बैंकिङ कसुर तथा वैदेशिक रोजगारसम्बन्धी ठगी गर्नेलाई धमाधम पक्राउ गर्दै प्रहरी
खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले बैंकिङ कसूर तथा वैदेशिक रोजगारसम्बन्धी ठगी गर्ने व्यक्तिलाई पक्राउ गर्न थालेको छ । विभिन्न समयमा विविध बहाना बनाएर लिएको रकम नतिर्ने तथा विदेश पठाइदिन्छु भन्दै रकम लिएर विदेश नपठाउने व्यक्तिलाई प्रहरीले पक्राउ गर्न थालेको हो । बैंकिङ कसूर तथा वैदेशिक रोजगारसम्बन्धी ठगी मुद्दाका पीडक पक्राउ अभियान सुरु गरिएको महिनादिनमै सातजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए । ‘पीडितले दिएको जाहेरीको आधारमा आरोपितलाई विभिन्न ठाउँबाट पक्राउ गरेर कारबाहीको प्रक्रिया अगाडि बढाएका छौँ । उनीहरुले पीडितबाट एक लाख २५ हजारदेखि ३५ लाख २५ हजारसम्म ठगी गरेको पाइएको छ’, उनले भने, ‘पक्राउ परेकामध्ये केहीले सम्बन्धित व्यक्तिलाई आफूले लिएको पैसाको साँवा/ब्याज फिर्ता गरेका छन् । फिर्ता गर्न नसकेकालाई पुर्पक्षका लागि जिल्ला कारागार पठाउनेछौँ ।’ गत पुस १७ गतेदेखि माघ मसान्तसम्ममा विभिन्न ठाउँबाट पक्राउ परेका आरोपितलाई जिल्ला अदालतबाट म्याद थप गरेर हिरासतमा राखिएको जनाइएको छ । पक्राउ पर्नेमा बैङ्किङ कसूरसम्बन्धी ठगीको आरोपमा छ जना र वैदेशिक रोजगारसम्बन्धी ठगीको आरोपमा एकजना रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता बेनु कार्कीले जानकारी दिइन् । बैंकिङ कसूरसम्बन्धी ललितपुर महानगरपालिका–१४ थसिखेल निवासी सुनिता खड्कालाई गत पुस १७ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ । खड्काले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी निर्मला भुजेलको रु ३५ लाख २५ हजार रकम विभिन्न बहानामा ठगी गरेको पाइएको छ । खड्काले आफूले लिएको रकम फिर्ता गर्न तथा धरौटी रकम बुझाउन नसकेपछि माघ–३ गते पुर्पक्षका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ । सस्तोमा घडेरी दिलाइदिन्छु भन्दै ठगी गर्ने खड्कालाई अदालतले रु दश लाख धरौटी तोकेको छ । यस्तै, युवराज बस्नेतको जाहेरीले गत माघ–९ गते काठमाडौँ महानगरपालिका–७ काठमाडौँबाट पक्राउ परेका कल्याण खत्रीलाई बैङ्किङ कसूरसम्बन्धीकै अर्को मुद्दामा बिहीबार गौशाला पठाइएको प्रनाउ खड्काले जानकारी दिनुभएको छ । आरोपित कल्याणले बस्नेतको रु चार लाख २० हजार रकम लिएर फिर्ता नगरेको जनाइएको छ । बस्नेतकै जाहेरीको आधारमा कल्याणका बुबा मोहनकुमार खत्रीलाईसमेत प्रहरीले पक्राउ गरेको छ । गत माघ ११ गते नवलपारासीको सुनवल नगरपालिका–१२ भूमहीबाट पक्राउ परेका मोहनकुमारले समय समयमा विभिन्न व्यक्तिबाट रु तीन करोड ४० लाख रकम लिएर फिर्ता नगरेको जनाइएको छ । दिक्तेलस्थित प्रहरी हिरासतमा रहेका मोहनकुमारलाई जिल्ला अदालत खोटाङको प्रक्रिया पूरा गरेर झापाको बिर्तामोड पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ । मोहनकुमारविरुद्ध विर्तामोडबाट ठगी मुद्दासम्बन्धी नै पक्राउ पुर्जी आएको जनाइएको छ । पक्राउ परेकामध्ये मोरङको बेलबारी नगरपालिका–१ बेलबारीका सुवास न्यौपाने र दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ छोरम्बुस्थित याङ्सोलाका चण्डीकुमार राईले रकम फिर्ता गरेको प्रनाउ खड्काले