विकासन्युज

अधिवक्ता तथा उप-प्राध्यापक डा. चौधरीको ‘वाणिज्य कानून’ सार्वजनिक

काठमाडौं । अधिवक्ता एवं उप-प्राध्यापक डा. नेवल चौधरीको वाणिज्य कानून पुस्तक सार्वजनिक भएको छ । डा. चौधरीको अग्रेजी भाषामा लेखिएको पाठयक्रममा आधारित बाणिज्य कानून अर्थात कमर्शियल ल नामक पुस्तक सार्वजनिक भएको हो । कानून व्यवसायी तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल ल क्याम्पसमा कार्यरत स्थायी उप-प्राध्यापक डा. चौधरीले अग्रेजी भाषामा लेखिएको स्नातकोत्तर तह (एलएलएम) वाणिज्य कानून (कमर्शियल ल) को पाठ्यक्रममा आधारित पुस्तक बजारमा ल्याएका हुन् । उक्त पुस्तकमा विदेशी लगानीमा देखिएका समस्या समाधानका लागि विदेशी अदालतहरुबाट भएका फैसलाहरु पनि उल्लेखित रहेका छन् । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा कार्यान्वयनमा देखिएका कमी कमजोरी समेतलाई उर्जागर गर्ने कोशिश गर्दै उनले नेपालमा विदेशी लगानीको वर्तमान अवस्थाको बारेमा उल्लेख गरेका छन् । डा.नेवल चौधरी अधिवक्ता भै मुख्यतः नेपालको सर्वोच्च अदालत तथा काठमाडौंको विशेष अदालतमा कानूनी व्यवसाय गर्दै आएका अधिवक्ता एवं नेपाल ल क्याम्पसका स्थायी उप-प्राध्यापक हुन् । चौधरीले वाणिज्य कानूनअन्तर्गत नेपालमा प्रत्यक्ष विदेशीमा देखिएका समस्या तथा सम्भावना विषयमा पीएचडी गरेका छन् । डा. चौधरीले यसअघि पनि अंग्रेजी भाषामा साइबर कानून र साइबर अपराधसँग सम्बन्धित पुस्तक प्रकाशित गरिसकेका छन् । जसको नाम द आर्ट अफ साइबर ल र साइबर क्राइम रहेको छ ।

निर्माण व्यवसायीको वक्यौता दशैँअघि नै भुक्तानी हुन्छ : अर्थमन्त्री

चितवन । अर्थमन्त्री डा प्रकाशशरण महतले निर्माण व्यवसायीको अघिल्लो आर्थिक वर्षमा भुक्तानी गर्न बाँकी रकम दशैँअघिनै गरिने बताएका छन् । उनले सम्बन्धित मन्त्रालयलाई भुक्तानीको दायित्व माग गरिएको र त्यो आइसकेपछि दशैँ अगाडि नै भुक्तानी हुने बताए । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘असार मसान्तसम्ममा ६० देखि ७० अर्ब तिरिसकेका छौँ । अब छदेखि सात अर्ब जति बाँकी होला त्यो भुक्तानी हुन्छ ।’ अर्थमन्त्री डा महतले बाहिर आएजस्तो आर्थिक सङ्कट चरम नभएको बताए । केही हदसम्म समस्या भए पनि बाहिर देखिए जस्तो आर्थिक सङ्कट नभएको उनको भनाइ थियो । पहिला राष्ट्र बैंकले सहजरुपमा ऋण प्रवाह गर्दा त्यसको सही सदुपयोग नहुँदा समस्या आएको मन्त्री महतको भनाइ छ । ‘सहजरुपमा ऋण पाउँदा त्यसलाई उत्पादनशील क्षेत्रमा कहाँ परिणाम आउँछ कहाँ आउँदैन नहेरी लगानी भयो । त्यसको असर अहिले देखियो’, उनले थपे, ‘अहिले मौद्रिक नीति खुकुलो नभएकाले ब्याजदर पनि बढ्यो र उत्पादन पनि भएन । जसका कारण केही व्यवसायीलाई समस्या परेको छ ।’ सरकार अहिले अर्थतन्त्रको जग बनाउन लागि परेको उनको भनाइ थियो । अर्थतन्त्रको जग बलियो नभएका कारण केही समस्या आएको उनको भनाइ छ ।

