लुम्बिनी विकास बैंकले चन्द्रज्योति माध्यामिक विद्यालयलाई दियो प्रिन्टर
काठमाडौं । लुम्बिनी विकास बैंकले चन्द्रज्योति माध्यामिक विद्यालयलाई प्रिन्टर हस्तान्तरण गरेको छ । बैँकको देविघाट शाखाले बैँकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विदुर नगरपालिका वडा नं. ५ मा अवस्थित श्री चन्द्रज्योति माध्यामिक विद्यालय लाई १ थान प्रिन्टर हस्तान्तरण गरेको छ । सो प्रिन्टर हस्तान्तरण कार्यक्रममा बैँकको तर्फबाट देविघाट शाखाका प्रमुख रमेश कुमार नेपाल, बट्टार शाखाका प्रमुख बिश्वम्भरमान सिंह डंगोल, ढिकुरे शाखाका प्रमुख सुर्य कुमार पण्डित र विदुर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष लिलानाथ न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रराज डंगोल र विद्यालयका प्रधानाध्यापक बासुदेव पनेरुको पनि उपस्थिती रहेको थियो । लुम्बिनी विकास बैंकको हाल देशका सातवटै प्रदेशमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा १ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ आफ्ना ग्राहकरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा मासिक रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।
कर्मचारीको तलब काटेर भूकम्प प्रभावितलाई भरतपुर महानगरले एक करोड सहयोग गर्ने
चितवन । भरतपुर महानगरपालिकाले जाजरकोटसहितका जिल्लाका भूकम्प प्रभावितका लागि एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आज बसेको ८७औँ कार्यपालिका बैठकले सो निर्णय गरेको हो । भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, उपचार, पुनःस्थापना तथा पुनःनिर्माण लगायतका कार्यमा सहयोग पु¥याउन महानगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड जम्मा गर्ने निर्णय गरेको महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन् । उक्त सहयोग रकम जनप्रतिनिधिको एक महिनाको, अधिकृतस्तरका कर्मचारीको पाँच दिनको, सहायक स्तरसम्मका कर्मचारीको तीन दिनको, मावि शिक्षकको तीन दिनको, आधारभूत तहका शिक्षकको दुई दिनको तलब र महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट हुने गरी मिलाइएको उनले बताइन् । प्रमुख दाहालका अनुसार भूकम्प प्रभावितलाई नगद, जिन्सी तथा खाद्यान्न सहयोगका लागि सम्पूर्ण भरतपुरवासीलाई आह्वान गरिएको छ । शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुमपश्चिममा ठूलो जनधनको क्षति भएको छ । भूकम्पको केन्द्रबिन्दु आसपास रहेका जाजरकोट, रुकुमलगायतका जिल्लाका धेरै कच्ची घर भत्किएका छन् भने मानवीय क्षतिसँगै पशुचौपाया र भौतिक संरचनामा क्षति पुगेको छ ।
सिबिफिनले भूकम्प प्रभावितका लागि १० लाख सहयोग गर्ने
