भूकम्पपीडितलाई युनिलिभर नेपालद्वारा राहत सामग्री प्रदान
काठमाडौं । युनिलिभर नेपालले पश्चिम नेपालको जाजरकोट र पश्चिम रुकुममा भूकम्पबाट प्रभावित जनसमुदायको साथमा ऐक्यबद्धता जनाएको छ । मानवीय सहायताप्रति प्रतिबद्धताको एक हिस्सास्वरुप युनिलिभर नेपालले प्रभावित क्षेत्रमा अत्यावश्यकीय सहायता सामग्री उपलब्ध गराएको हो । युनिलिभर नेपालले हर्लिक्स, सुप, औषधी र औषधोपचार सामग्रीसहित ७०० थान ब्ल्याङ्केट, २५० थान त्रिपाल र स्थानीय रुपमा खरिद गरिएका थप खाद्यान्न जाजरकोट र रुकुममा वितरण गरेको छ । युनिलिभर नेपालले स्थानीय निकाय, संघसंस्था, संगठन र समुदायसँग समन्वय गरेर राहत सामग्री वितरणको कार्य प्रभावकारी ढंगले गरिरहेको जनाएको छ ।
नयाँ गाँउ रिसोर्टको तिहार अफर, ३५०० रूपैयाँमा कपलका लागि ‘फूलबोर्ड प्याकेज’
काठमाडौं । पोखराको सारङकोटस्थित नयाँ गाउँ रिसोर्टले विशेष अफर ल्याएको छ । रिसोर्टले नेपालीको दोस्रो ठूलो महान चाड तिहारलाई लक्षित गर्दै आकर्षक प्याकेजसहितको छुट अफर ल्याएको हो । उक्त अफर अन्तर्गत जोडीका लागि ३ हजार ५०० रूपैयाँमै डिनर, ब्रेकफास्ट र नाइटस्टे प्याकेज ल्याएको छ । एक व्यक्तिका लागि भने २ हजार ५०० रुपैयाँमा उक्त प्याकेज पाइने छ । त्यस्तै, रिसोर्टमा नाइटस्टे गर्ने गेस्टहरूका लागि विभिन्न एड्भेन्चर एक्टिभिटीमा ५० प्रतिशत भन्दा धेरै छुट दिनेछ । उक्त रिसोर्टबाट साराङकोटको प्राकृतिक सौन्दर्यसहित मनमोहक हिमश्रृंखला, फेवाताल, पोखरा उपत्यका, फेवाताल लगायतको दृश्यावलोकन गर्न सकिन्छ । करिब २०० रोपनी क्षेत्रफलमा फैलियको रिसोर्टमा एग्रो टुरिजम तथा एड्भेन्चर गतिविधिको आनन्द लिन सकिन्छ । अग्र्यानिक खानाको साथै रिसोर्टमै पालेको कालिज, लोकल कुखुरा, खसीबोका, खरायो लगायतको मासुबाट बनेको उत्कृष्ट परिकार पाइन्छ । साथै, स्थानीय गाईभैँसीको दही, घिउ, महीको स्वाद लिन सकिने छ भने रिसोर्टको फर्ममै उत्पादन भएको मह समेत खान सकिन्छ । ९ वटा छुट्टा छुट्टै भिल्ला, रेस्टुरेन्ट, टी–हाउस रहेको रिसोर्टमा ५० जनासम्म सजिलै बास बस्न सकिनेछ । रिसोर्टको अन्य आकर्षणको रूपमा सिंगल स्वीङ, एरोप्लेन स्वीङ, स्काईट्री वाक, रेन्बो ब्रिज जस्ता एड्भेन्चर कार्य गर्न सकिन्छ । बालबालिकाका लागि छुट्टै चिल्ड्रेन पार्क समेत रहेको उक्त रिसोर्टमा प्राकृतिक रूपमा बनेको एड्भेन्चर गुफा, बाघको ओडार लगायत अवलोकन गर्न सकिन्छ ।
अवैध मोबाइलमा आजदेखि नेटवर्क लक हुने
