विकासन्युज

१० प्रतिशत ब्याजदर भएको कुमारी बैंकको ऋणपत्र बाँडफाँट

काठमाडौं । कुमारी बैंकको ऋणपत्र बाँडफाँट गरिएको छ । बैंकको ५ अर्ब रुपैयाँको ऋणपत्र कात्तिक १९ गते आइतबार बाँडफाँट गरिएको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले जानकारी दिएको छ । बैंकले कात्तिक २ गतेदेखि कात्तिक १३ गतेसम्म १० वर्ष अवधिको ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ ऋणपत्र बिक्री गरेको थियो । बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्य दरका ५ अर्ब रुपैयाँको ५० लाख कित्ता ऋणपत्र बिक्री गरेको थियो । जसमध्ये ६० प्रतिशत अर्थात् ३० लाख कित्ता व्यक्तिगत र बाँकी ४० प्रतिशत अर्थात् २० लाख कित्ता सर्वसाधारणलाई बिक्री गरेको थियो । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग तथा सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालन गरेको आईपीओ रिजल्टमार्फत् नतिजा हेर्न सकिने छ ।

हिमालयन रिको आईपीओ निष्काशन मिति सारियो, अब ४ मंसिरदेखि बिक्री गर्ने

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले मंसिर ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ बिक्री गर्ने भएको हो । यसअघि कम्पनीले कात्तिक २१ गतेदेखि आईपीओ निष्काशन गर्ने तयारी गरेको थियो । तर, निष्काशन अवधिमा तिहारको लामो सार्वजनिक बिदा परेका कारण लगानीकर्ताहरुको सहजीकरण लागि आवेदन दिने समय सारेको कम्पनीले बताएको छ । कम्पनीले हाल कायम जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँको ३ करोड कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई ३० लाख कित्ता, कर्मचारीलाई ६ लाख कित्ता र सामूहिक लगानी कोषलाई १५ लाख कित्ता सेयर बिक्री गर्नेछ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सेयर बिक्री गर्न लागेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सक्ने छन् । आवेदन निष्काशन मिति परिवर्तन भएपछि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अब मंसिर १८ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओमा सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत् आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।

तीन वटा नियामकलाई लेखा समितिको प्रश्नै प्रश्न : प्रिमियममा आईपीओ निकाल्दा असर त गर्दैन ?

काठमाडौं । सार्वजनिक लेखा समितिले आईपीओ निष्काशन प्रक्रियामा प्रश्न उठेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल बीमा प्राधिकरण र कम्पनी रजिष्ट्रारको कार्यालयलाई स्पष्टिकरण सोधेको छ । प्रिमियम मूल्यमा आईपीओ निष्काशन प्रक्रियाका विषयमा उजुरी परेपछि समितिले सेबोन, प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालयलाई ७ दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । ‘कम्पनीको आईपीओ निष्काशन प्रक्रियाका बारेमा उजुरी परेको छ, सार्वजनिक रुपमा प्रश्न समेत उठेका छन्, त्यसैले सेबोन र बीमा प्राधिकरणलाई केही प्रश्नसहित ७ दिनभित्र स्पष्टिकरण गर्न भनेका हौं,’ विकासन्युजसँग भने । उनका अनुसार आईपीओ निष्काशन प्रक्रियाले पार्ने प्रभाव, सर्वसाधारणलाई पर्ने असर, मुलुकको राजस्वमा पर्ने असर, मूल्याङ्कनका विधि के हुन्, कानुन आकर्षित हुन्छन् की हुँदैन भन्ने विषयमा समितिले लिखित जवाफ माग गरेको हो । पछिल्लो समय विभिन्न कम्पनीहरुले धमाधम प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न थालेपछि समितिले पत्राचार मात्रै गरेको समितिका सचिव एकराम गिरीले जानकारी दिए । उनका अनुसार समितिमा प्राप्त उजुरीका आधारमा आईपीओ निष्काशन प्रक्रियामा भएका गतिविधि र कागजात उपलब्ध गराउन निर्देशन दिइएको हो । ‘सार्वजनिक महत्वका विषयमा समितिमा उजुरी पर्छन्, प्रिमियम मूल्यमा आईपीओ बिक्री गरेको विषयमा उजुरी प्राप्त भएको थियो, त्यसमा के कसो भएको हो भनेर सेबोन, बीमा प्राधिकरण र कम्पनी रजिष्ट्रारको कार्यालयलाई पत्राचार गरेको हो,’ उनले भने । तर, आईपीओ निष्काशन प्रक्रिया रोक्न निर्देशन नदिएको सचिव गिरी बताउँछन् । प्राप्त भएका कागजातका आधारमा समितिले थप अध्ययन गरेर निर्णय गर्ने उनको भनाइ छ । ‘तीनै संस्थाले पठाएको प्रमाणका आधारमा समितिले अध्ययन गर्छ, प्रिमियम मूल्यमा आईपीओ निष्काशन प्रक्रिया कानुनसम्मत् छ की छैन हेर्छ, सबै ठिक छ भने प्रक्रिया अघि बढ्छ, यदि कानुनसम्मत् छैन भने किन नभएको भनेर समितिले थप निर्णय लिन्छ,’ उनले भने ।