काठमाडौं । सिबिफिनले भूकम्प प्रभावितका लागि १० लाख सहयोग गर्ने घोषणा गरेको छ । भूकम्प प्रभावितका लागि बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले १० लाख सहयोग गर्ने घोषणा गरेको हो । ‘शुक्रबारको राति ११ः४७ बजेको मध्यरातमा जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको विनाशकारी भूकम्पबाट विशेषतः जाजरकोट र रुकुम पश्चिम जिल्लामा अपूरणीय जनधनको क्षति व्यहोर्नु परेको अकल्पनीय घटनाप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) गहिरो दुःख व्यक्त गर्दछ’, सिबिफिनले विज्ञप्तीमा उल्लेख गरेको छ । भूकम्पका घाईतेहरुको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुर्नस्थापनाका लागि १० लाख रुपैया आर्थिक सहयोग गर्ने सिबिफिनले विज्ञप्ती मार्फत जनाएको छ । त्यस्तै प्रभावित क्षेत्रमा तत्काल खाद्यान्य, औषधोपचार, न्याना लत्ताकपडासहितको बसोबास अत्यावश्यक रहेको जानकारी आएको भन्दै सिबिफिनले राहत सामाग्री जुटाउने र सम्बन्धित क्षेत्रमा पुर्याउने मानवीय सेवाको कार्यमा सहयोगी हात अगाडि बढाउन सम्बन्धित प्रदेश/जिल्ला तथा स्थानीय निकायहरुमा संचालित सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेको छ । ‘विनाशकारी भूकम्पको चपेटामा परी उपचाररत सम्पूर्ण घाईतेहरुको शिघ्र स्वाथ्यलाभको हार्दिक कामना व्यक्त गर्दछौं । साथै, दिवंगत आत्माहरुको चिर शान्तिको कामनासहित शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं’, सिबिफिनले विज्ञप्तीमा उल्लेख गरेको छ ।
नेप्सेमा दोहोरो अंकको गिरावट, लाभांश घोषणा गरेकै दिन घट्यो ग्लोबल आइएमईको सेयर मूल्य
काठमाडौं । साताको पहिलो कारोबार दिन पुँजी बजार ओरालो लागेको छ । आइतबारको बजार सूचक दोहोरो अंकले घटेको हो । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.४६ अंकले घटेर १८२६.२३ बिन्दुमा बन्द भएको हो । आज दिनभरिमा २८९ कम्पनीको ३५ लाख ५८ हजार कित्ता सेयर ३९ हजार ३२२ पटक खरिद बिक्री हुँदा ९७ करोड २३ लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आइतबार एनआईसी एशिया लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ । लघुवित्तको सेयर मूल्य ६.९७ प्रतिशत बढेर ६१४ रुपैयाँमा अन्तिम कारोबार भएको देखिन्छ । यस्तै, तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य ५.४७ प्रतिशत बढेर ७११.९० रुपैयाँ अन्तिम कारोबार भएको नेप्सेले जनाएको छ । आइतबार हिमालयन लघुवित्तको सेयर मूल्य १० प्रतिशत घटेको छ । आइतबार वित्तीय विवरण सार्वजनिक गरेको लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । आइतबार नबिल बैंकको संस्थापक सेयर सबैभन्दा धेरै कारोबार भएको छ । बैंकको सेयर प्रतिकित्ता ३०७.२० रुपैयाँमा १ लाख ५० हजार कित्ता सेयर कारोबार भएको छ । यस्तै, आइतबार लाभांश घोषणा गरेको ग्लोबल आइमएई बैंकको सेयर मूल्य घटेको छ । बैंकको सेयर मूल्य २.४३ प्रतिशत घटेर प्रतिकित्ता २०१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । तर, बैंकको सेयर कारोबार भने ३ करोड १७ लाख ७९ हजार रुपैयाँको भएको नेप्सेको तथ्याङ्क छ ।
मुस्ताङ र डोल्पा सडकले जोडियो, हप्तौं लगाएर हिड्नुपर्ने बाटो अब एकै दिनमा
