विकासन्युज

मासुको उचित भण्डारण गर्दैनन् व्यवसायी, उपभोक्ताको स्वास्थ्यमाथि खोलबाड

गलकोट ।  मासु तथा मासुजन्य पदार्थ उपभोगका लागि संवेदनशील मानिन्छ । मासुबाट रोग सर्ने सम्भावना बढी भएकाले मासु पसलको आफ्नै तापक्रम, मापदण्ड र सरसफाइ हुनु जरुरी छ । बागलुङमा मासु पसलहरुले उचित मापदण्ड पूरा नगरी मासुको बिक्री वितरण गरेको पाइएको छ । उचित मापदण्डमा नचल्दा मासु पसलहरुको मनोमानीका कारण उपभोक्ताको स्वास्थ्यमाथि खोलबाड भइरहेको मासु पसलहरुको अनुगमनका क्रममा पाइएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बागलुङ नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङ र पर्यटन तथा घरेलु उद्योग कार्यालयले संयुक्त रुपमा बजार अनुगमन गर्ने क्रममा मासु पसलहरुले उचित सरसफाइ नगरेको, मासु भण्डारण उचित तापक्रममा नगरेको र मासुलाई बाहिर राखेर बिक्री वितरण गरेकोे पाइएको छ । मासु भण्डारण फ्रिजलाई रातको समयमा बन्द गरिएको, आवश्यक तापक्रम पूरा नभएको, मासु पसलको सरसफाइ नगरेको, कानुनी प्रक्रिया पूरा नगरी मासु पसल सञ्चालन गरेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । उनका अनुसार चाडपर्वको समयमा हुनसक्ने कालोबजारी, स्वास्थ्यमाथिको खेलबाडलाई नियन्त्रण गर्न मासु पसलको समेत अनुगमन गरिएको र अनुगमनका क्रममा केही मासु पसल राम्रो भए पनि अधिकांश मासु पसलहरु भने मापदण्डअनुसार नचलेकाले केही मासु पसललाई सचेत बनाइएको तथा केहीलाई कारबाहीका लागि सिफारिस गरिएको छ । ‘मासु भण्डारण गरेको फ्रिजमा विद्युत् नलगाइएको, पसलमा खुल्ला रुपमा मासु राखिएको, भुइँमै मासु राखिएको, फोहोरजन्य मासुहरुको उचित व्यवस्थापन नगरिएको पाइएको छ’, बरालले भने, ‘मासुजस्तो संवेदनशील खाद्यपदार्थलाई समेत व्यापारको नाममा लापरबाही गरेको पाइयो, केही मासु व्यापारीहरुलाई जिल्ला प्रशासन कार्यालयमा बोलाएर स्पष्टीकरण लिएका छौँ, केहीलाई दर्ता गर्नका लागि नगरपालिकामा पठाएका छौँ ।’ मासुलाई ऋणात्मक १० देखि १८ डिग्री सेल्सियमा भण्डारण गर्नुपर्ने भए पनि बागलुङका अधिकांश मासु पसलहरुमा मासु भण्डारणका लागि राखिएको फ्रिजको तापक्रम नपुगेको पाइएको छ । मासु पसलका लागि भित्ता, भुइँ लगायतमा टायल राख्नुपर्ने मापदण्ड भए पनि कतिपय मासु व्यवसायीहरुले नराखेको पाइएको छ । खुल्ला रुपमा मासु बिक्री गर्न नपाइने र उपभोक्ताले मासु खरिद गर्न आएपछि मात्र फ्रिजबाट मासु बाहिर निकाल्नुपर्ने भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र बागलुङका प्रमुख डा ऋषिराम सापकोटाले बताए । चाडपर्व नजिकिएसँगै मासुको व्यापार बढी हुने भएकाले मासु पसलहरुको अनुगमनलाई तीव्रता दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य प्राविधिक सहन्सकुमार मेहताले बताए । मेहेताका अनुसार मासु चिसो भए पनि उचित तापक्रम नपुग्दा अस्वस्थ्यकर हुने बताउँदै बागलुङका मासु व्यवसायीहरुलाई मासु भण्डारणका लागि प्रयोग गरिएको फ्रिजको विद्युत् निरन्तर सञ्चालन गर्न नर्देशन दिइएको छ । ‘मासुलाई खुल्ला राखेर बिक्री गरेको पाइयो, झिँगा भन्केको मासु बिक्री गर्दै गरेको र भुइँमा समेत मासु राखेको पाइयो’, मेहताले भने, ‘अधिकांश मासु पसलहरुले मापदण्ड पूरा नगरेको र उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरेको पाइयो ।’ अनुगमनका क्रममा आधा दर्जन मासु पसलहरु बिनादर्ता सञ्चालनमा आएको पाइएको छ । दर्ता नभएका मासु पसलहरुलाई मापदण्ड पूरा गरी दर्ता गर्न नगरपालिकामा बोलाइएको नगरपालिकाका सामाजिक विकास शाखा अधिकृत सरस्वती रेग्मीले बताए । रासस

