सूर्योदय हेर्ने पर्यटकले मानहुँकोटका होटल खचाखच
तनहुँ । सूर्योदय र सूर्यास्त हेर्ने पर्यटक बढेपछि व्यास नगरपालिका–५ स्थित मानहुँकोटका होटल खचाखच भएका छन् । सूर्योदयपछि देखिने बादलको दृश्य हेर्न दुई दिन अघिदेखि नै होटल बुक हुने गरेको स्थानीय होटल व्यवसायीको भनाइ छ । असोजदेखि आन्तरिक पर्यटकको चाप बढेपछि होटल खचाखच भरिएको मानहुँकोटस्थित होटल भ्यू टावरका सञ्चालक प्रेम रावतले बताए । आफूहरुसँग रहेको सात वटा कोठा र दुई वटा त्रिपाल दुई तीन दिन पहिल्यै बुक भइरहेको उनले सुनाए । ‘मानहुँकोटमा अहिले पर्यटकको चाप बढ्दा होटल पनि खचाखच भरिएको छ’, रावतले भने, ‘पर्यटकीय याममा दुई/तीन दिन पहिले नै होटल बुक हुने गर्दा हामीलाई पनि राहत मिलेको छ ।’ पर्यटकको चाप बढेपछि मानहुँकोटमा १० वटा होटल सञ्चालनमा आइसकेका छन् । धेरै पर्यटक मानुहुँकोट आउन भन्ने उद्देश्यले आफूले समूहमा आउनेलाई लक्षित गरी एक रात बास, दुई छाक खाना, नास्ता र चियासहित प्रतिव्यक्ति एक हजार एकसय कायम गरेको होटल मानहुँकोट एण्ड रिसोर्टका सञ्चालक पूर्ण श्रेष्ठले बताए । आफूले तीन वटा त्रिपालबाट मानहुँकोट आउने पर्यटकलाई सेवा दिएको मानहुँकोट होटलका सञ्चालक ३० वर्षीय मिलन थापामगरले बताए। आफूले प्रतित्रिपालको शुल्क प्रतिरात रु एक हजार लिने गरेको बताए । ‘मैले त्रिपालमा राखेर पर्यटकलाई सेवा दिँदै आएको छु, एउटा त्रिपालमा चार जनासम्म सुत्न मिल्छ’, उनले भने, ‘आन्तरिक पर्यटकको चाप बढेपछि होटलको क्षमता विस्तार गर्ने योजनामा छु ।’ आफूहरुले दैनिक ५० जनासम्म राख्ने गरी होटल सञ्चालनमा ल्याएको अम्रेला होटल एण्ड रिसोर्ट सञ्चालक सुनिल सुनामले बताए । होटलमा दैनिक दुई/तीन सय जनालाई सेवा दिइरहेको उनको भनाइ छ । आफूलाई मानहुँकोटबाट देखिने सूर्योदय र बादलको दृश्य निकै आकर्षक लागेको धरानबाट आएकी ५२ वर्षीया निरु राईले बताईन् । ‘बादलको दृश्य पनि यस्तो राम्रो देखिएला भन्ने मैले सोचेको थिइन, अझै यसको प्रचारप्रसार गर्न सके सबैलाई मानहुँकोटको बारेमा जानकारी हुने थियो’, उनले भनिन् । मानहुँकोटको विकासका लागि आफूहरुले पर्खाल निर्माणलगायतको काम गरिरहेको व्यास नगरपालिका वडा नम्बर–५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ (हिमाल)ले बताए । समुद्री सतहबाट करिब एक हजार एक सय मिटरको उचाइमा रहेको मानहुँकोट तनहुँको दमौलीबाट करिब सात किलोमिटरको यात्रामा पुग्न सकिन्छ । जाडोको मौसममा अन्य दिन दुई/तीन सय जना र बिदाको दिन आठदेखि नौ सय जनासम्म मानहुँकोट पुग्ने गरेका छन् । रासस
गाउँको पाखोबारीमा चियाखेती, वार्षिक ३० लाख आम्दानी
