विकासन्युज

दसैँको समयमा पाथीभरामा २५ हजारभन्दा बढीले गरे दर्शन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ)मा दसैँको समयमा २५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । दसैँको समय पाथीभरामा पूजापाठको उत्तम समय मानिन्छ । नवरात्रदेखि कोजाग्रत पूर्णिमासम्ममा २५ हजार छ सय ३८ जान भक्तजनले पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । क्षेत्र विकास समितिका अनुसार दसैँको अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमाको दिन चार हजार तीन सय २२ जनाले दर्शनका छन् । दसैँ र तिहारका समयमा पाथीभराको दर्शन गर्ने दर्शनार्थीको भीड लाग्ने गर्दछ । विगतदेखिकै परम्पराअनुसार नवरात्रयता पाथीभरामा भक्तजनको उल्लेख्य आगमन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । नवरात्रपछि दैनिक हजारौँ सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरिरहेको समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए । उनका अनुसार अधिकांश जिल्लाबाट पाथीभरा दर्शन गर्न भक्तजन आएका छन् । सङ्घीय राजधानी काठमाडौँलगायतबाट समेत भक्तजन दर्शनमा आएका छन् । नेपाल बाहिर भारतको सिक्किम र दार्जिलिङ क्षेत्रबाट केही भक्तजन पाथीभराको दर्शनमा आएको समितिले जनाएको छ । रासस

फोनपेले एक दिनमै गर्यो १० अर्ब बढीको कारोबार

काठमाडौं । फोनपेबाट एक दिनमै १० अर्ब बढीको कारोबार भएको छ । असोजको अन्तिम दिन फोनपेबाट एक दिनमै १० अर्ब बढीको कारोबार भएको हो । असोज ३० गते फोनपेले नयाँ सफलता हासिल गरेको कम्पनीले जनाएको छ । नयाँ माइलस्टोन हासिल गर्न सहयोग गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्था, प्रयोगकर्ता र मर्चेन्टलाई आभार प्रकट गरेको छ । फोनपे मार्फत कुनै पनि बैंकमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर उल्लेख गरेर १० मै सहज रुपमा रकम पठाउन सकिन्छ । साथै मर्चेन्टले नि:शुल्क क्यूआर प्राप्त गर्न सक्छन् भने ग्राहकले भुक्तानी गर्दा पनि कुनै शुल्क लाग्दैन । फोनपे नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक संस्था हो । फोनपेमा ६४ बढी बैंक तथा वित्तीय संस्था आवद्ध भएका छन् । यस बाहेक फोनपेमा १२ लाख बढी मर्चेन्ट आवद्ध भएका छन् भने १ करोड ८० लाख बढी प्रयोगकर्ता रहेका छन् ।

नातागोतालाई चुनावी टिकट दिने र खर्चालुलाई तिरस्कार गरौँ : नेत्री अन्सारी

काठमाडौं । जनता समाजवादी पार्टी नेपालकी नेत्री मञ्जु शर्मा अन्सारीले आफ्नो दलले उठाएको मधेस प्रदेश, समानुपातिक प्रतिनिधित्व र नागरिकतासम्बन्धी माग केही हदसम्म सम्बोधन भएको प्रतिक्रिया दिएकी छन् । ‘सांसदसँग रासस संवाद’ मा उनले २२ जिल्ला समेटिएको मधेस प्रदेश तथा निर्वाचनसहित राज्यका सबै निकायमा पूर्ण समानुपातिक प्रतिनिधित्वको माग गरिएकामा अहिले अभ्यासमा रहेको व्यवस्थालाई पनि उपलब्धिकै रूपमा ग्रहण गरिएको बताइन् । सांसद