काटन थालियो विद्युत् महसुल नतिर्नेको लाइन, कसले कति तिर्न बाँकी ?
बाँके । विद्युत्को महसुल नतिर्नेको लाइन काटिने भएको छ । आजदेखि सर्वसाधारणका साथै सरकारी कार्यालय र स्वास्थ्य चौकीमा पनि विगत लामो समयदेखि बाँकी बक्यौता देखिएकाको हकमा सूचना प्रकाशित गरी तोकिएको समयमा भुक्तानी नगरे विद्युत लाइन काटिने नेपाल विद्युत प्राधिकरणको नेपालगन्ज र कोहलपुर वितरण केन्द्रले जनाएको हो । प्राधिकरणका अनुसार ६० दिनभन्दा बढी समयदेखि विद्युत् महसुल भुक्तानी बाँकी रहेका ग्राहकको कात्तिक १२ गतेदेखि अभियानको रूपमा विद्युत् लाइन काटिने छ । प्राधिकरणले यसअघि नै सूचना जारी गरी आठ स्थानीय तहलाई पनि २२ करोड ८५ लाख विद्युत् महसुल तिर्न ताकेता गरेको थियो । ४५ दिनभित्र महसुल नतिरे कारबाही गर्ने चेतावनी दिएपछि स्थानीय तहका प्रमुखले आपसी छलफल गरेपश्चात् लाइन काट्ने निर्णयमा पुगिएको नेपालगञ्ज शाखाका प्रशासन प्रमुख भवानी चन्दले बताए । उनले प्राधिकरणले सार्वजनिक गरेको सूचना पूर्णरुपले कार्यान्वयन गरिने भएकाले अब महसुल नबुझाए नियमनअनुसार कारबाही हुने पनि जानकारी दिए । अनुमति नलिइ बिना मिटर आफूखुसी जथाभावी सडकबत्ती जडान गर्ने कार्य कानुनसम्मत नरहेकाले सो नगर्न र नगराउन तथा मिटर जडान नगरी बालिएका त्यस्ता सडक बत्तीमा प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी ४५ दिनभित्र नियमानुसार मिटर जडान गराउन पनि सम्पूर्ण स्थानीय निकायलाई अनुरोध गरिएको प्राधिकरणको सूचनामा भनिएको छ । मिटर जडान नगरिएका अनधिकृत सडकबत्ती हटाइने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार बाँकेका आठ स्थानीय तहले २२ करोड ८५ लाख ३१ हजार ८४ विद्युत् महसुल बुझाउन बाँकी छ । सबैभन्दा धेरै नेपालगञ्ज उपमहानगरपालिकाले १९ करोड ४५ लाख आठ हजार १९ विद्युत् महसुल तिर्न बाँकी रहेको छ भने कोहलपुर नगरपालिकाले पाँच लाख ९८ हजार छ सय ४४ बुझाउन बाँकी छ । यसैगरी वैजनाथ गाउँपालिकाले ६३ हजार ७० हजार, राप्ती सोनारी गाउँपालिकाले १५ हजार सातसय सात, खजुरा गाउँपालिकाले ५ हजार सात सय ७८, डुडुवा गाउँपालिकाले १ करोड चौराननब्बे लाख ५८ हजार १९, नरैनापुर गाउँपालिकाले १ लाख २३ हजार सात सय ५० र जानकी गाउँपालिकाले १४ लाख ४९ हजार तीन सय ६८ विद्युत् महसुल तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणको चेतानवीपश्चात् नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले विद्युत् महसुल बाँकी विषय पहिलेदेखिकै भएको बताए । ‘अन्य महसुलको समस्या छैन । सडक बत्तीको हकमा देशभरको समस्या छ । यो विषयमा के गर्ने भन्ने विषयमा हामी छलफल गर्दैछौँ । चाँडै नै केही निष्कर्ष निकाल्छौंँ’ उनले भने । विद्युत् महसुल तिर्ने