विकासन्युज

डब्लूएचओको क्षेत्रीय निर्देशक बन्ने दौडमा आचार्य, ५०० मिलियन डलरको बजेट चलाउने अवसर

काठमाडौं । विश्व स्वास्थ्य संगठनको दक्षिण पुर्वी एशिया क्षेत्रीय निर्देशकमा नेपालले लामो समयदेखि विश्व स्वास्थ्य संगठनमा काम गर्दै आएका डा. सम्भु आचार्यलाई प्रस्ताव गरेको छ । सोही पदका लागि बंगालादेशकी डा. साइमा बाजेदले उम्मेदवारी दिएकी छन् । आचार्य नेपालको तर्फबाट डब्लुएचओमा काम गरेर माथिल्लो ओहदामा पुगेका पहिलो नेपाली हुन् । उनी डब्लुएचओको मुख्यालय जेनेभामा कार्यरत रहँदै आएका छन् । त्यस्तै बंगालादेशकी साइमा जाबेद पेसाले क्लिनिकल साइकोलोजिस्ट र बंगालादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी हुन् । विश्व स्वास्थ्य संगठनको दक्षिण पूवी एशिया क्षेत्रमा नेपालसहित बङ्गलादेश, भूटान, दक्षिण कोरिया, भारत, इन्डोनेसिया, माल्दिभ्स, म्यानमार, श्रीलङ्का, थाइल्याण्ड र पूर्वी टिमोर गरी ११ देश रहेका छन् । सो क्षेत्रको निर्देशक बन्नको लागि बहुमत देशका स्वास्थ्य मन्त्रीहरुले मत दिनुपर्ने हुन्छ । त्यसैले विश्व स्वास्थ्य संगठनको सो महत्वपूर्ण पदमा आचार्यलाई नियुक्त गर्नका लागि नेपालको तर्फबाट कुटनीतिक भूमिका महत्वपूर्ण देखिन्छ । सोमबारदेखि डब्लुएचओको दक्षिण पूर्वी एशियाको ७६ औं बैठक शुरु भएको छ, जुन नोभेम्बर ३ सम्म चल्नेछ । सो बैठकमा ११ वटै देशका स्वास्थ्यमन्त्री र डब्लुएचओका महानिर्देशक सहित उच्च अधिकारीहरु सहभागी हुनेछन् । सो बैठकमा नेपालका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत पनि सहभागी भएका छन् । अहिलेसम्मको अवस्थामा क्षेत्रीय निर्देशकको लागि नेपाल र बंगालादेश दुवैले अगाडि सारेको उम्मेदवारको पक्ष वा विपक्षमा कसैले पनि आफ्नो औपचारिक धारणा अगाडि सारेका छैनन् । नेपालले निर्देशक पदको लागि अगाडि सारेका उम्मेदवार आचार्यले तीन दशक बढी समय डब्लुएचओमा काम गरेका क्षमतावान र अनुभवी व्यक्ति हुन् तर, उनले बंगालादेशकी प्रधानमन्त्रीकी छोरीसँगको प्रतिस्पर्धालाई सामना गर्ने विषयलाई महत्वपूर्ण ढंगले हेरिएको छ । निर्देशक पदमा नियुक्ति हुने व्यक्तिले झण्डै २ अर्ब मानिसमा पाँच सय मिलियन डलर बराबरको बजेट रहने कार्यक्रम सञ्चालन गर्ने अधिकार राख्छ । नेपालले आफ्नो उम्मेदवारलाई सो पदमा नियुक्तिको लागि आवश्यक कुटनीतिक मत सिर्जना गर्न सकेमा दक्षिण एशियाली कुटनीतिक सम्बन्ध विस्तार र नेपालको स्वास्थ्य क्षेत्रमा थप लाभ प्राप्त गर्न सक्छ । नेपालले यस अगाडि क्षेत्रीय निर्देशक पदमा नियुक्ति गर्दा भारतलाई समर्थन गर्दै आएको थियो । डब्लुएचओको दक्षिण पूर्वी एशियाली क्षेत्रीय संगठनमा रहेका अन्य देशहरुसँग पनि नेपालको राम्रो सम्बन्ध रहँदै आएको छ । तर, नेपालले कुटनीतिक रुपमा अन्य सदस्य राष्ट्रहरुलाई कति विस्वास दिलाउन सक्छ भन्नेमा आचार्यको नियुक्तिको सम्भावना रहेको देखिन्छ । आजदेखि बिहीबारसम्म सञ्चालन हुने क्षेत्रीय सत्रमा गोप्य मतद्वारा निर्देशक पद चयन हुन्छ । त्यसपछि जनवरीमा हुने डब्लुएचओको कार्यकारी बोर्डको बैठकले जिम्मेवारी प्रदान गर्नेछ ।