किसानको उत्पादन बिक्री नभए सहकारीले किनी दिने 

ढोरपाटन । बागलुङको गलकोट नगरपालिका–११ रिघाकी आशा श्रीषले व्यवसायिक तरकारी खेती गर्दै आएको वर्षौं भयो । गाउँमा उत्पादन गरेको तरकारी बजारीकरणमा निकै समस्या थियो । दैनिक गाडीमा तरकारी बजार पठाउँदा भाडा पनि उठाउन समस्या थियो । उत्पादनले उचित मूल्य पाउन गाह्रो थियो । अब आशाजस्ता सयौँ किसानले उत्पादन गर्ने तरकारी तथा फलफूलले मूल्य पाउने भएको छ । नगरपालिका र गौमुखी कृषि विकास सहकारीको सहकार्यमा हटिया बजारमा हाटबजार तथा तरकारी सङ्कलन केन्द्र सञ्चालनमा आएको छ । गलकोट क्षेत्रका अधिकांश नागरिक कृषि क्षेत्रमा आबद्ध भए पनि अहिलेसम्म हाटबजार सञ्चालन भएको थिएन । यही असोज २८ गते हाटबजार तथा तरकारी सङ्कलन केन्द्र स्थापना भएपछि कृषक हर्षित भएका छन् । एउटै गाउँमा दर्जनौँ कृषकले व्यावसायिक तरकारी खेती गर्दै आए पनि बजार र उचित मूल्य नपाउँदा समस्या भोग्दै आएको उनले बताए । गाउँमा रासायनिक मल प्रयोग नगरी जैविक तरकारी र फलफूल उत्पादन गर्दै आएको उनको भनाइ छ । अब बजार तथा ग्रामीण क्षेत्रको उत्पादनले सहज रुपमा बजार पाउने श्रीषले विश्वास व्यक्त गरे । उनले आफूले मौसमी र बेमौसमी तरकारी उत्पादन गरिरहेको भन्दै बजार नपाउँदा कुहिएर नष्ट हुँदा लाखौँ रुपैयाँ नोक्सानी भोग्नुपरेको स्मरण गरे। ‘नगरपालिका र सहकारीले हाम्रो लागि ठूलो काम गरेको छ, धेरै किसान बजार नपाए विचलित हुनुभएको थियो, कयौँ कृषि पेसा छाडेर विदेश पनि जानु भयो, अहिले गर्दै आउनुभएका कुनै पनि किसानले आफ्नो पेसा छाड्न पर्दैन कि भन्ने आशा गरेका छौँ’, श्रीषले भने, ‘हाम्रो मुख्य समस्या बजार र मूल्यको थियो, गाउँमा धेरै बिक्री गर्न सकिँदैन, बजारमै ल्याउनुपर्छ, बजारमा ल्याउँदा गाडीको भाडा नै नउठ्ने डर हुन्थ्यो, अब सहज हुने भयो ।’ गलकोट–१ का कृषक रवीन्द्रबहादुर बुढाथोकी अब आफूजस्ता किसान ठगिन नपर्ने बताए । नगरपालिका र गौमुखी सहकारीले तरकारी तथा फलफूल बिक्रीका लागि मूल्य सूची बनाएको हुँदा उपभोक्ता तथा किसान कोही पनि ठगिन नपर्ने उनी बताउँछन् । गलकोट क्षेत्रमा लामो समयदेखि कृषि गर्दै आएका किसानले अब राज्य भएको अनुभूति गर्न पाउने बुढाथोकीको भनाइ छ । उनले भने, ‘अब कृषकले जति उत्पादन गरे पनि खेर नजाने भो, बिक्री हुँदैन कि भनेर चिन्ता गर्ने दिन गए, हामीले जति उत्पादन गरे पनि हाटबजारमा ल्याएर बेच्ने छौँ, बजार–बजारमा पनि गएर बिक्री गर्न पाइने छ, बिक्री नभएको तरकारी र फलफूल सहकारीले राख्ने र त्यसको मूल्य हामीहरुलाई उपलब्ध गराउने छ, अब हामीहरु उत्साहका साथ उत्पादनमा लाग्ने छौँ, पहिले नै यो काम भएको भए धेरै मान्छेहरु व्यावसायिक तरकारी खेतीमा लाग्ने थियौँ ।’ गौमुखी कृषि विकास सहकारी संस्थाका अध्यक्ष शिवकुमारी खत्रीले आफूहरुले विसं २०६४ देखि थालेको प्रयास अहिले सफल भएको बताए । सहकारीमार्फत किसानको समस्या समाधान गर्न, उनीहरुलाई प्रविधिसँग जोड्न र आयआर्जनलाई बलियो बनाउनका लागि लामो समयदेखि काम गर्दै आएको अध्यक्ष खत्रीको भनाइ छ । अघिल्लो वर्षदेखि नगरपालिकासँग सहकार्यमा जग्गा व्यवस्थापन गरी हाटबजार र सङ्कलन केन्द्र निर्माणपछि सञ्चालन सुरु गरिएको बताए । हाटबजार हप्तामा एक दिन सञ्चालन गर्ने र बिक्री नभए किसानको तरकारी तथा फलफूल प्रत्येक दिन आफूहरुले राखिदिने उनले बताए । किसानको बिक्री नभएका वस्तु प्रशोधन गरी विभिन्न परिकार बनाउने अध्यक्ष खत्रीको भनाइ छ । प्रशोधनका लागि मेसिनसमेत खरिद गरिसकेको उनी बताउँछन् । ‘अब किसानका कुनै पनि उत्पादन नोक्सान हुने छैनन्, उहाँहरुले बेच्न सकेको बेच्नुहुन्छ, नसकेको हामीले राखेर उहाँहरुलाई रकम दिन्छौँ, उहाँहरुले बेच्ने मूल्यभन्दा प्रतिकिलो रु पाँच बढी रकम उपलब्ध गराउँछौँ’, अध्यक्ष खत्रीले भने, ‘कृषि गर्दै आएका कृषकहरु ठगिएको अवस्था थियो, जसले धेरै दुःख गरेर उत्पादन गर्छ, त्यसले उचित मूल्य पाएको थिएन, उपभोक्ताले पनि महङ्गोमा उपयोग गर्नु पथ्र्यो, उहाँहरुले जति उत्पादन गर्नुहुन्छ, बिक्री भएन भनेर चिन्ता गर्नु पर्दैन, हामीहरुले उहाँको उत्पादन राख्छौँ, अब कृषकहरु उत्पादनमा लाग्नुपर्छ ।’ नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले किसानलाई व्यावसायिक बनाउनका लागि हाटबजार सञ्चालनमा ल्याइएका बताए । यहाँका हरेक घरमा फलफूल तथा तरकारी उत्पादन हुने र बिक्री नहुँदा यतिकै खेर गइरहेको हुँदा नगरपालिकाभित्रका सबै नागरिकको आयआर्जनमा टेवा पुर्याउनका लागि नगरपालिकाले १० रुपैयाँलाख विनियोजन गरी सहकारीसँग सहकार्यमा हाटबजार तथा तरकारी सङ्कलन केन्द्र सञ्चालन गरेको उनी बताउँछन् । हाटबजार सञ्चालनसँगै नगरपालिकाले किसानलाई उन्नत जातका बीउबिजन वितरण, आवश्यक अनुदान, तालिम तथा पराशर्म र प्राविधिक सहयोग गर्दै आएको प्रवक्ता भण्डारी बताउँछन् । हरेक किसानको तरकारीमा नगरपालिकाले प्रतिकिलो र तीन थप गरिदिने उनको भनाइ छ । हाटबजार र तरकारी सङ्कलन केन्द्रमा ११ कक्ष निर्माण गरिएको छ । यी कक्षमा पालिकाका ११ वटै वडाका किसानले उत्पादन गरेका वस्तु बिक्रीका लागि राखिने भण्डारीले बताए । अब गाउँ–गाउँबाट सबै किसान बजारमा आउनु नपर्ने उनी बताउँछन् । गाउँमा उत्पादन भएको वस्तुलाई सङ्कलन गरी एकजना कर्मचारीमार्फत हाटबजारमा ल्याएर बिक्री गर्ने व्यवस्था मिलाएको भण्डारीको भनाइ छ । रासस

