विकासन्युज

यस वर्षको एसईई चैत १५ गतेदेखि हुने (परीक्षा तालिकासहित)

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १५ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एसईईको परीक्षा चैत १५ गते सुरु भई चैत २७ गते सकिने जनाएको हो । कार्यालयका अनुसार पहिलो दिन अनिवार्य अंग्रजी, १६ गते नेपाली, १८ गते गणित, २० गते अनिवार्य विज्ञान र २१ गते सामाजिक अध्ययन विषयको परीक्षा हुने छ । [pdf id=459526]

हकप्रदबाट उठेको रकम रोल्वालिङ खोलामा लगानी गर्दै अपर तामाकोशी

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले हकप्रद सेयरबाट संकलन भएको रकम रोल्वालिङ खोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । स्वदेशी पुँजीबाट बनाउने उद्देश्य रहेको २२ मेगावाटको उक्त आयोजना हकप्रदबाट उठेको रकमबाट बनाउने योजना रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मोहन प्रसाद गौतमले बताएका हुन् । ‘अपर तामाकोशीको हकप्रद सेयरबाट संकलन भएको रकमले रोल्वालिङ आयोजना बनाउने योजना बनाएका छौं, हाल ठेकेदार कम्पनीले उक्त आयोजनाको काम अगाडि बढाइ सकेको अवस्था छ, त्यो आयोजनामा हकप्रदबाट संकलन परिचालन भएपछि ऋण लिनु पर्दैन,’ उनले भने । उक्त आयोजना निर्माणको जिम्मा इन्जिनियरिङ प्रोक्युरमेन्ट (ईपीसी) मोडलमा एसएससीई र हाइ हिमालयन जेभीले पाएका छन् । गौतमले रोल्वालिङ निर्माणमा अनुमानित ६/७ अर्ब रुपैयाँ लगानी लाग्ने बताए । तामाकोशीको सहायक नदी रोल्वालिङ खोलामा बन्ने निर्माणाधीन उक्त आयोजना गौरीशंकर गाउँपालिका-९ र विगु गाउँपालिका-१ मा पर्छ । ‘रोल्वालिङको काम छिट्टै सकियो भने त्यहाँबाट व्यावसायिक विद्युतको उत्पादन सुरु हुन थाल्छ, विद्युतको उत्पादन भएपछि कम्पनीको आम्दानीमा पनि वृद्धि हुन्छ र कम्पनीको ऋण तिर्नमा पनि मद्दत पुग्ने छ,’ उनले भने । गौतमले रोल्वालिङको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) पाइपलाइनमा रहेको पनि जानकारी दिए । यो आयोजनाको बाँध स्थल तामाकोशी नदी र रोल्वालिङ खोलाको संगमबाट ३.७५ किलोमिटर माथि हुने छ । कम्पनीले आयोजनामा झण्डै १ किलोमिटर रोपवे निर्माण गर्नुपर्ने बताइएको छ । आयोजनाको विस्तृत अध्ययन अनुसार कुल हेड २०७.१८ मिटर र डिजाइन बहाव १३.४ घनमिटर प्रति सेकेण्ड छ । सुरुङ मार्गसँगै आयोजनामा २५३ मिटर पेनस्टक राखिने छ । यो आयोजना वार्षिक १०५ गिगावट घण्टा विद्युतको उत्पादन गर्ने छ । सडकको पहुँच नभएकोले रोपवेबाट सामानको ढुवानी हाल भइरहेको पनि गौतमले जानकारी दिए । उनका अनुसार हाल टनेल ड्याम्म आदि बनाउने काम भइरहेको छ । कम्पनीले आयोजनाको काम साढे चार वर्षभित्र सक्ने लक्ष्य राखिएको छ । ‘ठेकेदार कम्पनीले समयमा काम गर्ने विष्फोटक पदार्थ समयमा उपलब्ध भयो, स्थानीयको सहयोग मिल्यो भने उक्त आयोजनाको काम समयमै सकिन्छ,’ उनले भने ।