गुटेरेस माला र टोपीमा सजिँदा…

  गण्डकी । पोखरा भ्रमणमा आएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई पोखरेलीले आत्मीयतापूर्वक स्वागत गरेका छन् । नेपाली सेनाको विमानमार्फत आज दिउँसो पोखराको पुरानो विमानस्थलमा ओर्लिएका उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहितको टोलीले भव्य स्वागत गरेको हो । मुख्यमन्त्री पाण्डेले सयपत्री फूलको माला र पोखरा महानगरका प्रमुख धनराज आचार्यले ढाकाटोपी पहिराएर महासचिव गुटेरेसलाई स्वागत गरेका थिए ।  उनको स्वागतमा प्रदेश सरकारका मन्त्री, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखलगायत उच्चपदस्थ व्यक्तिहरू विमानस्थल पुगेका थिए । तिहारको छेकोमा पोखरा भ्रमणमा आएका महासचिव गुटेरेस सयपत्रीको माला र ढाका टोपीमा सजिँदा नेपालीपन झल्केको थियो । खुसी मुद्रामा उनले पोखरेलीको न्यानो स्वागत ग्रहण गरेको देखिन्थ्यो । शरदयामको घमाइलो दिन भएकाले प्रकृतिले पनि महासचिव गुटेरेसलाई स्वागत गरे झैँ भान मिल्थ्यो । आज बिहानैदेखि पोखराको मौसम खुलेको थियो । महासचिव गुटेरेसको स्वागतार्थ विमानस्थलको बाहिरपट्टी सांस्कृतिक झाँकीसहित मौलिक नाच प्रस्तुत गरिएको थियो । नेवारी समुदायमा प्रचलित तायमचा, जनजाति समुदायको सोरठी, नौमती बाजालगायत मौलिक संस्कृति देखाइएको थियो । परम्परागत वेशभूषामा सजिएका आमा समूह, जनप्रनिधि, पर्यटन व्यवसायीलगायतले महासचिव गुटेरसलाई स्वागत गरेका थिए । चारदिने औपचारिक भ्रमणमा क्रममा आइतबार नेपाल आएका उनी आज पोखरा भ्रमणमा आएका हुन् । उनी सोमबार फेवा किनारस्थित होटल फिस्टेलमा बस्ने छन् । महासचिव गुटेरेस मङ्गलबार बिहान विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल अन्नपूर्ण आधार शिविर जाने कार्यक्रम छ । त्यहाँ उनले जलवायु परिवर्तनले हिमाली जनजीवनमा पारेको असरबारे स्थानीयवासीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए। अन्नपूर्ण आधार शिविरबाट फर्केपछि पोखरा विमास्थलमा पत्रकारसँग साक्षात्कार गर्ने कार्यक्रम तय भएको उनको भनाइ छ । महासचिव गुटेरेसको