अन्सारी भन्छिन्, ‘जनताद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, चुनावलाई कम खर्चिलो तुल्याउन पूर्ण समानुपातिक निर्वाचन प्रणाली तथा तराईका २२ जिल्ला समेटिएको मधेस प्रदेशको माग भने हामी निरन्तर उठाइरहने छौँ ।” समानुपातिकका नाममा आफ्ना नातागोता र पैसा असुलेर उम्मेदवार बनाउने प्रवृत्ति गलत रहेको बताउँदै उनले भनिन्, “समानुपातिकमा नेताका श्रीमती, छोरा/छोरी, भान्जा/भान्जी र आसेपासेलाई ल्याइनुहुन्न । जनताले त्यस्तालाई निर्वाचनमा तिरस्कार गर्नुपर्छ ।’ नेपाल सद्भावना पार्टीमा रही विसं २०४६ देखि राजनीतिक यात्रा सुरु गरेकी नेत्री अन्सारीले सोही पार्टीको महिला विभाग, काठमाडौँ उपत्यका इन्चार्जको जिम्मेवारीका साथ विसं २०५६ मा रौतहटबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार भइन् । पछिल्लो समय उनी जसपा नेपालका पोलिटब्यूरो सदस्य छन् । संसद् संविधान, कानुन, नियम बनाउने थलो भए पनि त्यहाँका क्रियाकलापले सत्तापक्ष र प्रतिपक्षको युद्धस्थलजस्तो भएको विचार राख्दै नेत्री अन्सारीले प्रतिपक्षले विरोधका लागि विरोध र सत्तापक्षले त्यसको आलोचना मात्रै गर्ने कार्यले गोलमाल देखिएको भनाइ राखिन् । सप्तरी र रौतहट कार्यक्षेत्र भएकी तथा समानुपातिक निर्वाचन प्रणालीबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने अन्सारी शिक्षित र बुद्धिजीवी वर्गको प्रतिनिधित्व भएको सदनले जनतालाई समेत उत्साहित, मर्यादित र अनुशासित तुल्याउने सन्देश प्रवाह गर्न सक्नुपर्नेमा जोड दिन्छिन् । उनी भन्छन्, ‘कहिलेकाहीँ सदनभित्रको गतिविधिले ‘डिसिप्लिन सिकाउने ठाउँमै डिसिप्लिन’ हुँदैन भने बाहिर कसरी सिकाउने होला भन्ने महसुस भएको छ तर सांसद आफैँले ज्ञानबद्र्धक, ओजपूर्ण, शालीन र सभ्य अभिव्यक्ति र प्रस्तुति दिनुपर्छ ।’ उनले जनताका पीरमर्काका आवाज उठाएर सम्बोधन गराउन प्रयत्न गर्नुपर्ने ठूलो ठाउँ तथा ठूला नेता र बुद्धिजीवीको प्रतिनिधित्व रहेको सदनमा यस्ता गतिविधि अचम्मलाग्दो र खल्लो भएको विचार प्रकट गरिन् । जनताले सुख पाउँदैनन् भने कानुन बनाएर मात्र के अर्थ रहन्छ भनी प्रतिप्रश्न गर्दै उनले भनिन्, ‘कानुन बनाएर अनुशासन र नियममात्रै सिकाउने कि खाली पेट भर्ने उपायको खोजी गर्ने भन्ने अहिलेको मुख्य विषय हो ।’ सरकार ढुकुटीमा पैसा कम रहेको भन्ने तर जनतालाई चर्को करले अप्ठेरामा पारेको आरोप लगाउँदै उनले कर अस्वाभाविक ढङ्गले बढाइएको र राहत ओझेलमा परेको बताइन् । देशको राजनीतिक तथा आर्थिक स्थितिमा सुधार र युवाको विदेश पलायन रोक्न रोजगारी दिलाउने आशा र विश्वास लिएर आफू सदनमा गएको बताउँदै उनले त्यसका लागि आफ्नो निरन्तर कोसिस रहे पनि प्रारम्भमै केही धमिलोपन महसुस भएको प्रतिक्रिया दिइन् । मुलुकमा पछिल्लो समय समाजका सबै क्षेत्र तथा तह र तप्कामा भ्रष्टाचार निकै वृद्धि भएको घटनाको अनुभव सुनाउँदै सांसद अन्सारीले भ्रष्टाचारमा नेता मात्र नभई कर्मचारीतन्त्र पनि उत्तिकै संलग्न रहेको प्रतिक्रिया दिइन्। एक प्रसङ्गमा उनले भनिन्, ‘राजनीतिक नेता तथा कार्यकर्ता मात्र नभई तल्लो तहदेखि लाइन लागेर माथिल्लो तहसम्मका कर्मचारी पनि भ्रष्टाचार र अनियमितामा संलग्न छन्, यो समाजका सबै क्षेत्रमा व्याप्त छ, नियन्त्रण नभएसम्म सुशासनको पाटो कमजोर रहन्छ ।’ अनियमितता र भ्रष्टाचारका विरोधमा पार्टीले सदासर्वदा सशक्तरूपमा आवाज उठाइरहेको जिकिर गर्दै नेत्री अन्सारीले अनुसन्धान र प्रमाणले पुष्टि गर्न नसक्ने विषयमा सामाजिक सञ्जालमार्फत आरोप–प्रत्यारोप गरी कसैको चरित्र हत्या गर्ने कार्य भने बन्द गर्न आवश्यक रहेकामा जोड दिइन् । भ्रष्टाचारविरुद्धको कदम र अभियान निष्पक्षरूपमा चालिएमा पछिल्ला दिनमा त्यसमा संलग्न हुन सबै डराउने तर्क गर्दै उनले प्रश्न गरिन्, ‘सरकारी जग्गा व्यक्तिका नाममा गर्ने र विमानस्थलबाट सुन बाहिर आएको घटनामा संलग्न दोषीलाई अहिलेसम्म कारबाही खोइ त, त्यस्ता मुद्दाको टुङ्गो किन नलागेको ?’ ठूलो सङ्ख्यामा विद्यार्थी र युवा शिक्षा तथा रोजगारीका नाममा विदेश पलायनको घटनाले देशका लागि विविध खाले चुनौती खडा गरेको बताउँदै नेत्री अन्सारीले युवालाई पढ्न र रोजगारी दिने वातावरण तयार गर्न राज्यले भरमग्दुर प्रयास गर्नुपर्ने सुझाव दिइन्। रासस

सुनको कण खोज्न बोटेहरू लागे त्रिशूली किनारातर्फ

तनहुँ । दसैँ मनाउँदा लागेको ऋण तिर्न व्यास–१० कोमलटारीका १० भन्दा धेरै बोटेहरू सुनको कण खोजीमा त्रिशूली किनारातर्फ लागेका छन् । ‘दसैँमा जुटाएको दामले घर खर्च भ्याएन । तीस÷चालीस हजार रुपैयाँ त ऋण नै खोज्नुपर्यो’, शनिबार बिहानै सुनको खोजीमा धादिङको त्रिशूली किनारा तर्फ लागेका ६८ वर्षीय हर्कबहादुर बोटेले भने, ‘त्यही ऋण खर्च जुटाउन यता आएको हुँ । आइतबार बिहानैबाट सुन खोज्ने काम गर्नुपर्ला ।’ पचपन्न वर्षीया श्रीमती गौमाया, ३५ वर्षीय छोरा रामबहादुर, छोरी ज्वाइँ ४५ वर्षीय कमल बोटे र ४० वर्षीया अनिता बोटे गरी पाँच जना भएर सुन खोज्न हिँडेको हर्कबहादुरले बताए। मादी किनारामा पर्ने कोमलटारीमा करिब ४० घर बोटेको बसोबास छ । यहाँका करिब २५ घरका बोटे त्रिशूली, कालीगण्डकी, बुढीगण्डकी र मस्र्याङ्दी किनारामा सुन खोज्न जाने गर्छन् । प्रायः सुन खोज्न जाँदा श्रीमान्–श्रीमतीसहितका परिवार भएर जाने चलन रहेको हर्कबहादुरले जानकारी दिए । सुन खोज्न जानेले काठको डुँड, बाँसको चनौटो र बालुवा हाल्ने विशेष खालको सामान (पाटी) अनिवार्यरूपमा लैजानुपर्दछ । सुन खोज्दा नदी किनारामा प्रायः दुई जनाले मिलेर बालुवा छान्नु पर्छ । घरबाटै त्रिपाल, भाँडावर्तन, लत्ताकपडा लैजाने र नदी किनारामै पाल टाँगेर रात बिताउने गरिएको सुन खोज्न त्रिशूली किनारामा पुगेका कमल बोटेले बताए । बालुवा चाल्ने क्रममा महिनाको करिब रु २० हजार बराबरको काँचो सुन सङ्कलन हुनेसमेत कमलले जानकारी दिए । घरमा मकैखेतीसमेत गरेकाले खेती थन्क्याएर तिहारलगत्तै आफू सुन चाल्न त्रिशूली किनारामा जाने योजना बनाएको ६५ वर्षीय वीरबहादुर बोटेले बताए । करिब ४५÷५० दिन सुन चालेर घर फर्किने गरेको उनको भनाइ छ । ‘अब तिहार मानेर सुन खोज्न जाने योजनामा छु’, उनले भने, ‘माघे सङ्क्रान्ति मान्न घर फर्किँदा त्यस्तै २५÷३० हजार हातमा पर्ला कि भन्ने विश्वासमा छु । मेहनतको कुरा हो यसै भन्न सकिँदैन ।’ पहिले मादी नदीमा पनि सुन चाल्ने गरिए पनि सुन पाउन छाडेपछि आफूहरू अन्य नदीमा जानुपरेको बोटेहरूको भनाइ छ । सुन चाल्ने पेसालाई राज्यले पनि संरक्षण गर्नुपर्नेमा त्यसो हुन नसक्दा नयाँ पुस्ताले सिक्न नचाहेको समेत वीरबहादुरले सुनाए । यहाँका बोटेहरूले निर्वाहमुखी कृषि पेसासँगै बालुवामा सुन खोज्ने कार्यलाई पनि पेसाकै रूपमा अँगाल्दै आएका छन् ।

राष्ट्रसङ्घका महासचिव गुटेरेस नेपालमा, मंगलबार संसदमा सम्बोधन गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आज यहाँ आइपुगेका छन् । उनलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरे । सो अवसरमा नेपाल सरकारका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिलगायत उपस्थित थिए । महासचिव गुटेरेसको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो । महासचिव गुटेरेसले भ्रमणको पहिलो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनको कार्यालयमा शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासचिव गुटेरेसले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीसँग सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बेग्ला–बेग्लै शिष्टाचार भेट गर्नेछन् । उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री साउदसँग समेत महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता हुनेछ । भेटवार्तापछि उनले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्नेछन् । प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नेछन् । भ्रमणका क्रममा सोमबार उनी नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानेछन् । आगामी मङ्गलबार अपराह्न ४ः०० बजे उहाँले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि पहिलोपटक नेपालको भ्रमण गर्न लागेका गुटेरेसले यहाँको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायत विषयमा छलफल गर्नुहुने मन्त्रालयले जनाएको छ । राष्ट्रसङ्घका महासचिवको करिब १५ वर्षपछि नेपालमा हुन लागेको यस भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ । प्रधानमन्त्री दाहालको निमन्त्रणामा महासचिव गुटेरेस औपचारिक भ्रमणका क्रममा नेपाल आएका हुन्।

नेपालको बिजुली भारतमा स्वच्छ ऊर्जा