सहकारी डुबाएका पाठक अन्ततः राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षबाट पनि हटाइए

काठमाडौं । अन्ततः राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष बलराम पाठकलाई पदमुक्त गरिएको छ । सहकारीका बचतकर्ताको बचत अपचलनको आरोप लागेका उनलाई सरकारी बैंकको अध्यक्ष बनाएर बैंकमा पनि आफुखुसी निर्णय गरेकाे विषयमा विकासन्युजले बारम्बार प्रश्न उठाएपछि उनी अन्ततः बैंकको अध्यक्षबाट हटाइएका हुन् । बैंकका स्रोतका अनुसार सञ्चार माध्यम तथा सार्वजनिक रुपमा उनीमाथि प्रश्न उठेपछि बैंकको सञ्चालक समितको बैठकले उनलाई अध्यक्षको रुपमा हटाइएको हो । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले उनलाई हटाइएको बैंक स्रोतको भनाइ छ । उनलाई बैंकको अध्यक्षबाट हटाएर सञ्चालक मात्रै बनाइएको छ भने बैंकको अध्यक्ष बाबुराम सुवेदी बनेका हुन् । उनले बैंकमा पनि आफुखुसी निर्णय गर्ने गरेको पनि बैंक स्रोतको दावी छ । उनी ललितपुरमा रहेको गतिशील बचत तथा ऋण सहकारी संस्थाका निवर्तमान अध्यक्ष हुन् । उनले गतिशिल सहकारी छोडेर सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकको नेतृत्व सम्हालेका थिए । उनले हाल सहकारीमा विकास थापालाई कार्यवाहक अध्यक्ष बनाएका छन् । सहकारीका बचतकर्ताको रकम घरजग्गामा लगानी गरेर उनले सहकारीका लगानीकर्ताको रकम दुरुपयोग गरेका छन् । अहिले घरजग्गा क्षेत्रमा एक किसिमको मन्दी सिर्जना हुँदा सो सहकारीको रकम घरजग्गामा डुबेको हो । उनी विरुद्द विभिन्न ठाउँमा बचतकर्ताले उजुरी दिएका छन् । सहकारीका बचतकर्ताले बचत फिर्ताका लागि पहल गरिदिन विभिन्न निकायहरुमा धाइरहेका छन् । सम्बन्धित सामग्री:  सहकारी डुबाएर सरकारी बैंकको अध्यक्ष, स्वामित्व बिनै नेतृत्वको लाभ  संकटमा परेको गतिशील सहकारीसँग १० जिल्लाको ९२ ठाउँमा जग्गा, सञ्चालकहरु नै अवैध !  गतिशील सहकारीलाई संकटग्रस्त घोषणा गर्न माग, बचतकर्ताले एक वर्षदेखि पाएनन् पैसा   गतिशील सहकारीले बचतकर्ताको ५ हजार पनि फिर्ता गर्न सकेन, ८६ रोपनी जग्गा बेच्दै   सहकारी खोलेर रातारात अर्बपति, संस्था डुबाएर नातेदारलाई नेतृत्व 

एसबिआई बैंक र बिजेएनबीच सहज फाइनान्सिङ सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड र बर्जर जेन्सन एन्ड निकोल्सन नेपाल प्रालि (बिजेएन) बीच बैंकको चालू पुँजी आवश्यकताअन्तर्गत फाइनान्सिङ सहज बनाउन सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका कर्जा अधिकृत अर्जुन नेपाल र बिजेएनका बजार प्रतिनिधितर्फबाट व्यवस्थापन सल्लाहकार साइबल घोशले हस्ताक्षर गरे । यस बैंकले ९६ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२१ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

भूकम्प पीडितलाई एक करोड ५० लाख सहयोगको घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स लिमिटेड र आइएमई लिमिटेड लगायत आइएमई ग्रुपद्वारा प्रवद्र्धित कम्पनीहरू तथा आइएमई फाउन्डेसन मार्फत जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट प्रभावितहरूको लागि १ करोड ५० लाख रुपियाँ नगद सहयोग रकम प्रदान गर्ने भएका छन् । प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरिन लागिएको आईएमई ग्रुपले जनाएको छ । गत शुक्रवार राती कणर्ाली प्रदेशको जाजरकोट जिल्लामा केन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको छ । सो क्षेत्रमा आइएमई ग्रुप तथा आइएमई फाउन्डेसनले स्थानीय प्रशासनसँगको समन्वयमा थप राहत सहयोग समेत उपलब्ध गराउने भएका छन् । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले महाभूकम्प तथा महामारिका समयमा उद्धार, तत्काल राहत वितरणमा आइएमई ग्रुपलाई नै परिचालन गरेको स्मरण गर्दै यससपटक पनि उद्धार र राहतमा हरसम्भव सहयोगका लागि जुटेको बताएका छन् । ढकाल नेपाल उद्याेग वाणिज्य महासंघका अध्यक्ष समेत हुन् । महासंघले जाजरकोट भूकम्प प्रभावितलाई सहयाेग गर्ने महासंघका सबै सदस्य संस्थाहरूलाई अपिल पनि गरेकाे छ । जाजरकोट केन्द्रविन्दु बनाएर गत शुक्रबार राती ६ दशमलव ४ म्याग्निच्युडको विनाशकारी भूकम्प गएको थियो । उक्त भूकम्पले जाजरकोट र रुकुम पश्चिममा सयौंले नेपालीले ज्यान गुमाएका छन् । भूकम्पबाट धेरै घरहरु भत्केका छन् । एक हजारभन्दा बढी मानिसहरु घाइते भएको हुन सक्ने प्रारम्बिक विवरणहरु आएका छन् ।

नेपालमा भित्रियो पहिलो हाइड्रोजनबाट चल्ने कार

काठमाडौं । हाइड्रोजन इन्धनबाट सञ्चालन हुने पहिलो विद्युतीय कार नेपालम भित्रिएको छ । काठमाडौं विश्वविद्यालय (केयु)ले शनिबार हुन्डाई कम्पनीद्वारा निर्मित नेक्सो फ्युल सेल हाइड्रोजन एसयूभी नेपाल भित्र्याएको हो । काठमाडौं विश्वविद्यालयले ग्रिन हाइड्रोजनको क्षेत्रमा अध्ययन तथा अनुसन्धान गरिरहेको छ । अध्ययन तथा अनुसन्धानकै निम्त केयुले सो कार नेपाल भित्र्याएको हो । विश्वविद्यालय हाइड्रोजन ल्याबका प्रमुख प्राडा विराजसिँह थापाका अनुसार नेपाल आयल निगमको सहायतामा सो गाडी कोरियाबाट ल्याइएको हो । विश्वविद्यालयले हाइड्रोजन गाडी सँगै रिफ्युलिङ स्टेशन पनि ल्याएको छ । प्राडा थापाले सबैका लागि सो गाडी टेस्ट ड्राइभको लागि खुला भएको बताएका छन् । साथै उनले भव्य उद्घाटन गरेर सो गाडीलाई सञ्चालनमा ल्याउने बताए । विश्वविद्यालयले खरिद गरेर ल्याएको सो गाडीलाई अन्तर्राष्ट्रिय बजारमा झण्डै ८० लाख रुपैयाँ पर्छ । १६१ हर्स पावर क्षमता रहेको उक्त गाडीमा एकपटक हाइड्रोजन भरेपछि ३८० माइल सम्म कुद्न सक्छ । गाडीमा ६.३३ किलोग्रामको हाइड्रोजन ट्याङ्क र १२० किलोवा क्षमताको मोटर रहेको छ । पछिल्लो समय विश्वभरी नै धेरै चर्चा, अनुसन्धान र परीक्षणको चरणमा रहेको हाइड्रोजन कार अधिक विद्युत् उत्पादनको सम्भावना रहेको नेपालमा उपयोगी हुने अनुमान गरिएको छ ।

भूकम्प पीडितलाई पर्वतारोहण सङ्घबाट ३१ लाख रुपैयाँ सहयोग

काठमाडौं । नेपाल पर्वतारोहण सङ्घले भूकम्प पीडितलाई सहयोग पु¥याउने उद्देश्यले ३१ लाख ११ हजार एक सय ११ सहयोग गर्ने निर्णय गरेको छ । सङ्घको आज सम्पन्न केन्द्रीय कार्यकारी बोर्ड बैठकले भूकम्पपीडितलाई सो सहयोग उपलब्ध गराउने निर्णय गरेको हो । सङ्घको आन्तरिक स्रोतबाट उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गर्ने निर्णय भएको सङ्घका महासचिव मोहन लम्सालले जानकारी दिए । उनले प्रधानमन्त्रीलाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरिने बताए। बैठकले नेपालमा भूकम्प पीडितलाई सहयोग जुटाउन विश्वभरका अल्पाइन क्लबहरुलाई आग्रह गर्ने पनि निर्णय गरेको छ । यसैबीच आरजु राईस मिलले भूकम्प पीडित क्षेत्रका लागि पाँच सय बोरा चामल पठाएको छ । उक्त कम्पनीले विज्ञप्ति जारी गर्दै करिब दस टन चालम भूकम्प पीडित क्षेत्रमा पठाइएको जनाएको हो । आरजु राईस निजी क्षेत्रको ठूलो हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयर मातहतको संस्था हो ।