एनआरएनए अध्यक्ष शर्मा नेतृत्वको प्रतिनिधिमण्डलद्वारा श्रममन्त्रीसँग श्रमिकका समस्या समाधान गर्न ध्यानाकर्षण
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आरके शर्मा नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग भेटवार्ता गरि मध्यपूर्वलगायत श्रमिकका समस्या समाधान गर्न मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । अध्यक्षमा चयन भएसँगै शर्माले उच्चस्तरीय भेटवार्तादेखि गैरआवासीय नेपालीको एजेण्डा सम्बोधनका लागि सरकारी निकायमा ध्यानाकर्षण सुरु गरेका हुन् । सोही क्रममा मन्त्रालयमा मन्त्री भण्डारीलाई एक ज्ञापनपत्र बुझाउँदै शर्माले नेपालीहरु रोजगारीको जाने देशहरुमा देखिएको राजनीतिक अन्यौलताले गर्दा भविष्यमा आउने सक्ने समस्यालाई सम्बोधन गर्न नेपाल सरकारको निकायको नेतृत्वमा मध्यपूर्व संयोजक राजेन्द्र अर्याल (जोन) र युरोप संयोजक चिन्तामणि सापकोटाको संयोजकत्वमा एनसीसी प्रतिनिधि सदस्य तथा त्यहाँ स्थित बैचारिक संस्थाका प्रतिनिधि संलग्न भएको समिमि गठन गर्न अनुरोध गरेका छन् । यसैगरी लामो समयदेखि वैदेशिक रोजगारीमा जाने क्रम नरोकिएको र विभिन्न अध्ययन अनुसार अबका १० वर्ष यही वैदेशिक रोजगारीमा जाने क्रमले नै निरन्तरता पाउने देखिएको ज्ञापनपत्रमा उल्लेख छ । ‘वैदेशिक रोजगारमा रहेका दाजुभाइ दिदीबहिनीलाई सहजताको लागि अनलाइनबाट श्रम स्वीकृति सहज बनाउनुपर्ने देखिएको छ’, ज्ञापनपत्रमा भनिएको छ, ‘सामाजिक सुरक्षा कोषमा वैदेशिक रोजगारीमा जाने बीमा गर्नुपर्ने अनिवार्य व्यवस्थालाई एकद्धार नीतिबाट एक किसिमको नीति बनाउँदा श्रमिकहरूलाई सहज हुन्छ ।’ यस्तै सामाजिक सुरक्षा कोषमा आकर्षण बढाउनको लागि समय अनुकूल नीतिहरूमा परिमार्जन तथा सामाजिक सुरक्षा कोषको सञ्चालक समितिमा एक जना गैरआवासीय नेपाली संघबाट प्रतिनिधित्वको लागि अनुरोध मन्त्रीसमक्ष गरिएको छ । यसैगरी योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई डिजिटल सूचना प्रणालीमा आबद्ध गर्ने काम सहानीय भएको भन्दै शर्माले अब पारिवारिक लगतमा आधारित एकीकृत सामाजिक सूचना प्रणाली विकास गर्नुपर्नेमा मन्त्री भण्डारीको ध्यानाकर्षण गराए । यसैगरी घरेलु महिला कामदारको सुरक्षा, न्यूनतम पारिश्रमिक तथा रोजगारीको सुनिस्चितताकालागि रोजगारदातासँग सुरुमै सम्झौता गर्ने प्रणाली विकास गर्नुपर्ने शर्माको धारणा छ । नेपालको वैदेशिक रोजगारलाई सम्मानित र मर्यादित बनाउने काममा संघ नेपाल सरकारसँग सहकार्य गर्न सधैं तयार रहेको पनि उनले बताए । ज्ञापनपत्र बुझ्दै मन्त्री भण्डारीले सामाजिक सुरक्षा कोषमा वैदेशिक रोजगारीमा जाने बीमा गर्नुपर्ने अनिवार्य व्यवस्थालाई एकद्धार नीतिबाट लैजाने विषय सकारात्मक रहेको बताए । ‘यो मलाई पनि खड्केको विषय हो ।यसलाई कामदार मैत्री बनाउनेमा पहल गर्नेछु’, उनले भने । यसका लागि दुई वर्षलाई नै श्रमिकको कोषमा जम्मा हुनेगरी व्यवस्था मिलाउने उनको भनाइ थियो । मध्यपूर्वलगायतका देशमा देखिएको श्रमिकसँग सम्बन्धित समस्या समाधान गर्न पनि मन्त्रालय गम्भीर रहेको उनको भनाइ थियो । सो अवसरमा मन्त्री भण्डारीले एनआरएनएको अध्यक्ष चयन भएकोमा बधाई तथा शुभकामना दिँदै चुनावमा अर्को पक्षले गरेको धाँधलीबारे आफू जानकार रहेको बताए । ज्ञापनपत्र बुझाउन मन्त्री भण्डारीको निवासमा शर्मासहित उपाध्यक्ष गंगाधर गौतम,महासचिव बुद्धिसागर सुवेदी,युरोप संयोजक चिन्तामणि सापकोटा गैरआवासीय अयिभन्ता तथा पूर्वउपाध्यक्षहरु डिबी क्षेत्री,नारायण आचार्य पुगेका थिए ।