विषयलाई लिएर उपमहानगरपालिका र विद्युत् वितरण केन्द्रबीच पहिलेदेखि नै टकराव थियो । प्राधिकरणले उपमहानगरको क्षेत्राधिकार रहेको जमिनमा विद्युत् पोल र लाइन विस्तार गरेकाले त्यसको शुल्क तिरेपछि मात्रै आफूहरूले महसुल तिर्नुपर्ने तर्कराख्दै आएको प्राधिकरणले जनाएको छ । विद्युत् महसुल तिर्नुपर्ने भनेर प्राधिकरणले ताकेता गरेपछि प्राधिकरणले पनि विद्युत् पोलहरूको महसुल तिर्नुपर्ने भनेर आफूहरूले अडान लिएकाले उक्त विषय अहिले पनि विवादित नै रहेको सम्बद्ध वडाध्यक्षहरूको भनाइ थियो। रासस
३४ अर्बको सेयर थपिदा ४३ अर्बको प्रक्रियामा, आपूर्ति वृद्धिले दुर्घटनाको जोखिम
काठमाडौं । सेयर बजारमा अत्याधिक गिरावट रहेको समयमा दर्जनौ कम्पनीले सेयर निष्काशन गरिरहेका छन् । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३४ अर्ब १४ करोड रुपैयाँ बराबरको धितोपत्र निष्काशन भैसकेको छ भने ४२ अर्ब ९० करोड रुपैयाँ बराबरको धितोपत्र निष्काशन प्रक्रियामा रहेको पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले जनाएको छ । बोर्डका अनुसार सबैभन्दा धेरै बैंकहरुको ऋणपत्र निष्काशन हुँदैछ । नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराईज बैंक लगायतले २० अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशनको लागि स्वीकृति माग गरेका छन् । उनीहरुले ९ देखि १०.५० प्रतिशतसम्मको व्याज दिने प्रस्ताव गरेका छन् । त्यस्तै ११ वटा कम्पनीले ११ अर्ब ३ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्दैछन् । हकप्रद सेयर निष्काशनसँगै विद्यमान सेयरधनीलाई थप लगानी गर्न दवाव पर्नेछ । यस अवस्थामा लगानीकर्ताले आफूसँग भएको सेयर बेचेर हकप्रद सेयर किन्ने भएकोले दोस्रो बजारमा सेयर बिक्रीको चाप बढ्ने जानकारहरु बताउँछन् । त्यस्तै, ४ अर्ब ७० करोडभन्दा बढी मूल्यको साधारण सेयर निष्काशन हुँदैछ । त्यसमा रिलाइन्स् स्पीनिङ मिल, जगदम्बा स्टील, डिस होम, आईएमई लगायत राम्रो कम्पनीहरुको सेयर पनि निष्काशन हुँदैन । केही कम्पनीले प्रिमियम मूल्यमा सेयर निष्काशन गर्न प्रस्ताव गरेका छन् । जगदम्मा स्टीलले प्रतिकित्ता ३०० रुपैयाँ प्रिमियम मूल्य थपेर सेयर निष्काशन गर्दैछ भने रिलाइन्सले प्रतिकित्ता ६०८ रुपैयाँ देखि ९१२ रुपैयाँसम्म प्रिमियम मूल्य थप गर्ने प्रस्ताव धितोपत्र बोर्डमा पेस गरेको छ । त्यस्तै विभिन्न कम्पनीले ८ अर्ब ९५ करोड रुपैयाँ बराबरको म्यूचल फण्ड निष्काशन गर्ने भएका छन् । केही कम्पनीले ३० करोड ८२ लाख रुपैयाँ बराबरको एफपीओ पनि जारी गर्न नेपाल धितोपत्र बोर्डसँग स्वीकृति माग गरेका छन् । कम्पनीहरुको माग सम्बन्धमा अध्ययन गरेर सकेसम्म छिटो स्वीकृत प्रदान गरिने नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बताए । ‘प्रक्रिया पूरा गरेर धितोपत्र निष्काशनको लागि माग भएका सबैलाई छिटोभन्दा छिटो स्वीकृति दिदै जानेछौं । कुनै पनि वहानामा कुनै पनि कम्पनीको फाइल रोकेका छैनौं, रोक्दा पनि रोक्दैनौं’ हमालले भने । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ३४ अर्ब भन्दा बढी मूल्यको धितोपत्रहरु निष्काशनको लागि स्वीकृति दिईसकेको बोर्डले प्रक्रियामा रहेकालाई पनि छिटो स्वीकृति दिने जनाएको छ । यस वर्ष मात्र २० अर्ब ६६ करोडको साधारण सेयर, १ अर्ब १० करोडको हकप्रद सेयर निष्काशनको लागि अनुमति प्रदान गरेको छ । त्यस्तै ८ अर्ब रुपैयाँ बराबरको डिबेन्चर, २ अर्ब ५० करोड रुपैयाँ बराबरको म्यूचूलफण्ड, १ करोड २३ लाखको एफपीओ निष्काशन गर्न बोर्डले स्वीकृत दिएको छ । यसै वर्ष मात्र विभिन्न कम्पनीले १ अर्ब ८६ करोड भन्दा बढीको बोनस सेयर निष्काशन गरिसकेको धितोपत्र बोर्डले जनाएको छ । सेयर बजारमा उच्च गिरावट भएको बेलामा धेरै सेयर आपूर्ति हुँदा बजारमा दुर्घटना (क्र्यास)को जोखिम उच्च हुने लगानीकर्ताहरुको विश्लेषण रहेको छ । तर बोर्डले भने प्रक्रिया पूरा गरी सेयर निष्काशन माग गर्ने कम्पनीलाई रोक्न नसकिने जनाएको छ ।
नेपाल-भारत सिमा नाकामा कडाइ गरिने
वीरगञ्ज । नेपाल–भारत सुरक्षा अधिकारीको संयुक्त बैठकले सिमावर्ती नाकाबाट हुने अवैध निकासीरपैठारी नियन्त्रणका लागि कडाइ गर्ने निर्णय गरेको छ । पर्साको वीरगञ्जमा बसेको नेपाल तथा भारतका सुरक्षा अधिकारीको संयुक्त बैठकले सिमा नाकाबाट हुने अवैध निकासीरपैठारी नियन्त्रण गर्न कडाइ गर्ने, लागुऔषध ओसारपसारलाई न्यूनीकरण गर्ने, चेलीबेटी बेचबिखन, अवैध हतियारको ओसारपसारलाई न्यूनीकरण गर्ने र आपाराधिक घटना हुन नदिने निर्णय भएको पर्साका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले जानकारी दिए । यस्तै बैठकमा सिमानाकाबाट हुने अवैध वन्यजन्तुको चोरी सिकारी तथा तस्करीलाई नियन्त्रण गर्न दुवै देशका सुरक्षा अधिकारीबीच समझदारी भएको प्रजिअ रेग्मीले बताए । भारतमा हुने आगामी लोकसभा निर्वाचनलाई मध्यनजर गरी सिमाक्षेत्रको सुरक्षा प्रबन्धलाई चुस्तदुरुस्त बनाउने र दुवै मुलुकका सुरक्षा अधिकारीबीच सहकार्य गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउने निर्णय भएको प्रजिअ रेग्मीको भनाइ छ । बैठकमा नेपालतर्फबाट पर्साका प्रजिअ रेग्मी र बिहारको पूर्वी चम्पारणका डिएम सौरभ जरुवालले नेतृत्व गरेका थिए ।
पहिलो पटक अन्तरिक्षमा मुसाको भ्रूणको विकास