काठमाडौं । अवैध मोबाइल नियन्त्रण गर्ने उद्देश्यसाथ बारम्बार सञ्चालनको घोषणा गरिएको ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस)’ अन्ततः सोमबारदेखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयनमा ल्याउने भएको हो । गत वर्ष असोज १ देखि परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको यो प्रणालीलाई प्राधिकरणले त्यसको एक वर्षपछि सञ्चालन गर्न लागेको हो । प्रणालीमा दर्ता नभएका मोबाइलको नेटवर्क लक गर्न सेवाप्रदायकलाई जानकारी गराइसकिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । ‘पहिलो चरणमा ‘हाइएन्ड’ मोबाइल लक गर्ने गरी सेवाप्रदायकलाई निर्देशन दिएका छौँ,’ उनले भने । उनका अनुसार अबदेखि हरेक दिन दर्ता नभएका त्यस्ता मोबाइलको नेटवर्क लक हुँदै जाने छन् । प्राधिकरणले एमडिएमएस लागु गर्नुपूर्व कात्तिक ४ गते सार्वजनिक सूचना जारी गरेर १५ दिनभित्र दर्ता गरिसक्न जानकारी गराएको थियो । त्यसअघि पनि प्राधिकरणले बारम्बार एमडिएमएस प्रणालीमा मोबाइल दर्ता गराउन सार्वजनिक सूचना जारी गरेको थियो । प्राधिकरणले गत वर्ष भदौ मसान्तसम्म प्रयोगमा रहेका जुनसुकै मोबाइललाई आफ्नो प्रणालीमा स्वतः दर्ता गरिसकेको छ तर त्यसपछि आएका धेरै मोबाइल दर्ता नभएकाले त्यस्ता सेट सञ्चालनमा रोक लगाइने जनाएको छ । प्राधिकरणका अनुसार गत वर्ष असोजयता नेपाल भित्रिएका करिब २० लाख व्यक्तिगत मोबाइल सेट यो प्रणालीमा दर्ता छैनन् । बजारमा अवैध मोबाइलसमेत खुलेआम बिक्री भएको जनाउँदै प्राधिकरणले मोबाइल आयातकर्ता र बिक्रेतालाई पनि मोबाइल आयात गर्नुअघि अनिवार्य रूपमा प्राधिकरणमा स्वीकृति लिएर दर्ता गर्न आग्रह गरेको छ । बजारमा अवैध मोबाइल खरिद हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले मोबाइल खरिदपूर्व त्यसको आइएमइआई दर्तापूर्व प्रणालीमा दर्ता भए नभएको यकिन गर्न पनि आग्रह गरेको छ । एमडिएमएस प्रणालीका लागि प्राधिकरणले सञ्चालनमा ल्याएको mdms.nta.gov.np मा गएर मोबाइल दर्ता भए नभएको हेर्न सकिन्छ । व्यक्तिगत रूपमा विदेशबाट ल्याइएका मोबाइल पनि यसैमार्फत दर्ता गर्न सकिन्छ । व्यक्तिगत मोबाइल दर्ताका लागि भन्सार घोषणासहितको प्रज्ञापनपत्र अपलोड गर्नुपर्ने छ । प्राधिकरणले आफ्नो दर्ता प्रक्रियालाई पूर्ण रूपमा अनलाइन र निःशुल्क गरेको छ । गोरखापत्रबाट ।
कामना सेवाको वार्षिकोत्सवमा ट्राफिक सचेतना बोर्ड हस्तान्तरण
काठमाडौं । कामना सेवा विकास बैंकले स्थापनाको १७औं वर्षमा प्रवेशको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवालाई ट्राफिक सचेतना बोर्ड हस्तान्तरण गरेको छ । बुटवल-भैरहवा-सुनौली सडकखण्डका विभिन्न स्थानमा ती बोर्ड राखिने जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवाका प्रहरी निरीक्षक बजिरसिंह विष्टले जानकारी दिए । बैंकका सञ्चालक भीमप्रसाद तुलाचनको उपस्थितिमा सम्पन्न कार्यक्रममा बुटवल क्षेत्रका क्षेत्रीय प्रमुख खिमलाल भुसाललगायतका कर्मचारीको सहभागिता थियो । त्यस्तैगरी, बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक प्रहरी कार्यालय वालिङलाई ट्राफिक सचेतना