इप्पान र आईसीएचको आयोजनामा दीगो वित्तिय उपकरण व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र इन्टरनेशनल सेन्टर फर हाइड्रोपार (आईसीएच) को सहआयोजनामा दुई दिने दीगो वित्तिय उपकरण व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । मेरियट होटल काठमाडौंमा असोज २९ र ३० गते आयोजना गरिएको उक्त कार्यक्रममा नविकरणीय ऊर्जामा काम गरिरहेका २८ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो । दुई दिने तालिमको उद्घाटनमा बोल्दै इप्पान अध्यक्ष गणेश कार्कीले ऊर्जा उद्यमीहरुको क्षमता वृद्धिका लागि आईसीएच र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)सँगको सहकार्यमा आयोजना गरिएको दीगो वित्तीय उपकरण सम्बन्धी तालिमले नविकरणीय ऊर्जाको क्षेत्रमा वित्त व्यवस्थापनमा ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्दै आईसीएचकी प्रबन्ध निर्देशक लिने अम्लुन्ड हेगनले नविकरणीय ऊर्जाको दीगो वित्त व्यवस्थापनका लागि यो तालिम आयोजना गरिएको बताइन् । सामाजिक-पर्यावरण द्वन्द व्यवस्थापनमा ५ दिने तालिम इप्पान र आईसीएचकै सहकार्यमा नविकरणीय ऊर्जा परियोजनामा सामाजिक-पर्यावरण द्वन्द व्यवस्थापन सम्बन्धी ५ दिने तालिम पनि केहि दिन अघि मात्र सम्पन्न भएको छ । चन्द्रागिरी हिल्स रिसोर्ट काठमाडौमा असोज २२ देखि २६ गतेसम्म आयोजना भएको तालिममा स्थानीय र पर्यावरण सम्बन्धी द्वन्द व्यवस्थापनका वारेमा आईसीएचका तर्फबाट दर्जनौ पेपरहरु प्रिजेन्टेसन गरिएको थियो । उक्त तालिममा नेपालको ऊर्जा क्षेत्रमा सक्रिय १५ जना र फिलिपिन्सका ३ जना ऊर्जा उद्यमीहरुको सहभागीता रहेको थियो । सहभागीहरुलाई इप्पानकी सचिव कविता पोखरेलले प्रमाणपत्र वितरण गरेकी थिइन् । इप्पान र आईसीएचबीच बिगत डेढ दशकदेखि नविकरणीय ऊर्जा क्षेत्रका विविध विषयमा सहकार्य हुँदै आएको छ ।
महोत्तरीका महिला माटो बेचेर दशैं खर्चको जोहो गर्दै
महोत्तरी । दशैं सुरु भएपछि महोत्तरीका गरिब बस्तीका महिला माटो बेचेर चाडबाडको खर्च जोहोमा लागेका छन् । दसैँमा विभिन्न रङका माटोले घर पोतेर चिटिक्क टल्कने बनाउने स्थापित मैथिल परम्पराले अहिले गरिब बस्तीका महिला माटो बेचेर दशैं खर्चको जोहोमा लागेका हुन् । अहिले १०/२० जनासम्मको समूहमा महिला माटो खोज्न चार/पाँच घण्टाको बाटो छिचोलेर चुरे पहाडका रातो माटोका थुम्का खोस्रीरहेका भेटिन्छन् । दशैंमा घर पोत्ने प्रयोजनका लागि कमेरे, चिम्टिलो पहेँलो र रातो माटोको माग हुने भएपछि ग्रामीण महिला अहिले विभिन्न रङका माटो संकलनमा लागेका छन् । मधेसका अधिकांश भित्री बस्तीमा बाँसका चोयाको बारका भित्ता भएका घर हुन्छन् । यस्ता घरका भित्ता बर्सेनि दशैं, तिहार र छठअघि माटोले पोतेर रंग्याउने चलनले यी पर्वमा विभिन्न रङका माटोको माग बढ्छ । यसै अवसरलाई अहिले गरिब बस्तीका महिलाले नगद जोहोमा प्रयोग गरेका हुन् । अहिले फरक-फरक रङका माटोको खोजी