ढोरपाटन । बसाइँसाइले गाउँ रित्तिन थालेपछि बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा स्थानीयवासीले चियाखेती गर्ने योजना बनाएर वनमाराले ढाकेको खेतीयोग्य पाखोबारीमा चियाका बिरुवा लगाएका छन् । छ वर्ष अगाडि परीक्षणका लागि १५ हजार चियाका बिरुवा लगाइएकामा खेती फस्टाउन थालेपछि स्थानीय उत्साहित भएका छन् । परीक्षणका रुपमा लगाइएको खेती सफल भएपछि अहिले रेशको बौर र तिङरिङ क्षेत्रको ७२ रोपनीमा चियाखेती विस्तार गरिएको छ । पहिले वनमाराले ढोकेका पाखाबारी चिया बगानमा परिणत भएपछि अवलोकन भ्रमणका लागि आउनेको सङ्ख्या बढ्न थालेको छ । झाडीले उराठिलो वनेको पाखोबारी चियाखेतीले ढाकिपछि किसान निकै हर्षित भएका छन् । अहिले खेतीबाट यहाँका किसानले उत्पादनसमेत लिन थालेका छन् । चियाको बिरुवा राम्रो हुँदै गएपछि स्थानीयवासीले खाली भएका व्यक्तिगत तथा सार्वजनिक जग्गामा पनि खेती विस्तार गर्न थालेका हुन् । हाल तिङरिङ र बौर गरी तीन स्थानमा ५६ हजार बिरुवा लगाइएको काठेखोला–७ का वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिए । ‘मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ परियोजना र स्थानीयवासीको जनश्रमदानबाट चियाखेती विस्तार भएको थियो । गत साउन र भदौमा किसनाले चिया टिपे र झण्डै तीन लाखको बिक्रीसमेत गरेका छन्’, उनले भने, ‘सुरुवाती चरणमै राम्रो उत्पादन भएपछि किसानामा गाउँमै रोजगार बन्ने र आम्दानी गर्न सकिने आशा पलाएको छ । बजार झर्ने त झरिसके गाउँमा रहेकालाई अब यही बस्न चियाबारीले प्रेरित गरेको छ ।’ यहाँ थप एक लाख चियाको बिरुवा थप्ने योजना रहेको स्थानीयवासीको भनाइ छ । चियाको बजारमा बढ्दो माग हुँदा माग अनुसार उत्पादन गर्न नसकिएको किसान बताउँछन् । यहाँ लगाइएको चिया महिनामा तीन पटकसम्म टिप्ने हुँदा आम्दानी पनि बढी हुने अपेक्षा स्थानीयवासीको छ । अहिले ३५ हजार बोट निरन्तर टिप्नका लागि तयार भएका छन् । गाउँमा रोजगार सिर्जना गर्न र बसाइँसराइ रोक्नका लागि छ वर्ष अगाडि सुरु गरिएको चिया खेतीले अहिले उत्पादन दिन थालेको लामिछानेले बताए । यसवर्ष पनि चिया खेतीको क्षेत्र विस्तार गर्ने योजना रहेको उनले बताए । गाउँको पाखोबारीलाई उपयोग गरी आयआर्जनको माध्यम बनाउँदै गाउँलाई आत्मनिर्भर बनाउने उद्देश्य रहेको अध्यक्ष लामिछानेल जानकारी दिए । चियाखेतीमा करिब दुई सय घरपरिवार आवद्ध रहेकाले आम्दानी सबैले पाउने उनको भनाइ थियो । चिया खेतीबाट वार्षिक रू ३० लाख आम्दानी गर्ने अनुमान गरेको लामिछानेले बताए । ‘यहाँ खेती गर्न थालेको धेरै वर्ष भएको छैन, तर उत्पादन दिन थालेको छ । गत साउन र भदौमा पहिलो पटक चिया टिपेर रू तीन लाखको बिक्री पनि गरियो । चिया कसरी टिप्ने भन्ने विधि बल्ल आउँदैछ’, उनले भने, ‘पछिल्लो समय धेरै गाउँ छोडेर बजार झरिरहेका छन् । उनीहरुलाई गाउँमै रोक्नका लागि हामीले खेतीयोग्य जमिनको उपयोग गरी रोजगार सिर्जना गर्न चियाखेती थालेका हौँ ।’ अहिले धेरै स्थानीयवासीले चासो दिएका भन्दै उनले यस वर्ष एक लाख बिरुवा थप्ने योजना रहेको वडाध्यक्ष लामिछानेले जानकारी दिए । उनका अनुसार चियाखेती विस्तारमा साना किसान सहकारी संस्था आवद्ध भएर काम गरिरहेका छन् । यहाँ चियाखेती विस्तार गर्दा हालसम्म करिब रू ४२ लाख खर्च भइसकेको साना किसान सहकारी संस्थाका पूर्वअध्यक्ष यामबहादुर कार्कीले जानकारी दिए । गाउँलाई चिया बारीको गाउँ बनाउने उद्देश्यले अहिले तीन लाख बिरुवा नर्सरीमा उत्पादन गरिरहेको उनको भनाइ छ । कार्कीले चिया प्रशोधन गर्नका लागि मेसिनसमेत गाउँमा ल्याइएको बताए । उनले खुल्ला पाखोबारीमा चियाका बिरुवा लगाइएकाले पशुचौपायाबाट जोगाउन गाह्रो भएको भन्दै संरक्षणका लागि बारबन्देज गर्नुपर्नेमा जोड दिए । यहाँको हावापानी राम्रो भएकाले अहिले बिरुवा सप्रिँदै गएको उनको भनाइ छ । ‘बिरुवा लिएर लगाउने बेला गाउँमा धेरैले चासो देखाएका थिएनन् । अहिले चिया बारीमा पुग्दा ठूलै बगानमा पुगे जस्तो लाग्छ । सुरुमा बिरुवा हुर्काउन केही समस्या भएको थियो,’ कार्कीले भने, ‘यहाँबाट आम्दानी हुन थालेको छ । गाउँका सबै स्थानीयवासी जोडिनु भएको छ । अब कुनै पनि बाँझो जमिन खाली नराख्ने योजना छ ।’ समुद्री सतहबाट एक हजार आठ सय मिटरदेखि दुई हजार तीन सय मिटरसम्मको उचाइमा चियाखेती राम्रो हुने कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ । केन्द्रका सूचना अधिकारी कुमार पुन मगरले रेशमा परीक्षणका लागि खेती गरिएको भन्दै यहाँ सफल हुने सम्भावना देखिएको बताए । यहाँ राम्रो उत्पादन हुन थालेमा जिल्लाका अन्य ठाउँमा पनि चिया खेती विस्तार गर्ने उनको भनाइ छ । कृषि ज्ञान केन्द्रमार्फत रेशमा चार वर्षसम्म करिब ५० लाख बढी सहयोग गरिएको मगरले बताए। अहिले जिल्लाभर १० हेक्टर बढी क्षेत्रफलमा चिया खेती गरिँदै आएको उनले जानकारी दिए । रासस
विश्वविद्यालयलाई समुदायस्तरमा विस्तार गर्नु आवश्यक छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २१औँ शताब्दीको आवश्यकता परिपूर्ति गर्न वैकल्पिक साधनस्रोतको खोजीका लागि विश्वविद्यालयलाई समुदायस्तरमा विस्तार गर्नु आवश्यक रहेको बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालय सभाको ३७औँ सभा बैठकलाई आज बाुलवाटारमा सम्बोधन गर्दै उनले समुदायस्तरमा पहुँच विस्तारका लागि विश्वविद्यालयले अघि सारेको नीति तथा कार्यक्रमको कार्यान्वयनमा देखापरेका बाधा–अड्चन, नीतिगत तथा कानुनी समस्याको समाधान र ऐनको समयाकूल परिमार्जन र संशोधनका लागि सरकारबाट यथोचित सहयोग रहने विश्वास दिलाए । विश्वविद्यालयले स्थापनाको झन्डै तीन दशकमा उल्लेख्य उपलब्धि हासिल गर्न सफल भएकामा प्रधानमन्त्रीले बधाई दिए । ‘विश्वविद्यालय