विकासन्युज

एभरेष्ट बैंकले नेपाल अटोसँग आवद्ध चालकलाई दियो क्यूआर कोड

काठमाडौं । एभरेष्ट बैंकद्धारा नेपाल अटो तथा इ–रिक्सा यातायात तिलोत्तमा रुपन्देहीलाई वित्तिय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण गरेको छ । लुम्बिनी कृषि उपज थोक बजार तिलोत्तमा–५ मणिग्राम रुपन्देहीमा आयोजित एक विशेष कार्यक्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले नेपाल अटो तथा इ–रिक्सा यातायातका ५५ भन्दा बढी सदस्यहरुलाई क्यूआर कोड हस्तान्तरण गरे । तिलोत्तमा नगरपालिकाका उप–प्रमुख श्रीमती जागेश्वर देवि चौधरीको प्रमुख आतिथ्यमा सञ्चालित उक्त कार्यक्रममा उप–प्रमुख चौधरीले एभरेष्ट बैंकको यस वित्तिय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण कार्यले सर्वसाधरणहलाई सरल तथा सुरक्षित बैंकिङ्ग सुविधा उपलब्ध हुने कुराको विश्वास व्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत खलिङले लम्बिनी कृषि उपज थोक बजार तिलोत्तमा–५ मणिग्राम रुपन्देहीका सर्वसाधारणहरु माझ यसरी वित्तिय साक्षरता प्रदान गर्न पाउँदा खुसी लागेको र यसले सम्पूर्ण त्तिलोत्तमा बसीहरुमा सुरक्षित बैंकिङ्ग गर्न हौसाल मिल्ने, नयाँ उद्यम गर्न बैंकले सहयोग गर्ने विश्वास दिलाउनका साथै नेपाल अटो तथा इ–रिक्सा यातायात संग आबद्ध ५५ भन्दा बढी चालकहरुलाई क्यूआर कोड हस्तान्तरण गरिएकोमा यसले निजहरुलाई नगद कारोबार बाट झन्झट मुक्त हुने र व्यापार प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरी आगामी दिनमा यस्ता गतिविधिलाई थप प्रोत्साहन तथा निरन्तरता दिने उल्लेख गरे । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर भैरहवाका प्रमुख सतेन्द्र राज सुवेदी तथा एभरेष्ट बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रतीले १०० जना भन्दा बढी टेम्पो तथा इ–रिक्सा चालक र महिला उद्यमी दिदीबहिनीहरुलाई वित्तिय साक्षरता सचेतना प्रदान गरे । सो वित्तिय साक्षरता सचेतना कार्यक्रमा श्री उप्रेतीले स–साना बचतले पनि भविष्यमा आइपर्ने जोखिम व्यवस्थापन गर्न मद्दत पुग्ने कुरा उल्लेख गरे । फोन पे को सहकार्यमा क्यूआर कोड हस्तान्तरण गरिएको उक्त कार्यक्रमा फोन पे का प्रमुख कार्यकारी अधिकृत दिवश सापकोटाको समेत उपस्थिति रहेको थियो भने तिलोत्तमा नगरपालिकाका वडा नं. ५ का वडा अध्यक्ष रमेश डुम्रे, नेपाल अटो तथा इ–रिक्सा यातायात तिलोत्तमाका सभापति शेषकान्त भुषल तथा सचिव खड्ग बहादुर के.सी, तिलोत्तमा नगरपालिकाको कार्यलयका आर्थिक विकास तथा प्रमुख कृष्ण प्रसाद पाण्डे लगायत बैंकका डिजिटल विभाग प्रमुख शंकर पोखरेल, बैंकका प्रमुख प्रबन्धक हरिश आचार्य, लुम्बिनी प्रदेश प्रमुख लव प्रसाद कुइकेल, मणिग्राम शाखाका शाखा प्रबन्धक विमल भुषाल लगायत अन्य विशिष्ट कर्मचारीको समेत उपस्थिति रहेको थियो ।  

