नेप्सेमा २ बैंकको बोनस सेयरमूल्यमा समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले सांग्रिला डेभलपमेन्ट बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन गरेको हो । यी दुई बैंकले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा सोमबार कारोबार हुनेछ । सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत प्रतिशत बोनस सेयरमूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता २८०.९५ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । आइतबार बैंकको सेयर प्रतिकित्ता २९५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद गरी कूल ५.२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले १९औं वार्षिक साधारणसभा मंसिर २४ गते लैनचौर ब्याङ्क्वेट काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । यस्तै, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १०.५ प्रतिशत प्रतिशत बोनस सेयरमूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ३५२.९४ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । आइतबार बैंकको सेयर प्रतिकित्ता ३९० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५५ नगद गरी कूल ११.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले १५औं वार्षिक साधारणसभा मंसिर २३ गते रुपन्देहीमा बिहान ११ बजे बोलाएको छ ।
युनिलिभरको १५८० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सोमबार एक कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज मंसिर ११ गते अन्तिम दिन हो । साधारणसभा तथा लाभांश प्रयोजनार्थ कम्पनीले मंसिर १२ गतेदेखि मंसिर २६ गतेसम्म सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजसम्म सेयर खरिद गर्नेले साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्नेछन् । कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको १ हजार ५८० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले ३०औं वार्षिक साधारणसभा मंसिर २६ गते होटल याक एण्ड यति काठमाडौंमा दिउँसो साढे ४ बजे बोलाएको हो ।
उत्कृष्ट काम गरेर वर्षेनी अवार्ड पाउने हिमालयन एभरेष्टको रणनीति
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले आइतबार ३ बजे केन्द्रिय कार्यालय नजिकैको एउटा होटलमा पत्रकार सम्मेलन गर्याे । छोटो समयमा पत्रकार सम्मेलन गरिएको हुँदा निश्चित पत्रकार र बीमा कम्पनीमा कार्यरत कर्मचारी मात्रै होटलमा उपस्थित थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)विजयबहादुर शाह किरेमिरे ढाका टोपी र कोट पाइन्टमा चिटिक्क मुद्रामा हसिला देखिन्थे । पत्रकार सम्मेलनममा गत बिहीबार इण्डियन चेम्बर अफ कमर्शले हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई प्रदान गरिएका २ वटा पुरस्कारको विषयमा जानकारी गराइयो । २ सय वर्षको इतिहास