स्थापनाका लागि योगदान पु¥याउने र यसको प्राज्ञिक उन्नयन र विकासमा सहयोग प्रदान गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दछु । आगामी दिनमा उच्च शिक्षाको गुणस्तर कायम गर्दै विश्वविद्यालयको संस्थागत सुधारका लागि समर्पित हुन सबैलाई प्रेरणा र उत्साह प्राप्त हुने विश्वाससमेत व्यक्त गर्दछु’, प्रधानमन्त्रीले भने । विश्वविद्यालयका उपकुलपतिले प्रस्तुत गर्नुभएको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं रजिष्ट्रारबाट प्रस्तुत बजेटले विश्वविद्यालयको समग्र शैक्षिक–भौतिक प्रगतिका साथै विकास र विस्तारमा समेत सघाउ पुग्ने प्रधानमन्त्रीको भनाइ छ । विश्वविद्यालयले राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने उच्चस्तरीय जनशक्तिको उत्पादनमा विशेष ध्यान दिनुपर्ने कूलपतिसमेत रहेका प्रधानमन्त्री दाहालको भनाइ छ । विश्वविद्यालयले विज्ञान तथा प्रविधि, इञ्जिनियरिङ, व्यवस्थापन, चिकित्साशास्त्र, शिक्षाशास्त्र र कानुनका क्षेत्रमा राष्ट्रको आवश्यकता एवं अन्तर्राष्ट्रियस्तरको दक्ष जनशक्तिको उत्पादनका लागि ध्यानकेन्द्रित गरेको जानकारी पाउँदा खुुसी लागेको उनले उल्लेख गरे । देशमा क्रियाशील सबै विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानले बदलिँदो परिवेशअनुरूप अध्ययन, अध्यापन र अनुसन्धानको दायरालाई व्यापक बनाई पृथ्वी र मानव जातिमाथि आइपर्नसक्ने तमाम चुनौती र समस्या समाधानका लागि सोच्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिए । ‘विश्वविद्यालयले आफ्ना पाठ्यक्रममा दीगो विकास, वातावरण संरक्षण, गहन अनुसन्धान र नवप्रवर्तनलाई उच्च प्राथमिकतामा राखेर व्यावहारिक, जीवनोपयोगी र गुणस्तरीय शिक्षामा जोड दिनु आवश्यक छ’, प्रधानमन्त्रीले भने, ‘प्रविधिको तीव्र विकास र विस्तारले दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सम्भव हुन्छ ।’ सैद्धान्तिक ज्ञान दिनेमात्र नभई विद्यार्थीलाई नवप्रवर्तन, जीवनोपयोगी र व्यावहारिक ज्ञान र सीप सिकाएर आत्मनिर्भर, व्यावसायिक र उद्यमशील बनाउने, नयाँनयाँ कुराको खोज, अनुसन्धान र आविष्कार गर्नसक्ने, मुलुकको विकास र समृद्धिका लागि नेतृत्वदायी भूमिका खेल्नसक्ने सिर्जनशील जनशक्ति उत्पादनमा विश्वविद्यालय केन्द्रित हुनुपर्ने प्रधानमन्त्रीको कथन छ । ‘उच्च शिक्षामा विकासको गतिलाई व्यापक बनाउँदै प्राकृतिक सम्पदा तथा परम्परागत ज्ञान सीपको संरक्षण र उपयोग, पर्यटन प्रवद्र्धन र कृषि क्षेत्रमा यान्त्रिकरणको प्रयोगमार्फत देशको अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउनसक्ने जनशक्ति उत्पादनमा विश्वविद्यालयले केन्द्रित हुनुपर्दछ’, प्रधानमन्त्रीले भने । उनले अलैँची, चिया, रुद्राक्ष, जडीबुटी, जुट, फलफूललगायत