विकासन्युज

फागुनदेखि अवकाश पाउँदै प्रभु महालक्ष्मी लाइफका सीईओ भट्टराई

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश कुमार भट्टराईले आगामी फागुनदेखि अवकाश पाउने भएका छन् । माघ १० गते बसेको सञ्चालक समितिको बैठकले सीईओ भट्टराईलाई फागुन १ गतेदेखि नै लागू हुने गरी अवकाश प्रदान गर्ने निर्णय गरेको हो । कम्पनीले बिहीबार एक सूचनामार्फत सो जानकारी गराएको हो ।

मुगुमा भाइरल ज्वरोका कारण ३ जनाको मृत्यु

मुगु । जिल्लाको सोरुगाँउपाली-६ पुरुमुरु गाँउमा ‘भाइरल’ ज्वरोका कारण तीन जनाको मृत्युभएको छ । भाइरल ज्वरोले सोरुगाँउपालिका-६ पुरुमुरु गाँउका वर्ष ७२ का हरिबहादुर शाही, ७५ वर्षकी कृति छन्त्याल र २४ वर्षीया कुसुम ढोलीको मृत्यु भएको सोरुगाँउपालिका-६ जिमा गाँउका कर्णजित बुमीले बताए । जिल्लाका पुरुमुरु, जिमा, भिई, नार्थपु,  सिप, ख्याल्च, वुम्चलगायत गाउँका सर्वसाधारण भाइरल ज्वरोले पीडित भएका छन् । जिल्ला अस्पताल बिरामीले भरिएका छन् । गाँउभर बिरामी छन् तर स्थानीय सरकारबाट कुनै किसिमको सहयोग नभएको उनले गुनासो गरे । विपन्न वर्ग उपचारको अभावमा छटपटाइरहेका छन् । स्वास्थ्यचौकीमा सिटामोलसमेत नपाइने अवस्था रहेको उनले बताए । यसैबीच, जिल्ला स्वास्थ्य कार्यालयले मङ्गलबार चिकित्सकसहितको टोलीबाट सोरुगाँउपालिका, पुरुमुरु र जिमा गाँउका एक सय ५० जनाभन्दा बढीको स्वास्थ्य परीक्षण गरेको छ । जिल्ला अस्पतालका चिकित्सक कमल ढुङ्गानाले चिसोका कारण बिरामी बढेका बताउँदै ‘भाइरल फिबर’ नियन्त्रण हुन केही समय लाग्ने जानकारी दिए । उनले तारन्तार पसिना आउने, टाउको दुख्ने, मांसपेसी दुख्ने, खानामा अरुची हुने, कमजोर महसुस हुने भाइरल फिबरका लक्षण हुने बताएका छन् । रासस

विदेश जान ऋण लिएका ८० प्रतिशतमध्ये ७० प्रतिशतले तिर्न सकेनन् : श्रम सचिव भण्डारी

काठमाडौं । श्रम सचिव केवलप्रसाद भण्डारीले विदेश जानेमध्ये अधिकांश अर्थात ८० प्रतिशतले ऋण लिएको बताएका छन् । नबिल दक्ष प्रवासी उद्यमशील कर्जाको औपचारिक शुभारम्भ कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् । ‘विदेश जाने अधिकांशले गाउँघरमा ऋण लिएका हुन्छन्, ८० प्रतिशतले ऋण लिएका छन्, यीमध्ये ७० प्रतिशतले अझै पनि ऋण तिर्न सकिरहेका छैनन् ।’ श्रम सचिव भण्डारीले भने । विदेश गएर स्वदेश फर्केका कामदारलाई नबिल बैंकको दक्ष प्रवासी उद्धमशील कर्जा प्रडक्टले राम्रो योगदान पुर्याउने उनले बताए । पछिल्लो समय बढ्दो विदेशीले आप्रवासी कामदार फर्किने संख्या बढ्दो छ । देश नै खालि भएको भन्ने भास्य सृजना भएको बताउँदै उनले जनवायु परिवर्तन र गरिबीका कारण मान्छे माइग्रेन्ट भइरहेको बताए । नेपालमा विदेश जानेका लागि मात्रै सुविधा दिने गरिएको छ तर फर्किएर आएकाहरुलाई पनि सेवा सुविधा दिने व्यवस्था मिलाउनु पर्ने उनको भनाई छ । किनभने ठूलो संख्या स्वदेश फर्केर आउँदा उनीहरुलाई यहाँ काम नलाग्न सक्ने उनले बताए । त्यस्तै, कार्यक्रममा बोल्दै श्रममन्त्री शरदसिंह भण्डारीले अहिले विदेशीएका सबै बाध्यताले बाहिरीएका बताए । ‘बिदेश जानेको संख्या बढेको भनेर चर्चा पाएपनि स्वदेश फिर्ता भएकाहरुको संख्या बढ्दो रहेको छ । यताबाट विदेश जाँदा भरिभराउ हुने जहाज फर्किदा पनि भरिभराउ भएर आउछन् ।’ उनले भने । त्यस्तै, उनले श्रमिकलाई सीप सकाउन खोज्दा श्रम शोषण गरेको आरोप लाग्ने बताउँदै विदेश पलायन रोक्न आन्तरिक रोजगार बढाउन गृहकार्य गरिरहेको जानकारी गराए । त्यसको लागि विदेशबाट फर्किएकाहरुको तथ्यांक संकलन गर्ने काम भइरहेको उनले बताए । उनका अनुसार जबसम्म मानिसको हातमा सिप हुँदैन तबसम्म उसले रोजगारी पाउँदैन ।