गर्ने समूहको गन्तव्य नदीले दह जमाएका ठाउँको डिल, पुराना पोखरी र चुरे पाहाडक्षेत्रका रातो माटोका थुम्का भएका छन् । ‘कमेरे र पहेँलो चिम्टिलो माटो खोज्न नदी गहिरिएको डिल र पुराना पोखरी खोज्नुपर्छ, रातो माटो लिन चुरे नै पुग्नुपर्छ’ सखारै १० जनाको समूहमा रातो माटो खन्न १५/१६ किलोमिटर छिचोलेर बर्दिबास-३ को चुरे थुम्को पुगेका भंगाहा नगरपालिका-३ टिकुलिया बस्तीकी हेमकली चौधरी भन्छन्, ‘यही मेहनतले आफ्नो घर पोत्न र दसैँ खर्चको नगद जोहो गर्न माटो लगिन्छ।’ रातो माटो एक बोरा (४० किलो) घर पुर्याउन सके आफ्नो घर पोतेर नगद आर्जन गर्न पाइने उनी बताउँछिन् । पितृपक्ष सकिएर दसैँ प्रारम्भ भइसकेको छ । गरिब बस्तीका महिलाले भने १५ दिनअघि नै माटो खन्न, ओसार्न थालिएको बताएका छन् । माटो खन्ने काममा घरका परिवारजनको सहयोगले सहज भएको औरही-७ की पारोवती ठाकुरले बताइन् । अहिले गरिब बस्तीका महिलाको माटो ठम्याउने, खन्ने र ओसार्ने काममा व्यस्तता देखिन्छ । बस्ती नजिकैको रातु नदीको डिलमा कमेरे माटो खोस्री रहेकी भेटिनुभएकी भंगाहा-४ पलार बस्तीकी सियान्कीदेवी बाँतरले भनिन्, ‘कमेरे र पहेँलो माटो त यतै ओरपर खोज्दा पाइन्छ, तर रातो माटो लिन त १५/१६ किलोमिटर छिचोलेर चुरे नै पुग्नुपर्छ।’ मधेसका खासगरी थारु, बाँतर र मुसहर बस्तीमा अहिले माटो संकलनको होड चलेको छ । यी समुदायका महिला विभिन्न रङको माटोले घर पोत्न, कुन रङको माटो कसरी मिलाएर पोत्ने भन्ने र घर सरसफाइका काममा पोख्त मानिन्छन् । भंगाहा-५ राजपुरका ६८ वर्षीय पुरुषोत्तम पोखरेल भन्छन्, ‘घर सरसफाइ, रङरोगन र सजावटमा थारु महिला सधैंँ उम्दा देखिन्छन् ।’ दशैंमा थारु, बाँतर र मुसहर महिलाको साथसंगतले अन्य जाति समुदायका महिला पनि अहिले माटो संकलनमा लागेका छन् । दशैंअघि माटो जम्मा गर्नसके दसैँ मेलामा रमाउन र स-साना नानीको खानपिनको रहर पुर्याउन सहयोग पुग्ने गौशाला-१ रामनगरकी पवनवती महरा बताउँछिन् । मधेसका ग्रामीण बस्तीमा काठेघर बढी हुने र तिनका भित्ता बाँसका चोया र कर्चीबाट बन्ने हुँदा लिपपोत माटोले नै गरिन्छ । प्रत्येक वर्षको दशैंमा घर पोत्ने चलन छ। रासस
युवा संघ नेपालले पब्जी प्रतियोगिता गर्ने, विजेतालाई २ लाख रुपैयाँ
काठमाडौं । नेकपा एमाले निकट भ्रातृ संगठन युवा संघ नेपालले कार्तिक २५ गतेदेखि पब्जी प्रतियोगिता गर्ने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । प्रतियोगिता अन्तर्राष्ट्रिय पब्जी प्रतियोगिताको नियमअनुसार खेलाइने छ । खेलका दौरान कुनै विवाद भए आयोजकको निर्णय नै अन्तिम हुने युवा संघ नेपाल साइबर सर्कल प्रमुख अजित लामाले बताए । उनले खेलको विजेतालाई २ लाख, दोस्रोलाई १ लाख, तेस्रोलाई ५० हजार पुरस्कार दिइने बताए । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ पाउनेछ ।
सहुलियत पसलमै छैन चिनी