बोकेको संस्था इण्डियन चेम्बर अफ कमर्शले उत्कृष्ट लघु बीमक (बेस्ट माइक्रो इन्स्योरर–नेपाल) र अतिप्रभावकारी प्रविधि अनुकुलन (मस्ट इफेक्टिभ एडप्सन अफ टेक्नोलोजी–नेपाल)अवार्ड कम्पनीले पाउँदा खुसी र गौरव लागेको सीईओले जानकारी गराए । उनका अनुसार बिमष्टेक राष्ट्रका बीमा कम्पनीहरूको व्यावसायिक वृद्धि, बीमा पहुँच विस्तार र बीमा क्षेत्रको डिजिटाइजेशनमा प्रोत्साहन गर्ने ध्येयले इण्डियन चेम्बर अफ कमर्शले उक्त अवार्ड प्रदान गर्दै आएको छ । विभिन्न विधाहरूमा नेपालका बीमा कम्पनीहरूमध्ये २ वटा विधामा पुरस्कार प्राप्त गर्ने हिमालयन एभरेष्ट इन्स्योरेन्स पहिलो कम्पनी हो । हिमालयन एभरेष्टले लघुबीमालाई बढावा दिँदै आएकाले सोही विधामा कम्पनीले पुरस्कार प्राप्त गरेको सीईओ शाहले बताए । साथै, कम्पनीले प्रविधिको प्रयोग गरेर धेरै बीमा पोलिसी बिक्री गरेको हुँदा प्रोत्साहनस्वरूप पुरस्कार प्रदान गरेको उनको भनाइ छ । ‘नेपालमा सामान्यतया १५ लाख बीमा पोलिसीहरू काटिन्छन् । तर, हिमालयन एभरेष्टले प्रविधिको सहायतामा १७ लाखभन्दा बढी मानिसलाई एउटै पोलिसीबाट बीमाको सुविधा दिइरहेका छौं, प्रविधिको प्रयोग गरेनौं भने त्यो सम्भव थिएन, प्रविधिको प्रयोग गरेको हुँदा उक्त पुरस्कार प्रदान गरिएको हो,’ उनले भने, ‘पुरस्कार राशी बढी रूपैयाँकाे नभए पनि प्रोत्साहन गर्नु ठूलाे विषय हो ।’ उनका अनुसार विगतमा कम्पनीले जुन सूचकहरू प्राप्त गरेको थियो आगामी दिनमा त्योभन्दा बढी हासिल गर्नुपर्ने चुनौती थपिएको छ । साथै, आजभन्दा भोलि र भोलिभन्दा पर्सि राम्रो गर्दै जानु पर्ने दायित्व थपिएको उनले बताए । सम्मेलनमा नेपाल, भुटान, बर्मा, भारत, श्रीलङ्का, बङ्गलादेश लगायत देशका ८० बीमा कम्पनीहरू सहभागी थिए । कम्पनीहरूले दिएको विवरणका आधारमा ४ महिना समय खर्चेर मूल्याङ्कन गरी कम्पनी छनोट गरेको सीईओ शाहले बताए । साथै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत वर्ष पनि दुइटा अवार्ड पाएको थियो । गत वर्ष इन्स्योरेन्स ‘एसियाली इन्स्योरेन्स इन्क्लुजन इनिसियटिभ अफ द एअर अवार्ड’ र ‘न्यू इन्स्योरेन्स प्रडक्ट अफ द एअर नेपाल अवार्ड’ प्रदान गरेको थियो । अब कम्पनीले प्राप्त गर्ने पुरस्कार प्रत्येक वर्ष थपिँदै जाने सीईओ शाहले बताए । उनका अनुसार भारत, श्रीलङ्का र बङ्लादेशको बीमा क्षेत्र नेपालको तुलनामा विकसित छ । तर, बर्मा र भुटानको बीमा क्षेत्र भने नेपालभन्दा पछि छ । संख्यात्मक हिसाबले नेपालभन्दा अघि भए पनि गुणस्तरका हिसाबले नेपालको बीमा क्षेत्र अघि रहेको उनको दाबी छ । साथै, नेपालमा पनि बीमा कम्पनीहरूलाई हौसला प्रदान गर्न पुरस्कार वितरणको व्यवस्था हुनुपर्ने माग उनले गरे । ‘व्यवसायको अनुशासन पालनामा नेपालको बीमा क्षेत्र सबैभन्दा अघि छ, नेपालमा बीमा कम्पनीलाई पुरस्कृत गर्ने कुनै संस्था छैन। तर, इण्डियन चेम्बर अफ कमर्शले नेपालको बीमाको लागि योगदान गर्दै आएको छ, नेपालका बीमा कम्पनीहरूमध्ये कुन राम्रो छ भनेर इण्डियन चेम्बर अफ कमर्शले मूल्याङ्कन गरिदिएको छ,’ उनले भने, ‘नेपालमा पनि बीमा कम्पनीहरूलाई प्रोत्साहन गर्न यस्ता पुरस्कार वितरण गर्ने संस्था जन्मिनुपर्छ, बीमा पहुँच, शाखा, नाफा, कर्मचारी, कर्मचारी संख्यालगायत सूचकमा जुन कम्पनी उत्कृष्ट छ, ती कम्पनीलाई पुरस्कार वितरणको अभ्यास थालनी गर्नुपर्छ ।’ साथै, पछिल्लो समय बीमा कम्पनीहरूले सेयरधनीहरूलाई प्रतिफल दिनुपर्ने नाफाबाट अवार्ड खरिद गरेको आरोपका विषयमा उनले भने, ‘पुरस्कार खरिद गरेको आरोप लगाउने व्यक्तिलाई कानुन लाग्नुपर्छ, त्यस्ता व्यक्तिलाई कानुन लाग्छ की लाग्दैन ?’ उनका अनुसार कम्पनीले प्राप्त गरेका अवार्ड खरिद गरेकाे छैन । भारतीय चेम्बर अफ कमर्शले मुम्बईमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)विजयबहादुर शाहलाई उक्त अवार्ड प्रदान गरेको हो । इण्डियन चेम्बर अफ कमर्शले नेतृत्वदायी भूमिका निर्वाह गर्दै बीमाको क्षेत्रमा विशेष योगदान पुर्याएका एशियाली देशका बीमा कम्पनीहरूमध्येबाट उत्कृष्ट कम्पनीलाई विगत ४ वर्ष देखि सम्मान गर्दै आएको छ । एशियामा उदीयमान बीमा कम्पनीको कार्य सम्पादन, व्यवसाय विस्तार, प्रविधिको प्रयोगलगायत विधामा विश्व प्रतिष्ठित परामर्शदाता पीडब्लुसीले स्वतन्त्र मूल्याङ्कन गर्छ । सोही आधारमा कम्पनीले लघुबीमा क्षेत्रमा गरेको सेवा प्रवाह र प्रभावकारिता र प्रविधिको प्रयोगले बीमा सेवामा सहजता उपलब्ध गराएको र पहुँच अभिवृद्धिमा जोड दिएकोमा कम्पनीलाई उक्त पुरस्कार प्राप्त गरिएको सीईओ शाहले बताए । हिमालयन एभरेष्टले पछिल्लो समय प्रत्येक वर्ष कुनै न कुनै अन्तर्राष्ट्रिय अवार्डहरू जित्दै आएको छ । यसअघि गत वर्ष सिंगापुरमा इन्स्योरेन्स एसियाले हिमालयन एभरेष्टलाई इन्स्योरेन्स इन्क्लुजन इनिसियटिभ अफ द येअर नेपाल अवार्ड र न्यू इन्स्योरेन्स प्रडक्ट अफ द एअर नेपाल अवार्ड प्रदान गरेको थियो । कम्पनीले विगत ३० वर्षदेखि निर्जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ ।
शिवम् सन्देश : घर बनाउनेदेखि जग्गा छान्नेसम्मको आइडिया
काठमाडौं । शिवम् सिमेन्टले उपभोक्ताका लागि घर बनाउनेदेखि जग्गा छान्नेसममको टिप्ससहित सन्देशमुलक अभियान सुरु गरेको छ । ‘शिवम् सन्देश’ नामक टिप्स घर बनाउने ग्राहकका लागि निकै उपयोगी हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार वर्षौंको मेहेनत र पसिनाले बनाएको घर योजना अनुरूपकै होस् र घर बनाउँदा कुनै गल्ती कमजोरी नहोस् भन्ने चाहना बमोजिम सूचनाका लागि यस्तो सन्देश लिएर आएको बताएको छ । ‘सही विशेषज्ञ र प्राविधिकको सल्लाह अत्यावश्यक र लाभप्रद हुन्छ । त्यसैले नेपाल गुणस्तर अवार्ड २०१९ बाट पुरस्कृत नेपालकै पहिलो सिमेन्ट कम्पनी शिवम् सिमेन्टले ’शिवम् सन्देश’लिएर आएको छ । शिवम् सन्देश’ गुणस्तरीय, सुरक्षित टिकाउ घर निर्माणका लागि