सुचारु गरेको हो । यस सेवा अन्तर्गत क्युआर अडियो अलर्ट डिभाइसमा रहेको क्युआर कोड मार्फत कारोबार गरेपछि मर्चेन्ट तथा ग्राहकहरूले भुक्तानी सफलतापूर्वक भएको सूचना तत्काल भ्वाइस मेसेज मार्फत प्राप्त गर्नेछन् । यो सेवाले भुक्तानीको तत्काल प्रमाणीकरण गरि व्यवसायी तथा ग्राहकहरू बीच डिजिटल भुक्तानीमा विश्वसनीयता कायम गर्न मद्दत गर्ने विश्वास बैंकले लिएको छ। साथै यो प्रविधिले व्यवसायी तथा ग्राहकवर्गको मोबाईल फोनमा भुक्तानी प्राप्त गरेको मेसेजका निम्ति कुर्नुपर्ने समयको पनि बचत हुनेछ। बैंकले यो सेवा बिट्स क्राफ्ट प्रालिसँगको सहकार्यमा ल्याएको हो । आफ्नो कारोबारको सरल र सुरक्षित व्यवस्थापनका लागि यो सेवा लिन चाहने व्यवसायीहरुले ज्योति विकास बैंकको सम्पूर्ण १२१ शाखाहरु मार्फत् तोकेको आवेदन दिई उक्त सुविधा प्राप्त गर्न सक्नेछन् ।
आगामी दिनमा नेपालको आर्थिक वृद्धि दर बढ्ने सम्भावना छ : विश्व बैंक
काठमाडौं । विश्व बैंकले आगामी दिनमा नेपालको आर्थिक विस्तार उच्च गतिमा हुने सम्भावना रहेको बताएको छ । बिहीबार काठमाडौंमा दक्षिण एसियाली विकास अपडेट र नेपाल विकास अपडेट २०२३ सार्वजनिक गर्दै विश्व बैंकले यस्तो बताएको हो । सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको विश्व बैंकले आगामी दिनमा यो वृद्धिदर उच्च गतिमा हुने बताएको हो । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र काठमाडौं विश्वविद्यालयसँग सहकार्य गर्दै विश्व बैंकले दक्षिण एसियाली विकास अपडेट र नेपाल विकास अपडेट प्रतिवेदन सार्वजनिक गरेको हो । विश्व बैंकले ६–६ महिनामा यस्तो प्रतिवेदन सार्वजनिक गर्छ । आयात प्रतिबन्ध हटाइनु, पर्यटनमा फर्कंदो उत्साह र मौद्रिक नीतिमा क्रमशः गरिएको खुकुलोपनलगायत कारण नेपालको अर्थतन्त्रमा सुधार आउने विश्व बैंकको प्रक्षेपण छ । सन २०२५ मा नेपालको अर्थतन्त्र ५ प्रतिशतले विस्तार हुने अनुमान छ । विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर फेरिस हदाद जेर्वोसले आगामी वर्षहरुमा आर्थिक वृद्धि हुँदै जाने बताए । उनले नेपालमा उच्च आर्थिक सम्भावना रहेको र नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नती हुन लागेकोमा खुसी समेत व्यक्त गरे । विश्व बैंकले विश्वसनीय तथ्यांकका आधारमा प्रतिवेदन तयार पारेको समेत उनले जानकारी दिए । विश्व बैंकको दक्षिण एसियाली क्षेत्र हेर्ने प्रमुख अर्थशास्त्री फ्रान्जिस्के ला ओनसोर्जले दक्षिण एसियाली विकास अपडेट सार्वजनिक गर्दै दक्षिण एसियामा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि, जलवायु परिवर्तन, चीनमा देखिएको मन्दी, प्राकृतिक प्रकोपका कारण मानिसहरु प्रभावित हुनु, आयात र निर्यातमा गरिएको प्रतिबन्ध, नयाँ विदेशी मुद्रामा लगाइएको प्रतिवन्धजस्ता कारण अर्थतन्त्रमा चुनौती थपिएको बताइन् । विश्व बजारको उत्पादन र सेवाले समेत असर पारिरहेको उनको भनाइ छ । त्यसै गरी दक्षिण एसियाका अधिकांश देशमा निजी लगानीको कमजोर अवस्था रहेको भन्दै ओनसोर्जले वित्तीय चुनौती बढ्दै गएको बताइन् । उच्च ऋण न्यून आयको समस्या रहेको भन्दै उनले वित्तीय नीतीहरु धेरै