भ्रमणलाई लक्ष्य गरी पोखराको सुरक्षा प्रबन्ध चुस्त पारिएको छ । उनी लुम्बिनी भ्रमणका लागि मङ्गलबार बिहान पोखराबाट भैरहवा प्रस्थान गर्ने जनाइएको छ । महाचिव गुटेरेसको भ्रमणसँगै पछिल्लो समय पोखरा अतिविशिष्ट विदेशी पाहुनाको भ्रमणस्थलका रूपमा स्थापित हुँदै गएको छ । फ्रान्सका हिमाल आरोही मौरिस हर्जोगले सन् १९५० जुन ३ मा सर्वप्रथम अन्नपूर्ण प्रथमको सफल आरोहण गरेसँगै अन्नपूर्ण हिमाल र यससँग प्रत्यक्ष जोडिएका पोखरालगायतका गन्तव्यहरूले पर्यटकीय महत्त्व पाएका हुन् । अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले गरेको अन्नपूर्ण आधार शिविरको पदयात्रा पछि पोखरालाई आधार बनाएर अन्नपूर्ण, धवलागिरिजस्ता हिमालका पेरिफेरीमा पदयात्रातर्फ पनि आकर्षण बढेको हो । सन् १९६० देखि हिप्पी पर्यटकको आगमनले पोखराको पर्यटकीय गतिविधि बढेको पाइन्छ । सन् १९८० को दशकदेखि फस्टाउँदै गएको यहाँको पर्यटनलाई समय समयमा हुने गरेका अतिविशिष्ट व्यक्तिको आगमनले यहाँको गरिमा र महिमा अझै चुलिएको हो । इतिहासमा उल्लेख भएअनुसार यसअघि सन् १९६१ मा बेलायती महारानी एलिजावेथ द्वितीया र सन् १९६३ मा भारतीय राष्ट्रपति राधाकृष्णनले पनि पोखराको भ्रमण गरेका थिए । त्यसयता पोखरामा विसं २०७२ चैतमा सम्पन्न सार्क मन्त्रिपरिषद् बैठक (मिनी सार्क सम्मेलन), त्यसलगत्तै भएको बेलायती राजकुमार ह्यारीको भ्रमणदेखि विसं २०७३ कात्तिकमा भएको भारतीय राष्ट्रपति मुखर्जीसम्मका औपचारिक भ्रमणले यहाँको महत्वलाई अझै बढाएको थियो । पोखरामा विसं २०७६ कात्तिकमा बङ्लादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद फेवातालमा डुङ्गा सयरदेखि हिमाल अवलोकन आदि गतिविधिमा सरिक बनेका थिए ।  पोखरा आएका अतिविशिष्ट व्यक्तिले यस स्थललाई प्रकृतिको वरदान आदि उपमा दिनुले पनि यहाँको विश्वव्यापी प्रवद्र्धन भइरहेको छ । महासचिव गुटेरेसको भ्रमणलाई पोखरेलीले यहाँको विश्वव्यापी पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण अवसरका रुपमा लिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । रासस