जनचेतनामूलक सन्देशहरूको संग्रह हो । यसमा घर निर्माण पूर्व निर्माणका योजना बनाउँदै गर्दा, घर बनाउँदै गर्दा र घर बनाइसकेपछि ध्यानदिनु पर्ने विभिन्न महत्वपूर्ण जानकारीहरू समावेश गरिएको छ,’ कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा छ । घर बनाउने जग्गाको छनोट गर्नेबारेका सुझावदेखि गुणस्तरीय निर्माण सामग्रीको छनोट र भण्डारण कसरी गर्ने ? विभिन्न मौसममा घर बनाउँदा के कस्ता कुरामा विचार पुर्याउने ? जस्ता थुप्रै उपयोगी जानकारीहरू समेटिएको छ ।भूकम्प र बाढी–पहिरा जस्ता प्राकृतिक प्रकोप प्रतिरोधी घर निर्माण कसरी गर्ने ? इन्जिनियर र आर्किटेक्ट जस्ता प्राविधिकको महत्वकति हुन्छ ? साथै, घर बनाउँदा बजेटको व्यवस्थापन र वितरण कसरी गर्ने जस्ता जटिल लाग्ने प्रश्नहरूको सरल जनबोलीमा दिइएका सल्लाह र सुझाव शिवम् सन्देशमा समेटिएका छन् । साधारण लाग्ने तर घर निर्माणको योजनाबनाउन र घर निर्माणका क्रममा निकै उपयोगी हुनसक्ने महत्वपूर्ण जानकारी, सल्लाह र सुझावहरू पनि शिवम् सन्देशमा समेटिएको कम्पनीले जनाएको छ । शिवम् सन्देश’ उपभोक्ताहरूले शिवम् सिमेन्टको आधिकारिक वेबपेज, फेसबुक, युट्युब र इन्स्टाग्राममा गएर पनि हेर्न सकिने कम्पनीको भनाइ छ ।
नेपालमा आउने लगानीकर्ता भारत डाइभर्ट, लगानी सम्मेलनको उपलब्धि नगण्य
काठमाडौं । उद्योगी व्यवसायीहरूले सरकारले व्यवसायीमैत्री कानुनको निमार्ण नगर्दा र भएका नीति पनि सहजरूपमा कार्यान्वयन नगर्दा लगानीकर्ताहरूमा निराशा छाएको गुनासो गरेका छन् । उनीहरूले सरकारले गर्नु पर्ने काम समयमै नगर्दा र अनेक तबरबाट व्यवसायीलाई दुःख दिने काम गर्दा लगानीकर्ता निराश हुँदै पलायन भएको गुनसो गरेका हुन् । आइतबार अर्थमन्त्रालयमा लगानी सम्मेलनका लागि गठित निर्देशक समितिको बैठकपछि भएको पत्रकार सम्मेलनमा बोल्दै अधिकांश उद्योगी व्यवसायीहरूले सरकारले समयमै काम नगर्दा र भएको नीति पनि कार्यान्वयनमा चासो नदिँदा व्यवसायीहरूमा एक किसिमको निराशा सिर्जना भएको गुनासो गरेका हुन् । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशी लगानीकर्ताहरूले नेपालमा लगानीका लागि चासो देखाए पनि यहाँको वातावरणले तत्काल आउन नचाहेको जानकारी गराए । उनका अनुसार त्यसका लागि सरकारले समन्वयको भूमिका निर्वाह गर्नु पर्नेछ । ‘लगानीमैत्री वातावरणका लागि सबैले हातेमालो गरौं, आगामी बैशाखमा हुने लगानी सम्मेलनका लागि पनि प्रि सम्मेलन गरौं, नेपालमा बिप्पा गरौं, विदेशी लगानीकर्ता नेपालमा आउने चासो देखाइरहेका छन्, त्यसतर्फ हामीले ध्यान दिनु पर्छ,’ उनले भने । यस्तै, उद्योगी तथा नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्माले विगतका लगानी सम्मेलनमा गरिएका बाचाहरू पूरा नभएको बताउँदै सरकारले त्यसको पनि कार्यान्वयन गर्नतर्फ ध्यान दिनु पर्ने बताए । उनले विदेशी लगानीकर्ताहरूले नेपालमा लगानी गर्न चाहेको भए