जानकारी दिए । खगेन्द्र राईको जाहेरीले गत पुस १९ गते पक्राउ परेका न्यौपानेले रु १५ लाख तथा समिर राईको जाहेरीले माघ १६ गते पक्राउ परेका चण्डीकुमारले रु एक लाख २५ हजार रकम फिर्ता गरेका हुन् । यस्तै, युवराज आचार्यको जाहेरीले गत माघ २७ गते पक्राउ परेका सिन्धुली जिल्लाको दूधौली नगरपालिका–११ राजावास बस्ने उपेन्द्र साह सुरीले रु दुई लाख ३४ हजार पाँच सय ५० ठगी गरेको जनाइएको छ । उनलाई हिरासतमा राखेर अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । वैदेशिक रोजगारसम्बन्धी ठगी मुद्दामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित तालखर्क घर भई भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका–२ बालकोट बस्दै आएका प्रेम पुरी पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ईन्द्रबहादुर खड्का ‘माइकल’ सहित छ जनाको जाहेरीमा गत माघ २१ गते पक्राउ परेका पुरीले रु आठ लाख ९५ हजार ठगी गरेको आरोप छ । विभिन्न समयमा विदेश पठाइदिन्छु भन्दै धरौटीबापत लिएको रकम फिर्ता नगरेपछि कारबाहीको लागि प्रहरीमा उजुरी दिएको माइकलले बताउनुभएको छ । पक्राउ परेका पुरीलाई हिरासतमा राखेर कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । दश स्थानीय तह रहेको जिल्लामा सबैभन्दा बढी वैदेशिक रोजगारसम्बन्धी ठगीका घटना बढिरहेको पाइएको छ । विदेश पठाउने नाममा ठगी गर्ने एजेन्ट जिल्ला बाहिरका हुँदा ठगी वापतको रकम फिर्ता गराउन समस्या हुने गरेको सुरक्षित आप्रवासन परियोजना सामीका कार्यक्रम संयोजक सन्तोषकुमार राईले जानकारी दिनुभएको छ । यसैबीच, फरार प्रतिवादी पक्राउ अभियान सुरु गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले गत साउनदेखि हालसम्म ९८ जनालाई पक्राउ गरिसकेको जनाइएको छ । अभियानका क्रममा ३० वर्षअघिदेखि फरार रहेका प्रतिवादीसमेत पक्राउ गरिएको प्रनाउ खड्काको भनाइ छ । रासस
मेलम्ची खानेपानीमा भ्रष्टाचार : पूर्वसचिव उपाध्यायसहित १८ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा खानेपानी मन्त्रालयका पूर्वसचिव भिम उपाध्यायसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त आयोजनामा ठेकेदारलाई बढी रकम भुक्तानी गरेर भ्रष्टाचार गरेको भन्दै पूर्वसचिव उपाध्यायसहित १८ जनाविरुद्ध विषेश अदालतमा मुद्दा दायर गरेको हो । आयोगले पूर्वसचिव उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुरलाई प्रतिवादी बनाएको छ । यस्तै, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशकहरु घनश्याम भट्टराई, रामचन्द्र देवकोटा, सूर्यराज कडेल, बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल र रुद्रसिंह तामाङसहित १५ जना नेपाली र तीन विदेशी परामर्शदातालाई पनि प्रतिवादी बनाइएको बताइएको छ । अख्तियारले मेलम्ची खानेपानी विकास समितिको बोर्डको तत्कालीन अध्यक्षसमेत रहेका खानेपानी मन्त्रालयका तत्कालीन सचिव भिम उपाध्यायसँग ४ करोड ११ लाख ३४ हजार २ सय ७९ रुपैयाँ बिगो माग दाबी गरेको छ । यस्तै, अख्तियारले बोर्ड सदस्य रुद्रसिंह तामाङविरुद्ध ११ करोड ९ लाख १७ हजार ४ सय ५८ रूपैयाँ बिगो माग दाबी गरेको छ । हाल उनी अध्यागमन विभागका महानिर्देशक हुन् । त्यसैगरी, तत्कालीन बोर्ड अध्यक्ष एवं खानेपानी मन्त्रालयका तत्कालीन सचिव डा. शर्मा र अर्थ मन्त्रालयका तत्कालीन सह-सचिव तथा तत्कालीन बोर्ड सदस्य पौडेलविरुद्ध जनही ६ करोड ९७ लाख ८३ हजार १ सय ७८ रूपैयाँ बिगो माग दाबी गरेको छ ।
