विकासन्युज

सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता

काठमाडौं । सत्तारूढ दल राष्ट्रिष्य स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन आदेश दिएको छ ।  अदालतले शुक्रबार सरकारी पक्षको निवेदन स्वीकार गर्दै यस्तो अनुमति दिएको हो । जिल्ला न्यायाधीश हिमलाल बेलवासेको इजलासले सरकारी वकिल कार्यालय कास्कीले दर्ता गरेको निवेदन स्वीकृत गरेसँगै अब लामिछानेविरुद्ध सहकारी ठगीसम्बन्धी मुद्दामात्रै कायम रहने भएको छ । अदालतका स्रेस्तेदार राजन खनालका अनुसार सरकारी पक्षले अनुसन्धान र उपलब्ध प्रमाणको पुनरावलोकनपछि ती दुई अभियोग हटाउन औपचारिक निवेदन दिएको थियो । यो निर्णयसँगै सभापति लामिछानेले ठूलो कानुनी राहत पाएका छन् । यसअघि सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा उनीसहित विभिन्न व्यक्तिविरुद्ध ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणका कसुरमा मुद्दा दर्ता गरिएको थियो ।  सरकारी पक्षले सहकारीको रकम विभिन्न कम्पनी र व्यक्तिमार्फत परिचालन गरिएको दाबी गरेको थियो । २०१ कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई त्यसपछि कास्की लगेर अनुसन्धान गरिएको थियो । अनुसन्धानका क्रममा अदालतले पटक–पटक म्याद थप गर्दै हिरासतमा राख्न अनुमति दिएको थियो । पछि कास्की जिल्ला अदालतले उनलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । त्यसपछि उनी २०१ पुस २५ गते छुटेका थिए। धरौटी आदेशप्रति सरकारी पक्ष र लामिछाने पक्ष दुवैले असन्तुष्टि जनाउँदै उच्च अदालतसम्म पुगेका थिए । सरकारी वकिल कार्यालयले धरौटी रकम न्यून भएको दाबी गरेको थियो भने लामिछाने पक्षले आफू निर्दोष रहेको जिकिर गर्दै पुनरावेदन गरेको थियो । अन्तरिम सरकार गठनपछि महान्यायाधिवक्ताको कार्यालयले देशभर दर्ता भएका सहकारी प्रकरणहरूको कानुनी समीक्षा थालेको थियो । सो क्रममा संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग पुष्टि हुने पर्याप्त आधार र प्रमाण नदेखिएको निष्कर्ष निकालिएको बताइएको छ । त्यसपछि सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयहरूलाई अभियोग संशोधन प्रक्रिया अघि बढाउन निर्देशन दिइएको थियो । कास्की जिल्ला अदालतको पछिल्लो आदेशसँगै लामिछानेमाथिको कानुनी दबाब केही कम भएको देखिए पनि सहकारी ठगी मुद्दाको अन्तिम फैसला भने अझै हुन बाँकी छ ।