बोर्ड हस्तान्तरण गरेको छ । वालिङ क्षेत्रका विभिन्न स्थानमा ती बोर्ड राखिने बैंकले जनाएको छ । बैंकका पोखरा क्षेत्रका क्षेत्रीय प्रमुख विष्णुप्रसाद गौतमले ती बोर्ड ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण गरेका छन् । बैंकको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत बुटवल हिलपार्कस्थित कामना सेवा पार्कमा सरसफाइ कार्यक्रम गरिएको छ । स्वच्छ वातावरण र हरियालीलाई संरक्षण गर्ने उद्देश्यले निर्माण गरिएको उक्त पार्कलाई कामना सेवा विकास बैंकले संरक्षण र प्रवर्धन गर्दै आएको छ । सरसफाइ कार्यक्रममा बुटवल क्षेत्रका कर्मचारीको उपस्थिति थियो । बैंकले १७औं वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी रुपमा १७ कार्यक्रम गरिरहेको छ । बैंकले शुक्रबारदेखि विभिन्न कार्यक्रमको आयोजना गरिरहेको छ । कार्यक्रम बिहीबारसम्म हुने बैंकले जनाएको छ ।
प्रिज्मार्क मार्केटिङले मनायो २८ औं वार्षिकोत्सव
काठमाडौं । प्रिज्मार्क मार्केटिङले २८ औं वार्षिकोत्सव मनाएको छ । कम्पनीले अग्रगामी उत्कृष्टतासहित एकीकृत मार्केटिङ सञ्चार क्षेत्रको नेतृत्व गर्दै २८ वर्ष पुरा गरेको हो । बहुराष्ट्रिय निगम, बैंक तथा वित्तिय संस्था, अन्तर्राष्ट्रिय गैर–सरकारी संस्था, कर्पोरेट व्यवसाय तथा सरकारी क्षेत्रहरू सहित ग्राहकहरूको एक विस्तृत श्रृंखला माझ उत्कृष्ट सिर्जनात्मक कार्य र अद्वितीय सेवाको लागि प्रसिद्धि कमाएको प्रिज्मा मार्केटिङले एकीकृत मार्केटिङ एजेन्सीको रूपमा २८ वर्ष मनाएको हो । २८ वर्षको यात्रा, आफ्ना विविध ग्राहकहरूलाई नवीन र प्रभावकारी मार्केटिङ समाधानहरू प्रदान गर्ने प्रतिबद्धताको प्रमाण भएको प्रिजमार्क मार्केटिङका कार्यकारी निर्देशक पंकज प्रधानले बताए । ‘यसको श्रेय हाम्रो टोलीको समर्पण र हाम्रा मूल्यवान ग्राहकहरूको अटुट समर्थनलाई जाँदछ,’ उनले भने । आफ्नो बृहत् कार्यकालभरी, प्रिज्मार्क मार्केटिङले उद्योगको गतिशील आवश्यकताहरू पूरा गर्न मार्केटिङ रणनीतिहरूको विकासशील परिदृश्यमा निरन्तर रुपमा रूपान्तरण गर्दै नवीन दृष्टिकोणहरू अँगाल्दै आएको छ । यस उपलब्धिले प्रिज्मार्क मार्केटिङको उत्कृष्टता, निरन्तर वृद्धि र एकीकृत मार्केटिङ कम्युनिकेसनको क्षेत्रमा अतुलनीय सेवाहरू प्रदान गर्ने अटल प्रतिबद्धतालाई झल्काएको कम्पनीले जनाएको छ । २८ वर्षको अनुभवको साथ, प्रिज्मार्कले ग्राहकहरूलाई सफलता प्रदान गर्ने अग्रगामी रणनीतिहरू जारी राख्ने लक्ष्य राखेको छ ।
पच्चिस प्रतिशतले बढ्यो खाद्यान्न आयात