नेपालका मौलिक उत्पादनका बारेमा समेत सूक्ष्म शोध अनुसन्धान गरेर त्यस्ता उत्पादनको वृद्धि र प्रशोधनका साथै अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने कार्यमा यस विश्वविद्यालयले गुणात्मक योगदान दिने आफूले विश्वास लिएको प्रधानमन्त्रीको भनाइ छ । सो अवसरमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, विश्वविद्यालयका पदाधिकारीको उपस्थिति थियो ।
चीनका बैंकहरूले पनि भोग्दैछन् नेपालको जस्तै समस्या, घरजग्गा लिलाम नहुँदा ऋण असुलमा दबाब
काठमाडौं । पछिल्लाे समय ठूलाे अर्थतन्त्र भएकाे देश चीनकाे आर्थिक अवस्था नाजुक बन्दै गएकाे छ । लामाे समयदेखि घरजग्गा व्यवसायकाे संकटक सामना गरेकाे चीनकाे उक्त असर अहिले बैंक तथा वित्तीय क्षेत्रमा सरेसँगै अर्थतन्त्र नाजुक बनेकाे हाे । विश्वको दोस्रो ठूलो अर्थतन्त्रबारेमा जुन चिन्ता व्यक्त गरिँदै आएको थियो, त्यो अहिले देखिएको छ । चीनको रियल इस्टेट (घरजग्गा) संकटको असर अहिले बैंकिङ क्षेत्रमा पनि देखिएको छ । चीनको ठूलो सम्पत्ति व्यवस्थापन कम्पनीले लगानीकर्ताहरूलाई बिल तिर्न सक्ने अवस्थामा नरहेको समेत बताएको छ कि यसमा ६४ अर्ब अमेरिकी डलरसम्मको दायित्व छ र आफूलाई टाट पल्टिएको घोषणा गरेको छ । चिनियाँ कम्पनीको यस्तो घोषणाले देशको सम्पत्ति ऋण संकट अन्य वित्तीय क्षेत्रमा फैलिने चिन्ता थपिएको छ । रोयटर्सको रिपोर्टअनुसार चीनको कोष व्यवस्थापन कम्पनी झोङझी इन्टरप्राइजेज ग्रुप (जेडइजी) ले तीन दिनअघि आफ्नो अवस्था खुलासा गर्दै कम्पनीसँग ४ खर्ब २० अर्ब युआन वा ६४ अर्ब डलरबराबर दायित्व रहेको बताएको छ, जबकि योसँग २ खर्बको कुल सम्पत्ति छ । लामो समयदेखि ऋण र सम्पत्तिमा फसेको कम्पनीले जनाएको छ । कम्पनीमा तरलता पनि सकिएको छ । कम्पनीले आफ्नो अवस्था पूरै बिग्रिएको जनाएको छ । कम्पनीमा यसको असर भदौदेखि नै देखिन थालेको थियो । जब कम्पनीले अडिटका लागि बिग फोर लेखा फर्महरूमध्ये एकलाई काममा राखेर रणनीतिक लगानीकर्ता खोजेको थियो। त्यो अवधिमा ट्रष्ट कर्पोरेट लगानीकर्ताहरूको भुक्तानीमा चुक्यो । यस कम्पनीले ८७ अर्ब डलरबराबर कुल कोष व्यवस्थापन गर्दछ। यो चीनको ठूलो सम्पत्ति व्यवस्थापन कम्पनी हो र यसले लगानीकर्ताहरूलाई उच्च प्रतिफल दिन्छ। यो कम्पनी छाया बैंकिङ क्षेत्रसँग आबद्ध छ । यो ठूलो कम्पनीको ‘दिवालिया’ घोषणापछि छाया बैंकिङ क्षेत्रमा संकट गहिरिएको छ । यसमा देशका मध्यम तथा उच्च मध्यम वर्गीय जनताको लगानी छ, जसले डिफल्ट भए ग्राहकको विश्वास घट्ने र लगानी घट्नुका साथै ठूलो संख्यामा रकम झिक्न पनि सकिन्छ । केही लगानीकर्ताहरू संक्रमणकालमा झोङ्झीको बिग्रिँदै गएको अवस्थाबारे पुनः चिन्ता जागेको छ । यद्यपि, केही विश्लेषकहरू आशावादी छन् कि नियामकहरूले व्यापक परिणामहरू रोक्नका लागि कदम चाल्नेछन् । उल्लेखनीय छ कि चीनको घरजग्गा क्षेत्र केही वर्षदेखि गहिरो संकटमा छ। चीनको अर्थतन्त्रमा यसको २५ प्रतिशत हिस्सा छ, जसका कारण चीनको अर्थतन्त्रमा ठूलो गिरावट आउने अनुमान गरिएको छ । धेरै विज्ञहरू भन्छन् कि यो घरजग्गा संकट अन्य धेरै क्षेत्रमा फैलिन सक्छ । एजेन्सीकाे सहयाेगमा ।