शिक्षामन्त्री पोखरेल र बेलायती मन्त्री मल्होत्राबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपाल भ्रमणमा रहेकी बेलायती मन्त्री सीमा मल्होत्रा बीच शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको भेटमा नेपाल र बेलायतबीचको लामो समयदेखिको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउँदै शिक्षा तथा खेलकुद क्षेत्रमा रणनीतिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।  समानता एवं इन्डो–प्यासिफिक हेर्ने बेलायती मन्त्री मल्होत्रा तीन दिने भ्रमणका लागि आज बिहान नेपाल आएकी हुन् ।  भेटका क्रममा दुई देशबीच शिक्षा क्षेत्रको विकासका लागि भइरहेका साझेदारी कार्यक्रम तथा आगामी दिनमा गर्न सकिने सहकार्यका विषयमा विचार आदानप्रदान भएको थियो । साथै नेपाल सरकारले सातै प्रदेशमा सञ्चालन गर्ने लक्ष्य राखेको अटिजम स्कुलको अवधारणा र कार्यान्वयनबारे पनि महत्त्वपूर्ण परामर्श भएको बताइएको छ । सरकारका प्रवक्ता समेत रहेका मन्त्री पोखरेलले शिक्षा क्षेत्र सुधारका लागि मन्त्रालयले अघि सारेका प्राथमिकता र कार्ययोजनाबारे जानकारी गराउँदै अटिजम भएका बालबालिकाका लागि गुणस्तरीय शिक्षा तथा उपयुक्त वातावरण निर्माण गर्न बेलायत सरकारसँग प्राविधिक सहयोग, स्रोत व्यवस्थापन र दक्ष जनशक्ति विकासमा सहकार्यको आग्रह गरे । उनले शिक्षाको पुनर्संरचनामा ‘प्याराडाइम सिफ्ट’ आवश्यक रहेको उल्लेख गर्दै अपाङ्गता भएका तथा विशेष गरी अटिजम भएका बालबालिकाका लागि विशिष्ट शिक्षण प्रणाली र सहयोग व्यवस्था विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताए । मन्त्री पोखरेलले बेलायत सरकारबाट बजेटरी सपोर्ट र मौद्रिक सहायतासँगै विज्ञता तथा ज्ञान हस्तान्तरणमार्फत क्षमता विकासमा थप सहयोगको अपेक्षा पनि व्यक्त गरे। भेटमा बेलायती मन्त्री मल्होत्राले नेपाल–बेलायतबीचको ऐतिहासिक सम्बन्ध, विकास साझेदारी तथा पारस्परिक हितका विषयमा चर्चा गर्दै आगामी दिनमा सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिइन् । उनले बेलायतको नयाँ सरकारले पनि शिक्षा क्षेत्रमा आधुनिक सुधारका कार्यक्रम अघि बढाइरहेको जानकारी दिँदै नेपालजस्ता मुलुकमा शिक्षामा थप लगानी र साझेदारी विस्तार गर्ने योजना रहेको बताइन् । मन्त्री मल्होत्राले नेपालको उच्च शिक्षामा बेलायती स्तरका गुणस्तरीय शैक्षिक कार्यक्रम सञ्चालन गर्न नेपालका विश्वविद्यालयसँग सहकार्य गर्ने प्रस्ताव पनि राखिन् ।  साथै अन्तरदेशीय शिक्षा प्रणालीको प्रवर्द्धनका लागि आवश्यक कानुनी प्रावधान परिमार्जन गरी साझेदारी विस्तार गर्न बेलायत सरकार तयार रहेको उनले उल्लेख गरिन् ।

हिमालय एयरलाइन्सको काठमाडौं–क्वालालम्पुर उडान रद्द, टिकट फिर्ता हुने

काठमाडौं । हिमालय एयरलाइन्सले जुन २०२६ मा हुने काठमाडौं–क्वालालम्पुर–काठमाडौं उडान रद्द गरेको जनाएको छ । कम्पनीले सञ्चालनसम्बन्धी कारण देखाउँदै उक्त अवधिका लागि निर्धारित उडानहरू स्थगित गरिएको जानकारी दिएको हो । एयरलाइन्सले शुक्रबार सूचना जारी गर्दै उडान प्रभावित भएको जानकारी दिएको हो । कम्पनीका अनुसार यसअघि टिकट काटिसकेका यात्रुहरूको सतप्रतिशत रकम फिर्ता हुने जनाएको छ ।   

यी हुन् गौतमश्री सहकारीको कर्जा नतिर्ने १३७ भीआईपी ऋणी (नामसहित)

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका १३७ जना ऋणीको नामावली सार्वजनिक गरेको छ । समितिले गत वैशाख २३ गते बसेको बैठकको निर्णयअनुसार ऋणीहरूको विवरण सार्वजनिक गरिएको जनाएको हो । यसअघि नेपाल सरकारले २०८० चैत १३ गते गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरेको थियो । समितिका अनुसार संस्थाबाट लिएको कर्जा हालसम्म नतिर्ने ऋणीहरूको उपलब्ध विवरणका आधारमा नामावली सार्वजनिक गरिएको हो । सार्वजनिक सूचीमा विभिन्न व्यवसायी, सहकारीसँग आबद्ध व्यक्ति तथा प्रभावशाली व्यक्तिहरू समेत समावेश रहेको जनाइएको छ । समितिले ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम परेका व्यक्तिलाई प्रमाणसहित समितिको कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ । साथै, हालसम्म कर्जा भुक्तानी नगरेका ऋणीहरूलाई तत्काल सम्पर्कमा आई ऋण चुक्ता गर्न निर्देशन दिइएको छ । समितिले तोकिएको समयभित्र ऋण भुक्तानी नगरे प्रचलित कानुनअनुसार असुली तथा अन्य कानुनी कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ ।

