लाइभ कन्सर्टबाट उठेको रकम परोपकारी काममा खर्च गर्छौं : अध्यक्ष बस्नेत
काठमाडौं । लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रिन चार्टर्डले यही कात्तिक १८ गते ‘यम बराल : हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट’ आयोजना गर्दैछ । नेपाली सांगीतिक क्षेत्रमा योगदान पु¥याउने र सामाजिक सेवाका लागि आर्थिक संकलनका लागि आयोजना गर्न लागिएको कार्यक्रमलाई भव्य रूपमा सफल बनाउने तयारीमा आयोजक जुटेको छ । गायक यम बरालको प्रस्तुति रहने उक्त लाइभ कन्सर्टले नेपाली संगीत र संस्कृतिलाई उजागर गर्न क्लबको यो प्रयासले महत्वपूर्ण भूमिका खेल्ने क्लबकी अध्यक्ष कल्पना बस्नेत बताउँछिन् । लायन्स क्लब स्थापना उद्देश्य, कार्यक्रमको उद्देश्यलगायत विषयमा केन्द्रित रहेर विकासन्युजले अध्यक्ष बस्नेतसँग गरेको कुराकानी : लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रिन भर्खरै स्थापना भएको छ । क्लब र तपाईं दुवै नयाँ हुुनुहुन्छ । दुवैलाई कसरी चिनाउनुहुन्छ ? लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रिन सन् २०२३ सेप्टेम्बर पहिलो साता स्थापना भएको हो । यस संस्थामा आबद्ध हुनुअघि म भ्वाइस अफ चिल्ड्रेनमा पछिल्लो १६ वर्षदेखि म्यानेजरका रूपमा काम गर्दै आइरहेकी थिएँ । सन् २०१४ देखि ब्रिलियन्ट एजुकेसन एन्ड करियर सर्भिसेस प्रालि सञ्चालनमा ल्याई त्यसको डाइरेक्टर भएर काम गर्दै आइरहेकी छु । त्यसलगायत अन्य सामाजिक संस्थामा आबद्ध भएर काम गरिरहेकी छु । मलाई समाजका लागि केही गरौं भन्ने हुटहुटी छ । दुई–चार जनालाई सहयोग गरेर उनीहरूको अनुहारमा खुसी ल्याउन सकुँ भन्ने लागिरहन्छ, त्यसैले म सामाजिक कार्यमा पनि सक्रिय छु । समाजका लागि केही गर्नुपर्छ भन्ने उद्देश्यले मैले यो क्लबलाई रोजेकी हुँ । भाग्य भन्नुपर्छ म यो क्लबको चार्टर प्रेसिडेन्ट छु । यो क्लबको आफ्नै लक्ष्य र उद्देश्य छ । लायन्स क्लब एउटा वृहत अन्तराष्ट्रिय संस्था हो । यो मेलभिन जोन्सद्वारा अमेरिकाको सिकागो इलिनोइसमा सन् १९१७ मा स्थापित अन्तर्राष्ट्रिय संगठन हो । टेक्सासमा मुख्यालय रहेको यस क्लब १४ लाख सदस्य (युवा विङ लियोसहित) २ सयभन्दा बढी देशमा फैलिएको छ । यो क्लब ३२५ आईअन्तर्गत यही सेप्टेम्बरमा काठमाडौंमा दर्ता भएको छ । विशुद्ध सामाजिक कार्य गर्ने मनसायले यो संस्था दर्ता गरिएको हो । यो संस्थामा हामी २८ जना महिलाहरु आबद्ध छौं । उद्योग, व्यवसाय, सञ्चारमाध्यम, शिक्षा, प्रहरी सेवालगायत कार्यक्षेत्रमा आबद्ध रहनुभएका महिला साथीलाई हामीले समेटेका छौं । संस्था स्थापना भएदेखि हामीले विभिन्न सामाजिक काम गर्दै आइरहेका छौं । यो संस्थाले विशुद्ध सामाजिक कार्य नै गर्छ । तपाईं लायन्स क्लबको नेतृत्वमा हुनुहुन्छ । यसबाट तपाईंले कस्तो योगदान गर्न खोज्दै हुनुहुन्छ ? पक्कै पनि नेतृत्वदायी भूमिकामा रहँदा जिम्मेवारी बोध बढी नै हुन्छ । संस्थाको आफ्नै उद्देश्य र कार्यशैली छ । यो एक समुदायमा आधारित संस्था भएकाले यसले नेपाली कला, संस्कृति संरक्षणलाई प्राथमिकता दिँदै आएको छ । यसै सन्दर्भमा क्लबले कात्तिक १८ गते ‘यम बराल ः हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट’ आयोजना गर्दैछ । गायक यम बरालको प्रस्तुति रहने कन्सर्टले नेपाली संगीत र संस्कृतिलाई उजागर गर्न क्लबको यो प्रयासले महत्वपूर्ण भूमिका खेल्ने हाम्रो अपेक्षा छ । यो कार्यक्रम पनि सामाजिक सेवा गर्नकै लागि आयोजना गर्न लागिएको हो । यस कार्यक्रमबाट भएको सहयोग हामीले धादिङ गजुरी गाउँपालिका–५ पिडास्थित डोल भञ्ज्याङ माविमा सहयोग गर्ने उद्देश्य राखेका छौं । उक्त विद्यालयमा चेपाङ समुदायका १ सय ९६, तामाङ समुदायका २ सयसहित ५ सय ४१ विद्यार्थी अध्ययन गर्छन् । विद्यालय पृथ्वीराजमार्गको आदमघाटबाट दक्षिणतर्फ २० किलोमिटर टाढा दुर्गममा छ । कार्यक्रमबाट संकलन रकम सोही विद्यालयको भौतिक संरचना मर्मत गर्न हस्तान्तरण गर्ने योजना छ । साथै, केही रकम लामो समयदेखि क्यान्सरबाट पीडित गायिका बिमला राई र तुलसादेवी फाउन्डेसन ललितपुरबाट सञ्चालित