रित्तिँदै गाउँका विद्यालय, समायोजन गर्दै नगरपालिका

ढोरपाटन । गाउँलेको बजार मोह र युवाको विदेश पलायनले विद्यालय रित्तिँदै गएका छन् । गाउँका विद्यालय रित्तिन थालेपछि बागलुङको गलकोट नगरपालिकाले नजिकको विद्यालयसँग समायोजन गरिरहेको छ । नगरपालिकाले तह मिलान तथा विद्यालय समायोजन कार्यविधि २०७९ नगरसभाबाट पारित गरेर कार्यान्वयन गरिरहेको हो । हालसम्म गलकोटका १२ विद्यालय समायोजन भइसकेका छन् भने केही हुने चरणमा छन् । भौतिकरुपमा विद्यालय निर्माण सम्पन्न भए पनि विद्यार्थी नहुँदा पठनपाठनमा समस्या हुने गरेको छ । नगरपालिकाले विद्यालय समायोजनसँगै तह मिलानसमेत गरिरहेको छ । पाँच वर्ष अगाडिसम्म गलकोट नगरपालिकाभर ७४ वटा सामुदायिक विद्यालय थिए । ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून भएपछि नगरपालिकाले विसं २०७५ देखि विद्यालय तह मिलान तथा समायोजन गर्न थालेको हो । भौगोलिक दूरी र विद्यार्थी सङ्ख्याको आधारमा कतिपय विद्यालयलाई समयोजन र कतिपयलाई तह मिलान गर्दै आएको छ । अहिले गलकोट नगरपालिकामा ६२ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । सोमध्ये १३ माध्यमिक र ५१ वटा आधारभूत तहका विद्यालय छन् । अघिल्लो वर्षमात्रै नगरपालिकाले छ वटा विद्यालय समायोजन र पाँच वटा तह मिलान गरेको थियो । दिनप्रतिदिन विद्यार्थी घटेपछि नगरपालिकाले तह मिलान तथा समायोजन गर्दै आएको हो । विद्यालय समायोजनपछि दूरी टाढा पर्ने विद्यार्थीलाई नगरपालिकाले यातायातको व्यवस्था गर्दै आएको छ । तह मिलान तथा विद्यालय समायोजन कार्यविधिमा कक्षा १-३ मा १५ जना, १-५ मा २५, ६-८ मा २१, ९-१० मा २५ र ११-१२ मा २५ जना विद्यार्थी हुनुपर्ने मापदण्ड रहेको गलकोट नगरपालिकाका शिक्षा अधिकृत शिव खड्काले जानकारी दिए । ग्रामीण क्षेत्रका विद्यार्थी कम भएपछि यस वर्ष करिब पाँच वटा विद्यालय समायोजन गर्ने उनको भनाइ छ । हाल गलकोटमा आठ हजार विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालय समायोजन तथा तह मिलान गर्दा शिक्षक नपुगेका विद्यालयमा व्यवस्थापन गर्न सहज हुने र शैक्षिक गुणस्तरलाई बढाउन सकिने शिक्षा अधिकृत खड्काको भनाइ छ । विद्यायल समायोजनपछि शैक्षिक सुधार हुँदै गएको छ । ‘चार/पाँच वर्षदेखिनै विद्यालय समायोजन र तह मिलान गर्दै आएका छौँ, विद्यालयमा विद्यार्थी कम भएपछि नगरपालिकाले कार्यविधि बनाएरै काम गरिरहेको छ, समायोजन र तह मिलानले केही विद्यार्थीलाई समस्या पर्छ भन्ने थियो तर नगरपालिकाले उनीहरुलाई यातायातको व्यवस्था मिलाएको छ’, शिक्षा अधिकृत खड्काले भने, ‘हरेक वर्ष गाउँका विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दो छ, विद्यालयलाई यथावतरुपमा सञ्चालन गर्नका लागि नगरपालिकाले कार्यविधि बनाएको छ, कार्यविधिमा भएअनुसार विद्यार्थी सङ्ख्या कम भएपछि मात्रै समायोजन तथा तह मिलान गर्ने काम भएको हो ।’ गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले गाउँका अधिकांश मानिस बजार झरेपछि विद्यालय खाली भएको भन्दै विद्यालयमा शिक्षक खटाउनुभन्दा विद्यार्थीलाई एकै ठाउँमा राखेर पठनपाठन गर्ने र शैक्षिक गुणस्तर बढाउने गरी नगरपालिका लागिरहेको बताए । यहाँबाट धेरै सङ्ख्यामा विदेश गएको र आफ्ना बालबालिका पनि उतै लैजाने गर्दा गाउँका विद्यालयमा विद्यार्थी अभाव भएको भण्डारीको भनाइ छ । गत वर्षदेखि वडा नं ७ मा विद्यार्थीका घरघरमा गाडी लिन जाने र अन्य वडाका विद्यार्थीलाई नगरपालिकाले यातायात खर्च दिने गरेको उनले बताए । प्रवक्ता भण्डारीले भने, ‘पहिला गलकोटका सबै ठाउँमा विद्यार्थीको चाप थियो, शिक्षक व्यवस्थापन र विद्यालयको भौतिक अवस्था कमजोर थियो, तर अहिले सबै विद्यालयमा पूर्वाधार पर्याप्त भएका छन् तर विद्यार्थी घटेर कम छन्, गाउँ अहिले सुनसान बनेका छन्, गलकोट बजार क्षेत्र र मध्यपहाडी लोकमार्ग छेउछाउमा बस्ती विकास हुँदै गयो, माथिल्लो क्षेत्रबाट सबै तल झर्न थाले, त्यसले गर्दा नगरपालिकाले विद्यालय समायोजन गर्न थालेको हो, धेरै विद्यालयका शिक्षक एकै ठाउँमा हुनुहुने भयो, यसले गर्दा शैक्षिक गतिविधि केही सुधार भएको छ ।’ विद्यालय समायोजनपछि आजभोलि विद्यार्थी लिन गाडी घरघरमा पुग्छन् । गाडी घरमै लिन आएपछि विद्यार्थी पनि उत्साहित भएका छन् । दैनिक घन्टौँ लगाएर विद्यालय पुग्ने विद्यार्थी अहिले केही मिनेटमै पुग्छन् भने समयमै घरमा फर्किने गरेका छन् । गलकोट नगरपालिकाको सबैभन्दा टाढाको बस्ती टोकरी गाउँ हो । यस गाउँबाट आधारभूत र माध्यमिक तह अध्ययन गर्न जनहित माध्यमिक विद्यालय मल्लमा झर्नुपथ्र्यो । विद्यालय झर्दा ओरालो पर्ने हुँदा एकै घण्टामा पुग्ने गरे पनि घर फर्किंदा दुई घण्टा बढी लाग्थ्यो । अहिले नगरपालिकाले पिकअप जीपमा विद्यार्थी ओसारपसार गर्न थालेपछि समयमै घरमा पुग्न थालेका छन् । हिउँदमा भन्दा वर्षाद्को समयमा बढी समस्या भोगेको जनहित माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत विद्यार्थी निकिता थापाले बताइन् । थापाले पोहोरसालसम्म निकै समस्या भोगेको सुनाउँदै यस वर्षदेखि गाडी घरमै लिन आउँदा घन्टौँ हिँड्नुपर्ने बाध्यता हटेको सुनाइन् । ‘घरभन्दा स्कूल टाढा छ, घन्टौँ हिँडेर पढ्न जानुपथ्र्यो, बिहान चाँडै हिँड्नुपर्ने र ४ बजे बिदा भएर घरमा आउँदा झमक्कै रात परिसक्थ्यो, बाटोमा बाघ र चितुवाको डर हुन्थ्यो, वर्षाद्को समयमा भिज्दै हिँड्नुपथ्र्यो, अहिले घरमै गाडी आउने हुँदा पहिलेको जस्तो समस्या भोग्नुपरेको छैन’, उनले भनिन्, ‘पहिला दुई/तीन घन्टासम्म हिँडेर स्कूल आवतजावत गर्दा थकाइ लाग्थ्यो, थकाइले गर्दा पढ्न मन लाग्दैनथ्यो, त्यसले गर्दा पढाई पनि राम्रो हुन सकेको थिएन, अहिले पढाई पनि राम्रो भइराखेको छ, कतिबेला ४ बज्ला र घर पुगौँला भन्ने हुँदैन ।’ रासस