सहरी मोहले घट्दैछन् गाउँका विद्यालयमा विद्यार्थी

तेमाल । दस वर्षअघि खचाखच विद्यार्थी भएको काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-९, मेच्छेपौवास्थित कुशेश्वर माध्यमिक विद्यालयमा अहिले मुस्किलले तीन सय विद्यार्थी पनि छैनन् । २०१५ सालमा स्थापित सो विद्यालयमा पहिला पहिला भौतिक पूर्वाधारको सुविधा राम्रो थिएन तर अधिकांश स्थानीयबासीले गाउँमै छोराछोरी पढाउँथे । अहिले विद्यालयको सुविधा सम्पन्न भवन छ तर विद्यार्थीको सङ्ख्या स्वात्तै घटेको छ । ‘पहिला १३-१४ सय विद्यार्थी हुँदा भुइँमा बसेर विद्यार्थीहरु पढ्थे । अहिले भवन भव्य छ, विद्यार्थी खासै छैनन् ।’ तेमाल गाउँपालिका-८, भोटेपाटी निवासी सो विद्यालयका पूर्व विद्यार्थी वेनीबहादुर श्रेष्ठ भन्छन्, ‘मैले २०४४-४५ मा झिँगटीको छानो भएको सानो भवनमा बसेर बढेको थिएँ । अहिले विद्यालयमा खानेपानी, शौचालय, पुस्तकालय, प्रयोगशालाजस्ता सुविधा छ तर ज्यामी काम गरेर भए पनि अभिभावकले छोराछोरीलाई काठमाडौँ वा अन्यत्र सहरका राम्रा मानिने विद्यालयमा पढाउन थालेका छन् ।’ स्थानीय विद्यालयमा तीन घन्टासम्म पैदल हिँडेर आउनुपर्ने बाध्यता भएकाले पनि विद्यार्थीहरु पढ्नकै लागि अभिभावकको साथमा सहरतिर धाउन थालेका छन् । कतिपय अभिभावकले छोराछोरी पढाउँकै लागि सहरमा डेरा लिएर बस्ने र बेलाबेलामा गाउँमा गएर खेतीपाती गर्ने गरेका छन् । गाउँबाट सहरमा बसाईँसराईँ र गाउँमा बेरोजगारीको समस्याका कारण यहाँका अधिकांश विद्यार्थी सहरी क्षेत्रका विद्यालयमा पढ्न थालेका छन् । गाउँका विद्यालयप्रति अभिभावकको विश्वास घटेको हो त ? कुशेश्वर माविका प्रधानाध्यापक दमैसिं दोङ आफूहरुले गुणस्तर सुधारका लागि सक्दो प्रयास गरे भए पनि गाउँमा बस्ने मानिसहरुको सङ्ख्या घट्दो भएकाले विद्यार्थी न्यून हुँदै गएको बताउँछन् । दोङ प्रधानाध्यापक नियुक्त हुँदा २०७३ सालमा आउँदा सो विद्यालयमा प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्म कुल एक हजार विद्यार्थी थिए, अहिले घटेर जम्मा दुई सय ७३ भएका छन् । शिक्षा सङ्कायमा पढाइ भइरहेको कक्षा ११ र १२ मा जम्मा २७ मात्रै विद्यार्थी छन् । सो विद्यालयका राहत र करार गरी २४ जना शिक्षक-कर्मचारी छन् । नर्स एक जना र कार्यालय सहयोगी दुई जना छन् । गाउँपालिकाले विद्यालयका मसलन्द र सामाजिक लेखा परीक्षणका लागि न्यून रकम दिने गरेको छ भने विद्यालयको मुद्दती खाताको ब्याजबाट करार शिक्षकलाई सुविधा दिँदै आएको छ । कुनै शिक्षक रिक्त भएमा विद्यालयले करारमा शिक्षक नियुक्त गर्न आन्तरिक स्रोतले धानेकाले शिक्षक अभावमा विद्यार्थीको पढाइ अवरोध हुने स्थिति छैन । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ‘नेपालमा ग्रामीण तथा शहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदन’ ले जनगणना २०६८ र २०७८ को बीचमा शहरी जनसङ्ख्या २२ दशमलव ३१ प्रतिशतबाट उल्लेख्य बढेर २७ दशमलव ०७ पुगेको देखाएको छ । त्यसैगरी शहरोन्मुख जनसङ्ख्या ३९ दशमलव १९ प्रतिशतबाट बढेर ३९ दशमलव ७५ प्रतिशत पुगेको देखिएको छ । सो प्रतिवेदनमा पछिल्ला १० वर्षमा ग्रामीण क्षेत्र ३८ दशमलव पाँच प्रतिशतबाट ३३ दशमलव १९ दशमलवमा प्रतिशतमा झरेको देखिन्छ । शहरोन्मुख क्षेत्र भए पनि शहरी क्षेत्र मानिएको स्थानमा अझै पनि जनसङ्ख्याको ठुलो हिस्सा रहेको देखिन्छ । ग्रामीण जनसङ्ख्या अझै पनि एक तिहाई छ जबकि प्रवृत्तिका आधारमा ग्रामीण क्षेत्रबाट शहरोन्मुख र शहरी क्षेत्रमा बसाइँसराइले जनसङ्ख्यालाई शहरी क्षेत्रमा व्यवस्थापन गर्न कठिनाइ भएको र ग्रामीण क्षेत्रमा बसाइँसराइँ कम गर्न दबाब परेको देखिएको छ । हाल नगरपालिकाको जनसङ्ख्या ६६ दशमलव १७ प्रतिशत र गाउँपालिकाको जनसङ्ख्या ३३ दशमलव ८३ प्रतिशत रहेको छ । कुशेश्वर मावि व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर थोकर समग्रमा मानिसहरुको जन्मदर कम हुनु, रोजगारी तथा अवसरका लागि अभिभावकहरु वनेपा, धुलिखेल र काठमाडौँतिरको बसाइँसराइँ र विदेश जानुले गाउँका विद्यालयमा बालबालिकाहरु कम भएको बताउँछन् । गाउँमा सोचेजस्तो गुणस्तरीय शिक्षा नभएको र राज्यले पनि यहाँका विद्यालयको सुधारका लागि उचित व्यवस्थापन नगरेकाले आफूहरुले अभिभावकलाई आश्वस्त पार्न नसकेको अध्यक्ष थोकरको भनाइ छ । विद्यार्थीलाई गाउँमै टिकाउन कस्ता योजना ल्याउँदै हुनुहुन्छ भन्ने प्रश्नमा अध्यक्ष थोकरले विद्यालयले आफ्नै स्रोतबाट कक्षा ८ भन्दा माथिका कक्षामा आवासीय कक्षा सञ्चालनको सोच बनाइएको बताए । उनले २०८२ सालको शैक्षिक सत्रदेखि प्राविधिक धारको पढाइ र कक्षा ११ र १२ मा हालको शिक्षा विषयका अतिरिक्त विज्ञान, व्यवस्थापन र कानुनलगायतका विषय थप्ने तयारी गरिएको बताए । तेमाल गाउँपालिका-५ नारायणस्थानस्थित नारायणस्थान माध्यमिक विद्यालयमा आठ वर्षअघि चार सय थिए भने हाल प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्म जम्मा दुई सय ४० विद्यार्थी छन् । उक्त विद्यालयका प्रधानाध्यापक कालीदास दाहाल अभिभावकहरु अवसरको खोजीमा सहरकेन्द्रित हुँदा विद्यार्थी घटेको स्वीकार्छन् । उनले विद्यार्थीलाई आकर्षण दिन कक्षा ११ र १२ मा सबै विषयका पाठ्यपुस्तक निःशुल्क र उच्च ग्रेडमा उत्तीर्ण भएर आउने विद्यार्थीलाई छात्रवृत्ति दिने गरिएको जनाए । सोही गाउँपालिका-८, भोञ्र्याङस्थित जनज्योति माध्यमिक विद्यालयमा पनि अहिले विद्यार्थी घटेर एक सय ५९ पुगेको छ । पाँच-छ वर्षअघिसम्म यस विद्यालयमा चारसय सम्म विद्यार्थी हुन्थे । सो विद्यालयका प्रधानाध्यापक भानुभक्त मैनाली पढाइको गुणस्तर खस्किएर नभई रोजगारीको अवसरको खोजीमा अभिभावकहरु सहर जान थालेकाले गाउँमा विद्यार्थी कम भएको बताउँछन् । तेमालमा विपी राजमार्गको कालढुङ्गा-मेच्छेपौवाको तल्लोबाटो र भकुण्डेबेँसी-नारायणस्थन-मेच्छेपौवाको माथिल्लोबाटो कच्ची भएकाले गाउँमा विद्यार्थीहरुले विद्यालय आउन-जान धुलोमैलो र उकाली ओराली खेप्नुपर्ने हुन्छ । सवारीको असुविधा र विद्यार्थीहरु सहर जान थालेकाले यस गाउँपालिकामा एउटा वटा पनि निजी (संस्थागत) विद्यालय सञ्चालनमा छैनन् । सबै सामुदायिक (सरकारी) छन् । तेमाल गाउँपालिकाका प्रवक्ता