विकासन्युज

अरुण काबेलीको सवा २० लाख कित्ता सेयर बिक्रीमा, प्रतिकित्ता १ सय रुपैयाँ

काठमाडौं । अरुण काबेली पावरले असोज ३० गते मंगलबारदेखि अवितरित हकप्रद सेयर बिक्री गरेको छ । कम्पनीले २० लाख १४ हजार ८१७ कित्ता अवितरित हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले गत भदौ ११ गतेदेखि भदौ ३१ गतेसम्म चुक्ता पूँजीको १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । जसमध्ये सर्वसाधारण समूह तर्फको बिक्री नभएको २० लाख १४ हजार ८१७ कित्ता हकप्रद सेयर लिलामीमार्फत बिक्री गरेको हो । कम्पनीको सो सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्। लिलामीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले कात्तिक १४ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ । कम्पनीको हकप्रदमा सेयरमा नबिल इन्भेष्टमेन्ट र नबिल बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

प्रधानमन्त्री दाहाल नर्भिक भर्ना काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन् । छातीमा असहज महसुस भएपछि दाहाल अस्पताल भर्ना भएका हुन् । ृउनलाई असोज ३० गते मंगलबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।

अरुण तेस्रोको मुआब्जा विवाद समाधानको प्रस्ताव मन्त्रिपरिषद्मा पठाइने

काठमाडौं । लगानी बोर्डको असोज ३० गते बसेको बैठकले अरुण तेस्रो जलविद्युत् आयोजनामा देखिएको मुआब्जा विवादबारे विज्ञसहितको अध्ययन समिति बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको छ । ‘अरुण तेस्रो जलविद्युत् आयोजनामा देखिएको मुआब्जा विवादबारे अध्ययन गर्न विज्ञसहितको समिति गठन गर्ने विषय मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय भएको छ’, लगानी बोर्डको कार्यालयका प्रवक्ता अमृत लम्सालले भने- ‘स्थानीयको अवरोध खुलाउनका लागि पनि मन्त्रिपरिषद्बाट केही निर्णय आएपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा छलफल गर्छौं ।’ लगानी बोर्डको कार्यालयमार्फत अघि बढेका आयोजनाको समग्र स्थितिबारे पनि असोज ३० गते बसेको बैठकमा छलफल भएको लम्सालले बताए । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट उत्पादन क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा छुट मुआब्जाको रकम पाउनुपर्ने भन्दै स्थानीयले करिब डेढ महिनादेखि अवरोध गरिरहेका छन् । भौतिक प्रगति राम्रो देखिएको यो आयोजनामा स्थानीयको अवरोधपछि काम रोकिएको छ भने विकासकर्ता कम्पनी एजजेभिएन अरुण-३ पावर डेभलपमेन्ट कम्पनीले काम रोकिएको अवधिको क्षतिपूर्ति पाउनुपर्ने बताइरहेको छ । यो भारतीय कम्पनी सतलज जलविद्युत् निगमको सहायक कम्पनी हो । अरुण तेस्रो जलविद्युत् आयोजनाको छ्याङ्कुटी-दिदिङ-पुखुवा २४ किलोमिटर सडकखण्डमा स्थानीयको अवरोधपछि काम रोकिएको छ । प्रसारण लाइनको ‘राइट अफ् वे’ निर्धारण र त्यसको मुआब्जामा स्थानीयको असन्तुष्टि छ । करिब एक खर्ब ४४ अर्ब रूपैयाँ लागतमा निर्माण भइरहेको यो आयोजनाको हाल ६६.३ प्रतिशत भौतिक प्रगति रहेको छ । त्यस्तै प्रसारण लाइनतर्फ १५ दशमलव ४६ प्रतिशत काम सकिएको लगानी बोर्डको कार्यालयले जनाएको छ । रासस

स्वास्थ्य बीमा बोर्डका पाँच सदस्यले दिए सामूहिक राजीनामा

काठमाडौं । स्वास्थ्य बीमा बोर्डबाट पाँच सदस्यले सामूहिक राजीनामा दिएका छन् । बोर्डका डा. सुरेश तिवारी, डा. तारा साह, चन्द्र थापा, टीका चापागाईं र इन्द्रकला राईले असोज ३० गते सामूहिक राजीनामा दिएका हुन् । उनीहरुले स्वास्थ्य बीमा कार्यक्रम भद्रगोल बनाउने मनसायले कार्यकारी निर्देशकलाई निलम्बन गरेको आरोप लगाउँदै राजिनामा दिएका हुन् । यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मन्त्रीले स्वास्थ्य बीमा कार्यक्रमलाई स्वायत्त बन्न नदिन लागि परेको समेत उनीहरूको भनाइ छ । बोर्डमा ९ महिनादेखि अध्यक्ष नियुक्ति नगर्नु र मन्त्रायलकै महाशाखा प्रमुखलाई निमित्त कार्यकारीको जिम्मेवारी दिनु स्वार्थ बाझिने भएकाले राजीनामा दिनुपरेको ५ सदस्यहरुको भनाइ छ । राजीनामा दिएका बोर्ड सदस्य चन्द्र थापाले स्वास्थ्य मन्त्रालय गुणस्तर नियमन महाशाखा प्रमुख समेत रहेका उपाध्यायलाई बोर्डको कार्यकारी निर्देशक समेतमा नियुक्ति गरिनु कन्फिलिक्ट अफ इन्ट्रेष्ट जोडिएको बताए । स्वास्थ्य बीमा वोर्डको अध्यक्ष नियुक्त गर्न नसकिरहेको अवस्थामा कार्यकारी निर्देशकलाई निलम्वन गरेकोमा आपत्ती जनाए । स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा प्रवाह गर्ने निकाय रहेको र बोर्ड गुणस्तरीय सेवा खरिद गरेर जनतालाई वितरण गर्ने निकाय रहको हुँदा बोर्डको प्रमुख कार्यकारी र मन्त्रालयको महाशाखा प्रमुख एउटै व्यक्ति हुँदा स्वास्थ्य बीमा कार्यान्वयनमा बाधा पुग्ने भएका कारण बाध्य भएर राजीनामा दिनुपरेको बताए । बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई गत असोज २४ गते तीन महिनाका लागि निलम्बन गरिएको हो । डा. बसौलाले प्रमाण नष्ट गर्न सक्ने र बोर्डलाई हानिनोक्सानी गर्न सक्ने भन्दै उनलाई स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले निलम्बन गरेका हुन् ।

२० प्रतिशत डाउनपेमेण्टमा नेटा भीको विद्युतीय गाडी

काठमाडौं । नेटा भी इलेक्ट्रिक गाडीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटर्स प्रालिले बिक्री गर्दै आएको गाडीहरु २० प्रतिशत डाउनपेमेण्टमा उपलब्ध हुने भएको छ । संस्थाले आकर्षक ब्याजदरमा ८० प्रतिशतसम्म सवारी साधन कर्जा उपलब्ध गराउने बताएको छ । उक्त कर्जा नेपालभरका प्रभु बैंक, कामना सेवा बैंक, एनएमबी बैंक र नबिल बैंकबाट उपलब्ध हुनेछ । यो सुविधा सिजी मोटर्सका सम्पूर्ण आधिकारिक विक्रेताबाट नेपालभरी लागू हुने भएकोले उपरोक्त सुविधा देशभर सबै शोरुमबाट ग्राहकहरुले लिन सक्नेछन् । नेटा भी क्रसओभर सेग्मेन्टमा बोल्ड लुक्समा पियोर ईभी प्लेटफर्ममा उत्पादित ईभी हो । जसमा कम्पनीले ३८.५ किलोवाट पावर क्षमताको ब्याट्रीको साथमा ७० किलोवाट क्षमताको मोटर प्रदान गरेको छ । जसले १६० एनएमको टर्क उत्सर्जन गर्ने क्षमता राख्दछ । करिब २० मिनेटको समयमा नै ३० देखि ८० प्रतिशत फास्ट चार्ज हुने गाडीले फूल चार्जमा ३८० किलोमिटरसम्मको रन्ज दिने कम्पनीको दाबी छ । विश्वकै ठुलो ब्याट्री उत्पादक कम्पनी ‘सिएटीएल’ले उत्पादन गरेको लिथियम आयोन ब्याट्री प्रयोग भएको नेटा भी को ब्याट्रीसहित मोटरमा कम्पनीले १५० हजार किलोमिटर वा ८ वर्षको वारेन्टी प्रदान गरेको छ । प्रयोगकर्ताले ६.६ किलोवाट क्षमताको होम चार्जरको सुविधा समेत पाउने छन् । यसका साथै हाल नेटा भीमा डिक्की फुल अफर भनि ग्राहक लक्षित योजना पनि चलिरहेको छ जसमा विभिन्न इलेक्ट्रोनिक उपकरणहरु उपहारको रुपमा ग्राहकहरुलाई दिइएको छ ।

सरकारी कर्मचारीले मासिक १२५ लिटर इन्धन पाउने, बिल पेश गर्नु नपर्ने

काठमाडौं । सरकारले उच्च तहका कर्मचारीलाई १२५ लिटर इन्धन सुविधा प्रदान गर्ने भएको छ । सवारी साधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद प्रदान गर्ने निर्देशिका २०८० जारी गर्दै सरकारी कर्मचारीलाई मासिक १२५ लिटरसम्म इन्धन सुविधा दिने व्यवस्था गरेको हो । ‘कार्यालयले सरकारी सवारी साधन सुविधा प्राप्त गर्ने कर्मचारीमध्ये राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव)का कर्मचारीलाई मासिक १२५ लिटर तथा राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव)का कर्मचारीलाई मासिक १ सय लिटर इन्धन र त्रैमासिक रूपमा ५ लिटर मोविल र ब्रेकआयलको सुविधा उपलब्ध गराउनेछ,’ निर्देशिकामा उल्लेख छ । यस्तै, इन्धनबापत सम्बन्धित कर्मचारीलाई कार्यालयले इन्धनको मूल्य बराबरको रकम मासिक रूपमा र मोविल तथा ब्रेकआयल बापतको रकम त्रैमासिक रूपमा उपलब्ध गराउनेछ । उक्त रकम उपलब्ध गराउँदा नेपाल आयल निगमबाट प्रत्येक महिनाको एक गतेको लागि कायम भएको इन्धनको बजार मूल्यको आधारमा सो बरावर हुने गरी हिसाब गरेर उपलब्ध गराइने छ । इन्धन बापत भुक्तानी भएको रकमको कुनै बिलविजक पेश गर्न नपर्ने निर्देशिकामा उल्लेख छ । इन्धन वापतको रकम मासिक रूपमा दिने तलब भत्तासँगै सम्बन्धित कर्मचारीलाई भुक्तानी दिइनेछ । [pdf id=442495]

पठाओ दशैं महोत्सवमा नवराज बोगटी र बिसन सिंहले जिते यामाहा रे जेडआर

काठमाडौं । ‘पठाओ दशैं महोत्सव-२०८०’ को बम्पर पुरस्कार अन्तर्गत पठाओ क्याप्टेन नवराज बोगटी र पठाओ राइडर विशन सिंह कोट्टारीले यामाहा रे जेडआर १२५ एफआई हाइब्रिड स्कुटर जितेका छन् । काठमाडौं उपत्यकामा सेवा प्रदान गरिरहेका बाइक राइडर, पठाओ क्याप्टेन (ट्याक्सी चालक) र पठाओ हिरो (फुड डेलिभरी पर्सन) गरि तोकिएको मापदण्ड पूरा गरेका कुल ५८५ जना मध्ये गोला प्रथाद्वारा बम्पर पुरस्कार प्रदान गरिएको हो । नेपालीहरुको महान चाड दशैंको अवसरमा तीन बर्ष देखि दशैं महोत्सव गर्दै आएको र आगामी दिनमा पनि यो कार्यक्रमको निरन्तरता दिइने पठाओ नेपालका प्रवन्ध निर्देशक असिम मान सिंह बस्न्यातले बताए । पठाओ नेपालसंग आवद्ध भइ फ्रन्टलाइनमा दिनरात घाम पानी नभनी खटिने साथीहरूको सम्मानमा बम्पर पुरस्कारको सहकार्य गरिएको र आगामी दिनमा पनि यस्ता सहकार्य जारी राखिने यामाहाको नेपालका लागि आधिकारिक बिक्रेता एम.ए.डब्लु. इन्टरप्राइजेज प्रालिका जनरल म्यानेजर (सेल्स एण्ड बिजनेस डेभलपमेन्ट) दिपक रौनियारले बताए । बिजेता दुबैजनालाई पठाओ नेपालका असिम मान सिंह बस्न्यात र एम. ए. डब्लु. इन्टरप्राइजेज प्रालिका दिपक रौनियारले यामाहा रे जेडआर १२५ एफआई हाइब्रिड स्कुटर हस्तान्तरण गरेका छन् । गोला प्रथाद्वारा प्रदान गरिएको बम्पर पुरस्कारको कार्यक्रम पठाओ नेपालको सामाजिक सन्जाल मार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो । बम्पर पुरस्कार बिजेता पठाओ क्याप्टेन नवराज बोगटी २०२२ मेमा पठाओमा आवद्ध भइ करिब ३ हजार ट्याक्सी राइड पुरा गरेका चालक हुन् । त्यस्तै बम्पर पुरस्कार कै अर्का बिजेता पठाओ राइडर विशन सिंह कोट्टारी २०२१ जनावरी देखि पठाओमा आवद्ध भइ ५ हजार बढी वटा बाइक राइड पुरा गरेका राइडर हुन् । उक्त दशैं महोत्सवको अफर असोजको ८ गते देखि २८ गतेसम्म चलेको थियो ।

सबैभन्दा कम आधारदर र सबैभन्दा धेरै लाभांश दिने बैंकको रूपमा उदाउँदै एभरेष्ट बैंक

काठमाडौं । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले आगामी वर्षपनि सेयरधनीहरुलाई उच्च लाभांश बाँड्ने बताएका छन् । मंगलबार सम्पन्न भएको २९ औं वार्षिक साधारण सभामा बोल्दै सीईओ खालिङले यस्तो बताएका हुन् । ‘बैंकले स्थीर लाभांश वितरण गर्दै आएको छ, अघिल्लो वर्ष २० प्रतिशत बाँडेको थियो भने गत वर्ष पनि सोही हाराहारीमा लाभांश बाँडेको छ, केही रकम जगेडा कोषमा छ, आगामी वर्ष पनि सेयरधनीहरुलाई राम्रो लाभांश दिन्छौं,’ उनले भने । बैंकिङ क्षेत्रका लागि चुनौति कायमै रहेकाले काम गर्न सहज वातावरण नरहेको उनको भनाइ छ । तर, बैंकले व्यवसाय विस्तारका लागि आफूहरु हात बाँधेर नबस्ने उनले बताए । साथै, कर्जा असुली गर्न समस्या परेको भन्दै खराब कर्जा बढिरहेको उनको भनाइ छ । ‘यो वर्ष च्यालेन्ज छ, स्प्रेडदर ४ प्रतिशतभित्र कायम गर्नु पर्नेछ, ब्यापार पनि विस्तार गर्नु पर्ने छ, धेरै संयमित भएर काम गर्नु पर्ने अवस्था छ, बैंकहरुको खराब कर्जा बढ्दो छ, विभिन्न कारणले ऋणीबाट सावाँ र ब्याज लिन कठनाई भइरहेको छ,’ उनले भने, ‘यो भन्दैमा हामी हात बाँधेर बस्दैनौं, सकेसम्म आगामी दिनमा बैंकको व्यवसाय विस्तार गर्न जोड दिनेछौं ।’ एभरेष्ट बैंकले राष्ट्र बैंकको नीति अनुरुप ब्याजदर निर्धारण गर्दै आएको सीईओ खालिङले बताए । पछिल्लो समय बैंकमा तरलता सहज भएको र कर्जा माग न्यून भएकाले ब्याजदर घटाएको उनको भनाइ छ । साथै, बैंकिङ क्षेत्रमा सबैभन्दा कम आधार दर भएको बैंकका रुपमा एभरेष्टलाई बनाउने प्रयास रहेको उनले बताए । ‘बजार वस्तुस्थिती, निक्षेपको आकार र कर्जाको मागलाई ध्यानमा राखेर ब्याजद घटबढ गरिरहेका छौं, सम्पत्ति दायित्वालाई अनुसन्धान गरेर ब्याजदर घटाउने बढाउने निर्णय गरिन्छ, राष्ट्र बैंकले तोकेको १० प्रतिशत सीमाभित्र रहेर ब्याजदर निर्धारण गरिदै आएको छ,’ उनले भने, ‘बैंकलाई निक्षेप आवश्यक परेको छ भने ब्याजदर बढाउँछौं, चाहिएको छैन भने घटाउँछौं, एभरेष्ट बैंकको स्थिती ठिक छ, आधार दर सबैभन्दा तल राख्ने हाम्रो कोसिस रहने छ ।’ बैंकहरुको कर्जा निक्षेप अनुपात ८० प्रतिशतमा झरेको उनले बताए । एक महिनामा बैंकहरुसँग २० खर्ब रुपैयाँ कर्जा लगानी गर्ने क्षमता भएपनि माग नआएको उनको भनाइ छ । अहिले पनि ब्याजदर उच्च हुँदा कर्जाको माग नआएको उनको भनाइ छ । लगानीकर्ता भक्ती उप्रेतीले एभरेस्ट बैंक नेपालको नम्बर वान बैंक भएको दाबी गरे । उनले आगामी ५ वर्षसम्म बैंकले नम्बर वानको ताज सम्हाल्नु पर्ने बताए । साथै, नाफा आर्जनको आधारमा नभएर सेयरधनीहरुलाई वितरण गरेको लाभांश क्षमताका आधारमा र्याङ्किङ्ग हुनु पर्ने उनको भनाइ छ । ‘२० वटा बैंकहरुमध्ये एभरेस्ट बैंक नम्बर वान बैंक हो, आगामी ५ बर्ससम्म पनि नम्बर वानको ताज सम्हाल्ने छ किनकि २ खर्ब मात्रै निक्षेप परिचालन गरेर उच्च नाफा आर्जन गरेको छ, जबकी अरु बैंकले ४ खर्बको निक्षेप परिचालन गरेर ऋणात्मक हुनु परेको छ,’ उनले भने, ‘वितरणयोग्य नाफा र लाभांश क्षमताका आधारमा बैंकहरुको र्याङ्कि हुनु पर्छ ।’ उनका अनुसार खराब कर्जा कम हुने बैंकमा एभरेष्ट बैंक नम्बर वान हो । बैंकले कति नाफा गर्याे भन्दा पनि कति प्रतिफल दियो भन्ने विषय महत्वपूर्ण रहेको उनको भनाइ छ । लगानीकर्ता रोज कुमार श्रेष्ठले अरु बैंकले तीन वर्षमा वितरण गरेको लाभांश एभरेष्ट बैंकले एकै वर्ष बाँड्ने गरेको भन्दै तारिफ गरे । तर, विश्वमा विभिन्न द्वन्द्धका घटनाहरुले असर गर्न सक्ने भन्दै त्यसलाई सामना गर्नु पर्ने उनको भनाइ छ । ‘अरु बैंकले तीन बर्षको लाभांश बाँड्दा एभरेस्टले एकैपटक बाँड्छ,’ उनले भने, ‘विश्वमा विभिन्न देशहरुबीच युद्ध भइरहेको हुँदा असर पर्न सक्छ, त्यसलाई बैंकले सामना गरेर राम्रो प्रगति गर्नु पर्छ ।’ उनले कर्मचारीको मनोबल बढाउन तलब भत्ता वृद्धि गर्नु पर्ने बताए ।