एजेन्सी । जापानी वैज्ञानिकहरूले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा मुसाको भ्रूणको विकास गरेका छन् । वैज्ञानिकहरूका अनुसार पहिलो अध्ययनमा सामान्यरूपमा भ्रूणको विकास भएको छ र यसले मानिसका लागि अन्तरिक्षमा प्रजनन गराउन सम्भव हुनसक्ने सङ्केत दिएको छ । यामानाशी विश्वविद्यालयको एडभान्स्ड बायोटेक्नोलोजी सेन्टरका प्राध्यापक तेरुहिको वाकायामा र जापान एयरोस्पेस स्पेस एजेन्सी जेएएक्सएको एउटा टिमसहितको अन्वेषकहरूले सन् २०२१ अगस्टमा एउटा रकेटमा जमेको मुसाको भ्रूणलाई आइएसएसमा पठाएका थिए । अन्तरिक्ष यात्रीहरूले सोही उद्देश्यले डिजाइन गरिएको विशेष उपकरणको प्रयोगले प्रारम्भिक चरणमा भ्रूणहरूलाई पगाले र तिनीहरूलाई चार दिनसम्म स्टेसनमा विकसित गरे । ‘सूक्ष्म गुरुत्वाकर्षणको परिस्थितिमा विकसित भएका भ्रूण सामान्यतया ब्लास्टोसिस्टमा विकसित हुन्छन्, बलास्टोसिस्ट त्यस्तो कोशिका हो जुन प्लेसेन्टामा विकसित हुन्छ’, वैज्ञानिकहरूले भनेका छन् । शनिबार वैज्ञानिक पत्रिका आईसाइन्समा अनलाइन प्रकाशित एक अध्ययनमा अन्वेषकहरूले भनेका छन्, ‘प्रयोगबाट के स्पष्ट भएको छ भने भ्रूणको विकासमा गुरुत्वाकर्षणको कुनै उल्लेखनीय असर थिएन ।’ उनीहरूले पृथ्वीमा प्रयोगशालामा फिर्ता पठाइएको ब्लास्टोसिस्टको विश्लेषण गरेपछि डीएनए र जीनको स्थितिमा कुनै उल्लेखनीय परिवर्तन नभएको पनि बताएका छन् । ‘यो पहिलो अध्ययनले अन्तरिक्षमा स्तनधारी फस्टाउन सक्छन् भन्ने देखाएको छ’, यामानाशी विश्वविद्यालय र राष्ट्रिय अनुसन्धान संस्थान रिकेनले संयुक्त विज्ञप्तिमा भनेका छन्, ‘आईएसएसको पूर्ण सूक्ष्म गुरुत्वाकर्षण अन्तर्गत प्रारम्भिक चरणमा स्तनधारी भ्रूणहरूको सम्वर्द्धन गरिएको विश्वमा यो पहिलो प्रयोग हो ।’ ‘ब्लास्टोसिस्ट सामान्य हो भन्ने पुष्टि गर्नका लागि भविष्यमा आईएसएसको सूक्ष्म गुरुत्वाकर्षणमा विकसित ब्लास्टोसिस्टलाई मुसामा प्रत्यारोपित गर्न आवश्यक हुनेछ । यसबाट मुसाले बच्चा जन्माउन सक्छ वा सक्दैन भन्ने थाहा पाउन सकिनेछ’, विज्ञप्तिमा भनिएको छ । यस्तो अनुसन्धान भविष्यमा अन्तरिक्ष अन्वेषण र औपनिवेशिक अभियानका लागि महत्वपूर्ण हुनसक्छ । रासस
महासचिव गुटेरेसको लुम्बिनी भ्रमण : विश्वभर शान्ति प्रवाह हुने अपेक्षा
लुम्बिनी । संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव ऊ थान्तले सन् १९६७ को अप्रिलमा बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गरेका थिए । त्यस भ्रमणसँगै लुम्बिनीको विकास र प्रचारप्रसारमा महत्त्वपूर्ण थालनी भयो । राष्ट्रसङ्घका तेस्रा महासचिव ऊको त्यो भ्रमणसँगै लुम्बिनीको विकासमा महत्त्वपूर्ण योगदान पुगेको बताइँदै आएको छ । उनको पहलमा यस क्षेत्रको विकासका एउटा अन्तर्राष्ट्रिय समिति गठन भएको थियो । त्यसक्रममा महासचिव ऊले लुम्बिनीको विकास पर्याप्त नभएको देखेर तत्कालीन राजा महेन्द्रसँगको भेटमा लुम्बिनीको विकासका लागि