सिन्धुपाल्चोकको एउटै गाउँमा दूधबाट दुई करोड आम्दानी

चौतारा । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ विन्जेलका कृषकले दूध बेचेर एकै आर्थिक वर्षमा दुई करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् । गाउँमै सञ्चालनमा गरेको विन्जेल दुग्ध उत्पादक सहकारी संस्थामार्फत दूध बेचेर ती कृषकले उक्त आम्दानी गरेका हुन् । कृषक डिल्लीराम नेपाल एक वर्षमा १३ हजार नौ सय ७९ लिटर दूध बेचेर आठ लाख २३ हजार छ सय रुपैयाँ आम्दानी गरेको बताउँछन् । चार वटा गाई पालेका उनी दैनिक ३० देखि ३५ लिटरसम्म दूध बेच्ने गर्छन् । नेपाल संस्थाका सदस्यमध्ये सबैभन्दा बढी दूध बेच्ने कृषक हुन् । अर्का कृषक ताराप्रसाद नेपालले पनि ११ हजार चार सय ५४ लिटर दूध बेचेर छ लाख ८२ हजार एक सय ९९ रुपैयाँ आम्दानी गरेका छन् । त्यसैगरी तोयानाथ नेपालले ११ हजार लिटर दूध बेचेर छ लाख ३३ हजार तीन सय रुपैयाँ र रवीन्द्र नेपालले तीन हजार तीन सय २४ लिटर दूध बेचेर छ लाख २१ हजार दुई सय रुपैयाँ कमाउन सफल भएका छन् । मिहेनत गर्ने हो भने घरमै बसेर मनग्य आम्दानी गर्न सकिने उदाहरण बित्तजेलका कृषकले देखाएका छन् । घरमै बसेर खेतीपती र वस्तुभाउ दुवै पेसालाईसँगै लगेर लखपति बन्न सकेकोमा कृषक तोयानाथ खुसी छन् । उनीजस्तै दुई सय ८० कृषकले नियमितरुपमा दूध बेच्दै आइरहेका छन् । उक्त संस्थाले गत आवमा मात्रै चार लाख ७७ हजार सात सय ७९ लिटर दूध सङ्कलन तथा बिक्री गरेको व्यवस्थापक द्वारीका नेपाल जानकारी दिन्छन् । दूध बिक्रीबाट मात्रै संस्थाले एक वर्षमा दुई करोड एक लाख दस हजार रुपैयाँ आम्दानी गरेको छ । उक्त संस्थाले एक वर्षमा सात करोड ५१ लाख २८ हजार पाँच सय २२ रुपैयाँको कारोबार गर्नाका साथै दूध बिक्री, ढुटो पिना खरिद तथा बिक्री र रासायनिक मल खरिद तथा बिक्रीको कारोबार पनि गर्दै आएको छ । संस्थाको शेयर सदस्य भने चार सय ३६ छन् । सबै सदस्य बचत कार्यक्रममा नियमित सहभागी रहँदै आएको संस्थाका सचिव मायानाथ नेपाल बताउँछन् । रासस

महँगीबारे संसदमा पन्तको कविता : गोलभेँडाले आँखा तर्छ, दशैं कसरी टर्छ ?

काठमाडौं । नेकपा एमाले सांसद रघुजी पन्तले चाडपर्व नजिकिएसँगै बजारमा बढ्दो महंगी र मूल्यवृद्धिका बीचमा जनताले कसरी यसपालिको दशैँ मनाउछन् ? भन्दै सरकारलाई प्रश्न गरेका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद पन्तले कवितात्मक शैलीमार्फत सरकारलाई प्रश्न गरेका हुन् । उनले चाडपर्व नजिएसँगै जनताले दशैँ मनाउन नसक्ने गरी महँगी बढ्दा पनि सरकारको ध्यान नगएको भन्दै महँगी नियन्त्रण गर्न माग गरे । उनले बजारमा एक बोरा चामललाई समेत ३ हजार र दाल किलोको २५० रुपैयाँ पुगेको जानकारी दिए । उनले सरकारले दशैं पेस्कीको रुपमा जनतालाई महँगी दिएको भन्दै कवितामार्फत ब्याङ्ग्य गरे । यस्तो छ सांसद पन्तको कविता खल्तीमा तलब हालेर हिँड्यो बजार चामलको बोराले नाघ्यो तीन हजार रहर दाल किलोको २५० बजार भाउ सुन्दा गुम्छ होस् हवास् ।। तरकारीले भाउ नै नसोध् झै गर्छ गोलभेँडाले के किन्लास् र तैले भनेर आँखा तर्छ दसैं पेस्की आउने कहिले कहिले पेस्कीमा महँगी आयो सरकारका घर त उज्यालो होलान् नहुनेको घरमा अहिले नै अध्यारो छायो आउन लागेको दसैं सम्झेर जनता मुर्छा पर्छ ! सरकार गरिबको दसैं कसरी टर्छ ? मेरो प्रश्न छ सरकार गरिबको दसैं यसपटक कसरी टर्छ ? त्यस्तै, नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले दशैँमा गाउँघरमा जाने विद्यार्थीहरुको लागि सरकारी र संस्थानका सवारीहरुको प्रयोग गर्ने गरी प्रवन्ध मिलाउन सरकारसँग माग गरे । उनले सरकारले गत आर्थिक वर्षमा लगाएका ठेक्का सम्झौता भएर चालु अवस्थामा रहेका परियोजना भुक्तानी गर्न आग्रह गरे । उनले वर्षातको कारणले बिग्रिएका गाउँ–गाउँमा पुग्ने ग्रामिन क्षेत्रका सडकहरुलाई मर्मतको लागि संघीय सरकारले बजेटको प्रवन्ध मिलाएर प्रदेश र स्थानीय सरकारले कार्यान्वयन गर्ने वातावरण मिलाउन माग पनि गरे ।