काठमाडौं । चालुु आर्थिक वर्षको तीन महिनामा (साउन–असोज) खाद्यान्न आयात २५.३ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार तीन महिनामा २५ प्रतिशतले बढेर १९ अर्ब ९४ करोड ५३ लाख नौ हजार रुपियाँको खाद्यान्न (धान, मकै, चामल, गहुँ, जौ, कोदो) आयात भएको छ । गत वर्ष सो अवधिमा १५ अर्ब २६ करोड २१ लाख दुई हजार रुपियाँ बराबरको खाद्यान्न आयात भएको थियो । चालु आवको पहिलो महिनादेखि नै खाद्यान्न आयात बढ्दै गएको छ । बजारमा खाद्यान्नको माग बढेसँगै आयातमा वृद्धि भएको हो । स्थानीय उत्पादनले माग धान्न नसक्नु र खाने बानीमा आएको परिवर्तनका कारण खाद्यान्नको आयात बढ्ने गरेको हो । गत आवमा भारतले चामलको निर्यातमा लगाएको कर, विदेशी मुद्रा बचत गर्न आयातमा गरिएको प्रतिबन्ध र नेपाल राष्ट्र बैङ्कले एलसी (प्रतीतपत्र) मा नगद मार्जिनको व्यवस्था गरेका कारण चामलसँगै अन्य खाद्यान्नको आयातमा कमी आएको थियो । विभागको तथ्याङ्क अनुसार तीन महिनामा दुई अर्ब ६२ करोड ९० लाख ६९ हजार रुपियाँको तीन करोड ४८ लाख दुई हजार केजी मकै आयात भएको छ । यस्तै तीन महिनामा दुई अर्ब ९२ करोड ९० लाख ५२ हजार रुपियाँको तीन करोड ९८ लाख ५४ हजार रुपियाँको धान आयात भएको तथ्याङ्क छ । दुई अर्ब ६७ करोड ३३ लाख ३८ हजार रुपियाँ बराबरको ७३ लाख ५२ हजार ६६८ केजी चामल आयात भएको छ । यस्तै ६४ करोड ४८ लाख ९४ हजार रुपियाँको एक करोड ५८ लाख ६७ हजार केजी गहुँ आयात भएको छ । ६० लाख ८१ हजार रुपियाँको जौ, २४ करोड ५३ लाख रुपियाँको कोदो, ५३ लाख ४० हजार अन्य अनाज आयात भएको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा बर्सेनि ठुलो परिणाममा खाद्यान्न आयात हुने गर्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत आवमा धान उत्पादन ६.९४ प्रतिशतले बढेर ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन उत्पादन भएको छ । खाद्यान्न ९चामल, मकै, गहुँ, कोदो, फापर० प्रतिव्यक्ति प्रतिवर्ष करिब १८१ केजी आवश्यकता पर्नेमा यस हिसाबले चामल उपभोग प्रतिव्यक्ति प्रतिवर्ष १२१ केजी पुग्ने देखिएकामा नेपालमा औसत प्रतिव्यक्ति प्रतिवर्ष करिब १३७ केजी उपभोग भइरहेको मन्त्रालयले जनाएको छ । चामलको आवश्यकता वार्षिक ४० लाख मेट्रिक टन रहेकामा ५५ लाख मेट्रिक टन धानबाट ३५ लाख २० हजार मेट्रिक टन चामल उपलब्ध हुने देखिएकाले अझै वार्षिक चार लाख ८० हजार मेट्रिक टन चामल कमी देखिएको मन्त्रालयले जनाएको छ । पछिल्लो समय खेतीयोग्य जमिन घडेरीमा प्रयोग हुँदै गएको र काम गर्ने युवा जनशक्ति वैदेशिक रोजगारीमा गएकाले माग अनुसार खाद्यान्न उत्पादन हुन सकेको छैन । भारत, चीन, अर्जेन्टिना, साउथ अफ्रिका, इन्डोनेसिया, मेक्सिको, थाइल्यान्ड, मलेसियालगायतका देशबाट नेपालमा खाद्यान्न आयात हुने गर्छ । गोरखापत्रबाट ।
भूकम्प पीडित भन्दछन् : अहिलेसम्म राहत पाएको छैन