पनि यहाँ लगानीमैत्री वातावरण नहुँदा अन्तै डाइभर्ट भएको जानकारी गराए । ‘विदेशी लगानीकर्ताहरू नेपालभन्दा अन्तको बजारमा प्रवेश गरेका छन्, भारतमा लगानीमैत्री वातावरण छ, उनीहरू भारततर्फ पनि डाइभर्ट भएका छन्, यसका लागि हामीले सुधार गर्नु पर्ने विषयहरू अध्ययन गरेर काम अगाडि बढाउनु पर्छ,’ उनले भने । बैठकमा उनले नेपालमा जग्गा सम्बन्धि समस्या बढी भएको र एउटा कामका लागि विभिन्न मन्त्रालय धाउनु पर्ने बाध्यता रहेकोले त्यो समस्या समाधानका लागि काम गर्नु पर्ने बताए । ‘नेपालमा जग्गाको समस्या ठूलो छ, एउटा कामको लागि विभिन्न मन्त्रालय धाउनु पर्ने बाध्यता छ, लगानी सम्मेलनका लागि चार महिना छोटो समय हो, यसका लागि अब तीव्ररूपमा काम गर्नुपर्छ,’ उनले भने । यस्तै, कार्यक्रमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले पनि लगानी सम्मेलनका लागि तयारी कम भएकोले सबैले हातेमालो गरेर छिटो काम गर्नु पर्ने बताए । उनले अहिले विदेशी लगानी कसरी भित्र्याउने भन्ने चिन्ता रहेको बेला लगानी सम्मेलन हुनु सकारात्मक विषय रहेको सुनाए । यस्तै, ग्लोबल आइएमई बैंकका सञ्चालक तथा लगानी बोर्डका पूर्व अध्यक्ष राधेश पन्तले सरकार ‘रिजल्ट ओरिन्टेड’ हुनु पर्ने धारणा राखे । उनले लगानीको सुरक्षणका लागि हेजिङको व्यवस्था हुनुपर्ने बताए । उनले प्रशासन प्रणालीको सुधारका लागि पनि सरकारले काम गर्नु पर्ने उनको भनाइ छ । अर्थमन्त्री भन्छन् : लगानीकर्ताको प्रतिफल सुनिश्चित हुन्छ बैठकमा बोल्दै अर्थमन्त्री तथा तेस्रो लगानी सम्मेलनका संयोजक डां प्रकाशशरण महतले लगानीकर्ताको प्रतिफल सुनिश्चित हुने गरी काम गरिने बताएका छन् । अर्थमन्त्री डा. महतले स्वदेशी, गैरआवासीय नेपाली (एनआरएनए) र विदेशी लगानीकर्तालाई आकर्षित गर्न लगानी सम्मेलन आयोजना गर्न लागिएको पनि बताए । ‘यसपटक हामीले विगतमा जस्तो औपचारिकताभन्दा पनि वास्तविक लगानीकर्तालाई आकर्षित गर्न सम्मेलन आयोजना गर्न लागेका हौं, यसपटक सम्मेलन आयोजना हुनुअघि सम्भावित लगानीकर्तासँग दुईपक्षीय बैठक गर्ने योजना बनाएका छौं,’ उनले भने । सम्मेलनमा धेरै जनालाई सहभागी गराउनेभन्दा पनि सम्भावित लगानीकर्तालाई समेट्ने योजना रहेको मन्त्री डा. महतले बताए । ‘सरकारले दुईपक्षीय लगानी प्रवर्धन तथा संरक्षण सम्झौता (बिप्पा) कार्यान्वयन गर्दै विदेशी लगानीलाई संरक्षण गर्न चाहेको छ, यसपटक सम्मेलनकै लागि सम्मेलन हुँदैन, यसको उद्देश्य सक्षम लगानीकर्तासमक्ष प्रस्ताव राख्ने, त्यस्तो लगानीकर्ताको लगानी सुनिश्चित गर्ने तथा लगानी प्रतिबद्धतालाई फलोअप गर्ने र रियलाइजेसन गर्ने हो,’ उनले भने । यस्तै, बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुधन किराँतीले ऐन कानुन र काम गर्ने शैली नै बाधक भएको स्पष्ट पारे । भूराजनीतिक स्वार्थले पनि लगानी आउने र मध्यपूर्वी राष्ट्रलाई प्राथमिकतामा राख्नेमा जोड उनको