नेपालका ६ लाख घर रित्तै, एक तले घरमा बस्छन् अधिकांश परिवार

काठमाडौं । नेपालमा रहेका कुल घरहरु मध्ये सबैभन्दा बढी एक तले घरहरु रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार जारी गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपाल भर रहेका कुल ७५ लाख ५२ हजार ६६ वटा घरहरुमध्ये सबैभन्दा बढी ५९.८२ प्रतिशत एक तले घर रहेको पाइएको हो । त्यस्तै, दोस्रोमा २८.७८ प्रतिशत २ तले, ९.१७ प्रतिशत ३ तले, १.३ प्रतिशत ४ तले, ०.६४ प्रतिशत ५ देखि ७ तले, ०.०१ प्रतिशत ८ देखि ९ तले र ०.००३ प्रतिशत १० भन्दा बढी तले घरहरु रहेको देखिएको छ । तथ्यांक अनुसार मधेश प्रदेशमा एक तला भएको घर सबैभन्दा बढी अर्थात ८४.४२ प्रतिशत रहेको छ भने पाँच वा सोभन्दा बढी तला भएको घर बागमती प्रदेशमा सबैभन्दा बढी २.३४ प्रतिशत रहेको छ । तथ्यांक अनुसार कुल ७५ लाख ५२ हजार ६६ वटा घरहरुमध्ये सबैभन्दा बढी २७.९५ प्रतिशत घर ४ वर्षसम्म पुरानो रहेको छ भने सबैभन्दा कम १०० भन्दा बढी वर्षका घरहरु ०.५ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयका उप–प्रमुख तथ्यांक अधिकारी डा. हेमराज रेग्मीले बताए । त्यसैगरी देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवार मध्ये १०.२७ प्रतिशत परिवारले आवासीय घर निर्माण गर्दा सरकारी अनुदान लिएको देखिएको छ । उक्त प्रतिशत सबैभन्दा बढी बागमती प्रदेशमा २६.६४ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २.९८ प्रतिशत रहेको छ । त्यसैगरी, देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ४१ लाख २२ हजार ६९० अर्थात् ६१.८९ प्रतिशत परिवारमा कम्तिमा १ जना सदस्यको बैंक तथा वित्तीय संस्थामा खाता रहेको देखिएको छ । कुल २ करोड ९१ लाख ६४ हजार ५७८ जनसंख्यामध्ये ७४ लाख ९ हजार १८१ जना अर्थात २५.५६ प्रतिशत व्यक्तिको बैंक तथा वित्तीय संस्थामा कम्तिमा एउटा खाता रहेको पाइएको छ । यसैगरी कुल १ करोड ४२ लाख ५३ हजार ५५१ जना पुरुषमध्ये २६.४२ प्रतिशत र कुल १ करोड ४९ लाख ११ हजार २७ जना महिलामध्ये २४.७४ प्रतिशतको बैंक तथा वित्तिय संस्थामा एउटा खाता रहेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ८ लाख ३६ हजार १२७ अर्थात १२.५५ प्रतिशत परिवारमा कम्तिमा १ जना व्यक्तिले प्राविधिक तथा व्यवसायिक शिक्षा वा तालिम लिएको देखिएको छ । जम्मा १० लाख ८१ हजार ६४६ जना व्यक्ति अर्थात ५.६७ प्रतिशत व्यक्तिले सो तालिम लिएको जनाइएको छ । त्यसैगरी देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये २५.५९ प्रतिशत परिवारले कुनै बैंक तथा वित्तीय संस्था वा सहकारीबाट ऋण लिएको देखिएको छ । सबैभन्दा बढी मधेस प्रदेशमा २८.८८ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २१.९६ प्रतिशतले ऋण लिएको तथ्यांक छ । राष्ट्रिय तथ्यांक कार्यालयका उप–प्रमुख तथ्यांक अधिकारी डा. हेमराज रेग्मीले सार्वजनिक गरिएको तथ्यांकले हाम्रो वित्तिय पहुँच कति छ, सीपयुक्त जनशक्तिको अवस्था, घरको अवस्था कस्तो छ ? लगायतका विषय समेटिएको बताए । उनले यो तथ्यांकले जनशक्ति योजना निर्माण गर्न र राष्ट्रले निर्माण गर्ने आवास योजना बनाउन सघाउ पुग्ने पनि जानकारी दिए । उनले योजना तर्जुमा गर्नका लागि पनि यसको भुमिका हुने उल्लेख गरे । उप–प्रमुख तथ्यांक अधिकारी रेग्मीले करिब ६ लाख भन्दा बढी घरहरु रित्तो अवस्थामा रहेको पनि बताए ।

‘मसँग दुई/अढाई करोडको पोर्टफोलियो छ, ऋणले सेयर बजारलाई प्रभाव पार्दैन’