इन्द्रलाल तामाङका अनुसार यहाँ हाल १० माध्यमिक विद्यालय छन्, त्यसमध्ये पाँच वटामा कक्षा ११ र १२ को पढाइ हुन्छ । यस्तै आधारभूत तहका आठ र प्राथमिक तहका २१ सामुदायिक विद्यालय छन् । यी सबै विद्यालयमा गरी तीन हजार दुई सय विद्यार्थी छन् । यसमा छात्राहरुको सङ्ख्या करिब एक सयले बढी रहेको प्रवक्ता तामाङले जानकारी दिनुभयो । गाउँपालिकामा साक्षरताको प्रतिशत भने ९५ दशमलव ९७ रहेको छ । त्यसो त गाउँपालिकाको जनसङ्ख्या पनि घट्दो छ । राष्ट्रिय जनगणना, २०७८ मा हजार १६ हजार नौ सय ५९ रहेको छ भने २०७८ सालको जनगणनामा २२ हजार सात सय १२ जनसङ्ख्या रहेको थियो । ‘अहिले दुई सन्तानको मान्यताले जन्मदर नै कम हुँदै गएको छ, अर्कातिर रोजगारीका लागि सहरी क्षेत्रमा अभिभावक केन्द्रित भएका छन् ।’, गाउँमा विद्यार्थी कम भएको सम्बन्धमा प्रवक्ता तामाङ भन्छन्, ‘सामुदायिक विद्यालयका शिक्षक कर्मचारीमा पनि आफूले पढाउने विद्यालयप्रति विश्वास नभएको देखिन्छ । उनीहरुका अधिकांश छोराछोरी काठमाडौँ वा अन्यत्रका राम्रा वा निजी विद्यालयमा पढाइएका छन् । छोराछोरीलाई पढाएर यस्तो बनाउँछु भन्ने चेतना भएका अभिभावकले सहरमा विद्यार्थी लगे । पढाए पनि हुन्छ, नपढाए पनि हुन्छ भन्ने सोच भएका अभिभावकले मात्रै गाउँकै विद्यालयमा पढाइरहेका छन् ।’ गाउँपालिकामा विद्यार्थी टिकाउन विशेष प्याकेजहरु अघि सारिएको र प्रयोगकै क्रममा रहेको तामाङले जानकारी दिए । काभ्रेपलाञ्चोककै नमोबुद्धमा नगरपालिकाका आवासीय विद्यालयमा गाउँपालिकाले खर्च दिएर विज्ञान विषयामा कक्षा ११ र १२ मा दुई जना भर्ना गराइएकामा ती विद्यार्थीले पढाइ गाह्रो भएकाले बीचैमा छाडेर भागेको अनुभव पनि उनले सुनाए । अब शिक्षाबारे अभिभावक चेतना दिने विद्यार्थीहरु नियमित विद्यालय गए नगएको,समयमा घर फर्किए नफर्किएको जस्ता विषयमा पनि गाउँपालिकाले अनुगमन गरी अभिभावकलाई सहजीकरण गर्ने उनको भनाइ छ । गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङबाट प्रस्तुत चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘उत्कृष्ट शैक्षिक गन्तव्य गाउँपालिका हाम्रो पहिचान’ को नारासहित शिक्षालाई मानिसको आवश्यकता र वास्तविक जीवनसँग जोड्ने र सीपमूलक पाठ्यक्रम विकास गरी नमुना विद्यालय विकास गर्ने योजना लिइएको छ । गाउँपालिकाले सबै विद्यालयमा विद्युतीय हाजिरी व्यवस्थापन गर्ने, विद्यालयको भौतिक पूर्वाधार, स्वास्थ्य, सरसफाइ र आधारभूत खानेपानी सेवा विस्तार गर्ने, अङ्ग्रेजी माध्यमबाट शिक्षणका लागि शिक्षक दरबन्दीमा प्रोत्साहन गर्ने पनि कार्यक्रम अघि सारेको छ । नीति तथा कार्यक्रममा शैक्षिक प्रणालीमा रुपन्तरणका लागि पाठ्यक्रमको विकास, पठनपाठनको व्यवस्थापन, अतिरिक्त क्रियाकलाप व्यवस्थापन, शैक्षिक पात्रो व्यवस्थापन, अद्यावधिक स्रोत व्यवस्थापन, विद्यालय-अभिभावकबीचको सञ्चार व्यवस्थापन, अनलाइन शिक्षण तथा सिकाइ र दस्तावेजीकरणलगायतका क्षेत्रमा सूचना प्रणालीको प्रभावकारी उपयोग गरी शैक्षिक व्यवस्थापन सूचना प्रणाली लागु गर्ने उल्लेख छ । रासस