६ हजार रुपैयाँसम्म बढ्यो हवाइ भाडा, धनगढी पुग्न १७ हजार लाग्ने

काठमाडौं । बझाङका वसन्तराज जोशी दसैंको टिकटका लागि चिन्तित छन् । अनलाइन र प्रत्यक्ष रुपमा सम्पर्क गर्दा टिकट बुकिङ सकिएको जवाफले उनी निराश छन् । नजिकिएको दसैंमा गाउँघर पुगेर आफन्त र साथीभाइसँग रमाइलो गर्ने चाहना कस्लाई पो नहोला र ! तर, दसैंको मुखमा एयरलाइन्सको टिकट पाउन मुस्किल छ । केही गन्तव्यको टिकट त महिनादिनअघि नै बुकिङ सकिएको छ । अहिले कतिपय सुगम गन्तव्यको हवाई टिकट पाउन पनि ग्राहकलाई मुस्किल छ । चाडपर्वमा यात्रुले महङ्गो भाडा तिरेर पनि हवाई टिकट पाउन सास्ती छ । गत वर्षको दसैंमा रु १७ हजार छ सय हवाई भाडा तिरेर काठमाडौँदेखि धनगढी हुँदै बझाङ पुगेका जोशीलाई यो वर्ष महङ्गोमै भए पनि टिकट लिएर घर पुग्ने सकस छ । ‘अघिल्लो वर्ष महङ्गो टिकट खरिद गरेर दसैंमा घर गइएको थियो, यो पटक त टिकट नै पाउन मुस्किल भइरहेको छ, दसैंको सङ्घारमा अब झन् टिकट पाउन सास्ती हुन्छ’, जोशीले भने । महङ्गो टिकट भए पनि जहाज पाउनै कठिनाइ हुन्छ । दुर्गम रुटमा चल्ने थोरै सङ्ख्याका जहाजको कम उडान हुने हुनाले ‘हब’ विमानस्थलबाट दुर्गम भेगमा जानेलाई थप सास्ती बेहोर्नुपर्ने हुन्छ । धनगढीकी निशा पाण्डे यतिखेर दसैंको टिकट जोहोका लागि एयरलाइन्स धाइरहेकी छन् । अनलाइन बुकिङ सकिएको र सम्बन्धित एयरलाइन्सको टिकट काउन्टरमा पनि सिट नपाएर हैरानी खेप्नु परेको पाण्डेले सुनाइन् । खोटाङकी दीपा राई दसैंमा घर जानका लागि हवाई टिकटको खोजीमा छिन् । ‘जहाजको टिकट खोजिरहेको छु, अहिलेसम्म पाएको छैन, दसैंमा कसरी घर पुग्ने हो चिन्तित छु’, उनले भिनिन् । दसैंमा आवतजावत गर्ने महत्वपूर्ण माध्यम भनेको सडक तथा हवाई यातायात नै हो । अझ प्रभावकारी यातायातका रुपमा हवाईसेवालाई लिइन्छ । दसैं आउन दुई साता बाँकी रहँदा अहिले अधिकांश गन्तव्यको टिकट बुकिङ भइसकेको छ । वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले दसैंका लागि धमाधम बुकिङ भइरहेको जानकारी दिए । अहिले धेरैजसो गन्तव्यको अनलाइन बुकिङ सकिएको उनले बताए । सामान्यतया दसैं आउन एक महिनाअघिदेखि नै हवाई टिकट खुलाइन्छ । अहिले अनलाइनबाट सहज रुपमा टिकट पाइने भएकाले अधिकांश हवाई गन्तव्यको टिकट बुकिङ भइसकेको एयरलाइन्सले जनाएका छन् । उनीहरुका अनुसार दसैंलाई लक्षित गरेर अहिले ८० प्रतिशत हाराहारी टिकट बुकिङ भइसकेको छ । बुध्द एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले दसैंका लागि अहिले ८० प्रतिशतसम्म बुकिङ भइसकेको जानकारी दिए । ‘दसैंलाई लक्षित गरेर केही ‘सेक्टर’ मा ८० प्रतिशत र कतिपय सेक्टरमा ७० प्रतिशत बुकिङ भइसकेको छ’, उनले भने, ‘अब सहुलियत भाडादरको टिकट पाउन मुस्किल छ, त्यसैले यात्रुले भटाभट टिकट लिनुपर्ने हुन्छ ।’ तुम्लिङटारको महिनादिनअघि नै बुकिङ पूरा सङ्खुवासभाका सविन कार्कीले तुम्लिङटारको टिकट पाउन सकेका छैनन् । उनी दसैं नजिकिएकाले अब वैकल्पिक साधनको प्रयोगबाट गन्तव्यमा जाने निष्कर्षमा पुगेका छन् । आन्तरिक उडानको महत्वपूर्ण ‘स्टल रुट’ मानिने तुम्लिङटार र सुर्खेत गन्तव्यको अग्रिम बुकिङ सकिएको एयरलाइन्सले जनाएका छन् । बुध्द एयरका सूचना अधिकारी कर्णका अनुसार बुध्द एयरको तुम्लिङटार गन्तव्यको टिकट सबै बुकिङ भइसकेको छ । सुर्खेतका लागि पनि अब टिकट पाउन मुस्किल छ । बुध्द एयरले अहिले १६ थान एटिआर जहाजमार्फत दैनिक दुईतर्फी एक सय ५० हाराहारी उडान गरिरहेको छ । ‘तुम्लिङटार ‘प्याक’ भइसक्यो, अब कसैले ‘सिट क्यान्सिल’ गरेमा मात्रै पाइएला, सहुलियत भाडाको दर पनि बढ्नेछ, यात्रुले तत्कालै टिकट काटे सहुलियत भाडादरमा पाउनसक्ने ढिला गरेमा त्यो पाउने सम्भावना कम हुन्छ’, सूचना अधिकारी कर्णले भने । धनगढीका लागि १७ हजार बढी भाडा बुध्द एयरका अनुसार दसैंको घटस्थापनासम्मका लागि काठमाडौँदेखि धनगढीसम्म दसैंका लागि अधिकतम भाडादर १७ हजार एक सय ८६ रुपैयाँ रहेको छ । उक्त गन्तव्यमा अहिले सहुलियत भाडादर ११ हजार रुपैयाँ छ । त्यस्तै सुर्खेतको महङ्गो १४ हजार एक सय ६८, नेपालगञ्जको महङ्गो भाडादर १३ हजार तीन सय ९४ रुपैयाँ रहेको छ । काठमाडौँदेखि भ्रद्रपुरको भाडादर अधिकतम १२ हजार तीन सय ८३ रुपैयाँ तोकिएको छ । उक्त गन्तव्यको सहुलियत भाडादर आठ हजार रुपैयाँ एक छ । दसैं, तिहार, छठलगायत चाडपर्व नेपालीको महत्वपूर्ण उत्सव हुन् । दसैंमा गाउँघर जाने, आफन्तसँग भेटघाट गर्ने र नयाँ लुगा लगाउने परम्परा छ । वर्षदिनको महत्वपूर्ण चाड भएकाले देश तथा विदेशबाट सहर, सदरमुकामदेखि गाउँबेँसी पुग्नेको लर्को लाग्छ । उनीहरु आफन्त र मान्यजनबाट टीका तथा आशीर्वाद थाप्न लामो यात्रा तय गरेर गन्तव्यमा पुग्छन् । ‘दसैंका लागि अधिकांश बुकिङ भइसकेको छ, यात्रुको मागका आधारमा उडान सङ्ख्या थप्ने योजनामा छौँ, ‘ट्रङ्क रुट’ मा त्यति समस्या छैन ‘स्टल रुट’ मा जहाज सीमित भएकाले अत्यधिक चाप हुन्छ’, उनले भने । वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता शर्माले दसैं लक्षित अनलाइन बुकिङ सकिए पनि जहाज पर्याप्त रहेकाले थप उडान सञ्चालन गरिने जानकारी दिए । आन्तरिक उडानका बुध्द एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य, सिम्रिक, सीता र समिट एयरको अग्रिम बुकिङ धमाधम भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अहिले आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० र अन्तर्राष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायकले उडान भर्दै आएका छन् । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार आन्तरिक उडानतर्फ अहिले दैनिक तीन सय हाराहारी दुईतर्फी उडानमार्फत झन्डै १५ हजार यात्रु आवतजावत गरिरहेका छन् । महाप्रबन्धक तिवारीले दसैंमा यो सङ्ख्या थप बढ्नसक्ने भएकाले उडान सङ्ख्या पनि बढ्ने बताए । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले अहिलेसम्म ५० प्रतिशतभन्दा माथि बढी टिकट बिक्री भइसकेको बताए । उनले भने, ‘पहिला जस्तो दसैंलाई मात्र भनेर बुकिङ खुलाउने गरिएको छैन, टिकट अनलाइनमा सहजै पाइने भएकाले बुकिङ धमाधम भइरहेको छ, घटस्थापनापछि बढी चाप हुन्छ ।’ प्रवक्ता बर्तौलाका अनुसार अहिले अनलाइन बुकिङ हुने र एयरलाइन्सले ठूला जहाज सञ्चालन गरेकाले विगतमा जस्तो टिकट अभाव नहुने विश्वास व्यक्त गरे । यती एयरलाइन्सले पाँच थान एटिआर जहाजमार्फत सेवा दिइरहेको छ । तुलनात्मक रुपमा हवाई यात्रा महङ्गो भए पनि सहज, सुलभ र छिटोछरितो यातायात भएकाले हवाई यात्राप्रति यात्रुको आकर्षण बढ्दो छ । कमाइका हिसाबले पनि यो मौसम उपयुक्त मानिन्छ । त्यसैले केही महँगो भए पनि हवाई यात्राका लागि अधिकांश यात्रु लालायित हुन्छन् । दसैंमा राजधानी काठमाडौँ छाडेर गाउँघर पुग्ने यात्रुको चहलपहल बढी हुन्छ । टीकाको भोलिपल्टदेखि राजधानी फर्किने यात्रुको चाप बढ्छ । वायुसेवा कम्पनीका अनुसार अहिले दसैंको अन्तिम दिनलाई लक्षित गरी उच्च दरमा टिकट लिने क्रम बढेको छ । विशेषगरी फूलपातीदेखि विजयादशमी टीकासम्म चाप बढी हुन्छ । अग्रिम बुकिङ सोही अनुरुप हुने गरेको एयरलाइन्स कम्पनीले जनाएका छन् । नेपाली पात्रोअनुसार यस वर्ष यही असोज २८ गते घटस्थापना र आगामी कात्तिक ७ गते विजयादशमी टीका रहेको छ । असी प्रतिशत बुकिङ बुध्द एयरको विभिन्न गन्तव्यमा ८० प्रतिशत हाराहारी बुकिङ भएको छ । यती एयरलाइन्सले आफ्नो करिब ६० प्रतिशत अनलाइन बुकिङ भइसकेको जनाएको छ । श्री एयरलाइन्सको पनि सोही हाराहारीमा बुकिङ भइसकेको छ । श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले दसैंका लागि कम्पनीको विभिन्न गन्तव्यमा बुकिङ भइरहेको बताए । विगतमाजस्तो यस पटकको दसैंमा यात्रुले टिकट पाउन समस्या नहुने उनको भनाइ छ । श्री एयरलाइन्सले ‘ड्यास एट’ चार थान जहाजले आन्तरिक उडान गर्दै आएको छ । आन्तरिक उडानका सौर्य एयरलाइन्स र समिट एयरले पनि दसैं र तिहारलाई केन्द्रित गरी अग्रिम बुकिङ खुला गरेको जनाएका छन् । रासस