नेपालमा सुरु भयो जिप मेरिडियनको डेलिभरी

काठमाडौं । नेपालका लागि अमेरिकी एसयुभी ब्रान्ड जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले आफ्नो सेभेन सिटर एसयुभी जिप मेरिडियनका डेलिभरी सुरु गरेको छ । जिपले काठमाडौं नक्सालस्थित सोरुममा सोमबार आयोजना गरेको विशेष डेलिभरीमा एकै दिन तीन वटा मेरिडियन ग्राहकलाई हस्तान्तरण गरेको हो । जिप मेरिडियन लेजेन्डरी एसयुभी ब्रान्ड जिपको फोर बाई फोर क्यापाबिलिटी भएको पहिलो सेभेनसिटर एसयुभी हो । नेपालमा मेरिडियनको टप भेरियन्ट लिमिटेड (ओ) मात्र उपलब्ध हुनेछ जसमा २.० लिटरको ‘मल्टिजेट डिजेल इन्जिन’ छ । यसको ‘नाइन–स्पिड अटोमेटिक ट्रान्समिसन’ले १६८ बीएचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्नेछ । यसमा ‘स्यान्ड’, ‘मड’, ‘स्नो’ र ‘अटो अप्सन’ रहेको ‘सेलेक–टेरेन’सहितको जिपको ‘लेजेन्डरी फोर बाई फोर सिस्टम’ रहेको छ । ‘जिप मेरिडियन ‘एड्भेन्चर’ र ‘सोफिस्टिकेसन’को अनुपम मिश्रण हो जसमा धेरै ‘सेग्मेन्ट–फस्र्ट’ फिचरहरु छन् र यो ‘अनरोड’ र ‘अफरोड’ दुवैका लागि क्षमतावान् छ,’ एमएडब्लु लाइफका सिइओ जोजु जोस थट्टिलले भने, ‘पछिल्ला केही वर्षमा नेपाली अटो बजार सुस्त भए पनि जिपले नेपालमा आफ्नो विक्रीको गतिलाई कायम राखेकोमा हामी खुशी छौं । देशको अर्थतन्त्रको नकारात्मक प्रभाव अटो क्षेत्रमा भए पनि हामीले यो आर्थिक वर्षको पहिलो त्रैमासिकको सेल्स टार्गेटलाई हासिल गर्न सफल भएका छौं ।’ जिप मेरिडियन कठोर भौगोलिक अवस्थाका लागि जबरदस्त मात्र छैन सुन्दर पनि छ । जिपको ‘आइकनिक सेभेन–स्लट ग्रिल’, ‘डीआरएल’सहितको ‘पावरफुल एलइडी प्रोजेक्टर हेडल्याम्प’, ‘बम्परमा राखिएका सिल्भर लाइनहरु र ‘क्रोम फिनिस’ले मेरिडियनलाई आधुनिक ‘एसयुभी’को रुप दिएको छ । मेरिडियनमा जिपको ‘यु–कनेक्ट’ जडित १०.१ इन्चको टचस्क्रिन, १०.२ इन्चको ‘डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर’, ‘पानोरामिक सनरुफ’, ‘वायरलेस स्मार्ट कनेक्टिभीटी’, ‘वायरलेस फोन चार्जिङ’, ‘डुअल–जोन क्लाइमेट कन्ट्रोल’, ‘भेन्टिलेटेड पावर्ड फ्रन्ट सिट’ र ‘पावर टेलगेट’ लगायतका फिचर छन् । साथै, सुरक्षाका लागि यसमा ६ वटा ‘एअर ब्याग’, ‘३६० डिग्री क्यामेरा’, ‘टायर प्रेसर मनिटरिङ’, ‘ट्रयाक्सन कन्ट्रोल’, ‘इएससी’, ‘हिल–स्टार्ट एन्ड डिसेन्ट कन्ट्रोल’ जस्ता फिचर छन् ।