जाजरकोट । शुक्रबार राति अकल्पनीय रुपमा गएको भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य अकालमा गुमाउनुपर्यो । आमा सितली, भाउजू कल्पना, छोरी गुन्जन र छोरा टाइजनलाई एकै पटक गुमाउनुपर्दाका पीडामा उनी छन् । दिनभरिको कामको थकानले सबै सुतिरहेको समयमा एक्कासि आएको भूकम्पमा परेर उनले अधिकांश परिवारका सदस्य गुमाउनुपर्यो । उनको सात जनाको परिवारमध्ये तीन जना मात्र मृत्युको मुखबाट बाँच्न सफल भएको छ । शेरबहादुरका पिता कृतिबहादुर, छोरी स्मृति गम्भीर घाइते भएका छन् भने दाजु विवश घर बाहिर भएका कारण ज्यान बचेको छ । शेरबहादुरले भने ‘मैले अहिलेसम्म राहत पाएको छैन ।’ घर भत्किएर तहसनहस भएपछि किरिया पुत्रीसमेत खुला आकाशमै बस्नुपरेको छ । कुनै पनि निकायबाट अहिलेसम्म पाललगायतका सामग्री नपाएको उनले बताए । उनले दुखेसो पोखे,’सबै निकायलाई समस्या बताउँदा पनि कुनै पनि सहयोग पाएको छैन ।’ त्यस्तै नलगाड नगरपालिकामा सात हजारभन्दा बढी पालको आवश्यक पर्ने भए पनि हालसम्म मुस्किलले दुई सय ५० मात्र पुगेको जनाइएको छ । नगरपालिकाको योजना शाखाका प्रमुख नारायण खत्रीले पालको आवश्यकता भएको बताए । एकद्वार प्रणालीको नाममा सदरमुकाममा राहत सामग्री थन्क्याएर राख्ने तर पालिकासम्म नदिँदा पीडितले राहत पाउन नसकेको अवस्था रहेको जनाइएको छ । नलगाड नगरप्रमुख डम्बर रावतले भने, ‘नगरपालिकाले सक्ने काम गरिरहेको छ, हाम्रो क्षमताभन्दा बाहिर हामी कसरीसक्छौँ ।’ नलगाड नगरपालिकाको १ देखि ७ वडासम्म भूकम्पले धेरै क्षति पु¥याएको छ । तीन दिन बित्न लाग्दासम्म पीडितलाई त्रिपालसम्म पाउन सकिएको छैन नलगाड नगरपालिका–६ कि किशोर रावलले गुनासो गरे । “मिडियामा राहत व्यापक आयो भन्ने छ, तर यहाँ केही पुगेको छैन । हामी हल्लाले बाँच्ने होइन बरु, मर्ने सम्भावना बढ्यो ।” अहिलेसम्म नलगाड नगरपालिकाको तथ्याङ्क अनुसार ६८ घाइते भएको र ५४ जनाको मृत्यु भएको जनाइएको छ । भूकम्पको केन्द्रविन्दु बारेकोट गाउँपालिका–१ रामीडाँडा भए पनि नलगाड नगरपालिकामा बढी क्षति हुन पुगेको छ । भूकम्प पीडित बस्तीमा सञ्चार सेवासमेत प्रभावकारी नहुँदा काम गर्न निकै मुस्किल भएको नगरप्रमुख रावतले बताए । धेरै पटक टावर माग गरियो तर अहिलेसम्म सुनुवाइ नभएको उनको भनाइ छ । त्यस्तै भूकम्पको केन्द्रविन्दु बारेकोट गाउँपालिका–१ रामीडाँडा सिर्पाचौर बस्तीका ५१ वर्षीय दलबहादुर घर्ती शुक्रबार मध्यरातको मिठो निद्रामा थिए । त्यही राति ११ः४७ मा रामीडाँडालाई केन्द्रविन्दु बनाएर आएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पको झट्काले दलबहादुरसँगै सिङ्गो बस्तीको निद्रा बिथोलियो । भूकम्पको कम्पन नसकिँदै दलबहादुर जोगाउन झ्यालबाट हाम फालेर भागेको सुनाए । परिवारका सबै सदस्य कताबाट बाहिरिए आफूलाई अत्तोपत्तोसमेत नभएको उनको भनाइ छ । वर्षौंदेखि बसिआएको पुर्खौली घर एकाएक तहसनहस भयो । भूकम्पको केन्द्रविन्दु रामीडाँडा क्षेत्रका अधिकांश बासिन्दाको अवस्था दलबहादुरको जस्तै