परम्परागत बालीको विकल्प बन्दै किवी, राम्रो आम्दानी लिन सकिने
भोजपुर । व्यावसायिक किवीखेती भोजपुरका किसानको रोजाइको बाली बनेको छ । एकपटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । परम्परागतरूपमा गरिने आलु तथा मकैखेतीभन्दा किवीखेतीबाट राम्रो आम्दानी लिन सकिने किसानले बताउने गरेका छन् । एकपटक रोपेपछि वर्षौँसम्म आम्दानी लिन सकिने भएपछि किसान अन्य बाली हटाएर व्यावसायिक किवीखेतीमा लागेका छन् । विषेश गरेर पौवादुङमा गाउँपालिका, भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिकाको ४ नम्बर नागीको लुङ्गिन, वडा नं ५ को मझौले, आमचोक गाउँपालिकालगायत ठाउँमा किसानले यसको व्यावसायिक खेती गरिरहेका छन् । टेम्केमैयुङ–४ नागीमा व्यावसायिकरूपमा नै खेती विस्तार भइरहेको स्थानीय कृषक नवीन राईले बताए । आफूले एक सय ५० भन्दा बढी बिरुवा लगाएर व्यावसायिकरूपमा खेती गरिरहेको उनको भनाइ छ । मकै फल्ने बारी मासेर धेरै किसान यसको व्यावसायिक खेतीमा लागेको राईले बताए । ‘किवीखेती किसानको रोजाइको बाली बनेको छ’, उनले भने, ‘अन्य बाली हटाएर किवीखेती विस्तार भइरहेको छ । मकै, आलुखेतीभन्दा किवीबाट राम्रो आम्दानी लिने गरेको छु ।’ सुरुमा इलामबाट बिरुवा ल्याएर खेती सुरु गरेको उनले जानकारी दिनुभयो । किवी लगाएको ठाउँमा पाखे अलैँची र खोर्सानीसमेत पनि खेती गर्न सकिने भएकाले दोहोरो फाइदा लिन सकिने राईले बताए । किवीखेतीबाट वार्षिक रु छ लाखसम्म आम्दानी लिने अपेक्षा रहेको बताए। टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका स्थानीय किसान एकराज विष्टले किवीको व्यावसायिक खेती गरिरहेको बताए । विष्टले करिब १० रोपनी क्षेत्रमा तीन वर्षअघिबाट किवीखेतीको विस्तार गरेको उनको भनाइ छ । ‘वैदेशिक रोजगारीबाट फर्केर व्यावसायिक किवीखेती गरिरहेको छु’, विष्टले भने, ‘राम्रो आम्दानी हुने भएपछि मैले व्यावसायिक खेती थालेको हुँ । फल लिनका लागि तीनदेखि चार वर्षसम्म लाग्छ । तर अन्य बालीको तुलनामा किवीखेतीबाट राम्रो आम्दानी लिन सकिन्छ ।’ टेम्केमैयुङ गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्ने कार्यक्रममार्फत कृषिको खेती विस्तारमा सहयोग गरिरहेको जनाएको छ । किसानलाई व्यावसायिक तथा आधुनिक खेतीमा लाग्न प्रोत्साहन गर्दै गाउँपालिकालाई कृषिमा नमूना बनाउने उद्देश्यका साथ काम गरिरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् । ‘गाउँपालिकाको कृषि र पर्यटनको विकासमा योजनाबद्धरूपमा कामको थालनी गरिरहेका छौँ’, उनले भनिन्, ‘व्यावसायिकरूपमा कृषि कर्ममा लागेका स्थानीयलाई आवश्यक सहयोग गर्दै आएका छौँ । गाउँपालिकालाई कृषिमा नमूना बनाउने हाम्रो लक्ष्य छ ।’ किवीको राम्रो जातको पहिचान गरेर लगाएमा एक बोटबाट एक सयदेखि एक सय ५० केजीसम्म फलाउन सकिने स्थानीय कृषक रत्नबहादुर विष्टले बताए । पछिल्लो समय किवीखेती धेरै मानिसको रोजाइमा पर्ने बालीका रूपमा स्थापित भएको उनको भनाइ छ । गाउँघरका मानिस मकै, आलुखेती छाडेर व्यावसायिक किवीखेतीमा लागेको विष्टले बताए । किवी एक हजार पाँच सय मिटरदेखि दुई हजार चार मिटरसम्मको उचाइमा खेती गर्न सकिने किसानको भनाइ छ । व्यावसायिक खेतीमा लागेका किसानलाई सरकारले विषेश कार्यक्रम बनाएर प्रोत्साहन गर्न सके देशको आर्थिक विकासमा टेवा पुग्ने स्थानीय जानकारको भनाइ छ । यहाँको भौगोलिक विविधतालाई ध्यानमा राखेर माटोअनुसारको खेती विस्तारमा ध्यान दिन आवश्यक रहेको किसानको भनाइ छ । रासस