म्याग्दी । गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक मार्ग खुलेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मनाङ–मुस्ताङ–डोल्पा–जुम्ला सडक आयोजनाअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका सडक सञ्जालसित जोडिएका हुन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले चार वर्षको प्रयासमा मुस्ताङ र डोल्पा जोड्ने सडक मार्ग खोल्ने काम सकिएको जानकारी दिए । ‘मुस्ताङबाट डोल्पा र डोल्पाबाट मुस्ताङको सिमानामा शनिबार पहिलो पटक ट्याक्टर आवतजावत गरेका छन्,’ उनले भने, ‘हप्तौं लगाएर मुस्ताङ आउने उत्तरी डोल्पावासी अब एकै दिनमा आउन सक्नेछन् । घोडा, खच्चर, याक र चौरीमा बोकाएर सामान ढुवानी गर्नुपर्ने बाध्यता हटेको छ ।’ सरकारले गण्डकी प्रदेशको मनाङ–मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा–मुगु जोड्ने रणनीतिक महत्त्वको सडकअन्तर्गत आर्थिक वर्ष २०७५/७६ देखि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ को पाक्लिङदेखि साङ्ता हुँदै डोल्पा जोड्ने सडक निर्माणको कामलाई अघि बढाएको थियो । करिब २० करोडको लगानीमा ५६ दशमलव पाँच किलोमिटर सडक मार्ग खुलेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । गतवर्ष नयाँ ट्र्याक खोल्न मन्त्रालयले तीन करोड १७ लाख बजेट विनियोजन गरेको थियो। चालू आवमा नयाँ ट्र्याक खोल्न मन्त्रालयले दुई करोड बजेट छुट्याएको थियो । मुस्ताङ–डोल्पा जोड्ने अन्तिम बिन्दुको नयाँ ट्र्याक खोल्न सिखा इञ्जिनीयरिङ र पम्फा जेभी कन्ट्रक्सनले ठेक्का लिएको थियो । समुद्रि सतहदेखि चार हजार मिटरभन्दा बढीको उचाईमा भौगोलिक रुपमा विकट र दुर्गम याकखर्क क्षेत्रमा सडक निर्माण गरिएको हो । एक्लेभट्टिदेखि मुस्ताङको अन्तिम मानवबस्ती साङ्ता हुँदै याकखर्कको भिर छिचोलेर डोल्पाको सिमानामा सडक पुर्याइएको छ । डोल्पातर्फबाट मुस्ताङको सिमानासम्म यसअघिनै सडक निर्माण गरिएको थियो । उक्त सडकलाई आव २०७६/७७ मा ११ करोड तथा आव २०७५/७६ मा रु चार करोड बजेट विनियोजन गरिएको थियो। मुस्ताङका पूर्व सांसद प्रेमप्रसाद तुलाचनले डोल्पा जोड्ने सडकले दुई प्रदेशको आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीलाई आवतजावतमा सहज हुने बताए । डोल्पा जोड्ने सडकको प्रवेश बिन्दुमा पर्ने मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको एक्लेभट्टी र पाक्लिङको सिमानास्थित कालीगण्डकी नदीमा गत वर्ष एक सय २० मिटर लामो पक्की पुल निर्माण गरिएको थियो । रासस
पढ्दै कमाउँदै : विद्यार्थी फूलखेतीमा रमाउँदै
दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित मित्रता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सयपत्री फूलखेती गरेका छन् । ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत विद्यालयमा वनस्पति विज्ञान अध्ययनरत विद्यार्थीले सयपत्री फूलखेती गरेका हुन् । विद्यालयमा डिप्लोमा तेस्रो वर्षमा अध्ययनरत अनुप राना मगर, सामेल पौडेल, शरण विक र सुमन मगरले विद्यालयको आठ रोपनी जग्गामा सयपत्री फूलखेती गरेका हुन् । यहाँ दुई प्रजातिका फूल रोपिएको थियो । कर्मा पाँच सय ५५ र टिटी प्रजातिका फूल रोपिएकोमा सबै फूल बिक्रीका लागि तयार भएको विद्यार्थी पौडेलले जानकारी दिए। पौडेलले भने, “हाम्रो प्रयोगात्मक र ‘ओजिटी’ अन्तर्गत सयपत्री फूल उत्पादन गरेका हौँ, यसका लागि गाउँपालिकाले हामीलाई प्रोत्साहन ग¥यो ।” यहाँ दश हजार फूल उत्पादन भएका छन् । विद्यार्थी विकका अनुसार तीन महिना अगाडि फूल रोपिएको थियो । त्यसक्रममा उहाँहरुले छ पटक फूलको गोडमेल गरेका थिए । “जग्गा जोत्ने, बिरुवा जमाउने, मल हाल्ने सबै काम हामीले नै गरेका छौँ”, उनले भने । फूलखेतीका लागि आँबुखैरेनी गाउँपालिकाले रु तीन लाख सहयोग गरेको थियो । विद्यार्थी विकका अनुसार आफूहरुको प्रयोगात्मक शिक्षण अन्तर्गत फूलखेतीका लागि गाउँपालिकाले प्रोत्साहन गरेकामा खुसी लागेको बताए । उत्पादन भएका फूल बिक्री सुरु भइसकेको छ । पौडेलका अनुसार फूल खरिदका लागि फूलबारीसम्मै आउने गरेको जनाउँदै ठूलो सङ्ख्यामा बिक्रीका लागि पालिकासँग समन्वय गरिने बताए । उनका अनुसार तिहारका लागि रु पाँच लाखको फूल बिक्री गर्ने योजना रहेको छ । माला रु तीन सयमा र फूल प्रति किलो रु एक सयमा बिक्री भइरहेको उनले बताए । समय र मौसमका कारण कतिपय फूल छिटो फुलिदिँदा समस्या भएको जनाउँदै उनले समयको व्यवस्थापन गरेर मात्रै फूलखेती गर्नुपर्ने पाठ सिकेको बताए । उनले भने, “फूल छिटो फुलेर समस्या हुने रहेछ, त्यसका लागि चिस्यान केन्द्रमा फूल राख्ने व्यवस्था मिलाएका छौँ । गाउँपालिकालाई फूलमा आत्मनिर्भर बनाउने उद्देश्यसहित यसै वर्षदेखि सयपत्रीको व्यावसायिक उत्पादनमा सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । उनका अनुसार मित्रता माध्यमिक विद्यालय, सोही वडाको यान्चोक आमा समूह र आँधीमूल आमा समूहमार्फत् सयपत्री फूलखेती सुरु गरिएको थियो । अहिले ३० हजार सयपत्री फूल फुलेको जनाउँदै यसको बजार व्यवस्थापनका लागि पालिकाले समन्वय गरेको चुमानले बताए । “तिहारमा विदेशी प्लास्टिकका फूल तथा झिलिमिलीको सट्टा स्थानीयस्तरमा उत्पादित फूल प्रयोगमा जोड दिएका छौँ”, उनले भने, “यसका अतिरिक्त छिमेकी पालिकासँग पनि समन्वय गरी बिक्रीको व्यवस्था मिलाउँछौँ ।” गाउँपालिकाले स्थानीयस्तरमा हुने कार्यक्रममा पनि सयपत्री फूलको माला प्रयोगमा जोड दिएको चुमानको भनाइ छ । उनले भने, “पालिकाभित्र हुने हरेक कार्यक्रममा कृत्रिम फूललाई विस्थापित गर्छौँ, यहीँ उत्पादित फूललाई प्रयोगमा ल्याउँछौँ ।” चुमानका अनुसार सयपत्री फूल प्रत्येक वर्ष विदेशबाट आयात हुँदै आएको छ । यसको आयत प्रतिस्थापन गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ । गाउँपालिकाले विद्यालयमा पढ्दै कमाउँदै र आमा समूहमा अध्यक्षसँग कृषि कार्यक्रममार्फत् फूलखेतीमा सहयोग गरेको थियो । आमा समूहमार्फत् गरिएको फूल पनि