नेपाली मिडियामा पनि पस्यो एआई, के पत्रकारले जागिर गुमाउँदैछन् ?

काठमाडौं । विगतमा समाचार वाचन तथा रिपोर्टमा ‘भ्वाइस ओभर’का लागि कर्मचारी परिचालन गर्दै आएको नेपाल एफएमले हाल आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग गरेर रिपोर्ट प्रसारण गर्छ । सो सञ्चार माध्यमले अहिले कर्मचारी कटौती गरेर एआईको व्यापक प्रयोग बढाएको छ । पहिले कर्मचारीमा मासिक लाखौं खर्च गरेर उत्पादन हुने रिपोर्टहरू अहिले निःशुल्क उत्पादन भइरहेका छन् । समाचारका हरेक बुलेटिनमा रेडियो रिपोर्ट तयार पारेर एआईलाई पढ्न दिएपछि उसले अडियोमा रेकर्ड गरेर तयार गर्छ र आफूले चाहेको बेला महिला वा पुरुष आवाजमा अडिओ रेकर्ड गर्न सकिन्छ । ‘एआई’ले रिपोर्टको स्क्रिप्ट पढ्न थालेपछि धेरै सहज भएको नेपाल एफएमका कार्यकारी निर्देशक गोविन्द्र खड्का बताउँछन् । ‘अब डेस्कमा राम्रो काम गर्न सक्ने मान्छे छ भने एक जनाले पनि रेडियो चलाउन सकिन्छ, एआईलाई काम दिन सक्ने मान्छे भए पुग्यो,’ उनी भन्छन्, ‘महिलाले डेस्क हेरिरहेको छ भने पुरुषको आवाजमा र पुरुषले डेस्क हेरिरहेको छ भने महिलाको आवाजमा हामीले रिपोर्ट पढाउने गरेका छौं, अब एआईको राम्रो प्रयोग गर्न सक्ने मान्छे भए धेरै कर्मचारी राखिरहन पर्दैन ।’ पछिल्लो समय मिडियामा दक्ष जनशक्तिको अभाव छ । अब कर्मचारी थप्नेभन्दा पनि भएका जनशक्तिलाई प्रविधिको विषयमा सिकाउन सकेमा कम जनशक्तिबाट धेरै प्रतिफल प्राप्त गर्न सकिने धारणा खड्काको छ । उनले पनि अहिले कर्मचारी कटौती गरेर एआईको प्रयोगलाई व्यापकता दिइरहेका छन् । रेडियोमा मात्र होइन अहिले विभिन्न सञ्चार माध्यमले एआईको प्रयोगलाई व्यापकता दिएका छन् । अनलाइन सञ्चार माध्यमले पनि समाचारसँगै अडियो क्लिप पोष्ट गर्ने गरेका छन् । जुन अडियो एआईको नै हो । भारतमा टेलिभिजनको प्रस्तोता पनि एआई नै छ । नेपाली युट्युवरहरूले पनि एआईको प्रयोगबाट भिडिओहरू निर्माण गर्ने गरेका छन् । नेपाल चित्र नामक युटुव च्यानलले पनि पछिल्लो समय एआईको प्रयोगले नै भिडिओ बनाउने गरेको छ । नेपाल चित्रका सञ्चालक विशाल सापकोटा विगत ६ महिनादेखि युटुबमा एआईको प्रयोग गरिरहेको बताउँछन् । ‘भिडिओका लागि कन्टेन्ट र तस्बिर हाम्रै हुन्छ, स्टोरी पढाउनका लागि एआईको प्रयोग गर्छौं, हामीसँग ठूलो मिडिया हाउस चलाउने स्रोत छैन, जनशक्ति नभएको मिडियाको लागि एआई राम्रो माध्यम बन्न सक्छ,’ उनले भने । एआईमार्फत् कन्टेन्ट पढाउँदा छिटो पनि हुने उनको भनाइ छ । ‘मान्छेले आफैंले पढ्दा धेरै टेक खानुपर्छ, अडियो पनि सम्पादन गर्नुप¥यो । तर, एआईको प्रयोग गर्दा समय पनि नलाग्ने, चाहेको जस्तै आवाज बन्छ,’ उनी भन्छन्, ‘स्टोरी शुद्ध भयो भने आवाज पनि राम्रै बन्छ ।’ अडियो र भिडिओमा मात्र नभइ अनलाइन, पत्रपत्रिकामा काम गर्ने धेरै जसो पत्रकार एआईको प्रयोग गरिरहेका छन् । कतिपय सम्पादकले एआईकै प्रयोगले समाचार सम्पादन गर्ने गरेको पनि देखिन्छ । अब प्रविधिकै सहयोग र प्रयोगले सबै काम गर्न सकिने जानकारहरू बताउँछन् । आम मानिसले जस्तै व्यवहार र प्रतिक्रिया गर्ने बौद्धिक मेसिनको सहायताले हरेक काम गर्न छिटो र छरितो मात्रै होइन गुणस्तरीय बन्ने चर्चा पनि छ । मान्छेले एआईको प्रयोग गरेर नै सामाजिक सञ्जाल फेसबुक, टिकटक, इन्स्टाग्राममा तस्बीर राख्नेदेखि भिडियोमा निर्माण पनि गरिरहेका छन् । कसरी प्रयोग गर्ने एआई ? एआईलाई रेडियो रिपोर्ट पढाउँदा सबैभन्दा पहिले आफ्नो युजर आईडी बनाउनु पर्ने हुन्छ । त्यसपछि भ्वाइस मेकर डट इन खोज्नु पर्ने हुन्छ । सर्च (खोजी) गर्दा धेरै टुल्सहरू देखिन्छन् । ती मध्ये कुनै एकमा जान सकिन्छ । नेपालका रेडियो, युटुब जसले एआई प्रयोग गरिरहेका छन् तिनिहरूले छुट्टाछुट्टै तरिकाले प्रयोग गरिरहेका छन् । भ्वाइस मेकर डट इन खोल्ने वित्तिकै युजर आइडी माग्छ । त्यसको लागि आफ्नो अकाउण्ट हुनुपर्छ । त्यसमा भाषा छानिसकेपछि महिला वा पुरुष कुनबाट अडिओ पढाउन खोजिएको हो त्यो विकल्प क्लिक गर्नुपर्छ । रिपोर्ट तयार भइसकेपछि रिपोर्टको