अनाथालयलाई सहयोग गर्ने योजना छ । भूकम्प, कोरोना महामारीलगायत अन्य कारण अहिलेको अवस्थामा धेरै लाइभ कन्सर्ट हुन सकेका छैनन् । मानिसहरू मनोरञ्जनात्मक कार्यका लागि सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र टिकटक बढी रोज्छन् । तपाईंले फिजिकल नै किन रोज्नुभयो ? हाम्रो संस्थाको आफ्नै भिजन छ । सामाजिक, सांस्कृतिक परिवर्तन र सहयोगका लागि हामीले कार्यक्रम आयोजना गर्न लागेका हौं । अहिले आर्थिक मन्दी र मानिसमा तनावको स्थिति सिर्जना भएको छ । अधिकांशले मनोरञ्जनका लागि डिजिटल प्लेटर्फम प्रयोग गर्ने गरेका छन् । अहिले मानिसहरू तनाव भुलाउन विभिन्न ठाउँहरू भांैतारिरहेको देख्न सकिन्छ । तर, यो लाइभ कन्सर्ट त्यसका लागि पनि उपयोगी माध्यम बन्न सक्छ । हामीले यसरी लाइभ कन्सर्ट आयोजना गर्दै गर्दा सामाजिक सञ्जालमा समय बिताउनेकोे त्यस दिनको दुई घन्टा समय परिवारसँग बितोस् भन्ने चाहना हो । र, त्यहाँ आउनुभएका सहयोगी हातहरूका कारण सामाजिक सेवा पनि गर्न पाइयोस् भन्ने अपेक्षा हाम्रो छ । कार्यक्रमका लागि खर्चको जोहो कसरी गर्नुहुन्छ ? २५ वर्षपछि ‘यम बराल ः हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट’ आयोजना हुँदैछ । यस्तो कार्यक्रमका लागि खर्च ठूलो नै हुन्छ । खर्चका हिसाबले कुरा गर्नुपर्दा एकदमै महँगो कार्यक्रम हो यो । यो कार्यक्रम सफल बनाउनका लागि हामीले विभिन्न व्यावसायिक संघसंस्थाहरूसँग सहयोग मागेका छौं । उहाँहरूले हाम्रो भिजन र मिसन मन पराएर सहयोगको हात अगाडि बढाउनुभएको छ । उहाँहरूको साथ र सहयोगले यो कार्यक्रम सफल हुन्छ भन्नेमा हामी विश्वस्त छौं । हामीले एउटा टिकटको १ हजार रुपैयाँ तोकेका छौं । तर, तपाईंले तिरेको त्यो हजार रुपैयाँले परिवारका साथमा मनोरञ्जन प्राप्त गर्न सकिन्छ र विशुद्ध समाजसेवा पनि गर्न सकिन्छ भने त्यो हामी सबैलाई लाभदायी विषय नै हो । मन्दीको समयमा मनोरञ्जनात्मक कार्यक्रमका लागि खर्च जुटाउन सजिलो भयो कि गाह्रो ? यो मनोरञ्जनात्मक कार्यक्रम भए पनि हाम्रो उद्देश्य समाज सेवामा केन्द्रित भएको हुँदा धेरैले हामीलाई सकारात्मक प्रतिक्रिया दिनुभयो । सहयोगका साथसाथै उत्साह र हौसला पनि दिनुभयो । त्यसैले गर्दा धेरै गाह्रो भयो जस्तो लागेन । म यहीँबाट पनि सबैलाई कार्यक्रममा उपस्थित भएर हौसला बढाइदिन अनुरोध गर्छु । नेपालमा अरू पनि धेरै चर्चित गायक–गायिका हुनुहुन्छ । क्लबले यम बराल नै किन रोज्यो ? संगीतको आधुनिक क्षेत्रमा स्वरसम्राट नारायण गोपालपछि यम बराललाई हेर्ने गरिन्छ । उहाँको गायन क्षमता पनि उत्कृष्ट छ । पाश्र्वगायक उहाँले नेपाली सांगीतिक क्षेत्रमा २ हजार बढी गीत गाइ सक्नुभएको छ । उहाँका गीतहरू साँच्चिकै सान्दर्भिक छन्, अहिलेका युवापुस्तादेखि वृद्धसम्म उहाँलाई सुन्न रुचाउनुहुन्छ । यस समयमा उहाँ उचित पात्र पनि हो भन्ने लाग्छ ।
ह्वावे क्लाउडले मोडल र एप्लिकेसनको विशाल दायरा प्रस्तुत गर्दै
काठमाडौं । ह्वावे कनेक्ट २०२३ मा, ह्वावे क्लाउड ग्लोबल इकोसिस्टमका अध्यक्ष काङ निङले कसरी ‘साझेदारीले नयाँमूल्यको लागिमार्ग प्रशस्त गर्छ’भन्ने बारेमा चर्चा गरेका छन् । काङले ह्वावे क्लाउड इकोसिस्टमका पछिल्लो प्रगति र उपलब्धिहरू बताउदै भरपर्दो, स्केलेबल एआई कम्प्युटिङ पावरको लागि एससेन्ड एआइ क्लाउड सेवाको घोषणा गरे । एससेन्ड मोडल समुदाय र डेभलपर संस्थामा सामेल हुनासाथ साझेदार र विकासकर्ताहरूलाई सशक्तिकरण गर्न र इकोसिस्टमको थप वृद्धि गर्न प्रभावकारी हुने छ । ‘ह्वावे क्लाउडले सबै प्रकारका आधारभूतमोडलहरू अँगाल्न साथै विश्वव्यापी साझेदारहरू र डेभलपरहरूलाई संलग्न गराउन पूर्ण इकोसिस्टम निर्माण गरेको छ’ उनले भने । पंगु मोडलहरूमा नयाँआविष्कार गरौं र एआईको प्रयोग गर्दै उद्योगहरूलाई पुनःआकार दिऔं । ५ लाख डेभलपर र ४२ हजार साझेदारहरू ह्वावे क्लाउड इकोसिस्टममा सामेल भएका छन् भने १० हजारभन्दा बढी एप्लिकेसनहरू ह्वावेको क्लाउड मार्केटप्लेस कूग्यालरीमा जारी गरिएका छन् । त्यस्तै २१ हजारभन्दा बढी ग्राहकहरूले पंगु पिओसी परीक्षणको