काठमाडौं । नेपालको स्वच्छ ऊर्जालाई भारत सरकारले स्वच्छ ऊर्जा गणनामा समावेश गर्ने नीतिगत व्यवस्था गरेको छ । छिमेकी मुलुकको विद्युत् खरिदमा थप लचक बन्दै भारत सरकारको विद्युत् मन्त्रालयले त्यहाँको सरकारी राजपत्र ‘भारतका राजपत्र’ मा सूचना प्रकाशित गर्दै भारतमा विद्युत् बिक्री अनुमति प्राप्त छिमेकी मुलुकमा उत्पादित स्वच्छ ऊर्जालाई भारतका सार्वजनिक तथा निजी विद्युत् वितरक कम्पनीको स्वच्छ ऊर्जा गणनामा समावेश गर्न सकिने व्यवस्था गरेको हो । यो निर्णयले नेपाल र भुटानबाट स्वच्छ विद्युत् खरिद गरेर स्वच्छ ऊर्जा गणनामा समावेश गर्न पाउने भएका छन् । यसअघि यस्तो गणनामा भारतभित्रको स्वच्छ विद्युत्लाई मात्र समावेश गर्न पाउने व्यवस्था थियो । भारतले समग्र ऊर्जा खपतमा नवीकरणीय ऊर्जाको अंश बढाउँदै लैजानुपर्ने भएकाले यस्तो व्यवस्था गरेको हो । यसबाहेक नेपालको जलविद्युत् क्षेत्रमा भारतीय लगानी बढ्दै गएकाले पनि विद्युत् खरिदका प्रावधानलाई क्रमिक रूपले लचिलो बनाउँदै गएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा पनि १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने प्रारम्भिक सम्झौता गरेको थियो । सो सम्झौतालाई त्यहाँको मन्त्रीपरिष्दले पनि स्वीकृत गरिसकेको छ । अन्तिम सम्झौता गर्न दुवै देश अहिले आन्तरिक गृहकार्यमै छन् । भारतको विद्युत् मन्त्रालयले कात्तिक ३ गते राजपत्रमा सूचना प्रकाशित गर्दै सन् २०२४–२५ देखि २०२९–३० सम्मका लागि नवीकरणीय ऊर्जाको न्यूनतम खपत अंश तोकेको छ । जसमा वायु, जलविद्युत्, वितरीत र अन्य नवीकरणीय ऊर्जाको खपत हिस्सालाई तोकिएको छ । भारतका अनुमतिपत्र प्राप्त वितरण कम्पनी र खरिदकर्ताका लागि तोकिएको अनिवार्य नवीकरणीय विद्युत् खरिद ९एचपिओ० को न्यूनतम हिस्सा सन् २०२४–२५ मा २९.९१ प्रतिशत र सन् २०२९–३० सम्ममा बढाएर ४३.३३ प्रतिशतको लक्ष्य तोकिएको छ । यसमध्ये जलविद्युत् खपत हिस्सा सन् २०२४–२५ मा ०.३८ प्रतिशत र सन् २०२९–३० सम्ममा बढाएर १।३३ प्रतिशतको लक्ष्य पुग्नुपर्ने हुन्छ । यसका लागि आगामी चैत १८ गतेपछि सञ्चालनमा आएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई मात्र गणना हुने व्यवस्था गरिएको छ । तोकिएको एचपिओको हिस्सा पु¥याउनैपर्ने र नपु¥याउने वितरण कम्पनी तथा विद्युत् खरिदकर्तालाई जरिवाना हुने व्यवस्था गरिएको छ । यो व्यवस्थाले नेपालमा निर्माण सम्पन्न हुने तयारीमा रहेका तथा नयाँ जलविद्युत् आयोजनाका लागि भारतीय बजारका लागि थप सुनिश्चितता मिलेको नेपाली ऊर्जा उद्यमीको ठहर छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का महासचिव बलराम खतिवडाका अनुसार यो निर्णयले नेपालका ऊर्जा उद्यमीलाई सकारात्मक ऊर्जा प्रदान गरेको छ । ‘देशभित्र खपत अपेक्षाकृत बढ्न नसकेको अवस्था र निर्यात पनि क्षमता अनुसार पर्याप्त हुन नसकेको अवस्थामा नयाँ जलविद्युत् आयोजनालाई लक्षित गर्दै यस्तो नीतिगत व्यवस्था हुनु उत्साहजनक छ’, उनले भने, ‘अब संसद्मा रहेको विद्युत् विधेयकले ऐनको रूप लिनासाथ नेपालको निजी क्षेत्र र भारतको निजी क्षेत्रले समेत सिधै विद्युत् व्यापार गर्न सजिलो हुने छ ।’ इप्पानकै अग्रसरतामा स्थापित नेपाल पावर एक्सचेन्ज (नेपेक्स) ले भारतका विभिन्न विद्युत् खरिद बिक्री कम्पनीसँग करिब दुई हजार पाँच सय मेगावाट विद्युत् बिक्रीका लागि समझदारी गरिसकेको छ । यद्यपि नेपेक्सले निर्यातको अनुमति पाएको भने छैन । प्रस्तावित विद्युत् विधेयकमा निजी क्षेत्रलाई विद्युत् निर्यातको अनुमति दिने प्रावधान राखिएको छ । अन्य नवीकरणीय ऊर्जाका लागि तोकिएको खपत अंश आगामी सन् २०२४ अप्रिल १ तारिखअघि सञ्चालनमा आएका जलविद्युत् आयोजनाबाट खरिद गरिएको विद्युत्लाई समेत गणना गर्न सकिने व्यवस्था छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अनिवार्य जलविद्युत् खरिदको यो नयाँ व्यवस्था व्यावहारिक रूपमा लागु भए नेपाल, भारत र भुटानलाई फाइदा पुग्ने बताए । ‘आफ्नो देशभन्दा बाहिरका जलविद्युत् आयोजनाबाट खरिद गरिएको विद्युत्लाई पनि एचपिओमा समावेश गर्ने व्यवस्था गर्न हामीले लामो समयदेखि भारतलाई आग्रह गर्दै आएको थियौँ’, उनले भने, ‘नयाँ व्यवस्थाले भारतका विद्युत् वितरण कम्पनी तथा खरिदकर्तालाई नेपालको जलविद्युत् आयोजनाको विद्युत् खरिद गर्न सजिलो हुने छ ।’ उनले यो व्यवस्था व्यावहारिक रूपमा कार्यान्वयन भएमा नेपालको जलविद्युत्ले भारतमा राम्रो बजार पाउने बताए । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केही अघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम लि–एनभिभिएनलाई बिक्री गरिरहेको छ । एनभिभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाटमध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ । नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभिभिएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ । गोरखापत्र दैनिकबाट ।

गाईपालनबाट मनग्य आम्दानी गर्दै स्याङ्जाका रुक्मागत

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गाका ४७ वर्षीय रुक्मागत न्यौपानेले मलेसिया, कतार, दुबई, भारत लगायतका मुुलुुकमा १२ वर्ष बिताए। विदेशको कमाईबाट सन्तुष्ट हुन नसकेपछि उनी स्वदेशमै स्वरोजगार बन्ने सोचका साथ गाउँ फर्किए । न्यौपानेले गाउँ फर्किएपछि चार साथीहरुको सहकार्यमा भैँसीपालन व्यवसाय शुरु गरे । उत्तरवाहिनी पशुपालन फार्ममार्फत पाँच वर्षअघि १५ वटा मुुर्रा जातका भैँसीबाट व्यवसाय सुरु गरेका न्यौपानेको फार्ममा अहिले भने होलिस्टेन र जर्सी जातका १५ गाई छन् । गोठ र आवाससहित ३० रोपनी क्षेत्रफलमा फैलिएको फार्म संयुक्त रुपमा ३२ लाखको लगानीबाट सुरु गरिएको थियो । विविध कारणले सहकार्य गरेका साथीहरुले एक वर्ष नहुँदै व्यवसायबाट हात झिकेपछि न्यौपानेले एक्लैले फार्म सञ्चालन गरे । ‘सुरुका दुई वर्ष संयुुक्त रुपमा भैँसीपालन गरेका थियौँ, भैँसीपालनमा समस्या धेरै देखियो, फार्मको पूर्ण अधिकार मसँग आएपछि गाई पाल्न सुरु गरेको हुँ’, उनले भने, ‘अहिले फार्ममा छवटा