पछिल्लो समय केन्द्रिय बैंकसँग धेरैको ठूलो अपेक्षा छ । कोरोनाकालमा राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् केही रिल्याक्सेसन दिएपछि मानिसहरुको राष्ट्र बैंकप्रति बढी अपेक्षित बने । तर, त्यस्तो होइन । राष्ट्र बैंकको पनि आफ्नै दायरा छन् । केन्द्रिय बैंक के हो ? यसको मेन्डेट के हो ? यसका सीमाहरु के–के हुन् ? यस विषयमा सबैले स्पष्ट हुन जरुरी छ । आर्थिक स्थायित्व कायम गर्ने, मूल्य स्थीरता कायम गर्ने, वित्तीय क्षेत्रको स्थायित्व र सरकारले लिएका आर्थिक एजेण्डाहरु कार्यान्वयन गर्ने काम केन्द्रिय बैंकको हो । यो काम राष्ट्र बैंकले गरिरहेको छ । अनावश्यक रुपमा मुद्रास्फिति बढ्न नदिनका लागि केन्द्रिय बैंकले नीति लिन्छ । सरकारले रोजगारी बढाउने, अर्थतन्त्रको विकार विस्तार गर्ने, बजार चलायमान गराउने र निजी क्षेत्रसँग समन्वय गराउन वित्तीय नीतिमार्फत् काम गर्छ । तर, त्यो काम केन्द्रिय बैंकको होइन । केन्द्रिक बैंकले वित्तीय प्रणालीमा प्रयाप्त रुपमा तरलता उपलब्ध गराउने हो । मार्केटलाई लिक्विड गराउने हो । आर्थिक वृद्धि र रोजगारी सिर्जना वित्त नीतिले नै गर्ने हो । तर, राष्ट्र बैंक समक्ष मान्छेहरुका अपेक्षा बढे । पछिल्लो समय अधिकांशले सेयर बजारको घटबढको कारक राष्ट्र बैंकको नीतिलाई लिए । मेरो अनुरोध छ, राष्ट्र बैंकलाई सेयर बजारसँग नजोडिदनुस् । १८ सय, २ हजार, ३२ सयको इन्डेक्सलाई राष्ट्र बैंकको नीतिसँग जोड्नु हुँदैन । जोड्नु छ भने नेपाल धितोपत्र बोर्ड, नेप्सेसँग जोड्नुस् । राष्ट्र बैंकले लिएका नीतिहरु उत्पादनशील क्षेत्रमा कसरी ऋण परिचालन गर्न सकिन्छ भन्ने नै हो । त्यसमा पनि हामीले सेयर बजारमा ऋण प्रवाह बन्द गरेका छैनौं । एउटा व्यक्तिले १२/१५ करोडको ऋण लिनु भनेको धेरै हो । यो रकम भनेको सानो होइन । ऋणले सेयर बजार बढाउने होइन । सेयरका लागि फण्डामेन्टल एनालायसिस आवश्यक हुन्छ । अर्थतन्त्र सबल हुँदा माथि जान्छ । कमजोर भएको बेला घट्छ । यसलाई अन्यथा लिनु हुँदैन । सेयर लगानीकर्ताले बैंकको भर पर्नु हुँदैन । हामीले धेरै क्षेत्रहरुलाई प्राथमिकतामा राख्नु पर्नेछ । बैंकले जलविद्युत, पर्यटन तथा पूर्वाधार लगायत क्षेत्रहरुमा लगानी बढाउनु पर्नेछ । त्यसैले बैंकको ऋणमा लगानीकर्ताले भर पर्नु हुँदैन । ऋणको भर पर्नु भयो भने यस्तै उतारचढाव भइरहन्छ । ऋण नपाइँदा सेयर बजार घट्नु भएन । राष्ट्र बैंकलाई यसमा दोष दिनु हुँदैन, लिंक गर्नु हुँदैन । यहाँ कतिपय मान्छेले धेरैलाई फसाएका छन् । आफु जोगिनका लागि एर्कालाई आरोप लगाइरहेका छन् । कति मान्छेहरुले बाठा कुरा गरेर बिकिरहेका छन् । उनीरुले राष्ट्र बैंकलाई दोष लगाएर आफु उम्किन खोजिरहेका छन् । १५ करोडको सीमा सानो फिगर हो ? भारतीय केन्द्रिय बैंकले १० लाख रुपियाँको