उत्पादन भई बिक्री सुरु भइसकेको छ । गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार तिहारमा सयपत्री फूल प्रतिकिलो रु पाँच सयसम्म बिक्री हुन्छ । अहिलेलाई भने स्थानीयस्तरमा किलोको दुई सयसम्म बिक्री हुने गरेको छ । त्यस्तै एउटा माला रु ८० सम्म बिक्री हुन्छ । दुई समूहबाट गरी यस वर्ष रु दश लाख बराबरको फूल बिक्री हुने अनुमान गरिएको छ । गाउँपालिकाले सयपत्री फूलखेतीलाई प्राथमिकतामा राखेर गाउँपालिका अन्तर्गतका सबै कार्यक्रममा सयपत्रीको मालालाई प्राथमिकता दिने निर्णय गरिसकेको छ । उनले भने “फूलफुल्न थालेपछि पालिकाका हरेक कार्यक्रममा सयपत्रीको माला प्रयोग हुन्छ, आँधीमूलमा लाग्ने मेलामा पनि सयपत्री फूलले सहयोग पु¥याउँछ ।” रासस
आइफोन–१७ भारतमा बन्ने
एजेन्सी । आइफोन निर्माता एप्पलले भारतमा उत्पादित आइफोन इकाईहरूको अनुपात बढाउने योजना बनाएको सार्वजनिक भएको छ । टीएफ सेक्युरिटीज इन्टरनेशनल विश्लेषक मिङ–ची कुओले भारतको यो योजना सार्वजनिक गरेका हुन् । उनले आफ्नो ब्लगमार्फत सार्वजनिक गरेको विवरणअनुसार कपर्टिनो कम्पनीले आगामी वर्षको छैठौं महिनामा भारतमा आइफोन–१७ बनाउने काम गरिने छ । जसलाई सन् २०२५ मा विश्वबजारमा लन्च गर्ने अपेक्षा गरिएको छ । यसैबीच चीनका दुई क्षेत्रमा कम्पनीको उत्पादन मापन २०२४ मा उल्लेखनीयरूपमा घट्ने अपेक्षा गरिएको छ । ‘एप्पल एसेम्बलर फक्सकन, जसको हाल भारतमा आइफोन मोडेलहरूको उत्पादन लाइनको ८० प्रतिशत स्वामित्व छ । चीनको झेङझाउमा ४५ प्रतिशत र ताइयुआनमा अर्को वर्ष ८५ प्रतिशतले उत्पादन घट्न सक्छ,’ कुओले लेखेका छन्, ‘आइफोन–१५ सहित विश्वव्यापीरूपमा पठाइएका आइफोन युनिटहरूको १४ प्रतिशत हालसम्म भारतमा बनेका छन्।’ उनका अनुसार २०२४ सम्ममा यो संख्या २० देखि २५ प्रतिशतसम्म बढ्ने अनुमान गरिएको छ । आइफोन–१७ चीन बाहिर विकसित हुने पहिलो मोडेल हुने अपेक्षा गरिएको छ । कम्पनीले २०२४ को छैठौं महिनाबाट भारतमा आइफोन–१७ उत्पादन प्रक्रिया सुरु गर्ने छ । डिजाइन जोखिम कम गर्न कम्पनीले चीन बाहिर विकसित मानक मोडेल छनौट गरेको छ र फोन २०२५ को छैठौं महिनामा विश्वबजारमा लन्च हुने अपेक्षा गरिएको छ । गत साता ताइवानको विस्ट्रोनले टाटा इलेक्ट्रोनिक्सलाई विस्ट्रोन इन्फोकम निर्माणमा आफ्नो सतप्रतिशत अप्रत्यक्ष हिस्सेदारी लगभग ४ अर्ब १२ करोड ५० लाख अमेरिकी डलर (करिब १० अर्ब ४० करोड भारु) मा बेच्न अनुमोदन गरेको थियो । विस्ट्रोनको उत्पादन लाइनहरू प्राप्त गरेपछि टाटा भारतमा एप्पलको आइफोन मोडेल एसेम्बल गर्ने पहिलो भारतीय कम्पनी बन्ने छ । कुओले टाटाको भारतमा आइफोन निर्माण गर्ने कदमले कम्पनीको सरकारसँगको सम्बन्ध बलियो बनाउन मद्दत गर्ने बताए । उनका अनुसार आगामी १० वर्षमा कम्पनीको वृद्धिका लागि यो महत्वपूर्ण हुनेछ ।
मूल्य घटेपछि च्याउ उत्पादक किसान मर्कामा