मानव बेचबिखनको आरोपमा प्रहरी नै पक्राउ
काठमाडौं । मानव बेचबिखनमा संलग्न रहेको आरोपमा एकजना प्रहरी नै पक्राउ परेका छन् । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङलाई पक्राउ गरी आजै अदालतबाट म्याद लिई अनुसन्धान सुरु गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले मानव तस्करीमा ‘कनेक्सन’ देखिएपछि उनलाई पक्राउ गरिएको जानकारी दिए । उनीसँगै अर्का एक व्यक्ति समेत पक्राउ गरेको पनि उनको भनाइ छ । प्रहरीको अनुसन्धानमा मानव बेचबिखनका गिरोहसँग मिलेर नक्कली कागजात बनाउने र भ्रमण भिसामा नागरिकलाई विदेश पठाउने कार्यमा उनको संलग्नता भएको पाइएको प्रहरीको दाबी छ ।
पोखरामा रगत अभाव, रक्तदान गर्न आह्वान
कास्की । गण्डकी प्रदेशको राजधानी पोखरामा बिरामीका लागि रगत अभाव भएको छ । प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराले दसैँका समयमा नियमित तालिकाअनुसार रक्तदान कार्यक्रम नहुँदा रगत अभाव भएको जनाएको छ । रक्त सञ्चार केन्द्रमा रगत अभाव हुन थालेपछि अस्पतालहरूमा उपचाररत बिरामीलाई तत्काल रगत अभाव हुन नदिन सोमबार आकस्मिक रक्तदान कार्यक्रम आयोजनासमेत गरिएको छ । पोखरा–५ जिरो किमीमा गरिएको रक्तदान कार्यक्रमबाट ४० युनिट रगत सङ्कलन भएको सो केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले बताए । उनले भने, ‘दसैँका समयमा विभिन्न सङ्घसंस्थाले गर्ने रक्तदानका कार्यक्रम नियमित हुन सकेनन् । अहिले रगत अभाव भएपछि सबैलाई सहयोग गर्न आग्रह गरेका छौँ । आकस्मिक कार्यक्रम गरेर अभाव टार्ने प्रयास गरेका हौँ ।’ केन्द्रले अहिले रगत छैन भनेपछि सबैबाट सहयोग प्राप्त भएको जनाएको छ । सहज आपूर्तिका लागि दैनिक कार्यक्रम हुनुपर्ने उनले बताए । पोखरामा दैनिक ७० देखि ७५ युनिट रगत आवश्यक पर्ने केन्द्रले जनाएको छ । प्रदेशका अन्य जिल्लाबाट समेत यहाँका अस्पतालमा बिरामी उपचारका लागि सिफारिस भएर आउने भएकाले पोखरामा रगतको माग उच्च हुने गर्दछ । आकस्मिक रक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनबहादुर थापाले पोखरामा रगत अभाव देखिएको अवस्थामा स्वतःस्फूर्त सहभागिताप्रति आभार व्यक्त गरे । ‘मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने कार्यप्रति कास्की प्रहरी सदैव जनताको साथमा छ । प्रहरी जनताकै सेवाका लागि रहेको हुँदा जनताको सुरक्षाका साथै जनसेवाका कार्यमा प्रहरी सधैं साथमा रहन्छ’, उनले भने । रक्तदान कार्यक्रम आयोजना गरेको अभिभावक गृह कास्कीका अध्यक्ष देवेन्द्र सुवेदीले आकस्मिकरूपमा गरिएको कार्यक्रममा उल्लेख्य सहभागिताप्रति धन्यवाद व्यक्त गरे। उनले भने, ‘रगत अभाव भएको थाहा पाएपछि तत्कालै कार्यक्रमको आयोजना गरिएको हो ।
१४०% सम्म प्रतिफल दिएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश ४ वर्ष यताकै उच्च, यस्तो छ २४ वर्षको इतिहास