मात्रै सिलिङ तोकेको छ । राष्ट्र बैंकको नीतिलाई दोष दिएर गाली गर्नु भनेको आत्मसन्तुष्टि लिनु मात्रै हो । यहाँ आफु डुबेपछि अर्कालाई दोष लगाउने परिपाटी छ । अर्थतन्त्र राम्रो चल्यो भने यो इन्डेक्स के हो र ? आफै माथि जान्छ । धेरै देशको सेयर बजारको इन्डेक्स कति माथि पुगेको हुन्छ । कम्पनीहरुले राम्रो लाभांश दिने वित्तिकै सेयर बजार आफै बढ्छ । नेपालमा पनि १५ सय प्रतिशत लाभांश दिने कम्पनीहरु छन् । ती कम्पनीहरुको सेयरमूल्य पनि उच्च छ । भोलि सबै कम्पनीहरुले त्यस्तै लाभांश दियो भने इन्डेक्स अवश्य नै बढ्छ । त्यसमा बैंकले दिने ऋणले कुनै प्रभाव पर्दैन । कम्पनी राम्रो हुने वित्तिकै सेयर बजार बढ्छ । कहिले काहिँ राजनीतिक नेतृत्वले पनि मलाई फोन गर्नु हुन्छ । उहाँहरुले फोन गर्नु पनि स्वभाविक हो । राजनीतिक नेतृत्वले कार्यकर्ताको कुरा सुन्नु पर्छ । उहाँहरुले भन्नु पनि पर्छ । तर, हामीले सही वा कस्तो सल्लाह भनेर बुझेर निर्णय लिने हो । यहाँ मासले भनेको आधारमा कतिपय नीति बन्छन् । त्यो गलत हो । माइतीघरमा भएको धर्नाको भरमा नीति परिवर्तन गरेकोले पछि त्यसको ठूलो प्रभाव पर्छ । यो विषयलाई पनि मनन् गर्नु पर्छ । आफुले सही गरेको छ कि छैन भनेर आत्मसमीक्षा गर्नु पर्छ । मासले भन्यो भन्दैमा निर्णय लिनु हुँदैन । मासले धेरै कुरा गाइड गर्छ । तर, म आफु सही ठाउँमा छु । मेरो ड्युटी सही रुपले गरिरहेको छु । मलाई कसैले गाली गर्यो, आलोचना गर्यो भनेर म काउन्टर गर्दिनँ । संस्थाले गरेको काम पुनर्विचार भने गर्नु पर्छ । गरेको काम रिभिजिट गर्नु पर्ने हुन्छ । तर, मासले जे भन्यो त्यही गर्यो भने पछि ठूलो असर पर्न सक्छ । अहिले राष्ट्र बैंकसँग धेरैको आक्षेप र अपेक्षा धेरै छन् । आक्षेप पोजिसनमा भएकोलाई आउँछ । हामी अधिकांश निर्णय सामुहिक रुपमा गर्छौं । राष्ट्र बैंकले समग्रतामा हेर्नु पर्छ । सबै क्षेत्रको विकास र विस्तार हुनु पर्छ भन्ने कोणबाट राष्ट्र बैंकले काम गर्छ । तर, केही क्षेत्रका मान्छेहरुले यो काम भएन, त्यो काम भएन, यस्तो हुनु पथ्र्यो, यस्तो भयो भन्ने खालका टीप्पणी गर्नु हुन्छ । तर, हामीले सबै क्षेत्रलाई सन्तुलित रुपमा अगाडि बढाउने हो । केहीले हामीलाई गाली पनि गर्छन् । हामीले त्यसलाई स्वभाविक रुपमा लिन्छौं । हुन त म सेयर बजारको विषयमा विज्ञ होइन । मैले आफै पनि फोर्स सेभिङ गरेको छु । सिए पढेर आउँदा मैले पनि केही लगानी गरेको थिएँ । राष्ट्र बैंकमा आएपछि स्वार्थ बाझिने बाहेक क्षेत्रमा लगानी पनि गरेको छु । मसँग दुई/अढाई करोडको पोर्टफोलियो होला । तर, अहिले कामको व्यवस्तताले नियमित पोर्टफोलियो हेर्ने समय हुँदैन । गभर्नरका रुपमा रिटायर्ड भएपछि हेर्नु पर्ला । (गभर्नर अधिकारीले ‘बिएन पोडकाष्ट’ मा राखेकाे धारणाको सम्पादित अंश)