बाध्यकारी हुन नसकेको समेत बताइन् । विश्व बैंकका अर्थशास्त्री नयन कृष्ण जोशीले नेपाल अपडेटबारे प्रस्तुतीकरण दिँदै नेपालले ऊर्जा क्षेत्रमा राम्रो प्रगति गरिरहेको बताए । गतवर्ष प्रसारण प्रणालीमा ५०० मेगावाट विद्युत् थपिएको र नेपालले भारतमा विद्युत् निर्यात गरिरहेको जानकारी दिए । उनले बंगलादेशमा समेत निर्यातको तयारी भइरहेको बताए । यसले अर्थतन्त्र विकासमा ठूलो सहयोग पुग्ने उनको भनाइ छ । उनका अनुसार थोक र खुद्रा व्यापारमा आएको सुस्तता कारण सन् २०२३ मा सेवा क्षेत्रको वृद्धिलाई गतिलाई सुस्त बनाएको छ । त्यसैगरी सन् २०२३ मा औसत उपभोक्ता मूल्य सात वर्ष यताकै उच्च विन्दुमा पुगेको भन्दै जोशीलेले कम आयात र उच्च रेमिट्यान्सका कारण चालु खाता घाटा ६ वर्ष यताकै न्यूनस्तरमा रहेको समेत उल्लेख गरे । जोशीले नेपालमा अनिश्चित रुपमा हुने वर्षाले कृषि उत्पादनमा प्रभाव पार्न सक्ने, भारतले चामल लगायत खाद्यान्न निर्यातको लगाएको प्रतिबन्धका कारण मूल्यवृद्धि बढ्न सक्ने समेत बताए । यसले पुनः चालु खाता घाटा बढ्न सक्ने उनको भनाइ छ । उनका अनुसार वस्तु तथा सेवाको निर्यात निरन्तर रुपमा घटिरहेको समेत बताए । नेपालले आन्तरिक उत्पादनमा वृद्धिमा जोड दिनुका साथै वैदेशिक आकर्षण गर्न आफ्ना नीति परिवर्तन गर्नुपर्ने सुझाव जोशीले दिए । सोही कार्यक्रमका दौरान उत्पादकत्व, एक्सचेञ्ज रेट र निर्यातका सम्बन्धमा भएको प्यानल डिस्कसनमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेशचन्द्र पौडलले नेपाली विद्यालय शिक्षाको उत्पादकत्वसँग समन्वय नै गर्न नसकेको बताए । सोहीकारण नेपालको शिक्षा प्रणालीलाई परिमार्जन गर्नुपर्ने उनको तर्क छ । ‘यो शिक्षा प्रणाली रिमोडलिङ गर्ने उपयुक्त समय हो, प्राविधिक र व्यवसायिक शिक्षामा जोड दिनुपर्छ,’ पौडलले, ‘हामीले युरोप र गल्फ कन्ट्रीहरुका लागि मात्र जनशक्ति तयार पारिरहेका छौं। ’ सो छलफलमा भाग लिँदै लक्ष्मी सनराइज बैंककी प्रमुख बिजनेस अफिसर आरती राज्य लक्ष्मी रानाले आयात वृद्धि नहुनु र रेमिट्यान्स बढ्नु अर्थतन्त्रका लागि सकारात्मक भएको बताइन् । जलविद्युत् क्षेत्रमा नेपाललको प्रगति राम्रो भएको भन्दै उनले नेपालले भारतमा चालु वर्षमा मात्र ५ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको बिजुली बेचेको प्रसंग निकालिन् । नेपालले गतवर्ष करिब ११ अर्ब १६ करोड रुपैयाँको बिजुली बेचेको थियो । भारतसँग नेपालको बिजुली व्यापारको घाटा ८ अर्ब हाराहारी रहेको छ । सन् २०२६ सम्म नेपाल विद्युतमा आत्मनिर्भर हुने लक्ष्य छ । बंगलादेशमा समेत विद्युत् निर्यात गर्ने अन्तिम तयारी भइरहेको उनले जानकारी दिइन् । उनले केन्द्रीय बैंकको नीति अनुसार बैंकहरुले १० प्रतिशत जलविद्युतमा लगानी समेत जानकारी दिइन् । भारतले १० वर्षमा १० हजार मेगावाट बिजुली भारतले किन्ने घोषणा गरेको भन्दै उनले यसले नेपालको आर्थिक विकासका लागि सहयोग पुर्याउने बताइन् । स्वीट्जरल्याण्डको नेपालका लागि राजदूतावासकी कार्यक्रम म्यानेजर दोरोथी लोड्सचेरले नेपालको आर्थिक विकासका लागि प्राविधिक र व्यवसायिक शिक्षामा जोड दिनुपर्ने बताइन् । उनका अनुसार नेपाली शिक्षित युवाहरु रोजगारी र अवसरको खोजीमा भारतलगायत देशरहरुमा जाने गरेका छन । दक्षिण एसियाकाका लागि ट्रेडका कार्यकारी निर्देशक डा. पारस खरेलले उत्पादनमुखी क्षेत्रको प्रवर्द्धन गरेर निर्यातमा जोड दिनुपर्ने बताए । नेपाली अर्थतन्त्र रेमिट्यान्समा निर्भर रहेको भन्दै उनले उत्पादनमा जोड दिए । अर्थशास्त्री तथा अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा.पोषराज पाण्डेले बजेटमार्फत सरकारले उत्पादनलाई बढुवा दिनुका साथै डिजिटल अर्थतन्त्रलाई सहजीकरण गरेको बताए । काठमाडौं विश्व विद्यालयका उपकुलपति डा. भोला नेपालले थापाले हरित ऊर्जामा ध्यान दिनुपर्ने बताए । उनले अनुसार काठमाडौं विश्वविद्यालयले सरकार र विकास साझेदारहरुसँगको सहकार्यमा हाइड्रोजनको अध्ययन गरिरहेको जानकारी दिए । विश्व विद्यालयमा ल्याव स्थापना गरेको समेत उनले जानकारी दिए । ग्रीन हाइड्रोजन उत्पादन गरेर निर्यात गर्न सकिने उनको भनाई छ ।
आज विश्व मुस्कान दिवस, यस्ता छन् मुस्कुराउँदाका फाइदा
काठमाडौं । आज विश्व मुस्कान दिवस मनाइँदै छ। हरेक वर्ष अक्टोबर ६ मा दिन यो दिवस मनाइन्छ । मानिसमा आपसी दया, सद्भाव र खुसी फैलाउन प्रोत्साहित गर्न सन् १९९९ देखि यो दिवस मनाउन सुरु गरिएको हो । ‘सुन्दर र आकर्षक देखिन कसलाई मन हुँदैन र?’ विश्व मुस्कान दिवसका सन्दर्भमा मनोविद विजया बिजुक्छे भने, ‘उसो भए मुस्कुराइरहनुहोस्, नसके पनि कोसिस गर्नुहोस् ।’ मनोविद् बिजुक्छेका अनुसार मुस्कुराइरहुनका धेरै फाइदा छन् । मुस्कानले व्यक्तिको व्यक्तित्वलाई आकर्षकसँगै सामाजिक सम्बन्धलाई प्रगाढ बनाउन सहयोग गर्छ। मुस्कानले स्वास्थ्यलाई फाइदा गर्छ । ‘मानिस सामाजिक प्राणी भएकाले सधैँ समाजमा बस्न रुचाउँछ । सही सम्बन्धको अभावमा थुप्रै खालका मानसिक विकारको अवस्थामा पुग्ने अवस्था हुन्छ, जस्तै डिप्रेसन, एन्जाइटी’, मनोविद् बिजुक्छेले भने, ‘मुस्कुराउँदा सामाजिक सम्बन्ध र सहयोगमा वृद्धि गर्छ । जब सामाजिक सहयोग बढ्छ त्यहाँ सम्बन्धहरू सुध्रिन्छन् । तब व्यक्तिको तनाब कम हुन्छ, तनाब कम भएपछि सुखी बढ्छ र आनन्द बढ्छ । आनन्द बढ्नु भनेको नै मानसिक स्वास्थ्य स्वस्थ हुनु हो ।’ मनोविद्हरूका अनुसार मुस्कानले व्यक्तिको सामना गर्न सक्ने क्षमतालाई वृद्धि गर्छ। मुस्कानले आत्मविश्वास बढाउँछ। कसरी मुस्कुराइरहने ? कतिपय व्यक्तिलाई मुस्कुराउन नै नसक्ने समस्या हुने मनोविद् बिजुक्छे बताउछन् । सके मुस्कुराइरहने नसके मुखको मांशपेशीलाई मुस्काउने अभ्यास गर्नुपर्ने उनले बताए । ‘खुलेर मुस्कुराउन नसक्ने थुप्रै व्यक्ति छन् । हाँसो उठ्दैन भने पनि जबर्जस्ती भए पनि मांशपेशी तन्काउनुपर्छ’, मनोविद् बिजुक्छेले भने, ‘मुखमा पेन्सिल राखेर भए पनि मुखको मांशपेशी बङ्ग्गाउने वा ओठको दुवै छेउमा दुई चौरऔलाले दबाएर माथितिर तान्छौ भने त्यसले हाँसोजस्तो देखाइदिन्छ। त्यो भए पनि हाम्रो मस्तिष्कले हाँस्नका खुसी पैदा गर्ने रसायन उत्पादन गर्दछ ।’ बिजुक्छेका अनुसार यसरी मुखको मांशपेशीलाई तन्काएर भए पनि मुस्काउने वा हाँस्ने अभ्यासले मुस्कुराउने बानीको विकास गर्छ । जुन स्वास्थ्यको लागि धेरै फाइदा जनक छ। रासस