बझाङ भूकम्पबाट शिक्षा र स्वास्थ्यमा भएको क्षति पुनःनिर्माण गर्न सरकारलाई निर्देशन्

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सा शिक्षा एवं सिटिइभिटीको सम्बन्धन र गुणस्तर लगायतका विषयमा अध्ययन प्रतिवेदनको लागि गठित उपसमितिको समयावधि कार्तिक २० गतेसम्म कायम गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो । समितिको आजको बैठकले संसदीय समितिहरुको प्रयोजनार्थ संघीय संसद सचिवालयवाट प्राप्त वार्षिक कार्यक्रम र विनियोजित रकमका सम्बन्धमा समितिका सदस्यहरुलाई अवगत समेत गराएको छ । त्यस्तै समितिले आवश्यकता ठहर गरेको विषयमा समस्या समाधान एवं गुणस्तर सुधारका लागि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको कार्यक्षेत्र अन्तर्गतका विषय क्षेत्रगत उपसमिति वा कार्यदल गठन गर्ने निर्णय गरेको समिति सभापति भानुभक्त जोशीले बताए । उनले समितिले एम.वि.वि.एस अध्ययनरत एवं आन्दोलनरत विद्यार्थीहरुको मौका परीक्षा र शुल्क फिर्ता सम्बन्धी विषयका सवालमा सरोकारवाला निकायहरुसंग थप छलफल गर्ने, यस सम्बन्धमा समिति सदस्य सुमना श्रेष्ठको संयोजकत्वमा मा.विद्या भट्टराई र मा. ज्ञानु बस्नेत सुवेदीलाई उक्त मागको औचित्यता र अध्ययन सम्बन्धमा जिम्मेवारी दिने निर्णय गरेको बताए । समितिले समितिको वार्षिक एवं आवधिक कार्ययोजना तयार गर्ने निर्णय गरेको छ । त्यस्तै इजरायलमा हमासको आक्रमणबाट मृत्युवरण गरेका विद्यार्थीहरुको दिवङ्गत आत्माको चीरशान्ति र शोकाकुल परिवारजनमा समवेदना दिनुका साथै हमासको आक्रमणबाट पीडित विद्यार्थीहरु एवं नेपालीहरूको सुरक्षाको प्रत्याभुति र नेपाल ल्याउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ । समिति सभापति जोशीले भने, ‘चिकित्सा शिक्षा एवं सिटिइभिटीको सम्बन्धन र गुणस्तर लगायतका विषयमा अध्ययन प्रतिवेदनको लागि गठित उपसमितिको समयावधि प्राविधिक कारणले मिति २०८०,०७, २० सम्म कायम गर्ने निर्णय गरियो । संसदीय समितिहरुको प्रयोजनार्थ संघीय संसद सचिवालयवाट प्राप्त वार्षिक कार्यक्रम र विनियोजित रकमका सम्बन्धमा समितिका माननीयहरुलाई अवगत गराइयो । समितिले आवश्यकता ठहर गरेको विषयमा समस्या समाधान एवम् गुणस्तर सुधारका लागि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको कार्यक्षेत्र अन्तर्गतका विषय क्षेत्रगत उपसमिति वा कार्यदल गठन गर्ने निर्णय गरियो ।’ ‘एम.वि.वि.एस अध्ययनरत एवम् आन्दोलनरत विद्यार्थीहरुको मौका परीक्षा र शुल्क फिर्ता सम्बन्धी विषयका सवालमा सरोकारवाला निकायहरुसंग थप छलफल गर्ने । यस सम्बन्धमा मा. सुमना श्रेष्ठको संयोजकत्वमा मा.विद्या भट्टराई र मा. ज्ञानु बस्नेत सुवेदीलाई उक्त मागको औचित्यता र अध्ययन सम्बन्धमा जिम्मेवारी दिने निर्णय गरियो । समितिको वार्षिक एवम् आवधिक कार्ययोजना तयार गर्ने निर्णय गरियो । बझाङ जिल्लामा भर्खरै गएको भूकम्पको कारण शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको क्षति र पुनःनिर्माणको लागि सरकारलाई निर्देशन गर्ने निर्णय गरियो’, उनले भने । समितिले बझाङ जिल्लामा हालै गएको भूकम्पको कारण शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको क्षति र पुनःनिर्माणको लागि सरकारलाई निर्देशन दिएको छ ।

१६ खर्ब पुग्यो विदेशी मुद्राको सञ्चिति

काठमाडौं । नेपालमा विदेशी मुद्राको सञ्चिति १६ खर्ब हाराहारीमा पुगेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको दुई महिनाको तथ्यांक अनुसार विदेशी मुद्राको सञ्चिति १५ खर्ब ९८ अर्ब ९० करोड रुपैयाँको हाराहारीमा पुगेको हो । गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३.९ प्रतिशतले वृद्धि भएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा ११ अर्ब ७१ करोड रुपैयाँ रहेकोमा २०८० भदौ मसान्तमा २.६ प्रतिशतले वृद्धि भई १२ अर्ब १ करोड रुपैयाँ पुगेको हो । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ रहेकोमा भदौ मसान्तमा ४.५ प्रतिशतले वृद्धि भई १४ खर्ब ६ अर्ब ५२ करोड रुपैयाँ पुगेका छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १९ खर्ब ३ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा भदौ मसान्तमा ०.६ प्रतिशतले कमी आई १९ खर्ब २ अर्ब ३८ करोड रुपैयाँ कायम भएको छ । २०८० भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.७ प्रतिशत रहेको छ ।

शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोड बचत हुँदा चालु खाता कति ?