लेखनाथ । पोखरा नयाँबजार निवासी प्रेमबहादुर क्षत्री दसैँका लागि चिनी खरिद गर्न सोमबार दिउँसो पोखराको पृथ्वीचोकस्थित साल्ट ट्रेडिङ कर्पोरेशनको सहुलियत पसलको बिक्री केन्द्र पुगे । तर त्यहाँ चिनी नै बिक्रीमा नभएपछि रित्तो हात घर फर्कनुपर्यो । ‘उपभोक्तालाई लक्षित गरी काठमाडौँमा सहुलियत पसलबाट चिनी बिक्री भइरहेको समाचार हेरेर पोखराको साल्ट ट्रेडिङले पनि बिक्री गरेको होला भन्दै आएको हुँ तर यहाँ चामल, नून, तेल र साबुन मात्र बिक्री भइरहेको रहेछ, मलाई चिनी चाहिएको हो’, क्षत्रीले भने, ‘बजारमा चिनी खरिद गर्दा व्यापारीले प्रतिकेजी एक सय ३० रुपैयाँ लिने गरेका छन् ।’ बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएपछि सर्वसाधारणको दैनिकी कष्टकर हुँदै आएको उनको भनाइ छ । सहुलियत दरमा खाद्यवस्तुको बिक्री गर्ने जिम्मा पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड पोखरा र साल्ट ट्रेडिङ कर्पोरेशन कम्पनी लिमिटेड पोखराको बिक्री केन्द्रले यसवर्ष चिनी नभएका कारण बिक्री गरिएको छैन । ‘सरकारले काठमाडौँ बाहिरका जिल्लामा पनि चिनी बिक्री केन्द्र राखेको भए आम उपभोक्ताले सहुलियत दरमा चिनी किन्न पाउने थिए, किन त्यसो नगरेको होला ?’, क्षत्रीले प्रश्न गरे। साल्ट ट्रेडिङ कर्पोरेशन कम्पनी लिमिटेड पोखराका प्रमुख वासुदेव उपाध्यायले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहुलियत दरको चिनी बिक्री गर्ने निर्णय ढिला गर्दा दसैँमा चिनी आयात हुन नसकेको र दसैँपछि लगत्तै सहुलियत दरको चिनी बिक्री केन्द्रमा आइपुग्ने बताए । ‘दसैँमा उपभोक्तालाई सहुलियत दरमा चामल, तोरीको खाने तेल, नुहाउने साबुन र नून सहुलियत दरका दिएका छौँ’, उनले भने, ‘सधैँ झैँ यसवर्ष पनि साल्ट ट्रेडिङको कार्यालय पृथ्वीचोकबाट उपभोग्य सामान बिक्री भइरहेका छन् ।’ प्रमुख उपाध्यायका अनुसार साल्ट ट्रेडिङले २५ केजी तौल भएको जिरा मसिनो चामलको बोरालाई बजार भाउभन्दा पाँच सय सस्तोमा दुई हजार एक सय रुपैयाँमा बिक्री गरिएको छ । त्यस्तै २५ केजीको सोना चामल प्रतिबोरामा दुई सय ५० छुट गरी एक हजार सात सय ५० रुपैयाँमा बिक्री गरिएको छ । त्यस्तै नूनमा दुई सहुलियत दिइएको छ भने सन्तुर साबुनमा १० र बजार भाउ चार सय २५ रुपैयाँरहेको शान्ति तोरीको तेल प्रतिलिटर तीन सय ७० रुपैयाँमा बिक्री गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय पोखराका सूचना अधिकारी रञ्जना केसीले यसवर्ष चिनी नभएका कारण पोखराबाट स्टिम जिरा चामल बिक्री गरिएको जानकारी दिए। उनका अनुसार २५ केजी तौल भएको चालमको बोरा एक हजार नौ सय ७५ रुपैयाँमा बिक्री भइरहेको छ । दसैँदेखि छठ पर्वसम्मका लागि पाँच सय क्वीन्टल चामल बिक्रीका लागि राखिएकोमा पोखराको पार्दीस्थित बिक्री केन्द्र र पृथ्वीचोकको बिक्री केन्द्रबाट दैनिक २० क्वीन्टल चामल बिक्री भइरहेको केसीको भनाइ छ । ‘प्रतिपरिवार दुई बोरा चामल दिएका छौँ’, केसीले भने, ‘सहुलियत पसल यही असोज १५ गतेदेखि सुरु भई मङ्सिर ३ गतेसम्म रहने छ ।’ विशेष गरी दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी सरकारले सञ्चालनमा ल्याएको सहुलियत पसलमा चामल खरिद गर्न दसैँसँगै सर्वसधारण उपभोक्ताको चाप बढेको उनको भनाइ छ । सरकारले बोलपत्रमार्फत खरिद गर्न लागेको चिनी केही हप्तामा नै बिक्री केन्द्रमा आइपुग्ने र चिनीको समेत बिक्री गर्ने उनले बताए । देशभर खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४९, साल्ट ट्रेडिङ कर्पोरेशनले ३५ र दुग्ध विकास संस्थानले ११ आउटलेटबाट सहुलियत मूल्यमा सामान बिक्री गरिरहेका छन् । सञ्चालनमा ल्याइएका सहुलियत मूल्य पसल प्रभावकारी भएरनभएको विषयमा अनुगमन गर्न सरकारले अनुगमन समिति पनि बनाएको छ । सहुलियत पसलबाट धेरैभन्दा धेरै लाभ लिन केसीले उपभोक्तालाई आग्रह गरेका छन् । रासस
बैंकको व्याजदर घटेसँगै बढ्यो नेप्से परिसूचक, कारोबार भने एक अर्बमा खुम्चियो
काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुले व्याजदर घटाएसँगै त्यसको सकारात्मक प्रभाव सेयर बजारमा परेको छ । निरन्तर ओरालो लागेको नेप्से परिसूचक मंगलबार भने दोहोरो अंकले उकालो लागेको छ । सूचीकृत कम्पनीको सेयर मूल्य मापक नेप्से परिसूचक सोमबारको तुलनामा १३.१८ अंकले बढेर १८६४.६२ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.७१ प्रतिशतले बढी हो । बजारमा परिसूचक बढेपनि कारोबार भने घटेको छ । अघिल्लो दिनको बजारमा एक अर्ब २५ करोडको भएको कारोबार मंगलबार भने एक अर्बमा सीमित भएको छ । बजारमा हाथवे कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ४ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको सेयर मूल्य भने २६.५० रुपैयाँले घटेर प्रतिकित्ता २८४ रुपैयाँमा झरेको छ । जुन प्रतिशतको आधारमा सबैभन्दा बढी अर्थात ८.५३ प्रतिशतले घटी हो । बढेको बजारमा नेपाल इन्भेष्टमेन्ट प्रगति फण्डको इकाइ मूल्य ७.३५ प्रतिशतले बढेको छ । जसको प्रतिइकाई मूल्य ९.२० रुपैयाँ छ । मंगलबारको बजारमा अधिकांश समूह हरिया देखिएका छन् भने तीन समूह राताम्मे देखिएका छन् । जसमा होटल एण्ड टुरिजम, निर्जीवन बीमा र ट्रेडिङ्ग समूह रहेका छन् । जुन क्रमशः १३.०८, ५१.६० र ३४.४० अंकले घटेका छन् । मंगलबार मात्रै १४ वटा वाणिज्य बैंकहरुले कार्त्तिकमा व्याजदर घटाएका छन् । त्यस्तै, ४ बैंकले असोज महिनाकै व्याजदरलाई यथावत राखेका छन् भने २ बैंकले भने बढाएका छन् । नेपाल एसबिआई र एनएमबि बैंकले व्यक्तिगततर्फ र संस्थागततर्फ दुबै बढाएका छन् भने माछापुच्छ्रे, सिद्धार्थ, लक्ष्मी सनराइज र राष्ट्रिय वाणिज्य बैंकले भने असोजकै व्यक्तिगततर्फ र संस्थागततर्फ दुबैको व्याजदरलाई कायम राखेका छन् । बाँकी १४ वटा कम्पनीले भने असोजको तुलनामा कार्त्तिकमा ब्याजदर घटाएका छन् । सम्बन्धित समाचार १४ बैंकले ब्याज घटाउँदा २ बैंकले बढाए, ४ बैंकको स्थीर, कुनको कति ?