दुहुना, तीनवटा ब्याउने र सात बाच्छाबाच्छी छन् । उनले गाईपालनका लागि नेपियर, जौघाँस, मकै घाँसलगायत उन्नत जातका घाँससमेत लगाएका छन् । एउटा गाईले दैनिक सात देखि १५ लिटरसम्म दूध दिने गरेको उनले बताए। दैनिक ५० लिटर दूध उत्पादन गर्दै आएका उनले स्थानीय बजार र तुुल्सीभञ्ज्याङ साना किसान दुग्ध सङ्कलन केन्द्रमा दूध बिक्री गर्दै आएका छन्। स्थानीय बजारमा प्रतिलिटर एक सय रुपैयाँका दरले दूध बिक्री भए पनि साना किसान दुग्ध सङ्कलन केन्द्रमा भने ल्याक्टो फ्याटका आधारमा दूधको मूल्य पर्ने न्यौपानेले बताए । ‘दूध बिक्रीबाट मासिक एक लाखदेखि डेढ लाखसम्मको कारोबार हुुन्छ, खर्च कटाउँदा ४०–५० हजार जति बचत हुन्छ’, न्यौपानेले थपे, ‘विदेशमा जस्तो कमाई नभए पनि परिवारको साथमा स्वदेशमै स्वरोजगार बन्न पाउँदा खुसी छु ।’ उनले गल्याङ नगरपालिकाले दिएको दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान कार्यक्रमले हौसला मिलेको बताए । ‘जिल्ला भेटेरिनरीबाट र नगरपालिकाबाट चाँपकटरसहित हालसम्म छ लाखभन्दा बढीको अनुुदान पाएको छु’, न्यौपानले भने, ‘सरकारी निकायबाट राम्रो सेवासुविधा पाएको छु ।’ उनले गएको आर्थिक वर्षमा एक लाखको हाराहारीमा नगरपालिकाबाट प्रतिलिटर १५ अनुदान अन्तर्गतको रकम पाएका थिए । न्यौपानेको गाई फार्ममा हाल तीनजनाले रोजगार पाएका छन् । श्रीमती र छोरा व्यवसाय टिकाउनका लागि दरिलो सहारा बनेको उनको भनाइ छ । ‘म बजार जाँदा श्रीमतीले घाँसपानी र कुँडोको काम गरिदिँदा सहज बनेको छ’, न्यौपानेले भने, ‘लम्पी स्किन रोगले सताए पनि गाईपालनमा खासै समस्या देखिएको छैन, बजार राम्रो भएकाले गाईपालनलाई अझ व्यवस्थित र विस्तार गर्दै लैजाने सोच बनेको छ ।’ श्रीमती कमलाले विदेश छाडेर गाउँमै श्रीमानसँग काम गर्न पाउँदा खुसी मिलेको बताए । ‘उहाँ विदेशमा हुँदा कहिले के हुुने हो भन्ने चिन्ता हुुन्थ्यो, चाडपर्वमा सबैलाई न्यास्रो लाग्थ्यो’, कमलाले भनिन्, ‘अहिलेसँगै हुँदा मलाई पनि धेरै सहारा मिलेको छ, सुखदुःखमा सँगै हुन पाएका छौँ ।’ उनले गाईपालन व्यवसायबाट आत्म सन्तुष्टि मिलेको बताइन् । नगरपालिकाका पशु शाखा प्रमुख सुशील अर्यालले नगरपालिकाले नगरभित्रका पशुलाई निःशुल्क बीमा, दूधमा प्रतिलिटर १५ अनुदान, ब्याजमा चार प्रतिशत अनुदान, साइजेलमा अनुदान, मल बनाउने तालिम, घाँसको बीउ, बेर्ना, निःशुल्क उपचार तथा प्राविधिक सेवा लगायतका सहयोग गरेको बताए । उनले कृषकलाई हौसला दिन गोठगोठमै पु्गेर अनुगमन गर्ने, गुनासा टिपोट गर्ने र सल्लाह दिने गरिएको बताए ।

भारतको नयाँ व्यवस्थामा नेपालको जलविद्युतले राम्रो बजार पाउनसक्ने