आफू सहयोग गर्न तयार रहेको धारणा व्यक्त गरेका थिए । विश्वका शान्तिप्रेमी र बौद्धमार्गीको पवित्र थलो भएकाले ऊको लुम्बिनी भ्रमणपछि यसलाई पर्यटकीय क्षेत्र एवं तीर्थस्थल बनाउने योजना अन्तर्राष्ट्रियस्तरमै तय गरिएको थियो । त्यस भ्रमणपछि लुम्बिनीको योजनाबद्ध विकास सुरुआत भएको मानिन्छ । जापानी वास्तुकलाविद् प्राध्यापक केन्जो टाङ्गेले राष्ट्रसङ्घका तत्कालीन महासचिव ऊकै आग्रहमा लुम्बिनीको गुरुयोजना तयार गर्नुभएको थियो । उक्त गुरुयोजना र लुम्बिनीको विकास तथा प्रवद्र्धनका लागि अन्तर्राष्ट्रियस्तरको समिति गठन गर्ने कार्यमा पनि संयुक्त राष्ट्रसङ्घकै भूमिका रहेको छ । सन् १९७८ मा जापानी वास्तुकलाविद् प्राध्यापक टाङ्गेले तयार पारेको गुरुयोजना ४५ वर्ष बितिसक्दा पूरा हुन सकेको छैन । गुरुयोजनाअनुसार अहिलेसम्म करिब ८५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । त्यसपछि अहिलेसम्म संयुक्त राष्ट्रसङ्घका महासचिव तथा पदाधिकारीले लुम्बिनीलाई विशेष चासो र महत्त्वका साथ हेर्दै आएका छन् । राष्ट्रसङ्घको महासचिवका रूपमा ड्याग ह्यामरकेजोल्ड, ऊ थान्त, ज्याभियर पेरेज डि कुइलर, कर्ट वाइल्डहाइम र बानकी मुनले लुम्बिनीको भ्रमण गरेका थिए । राष्ट्रसङ्घका महासचिवका रुपमा हाल एन्टोनियो गुटेरेस मङ्गलबार लुम्बिनी भ्रमणका लागि आउने कार्यक्रम रहेको लुम्बिनी विकास कोषले जनाएको छ । उनी आउने राष्ट्रसङ्घको छैटौँ महासचिव हुन् । महासचिव गुटेरेसको भ्रमणबाट लुम्बिनीको विकासका कोषेढुङ्गा सावित हुने लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले बताए । ‘नेपाल भ्रमण गर्ने हरेक राष्ट्रसङ्घका महासचिवको बुद्धको जन्मस्थल भ्रमण गर्नु लुम्बिनीकै इतिहास, गौरव र बुद्धको सन्देश संसारभर पुर्याउन सफलता मिलेको छ’, उनले भने, ‘यसपटक पनि भ्रमणले निरन्तरता पाउने भएकाले लुम्बिनीवासीका लागि यो गौरवको विषय बनेको छ ।’ महासचिव गुटेरेसको भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ समेत लुम्बिनी आउने कार्यक्रम तय भएको कोषका उपाध्यक्ष डा लामाले जानकारी दिए । यसबाट राष्ट्रसङ्घको रोहवरमा दस वर्षे युद्धपछि माओवादी पार्टी शान्ति प्रक्रियामा आएको र विस्तृत शान्तिसम्झौता हुँदै हाल संविधान कार्यान्वयन र शान्ति प्रक्रियाकै अन्तिम चरणमा रहेको अवस्थामा महासचिवको लुम्बिनी भ्रमणका बेला प्रधानमन्त्रीसमेतको सहभागिताले विश्वभर शान्तिको सन्देश जाने उनले बताए । राष्ट्रसङ्घको मुख्य उद्देश्य विश्वमा शान्तिको सन्देश पुर्याउनु हो । महासचिवको लुम्बिनी भ्रमणले नेपालको भूमिबाट विश्वभर शान्तिको सन्देश पुग्नु नेपालका लागि गौरवको विषय भएको उपाध्यक्ष लामाको भनाइ थियो । यस भ्रमणले अहिले विभिन्न