छ । केन्द्रविन्दु भएर पनि मानवीय क्षति भएको छैन । भौतिक क्षति पनि जाजरकोटकै नलगाड र रुकुम पश्चिमको आठविसकोटको भन्दा कम छ । बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरी तुलनात्मक हिसाबले अन्य ठाउँको भन्दा केन्द्रविन्दु भनिएको ठाउँमा कम क्षति भएको बताए । ‘केन्द्रविन्दु नजिकैको बस्ती सिर्पाचौरमा भूकम्पबाट सात जना घाइते भएका छन् । त्यसमध्ये अवस्था गम्भीर भएका तीन जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ । बाँकीको स्थानीय स्वास्थ्यचौकीमा नै उपचार भइरहेको छ’ । अध्यक्ष गिरीले भने, ‘घर ढलेका छैनन् भनेर हेर्ने हो भने क्षति कम छ । तर कुनै पनि घर बस्न लायक छैनन् । अहिले यहाँ करिब एक हजार घर परिवार विस्थापित भएका छन् । उनीहरूको व्यवस्थापन मुख्य चुनौती हो ।’ उनले करिब एक सय वटा घर पूर्णरुपमा भत्केका र चारभन्दा बढी घर चर्किएका बताए । ‘यसरी हेर्दा क्षतिभन्दा जोखिम धेरै छ’, उनले भने, ‘घर उभिएका मात्रै छन् । चर्किएका घर भत्किएका छैनन् भन्ने मात्रै हो ।’ भूकम्पले घरमा चिरा पारेपछि बारीको कान्लामा टालेको पुरानो पाल टाँगेर रात कटाइरहेकी ६१ वर्षीया रामकुमार घर्तीले बताए । ‘हामीलाई त्रिपालको समस्या छ । गाई राति नै वनतिर धपाइदियौँ । अहिले बाख्रा कहाँ राख्ने भन्ने समस्या भएको छ’, उनले भने, ‘आफू त पाल टाँगेर बसौँला । गाई कहाँ राख्ने, बाख्रा कहाँ राख्ने ? अब हिउँ पर्ने बेला भयो, चिसो बढेको छ । बाँच्ने कसरी, बचाउने कसरी ? चिन्ता लागेको छ ।’ उनी जस्तैजस्तै सिर्पाचौरका अधिकांश बासिन्दाले आफ्ना गाईवस्तुलाई जङ्गलतिर धपाएका छन् । खुला चौर र बारीको कान्लामा टाँगेको पालभित्र खाना बनाएर खान्छन् र त्यहीँभित्र निदाउँछन् । बारम्बार भूकम्प आइराख्ने हुँदा घरभित्र छिर्ने अवस्था छैन । उद्धारकर्मीले क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरिसकेका छन् । तर जाजरकोटकै नलगाड र रुकुम पश्चिमको आठविसकोटलगायत क्षेत्रमा क्षति धेरै भएकाले उद्धारकर्मी त्यतै केन्द्रित भएका छन् । मानवीय क्षति कम भए पनि भौतिक क्षतिले तहसनहस बनाएपछि चिसोमा रात कटाइरहेका रामीडाँडाका प्रभावित अहिले राहत र पुनः स्थापनाको प्रतीक्षामा छन् । हालसम्मको भूकम्पबाट जाजरकोटमा एक सय पाँच जनाको मृत्यु भइसकेको छ । भौतिक संरचनाको क्षतिको विवरण अझै आउन सकेको छैन । रासस
घोराही उपमहानगरपालिकाद्वारा १५ लाख सहयोग
घोराही । घोराही उपमहानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि १५ लाख सहयोग गर्ने निर्णय गरेको छ । आइतबार बसेको नगर कार्यपालिका बैठकले जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी र प्रशासनिकतर्फका कर्मचारी गरी एक हजार तीन सय ६६ जनाको एक दिनको तलब कटाएर भूकम्प पीडितलाई प्रदान गर्न लागेको हो ।