कालीगण्डकी करिडोर : गैँडाकोट-राम्दी खण्ड अन्तिम चरणमा

त्रिवेणी । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट-राम्दी खण्ड निर्माण अन्तिम चरणमा पुगेको छ । एक सय ३२ किलोमिटरको उक्त सडक खण्डमा ९५ प्रतिशत काम पूरा भएको आयोजना कार्यालयले जनाएको छ । गैँडाकोट-राम्दी खण्डको सबैजसो काम सकिएको जनाउँदै सडक सुरक्षाका काम, किलोमिटर पोस्टलगायत स-साना काम बाँकी रहेको गैँडाकोट-राम्दी-मालढुङ्गा सडक आयोजनाका इन्जिनियर एवं सूचना अधिकारी पवित्रमणि आचार्यले बताए । आगामी कात्तिक मसान्तसम्म सबै काम सम्पन्न गर्नुपर्ने म्याद रहेकाले निर्माण कम्पनीले सोही अनुसार काम गरिरहेको उनको भनाइ थियो । आचार्यका अनुसार उक्त खण्डको एक सय ३२ किमीमध्ये करिब दुई किमी मात्रै कालोपत्र गर्न बाँकी रहेको छ । नवलपुरको डेढगाउँ-बुलिङटार र बुलिङटार-गैँडाकोट खण्डअन्तर्गत केही स्थानमा ठूलो पहिरा गएकाले काम गर्न समस्या भइरहेको उनले बताए । ‘पहिरो गएको स्थानमा तत्काल कालोपत्र गर्दा दीर्घकालीन नहोला भनेर त्यो खण्डमा ग्राभेल मात्रै गरेर राख्ने योजनामा छौँ’ आचार्यले भने, ‘पहिरो गएको स्थानमा विज्ञ बोलाएर अध्ययन गर्ने काम भइरहेको छ ।’ पहिरो नियन्त्रणको उपाय खोजी गरी आयोजनाको म्याद रहेको खण्डमा आयोजनाबाट नभए हस्तान्तरणपछि सम्बन्धित डिभिजनबाट काम गर्ने गरी सुझाव दिइने उनले बताए। पहिराको जोखिम भएको स्थान र पुलहरुको दुईतर्फका भागमा गरी करिब दुई किलोमिटरमा मात्रै कालोपत्र बाँकी रहेको सूचना अधिकारी आचार्यले जानकारी दिए । ‘गैँडाकोट-राम्दी खण्डमा सबैजसो ठूला काम सकिएको छ,’ उनले भने, ‘यस खण्डमा पर्ने २८ वटा छन् । त्यसमध्ये एउटा पुलको काम बाँकी रहेको र अन्य सबै सम्पन्न हुने चरणमा छन् ।’ नवलपुरको गैँडाकोट र बुलिङटारको सिमानामा रहेको तरङ्गा खोलामा काम बाँकी रहेको उनको भनाइ थियो । पुलको ठेक्का सम्झौता भए पनि व्यवसायीले काम नगर्दा ढिलो भएको भन्दै आचार्यले दसैँलगत्तै काम सुरु भई करिब दुई महिनामा सो पुल निर्माणको काम सकिने बताए । उनका अनुसार यस खण्डअन्तर्गत नवलपुरतर्फ १४ र पाल्पातर्फ १४ पुल रहेका छन्। विसं २०७५ कात्तिक २ गते सम्झौता भएर ३६ महिनामा सम्पन्न गर्ने भनिएकामा कोभिडको प्रभाव, भौगोलिक जटिलताले उक्त समयमा काम सम्पन्न नभएपछि विसं २०८० कात्तिकसम्ममा निर्माण सम्पन्न गर्ने गरी म्याद थप गरिएको सूचना अधिकारी आचार्यले जानकारी दिए । उनका अनुसार उक्त आयोजनाका लागि साढे ५ अर्बको लागतमा ठेक्का सम्झौता भएको थियो । रासस