मेटलाइफद्वारा भोजपुरमा बीमाको पहुँच विस्तार गर्न सचेतना कार्यक्रम आयोजना
भोजपुर । मेटलाइफले हालै भोजपुर नगरपालिका तालिम हलमा ८० भन्दा बढी सहभागीहरुका लागि बीमा सचेतना कार्यक्रमको आयोजना गरेको छ । यस अन्तरक्रियात्मक कार्यक्रम मार्फत, कम्पनीले भोजपुरका स्थानीयमा आर्थिक सुरक्षाको भावना सिर्जना गर्ने र राम्रो भविष्यको लागि सूचित निर्णयहरू गर्न सक्षम हुने आशा मेटलाइफल राखेको छ । मेटलाइफले स्थानीय समुदायमा बीमाको पहुँच विस्तार गर्न भोजपुरमा आफ्नो सम्पर्क कार्यालय पनि खोलेको छ । मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले बैंक रोड, वडा नं. ८, भोजपुर नगरपालिकामा मेटलाइफको सम्पर्क कार्यालयको उद्घाटन गरेका थिए । यस कार्यालयले स्थानीयहरूलाई नवीन बीमा समाधानहरू र उनीहरुको डिजिटलाइज्ड बीमा सेवाहरूको उपलब्धताको बारेमा पहुँच गर्न र शिक्षित गर्न केन्द्रको रूपमा काम गर्नेछ । यस कदमले व्यक्ति र परिवारहरू अप्रत्याशित जोखिम र परिस्थितिहरूबाट पर्याप्त रूपमा सुरक्षित छन् भनी सुनिश्चित गर्न मेटलाइफको अटल समर्पण सहित यस क्षेत्रको बीमा समाधानहरू प्रवर्द्धन गर्ने उनीहरुहरूको प्रतिबद्धतालाई जनाउँछ । मेटलाइफ नेपालको कर्पोरेट सामाजिक उत्तरदायित्व पहल अन्तर्गत, कम्पनीले भोजपुर बहुमुखी क्याम्पसलाई तीनवटा प्रोजेक्टर पनि अनुदान दिएको छ । यस पहलले विद्यार्थीहरूका लागि सिकाइ अनुभव मात्र बढाउँदैन तर यस क्षेत्रमा डिजिटलाइज्ड शिक्षाको पालनपोषण गर्न मेटलाइफको प्रतिबद्धतालाई पनि जोड दिन्छ। यी पहलहरूले कम्पनी र स्थानीय बीचको सम्बन्धलाई बलियो बनाउँछ र भोजपुरका युवाहरूलाई उनीहरूको समुदायमा उत्कृष्टता हासिल गर्न उज्ज्वल भविष्यको लागि मार्ग प्रशस्त गर्दछ ।
ठेकेदारले अलपत्र पारेको सडक श्रमदान गरेर मर्मत
बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाको केन्द्रदेखि वडा नं ७ रेश पुग्ने सडक पछिल्लो एक वर्षदेखि अलपत्र थियो ।सोलिङ गरेर ढलान गर्न रडसमेत बिच्छ्याएको सडक निर्माण कम्पनी सम्पर्कविहीन बनेपछि अलपत्र परेको थियो । चाडबाडको मुखमा अलपत्र सडकले दुर्घटनाको जोखिम निम्त्याएको भन्दै स्थानीयले श्रमदान गरेर सडक मर्मत गरेका छन् । एक वर्षअघि रेशको कुँवरचोक मुहान भन्ने ठाउँमा सडक ढलानका लागि ठेकेदारले बिच्छ्याएको ढुङ्गा र रडका कारण दुर्घटनाको जोखिम निम्त्याएको भन्दै रड हटाएर पुनः सोलिङ गरिएको हो । घुम्ती र उकालो सडकमा सोलिङ तथा बिच्छ्याइएको रडमा एक वर्षसम्म ढलान नभएपछि स्थानीयको सक्रियतामा सडक मर्मत गरिएको काठेखोला–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले बताए । ‘विसं २०७७ मा ठेक्का सम्झौता भएको सडक अहिलेसम्म कालोपत्र भएन, उल्टै सडकमा बिच्छ्याइएको रडले दुर्घटनाको जोखिम बढ्यो, ढलान हुन्छ कि भनेर एक वर्ष कु¥यौँ, निर्माण कम्पनी सम्पर्कमै नआएपछि स्थानीयको श्रमदानमा सडकमा बिच्छ्याइएका रड हटाएर सोलिङ गरेका छौँ’, वडाध्यक्ष लामिछानेले भन्नुभयो, ‘दुई दिनको श्रमदानमा मात्रै एक सय मिटर सडक सोलिङ गरेर मर्मत गरेको र अन्य एक सय ५० मिटरभन्दा बढी सडक पहिले नै मर्मत गरिसकेको छ ।’ ठेक्का सम्झौता भएको उक्त सडक मर्मत गर्न वडामा बजेट नभएकोले श्रमदानमार्फत सडक मर्मत गरिएको हो । स्थानीय प्रेम कार्की र नेत्र शर्मासहित १२ जनाको दुई दिनको श्रमदानमा सडक मर्मत गरिएको हो । अहिले सडक ढलान र कालोपत्रका लागि थप गरिएको सम्झौता मिति सकिएको छ भने निर्माण व्यवसायी सम्पर्कमा नआएको स्थानीयको गुनासो छ । स्थानीयले सडक कालोपत्र नगरेर अलपत्र छाड्ने निर्माण व्यवसायीको ठेक्का रद्दका लागि गाउँपालिकासमक्ष पटक पटक माग गर्दै आएका छन् । स्थानीयले ठेक्का रद्दको मागसहित रेशका वडाध्यक्ष लामिछाने, वडा सदस्य तथा स्थानीयले गाउँपालिकामा ज्ञापनपत्रसमेत गत असारमा बुझाएका थिए । निर्माण व्यवसायीलाई कानुनी दायरामा गाउँपालिकाले ल्याउन नसकेको स्थानीयको आरोप छ । रेश जाने चार किलोमिटर सडक कालोपत्रको जिम्मा पाएका निर्माण व्यवसायीले सडक अलपत्र छाडेपछि स्थानीय तथा जनप्रतिनिधिले नै श्रमदान गरेर मर्मत गरी चाडबाडको समयमा सहज तरिकाले यात्रा गर्न मिल्ने बनाएका हुन् । वडा कार्यालयले अन्य स्थानमा कच्ची नाली काट्ने, खाल्डा पुर्ने काम गरे पनि दुई सय ५० मिटर उकालो सडक स्थानीयको सक्रियतामा मर्मत गरिएको हो । विसं २०७७ मा ठेक्का सम्झौता गरेको निर्माण व्यवसायीले म्याद थप्दासमेत कालोपत्रका लागि कुनै पनि काम गर्न नसकेको स्थानीय गोविन्दबहादुर कार्कीले बताए । सङ्घीय सरकार र गाउँपालिकाको साझेदारीमा चार किलोमिटर सडक कालोपत्र गर्न रु नौ करोड लागत अनुमान गरिएको सडकको कालोपत्रको रु छ करोड ७१ लाखमा ठेक्का सम्झौता भएको थियो । दुई वर्षमा सडक कालोपत्र सक्ने गरी एक्लेखेतदेखि काफलबोटसम्मको सडक कालोपत्रको जिम्मा पाएको जोशी÷निशान÷आचार्य जेभीको २०७९ साल जेठ २६ गते म्याद सकिएपछि पुनः २०८० साल असार मसान्तसम्म म्याद थप गरेको थियो । उक्त थप गरेको म्यादभित्र समेत निर्माण व्यवसायीले काम नथालेपछि रेशका स्थानीय निर्माण व्यवसायी प्रति आक्रोशित हुँदै आएका छन् । ठेक्का सम्झौतापश्चात् सडक चौडा पार्ने, नाली बनाउने कार्य गरी सडकको जम्मा ४५ प्रतिशत मात्रै काम सकेर निर्माण व्यवसायी सम्पर्कविहीन भएका जनाइएको छ । रासस
देशको व्यापार घाटा १०१ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचक
काठमाडौं । महँगी उच्च रुपमा बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको भदौसम्मको तथ्यांक अनुसार महँगी बढेर ८.१९ प्रतिशत पुगेको हो । साउनमा महँगी ७.५२ प्रतिशत थियो । पछिल्लो समय बजारमा महँगी बढ्दै गएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति ८.६४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.७४ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.९९ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । यस्तै, साउन महिनाको तुलनामा आयात र निर्यात दोब्बरले बढेको छ । गत साउनमा १३ अर्ब ५३ करोड रुपैयाँ रहेको निर्यात भदौमा बढेर २६ अर्ब ४५ करोड रुपैयाँ कायम भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा भने ३४.९ प्रतिशत कम हो । साउनको तुलनामा भने निर्यात ९५.४९ प्रतिशतले बढेको छ । निर्यात प्रतिशतमा धेरै बढेको देखिए आयातको तुलनामा भने न्युन हो । एक महिनाका अवधिमा आयात पनि दोब्बरले बढेको छ । भदौमा कुल वस्तु आयात २ खर्ब ५९ अर्ब ७५ करोड रुपैयाँको भएको छ । आर्थिक वर्ष २०८०÷८१ को दुई महिनामा कुल वस्तु आयात ५.१ प्रतिशतले कमी आएको हो । साउनको तुलनामा भने यो आयात दोब्बर हो । साउनमा कुल १ खर्ब २९ अर्ब २४ करोड रुपैयाँको आयात भएको थियो । साउनको तुलनामा भदौमा आयात १००.९८ प्रतिशतले बढेको देखिन्छ । राष्ट्र बैंकको तथ्यांक अनुसार व्यापार घाटा पनि बढ्दै गएको छ । गत साउनमा १ खर्ब १५ अर्ब ७१ करोड रुपैयाँ रहेको व्यापार घाटा भदौमा बढेर २ खर्ब ३३ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको दुई महिनाको अवधिका तुलनामा भने वस्तु व्यापार घाटा ४.७ प्रतिशतले कमी आएको हो । गत साउनको तुलनामा भने वस्तु व्यापार घाटा १०१.६२ प्रतिशत बढेको हो । यस्तै, भदौमा.२ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जुन गत साउनको तुलनामा ९६.८३ प्रतिशतले बढी हो । गत साउनमा १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । समीक्षा अवधिमा भने विप्रेषण आप्रवाह २२.१ प्रतिशतले बढेको हो । भदौमा शोधान्तर स्थिती भने ५३ अर्ब ६१ करोड रुपैयाँ बचतमा छ । साउनमा यस्तो बचत ३२ अर्ब ९० करोड रुपैयाँमा थियो । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब ८१ करोडले घाटामा थियो । यस्तै, साउनको तुलनामा भदौमा विदेशी मुद्राको सञ्चिति भने घटेको छ । साउनमा १५ खर्ब ७३ अर्ब १२ करोड रुपैयाँ रहेको विदेशी मुद्राको सञ्चिति बढेर १५ खर्ब ९८ अर्ब ९० करोड रुपैयाँ कायम भएको छ । साउनको तुलनामा भदौमा विदेशी मुद्राको सञ्चिति केही बढेको छ । सरकारले यो अवधिमा खर्च पनि बढाएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार भदौसम्म सरकारले कुल १ खर्ब ३१ अर्ब १४ करोड रुपैयाँ खर्च गरेको छ । गत साउनमा भने ३५ अर्ब ४ करोड रुपैयाँ खर्च भएको थियो । यस्तै, साउनमा ७८ अर्ब ८७ करोड रुपैयाँ रहेको राजश्व परिचालन भदौमा.१ खर्ब ४१ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।