काठमाडौं । स्टयान्डर्ड चार्टर्ड बैंकले पाँच वर्षयताकै उच्च लाभांश प्रस्ताव गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले १९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । जुन पछिल्लो चार आर्थिक वर्ष यताकै बढी लाभांश दर हो । बैंकको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । बैंकले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई १६.५१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो भने त्यसअघि १३.०६ प्रतिशत, आर्थिक वर्ष २०७६/७७ मा ११.८४ र आव २०७५/७६ मा २२.५ र आव २०७४/७६५ मा १७.५ प्रतिशत लाभांश वितरण गरेको थियो । नेपालको बैंकिङ्ग क्षेत्रमा स्टाण्डर्ड चार्टर्ड बैंकले ३६ वर्ष योगदान गरेको छ । वि.स. २०५३ सालामा स्थापना भएको स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २०६४ साल साउन ९ गते मात्रै सूचीकृत भएको थियो । संस्थापक समूहको ७५ प्रतिशत सेयर स्वामित्व र सर्वसाधारण समूहको २५ प्रतिशत सेयर स्वामित्व रहेको यस बैंकको चुक्ता पूँजी ९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । नेपालमा कर्पोरेट बैंकिङ अग्रणी बैंकमा रहेको यो बैंकले विगत २४ वर्षदेखि लाभांश वितरण गर्दै आएको छ । यस बैंकले हालसम्म्म न्यूनतम ११.८४ प्रतिशतदेखि अधिकतम् १४० प्रतिशतसम्म लाभांश वितरण गरेको छ । यस्तो छ बैंकको लाभांश इतिहास बैंकले आर्थिक वर्ष २०६५/६६ मा सेयरधनीहरूलाई ५० प्रतिशत बोनस र ५० प्रतिशत नगद गरि कूल १०० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०६६/६७ मा सेयरधनीहरूलाई ५५ प्रतिशत बोनस र १५ प्रतिशत नगद गरि कूल ७० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०६७/६८ मा बैंकलेसेयरधनीहरूलाई ५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०६८/६९ मा सेयरधनीहरूलाई १५ प्रतिशत बोनस र ४५ प्रतिशत नगद गरि कूल ६० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०६९/७० मा सेयरधनीहरूलाई १० प्रतिशत बोनस र ४० प्रतिशत नगद गरि कूल ५० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७०/७१ मा सेयरधनीहरूलाई १० प्रतिशत बोनस र ४१.५ प्रतिशत नगद गरि कूल ५१.५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७१/७२ मा सेयरधनीहरूलाई २५ प्रतिशत बोनस र १९.२१ प्रतिशत नगद गरि कूल ४४.२१ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७२/७३ मा बैंकलेसेयरधनीहरूलाई ३३(३३ प्रतिशत बोनस र १.७५ प्रतिशत नगद गरि कूल ३५.०८ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७३/७४ मा सेयरधनीहरूलाई १०० प्रतिशत बोनस र ५.२६ प्रतिशत नगद गरि कूल १०५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७४/७५ मा सेयरधनीहरूलाई १७.५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७५/७६ मा सेयरधनीहरूलाई २२.५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७६/७७ मा सेयरधनीहरूलाई ७ प्रतिशत बोनस र ४.८४ प्रतिशत नगद गरि कूल ११.८४ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७७/७८ मा सेयरधनीहरूलाई १० प्रतिशत बोनस र ३.०६ प्रतिशत नगद गरि कूल १३.०६ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकले आर्थिक वर्ष २०७८/७९ मा १६.५१ प्रतिशत लाभांश वितरण गरेको थियो । स्ट्याण्डर्ड चार्टर्ड बैंकमा हाल अध्यक्षको रुपमा जरुन दारुवालाले नेतृत्व गरिरहेकी छन् भने प्रमुख कार्यकारी अधिकृतका रुपमा अनिर्वाण घोष दास्तिदारले काम गरिरहेका छन् । यस बैंकको व्यवस्थापिक अभ्यास सिको गर्ने बैंक नेपालमा धेरै छन् ।