गुणस्तर तथा नापतौल विभागको महानिर्देशकमा जोशी नियुक्त

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागको महानिर्देशकमा ज्योती जोशी भट्ट नियुक्त भएकी छन् । बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभागकै उपमहानिर्देशकका रुपमा कार्यरमत जोशीलाई महानिर्देशक बनाउने निर्णय गरेको हो । यसअ‍घि यही माघ ३ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयले विभागका महानिर्देशक दीनानाथ मिश्रको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सरुवा गरेसँगै रिक्त हुन पुगेको पदमा मन्त्री रमेश रिजालले मन्त्रीस्तरीय निर्णयबाट महानिर्देशकमा जोशीलाई नियुक्त गरेका हुन् । उनको नियसक्तिसँथै ‍गुणस्तर विभागले पहिलो पटक महिला महानिर्देशक पाएको छ ।

बैंकको उच्च ब्याजविरुद्व मधेसमा आन्दोलन

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले गरेको मधेस प्रदेश बन्दको आंशिक प्रभाव परेको छ । पार्टीले बैंकहरुले लिएको मनोमानी ब्याज फिर्ता हुनुपर्ने, लघुवित्त र सहकारीबाट लिएको कर्जा माफी हुनुपर्ने र सर्वसाधारणलाई सहज कर्जा प्रवाह हुनुपर्ने लगायतका माग गर्दै एक दिन मधेस बन्द घोषणा गरेको हो । बन्द गराउने भन्दै पार्टीका नेता कार्यकर्ताहरु सडकमा उत्रिएर नाराजुलुस गरेका छन् । मधेस प्रदेशका आठ जिल्लामा नै कार्यकर्ताहरुले आन्दोलन गरिरहेका छन् । बन्दका क्रममा उत्रिएका केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा आम जनता पार्टीका केन्द्रिय उपाध्यक्ष तथा संविधान सभा सदस्य तिलक थापा मगर, महासचिव उपेन्द्र साह, पार्टी प्रवक्ता तथा आई.टी.आर्मीका केन्द्रिय अध्यक्ष चन्द्रभूषण साह, सचिव समिना हुसेन, स्थायी कमिटी सदस्य तथा धनुषा ईन्चार्ज श्रीलाल महासेठ, केन्द्रिय सदस्य तथा महोत्तरी अध्यक्ष विजयकुमार साह, आम महिला मोर्चाका केन्द्रिय अध्यक्ष बबिता साह लगायतका रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाकाअनुसार बन्द गराउन हिँडेका आजपाका ६५ भन्दा बढी नेता कार्यकर्ताहरुलाई नियन्त्रणमा लिइएको हो । बैंकले मनोमानी ढंगले लिइ रहेको ब्याज फिर्ता, लघुवित्त तथा सहकारीबाट लिएको कर्जा माफी तथा आम जनतालाई सहज कर्जा उपलब्ध गराउने लगायतका माग सहित आजपाले मधेस बन्दको आह्वान गरेको हो । आम जनताको भविष्य र देशको समृद्धिसँग खेलवाड भइरहेकाले बाध्य भएर आन्दोलित हुनुपरेको आजपाले जनाएको छ । प्रदर्शनकारीहरुले बैंकहरुले मनोमानी रुपमा लिएको ब्याज फिर्ता गर्, आम जनता पार्टी जिन्दवाद, जनतालाई दुःख दिन पाइँदैन, जनतालाई लुट्न पाइँदैन, मधेस सरकार मुर्दावाद लगायतका प्लोकार्ड र नारा लगाएर बिरोध प्रदर्शनमा उत्रिएका छन् ।