लागिआवेदन दिएका छन् । एससेन्ड एआइ क्लाउड सेवाले ठोस कम्प्युटिङ आधारशीला बनाउछ । यसले बहुमुखीपूर्वाधार, असाधारण प्रदर्शन र विविध स्रोतहरूसहित साझेदारहरू र डिभलपरहरूलाई मोडल माइग्रेसन र प्रशिक्षणमा सशक्त बनाउछ । विशेष गरी यसमा मुख्य धारा काएआई इन्जिनहरू (जस्तै माइन्डस्पोर, ह्वावेको गहिरो सिकाइ तालिम र अनुमान ढाँचा) सामेल गरिएको छ त्यसैले डेभलपरहरूले आफ्नाअत्याधुनिक स्टेट अफ द आर्ट (यसओटिए) मोडेलहरू वाअन्यमोडलहरूलाई एससेन्डमा ट्रिलियन प्यारामिटका साथ प्रशिक्षित मोडेलहरू सहित स्थानान्तरण गर्न सक्छन् । ह्वावे क्लाउडले डेभलपरहरूमाध्यान केन्द्रित गरी खुलाग्लोबल इकोसिस्टम निर्माण गर्ने लक्ष्य राखेको छ र ह्वावे क्लाउड मोडल कम्युनिटी यसको प्रमाण हो । यसमा डेभलपरहरूले गुणस्तर डेटासेटहरू, परिष्कृत स्टेट अफ द आर्ट मोडेलहरू, एआई क्षमताहरू, डेभलपर किटहरू, पाठ्यक्रम र प्राविधिक सहयोगमापहुँच पाउँछन् । ह्वावे क्लाउडले डेभलपरहरूलाई पनिउच्चदक्षताको यात्रामा लैजान्छ । फाउन्डेशनमामोडल र क्लाउड नेटिभ पाठ्यक्रमहरू ह्यान्ड–अन अनुभवका साथ प्रमाणित र मान्यता प्राप्त गर्ने मौकाको बनाइएका छन् । एक सम्पन्नइकोसिस्टम सिर्जना गर्न ग्राहकहरू र साझेदारहरूको संयुक्तप्रयास पनिआवश्यक छ । ह्वावे क्लाउडले १५० भन्दा बढी साझेदारहरू र २०० भन्दा बढी ग्राहकहरूसँग पंगु एलओ फाउन्डेसन मोडेलहरूमा २० भन्दा बढी उद्योग मोडेलहरू र चार सयभन्दा बढी एआई एप्लिकेसनको विकास गरेको छ । यीउपलब्धिहरूले सबै उद्योगहरूमाथप सम्भावनाको सङ्केत गरिरहेका छन् ।
नियम उल्लङ्घन गर्नेले सक्कल लाइसेन्स नै बुझाउनुपर्ने
फाइल फाेटाे काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागरिक एपमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिंक रहे पनि नियम उल्लङ्घनपछि कारबाहीका क्रममा सक्कल लाइसेन्स नै बुझाउनुपर्ने स्पष्ट पारेको छ । कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले कुनै चालकले नागरिक एपमा लिङ्क रहेको सवारी चालक अनुमतिपत्र देखाउँदा पहिचान मात्रै हुने भएकाले नियम उल्लङ्घन गर्नेलाई कारबाहीका लागि सक्कल लाइसेन्स नै चाहिने बताएका हुन् । नागरिक एपमा जोडिएपछि अब चालकले लाइसेन्स बोक्नु नपर्ने सन्देश जानेगरी समाचार सार्वजनिक भएपछि यस विषयमा कार्यालयले सूचना जारी गरी स्पष्ट पारेको उनले उल्लेख गरे । कार्यालयले जारी गरेको सूचनामा भनिएकोे छ, ‘हाललाई कुनै चालकले नागरिक एपमा लिङ्क रहेको सवारी चालक अनुमतिपत्र देखाउँदा उक्त चालक लाईसेन्स प्राप्त गरेको व्यक्ति हो वा होइन भन्ने कुराको जानकारीका लागि मात्र मान्य हुन्छ तर ट्राफिक नियम उल्लङ्घन र कारबाही प्रक्रियाको क्रममा भौतिकरुपमा सक्कलै लाइसेन्स आवश्यक पर्ने व्यहोरा जानकारी गराईन्छ ।’ ट्राफिक नियम उल्लङ्घन नगरेको अवस्थामा मात्रै नागरिक एपमा जोडिएको लाइसेन्सले काम गर्ने जनाइएको छ । नियम उल्लङ्घनपछि भने यसअघि झैँ सामान्य अबस्थामै जसरी सक्कल लाइसेन्सको आधारमा कारबाही प्रक्रिया अघि बढ्ने जनाइएको छ ।
सडक सञ्जाल सुधारका लागि एडिबीसँग १३ अर्ब बराबरको ऋण सम्झौता
काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी)बीच नेपालको सडक सञ्जाल सुधार तथा विस्तारका लागि करिब १३ अर्ब (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । आज अर्थ मन्त्रालयमा एक औपचारिक कार्यक्रमकाबीच अर्थसचिव कृष्णहरि पुष्कर र एसियाली विकास बैंकका नेपालका लागि देशीय निर्देशक आर्नोड काओसिसले सम्झौतापत्रमा हस्ताक्षर गरे । ग्रामीण सडक सञ्जाल सुधार आयोजनाका लागि यो एडिबीबाट भएको अतिरिक्त वित्तीय लगानी हो । कूल तीन सय २४ किलोमिटर सडक सञ्जाल सुधार तथा विस्तारका लागि यो रकम खर्च गरिनेछ । प्रदेश सरकारले कार्यान्वयन गर्ने यो परियोजनाले समावेशी विकासको अवधारणा र संघीयता कार्यान्वयनलाई सघाउने अर्थसचिव पुष्करले विश्वास व्यक्त गरे । ‘ग्रामीण क्षेत्रमा समावेशी विकास र आर्थिक सवलीकरणसँगै यो परियोजनाले संघीयता कार्यान्वयनमा पनि महत्वपूर्ण भूमिका खेल्नेछ’, अर्थसचिव पुष्करले भने, ‘बाढीपहिरोलगायतका समस्याबाट सडक सञ्जालसँगै ग्रामीण जनजीवन पनि बिग्रिएको छ। यो परियोजनाले उक्त समस्या समाधानमा भूमिका खेल्नेछ।’ एडिबीका देशीय निर्देशक आर्नोड काओसिसले विभिन्न पाँच प्रदेशमा गुणस्तरीय र पर्यावरणमैत्री सडक पूर्वाधार निर्माणका लागि यो ऋण सम्झौता भएको बताए । सडक मर्मतसम्भारसँगै पुल निर्माण, सडक सुरक्षा तथा व्यवस्थापनलगायतका काम यो आयोजनामार्फत् गरिनेछन् ।