मुलुकबीच भइरहेका युद्धलाई नेपालबाट शान्तिको सन्देश प्रभाहित हुनु नेपालका लागि अर्को गौरवको विषय हुने भएको छ । यस भ्रमणले नेपालमा अहिले देखिएको आर्थिक सङ्कटलगायत समस्या समाधान गर्न, लुम्बिनीलाई धार्मिक पर्यटकीय हिसाबले विकास गर्न, बृहत्तर लुम्बिनीको पर्यटन प्रवद्र्धनबारे विश्वभर प्रचारप्रसार गर्न र संसारका सम्पूर्ण मानवको शान्तिका लागि सहयोग मिल्ने अपेक्षा गरिएको छ । महासचिव गुटेरेसको स्वागतका लागि कोषले आवश्यक तयारीसमेत गरिसकेको कोषका सदस्यसचिव सानुराजा शाक्यले जानकारी दिए । उनका अनुसार मङ्गलबार बिहान करिब ९ बजेदेखि १० बजेभित्र महासचिव गुटेरेस लुम्बिनीमको औपचारिक कार्यक्रममा रहनेछन् । महासचिव गुटेरेस शान्तिदीप हुँदै मायादेवी मन्दिरमा पुगेर प्रार्थना गर्नाका साथै र त्यहाँको वातावरण अवलोकन गर्नुहुने कोषले जनाएको छ । कोषकतर्फबाट त्यहाँ लुम्बिनी क्षेत्र र गुरुयोजनाका विषयमा जानकारीपश्चात् सञ्चारकर्मीसँग गुटेरेसले आफ्नो शान्तिको सन्देशसहितको भनाइ राख्ने कार्यक्रम तय भएको सदस्यसचिव शाक्यले बताए । महासचिव गुटेरेस शान्तिदीपबाट मायादेवी मन्दिरसम्म पैदलै जाने र त्यसक्रममा स्थानीय आमा समूह, लुम्बिनीस्थित विभिन्न भिक्षु भिक्षुणीले स्थानीय कलासंस्कृतिसहित स्वागत गर्ने कार्यक्रम छ । रासस
प्याजको मूल्य वृद्धि थप हुन सक्ने, महँगो बन्दै भान्सा
काठमाडौं । तरकारीमा झन्डै अनिवार्य रुपमा प्रयोग गरिने प्याजमा पछिल्लो साता भारी मूल्य वृद्धि भएको छ । ठूलो हिस्सा भारतबाट आयात हुने र भारतको बजारमा अत्याधिक मूल्य वृद्धि भएपछि नेपालको बजारमा त्यसको असर परेको हो । आइतबार भारतीय बजारमा प्रतिकेजी ८० देखि एक सय भारुसम्म प्याजको मूल्य पुगेको छ भने काठमाडौंको कालीमाटी थोकबजारमा प्रतिकेजी १०७ रुपैयाँ पुगेको छ । भारतको बजारको तुलनामा नेपालमा प्याजको मूल्य झन्डै एकतिहाई सस्तो उपलब्ध छ । भारतीय बजारमा प्याजको मूल्यमा निरन्तर वृद्धि हुन थालेपछि भारत सरकारले निर्यातको लागि न्यूनतम मूल्य तोक्ने काम गरेको छ । भारत सरकारले बफर समयको लागि प्याजको भण्डारका लागि भन्दै २ लाख टन खरिद गर्ने भएको छ । साथै निर्यातमा कायम गरिएको मूल्य डिसेम्बर अन्तिमसम्म लागू हुने भारत सरकारले जनाएको छ । मौसमका कारणले भारतमा प्याजको रोपाइमा ढिला भएको र उत्पादन आउन पनि ढिला भएको कारणले प्याजको मूल्यमा वृद्धि भएको अनुमान गरिएको छ । नेपाल लामो समयदेखि खाद्यान्न तथा तराकारी फलफूलमा भारतसँग निर्भर हुँदै आएकाले भारतमा हुने मूल्य वृद्धिको सोझो असर नेपाली बजारमा परेको देखिन्छ । अझै दुई महिनासम्म भारतले प्याजको निर्यात मूल्य निर्धारण गरेको र भारतीय बजारमा प्याजको मूल्यमा दैनिक रुपमा नै वृद्धि भइरहेकोले नेपालमा पनि आगामी दिनमा अधिक मूल्य वृद्धि हुनसक्ने अनुमान गर्न सकिन्छ । भारतीय सरकारले बफर समयका लागि भन्दै प्याजको स्टक बढाउने र निर्यातमा कडाई गर्ने नीति लिएका कारण पनि नेपाली बजारले लामो समयसम्म प्याजको मूल्यवृद्धि खेप्नुपर्ने देखिन्छ ।