गति छान्नुपर्छ । त्यसलाई डाउनलोड गरेर रेडियोमा बजाउन मिल्छ । पछिल्लो समय धेरैले एआईमार्फत् तस्बिर पनि बनाउने गरेका छन् । त्यसका लागि विभिन्न वेवसाइटहरू छन् । कतिपय निःशुल्क छन् भने कतिपयमा पैसा पनि लाग्ने गरेको छ । नेपाली मिडियामा भने अहिले निःशुल्क रूपमा एआईको प्रयोग भइरहेको छ । काठमाडौंको मदन भण्डारी कलेजमा एआईको विषयमा अध्यापन गराउँदै आएका रबी राज बराल युट्युव र सामाजिक सञ्जलमा यसको प्रयोग बढी भइरहेको बताउँछन् । नेपाली मिडियामा पत्रकारले तयार पारेको समाचार वा रिपोर्टको स्क्रिप्ट एआईको सफट्वेरमा राख्ने र उसले पढेर बनाएको अडियो र त्यसलाई भिडियोमा राखेको पाइएको उनको भनाइ छ । ‘युटुबर र सोसलमिडिया क्रियटरले एआईको प्रयोग गरिरहेका छन्, कतिपय टेलिभिजनमा बिरोलको रूपमा एआईको प्रयोग भइरहेको छ,’ उनी भन्छन् । लण्डन स्कूल अफ इकोनोमिक युनिभर्सीटीको एउटा रिसर्च सेन्टरले सन् २०२० मा ३२ देशका ७१ समाचार कक्षमा कसरी एआईको प्रयोग गरिरहेको छ भन्ने विषयमा अध्ययन गरेको थियो । त्यहाँ धेरै मान्छेलाई एआई भनेको के हो थाहै नभएको र केहीलाई भने थोरै जानकार िभएको अध्ययनबाट खुलेको थियो । नेपालमा भने यो विषयमा अनुसन्धान नै भएको छैन । नेपालका पत्रकारले जेनेरेटिक एआईको प्रयोग गरिरहेका छन् । नेपाल चेकका सम्पादक दिपक अधिकारी पछिल्लो समय नेपाली सञ्चार माध्यमले प्रयोग गर्ने अधिकांश फोटोहरू एआईबाट बनेको बताउँछन् । ‘पत्रकारहरूले एआईजस्ता टुल्स पहिलेदेखि नै प्रयोग गर्दै आइरहेका छन्, डेटा जर्नलिजमको लागि विभिन्न टुल्सदेखि एक्सल प्रयोग गर्नेसम्म पत्रकारले पहिलेदेखि यस्ता प्रविधिको प्रयोग गरिरहेका थिए, अहिले प्रयोग गर्नेको संख्या बढेको छ,’ उनी भन्छन् । अधिकारीका अनुसार एआईको प्रयोग नेपाली मिडियामा दुई किसिममा भइरहेको छ । एउटा फोटो भिडियो, अर्को शब्द (टेक्स्ट)मा यसको प्रयोग भइरहेको छ । विश्वसनियतामाथि प्रश्न आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआई एक सफ्टवेर हो । कम्प्युटर विज्ञानमा कृत्रिम बौद्धिकता एआईलाई यान्त्रिक बुद्धी पनि भनिन्छ । यो एउटा मेसिनले प्रदर्शन गर्ने बौद्धिकता हो । मानव शरिरको अलावा मानव निर्मित उपकरणद्धारा विचार वा निर्णय प्रदर्शन गर्ने प्रक्रिया हो । एआईले कम्युटर नेटवर्कका आधारमा काम गर्छ । तर, एआईबाट हुने काम भने सतप्रतिशत सही नहुने विज्ञहरूको दाबी छ । एआइबारे नेपालमा एक दशकदेखि अध्ययन गर्दै आएका नेचुरल लेंग्वेज प्रोसेसिङका प्रमुख अजयमणी गौतम एआईले गर्ने सबै काम सही नहुने धारणा राख्छन् । एआईले अंग्रेजी वा अन्य भाषालाई राम्ररी बुझेपनि नेपाली भाषाको शब्द भण्डार नै प्रयाप्त नभएकाले उसले सोधेको सबै कुरा भन्न नसक्ने उनी बताउँछन् । ‘सहयोग एआईको लिए पनि दिमाग आफ्नो लगाउनुपर्छ, नेपाली भाषा प्रविधिमा लैजान डिजिटल्ली शब्दको भण्डार बनिसकेको छैन,’ उनी भन्छन्, ‘एआईले दिएको सबै सूचना सत्य हुँदैन ।’ एआइले रिर्पोटरलाई राम्रो रिपोर्ट तयार पार्नमा भने सघाउ पुग्ने विज्ञहरू बताउँछन् । ‘एआईलाई अनुवादमा प्रयोग गर्न सकिन्छ, लामो रिपोर्टलाई सारांशमा लेख्न सहयोग पुग्छ । तर, पूर्ण रूपमा विश्वस्त भने हुनु हुँदैन,’ उनले भने । एआईले ड्राइभरबिनाको कार बनाइसकेको छ भने एआईकै कारण पाइलटबिनै जहाज उड्ने प्रविधिको विकास समेत भइसकेका समाचार सुनिन्छन् । यी सबै उपलब्धि सूचना प्रविधि र कम्प्युटर विज्ञानको पछिल्लो चमत्कार आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङका कारण सम्भव भएका हुन् । एआइसँगै च्याट जीपीटी प्रयोग गर्नेको संख्या पनि बढेको छ । च्याट जीपीटीको मुख्य उद्देश्य गुगलसर्चबाट इन्जिनलाई विस्थापित गर्दै सर्च इन्जिन हिस्सा लिने हो । यसको असर मिडिया र सोसल मिडियामा पर्छ । एआई र च्याट जीपीटीकै कारण नेपाली सञ्चार माध्यममा कार्यरत पत्रकारको जागिर पनि जोखिममा रहेको बुझाइ धेरैको छ । तर, तत्काल नेपाली मिडियाले पत्रकारहरूलाई नै रिप्लेस हुने गरी काम गर्न नसक्ने धारणा जानकारहरूको छ ।