बसमा रुख खस्दा पाँचको निधन

श्रीलङ्का । श्रीलङ्कामा शुक्रबार बिहान गुडिरहेको बसमाथि रुख खस्दा पाँच जनाको निधन भएको कोलम्बो नेसनल अस्पतालले बताएका छन् । प्रहरीका अनुसार कोलम्बोबाट दक्षिणी श्रलङ्काको देनियायातर्फ जाँदै गरेको बसमाथि रुख खसेको हो । दुर्घटनामा घाइते १७ जनाको कोलम्बो नेसनल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उक्त दुर्घटनापछि कोलम्बोको व्यस्त सडकमध्येको एक डुप्लिकेसन सडकलाई हाल बन्द गरिएको छ । क्षतिग्रस्त बस र ढलेको रुखलाई सडकबाट हठाउने काम भइरहेकाले सवारी आवागमन बन्द गरिएको प्रहरीले जनाएको छ । रासस

६ वर्षअघिको निर्णय राजपत्रमा जारी गर्दै विनोद चौधरीलाई टेलिकमको लाइसेन्स !

काठमाडौं । सरकारले विनोद चौधरीको सिजी टेलिकमलाई लाइसेन्स दिनका लागि प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सीजी टेलिकमलाई अनुमति दिनका लागि प्रक्रिया अगाडि बढाउने अन्तिम तयारी गरेको हो । सरकारले ६ वर्षअघिको मन्त्रिपरिषद्कोे बैठकले गरेको निर्णयलाई राजपत्रमा सूचना प्रकाशन गर्दै सिजीलाई लाइसेन्स दिने बाटो खोल्न लागेको हो । २०७४ को जेठ १५ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकले चौधरी ग्रुपको सीजी टेलिकम्युनिकेसन्स लिमिटेडलाई एकीकृत अनुमतिपत्र (युनिफाइड लाइसेन्स) दिने निर्णय गरेको थियो । तर, उक्त निर्णय राजपत्रमा जारी नहुँदै उनी प्रधानमन्त्रीबाट पदमुक्त भए । त्यसपश्चात् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने । २०७४ मंसिर को चुनावपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बन्यो । उनको नेतृत्वको सञ्चारमन्त्री थिए गोकुल बास्कोटा । तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटा र विनोद चौधरीका छोरा निर्वाण चौधरीबीच सार्वजनिक रुपमै वाकयुद्ध पनि चल्यो । परिणामस्वरुप सिजी टेलिकमले सरकारबाट लाइसेन्स पाउन सकेन । त्यो बिचमा बनेका दुवै सरकारले मन्त्रिपरिषद्को निर्णय राजपत्रमा प्रकाशित नगरेपछि सिजीले लाइसेन्स पाउने प्रक्रिया अड्किएको थियो । २०७४ जेठ १५ गते बसेको मन्त्रिपरिषद्को निर्णयलाई सरकारले ६ वर्षपछि राजपत्रमा सूचना जारी गरेर सीजिलाई लाइसेन्स दिन लागेको बुझिएको छ । त्यसका लागि चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी लागि परेको स्रोतको भनाइ छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद समेत रहेका चौधरीलाई प्रचण्डकै नेतृत्वको सरकारले सो निर्णय गरेको भएकोले पनि अहिले लविङ गर्न सहज भएको बताइएको छ । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डकै निर्देशनमा दूरसञ्चार प्राधिकरणले लाइसेन्सको प्रक्रिया सुरु गरेको छ । हाल सूचना तथा सञ्चार प्रविधिमन्त्री पनि माओवादीकै नेतृ मन्त्री रेखा शर्मा छन् । प्रधानमन्त्री र सूचना तथा सञ्चारमन्त्रीको लाइन मिलेपछि चौधरीलाई टेलिकमको लाइसेन्स दिन लागिएको हो । चौधरीको सीजी टेलिकमलाई लाइसेन्स दिनका लागि नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकमा समेत छलफल भएको छ । असोज पहिलो साता बसेको बोर्ड बैठकमा राजपत्र संशोधन गर्न सिफारिस गर्ने विषयमा छलफल भएको थियो । प्राधिकरणका एक बोर्ड सदस्यले बोर्ड बैठकमा सीजीले बीटीएस टावर स्थापना गर्नु पर्नेमा ‘ईनोड बी’ स्थापना गर्नुपर्ने सर्त राख्न छलफल भएको जानकारी दिए । यसअघिको उक्त निर्णयमा पछिल्लो समय प्रविधिमा आएको परिवर्तनका कारण ‘ईनोड बी’ राख्न सिफारिस गर्ने निर्णय भएको हो । प्राधिकरणको बोर्ड बैठकमा राजपत्र संशोधनको विषयमा छलफल भएपनि सञ्चार मन्त्रालयले भने यस विषयमा कुनै जानकारी नभएको जनाएको छ । मन्त्रालयका प्रवक्ता नेन्द्रप्रसाद सुवेदी सीजीको विषयमा छलफल भएको आफूलाई जानकारी नभएको बताए । ‘मैले पनि प्राधिकरणमा छलफल भयो भन्ने सुनेको हुँ । तर, यस विषयमा मन्त्रालयमा छलफल भएको कुरा मलाई जानकारी भएन,’ उनले भने । प्राधिकरणले २०६० को कात्तिक २७ गते एसटीएम टेलिकम सञ्चार प्रालि (हालको सीजी कम्युनिकेसन प्रालि) लाई ग्रामीण दूरसञ्चार, अन्तर्राष्ट्रिय ट्रंक टेलिफोन सेवा, लिमिटेड मोबिलिटी सेवा, इमेल तथा इन्टरनेट सेवा सञ्चालनका लागि लाइसेन्स दिएको थियो । १ जेठ ०६९ मा राजपत्रमा सूचना प्रकाशन गर्दै सरकारले निश्चित क्षेत्रभित्र मात्र सीमित रहने ताररहित टेलिसञ्चारमा आधारित लिमिटेड मोबिलिटी सेवा, ग्रामिण दूरसञ्चार सेवा र आधारभूत दूरसञ्चार सेवा प्रदान गर्ने अनुमति पाएकाहरूमध्ये कुनै एकलाई आधारभूत टेलिकमको लाइसेन्स दिने उल्लेख गरेको थियो । सरकारको उक्त निणर्य अनुसार सीजी टेलिकमले लाइसेन्सका लागि आवेदन दिएको थियो । तर, प्राधिकरणले सीजी टेलिकमले तोकिएको सर्त अनुसार काम सम्पन्न नगरेको भन्दै काम सकिएपछि मात्र लाइसेन्स दिने जनाएको थियो । मोबाइल सेवाको लाइसेन्स नपाएपछि कम्पनीले हाल इन्टरनेट सेवा सञ्चालन गर्दै आएको छ । प्राधिकरणले २०७५ को असोजमा इन्टरनेटको लाइसेन्स नवीकरण गरेको थियो । सोही अनुसार सीजीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा इन्टरनेट सेवा दिँदै आएको छ ।