नेपाल वेयरहाउजिङ्गले कात्तिक १० गतेदेखि आईपीओ बिक्री गर्ने

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनीले कात्तिक १० गतदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत अर्थात् १३ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १३ लाख ७५ हजार कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् १ लाख ३७ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली, २ प्रतिशत अर्थात् २७ हजार ५ सय कित्ता कर्मचारी, ५ प्रतिशत अर्थात् ६८ हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोष र ११ लाख ४१ हजार २५० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री गर्नेछ । कम्पनीले पहिलो चरणमा नेपाल सरकारबाट स्वीकृत लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्ने छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले कार्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् लगानीकर्तादे आवेदन दिन सक्नेछन् । क्रेडिट रेटिङ्गले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

लिङदेनको प्रश्न : पूर्वराजा ज्ञानेन्द्र शाहले लोकतन्त्र विरोधी के गतिविधि गरे ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राजावादीहरुले धार्मिक सद्भाव बिथोल्न लागेको भन्ने भनाइप्रति आपत्ति जनाएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादीहरुले लोकतन्त्र बिरोधी के गतिविधि गरे ? भनि प्रश्न गरे । अध्यक्ष लिङदेनले पूर्वराजा शाह र राजावादीहरुले लोकतन्त्र बिरोधी गतिविधि गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न भनि दिइएको अभिव्यक्तिप्रति आक्रोश समेत व्यक्त गरे । उनले क्वीन्टलका क्वीन्टल सुन तस्करी गर्ने, जघन्य अपराधमा संलग्नहरुलाई जेलबाट छोड्ने लगायतका काम लोकतान्त्रिक हो भनि सरकार र सत्तारुढ दललाई प्रश्न समेत गरे । ‘कही साथीहरुले राजावादीहरु धार्मिक सद्भाव विथोल्न लागेका छन् । त्यसको निगरानी गर्नुपर्‍यो । राजा ज्ञानेन्द्र पनि लोकतन्त्र बिरोधी गतिविधिमा संलग्न भएका छन् । उनको गतिविधिमा ध्यान दिनुपर्‍यो भनेर आग्रह गरे, अनुरोध गरे । कुन त्यस्तो गतिविधि रहेछ ? राजावादीहरुको, जसले धार्मिक सद्भाव बिथोल्न लागेको छ । र, राजा ज्ञानेन्द्रको कुन त्यस्तो गतिविधि रहेछ, जसले लोकतन्त्रलाई अवरुद्ध गरिराखेको छ । र, लोकतन्त्र बिरोधी भएको छ ? म त्यसको जानकारी लिन चाहन्छु । र, त्यसको बारेमा प्रष्ट पार्न म ती वक्ता साथीहरुलाई आग्रह गर्न चाहन्छु । जघन्य अपराधका आरोपीहरुलाई जेलबाट छोड्ने, बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने, नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाउने, क्वीन्टलका क्वीन्टल सुन तस्करी गरेर ल्याउने काम लोकतान्त्रिक हो ? म सोध्न चाहन्छु । ’ अध्यक्ष लिङदेनले नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाउने काम लोकतन्त्रको हो भन्दै प्रश्न समेत बताउनु भयो ।

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ललितपुरको सुमेरु अस्पतालमा छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई ललितपुरको सुमेरु अस्पतालमा विशेष छुट हुने भएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहकलाई थप सेवा दिन ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पताल सँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ । यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले सुमेरु अस्पतालकोे विभिन्न सेवाहरु जस्तै ओपिडि, आईपिडि र फारमेसीमा विशेष १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसस नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । ‍

किन भयो दसैँका लागि अग्रिम टिकट बुकिङमा ढिलाइ ?