छ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सम्मेलनका लागि कम समय भएकोले सबैले मिलेर रातदिन काम गर्नु पर्ने बताए । उनले ऊर्जा क्षेत्रमा मात्रै अध्ययन भएका परियोजना भएको तर अन्य क्षेत्रमा अध्ययन कम भएको बताए । बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयालले विगतका लगानी सम्मेलनका समीक्षा गर्नुपर्ने बताए । उनले आयोगले पनि अध्ययन गरेको र त्यसलाई आधारका मानेर कुनै देशलाई केन्द्रित गर्नुभन्दा हाम्रो आवश्यकता हेर्नपर्नेमा जोड दिए । वाणिज्य सचिव नारायण दुवाडीले सरकारले दिने सुविधा बारे बढी तयारी गर्नु पर्नेे बताए । उनले ऐनले दिएको सुविधाले पूर्ण विश्वास आर्जन गर्न नसकेको भन्दै लगानीकर्तालाई विश्वस्त पार्न अनुसन्धानमुलक हिसाबले आयोजनाको अध्ययन गर्न जोड दिए ।
संघसँग तीन लाख रुपैयाँ लिएर बालश्रममुक्त क्षेत्र बनाउन स्थानीय तह भएनन् तयार
काठमाडौं । सरकारले पालिकाहरुलाई बालश्रममुक्त क्षेत्र बनाउन अगाडि बढाएको कार्यक्रम कार्यान्वयन गर्न स्थानीय तह अनिच्छुक देखिएका छन् । सरकारले चालु आर्थिक वर्षमा एक सय स्थानीय तहलाई बालश्रम मुक्त स्थानीय तह घोषणा गर्नको लागि कार्यक्रम र बजेटको व्यवस्था गरेको थियो । तर, सो कार्यक्रम गर्न तोकिएको संख्याका स्थानीय तहहरु नआएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । बाल श्रममुक्त पालिका निर्माण गर्नका लागि पहिलो चरणमा ४० वटा पालिका मात्रै छनोट भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षमा नै अन्य ६० वटा स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले मन्त्रालयले आइतबार फेरि प्रस्ताव आह्वान गरेको छ । मन्त्रालयले स्थानीय तहहरुलाई ४५ दिनको समय सीमा दिएर प्रस्ताव बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि, २०७७ अनुसार प्रस्ताव पेस गर्न आग्रह गरेको छ । मन्त्रालयले यस अघि साउन २८ गते स्थानीय तहहरुलाई प्रस्ताव पेस गर्न आग्रह गरेको र पर्याप्त प्रस्ताव नआएकोले दोस्रो पटकको पटकको लागि सचिवस्तरीय निर्णय गरेर प्रकृया अगाडि बढाइएको जनाएको छ । बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि, २०७७ अनुसार सो कार्यक्रम गर्न चाहने पालिकाहरुले शुरुमा तीन लाख र घोषणा गरिसकेपछि २ लाख पाउँछन् । सरकारले चालु आर्थिक वर्षमा एक सय वटा पालिकालाई बालश्रममुक्त बनाउन दुई करोड ९९ लाख ७० हजार रुपैयाँ विनियोजन गरेको छ । गत आर्थिक वर्षाम सरकारले ७० वटा पालिकामा सो कार्यक्रम सञ्चालन गर्ने भनेर प्रस्ताव आह्वान गरेकोमा अर्थ मन्त्रालयले पैसा नदिएपछि सबै कार्यक्रम रोकिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताए । बालश्रम जस्तो संवेदनशील विषयमा सरकारले पर्याप्त रकम विनियोजन गरेको छैन भने सो कार्यान्वय गर्ने प्रकृया समेत झन्झटिलो मानेका कारण पालिकाहरुले कम चासो देखाएको उनको भनाइ छ । घिमिरेका अनुसार अहिलेसम्म एक सय चार वटा पालिकाले मात्रै बालश्रममुक्त क्षेत्र घोषणा गरेका छन् ।
‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी ‘ फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर ल्याएको छ । बैंकले एनसीएचएल संगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी ‘ फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको हो । सो अफर अन्तर्गत हरेक तीनजना भाग्यशाली मोबाइल बैकिङ्ग प्रयोगकर्ताले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका एनआइएमबी कनेक्ट आइपीएस नोट गरी फण्ड ट्रान्सफर गर्दा १–१ थान स्मार्टफोन जित्न सक्ने बैंकले जनाएको छ । सो अफर मंसिर १० गते देखि पुष ९ गतेसम्म लागु हुनेछ । एनआइएमबी स्मार्टमा उपलब्ध कनेक्ट आइपीएसलाई छनोट गरी फण्ड ट्रान्सफर गर्ने तीनजना प्रयोगकर्तालाई अफरको अन्त्यमा विजेता घोषणा गरिनेछ । सोको जानकारी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आधिकारीक सामाजिक सञ्जालमा प्रकाशन गरिने छ । फण्ड ट्रान्सफर गर्नका निम्ती आफ्नो एनआइएमबी स्माटएपमा लग–इन गरी फण्ड ट्रान्सफरमा क्लिक गरी फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपीएसलाई छनोट गर्नुपर्ने हुन्छ । मोबाइल बैंकिङ्गबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपीएस एक न्यूनतम शूल्क लाग्ने सजिलो माध्यम हो । भुक्तानी तथा ट्रान्सफरका निम्ती मोबाइल बैकिङ्गको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रर्वद्धन गर्ने विश्वास गरिएको छ । कनेक्ट आइपीएस को फण्ड ट्रान्सफरको विकल्प ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ्गमा उपलब्ध रहेको छ भने उक्त माध्यमबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपीएसमा छुट्टै रजिष्टर गर्न आवश्यक छैन । एनआइएमबी स्माटमा रहेकाे कनेक्ट आइपीएस मार्फत प्रति दिन प्रति कारोबार २ लाख रुपैयाँसम्मको फण्ड ट्रान्सफर गर्न सकिन्छ ।
आयुश केडिया उदयमान युवा उद्यमशील पुरस्कारबाट सम्मानित
काठमाडौं । युवा उद्यमी आयुश केडिया ‘उदयमान युवा उद्यमशील पुरस्कार’ बाट सम्मानित भएका छन् । काठमाडौंमा आयोजित पर्सा मिलन केन्द्रले आयोजना गरेको २३ औँ पर्सा दिवस समारोह एवं अभिनन्दन तथा सम्मान कार्यक्रममा सम्माननीय उपराष्ट्रपति राम सहाय यादव र माननिय उद्योग वाणिज्य एवं आपूर्ति मन्त्रि रमेश रिजाल लगायत पर्सा जिल्लाका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो । डिएभी प्लस टु कलेजका डाइरेक्टर सुमन बस्नेतले आयुश केडियाको प्रतिनिधित्व गर्दै उक्त सम्मानपत्र ग्रहण गरे । सोही अवसरमा उद्योगपति ताराचन्द केडियाले उद्योग क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको थियो । उक्त कार्यक्रममा पर्सा जिल्लाका सामाजिक, आर्थिक, प्राज्ञिक एवं राजनीतिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको सम्मान गरिएको थियो ।