४१ कराेडकाे सम्पत्ति जफत हुने भएपछि एनआरएनए सर्वोच्च अदालत जाने
काठमाडौं । बालुवाटारस्थित आफ्नो केन्द्रीय कार्यालयको जग्गा सरकारद्वारा जफत हुनेभएपछि गैर आवासीय नेपाली संघ (एनआरएनए) सर्वोच्च अदालतमा जाने भएको छ । ललिता निवासको जग्गा जफत गर्ने विशेष अदालतको निर्णयले पारेको प्रभावको बारेमा एनआरएनएले सर्वोच्चमा निराकरणको लागि अपिल गर्ने विज्ञप्तिमार्फत उल्लेख गरेको हो । सर्वोच्च अदालतको निर्णय मान्य हुने र तबसम्म भोगाधिकार हक र स्वामित्व एनआरएनएमै रहने भन्दै काठमाडौं महानगरपालिकाबाट भवन निर्माण स्वीकृति भएको र सर्वोच्चको निर्णयबाट सम्पन्न भएको एनआरएनएले जनाएको छ । सर्वोच्च अदालतबाट पनि प्रतिकुल निर्णय आएमा एनआरएनएलाई जग्गा बिक्री गर्नेविरुद्ध मुद्दा दायर गरी थैली रकम प्राप्त गर्ने र क्षतिपूर्ति असुल उपर गर्न पाउने अधिकार रहेको एनआरएनएले विज्ञप्तिमा उल्लेख गरेको छ । एनआरएनले शोभाकान्त ढकाल, रामकुमार सुवेदी, सन्दिप ढकाल, उमाकुमारी ढकाल र माधवी सुवेदीमार्फत १२ करोड ७२ लाख रुपैयाँमा ०७२ साल जेठ १४ गते खरिद गरेको जनाएको छ । साथै एनआरएनएले २९ करोड लागमा सन् २०२२ मा भवन निर्माण सम्पन्न गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
सोमबार सार्वजनिक बिदा
काठमाडौं । सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । प्रजातन्त्र दिवसको अवसरमा सरकारले फागुन ७ गते सोमबार बिदा दिने निर्णय गरेको हो । यससँगै सो दिन बैंक तथा वित्तीय संस्था, सेयर बजार लगायत सम्पूर्ण सरकारी कार्यालयहरूबन्द हुनेछन् । नेपाली जनताको सङ्घर्ष र बलिदानीबाट वि.सं २००७ फागुन ७ गते राणा शासनको अन्त्य भई प्रजातन्त्रिक नयाँ युग प्रारम्भ भएको थियो । मुलुकमा प्रजातन्त्र स्थापनाका सिलसिलामा त्यस बेलाका होनहार युवा शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमालगायतले बलिदानी दिएका थिए ।
बैंकिङ कसुर तथा सजाय विधेयकले चेक अनादरको विषय समेटेको होइन : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकिङ कसुर तथा सजाय(दोस्रो संशोधन) विधेयक २०८० ले केवल चेक अनादरको विषयलाई मात्रै नसमेटेको बताएका छन् । आईतबार प्रनिनिधि सभाको बैठकमा विधेयकको सैद्धान्तिक पक्षमाथि छलफलमा भाग लिँदै सांसदहरुले बैंकिङ कसुर तथा सजाय(दोस्रो संशोधन) विधेयक २०८० चेक अनादरसँग सम्बन्धित विषयमा मात्रै केन्द्रित भएको बताएका थिए । सांसदहरुको मन्तव्यपछि जवाफ दिँदै मन्त्री महतले सो विधेयक चेक अनादरको विषयसँग मात्रै सम्बन्धित नभएको बताए । बैंक, वित्तीय संस्था, सहकारी संस्थामा देखापरेका समस्याहरुको विषयलाई विधेयकमा समेटिएको उनले जानकारी दिए । ‘चेक बाउन्सको विषय मात्रै छैन । बैंक, वित्तीय संस्था, सहकारी संस्था यसको चल, अचल सम्पती मिले मतो वा जाल, परिपञ्च गरी वा हक नभएको सम्पतीमा आफ्नो हक दाबी भएको भनेर अहिले धेरै सहकारी, वित्तीय संस्थाहरुमा समस्याहरु आएको छ, ति समस्याहरु संशोधनमा समेटिएको छ । यो विषयमा ०६४ सालमा बनेको थियो त्यो सँग जोडिएको कहाँ कमी, कमजोरी छ, त्यो विषयलाई मध्यनजर गरेर समेटेर यो संशोधन प्रश्ताव ल्याएको’, उनले भने । उनले यो विधेयकमा अन्य धेरै कुराहरु समेट्न बाँकी रहेको भएपनि हाललाई भने पहिलेकै ऐनलाई संशोधन गरी हाल देखा परेका समस्याहरुलाई सुधार गर्नेगरी ल्याइएको बताए ।