नविल बैंकले दियो इलेक्ट्रिक स्कुटर किन्न क्रेडिट कार्डमार्फत कर्जा सुविधा
काठमााडौं । ग्रन्थ इलेक्ट्रिक भेहिकल (एफ डि मोर्टर्स) र नबिल बैंकबीच सम्झौता भएको छ । नविल बैंकले इलेक्ट्रिक स्कुटर किन्न क्रेडिट कार्डमार्फत कर्जा सुविधा दिने भएको छ । बैंकले ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालिसँग सहकार्य गर्दै एफडी मोटर्स ब्रान्डका इलेक्ट्रिक स्कुटर किन्न चाहने ग्राहकलाई क्रेडिट कार्डमार्फत कर्जा सुविधा सुनिश्चित गरेको हो । ग्रन्थ इलेक्ट्रिक भेहिकल (एफ डि मोर्टर्स) र नबिल बैंक बिच एफ डि मोर्टर्स ब्राण्डका इलेक्ट्रिक स्कुटरहरु किन्न चाहने ग्राहकहरुलाई सरल र सहज रुपमा क्रेडिट कार्ड मार्फत कर्जा सुबिधा पाउनेछन् । जस अन्तर्गत कुनै पनी ग्राहकहरुले एफ डि मोर्टर्सका सोरुमहरुमा गई आवश्यक पर्ने कागजात दिएर क्रेडिट कार्ड मार्फत किस्ता तिरेर इलेक्ट्रिक स्कुटरहरु खरीद गर्न सक्ने कम्पनीले जनाएको छ । एफडी मोटर्सले हाल दुईवटा मोडेलका इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ । एफ फाइबको मूल्य २ लाख ६१ हजार ९९९ रुपैयाँ छ भने एफ फाइब ए को मूल्य २ लाख ९७ हजार ९९९ रुपैयाँ छ । ग्रन्थ ईभीले चाँडै एफ फाइब प्रो र एफ फाइब ए प्रो पनि बजारमा ल्याउन लागेको जनाएको छ ।
स्टयान्डर्ड चार्टर्ड बैंकले घोषणा गर्यो १९ प्रतिशत लाभांश, बोनस नदिने
काठमाडाैं । स्टयान्डर्ड चार्टर्ड बैंकले सेयरधनीले लाभांश प्रस्ताव गरेको छ । बैंकले सेयरधनीलाई १९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । बैंकले गत आवको नाफाबाट कर सहित १९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । बैंकको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
सांग्रिला डेभलपमेन्ट बैंकले तिलगंगा अस्पताललाई दियो दुई लाख रूपैयाँँ
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले २०औं वर्षमा प्रवेश सांग्रिला गरेको छ । डेभलपमेन्ट बैंकको १९ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । सोमबार बैंकले आफ्नो १९ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको हो । बैंकले बिहान ७ बजे का.म.न.पा वडा नं ४, टुँडालदेवी मन्दिर परिसरको सरसफाई गरी वार्षिकोत्सव कार्यक्रमको सुरुवात गरेको थियो । यस सरसफाई कार्यक्रममा बैंकका कर्मचारीहरु तथा सामुदायिक प्रहरी सेवा केन्द्र, टुँडालदेवी काठमाडौंको उत्साहपूर्ण सहभागीता रहेको थियो । मन्दिर परिसरको सरसफाई पश्चात बैंकको केन्दि«य कार्यालय बालुवाटार काठमाडौंकै प्रांगणमा एक कार्यक्रम आयोजनामा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा आखा अस्पताललाई रकम रु २,००,०००।– (अक्षरुपी दुई लाख मात्र) को आर्थिक सहयोग उपलब्ध गराइएको बैंकले जनाएको छ । यस वार्षिकोत्सव कार्यक्रममा बैंकका अध्यक्ष उज्ज्वल सत्याल लगायत बैंकका सञ्चालकहरु तथा तिलगंगा आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङको समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले अस्पतालले प्राप्त गरेको सो रकमको उच्च सदुपयोग हुने विचार व्यक्त गर्दै बैंकलाई धन्यवाद दिए । साथै बैंकको वार्षिकोत्सवकै अवसर पारेर केन्दि्य कार्यालय बालुवाटार काठमाडौं र नेपालगञ्ज क्लष्टर कार्यालयमा गरी जम्मा १३२ जनाले रक्तदान समेत गरेका थिए ।