काठमाडौं । दुई महिनाको अवधिमा चालु खाता २३ अर्ब ५० करोड रुपैयाँ बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार दुई महिनाको अवधिमा चालु खाता साढे २३ अर्ब रुपैयाँ बचतमा रहेको बताएको हो । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३६ अर्ब ८४ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २८ करोड ९० लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १७ करोड ७७ लाखले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । साथै, समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४१.७ प्रतिशतले कमी आई ८५ करोड ८ लाख रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्बले धनात्मक रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १ अर्व ४६ करोड रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८० करोड ९७ लाख रुपैयाँले ऋणात्मक रहेको थियो । यस्तै, समीक्षा अवधिमा शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब ८१ करोड रुपैयाँ घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १६ करोड ३४ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ४० करोड ५६ लाखले बचतमा रहेको छ । यस्तै, गत असारसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३.९ प्रतिशत बढेर भदौसम्म १५ खर्ब ९८ अर्ब ९० करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरमा भने २.६ प्रतिशत बढेर १२ अर्ब १ करोड पुगेको छ ।

मूल्यवृद्धि घट्यो, तलब र ज्यालादर बढ्यो

काठमाडौं । २०८० भदौ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति अर्थात मूल्यवृद्धि घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो वर्षको सोही महिनाको तुलनामा मूल्यवृद्धि ०.४५ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोही महिनामा ८.६४ प्रतिशत रहेको उक्त मूल्यवृद्धि २०८० भदौमा भने घटेर ८.१९ प्रतिशतमा झरेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.७४ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.९९ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४५.४६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १७.८६ प्रतिशत, तरकारीको १४.५१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.३८ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको१२.६० प्रतिशत र रेष्टुरेण्ट तथा होटलको १०.९७ प्रतिशतले बढेको छ । समीक्षा महिनामा घ्यू तथा तेल उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १३.०८ प्रतिशतले घटेको छ । साथै, गैर-खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५.५५ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १२.२१ प्रतिशत, शिक्षाको ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ८.११ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको ६.५९ प्रतिशतले बढेको छ । समीक्षा महिनामा यातायात उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ०.१८ प्रतिशतले घटेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ९.८३ प्रतिशत, तराईंको ७.०३ प्रतिशत, पहाडको ८.०९ प्रतिशत र हिमालको ११.३२ प्रतिशत रहेको छ । २०७९ भदौमहिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ७.६२ प्रतिशत, ९.३३ प्रतिशत, ८.८२ प्रतिशत र ६.६८ प्रतिशत रहेको थियो । २०८० भदौमहिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४.७८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १४.०० प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ८.२३ प्रतिशत, ३.१४ प्रतिशत र २.८० प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मुद्रास्फीति ०.०३ प्रतिशतले घटेको छ । २०८० भदौ महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ५.२५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो सूचकाङ्क ११.६८ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः १.०५ प्रतिशत र ६.५३ प्रतिशतले बढेको छ । २०८० भदौ महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.१९ प्रतिशत रहेको छ । सन्२०२३ सेप्टेम्बर महिनामा भारतको यस्तो मुद्रास्फीति ५.०२ प्रतिशत रहेको छ ।