किसानलाई बाख्रापालनमा सहकारीको सहयोग, दसैँमा ६९ लाखको खसीबोका बिक्री
झापा । झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले दसैंमा ६९ लाख ६० हजार मूल्यको खसीबोका बिक्री गरेको छ । संस्थाबाट कृषि कर्जा लिएर व्यावसायिक बाख्रापालन गरेका झापा र इलाम जिल्लाका किसानबाट ती खसीबोका नगदै किनेर उपभोक्तालाई बिक्री गरेको संस्थाका निर्देशक लक्ष्मण खतिवडाले बताए । किसानबाट किनिएका खसीबोकाको स्वास्थ्य परीक्षण गरेरमात्र बजारमा बिक्रीका लागि पठाइने गरेको उनको भनाइ छ । उनका अनुसार विगत वर्षमा पनि संस्थाले आफ्ना सदस्य किसानको खसीबोका किनेर चाडपर्वका बेला खुला बजारमा बिक्री गर्दै आएको थियो । यसपालि पहिलोपल्ट इलामबाट संकलित खसीबोका काठमाडौंसम्म लगेर बिक्री गरिएको थियो । संस्थाको कृषि क्षेत्रका प्रमुख डा. कमलेश्वर भाटले यसपालिको दसैंमा औसत ३० किलोका ४ सयवटा खसीबोका बिक्री भएको जानकारी दिए । ती खसीबोका जिउँदै तौलिएर खोरबाटै नगदमा किनिदिँदा किसान चाडका बेला लाभान्वित भएका थिए । झापा, इलाम, मोरङ, सुनसरी, उदयपुर र पाँचथरमा खसीबोका बिक्री गरिएका थिए । खसीबोका जिउँदै तौलिएर प्रतिकिलो ५८० रुपैयाँका दरले बिक्री गरेको उनले बताए । ‘हामी कृषकलाई व्यावसायिक बाख्रापालनमा प्रोत्साहित गर्न ऋणसँगै निःशुल्क तालिम, प्राविधिक सहयोग र बीमा प्रदान गर्छौं,’ उनले भने, ‘किसानले उत्पादन गरेका खसीबोका बजारीकरणमा पनि प्रत्यक्ष रूपमा सघाउँछौँ । उनीहरूका खसीबोका किनेर बिक्री गरिदिन्छौँ ।’ संस्थाले ६ जिल्लामा ४ सयवटा फ्रेस हाउसमा लगानी गरेको र ती फ्रेस हाउसले पनि किसानका खसीबोका अरु बेला किन्ने व्यवस्था मिलाएको उनले बताए । किसान र फ्रेस हाउसबीच व्यापारिक सम्बन्ध गाँसिदिँदा दुवै पक्षलाई फाइदा भइरहेको र बजारीकरणको समस्या नभएको उनको भनाइ छ । संस्थाले यसपालि दसैंअघि जुम्लाबाट स्याउ किनेर सदस्यलाई बिक्री गरेको थियो । कर्णाली प्रदेशको स्याउलगायत विभिन्न उत्पादनको बजारीकरण र बीउबिरुवा उत्पादनमा संस्थाले सहयोग पुर्याउने नीति लिएको संस्थाका निर्देशक खतिवडाले बताए । बाख्रापालक किसानलाई निःशुल्क प्राविधिक सहयोग पुर्याउन संस्थाले पशु चिकित्सकसहित १० कर्मचारी परिचालन गर्दै आएको छ । एक लाख ५७ हजार ९२० सदस्य रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा ७४ हजार १३० ऋणी छन् । संस्थाबाट कृषि कर्जा लिनेको संख्यासमेत उल्लेख्य छ । रासस