ललितपुरको सातदोबाटो र भैंसेपाटीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि ललितपुरमा २ वटा नयाँ शाखाहरु विस्तार गरेको छ । बैंकले ललितपुरं महानगरपालिका वडा नं. १५ मा सातदोबाटोशाखा र ललितपुर महानगरपालिका वडा नं. २५ मा भैंसेपाटी शाखा संचालनमा ल्याएको हो । नयाँ शाखाहरुबाट बहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योती प्रकाश पाण्डेले नयाँ शाखाहरुको उद्घाटन गरे । कार्यक्रममा सीइओ पाण्डेले नयाँ शाखाहरुबाट ग्राहकहरुलाई गुणस्तरीय बैंकिब सेवा तथा सुविधाहरु दिने बताए । बैंकले हालसालै बाराको सिमरा, काठमाडौंको शंखमुल र अनामनगरमा नयाँ शाखाहरु संचालनमा ल्याएको थियो । बैंकले हाल देशभरिमा २६६ शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखा रहित बैंकिब र २५७ वटा एटीएम मार्फत सेवा प्रदान गरिरहेकोछ ।

महालक्ष्मी र ज्योति विकास बैंकमा किन टिक्दैनन् सीईओ ?

काठमाडौं । ज्योति विकास बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् झलक प्रसाद खनाल । बैंक स्थापना भएपछि सञ्चालक समितिले खनाललाई सीईओमा नियुक्त गर्‍यो । तर, खनाल साढे ३ वर्षमै बैंकबाट बाहिरिए । वि.सं २०६५ सालमा चार वर्षका लागि सीईओमा नियुक्त भएका उनी २०६८ सालमै बाहिरिए । वि.सं २०६९ सालमा बैंकको सीईओ बने कृष्ण बहादुर कुँवर । तर, कुवँर पनि पुरा कार्यकाल काम नगरी बैंकबाट बाहिरिए । बैंक तथा वित्तीय संस्था ऐन, (बाफिया) २०७३ अनुसार कुवँरको सीईओ बन्न योग्यता पुगेन । राष्ट्र बैंकले कैफियत देखाएपछि उनी बैंकबाट बाहिरिनु परेको बैंक सञ्चालक ध्रुव कोइरला बताउँछन् । कुवँर पनि बाहिरिएपछि हाल नबिल बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) को रूपमा काम गरिरहेका मनोज ज्ञवालीले बैंकको बागडोर सम्हाले । २०७५ बैशाखमा सीईओमा नियुक्त भएका ज्ञवाली पजि बिचमै काम छोडेर हिँडे । उनले बैंकमा काम गर्न चाहेका थिए । तर, सञ्चालक समितिले दोस्रो कार्यकालका लागि नवीकरण नगर्ने संकेत पाएपछि उनले अगाडि नै राजीनामा दिए ।  उनले २०७७ बैशाखमा राजीनामा दिँदै बैंकबाट बाहिरिए । २ वर्षमै बैंकको सीईओबाट ज्ञवाली बाहिरिएपछि बैंकको सीईओ बने श्रीचन्द्र भट्ट । २०७७ असारदेखि लागू हुने गरी भट्टलाई ४ वर्षका लागि सीईओ बनाइएको थियो । भट्टले पनि कार्यकाल पुरा नगरी गत मंसिर ३ गते राजीनामा दिए । हाल बैंकको सीईओ कपिल ढकाल छन् । स्थापनाकालदेखि हालसम्म बैंकले ५ वटा सीईओ पाएको छ । तर, सबैले कार्यकालको बीचमै काम छोडेर घर फर्के । यस्तै, तत्कालीन यति डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंकको मर्जपछि सीईओ बने रमेश भट्टराई । तर, केही महिनामै उनी बैंकको सीईओबाट राजीनामा दिएर बाहिरिए । उनी बाहिरिनुको कारण बैंकको मर्जर बुझिएको हल्ला चलेको थियो । उनले बैंकबाट बाहिरिएपछि नयाँ योजनाका साथ काम गर्ने बताउँथे । पछि उनी महालक्ष्मी लाइफ इन्स्योरेन्सको नेतृत्व गर्न पुगे ।  