चाडपर्वमा कालोबजारी गर्नेलाई केही गर्न सकेनौँ : मन्त्री रिजाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले चाडपर्वमा कालोबजारी गरी उपभोक्ताहरु ठगी गर्नेहरुलाई कुनै कारबाही गर्न नसकिएको बताएका छन् । आईतबार विधायन व्यवस्थापन समितिको बैठकमा विद्युतीय व्यापार सम्बन्धी विधेयक, २०८० बारे छलफलमा भाग लिँदै उहाँले विद्युतीय व्यापारसम्बन्धी ऐनहरु बन्न नसक्दा कालोबजारी गर्नेहरुलाई कारबाहीको प्रक्रिया अघि बढाउन नसकिएको बताएका हुन् । उनले समातिएका ठूला कालोबजारी गर्ने व्यक्तिहरु तीन लाख तिरेर छुट्ने गरेको भन्दै उनले जरिबानाको दायरा ठूलो बनाउन आवश्यक रहेको बताए । उनले ठूलो कालोबजारी गर्नेहरुलाई कसुरको आधारमा हेरेर दुईदेखि १० लाखसम्म जरिबाना गर्ने प्रावधान राख्नुपर्ने बताए । उनले भने, ‘५० हजारदेखि ३ लाख सम्मको जरिबाना छ । समातिएका ठूला कालोबजारीहरुलाई ३ लाखै त हो भनेर फुत्किने गरेका छन् । त्यसकारण हामी सचेत हौँ । जेल हाल्ने त कुरै छैन, कसले हाल्छ, कहाँ हाल्छ ? अनुगमन गरेर जेल हाल्ने कुरा होइन, तर ठूलो ठगीको लागि सजाय राखिएको हो । सानोलाई त ३ लाखदेखि ५ लाख जरिबाना राखिएको छ । यसलाई कसुर हेरी २ देखि १० लाख गर्नुपर्छ । कालोबजारीहरुलाई हामीले यसपालि केही गर्न सकेनौँ । गयो समात्यो, २० हजार फाइन गरेका थियौँ, ठूलालाई ३ लाख गर्ने हो तर उठाउने कानून छैन, नदिए कसरी अघि बढ्ने भन्ने छैन ।’ मन्त्री रिजालले जरिबाना तिराएकाहरुले जरिबाना नतिरे कसरी उठाउने भन्नेसम्मको कानून नरहेको जिकिर गरे ।