गरिमा विकास बैंकले सुरु गर्यो क्रेडिट कार्डमा ईएमआई सेवा

काठमाडौं । गरिमा विकास बैंकले विकास बैंकहरुमा पहिलो पटक क्रेडिट कार्डमा ईएमआई सेवा सुरु गरेको छ । नेपालमा करिब तिन दशक अगाडी सुरुवात भएको क्रेडिट कार्ड सुविधामा आजसम्म पनि सिमित नेपालीहरुको मात्र पहुँच पुगेको देखिन्छ । क्रेडिट कार्डको प्रयोग, उपयोगिता र फाइदा सम्बन्धी जागरुकताको कमीले गर्दा नै यसको पहुँच आम जनमानसमा नपुगेको मान्न सकिन्छ । ‘आज किन्नुहोस् र पछि तिर्नुहोस्’ सिद्धान्तमा आधारित रहने क्रेडिट कार्ड सुविधा गरिमा विकास बैंकले आफ्ना ग्राहकका लागि सुरुवात गरिसकेको छ । यसलाई थप ग्राहकमैत्री बनाउने उद्देश्यका साथ गरिमा विकास बैंकले विकास बैंकहरुमा नै पहिलो पटक क्रेडिट कार्डमा ईएमआई सेवा अर्थात् किस्ताबन्दीको सुरुवात गरेको छ । यस अन्तर्गत, बैंकले सम्झौता गरेको विक्रेताहरुसँग सामान खरिद गरी गरिमा विकास बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा सबै खरिद रकम एकै पटक नभई ० प्रतिशत ब्याजदरमा मासिक किस्ताको रुपमा तिर्न सकिने छ । साथै, यदि ग्राहक आफैले पनि अरु कतैबाट सामान खरिद गरि गरिमा विकास बैंकमा भ्याट बिल पेश गरि यो सुविधा लिन चाहेमा पनि सजिलै लिन सकिने बैंकले जनाएको छ । आउँदै गरेको बडा दसैँ तथा तिहारमा सामान खरिद गर्न मन हुने तर तुरुन्तै सबै रकम भुक्तानी गर्न असहज हुने ग्राहकले योे सुविधा मार्फत लाभ उठाउन सक्नेछन् । बैंकले सबै नेपालीको पहुँचमा क्रेडिट कार्ड पहुँच पुग्नेछ र यसले देशको समस्त आर्थिक प्रणाली चलायमान रहने छ भन्ने विश्वास राखेको छ । हाल, गरिमा विकास बैंकले देशभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं विभिन्न डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित र गुणस्तरीय बैकिङ सेवा प्रवाह गर्दै आईरहेको छ ।

एक आपसमा गाभिँदै लक्ष्मी र सनराइज क्यापिटल, पूँजी ४८ करोड पुग्ने

काठमाडौं । लक्ष्मी र सनराइज क्यापिटल एक आपसमा गाभिने भएका छन् । लक्ष्मी क्यापिटल मार्केट र सनराइज क्यापिटलबीच एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी सम्झौता पत्रमा औपाचारिक रुपमा हस्ताक्षर गरेका छन् । समझदारी पत्रमा लक्ष्मी क्यापिटल मार्केटको तर्फबाट अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटलको तर्फबाट अध्यक्ष अपछ कुमार यादवले हस्ताक्षर गरेका छन् । लक्ष्मी क्यापिटल मार्केटको मुख्य संस्था लक्ष्मी बैंक मिति २०८० साल आषाढ २८ गते बाट सन्राइज बैंकसँग गाभिएर लक्ष्मी सन्राइज बैंक भई एकिकृत कारोबार प्रारम्भ भएपछि लक्ष्मी सन्राइज बैंकको दुई सहायक कम्पनीहरु लक्ष्मी क्यापिटल मार्केट र सन्राइज क्यापिटलबाट मर्चेन्ट बैकिङ्ग लगायत अन्य सेवाहरु छुट्टा—छुट्टै रुपमा प्रवाह गरिरहेका छन् । यस्ताे अवस्थामा धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)नियमावली, २०६४ को दफा२९ (क) बमोजिम एकै प्रकृतिका कम्पनीहरु आवश्यक नभएको कुरालाई मध्यनजर गर्दै एक मात्र सहायक कम्पनी कायम गरी मर्चेन्ट बैकिङ्ग व्यवसाय संचालन गर्नु पर्ने हुँदा लक्ष्मी क्यापिटल मार्केट र सन्राइज क्यापिटलबीच आपसमा गाभ्ने/गाभिने भएका हुन् । मर्जर पश्चात् कम्पनीको चुक्ता पूँजी ४८ करोड रुपैयाँ पुग्नेछ साथै अझ सबल रुपमा व्यासाय विस्तार गर्न सहयोग पुग्ने विश्वास समेत गरिएको छ ।