भट्टराईले सीईओको पद छाडेपछि २०७४ कात्तिक २६ गते बैंकको सीईओ बने कृष्णराज लामिछाने । ४ वर्षका लागि नियुक्त भएका लामिछाने बिचमै राजीनामा दिन बाध्य भए । उनको बहिर्गमनपछि वि.सं २०७७ चैत २ गते बोधराज देवकोटा बैंकको सीईओमा नियुक्त भए । तर, १४ महिना अगाडि नै राजीनामा दिएर देवकोटा बैंकबाट बाहिरिए । ज्योति विकास बैंक र महालक्ष्मी विकास बैंकको बागडोर सम्हाल्न आँट गरेर बिचमै छोड्ने सिलसिला सुरुवातदेखि नै छ । यी दुई बैंकमा कुनै पनि सीईओले आजसम्म कार्यकाल अवधिभर काम गर्न सकेका छैनन् । बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ बमोजिम सीईओको कार्यकाल अधिकतम ४ वर्ष र दुई कार्यकालसम्म नियुक्त गर्न मिल्ने व्यवस्था छ । कतिपय बैंकले ४ वर्षभन्दा कम अवधि राखेर पनि करारमा नियुक्त गरेका हुन्छन् । कतिपयले २ वर्षको प्रगति हेरेर नवीकरण गर्ने गरेका छन् । कतिपयको काम चित्त नबुझेपछि नवीकरण नगर्दा राजीनामा दिएर २ वर्षमै बाहिरिन्छन् । ज्योति बैंकका सञ्चालक ध्रुब कोइराला सञ्चालक समितिले जहिले पनि सीईओलाई स्वतन्त्र रूपमा काम गर्न दिएको बताउँछन् । सञ्चालक समितिसँग ट्याकल नमिल्ने, काममा स्वतन्त्रता नभएको,र सञ्चालक समितिले दबाब दिने काम नभएको उनको दाबी छ । ‘विभिन्न कारणले उहाँहरूले राजीनामा दिनु भएको हो, बैंकमा काम गर्न समस्या भएर सीईओले राजीनामा दिएको भन्ने सन्देश प्रवाह भएको छ । तर, वास्तवमा त्यो होइन,’ उनले भने, ‘विकास बैंकहरूमध्ये काम गर्ने सीमा धेरै दिएको, व्यवस्थापनलाई स्वतन्त्र छोडेको ज्योति विकास बैंकले मात्रै हो । तर, कतिपय अवस्थामा त्यसको गलत प्रयोग हुँदो रहेछ ।’ ‘मनोज ज्ञवालीको रिभ्यूको टम्स थियो । तर, सञ्चालक समितिले नवीकरण नगरेपछि राजीनामा दिनु भयो, बाफिया अनुसार योग्यता नपुगेका कारण कृष्ण बहादुर कुँवरले राजीनामा दिनु पर्‍यो, उहाँको व्यवस्थापनमा स्नातकोत्तर उत्तिर्ण थिएन,’ उनले भने, ‘श्रीचन्द्र भट्टको कार्यकालमा प्रवाह भएका अधिकांश कर्जा बिग्रिए, म हट्दा कर्जा उठाउन सजिलो होला भन्ने आशयले उहाँले राजीनामा दिनु भएको हो ।’ तर, कार्यकालको बिचमै काम छोडेका सीईओको अनुभव भने बेग्लै छ । महालक्ष्मी विकास बैंकको सीईओ बनेर बिचमै काम छोडेएका एक सीईओले सञ्चालकको अनावश्यक दबाबले काम छोड्नु परेको अनुभव सुनाए । उनका अनुसार एउटा सीईओले बीचमा छोड्दा व्यक्तिगत कारणले छोडेको होला भन्ने बुझिन्छ । तर, पटक(पटक एउटै बैंकमा धेरै व्यक्तिले पुरा अवधि काम नगरी छोड्दा केही कारण हुन सक्ने उनको भनाइ छ । बैंकमा सीईओ नटिक्ने विषयमा राष्ट्र बैंकले पनि अध्ययन गर्नु पर्ने उनको राय छ । ‘४ वर्षको लागि सीईओमा नियुक्त भएको व्यक्ति बिचमै छोडेर जाँदा त समस्या भएको हुन्छ, होइन भने किन पुरा कार्यकाल नसकी सीईओले छोड्नु पर्‍यो रु उनले प्रश्न गर्दै भने, ‘एउटै बैंकमा पटक(पटक सीईओले राजीनामा दिँदा यो विषय पनि राष्ट्र बैंकको नियमन भित्र पर्नुपर्छ ।’ उनका अनुसार कुनै व्यक्ति सीईओ नियुक्त हुँदा टिओर दिएको हुन्छ । आफ्नो कार्यकालमा यति काम गर्छु भनेर लक्ष्य दिएको हुन्छ, बैंकको सीईओ भएपछि राष्ट्र बैंक र बैंकको नीति निर्देशनभित्र रहेर काम गर्नुपर्छ, सबै सीमाभित्र रहेर सीईओले व्यवसाय गर्दा सञ्चालक समितिले टर्चर दिन्छ । ‘सञ्चालक समितिमा ७ जना सदस्य हुन्छन् । ७ जनामध्ये १र२ जनाले सीईओलाई असहयोग गर्दा केही फरक पर्दैन । तर, अध्यक्षले नै पटक(पटक हस्तक्षेप, अनावश्यक दबाब सीईओले सहन सक्दैन । एकरदुई जना सञ्चालकलाई मिलाउन सक्छ । तर, अध्यक्ष नै खराब निस्कियो भने सीईओ टिक्दैन,’ महालक्ष्मी विकास बैंकका एक पूर्व सीईओले भने । प्रोफेसनल सीईओलाई सञ्चालक समिति पनि प्रोफेसनल भइदियोस् भन्ने चाहना हुन्छ । सञ्चालक समितिले कानुनसम्मत दिएका सबै निर्देशन पालना गर्न सीईओ पनि तयार हुन्छ । तर, सञ्चालकहरूले फाइभ स्टार होटलमा अनावश्यक गरेको मिटिङको खर्चको बिल भुक्तानी गर्न सीईओलाई दबाब दिने गरेको उनको अनुभव छ । ‘फाइभस्टार होटलमा २५ हजार रुपैयाँ पर्ने बोतलको रक्सी खान्छन्, त्यसको बिल सीईओलाई पेश गर्छन्, २५ हजार रुपैयाँको रक्सी खाएको बिल सीईओले के आधारमा भुक्तानी गर्ने रु त्यो बेलामा समस्या आउँछ, सीईओलाई पनि बिल पेश गर्न गाह्रो हुन्छ,’ उनले भने । उनका अनुसार कतिपय सञ्चालकहरू इनसाइडर ट्रेडिङ गर्छन् । बोर्डका अध्यक्ष तथा सञ्चालकहरू एकाघरभित्र नपर्ने व्यक्तिको नाममा सेयर खरिबिक्री गर्छन् । त्यस विषयमा सीईओलाई जानकारी भएपनि कुनै एक्सन लिन नसक्ने अवस्थामा हुने गरेको अनुभव सुनाए । ‘सञ्चालकहरूले कर्मचारीलाई अनावश्यक टर्चर दिने, फलानोलाई कर्जा देउ, कुनै ग्राहकको कर्जा नतिरेर डिफल्ट भयो भने कानुनी कारवाही गर्न नदिएका हुन्छन्,’ उनले भने, ‘तर, सीईओलाई एनपीएल डाउन र व्यवसाय बढाउनु पर्ने दबाब हुन्छ, काम गर्ने वातावरण नभएपछि राजीनामा दिन बाध्य हुन्छन् ।’ अध्ययन गर्छौं : राष्ट्र बैंक नेपाल राष्ट्र बैंकले यस विषयमा अब अध्ययन गर्ने बताएको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट यस्ता विषयमा हालसम्म कुनै गुनासो नआएको तर आएपछि अध्ययन गर्ने बताउँछन् । साथै, व्यक्तिगत कारण र सञ्चालकसँगको सम्झौता अनुसार सीईओ आउने र विदा हुने गरेको उनको भनाइ छ । ‘व्यक्तिले कुनै अन्य नयाँ अवसर पाएर राजीनामा दिएकाे, सञ्चालकसँगको सम्झौता अनुसार अवधि सकेर पनि राजीनामा दिएका हुन सक्छन्, राष्ट्र बैंकको ऐन बमोजिम एउटा व्यक्ति दुई कार्यकालसम्म सीईओ पाउने व्यवस्था छ,’ उनले भने, ‘यस विषयमा राष्ट्र बैंकमा कुनै गुनासो आयो भने अध्ययन गर्छौं । तर, व्यक्तिले छोड्छु भनेर राजीनामा दिएको विषय सामान्य हो ।’ उनका अनुसार व्यक्तिको इच्छा, आवश्यकता र बाध्यता अनुसार आउने जाने भइरहने हुन्छ । यदि सुशासनमा कुनै कैफियत देखियो र संस्थामा कुनै असर प र्‍यो भने मात्रै राष्ट्र बैंकले हेरिरहेको हुने उनको भनाइ छ । ‘सुशासनमा कुनै कैफियत भयो भने राष्ट्र बैंकले हेर्छ, इण्डष्ट्रिमा मान्छे आउने जाने भइरहन्छ, बैंक कति बलियो छ भनेर त्यसलाई राष्ट्र बैंकले हेर्छ, समग्रमा सीईओको टर्नओभर थोरै छ, कतिपय संस्था ८ वर्ष पनि एउटै व्यक्तिलाई सीईओ बनाउनु पर्ने माग पनि आएका छन्,’ उनले भने ।