मोरङ र सुनसरीको औद्योगिक करिडोरमा विद्युत् आपूर्ति दिन प्राधिकरणको प्रयास
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कोशी प्रदेशका मोरङ र सुनसरी जिल्लाका औद्योगिक करिडोरमा यस वर्ष भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि अधिकतम प्रयास गरिरहेको छ । प्राधिकरणले त्यस क्षेत्रका औद्योगिक र अन्य ग्राहकहरुलाई भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्रसारण तथा वितरणतर्फका चालू लाइनहरुको सुधार गर्ने, नयाँ लाइन बनाउने, सबस्टेसनहरुको क्षमता स्तारोन्नति गर्ने र नयाँ सबस्टेसन निर्माणलाई योजनावद्ध रुपमा अगाडि बढाएको छ । मोरङ र सुनसरीका उद्योगीहरुले मुख्य रुपमा गर्मीयाममा उद्योगहरुमा पटकपटक लाइन जाने र आउने (ट्रिपिङ) हुने गरेको गुनासो गर्दै आएका छन् । यसलाई सम्बोधन गर्न प्राधिकरणले मोरङ र सुनसरी औद्योगिक करिडोरमा विद्युत् आपूर्तिका लागि सुनसरीको दुहवीस्थित १३२ केभी ग्रिड सबस्टेसनको भार (लोड) घटाउन पुरानो लाइनहरुको सुधार र थप लाइन तथा सबस्टेसन निर्माण गरिरहेको छ । केहीअघि सञ्चालनमा आएको सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित ४०० केभी क्षमताको इनरुवा सबस्टेसनबाट विद्युत् आपूर्ति दिनका लागि प्रसारण तथा वितरणतर्फका लाइन र सबस्टेसन निर्माणाधीन छन् । इनरुवा ४००, २२०, १३२ र ३३ केभी प्रणालीमा आधारित सबस्टेसन भएकाले त्यहाँबाट स्थानीय रुपमा विद्युत् आपूर्ति गर्न सकिने छ । यसले गर्दा दुहबी सबस्टेसनमा हाल रहेको विद्युत आपूर्तिको भार घट्ने छ । अरुण तथा तमोर नदी र तिनीहरुका सहायक खोलानालामा निर्माण गरिएका/हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् कोशी करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ । ताप्लेजुङ, पाँचथर, इलाम जिल्लास्थित खोलाहरुमा उत्पादित विद्युत् काबेली करिडोर प्रसारण लाइन हुँदै झापाको दमकमा आउने छ । यसले गर्दा त्यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि स्रोतको अभाव छैन । सुनसरी र मोरङको विद्युत् आपूर्ति सुधार र १३२ केभीको दुहवी तथा विराटनगर क्षेत्रमा रहेका ३३/११ केभी रानी र टङ्किसिनुवारी सबस्टेसनहरुको भार घटाउन १३२ विराटनगर सबस्टेसन निर्माणाधीन छ । सुनसरीको बर्जु गाउँपालिकामा निर्माणाधीन सबस्टेसनसम्म विद्युत् पुर्याउनका लागि इनरुवा सबस्टेसनबाट १३२ केभी प्रसारण लाइन निर्माण भइरहेको छ । ठेकेदार कम्पनी सानडोङ ताइकाई इन्जिनियरिङ र मुडभरी एण्ड जोशी कन्ट्रक्सनको संयुक्त उपक्रमको कमजोर कार्यसम्पादनका कारण सबस्टेसन निर्माणमा ढिलाइ भइरहेको छ । सबस्टेसनमा रहने उपकरणहरु राख्नका लागि अधिकांश सिभिल संरचनाहरु निर्माण भइसकेका छन् । सबस्टेसनका अधिकांश उपकरणहरु पनि निर्माणस्थलमा आपूर्ति भइसकेका छन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केहीअघि निर्माणस्थलको अनुगमन गरी आगामी फागुनभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिए । आगामी फागुनभित्र निर्माण सम्पन्न गर्न नसकिएमा विद्युत् उपलब्ध भएर पनि आपूर्ति दिन नसकी वाध्यकारी लोडसेडिङ गर्नु पर्ने अवस्था आउसक्ने भन्दै यस्तो संवेदनशील आयोजनाको काम उक्त अवधिमा नसकिएमा ठेक्का सम्झौताबमोजिम कारबाही गर्ने चेतावनी ठेकेदारलाई दिए । त्यस क्षेत्रका ओद्योगिक करिडोरमा रहेको विद्युत् आपूर्तिका समस्या समाधन गर्न भइरहेका कामको जानकारी दिन उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानालाईसमेत टोलीमा सहभागी गराइएको थियो । ‘यस वर्ष सुनसरी र मोरङमा सञ्चालित उद्योगहरुलाई विश्वसनीय र गुणस्तरीय विद्युत् आपूर्तिका लागि अधिकतम प्रयास गरिरहेका छौं, विकल्पहरु धेरै छन्, सञ्चालित योजनाहरु गर्मी सुरुहुनुभन्दा पहिलेनै सक्नु वाध्यकारी अवस्थामा छौं’, कार्यकारी निर्देशक घिसिङले भने। ‘यसका लागि जनशक्ति थप्नुहोस्, स्थानीय रुपमा भइरहेका अवरोध हटाउन स्थानीय तहका जनप्रतिनिधि, प्रशासन,उद्योगी व्यसायीहरुलगायतका साथ र सहयोग आवश्यक छ ।’ इनरुवा–विराटनगर २३ किलोमिटर १३२ केभी प्रसारण लाइनमा पर्ने ८० वटा टावरमध्ये ७३ वटाको जग हालिएको छ । ७२ वटा खडा गरिएको छ । प्रसारण लाइनको तार आपूर्ति भइसकेको छ । स्थानीयको अवरोधका कारण दुई वटा र प्राविधिक समस्याले ५ वटा टावर निर्माण सुरु हुन सकेको छैन । इनरुवा सबस्टेसनबाट खनारसम्म ३३ केभी डबल सर्किट लाइन निर्माण अन्तिम चरणमा छ । यो लाइन सञ्चालनमा आएपछि दुहवी सबस्टेसनको करिब ४० मेगावाट भार घटाउन सकिने छ । इनरुवाबाट पुरानो इनरुवा सबस्टेसम्म हाल रहेको ३३ केभी सर्किटको लाइनमा अर्को सर्किट निर्माणाधीन छ । यसले पनि दुहवी सबस्टेसनको भार घटाउने छ । इनरुवा–दुहवी १३२ केभी डबल सर्किट प्रसारण लाइनको तार फेरेर क्षमता बृद्धिको प्रक्रिया अगाडि बढाइएको छ । झापा, मोरङ र सुनसरीको विद्युत्को माग धान्नका लागि दमकबाट विराटनगर सबस्टेसनसम्म १३२ केभी प्रसारण लाइन निर्माण प्रक्रिया अगाडि बढाइएको छ । करिब ६५ किलोमिटर उक्त लाइन दमकबाट मोरङको कानेपोखरी गाउँपालिकास्थित केरौन, सुनसरीको दुहवी हुँदै विराटनगर सबस्टेसनमा जोडिने छ । उक्त लाइन निर्माण सम्पन्न भएपछि झापा, मोरङ र सुनसरीमा विद्युत् आपूर्तिका लागि १३२ केभीको रिङ बन्ने छ । जसले विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउने छ ।
सरकारले मुस्ताङमा जलवायु परिवर्तनको असर कम गर्न ५० करोड खर्चने
म्याग्दी । तीन दिनको लगातार वर्षपछि गत साउन २८ मा कागखोलामा आएको बाढीले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा २९ पक्की भवन, तीन काठे पुल, निर्माण सम्पन्न हुन लागेको एउटा मोटरेबल पुललगायत भौतिक संरचनामा ठूलो क्षति पुर्यायो । २०७१ असोजमा मुस्ताङ, मनाङ, म्याग्दी र डोल्पाको हिमाली क्षेत्रमा हुदहुद आँधीमा परेर पदयात्रामा गएका ४३ जनाले ज्यान गुमाए । २०७८ साल कात्तिक २८ र फागुन २१ गते मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा टुकुचे हिमालबाट आएको हिमपहिरोले एक सय ५० भन्दा बढी चौँरीगाई मरे । उल्लिखित विवरण मुस्ताङमा पछिल्लो समय विपद्का कारण भएको क्षतिको केही उदाहरण हुन् । विश्वव्यापी तापक्रम वृद्धि र मौसममा भएको परिवर्तनका कारण मुस्ताङको जनजीवन प्रभावित हुनाका साथै विपद्को जोखिम बढेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । ‘विशिष्ट भूगोल भएको मुस्ताङको मौसममा भएको परिवर्तनले विपद्को चुनौती थपेको छ,’ उनले भने, ‘पानी बढी पर्न र तापक्रम बढेपछि समग्र जनजिवनमा असर परेको छ ।’ पानी धेरै पर्न थालेपछि माटोले छाएका घर, गुम्बाहरू चुहिने, भत्किने, खोलामा बाढी आएर कटान गर्ने, नदीमा गेग्रान थुप्रिएर बगर बस्तीभन्दा अग्लो हुने, बस्तीमा कटान हुने, खोलाले धार परिवर्तन गर्ने समस्या बढेको छ । यसैगरी, तल्लो भेगमा स्याउ उत्पादन नहुने, माथिल्लो भेगमा स्याउ फल्ने, स्याउ र आलुमा नयाँ रोग देखिने, उत्पादन घट्ने, पानीका मुहान सुक्ने, चरन क्षेत्रमा घाँस कम उम्रिँदा चौँरी, भेडा र च्याङ्ग्रालाई आहारा अभाव हुने, लामखुट्टेको टोकाइबाट हुने रोगका बिरामी भेटिन थालेका जोमसोमका चन्द्रबहादुर थकालीले बताए । पानी कम पर्दा मुस्ताङका अधिकांश घर, भवनहरू माटोले छाउने चलन थियो । पछिल्लो समय माटोले छाएका घर चुहिने थालेपछि जस्तापाताले छाउने र ढलान गर्ने क्रम बढेको छ । घरपझोङ गाउँपालिका–५ ठिनीका ७२ वर्षीय बलबहादुर थकालीले पछिल्लो समय धेरै वर्षात हुने र बेसिजनमा हिमपात हुँदा खेतीबाली लगाउने समय तालिका नै परिवर्तन गर्नुपर्ने अवस्था आएको बताए । ‘पुस–माघको हिउँदयाममा हिउँ पर्दैन, असोज कात्तिक र चैत वैशाखमा धेरै हिउँ पर्न थालेको छ,’ उनले भने, ‘गत वैशाख जेठको झरीले फुलेको स्याउ परागशेचन हुन नपाएर यसपालि उत्पादन आधाभन्दा बढीले घटेको छ ।’ स्याउ उत्पादन राम्रो हुन पुस–माघमा हिउँ पर्नुपर्छ । आजकाल मुस्ताङमा फागुन–चैतमा हिउँ पर्छ । स्याउको फुल्ने बेला यस वर्ष वैशाख–जेठमा हिउँ सहितको पानी परेको थियो । २३ वर्षको तथ्याङ्कलाई आधार मानेर डा महेन्द्र बानिया, डा ताल्चा भडेल, डा अर्जुन बानियाँ, इञ्जिनियर लक्ष्मीप्रसाद भण्डारी र इञ्जिनियर नवराज शर्माले गरेको अध्ययन प्रतिवेदनका अनुसार मुस्ताङको पछिल्लो २३ वर्षको वार्षिक तापक्रम ०.१३ प्रतिशतका दरले वृद्धि भएको देखाएको छ । यही अनुपातमा बढ्दा आगामी एक सय वर्षमा सो क्षेत्रको तापक्रम दोब्बर हुने अनुमान गरिएको छ । जोमसोम केन्द्रमा वार्षिक औसत २९२.७ मिलिमिटर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जोमसोमदेखि माथिल्लो क्षेत्रमा पछिल्ला वर्षमा पानी बढी पर्न थालेको विभागको तथ्याङ्क छ । जोमसोम केन्द्रमा जुलाई महिनाभरि औसत ४६.८ मिलिमिटर र अगस्तमा ४३.९ मिलिमिटर वर्षा मापन भएको थियो । कागबेनीमा बाढी आउँदाको दिन जोमसोममा २५.२ मिलिमिटर वर्षा मापन भएको थियो । यो औसतभन्दा बढी हो । सोही दिन जोमसोममा कालीगण्डकी नदीको बाढीको सतह २.७७ मिटर उचाइमा पुगेको थियो । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको पूर्वाधार महाशाखाका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर लक्ष्मी भण्डारीका अनुसार कमजोर र भिरालो भूगोल भएको मुस्ताङमा वर्षा धेरै हुँदा माटो बगेर खोलामा मिसिँदा बाढी आउँछ । ‘खोला किनारमा बस्ती बसाउन उपयुक्त र सुरक्षित हुँदैन । भौतिक संरचना बनाउँदा पनि धेरै अध्ययन आवश्यक छ,’ उनले भने, ‘सडक, पुल र भवन जस्ता सार्वजनिक भौतिक संरचनाको दिगोपनाका लागि मौसम, बाढी, पहिरोको इतिहासलाई आधार बनाएर डिजाइन गर्नुपर्छ ।’ कालीगण्डकी र सहायक नदीहरूबाट आउने बाढीको कटानका कारण मुस्ताङको छुसाङ, एक्लेभट्टी, जोमसोम, स्याङ, मार्फा, छैरो, टुकुचे, खन्ती, कोवाङ, लार्जुङको बस्ती जोखिममा परेका छन् । सर्वोच्च अदालतको आदेशका कारण पछिल्लो तीन वर्षयता कालीगण्डकी नदीको बगर उत्खनन र निकासी रोकिएको छ । खोलामा गेग्रान थुप्रिँदै थाने र व्यवस्थापन नगर्दा बस्तीभन्दा माथि बगर हुन थालेको घरपझोङ गाउँपालिकाका पूर्वअध्यक्ष आशबहादुर थकालीले बताए । सर्वोच्चको आदेशले कालीगण्डकीबाट नदीजन्य बस्तुको उत्खनन र निकासी रोकिँदा स्थानीय तहले राजस्व गुमाउने तथा गेगर थुप्रिएर बाढी तथा कटानको जोखिम बढाएको थकालीको भनाइ छ । चार हजार एक सय मिटर उचाइमा रहेको मुस्ताङको समजोङ गाउँका १८ घरपरिवार पानीको खोजीमा नामसुङमा बसाइँ सरेका छन् । खानेपानी र सिँचाइका लागि पानीको अभाव भएपछि २००९ मा धे गाउँका २३ घरपरिवारलाई थाङचुङ सारिएको थियो । २०४२ र २०४४ सालमा मुस्ताङ हिमताल विस्फोट हुँदा दुई जनाको ज्यान भएको थियो । हिमताल फुटेर विस्थापित भएका ३२ परिवारलाई तनहुँको ढोरफिर्दीमा राखिएको छ । जलवायु परिवर्तनको नियन्त्रण गर्न नसकिने असर देखिन थालेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयाप)का प्रमुख रविन कडरियाले बताए । ‘तापक्रम वृद्धिले हिमाली क्षेत्रको वन र जीविकोपार्जनमा प्रत्यक्ष असर देखिएको छ,’ उनले भने, ‘पहिला मुस्ताङको घरमा माटाको छानो हुन्थ्यो । अहिले पानी धेरै पार्न थालेपछि घरहरू जस्तापाटाले छाउने र ढलान गर्न थालेका छन् ।’ दुई दशकअघिसम्म स्याउ फल्ने कोवाङमा अहिले स्याउ उत्पादन राम्रो हुँदैन । स्याउको विकास, अनुसन्धान हुने मार्फाको शीतोष्ण वागबानी विकास केन्द्रलाई माथिल्लो क्षेत्रमा सार्नुपर्ने आवाज उठेको छ । ताङ्वे, छुसाङ, फलेक, झोङलगायत माथिल्लो भेगमा स्याउ खेती हुन थालेको छ । स्याउ मुुस्ताङबाट निकासी हुुने प्रमुख फलफूल हो । स्याउ, आलुमा नयाँ रोग देखिने, उत्पादन घट्ने र गुणस्तरमा पनि असर पर्न थालेको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले बताए । यसपालि स्याउ उत्पादन ४० प्रतिशतले घट्न सक्ने अनुुमान गरिएको छ । ‘फूल खेलेर परागशेचन हुुने समयमा धेरै वर्षा हुँदा फूलबाट स्याउको दाना कम लागेको छ,’ उनले भने, ‘यस वर्ष स्याउको फूल फुल्ने समय वैशाख–जेठ महिनामा वर्षाले स्याउ बोटमा परागशेचन (पोलिनसन) हुन पाएन ।’ मुस्ताङको एक हजार चार सय ७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकामा पाँच सय ८० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ । गत वर्ष मुस्ताङमा छ हजार ६ सय मेट्रिक टन स्याउ उत्पादन भएको थियो । रु ५० करोड मूल्य बराबरको चार हजार ६ सय २० मेट्रिक टन स्याउ म्याग्दी, बागलुङ, पोखरा, चितवन, बुटवल, काठमाडौंलगायत सहरमा निकासी भएको थियो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङ वेमौसमी र अत्याधिक वर्षातका कारण माटोले बनेका घर भत्किन थालेको बताउँछन् । ‘गत साउनमा तीन दिनको वर्षातपछि कागखोलाको बाढीले कागबेनीलाई तहसनहस बनायो,’ उनले भने, ‘२०७९ असोजको एक हप्ताको झरीले यहाँका धेरै माटोले बनेका घरहरू चुहिने र भत्किन थालेपछि पलास्टिकको टनेल वितरण गरेका थियौँ ।’ मुस्ताङबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य विकल शेरचन जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि भौतिक निर्माणलाई वातावरणमैत्री बनाउनुपर्ने, इन्धन खपत कम गर्ने, जैविक विविधताको संरक्षण र विकसित देशले हरितगृह ग्यास उत्सर्जन गरेबापत दिने क्षतिपूर्ति रकमलाई अनुकूलनका कार्यक्रम बनाएर परिचालन गर्नुपर्ने बताए । सरकारले मुस्ताङमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि ५० करोडको कार्यक्रम सञ्चालन गर्ने भएको छ । यही कात्तिक १ गते राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जोमसोममा आयोजना गरेको ‘जलवायु संवाद’ मा भाग लिन आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र वन तथा वातावरणमन्त्री वीरेन्द्रकुमार महतोले सो बजेट उपलब्ध गराउने घोषणा गरेका थिए । ‘जलवायु परिवर्तनका क्षेत्रमा काम गर्ने विदेशी दातृ निकायबाट प्राप्त हुने ५० करोड मुस्ताङमा खर्चने निर्णय गरेका छौँ,’ प्रधानमन्त्री प्रचण्डले भनेका थिए, ‘संयुक्त राष्ट्रसंघको हालै सम्पन्न महासभालगायत अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तनले नेपालमा पुर्याएको क्षति र सम्भावित जोखिमबारे गम्भीरताका साथ विषय उठाएको छु ।’ वन तथा वातावरणमन्त्री महतोले जलवायु परिवर्तनको असर र क्षति न्यूनीकरण गर्न विकास योजनालाई वातावरणमैत्री बताउनुपर्ने बताए । ‘अवैज्ञानिक किसिमको निर्माणले प्रकृतिमा असर गरेको छ,’ उनले भने, ‘भविष्यमा हुने क्षति र असरको विश्लेषण नगरी विकासका काम गर्ने प्रवृत्ति रोक्न आवश्यक छ ।’ जलवायु परिवर्तनका कारण जनजीवनमा परेको असरका बारेमा स्थलगत निरीक्षण र नागरिकको गुनासो सुनेर अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा ती विषय उठानका लागि प्रधानमन्त्री र विभागीय मन्त्रीको उपस्थितिमा संवाद गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव शरदचन्द्र अधिकारीले बताए । रासस
प्रधानमन्त्री प्रचण्डले सडकमा शक्ति प्रदर्शन गर्ने, माओवादी केन्द्रको ६ बुँदे परिपत्र जारी
काठमाडौं । सत्तारूढ दल माओवादी केन्द्रले सडक प्रदर्शन गर्ने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले काठमाडौंमा जनप्रर्दशन गर्ने निर्णय गरेको हो । माओवादी केन्द्रले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र प्रतिगमनको विरोध लगायत विषयमा जनप्रदर्शन गर्ने निर्णय गरेको हो । यसका लागि पार्टीले मातहतका कमिटीमा ६ बुँदे परिपत्र जारी गरेको छ । ‘अभियानकै क्रममा पार्टीको बागमती प्रदेश, जवस सम्बद्ध उपत्यका विशेष प्रदेश र उपत्यका सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा यही मंसिर २२ गते काठमाडौंमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढिकरण, राष्ट्रिय स्वाधीनताको रक्षा र प्रतिगमनको विरोध आदि विषयलाई लिएर जनप्रदर्शन गर्न र गराउन पहल गर्ने निश्चित गरिएको छ’, परिपत्रमा उल्लेख छ । गतवर्ष पुस १० गते तेस्रोपटक प्रधानमन्त्री भएका प्रचण्ड पछिल्लो सयम प्रतिगमनविरूद्ध सडकमा लाखौं जनता उतार्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । संघ, प्रदेश र स्थानीय तहसम्म माओवादी सरकारमा छ ।