बागलुङमा बढ्यो डेंगु : १३० जनामा सङ्क्रमण पुष्टि

गलकोट । बागलुङमा पछिल्लो समय डेंगु सङ्क्रमण ह्वात्तै बढेको छ । पछिल्लो तथ्याङ्कअनुसार जिल्लामा एक सय ३० जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको पाइएको छ । पछिल्लो एक महिनामा मात्रै ९० जनाभन्दा बढीको सङ्ख्यामा डेंगु पुष्टि भएको छ । साउनयताको तथ्याङ्कअनुसार एक सय ३० जनामा डेङ्गुु सङ्क्रमण  भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिए । उनले जिल्लामा डेंगु सङ्क्रमण तीव्ररुपमा फैलिएकाले सचेत हुन पनि आग्रह गरे । ‘एक महिना अघिसम्म डेङ्गुु सङ्क्रमण निकै कम थियो, ४० जनालाई मात्रै सङ्क्रमण भएको थियो, पछिल्लो एक महिनामा मात्रै ९० जनालाई सङ्क्रमण भएर अहिले सङ्क्रमणको सङ्ख्या एक सय ३० पुगेको छ, सबैभन्दा बढी ढोरपाटन नगरपालिकामा सङ्क्रमण फैलिएको हो’, प्रमुख शर्माले भने, ‘डेंगुको सङ्क्रमण तीव्र भइरहेकाले सबैजना लामखुट्टेको टोकाइबाट बच्न आवश्यक छ ।’ बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा मात्रै शङ्कास्पद बिरामीमा  परीक्षण गर्दा ९६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको थियो । यस्तै धौलागिरि अस्पतलमा १५, गलकोट नगर अस्पतालमा १७ र बोङ्गादोभान स्वास्थ्य चौकीमा दुई जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका दस पालिकामध्ये बरेङ गाउँपालिकाबाहेक अन्य नौ पालिकामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ ।  उक्त कार्यालयको तथ्याङ्क अनुसार ढोरपाटन नगरपालिकामा ६७, बागलुङ नगरपालिकामा आठ, जैमिनी नगरपालिकामा दुई, गलकोट नगरपालिकामा १४, काठेखोला गाउँपालिकामा तीन, बडिगाड गाउँपालिकामा दस  निसीखोला गाउँपालिकामा १८, तमानखोला गाउँपालिकामा चार र ताराखोला गाउँपालिकामा एक जनामा सङ्क्रमण पुष्टि भएको हो । डेङ्गु सङ्क्रमण फैलिरहेको समयमा धौलागिरि अस्पतालमा ज्वरोको बिरामी ह्वात्तै बढेको उक्त अस्पतालले जनाएको छ । जिल्लामा डेङ्गुुको लक्षण भएका बिरामीको समेत धौलागिरि अस्पतालमा चाप बढिरहेको पाइएको छ ।  उक्त अस्पतालमा उच्च ज्वरोका बिरामीको सङ्ख्या ह्वातै बढेको र  ज्वरो आएका बिरामीको निःशुल्क डेङ्गु परीक्षण भइरहेको अस्पतालले जनाएको छ । धौलागिरि अस्पतालमा डेङ्गु सङ्क्रमण भई भर्ना भइरहेका केही बिरामीलाई थप उपचारका लागि पोखरासमेत पठाइएको छ भने सामान्य बिरामीलाई सोही अस्पतालमै उपचार गरिरहेको त्यहाँका मेडिकल सुपरीटेन्डेन्ट डा.रविरञ्जन प्रधानले जानकारी दिए । अहिले उक्त अस्पतालमा दैनिक ओपिडी र इमर्जेन्सीमा आउने अधिकांश बिरामी ज्वरोको आउने गरेको पाइएको छ । अहिले अस्पतालमा ज्वरो, वाकवाकी आउने तथा रिङ्गटा लाग्ने बिरामीको सङ्ख्या वृद्धि भए पनि सबैमा डेङ्गु सङ्क्रमण भने नदेखिएको अस्पतालको भनाइ छ । डेङ्गु नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले खोज र नष्ट गर अभियानलाई जारी राखेको छ । लामखुट्टेको लार्भा नष्ट गर्न पानीको खाल्डा पुर्ने, पानी जम्ने र लामखुट्टे उत्पादन हुने क्षेत्रमा विशेष ध्यान अपनाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । निरन्तरको वर्षाले खोज र नष्ट गर अभियानसमेत ओझेलमा परेकामा  रोकथामका लागि विभिन्न सचेतनामूलक कार्यक्रमसमेत थालिएको छ । रासस