आत्मनिर्भर बन्दै धरानका नर्सरी, वार्षिक तीन करोडको फूल बिक्री

धरान । केही वर्षअघिसम्म लाहुरेको सहर भनेर चिनिने धरान अहिले फूलैफूलको सहरकारुपमा परिचित छ । लाहुरे समुदायको बाक्लो बस्ती रहेको धरानमा घरघरमा फूलको बगैँचा भेटिन्छ । विशेषगरी लाहुरे समुदायका घरका गेट, बगैँचा मात्र होइन छत र घरभित्र पनि फूलैफूलले सजाइएका छन् । धरानवासीको फूल र बिरुवाप्रतिको लगावका कारण कसैले यसलाई बगैँचाको सहर पनि भन्ने गरेका छन् । धरानमा घरसँगै अलिकति खाली ठाउँ छाडेर फूल र बोटबिरुवा रोप्ने चलनै छ । अहिले त सडकको छेउछाउ र खोलाको किनारमा पनि फूल रोप्ने अभियान नै सञ्चालन भइरहेको छ । धरानका नगर प्रमुख हर्कराज राईले सञ्चालन गरेको श्रमदान अभियानमार्फत सर्दु खोलाको बगर र डाँडाकाँडामा हजारौँ बोटबिरुवा रोपिएका छन् । धरानमा त्यस्ता घर छैनन्, जहाँ कुनै फूल वा बिरुवा नहोस् । यहाँका सुकुम्बासी वस्तीदेखि लाहुरे बस्तीसम्म फूलैफूल भेटिन्छन् । फरक यति हो, आफ्नो क्षमताअनुसार कसैले दुई चारबोट रोपेका छन्, त कसैले बगैँचा नै बनाएका छन् । कतिपय त फूललाई सौखका रुपमा रोप्दारोप्दै व्यवसायी बनेर राम्रो आम्दानी पनि गरिरहेका छन् । सामाजिक अभियन्ताका रुपमा परिचित धरान उपमहानगरपालिका–११ की शिवमाया बान्तवाको घर फूल र बोट बिरुवाले ढाकिएको छ । कतै बगानबेली, कतै लालुपाते त कतै विभिन्न रङ्गीचङ्गी फूल रोप्नुभएकी शिवमायाले घरभित्र पनि उसैगरी इन्डोर प्लान्टले सजाएकी छिन् । सौखले फूल र बिरुवा रोप्न थालेकी उनी ती फूलहरुलाई आफ्नै सन्तान झैँ स्याहार्नु गछिन् । शिवमायाले फूल र बिरुवालाई यति धेरै माया गर्नुको बेग्लै कथा छ । १७ वर्ष काम गरेको गोरखा सहकारीको जागिर चटक्क छाड्दा उनमा के गरौँ, कसो गरौँ भयो । डिप्रेसनमा जाने अवस्था भएपछि उनी आफ्नै घरमा फूल र बिरुवासँग रमाउन थालिन् । ‘फूलहरुको स्याहार गर्दागर्दै तिनीहरुको माया लाग्न थाल्यो । बजार जाँदा होस् या साथीको घर जाँदा फूल र बिरुवामै आँखा पर्न थाले’, उनी भन्छिन्, ‘फूलकै कारण डिप्रेसन हुन पाएन, उनीहरु मेरा साथी जस्ता भए । अहिले यिनीहरुसँग छुट्नै नसक्ने भएकी छु ।’ सुरुमा सोखका रुपमा फूल रोपेकी शिवमायाले मन परेका फूल र बिरुवा जम्मा गर्दागर्दै घर भरियो । बिरुवा बनाएर छिमेकी र चिनेजानेका धेरैलाई बाँड्नु पनि भयो । तर आफूले सित्तैमा बाँडेका फूलको स्याहार नभएको देखेर उनको मन दुख्यो । उनी भन्छिन्, ‘मैले बाँडेका फूल हेर्न जाँदा त कोही मरिसकेको, कोही त्यतिकै फ्याँकेको देखेँ । मान्छेले पैसा परेको चिजलाई मात्र महत्व दिँदा रहेछन् भन्ने सोच आयो । त्यसपछि सित्तैंमा बाँड्न छाडेँ । फूल माग्नेसँग पैसा लिन थालेँ ।’ फूल बेचेको पैसालाई उनले फूल र बिरुवामै लगानी गर्दै गइन् । यसो गर्दागर्दै उनी फूलको सौखिनबाट व्यवसायी बनिन् । २०७२ सालबाट त उनले फूलसँगै ड्राइगन फ्रुटका बिरुवा बेच्न थालिन् । कोरोना महामारीपछिको बन्दाबन्दीका बेला मात्र आफूले १५ लाख रुपैयाँको बिरुवा बेचेको उनी बताउँछिन् । शिवमायाले पाँच वर्षयता त ‘फ्लावर जोन एन्ड पट हाउस’ नामको नर्सरी नै खोलेर फूलको व्यवसाय गरिरहेकी छिन् । उनी भन्छिन्, ‘पहिला सौखका रुपमा रोपेका फूलले अहिले राम्रो आम्दानी भएको छ । नर्सरीमा आएर मात्र होइन, फेसबुकलगायतका सामाजिक सञ्जालबाट पनि बिक्री गरिरहेकी छु । धेरै धरानेलीहरु म जस्तै फूलका सौखिन छन् ।’ धरानका युवा चित्रकार युमेनहाङ राई पनि पहिलादेखि नै फूलका सौखिन थिए । फूल सङ्कलन गर्दा गर्दै अहिले उनले पनि अहिले धरान–२० मा एभरेष्ट नर्सरी खोलेका छन् । कोरोना महामारीले धेरैको व्यापार व्यवसाय चौपट भएकाबेला उनले चाहिँ आफूले सङ्कलन गरेका फूलहरुलाई नर्सरीको रुप दिए । अहिले उनको नर्सरीमा सय रुपैयाँदेखि ७० हजार रुपैयाँसम्म मूल्यका फूल तथा बिरुवा किन्न पाइन्छ । उनी भन्छन्, ‘धरानमा घरघरमै फूलको बगैँचा छभन्दा हुन्छ । यो बगैँचाको सहर हो ।’ धरानमा सौखले फूल रोप्ने त धेरै झन्, सौखबाटै व्यवसायी बन्नेहरुको सङ्ख्या पनि बढिरहेको छ । धरान–१९ का विश्व लिम्बू अफ्रिकी सजावटका फूल सङ्कलन गर्दागर्दै व्यवसायी बनेका छन् । छ वर्षदेखि क्यानल अफ्रिकन भेटिलेट नर्सरी सञ्चालन गरिरहेका उनी विदेशबाट पनि सजावटका बिरुवाहरु मगाउने र आफैँ पनि उत्पादन गरेर बिक्री गरिरहेको बताउँछन् । धरान–८ का गौरव लिम्बुले पनि भर्खरै वनेम नर्सरी खोलेर विक्री वितरण गरिरहेका छन् । धरान उपमहानगरपालिकाको लगानीमा भानुचोकदेखि छाताचोकसम्मको मुख्य सडकको दायाँबाँया फलामको रेलिङमा गमला राखेर फूल रोपिएका छन् । यसले पनि धरानको सुन्दरता बढाएको छ । धरानवासीको फूलसँगको सामिप्यताकै कारण धरानलाई फूलको सहर, बगैंचाको सहर भनेर समेत चिन्ने गरिन्छ । माथि विजयपुर डाँडाबाट हेर्दा धरान बगैंचाभित्र घरैघर भएको शहर जस्तो देखिन्छ । धरानबासीको फूलप्रतिको उत्साह देखेर धरान उपमहानगरपालिकाले एक दशकअघि नै धरानलाई फूलैफूलको शहर बनाउने अभियान चलाएको थियो । नागरिकलाई फूलप्रति आकर्षण मात्र होइन, व्यावसायिक पनि बनाउने उद्देश्यले उपमहानगरपालिकाको सहयोगमा छलफल, अन्तरक्रिया पनि चलाइएको थियो । उपमहानगरपालिकाका पूर्व सामाजिक विकास अधिकृत सुनिल नेपाल घरमा राम्रोसँग फुलको सजावट गर्नेलाई पुरस्कृत गर्ने गरिएपछि नागरिकले फूललाई अझ व्यवस्थित रुपमा रोप्न र व्यावसायिक बन्न थालेको उनको भनाइ छ । उनी भन्छन्,  ‘फूलबाट औषधीहरु पनि बन्छन्, सबैतिर फाइदैफाइदा छ, त्यसैले धरानलाई फूलैफूलको शहरका रुपमा विकास गर्ने योजना ल्याइएको थियो ।’ धरानका नगरप्रमुख हर्कराज राईले पनि धरानलाई फूलैफूलको सहर बनाउने भन्दै वृक्षरोपण अभियानलाई निरन्तरता दिइरहेका छन् । उनी भन्छन्, ‘यसपटक हामीले सडकको छेउ र खोलाका किनारमा रोपेका फूल धमाधम फुलिरहेका छन् । यसले पर्यटक पनि आकर्षण गर्छ । फूल र बोटबिरुवा धरानको चिनारी बनाउने अभियान छ हाम्रो ।’ करोडौँको कारोबार  धरानमा व्यावसायिकरुपमा फूल र बिरुवा बेच्ने नर्सरी दुई दर्जन हाराहारी छन् । त्यसबाहेक अनलाईनमार्फत फुल बेच्नेहरुको सङ्ख्या पनि ठूलो छ । नर्सरीहरुको कारोबार मात्र हिसाब गर्दा पनि वार्षिक तीन करोड रुपैयाँभन्दा बढीको फूल बिक्री हुने गरेको व्यवसायीहरुको भनाइ छ । बुढासुब्बा नर्सरीका सञ्चालक प्रेमप्रसाद पराजुली पूर्वमा सबैभन्दा बढी धरानमै फूल विक्री हुने बताउँछन् । उनी भन्छन्, ‘धरानका पाँच ६ वटा नर्सरीले दिनमा ३० हजार हाराहारीको फूल बेच्छन्, अरुलेपनि दिनमा कम्तिमा पाँचदेखि आठ हजार रुपैयाँको बेच्छन् । घरघरबाटै र अनलाइनबाट बेच्नेको हिसाबै छैन ।’ धरानका क्यामेलिया, एञ्जिला, पवित्रजस्ता पुराना नर्सरीले फूलको राम्रो कारोबार गरिरहेका छन् । पवित्र नर्सरीकी सञ्चालिका प्रमिला राई १६ वर्षदेखि नर्सरीबाटै परिवार धानिरहेको बताउँछिन् । धरानका नर्सरीहरु आफू मात्र आत्मनिर्भर छैनन, धेरैलाई रोजगारीसमेत दिएका छन् । कतिपयले आफ्नै परिवार मिलेर फूलको व्यवसाय सञ्चालन गरिरहेका छन् भने धेरैले पाँच सातदेखि २५ जनासम्मलाई रोजगारी पनि दिएका छन् । व्यवसायीको गुनासो  फूल र बोटबिरुवा रोप्दा एकातिर वातावरणका लागि फाइदा छ भने अर्कातिर व्यावसायिकरुपमा पनि यो व्यवसाय राम्रो बनिरहेको छ । तर, यसमा लागेका व्यवसायीहरु बाहिरबाट फूल ल्याएर बिक्री गर्न झन्झटिलो प्रक्रियाका कारण समस्या भएको बताउँछन् । व्यवसायी युमेनहाङ राई नर्सरीहरुलाई व्यवसायमा दर्ता गर्नुपर्ने प्रावधानले पनि समस्या भएको बताउँछन् । यसलाई कृषि उत्पादनका रुपमा सरकारले सहयोग गर्नुपर्ने उनको धारणा छ । फूल र बिरुवा उत्पादकहरुलाई सरकारी सहयोग पाउन पनि अप्ठ्यारो मापदण्डका कारण कठिनाइ भएको उनको भनाइ छ । फूल व्यवसायी शिवमाया बान्तवा पनि फूलको खेती र व्यवसाय गर्ने भन्दा राजनीतिक प्रभाव राख्नसक्नेले अनुदान पाउने गरेको तर वास्तविक फूल व्यवसायी मारमा परेको बताउनुहुन्छ । सरकारी निकायले वास्तविक फूल किसान र व्यवसायीलाई सहयोग गर्नु पर्ने उनको धारणा छ । अर्का व्यवसायी प्रेमप्रसाद पराजुली फूलबाट सबैलाई फाइदैफाइदा देख्नछन् । उनी भन्छन्, ‘फूलखेती र व्यवसायले सहर पनि सुन्दर देखिन्छ, व्यापार पनि राम्रो हुन्छ । यसलाई सरकारले प्रोत्साहन गर्ने हो भने पर्यटनको विकासमा पनि ठूलो योगदान पुग्न सक्छ ।’ रासस