काठमाडौं । दसैँलाई लक्षित गरेर सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङमा ढिलाइ भएको छ । अघिल्ला वर्षमा दसैँ सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरे पनि यस वर्ष घटस्थापना सुरु हुन नौ दिन मात्रै बाँकी हुँदासमेत खुल्ने तयारी देखिएको छैन । नेपालीको महान चाड दसैँमा घटस्थापनादेखि नै विद्यालय, कलेजलगायतका धेरै संस्था बन्द हुन्छन् । समयमै टिकट खोल्दा घर जान चाहने विद्यार्थीलाई सहज हुने गरे पनि समयमा अग्रिम टिकट बुकिङ नखोली दसैँको मुखमा खोल्दा यात्रु दोब्बर/तेब्बर भाडा तिरेर घर जानुपर्ने अवस्था आउने गरेको छ । यातायात व्यवसायी भने निरन्तर वर्षाका कारण बाटो बिग्रिएका कारण दसैँका लागि अग्रिम टिकट बुकिङ खुलाउन समस्या परेको बताउँछन् । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला देशका मुख्य राजमार्ग बिग्रेका कारण अग्रिम टिकट बुकिङमा ढिलाइ भएको बताउँछन् । देशभरका सडकमा रहेका खाल्डाखुल्डीले गर्दा सवारी दुर्घटनाको जोखिम रहेको उनको भनाइ छ । ‘दसैँ अगाडि नै सबै सडक मर्मत गरिसक्न हामी सरकारलाई अनुरोध गरिरहेका छौँ’, उनी भन्छन्। महासङ्घका अनुसार हाल मुग्लिङ–पोखरा, नारायणघाट–बुटवल, विपी, अरनिको, ढल्केवर, कोशी ब्यारेजलगायतका राजमार्ग बिग्रेका छन् । यस्तै, काठमाडौंबाट नुवाकोट हुँदै रसुवासम्म जाने बाटोसमेत बिग्रेको छ । सरकारले ३५ प्रतिशत भाडा पेट्रोलियम पदार्थको मूल्यका आधारमा र ६५ प्रतिशत सवारी साधनलाई आवश्यक अन्य सामग्री र जनशक्तिलाई दिइने तलबलगायतका सुविधाका आधारमा निर्धारण हुँदै आएको छ । वरिष्ठ उपाध्यक्ष सिटौला पेट्रोलियम पदार्थको आधारमा ३५ प्रतिशत भाडा समायोजन भए पनि बैंकको ब्याजदर, लुब्रिकेन्ट, टायर, तलब भत्तालगायतका सुविधाका लागि ६५ प्रतिशत भाडामा समायोजन नभएको बताउँछन् । ‘महासङ्घले बाटोसहित भाडा समायोजनको मुद्दालाई समेत अगाडि बढाउँदै आएको छ’, उनी भन्छन् । बाटोको अवस्था राम्रो भए आफूहरुलाई अग्रिम टिकट बुकिङ खोल्न कुनै आपत्ति नरहेको उनको भनाइ छ । दसैँका समयमा काठमाडौं उपत्यका र उपत्यका बाहिरबाट पनि एउटा जिल्लाबाट अर्को जिल्लामा धेरै यात्रु जाने गरेका छन् । क्षमताभन्दा बढी यात्रु बोक्दा वा खराब अवस्थाका सवारी साधनका कारण दुर्घटनाको जोखिम रहन्छ । कसरी यात्रुलाई सुरक्षितरुपमा गन्तव्यसम्म पु-याउन सकिन्छ भन्नेबारे अहिलेदेखि नै तयारी हुनुपर्छ । यातायात व्यवस्था विभागले चाँडै नै अग्रिम टिकट बुकिङ खोल्नेबारे सरोकारवाला निकायसँगको छलफल सुरु गरेको छ । विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल अग्रिम टिकट बुकिङको बारेमा विभाग चाँडै नित्कर्षमा पुग्ने बताउँछन् । ‘हामीले सकेसम्म आजै अग्रिम टिकट बुकिङबारे निर्णयमा पुग्छौँ’, उनी भन्छन् । महानिर्देशक रिजालले नेपालको सार्वजनिक यातायातको सङ्ख्या र यात्रुको चापलाई हेरेर विभाग अगाडि बढ्ने बताए । विभागले चाडपर्वमा हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीसँग समन्वय गर्ने जनाएको छ । ट्राफिक प्रहरीले पनि चाडपर्वलाई लक्षित गरी यात्रु सहायता कक्ष स्थापना गर्ने जनाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट काठमाडौं महानगरपालिका र यातायात व्यवस्था विभागसँगको सहकार्यमा यात्रु सहायकता कक्षा स्थापना गरिने बताउँछन् । उनले दुर्घटना न्यूनीकरण र चाडपर्वलाई लक्षित गरेर ट्राफिक प्रहरीले ‘ट्राफिक सप्ताह–२०८०’ सञ्चालन गरेको उनको भनाइ छ । यातायात व्यवसायीका अनुसार प्रत्येक वर्ष चाडपर्वमा लाखौँ व्यक्ति काठमाडौं छाड्ने गरेका छन् । हाल काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कबाट लामो तथा मध्यम दूरीका सवारीसाधन देशका ६५ भन्दा बढी जिल्लामा सञ्चालन हुँदै आएका छन् । रासस