रुकुम पश्चिमबाट ६९ करोड बढीको माछामासु बिक्री

रुकुम पश्चिम । रुकुम पश्चिममा एक वर्षको समयमा जिल्लाभरबाट ६९ करोडभन्दा धेरैको माछामासु बिक्री भएको छ । गत आव २०७९-८० मा जिल्लाका विभिन्न ठाउँबाट उत्पादन भएको माछा मासु जिल्ला भित्र र बाहिर गरेर ६९ करोड १९ लाख आठ हजार रुपैयाँको माछामासु बिक्री भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय निमित्त प्रमुख ज्ञानुकुमार शर्माले जानकारी दिए ।  उनका अनुसार मासु ६७ करोड १४ लाख र माछा दुई करोड पाँच लाख रुपैयाँको बिक्री भएको छ । माछा मासु उत्पादन र प्रयोगका हिसाबले जिल्ला आत्मनिर्भर बन्दै गएको निमित्त प्रमुख शर्माले बताए । ‘तीन नगरपालिका तीन गाउँपालिका रहेको रुकुम पश्चिममा माछामासुमा पछिल्लो समय आत्मनिर्भर बनेको छ । स्थानीय उत्पादनले नै जिल्लामा माछामासुको आवश्यकता पूरा भई जिल्ला बाहिरसमेत खसी, बोका बिक्री भइरहेको छ’, उनले भने । जिल्लामा गत आव २०७९-८० मा आठ सय ३९ दशमलव २६ मेट्रिकटन अर्थात् आठ लाख नौ हजार दुई सय २० केजी मासु उत्पादन भएर बिक्री भएको छ भने माछा दुई सय ३१ मेट्रिकटन अर्थात् दुई लाख ३१ हजार केजी उत्पादन भएको छ ।  जिल्लामा मासु पर्याप्त भएपछि खसी, बोका चितवन काठमाडौँलगायतका विभिन्न बजारमा पठाउने गरिएको छ । जिल्लाको आठबीसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकामा व्यावसायिकरुपमा बाख्रापालन गरिएकाले धेरै मामु उत्पादन हुने गरेको निमित्त प्रमुख शर्माको भनाइ छ । माछाका लागि जिल्लामा विशेष गरी स्र्यापू ताल, भेरी नदी, मुसीकोट नगरपालिका र त्रिवेणी गाउँपालिकामा उत्पादन हुने गरेको छ । स्थानीय उत्पादनले अण्डामा भने जिल्ला अपर्याप्त रहेको उनको भनाइ छ । व्यावसायिकरुपमा अण्डाका लागि कुखुरापालन नगरिएकाले जिल्लामा अण्डा पोखरा, चितवन दाङबाट ल्याउनुपर्ने बाध्यता रहेको पशु अस्पताल तथा पशुसेवा कार्यालय रुकुम पश्चिमले जनाएको छ । रासस

द क्लिफमा ८४ वर्षीय क्यानडियन नागरिकले गरे बञ्जी

काठमाडौं । एड्भेन्चर हब ‘द क्लिफ’मा ८४ वर्षीय क्यानडिएन नागरिक मिसेल जुत्रासले बञ्जी गरेका छन् । उनले पटक बञ्जी तथा स्विङका साथै स्काई साइक्लिङ, स्काई ग्लाइडिङ लगायत अन्य साहसिक खेलहरूको मज्जा लिएको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए । ८४ वर्षीय मिसेलले बञ्जी गरि क्लिफमा सबैभन्दा बढी उमेर समूह अन्तरगर्तका रेकर्ड कायम गरेका छन् । यस अघि ६६ वर्षीय विदेशी महिलाले क्लिफमा बञ्जी गरेकी थिइन् । बञ्जीपछि निकै उत्साहित रहेका क्यानडिएन नागरिक मिसेलले क्लिफमा आफूले निक्कै मज्जा लिएको बताए । राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथी पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प निर्माण गरिएको छ । बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो ब्यवसायिक स्काइ साइक्लिङ, स्काइ क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे लगायत गतिविधि सञ्चालनमा छन् ।

नेप्सेमा सामान्य अंकको वृद्धि, साढे ६९ करोडको कारोबार

काठमाडौं। साताको दोस्रो दिन सोमबार सेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । सोमबार सेयर बजारमा ३.०४ अंकको वृद्धि भई इन्डेक्स १८७८.७० अंकमा पुगेर बन्द भएको हाे । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १२८ कम्पनीको सेयर मूल्य बढ्यो भने ९७ कम्पनीको सेयर मूल्य घट्न पुग्यो । त्यस्तै, १४ कम्पनीको सेयर मूल्य घटबढ भएन । सोमबार कूल ६९ करोड ४२ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज पन्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ७.८२ प्रतिशतले वृद्धि भएको छ। आज सोनापुर मिनिरल्स एन्ड वेल लिमिटेडका लगानीकर्ता सर्वाधिक गुमाउन पुगे । आज पनि सोनापुर कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेकाे छ। आइतबार पनि यस कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको थियो।