लक्ष्मी सनराइज बैंक गल्फ प्रतियोगिताको उपाधि नोर्बु छिरिङले जिते
काठमाडौं । आठौँ लक्ष्मी सनराइज बैंक आमन्त्रण गल्फ प्रतियोगिताको उपाधि नोर्बु छिरिङ शेर्पाले जितेका छन् । शनिबार गोकर्ण गल्फ क्लबमा भएको प्रतियोगितामा शेर्पाले ४१ स्टेबलफोर्ड अंक जोडेर आशिष श्रेष्ठलाई पराजित गर्दै ट्रफी उचालेका हुन् । प्रतिस्पर्धी श्रेष्ठ ४० अंक बनाएर उपविजेता बनेका छन् । प्रतिस्पर्धामा टशी दोङले ३९ ग्रोस अंक जोडेर उत्कृष्ट ग्रसको अवार्ड जितेका छन् । यस्तै, महिलातर्फ ३४ अंकका साथ सुमित्रा खड्का विजेता र ३३ अंकका साथ आरती राना उपविजेता बनेका छन् । प्रतियोगितामा सात जना महिलासहित ९६ जना गल्फरले सहभागिता जनाएका थिए । प्रतियोगिताका विजेतालाई बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र क्याप्टेन जोसेफ नाथनलगायतले पुरस्कार वितरण गरेका थिए।
लिबर्टी माइक्रो लाईफ पनि अब नेशनल पेमेन्ट स्वीचमा आबद्ध
काठमाडौं । लिबर्टी माइक्रो लाईफ पनि अब नेशनल पेमेन्ट स्वीचमा आबद्ध भएको छ । लिबर्टी माइक्रो लाईफ इन्सुरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीचमा आबद्ध भएको छ । यसका निम्ति लिबर्टी माइक्रो लाईफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात लिबर्टी माइक्रो लाईफ एनपीयसमा आबद्ध पाँचौ माइक्रो लाईफ इन्सुरेन्स कम्पनी हुनेछ । यस अन्तर्गत लिबर्टी माइक्रो लाईफका आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरु बीच सोझै गर्न सकिने कम्पनीले जनाएको छ । एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआइमा हाल ५३ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने पिएसपी/पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका १०० भन्दा बढी गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् । मर्चेन्ट बैंकिङ्ग, बीमा, सहकारी, लघुवित्त लगायतका विभिन्न क्षेत्रहरुमा भुक्तानी कारोबारहरुलाई डिजिटाइज गर्न एनपीआइ अन्तर्गतका विभिन्न उपकरणहरु सञ्चालनमा रहेकाे कम्पनीले जनाएको छ ।
काठमाडौं विश्वविद्यालद्वारा राष्ट्रिय उपकुलपति सम्मेलन आयोजना, शैक्षिक वातावरणमा सकरात्मक प्रभाव