इनरुवा सबस्टेसन निर्माण सम्पन्न, ४ हजार मेगावाट विद्युत आदान प्रदान हुने

काठमाडौं । मुलुकभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा ४०० केभी क्षमताको इनरुवा सबस्टेसन निर्माण सम्पन्न भएको छ । ग्याँस इन्सुलेटेड प्रणाली (जिआईएस)मा आधारित स्वचालित नेपालको दोस्रो ठूलो ४०० केभी सबस्टेसनको निर्माण सम्पन्न गरी सोमबार चार्ज गरिएको छ । मुलुकभित्र पूर्व–पश्चिम विद्युत आपूर्ति र भारतसँगको विद्युत व्यापारका लागि जिआईएस प्रविधियुक्त स्वचालित ढल्कबेर मुलुककै पहिलो र इनरुवा दोस्रो ठूलो सबस्टेसन हो । इनरुवामै २२०/१३२/३३ केभीको अर्को सबस्टेसन यसअघि नै निर्माण सम्पन्न भई सञ्चालित छ । हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी सबस्टेसन विस्तार आयोजनाअन्तर्गत निर्माण गरिएको ४००/२२० केभी इनरुवा सबस्टेसनमा ३१५ एमभिए क्षमताका तीन थान पावर ट्रान्सफर्मरहरु छन् । जसको क्षमता ९४५ एमभिए छ इनरुवा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएपछि इनरुवा सबस्टेसनबाट करिब ४ हजार मेगावाट विद्युत् आदान प्रदान हुन सक्ने छ । इनरुवा–ढल्केबर प्रसारण प्रसारण लाइनको अहिले तार तान्ने काम भइरहेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा पर्ने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् प्रसारण गर्न, स्थानीय रुपमा खपत गर्न र देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारततर्फ निर्यातका लागि इनरुवा सबस्टेसन मेरुदण्डको रुपमा रहेको बताए । ‘सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत प्रवाहका अतिरिक्त स्थानीय रुपमा आपूर्ति समेत गरिने छ, यसबाट त्यस क्षेत्रको भोल्टेज सुधार भई विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ, यही सबस्टेसनबाट भारतसँगको विद्युत् व्यापारका लागि इनरुवा–पूर्णिया ४०० केभी अन्तरदेशीय र नेपाल, भारत तथा बंगलादेशबीचको व्यापारका लागि इनरुवा–अनारमनी ४०० केभी प्रसारण लाइन प्रस्ताव गरिएको छ’, कार्यकारी निर्देशक घिसिङले भने । ‘पूर्व–पश्चिम विद्युत् आपूर्ति गर्न र भारतर्फ थप विद्युत् प्रवाह तथा क्षेत्रीय विद्युत् व्यापारका लागि इनरुवा सबस्टेसन अर्को ठूलो हब बनेको छ ।’ मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगहरुलाई थप विद्युत दिन र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन इनरुवा सबस्टेसनलाई महत्वपूर्ण मानिएको छ । अरुण तथा तमोर नदी र तिनीहरुका सहायक खोलानालामा निर्माण गरिएका/हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् कोशी करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ । कोशी करिडोरको इनरुवा–बसन्तपुर–तुम्लिङटार खण्ड निर्माण सम्पन्न भइसकेको छ भने वसन्तपुर–ढुंगेसाँघु खण्ड निर्माणाधीन छ । यस्तै, तुम्लिङटार–शीतलपाटी २२० केभी प्रसारण लाइन आयोजना पनि निर्माणाधीन छ । अरुण हब–इनरुवा ४०० केभी प्रसारण लाइन निर्माण प्रस्ताव गरिएको छ । आयोजना प्रमुख शुक्र देवकोटाले इनरुवा सबस्टेसनलाई आगामी दिनमा थप विस्तार गर्दै जान मिल्नेगरी निर्माण गरिएको बताउनुभयो । वर्खाको समयमा तराईमा हुने डुवान, विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण उपकरण तथा प्राविधिकहरु आउन नसक्दा सबस्टेसनको निर्माण प्रभावित भएको थियो । २०७८ कात्तिकमा सबस्टेसन निर्माण क्षेत्रमा आएको बाढीले उपकरणहरुमा क्षति पुगी पुनः आयात गर्नु पर्दा निर्माणमा केही ढिलाइ भएको आयोजना प्रमुख देवकोटाले उल्लेख गरे । आयोजनाअन्तर्गत नै ४०० केभी ढल्केबर सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा छ भने हेटौंडा सबस्टेसन निर्माणको अन्तिम चरणमा छ । इनरुवा र हेटौंडा सबस्टेसन निर्माणका लागि २०७५ पुसमा ठेक्का सम्झौता भएको थियो । नेपाल सरकार र प्राधिकरणको लगानीमा निर्माण भएको इनरुवा सबस्टेसनको अनुमानित लागत १ करोड ४३ लाख अमेरिकी डलर र २० करोड ४८ लाख रुपैयाँ रहेको छ । सबस्टेसन निर्माण सुपरीवेक्षण एनइए इन्जिनियरिङ कम्पनीले गरेको थियो ।