आइआइएमएसका प्राध्यापकहरुलाई टेलर्स विश्वविद्यालयद्वारा प्रशिक्षण
काठमाडौं । आइआइएमएस कलेजका प्राध्यापकहरुलाई विश्वको प्रतिष्ठित टेलर्स विश्वविद्यालय, मलेसियाले प्रशिक्षण प्रदान गरेको छ । विश्वस्तरीय शैक्षिक ब्राण्ड स्थापित गरेको विश्वविद्यालयले सम्बन्धन लिएका कलेजहरुको शैक्षिक गुणस्तर र व्यवस्थापन उत्कृष्ट बनाउन प्रशिक्षण प्रदान गरेको हो । आइआइएमएस कलेका अनुसार मलेसिया स्थित विश्वविद्यालयमा अक्टोबर १८ देखि २३ सम्म भएको प्रशिक्षण कार्यक्रममा कलेजको तर्फबाट ७ जना सहभागी भएका थिए । जसमा ब्याचलर अफ कम्प्युटर साइन्स फ्याकेल्टीको तर्फबाट एकेडेमिक को-अर्डिनेटर सुजन अर्याल, प्रोग्राम को-अर्डिनेटर आहाना श्रेष्ठ, लेक्चर सुदिप तिमल्सिना र लेक्चर सचिन श्रेष्ठ सहभागी भएका थिए । त्यस्तै, प्रशिक्षण कार्यक्रममा ब्याचलर अफ इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट फ्याकेल्टीको तर्फबाट एसोसिएट डाइरेक्टर अस्वीनी कुमार लघु, प्रोग्राम को-अर्डिनेटर रिमा मानन्धर र टिम लिडर तथा लेक्चर सुमित रायमाझी सहभागी भएका थिए । कार्यक्रममा सहभागी ब्याचलर अफ इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्टका एसोसिएट डाइरेक्टर अस्वीनी कुमार लघुले विश्वविद्यालयमा आफूहरुले प्रशिक्षण र अध्ययन अवलोकन भ्रमण गरेको बताए । टेलर्स विश्वविद्यालयमा के कसरी अध्यापन गर्ने काम गरिन्छ, शैक्षिक प्रशासनको व्यवस्थापन कसरी हुन्छ, अध्ययन अध्यापनमा सूचना प्रविधिको प्रयोग कसरी गरिन्छ, परीक्षा कसरी लिने काम गरिन्छ लगायतका विषयहरुमा प्रशिक्षण र अवलोकनको माध्यमबाट अनुभव आदानप्रदान गर्ने काम गरिएको थियो । एसोसिएट डाइरेक्टर लघुका अनुसार विद्यार्थीलाई कसरी पढाउने, शिक्षण सामग्री कसरी बनाउने, संकायमा के–के विषयहरुको आवश्यक पर्छ, परीक्षा पत्र कसरी तयार गर्ने जस्ता महत्वपूर्ण विषयहरु टेलर्स विश्वविद्यालयले प्रशिक्षण तथा प्रत्यक्ष अवलोकनको माध्यमबाट अनुभव प्रदान गर्ने काम गरेको थियो । प्रशिक्षणको क्रममा विद्यालय तह अर्थात् कक्षा १२ उत्तिर्ण भएर विश्वविद्यालय तहको अध्ययन गर्न आउने विद्यार्थीहरुमा के कस्ता मनोवैज्ञानिक समस्या देखिन सक्छन र ती समस्याहरु समाधान गर्न के कसरी परामर्श गर्ने भन्ने विषयमा पनि अनुभव आदान प्रदान गरिएको थियो । विश्वस्तरीय शैक्षिक प्रतिष्ठा हासिल गरेको टेलर्स विश्वविद्यालयको कलेजमा कसरी गुणस्तर कायम गर्न नीतिगत र व्यवहारिक रुपमा के–के गर्न आवश्यक छ भन्ने विषयमा पनि धारणा साझा गर्ने काम भएको कार्यक्रममा सहभागी भएका एसोसियट डाइरेक्टर लघुले बताए । उनका अनुसार आधुनिक प्रविधिलाई अध्यापनमा कसरी जोड्ने, भौतिक पूर्वाधार कस्तो हुनुपर्ने विषयमा पनि प्रशिक्षण तथा अनुभव आदानप्रदान गरिएको थियो । टेलर्स विश्वविद्यालयमा सम्बन्धन लिएर सञ्चालन भएका कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुलाई एक सेमेस्टर विश्वविद्यालयमा नै अध्ययन गर्ने सुविधा रहेको छ, सो विषय र विश्वमा जुनसुकै ठाउँमा कलेजका विद्यार्थीलाई कसरी इन्टर्नसिपमा पठाउन सकिन्छ भन्ने विषयमा पनि आवश्यक छलफल भएको उनले बताए । साथै, विद्यार्थीहरुको तथ्यांक फाइलिङ कसरी व्यवस्थापन गर्ने विषयमा पनि प्रशिक्षण तथा अवलोकनमार्फत् धारणा साझा गरिएको थियो । टेलर्स विश्वविद्यालयले सम्बन्धन आफूसँग सम्बन्धन लिएका कलेजहरुलाई नियमित नियमन गर्ने, आवश्यक प्रशिक्षण दिने, विश्वविद्यालयकै लेक्चरहरुमार्फत् प्रत्यक्ष अध्यापन गराउने काम गर्दै आएको छ । प्रशिक्षणको सन्दर्भमा अहिलेसम्म भर्चुअल हुने गरेकोमा पहिलोपटक कलेजका प्राध्यापकहरुलाई विश्वविद्यालयमा नै आमन्त्रण गरेर प्रत्यक्ष प्रशिक्षण तथा अवलोकनको अवसर प्रदान गरेको हो । विश्वविद्यालयले प्रदान गरेको सो अवसरले आइआइएमएस कलेजको आगामी शैक्षिक तथा व्यवस्थापकीय गुणस्तर थप विकास योगदान पुर्याउने अपेक्षा गरिएको छ ।