काठमाडौं । भारतले आफ्नो देशभन्दा बाहिरका जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् खरिद गरी खपत गरेमा त्यसलाई पनि नवीकरण ऊर्जा अंश गणना हुने व्यवस्था गरेको छ । भारतको विद्युत् मन्त्रालयले यही ३ कात्तिकमा राजपत्रमा सूचना प्रकाशित गर्दै सन् २०२४–२०२५ देखि २०२९–२०३० सम्मका लागि नवीकरणीय ऊर्जाको न्यूनतम खपत अंश तोकेको छ । यसमा वायु, जलविद्युत्, वितरित र अन्य नवीकरणीय ऊर्जाको खपत हिस्सालाई तोकिएको छ । भारतका अनुमतिपत्र प्राप्त वितरण कम्पनी र खरिदकर्ताका लागि अनिवार्य जलविद्युत् खरिद (एचपिओ)को न्यूनतम खपत अंश तोक्दै केन्द्रीय सरकारबाट भारतमा विद्युत् बिक्रीका लागि स्वीकृति प्राप्त छिमेकी देशका जलविद्युत् आयोजनाहरुबाट खरिद गरिएको विद्युत्लाई पनि नवीकरणीय ऊर्जा खपत अंशमा राख्ने पाउने व्यवस्था गरेको हो । यसअघि यस्तो एचपिओको व्यवस्था भारतमा उत्पादित जलविद्युत् आयोजनाहरुबाट खरिद गरिएको विद्युत्मा मात्र व्यवस्था थियो । भारतले नवीकरणीय ऊर्जा खपत हिस्सा सन् २०२४ देखि २०२५ सम्ममा २९ दशमलव ९१ प्रतिशत र सन् २०२९ देखि २०३० सम्ममा बढाएर ४३ दशमलव ३३ प्रतिशतको लक्ष्य भेट्नुपर्ने छ । यसमध्ये जलविद्युत् खपत हिस्सा सन् २०२४ देखि २०२५ मा शून्य दशमलव ३८ र सन् २०२९ देखि २०३० सम्ममा बढाएर एक दशमलव ३३ प्रतिशतको लक्ष्य भेट्नुपर्ने छ । यसका लागि ३१ मार्च २०२४ पछि सञ्चालनमा आएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई मात्र गणना हुने व्यवस्था गरिएको छ । तोकिएको एचपिओको हिस्सा पु¥याउनै पर्ने र नपु¥याउने वितरण कम्पनी तथा विद्युत् खरिदकर्तालाई जरिवाना हुने व्यवस्था गरिएको छ । अन्य नवीकरणीय ऊर्जाका लागि तोकिएको खपत अंश १ अप्रिल २०२४ अघि सञ्चालनमा आएका जलविद्युत् आयोजनाबाट खरिद गरिएको विद्युत्लाई समेत गणना गर्न सकिने व्यवस्था छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अनिवार्य जलविद्युत् खरिदको नयाँ व्यवस्था व्यावहारिक रुपमा लागू भए नेपाल, भारत र भूटानलाई फाइदा पुग्ने बताए । ‘आफ्नो देशभन्दा बाहिरका जलविद्युत् आयोजनाबाट खरिद गरिएको विद्युत्लाई पनि एचपिओमा समावेशको व्यवस्था गर्न हामीले लामो समयदेखि भारतलाई आग्रह गर्दै आएकामा अहिले यसलाई समेटिएको छ । यसले भारतका विद्युत् वितरण कम्पनी तथा खरिदकर्तालाई जलविद्युत् आयोजनाहरुको विद्युत् खरिद गर्न सजिलो हुने छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘यो व्यवस्था व्यावहारिक रुपमा कार्यान्वयन भएमा नेपालको जलविद्युत्ले भारतमा राम्रो बजार पाउने छ ।’ प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केही अघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब एक सय १० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम लि–एनभिभिएनलाई बिक्री गरिरहेको छ । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै पाँच सय २२ मेगावाटमध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ । नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा पाँच सय २२ मेगावाट र एनभिभिएनलाई एक सय १० मेगावाट गरी छ सय ३२ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ ।