काठमाडौं । सरकारले उच्च तहका कर्मचारीलाई १२५ लिटर इन्धन सुविधा प्रदान गर्ने भएको छ । सवारी साधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद प्रदान गर्ने निर्देशिका २०८० जारी गर्दै सरकारी कर्मचारीलाई मासिक १२५ लिटरसम्म इन्धन सुविधा दिने व्यवस्था गरेको हो ।
‘कार्यालयले सरकारी सवारी साधन सुविधा प्राप्त गर्ने कर्मचारीमध्ये राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव)का कर्मचारीलाई मासिक १२५ लिटर तथा राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव)का कर्मचारीलाई मासिक १ सय लिटर इन्धन र त्रैमासिक रूपमा ५ लिटर मोविल र ब्रेकआयलको सुविधा उपलब्ध गराउनेछ,’ निर्देशिकामा उल्लेख छ ।
यस्तै, इन्धनबापत सम्बन्धित कर्मचारीलाई कार्यालयले इन्धनको मूल्य बराबरको रकम मासिक रूपमा र मोविल तथा ब्रेकआयल बापतको रकम त्रैमासिक रूपमा उपलब्ध गराउनेछ । उक्त रकम उपलब्ध गराउँदा नेपाल आयल निगमबाट प्रत्येक महिनाको एक गतेको लागि कायम भएको इन्धनको बजार मूल्यको आधारमा सो बरावर हुने गरी हिसाब गरेर उपलब्ध गराइने छ ।
इन्धन बापत भुक्तानी भएको रकमको कुनै बिलविजक पेश गर्न नपर्ने निर्देशिकामा उल्लेख छ । इन्धन वापतको रकम मासिक रूपमा दिने तलब भत्तासँगै सम्बन्धित कर्मचारीलाई भुक्तानी दिइनेछ ।