धुलिखेल । काठमाडौं विश्वविद्यालय (केयु)ले शुक्रबार नेपालभरका विश्वविद्यालयका उपकुलपतिहरुको सम्मेलन आयोजना गरेको छ । ‘उच्चशिक्षाका मापदण्डहरूमा एकरूपता र अन्तर्राष्ट्रियकरण’ विषयक सम्मेलनले उच्च शिक्षाको अवस्था सुधार गर्न नेपालका विश्वविद्यालयहरूका लागि साझा मार्गचित्र निर्माण गर्ने मार्ग प्रशस्त गरेको छ । सम्मेलनमा सहभागी उपकुलपतिहरुले नेपालका विश्वविद्यालयहरुले आज भोगिरहेको संकट र त्यसको समाधानका उपायबारे बृहत् छलफल गरे । उनीहरूले नेपालको उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्न र नेपाली विद्यार्थीहरूको निरन्तर पलायनको समस्यालाई सुल्झाउन कार्ययोजना विकास गर्न प्रतिबद्धता व्यक्त गरे । सहभागीहरुले काठमाडौं विश्वविद्यालयको आयोजनामा आगामी फेरुअरी १५–१६, २०२४ मा हुने उत्तर भारतका २ सय ५० भन्दा बढी विश्वविद्यालयका उपकुलपतिको बैठकघि नेपालका विश्वविद्यालयहरूको साझा आवाज निर्माण गर्ने प्रतिबद्धता जनाए । धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको मूल क्याम्पसमा भएको सम्मेलनमा प्रधानमन्त्री पुष्प कमल दाहाल, शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीलगायत विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार, रेक्टर, डीन लगायत १ सय ५० भन्दा बढी शीर्ष नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले ज्ञान उत्पादन र सहयोग प्रणालीमार्फत वर्तमान चुनौतीलाई अवसरमा परिणत गर्नमा सम्मेलनको महत्व औंल्याए । उच्च शिक्षा संस्थारुको स्वायत्तताको आवश्यकताबारे प्रकाश पार्दै दाहालले विश्वविद्यालयका लागि स्वशासनको खाका निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए । ‘विश्वविद्यालय अनुदान आयोग अन्तर्गत राष्ट्रिय शिक्षाको ढाँचा, समकक्षताको प्रावधान तथा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न बनाउन विश्वविद्यालयहरूले चालेका पहलहरू प्रसंशनीय छन्,’ दाहालले भने । राज्यमन्त्री प्रमिला कुमारीले विद्यार्थीको गतिशीलतालाई सम्बोधन गर्न सान्दर्भिक उपाय खोज्नुपर्नेमा जोड दिइन् । ‘सहकार्यमार्फत प्रभावकारी क्रेडिट ट्रान्सफर र क्रेडिट सञ्चयका प्रावधानहरू निर्माण गरेर मात्र यस्तो लक्ष्य प्राप्त गर्न सम्भव छ ।’ कुमारीले राष्ट्रिय र वैश्विक शैक्षिक मापदण्डको ठोस प्रावधानसहित उच्च शिक्षालाई सुदृढ गर्न आवश्यक रहेकोमा जोड दिइन् । काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापाले राष्ट्रिय तथा क्षेत्रीय तहमा शिक्षाको मापदण्डमा एकरूपता ल्याउने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए । थापाले उच्च शिक्षाको भविष्यका मार्गहरू पुनः परिभाषित गर्नुपर्ने आवश्यकता औंल्याए । थापाले विश्वभरका नीतिविद्, विश्वविद्यालयका अधिकारी र विद्वानहरुको भेला हुनु नेपालको उच्च शिक्षालाई सुदृढ बनाउने ऐतिहासिक अवसर भएको बताए । ‘साझा शैक्षिक हितको उद्धेश्यले ज्ञान आदान प्रदाद र सहकार्य गर्ने हाम्रो पहल हो ।’ काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माले शैक्षिक संस्थाले दिने शिक्षाको गुणस्तरका आधारमा राष्ट्रिय पहिचान निर्माण गर्नेतर्फ जोड दिए । शर्माले द्रुत रूपमा परिवर्तन भइरहेका स्थानीय र विश्वव्यापी परिदृश्यहरूसँग नेपालको शिक्षा पद्धतिलाई एकाकार बनाउन प्राविधिक रूपमा राम्रो बहु–विधागत सिकाइका स्थानहरूको महङ्खवका बारे प्रकाश पारे । काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार अच्युत प्रसाद वाग्लेले उच्च शिक्षाका पेशाकर्मीमाझ पेशागत इमान्दारी र नैतिक जिम्मेवारी हुनुपर्नेमा जोड दिए । उनले सम्मेलन शैक्षिक वातावरणमा सकरात्मक प्रभाव पार्ने विन्दुहरुलाई जोड्ने पहल रहेको समेत बताए । ‘अहिले हामी जहाँ छौं, त्यहीबाट उत्कृष्टता हासिल गर्नु बुद्धिमतापूर्ण हुन्छ । त्यसका लाथि हामीले उच्च शिक्षाका सवालमा केन्द्रित हुने खुकुलो बौद्धिक बहस र संवादको पहल गर्ने निकाय निर्माण गर्नु आवश्यक छ,’ वाग्लेले भने । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीले समापन सत्रमा बोल्दै काठमाडौं विश्वविद्यालयको पहलमा आयोजित सम्मेलने आयोगको पूरकको रुपमा काम गरेको बताए । सम्मेलनले नेपालमा उच्च शिक्षाको सुदृढीकरणका र अन्तर्राष्ट्रियकरणका लागि उल्लेखनीय योगदान दिने विश्वास व्यक्त गरे । नेपाल विश्वविद्यालय विकास बोर्डका अध्यक्ष अर्जुन कार्कीले नेपालको उच्च शिक्षालाई मानविकी तथा कला अध्ययनको माध्यमबाट थप सान्दर्भिक बनाउने बारे बताए । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्म राज जोशीले विद्यार्थी आदानप्रदान र गतिशीलता कार्यक्रम मार्फत उच्च शिक्षाको भविष्यको रूपान्तरण गर्न सकिनेमा जोड दिए । गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङले नेपाली उच्च शिक्षालाई विश्वसँग जोड्न नेपालमा भइरहेका प्रयासका सबल र दुर्बल पक्षका बारे प्रकाश पारे ।
तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन आजदेखि सुरु
काठमाडौं । नेपाल चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन (एनएमए–नेशनल हेल्थ समिट) आजबाट काठमाडौंमा शुरु भएको छ । सम्मेलन आईतबार र सोमबार गरी दुई दिनसम्म चल्नेछ । मंसिर १० र ११ गते हुने दुई दिने सम्मेलनमा स्वास्थ्य सेवा प्रवद्र्धनका लागि विभिन्न ७ विषयमा बहस हुने तय गरिएको छ । बहसका लागि दोस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनका उपलब्धि, स्तरीय स्वास्थ्य सेवाका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन कार्यान्वयनमा चुनौति, सुरक्षित स्वास्थ्य सेवा प्रवाहको सबलीकरण, प्रतिजैविक प्रतिरोध औषधिको उचित प्रयोग तथा समान सेवाका लागि स्वास्थ्य प्रणाली लगायतका विषय छन् ।