निर्धारण भयो अपर तामाकोशीको कटअफ मूल्य, कति ?

काठमाडौं । लिलाममा बिक्री गरिएको अपर तामाकोशी हाइड्रोपावरको कटअफ मूल्य प्रतिकित्ता १४६ रुपैयाँ निर्धारण भएकाे छ । सहायक बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार उक्त सेयरको कटअफ मूल्य १४६ रुपैयाँ कायम भएको हो । कम्पनीले बिक्रीमा राखेको हकप्रद सेयर पूर्ण रुपमा बिक्री नभएको एक करोड ७० लाख कित्ता बढी सेयर लिलामीमा राखेको थियो । उक्त सेयरमा आवेदकहरुले न्यूनतम एक सय रुपैयाँदेखि अधिकतम २०० रुपैयाँसम्म हालेका थिए । कटअफ प्राइस प्रतिकित्ता १४६ रुपैयाँ निर्धारण भएसँगै अब सो वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदकहरूले माग बमोजिमको सेयर पाउने छन् । कम्पनीले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म चुक्ता पूँजीको १० अर्ब ५९ करोड रुपैयाँको १ः१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । जसमध्ये सर्वसाधारण समूहतर्फको १ करोड ७० लाख १९ हजार ५३० कित्ता बिक्री भएको थिएन । बिक्री नभएको उक्त सेयर गत पुस १२ गतेदेखि पुस २९ गतेसम्म लिलामीमार्फत बिक्री खुला गरेको थियो । जसमा ३० हजारबढी आवेदकले आवेदन दिएका थिए । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल थिए ।

जनतालाई सुविधा दिने र राजस्व बढाउने नै सरकारको लक्ष्य हो : अर्थमन्त्री डा. महत

बारा । अर्थमन्त्री डा. प्रकाशशरण महतले जनतालाई धेरै भन्दा धेरै सुविधा दिने र राजस्व बढाउने नै सरकारको लक्ष्य भएको बताएका छन् । सोमबार बारा जिल्ला सुवर्ण गाउँपालिका सन्तगंजमा रहेको सिम्रौनगढ छोटी भन्सार नाकाको अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री डा. महतले भने, ‘स्थानीय जनताको आवश्यकतालाई पूर्ति गर्ने हिसाबले यो नाकालाई विस्तारै अगाडि बढाउँछौं, आवश्यक पूर्वाधार तयार पार्छौ ।’ उनले नेपाल-भारत सीमालाई व्यवस्थित गर्न स्थानीय पालिकाको भूमिका महत्वपूर्ण हुने बताएका छन् । मन्त्री डा. महतले भने, ‘दैनिक जीवनमा किनबेच-आवतजावत सहज होस् भनेर सरकार लागेको छ । यसका लागि भारत पक्षसँग पनि कुरा गर्नुपर्ने हुन्छ । दोहोरो भयो भने यसले आकार र स्वरुप लिन्छ, विस्तार हुन्छ ।’ खाद्यान्न र उद्योग व्यवसायका लागि बारा जिल्ला महत्वपूर्ण रहेको मन्त्री डा. महतले बताए । उनले भने, ‘बारा जिल्लाको औद्योगिक करिडोर अझ बढाउन सरकारले निजगढ एयरपोर्टलाई प्राथमिकतामा राखेको छ ।’ एयरपोर्ट बन्यो भने बाराको महत्व अझ विस्तार हुने अर्थमन्त्री डा. महतको भनाइ थियो । उनले भने, ‘बारामा अधिकांश सडक बनिसकेको छ, मरिन सुनकोशी डाइर्भसन निर्माण भएपछि बारामा सिँचाइका लागि दुःख हुँदैन । त्यसपछि बाराको कृषि उत्पादन बढ्ने, उद्योग, व्यापार र व्यवसाय बढ्छ ।’

एलडिसीबाट ग्राजुएसन पछि नेपाल-इयूको व्यापार कस्तो होला ?

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जोले भेटवार्ता गरेकी छिन् । सोमबार सिंहदरबारस्थित आयोग कार्यालयमा उपाध्यक्ष श्रेष्ठसँग राजदूत लोरेन्जोले शिष्टाचार भेटवार्ता गरेकी हुन् । भेटवार्तामा आयोगले तयार गरिरहेको १६औँ योजना, अति कम विकसित मुलुक (एलडिसी) बाट विकासशील मुलुकमा स्तरोन्नति पछि नेपाल र इयूको ब्यापारमा हुने असर, बहुपक्षीय पोषण कार्यक्रम (मल्टी सेक्टरल न्यूट्रिशन) लगायतका विषयमा छलफल भएको छ । आयोगका उपाध्यक्ष इयूले गर्दै आएको सहयोगका लागि धन्यबाद दिए । १६औँ योजना सबै क्षेत्रको सुझाव लिएर तयार भइरहेको बताउदै लक्ष्य प्राप्ति हुने गरी योजना तर्जुमा हुने उपाध्यक्ष श्रेष्ठले बताए । उपाध्यक्ष र इयू राजदूत लोरेन्जोबीच युरोपियन युनियनसँगको व्यापारमा पर्ने असर र त्यसका लागि परिपूरण गर्ने उपायका विषयमा समेत छलफल भएको छ । इयूले नेपालमा हरित अर्थतन्त्र, पूर्वाधार ग्याप हटाउन मद्दत गर्ने उनको भनाइ थियो । मानवपुँजी (गुणस्तरीय शिक्षा)मा सहयोग गर्ने तथा नेपालको सुशासन र संघीयता कार्यान्वयनको एजेन्डालाई इयूले सहयोग र समर्थन गर्ने प्राथमिकतामा राखेको राजदूत लोरेन्जेले बताएकी छिन् । इयू राजदूत लोरेन्जोले १६ औँ योजनाका लागि साथै बहुपक्षीय पोषण कार्यक्रममा नेपाललाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त समेत गरेकी छिन् । नेपाल अतिकम विकसित मुलुकबाट सन् २०२६ मा विकासशीलतर्फ स्तरोन्नति हुँदै गरेको सन्दर्भमा उनले अन्तर्राष्ट्रिय समुदायबाट नेपालले पाउँदै आएको सुविधा निरन्तरताका लागि गृहकार्य गर्नुपर्ने सुझाव पनि दिइन् ।