मधुमेहबारे व्याप्त भ्रम चिर्न आवश्यक छ : डा. भट्टराई
काठमाडौं । मधुमेह तथा हर्मोनरोग विशेषज्ञ डा. ज्योति भट्टराईले मधुमेहको जोखिमबाट बच्न स्वस्थ्य एवं सन्तुलित भोजन, शारीरिक व्यायम, तनाबमुक्त जीवनशैली र नियमित स्वास्थ्य परीक्षण गर्न सुझाव दिएकी छिन् । राष्ट्रिय समाचार समिति (रासस)को ६३औँ वार्षिकोत्सवको सन्दर्भमा आइतबार आयोजित अन्तक्रिया कार्यक्रममा डा. भट्टराईले मधुमेहबारे समाजमा व्याप्त भ्रम रहेको भन्दै उक्त भ्रम चिर्न आवश्यक रहेको बताइन् । मधुमेह भएकाले सन्तुलित खानापानमा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिइन् । पछिल्लो समय मधुमेहका बिरामीको सङ्ख्यासँगै यसको जोखिम पनि बढ्दै गइरहेकोबारे सचेत गराउँदै डा भट्टराईले मधुमेहका बिरामीले चिकित्सकको सल्लाहबमोजिम मात्र खानपान र औषधिको प्रयोग गर्न सुझाव दिइन् । ‘मधुमेह रोगबारे हाम्रो समाजमा धेरै भ्रम र अन्योलता छ । हरियो घाँसमा खालीखुट्टा हिँड्नुपर्छ भन्ने कुरा बिरामीले सुनाउनुहुन्छ । यस्ता बिरामीले स्पोर्टस् जुत्ता लगाउन उपयुक्त हुन्छ । धेरै कस्सिएको र असहज हुने जुत्ता नलगाउने, खुट्टाको नियमित सरसफाइमा ध्यान दिनुपर्छ’, उनले भनिन्, ‘सुगर फ्रि चिनीरहित भनिएका चामल, बिस्कुट वा कुनै पनि परिकारले मधुमेह निको हुँदैन । यस्ता विज्ञापनका आधारमा खाना उपभोग गर्नु हुँदैन । यसले फाइदा कम बेफाइदा बढी हुन्छन् ।’ डा भट्टराईले बजारमा पाइने सुगर फ्रि भनिएका खाद्यान्न खानुभन्दा गाउँघरमा उत्पादित अन्न खानु स्वास्थ्यका लागि स्वस्थकर हुने बताउँदै सरकारले किसानलाई प्राङ्गारिक उत्पादनमा गर्न प्रोत्साहन हुने किसिमका नीति बनाउनुपर्नेमा जोड दिइन् । ‘मकै, भटमास, गेडागुडी, साग, रेसादार फलफुल सेवन गर्नु पर्दछ’, उनले भनिन्, ‘मदिरा, बजारमा पाइने पेय पद्धार्थ, चुरोटलगायत हानिकारक वस्तुको प्रयोग नगर्ने हो भने पनि मधुमेहको जोखिमबाट बच्न सकिन्छ ।’ डा. भट्टराईले मधुमेह वंशाणुत र वातावरण गरी दुई कारणले हुने उल्लेख गर्दै स्वस्थ्य जीवनशैली अपनाउँदा यसको नियन्त्रण गर्न सकिने बताइन् । उनले उच्च मधुमेहले टाउकोदेखि खुट्टासम्मका विभिन्न भागमा असर पार्ने बताइन् । ‘मुख्यतः मधुमेहका कारण अन्धोपन, मिर्गौलामा समस्या, मुटुरोग, खुट्टा, खुँडा र पैतलामा समस्या हुने गर्दछ’, उनले भनिन् । मधुमेहका बिरामीमा थकाई, आलस्य, पिसाब धेरै लाग्ने, तौल घट्ने, खुट्टा पोल्ने, मुख सुख्खा हुने, कमजोरी र घाउ छिटो निको नहुने लक्षण देखिने डा भट्टराईले जानकारी दिइन् । समयमा नै यो रोग नियन्त्रण गर्न सके सक्रिय जीवनशैली अपनाउन सकिने उनले बताउइन् । झण्डै ५० प्रतिशत बिरामीमा यसको लक्षण नदेखिने उनको भनाइ थियो । मधुमेह तथा हर्मोनरोग विशेषज्ञ डा भट्टराईले मोटो मानिसलाई मात्र मधुमेह हुन्छ भन्ने आम बुझाइ रहेको भन्दै दुब्लो व्यक्तिमा समस्या हुनसक्ने भएकाले सबैले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने बताइन् । ‘मधुमेह जुनसुकै व्यक्तिलाई हुनसक्छ । नियमित परीक्षण गराउनु, सन्तुलित खाना खानु, तनावमुक्त जीवनशैलीसँगै नियमित व्यायाम गर्नु नै यसको प्रभावकारी उपचार विधि हो’, उनले भनिन्, ‘प्रत्येक व्यक्तिले सकेसम्म वर्षमा एकपटक यसको परीक्षण गराउनुपर्दछ ।’ बालबालिकामा टाइप–एक र युवाअवस्थामा टाइप–दुई मधुमेहको समस्या धेरै देखिनडा भट्टराईको भनाइ थियो । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन राससले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा रासस सञ्चालक समितिका सदस्य एवं आलेख प्रमुख कृष्ण अधिकारीले स्वस्थ जीवनशैलीका लागि चिकित्सकसँग सल्लाह लिनुपर्ने बताइन् । उनले कर्मचारीका लागि यस्ता अन्तक्रिया प्रभावकारी हुने भन्दै महिनामा एकपटक स्वास्थ्य सम्बन्धी अन्तक्रिया गरिनुपर्ने आवश्यकता औँल्याइन् । रासस
परिसूचक र कारोबार रकम दुबै घट्दा दुई कम्पनीमा लाग्यो सकारात्मक सर्किट
काठमाडौं । आइतबारको बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबै घटेको छ । बजारमा परिसूचक २७.२१ अंक र कारोबार रकम ९ करोड रुपैयाँले घटेको छ । आइतबार कारोबार खुलेदेखि नै परिसूचक निरन्तर रुपमा घटेको छ । परिसूचक गत बिहीबारको तुलनामा २७.२१ अंक अर्थात १.३१ प्रतिशतले घटेर २०३४.८२ बिन्दुमा झरेको छ । त्यस्तै, गत बिहीबार ३ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा आइतबार ३ अर्ब ७७ करोडमा सीमित भएको छ । आइतबार कारोबारमा आएका कम्पनीहरुमध्ये हिमालयन रि इन्स्योरेन्सकै सर्वाधिक कारोबार भएको छ । जसको एकैदिन ४० करोड ९० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सेयर मूल्य भने घटेर प्रतिकित्ता ६४५.१० रुपैयाँमा झरेको छ । दोहोरो अंकले घटेको बजारमा पनि दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बजारमा बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १०/१० प्रतिशतले बढेर क्रमशः प्रतिकित्ता १० हजार दुई सय ४२ रुपैयाँ र एक हजार छ सय ३५ रुपैयाँ पुगेको छ । बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । दिनभरमा २२५ कम्पनीको सेयर मूल्य घटेको छ, २१ कम्पनीको बढेको छ भने २ कम्पनीको सेयर मूल्य स्थीर छ । आइतबार कारोबारमा आएका सबै अर्थात १३ वटै समूह राताम्मे देखिएका छन् ।
डिशहोमले पाकिस्तान सुपर लिगको लाइभ गर्ने
काठमाडौं । डिशहोमले पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण आफ्नो एक्शन स्पोर्ट्स एचडी च्यानलमा विशेष रूपमा गर्ने भएको छ । नेपालीहरुको क्रिकेट प्रतिको माया र साथ देखेर डिशहोमले १७ फेब्रुअरीबाट प्रत्यक्ष प्रसारण गर्न थालेको डिशहोमका प्रतिनिधिले जनाएका छन् । १७ फेब्रुअरी, २०२४ देखि मार्च १८, २०२४ सम्म, नेपालभरका दर्शकहरूले पाकिस्तान सुपर लिगका सबै लाइभ-एक्शनहरू हेर्ने रोमाञ्चक अवसर पाउनेछन् । रोमाञ्चक क्याचदेखि सनसनीपूर्ण रन चेजसम्म, पीएसएलले उत्कृष्ट रूपमा क्रिकेटको उत्साह प्रदान गर्ने विश्वास डिशहोमको छ । एक्शन स्पोर्ट्स एच.डि. मा यो विशेष प्रसारणको साथ, क्रिकेट प्रेमीहरूले वर्षको सबैभन्दा प्रत्याशित क्रिकेट घटनाहरू मध्ये एकको विद्युतीय वातावरणमा रम्न सक्ने डिशहोमले जनाएको छ ।