कास्की । उत्पादित च्याउको बजार मूल्य अत्यधिक मात्रामा घटेपछि कास्कीका च्याउ किसान मर्कामा परेका छन् । च्याउ उत्पादन वृद्धिसँगै मूल्यमा आएको भारी गिरावटका कारण कास्कीमा व्यावसायिक च्याउखेती गर्ने किसान मर्कामा परेका हुन् । डेढ महिनाअघि प्रतिकिलो रु दुई सय बजार मूल्य रहेको कन्य च्याउको मूल्य यतिबेला घटेर प्रतिनकिलो रु ६० पुगेको छ । पोखरा बजारमा बढी मात्रामा उपभोक्ताले उपभोग गर्ने च्याउ कन्य नै हो । चिसो मौसममा च्याउको उत्पादन पनि बढी हुने गर्छ । किसानले उतपादन गरेको कन्य च्याउ पोखरा बजारमा दैनिक चार हजार किलो बिक्री हुने गर्छ । कास्कीमा व्यावसायिक च्याउखेती गर्ने किसानको सङ्ख्या २० र बाहिरबाट पनि केहीमात्रामा च्याउ आयात हुने गरेको छ । पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले किसानको उत्पादन गरेको च्याउ र सिमीको मूल्य यतिबेला अत्यधिक मात्रामा घटेपछि किसानको लागत मूल्यसमेत उठ्न नसकेको बताए । पोखरा–१९ लामाचौरका च्याउ उत्पादक किसान सन्दीप क्षेत्रीले एक किलो च्याउ उत्पादन गर्न लागत मूल्य रु एक सय ३० लाग्छ तर प्रतिकिलो ६० मा बिक्री गर्नुपर्दा च्याउ किसानको लगानी सिधै डुब्ने अवस्थामा पुगेको बताए । रु १४ लाखको लागतमा छ रोपनी जग्गामा उत्पादन गरेको च्याउले बजार नपाउँदा आफूले ठूलो नोक्सानी व्यहोर्नुपरेको उनले बताए । ‘पोखरामा च्याउको मूल्य चार वर्षयताकै न्यून हो’, क्षेत्रीले भने, ‘च्याउ उत्पादक किसानको सङ्ख्या पनि बढ्दै जानु, च्याउ उत्पादन गर्ने अनुकूल मौसम र दसैँ पर्व पछाडि अर्थात् च्याउ उत्पादन बढी हुने समयमा पर्दा उपभोक्ताले मासु खाइदिँदा च्याउको माग घटेसँगै मूल्यमा पनि गिरावट आएको हो ।’ महानगरपालिकामा सूचीकृत किसानले उत्पादन गरेको च्याउको न्यूनतम समर्थन मूल्य तोकिदिएका कारण च्याउ किसान विस्थापित नै हुनुपर्ने अवस्थामा भने छैन । महानगरले पोखरामा च्याउको समर्थन मूल्य रु एक सय ३० तोकेको छ । गत वर्ष महानगरले पोखरामा च्याउको न्यूनतम समर्थन मूल्य रु एक सय ५० तोकेको थियो । यस वर्ष रु २० घटाएर रु एक सय ३० कायम गरिएको कृषि महाशाखा प्रमुख कडरियाले जानकारी दिए । लागत मूल्यलाई आधार बनाएर न्यूनतम समर्थन मूल्य तोकिएको उनले बताए । ‘समर्थन मूल्यभन्दा कम मूल्यमा किसानले च्याउ बेचेमा त्यसमा थपेर समर्थन मूल्य बराबर महानगरले रकम उपलब्ध गराउँछ’, कडरियाले भने, ‘समर्थन मूल्यका कारण च्याउखेतीबाट विस्थापित हुने स्थिति आउँदैन, न्यूनतम समर्थन मूल्यबापतको रकम लिन पनि सजिलो छ ।’ किसानले मूल्य घटेकोबारेमा महानगरलाई पूर्वजानकारी गराउनुपर्ने उनले बताए । कडरियाले भने, ‘पछि हामीले अनुगमन गर्छौं र बेचेको रकमका आधारमा प्रमाण पेस भए तुरुन्तै रकम उपलब्ध गराउँछौँ ।’ पोखराका अर्का च्याउ किसान रवीन मैनालीले च्याउखेती गर्दा बढी मेहनत र झन्झटिलो भएकाले किसानलले दुःख अनुसारको मुनाफा प्राप्त गर्न नसक्ने बताए । पोखरामा च्याउखेती गर्ने किसानको सङ्ख्या बढे पनि उत्पादित च्याउले मूल्य नपाउँदा किसानले सन्तुष्टि प्राप्त गर्न नसकेको मैनालीको भनाइ छ । रासस