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका छन् । गत आर्थिक वर्षको वैशाखसम्ममा एक लाख ८३० जना विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेकामा चालु आवको वैशाखसम्म उक्त सङ्ख्या ८९ हजार ६३० मा झरेको हो ।  गत वर्ष सार्क मुलुकका १८ हजार ९३३ र तेस्रो मुलुकका ८१ हजार ८९७ जनाले निकुञ्जको भ्रमण गरेका जनाउँदै निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले यस वर्ष सार्क मुलुकका १३ हजार ९९२, तेस्रो मुलुकका ७५ हजार ६३८ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका उल्लेख गरे ।  बाह्य पर्यटक घटे पनि आन्तरिक पर्यटकमा भने गत वर्षको तुलनामा यस वर्ष बढेका छन् । गत आवको वैशाखसम्म निकुञ्ज भ्रमण गर्ने नेपाली पर्यटक एक लाख तीन हजार ६७२ रहेकामा चालु आवमा यो सङ्ख्या बढेर एक लाख ३७ हजार २४६ पुगेको निकुञ्जका सूचना अधिकारी थापामगरले जानकारी दिए । यस वर्ष नेपालमा भएको जेनजी प्रदर्शनपछि देखिएका राजनीतिक घटनाक्रम र मध्यपूर्वका देशमा भएको द्वन्द्वका कारण बाह्य पर्यटकको आगमनमा कमी आएको उनले बताए ।       नेपालीहरू पछिल्लो समय घुम्न थालेकाले आन्तरिक पर्यटकको आगमन बढेको सूचना अधिकारी थापामगरको भनाइ छ । उनले भने, 'सरकारले सातामा दुई दिन बिदा दिएकाले पनि आन्तरिक पर्यटक बढेका हुनसक्छन् ।' गत वर्ष फागुन, चैत, वैशाखमा आन्तरिक पर्यटक ३४ हजार २०२ आएकामा यस वर्ष सो समयमा ४७ हजार ६६१ पुगेका उहाँले जानकारी दिए ।      निकुञ्ज र आसपासका मध्यवर्ती सामुदायिक वनमा अवलोकन भ्रमण गर्न विशेषगरी पर्यटक आउने गर्दछन् । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा हात्ती सफारी, जिप सफारी, पैदल सफारी, डुङ्गा सयर गर्न पर्यटक आउने गर्दछन् । निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, भालु, हात्ती, चित्तल, घडियाल गोहीलगायत वन्यजन्तु, चराचुरुङ्गी, वनस्पति, सरिश्रीप हेर्न पर्यटक आउने उनले बताए ।      यस वर्ष निकुञ्ज भ्रमण गर्ने पर्यटकबाट रु २३ करोड पाँच लाख ५० हजार ६०० राजस्व संकलन भएको सूचना अधिकारी थापामगरले जानकारी दिए । उनका अनुसार काठदाउरा बिक्रीबापत ७१ हजार ३५० रुपैयाँ, गैरकाठ वन पैदावर बिक्रीबापत एक करोड ९५ लाख ३१ हजार ७५५ रुपैयाँ, दण्डसजायबाट १० लाख ७१ हजार ९०४ रुपैयाँ र अन्य शीर्षकबाट १५ लाख २२ हजार ४०५ रुपैयाँ रकम राजस्व संकलन भएको छ । रासस  

नेपाल इन्स्योरेन्सको सीईओमा महर्जन पुनः नियुक्त

काठमाडौं । नेपाल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा वीर कृष्ण महर्जन दोहोरिएका छन् । जेठ ८ गते शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले महर्जनलाई ४ वर्षका लागि सीईओमा दोहोर्याउने निर्णय गरेको हो । जेठ १८ गतेदेखि लागु हुने गरी उनलाई सीईओमा नियुक्त गरिएको कम्पनी सचिव सुलना श्रेष्ठले जानकारी दिइन् । ४ वर्ष अघि सीईओ बनेका मर्जनको कार्यकाल जेठ १७ गते सकिँदै छ । बैकिङ क्षेत्रमा विगत ३० वर्षदेखि सक्रिय महर्जन अनुभवी व्यक्तित्व हुन् ।   उनले बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर गरेका छन् । उनी कानुनको स्नातक हुन् । उनले मुम्बईको इन्सोरेन्स इन्स्टिच्युट अफ इन्डियाबाट फेलोसिप पूरा गरेका छन् । उनले जनवरी १९९७ मा भारत सरकारको पूर्ण स्वामित्वमा रहेको जनरल इन्स्योरेन्स कर्पोरेसन अफ इन्डियाको सहायक कम्पनी नेशनल इन्स्योरेन्स कम्पनीमा आफ्नो करियर शुरु गरेका हुन् । नेपाल इन्स्योरेन्समा आवद्ध हुनुअघि उनले प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा १४ वर्ष सीईओको रूपमा सेवा गरेका थिए । 

बुढानिलकण्ठबाट चोरीको स्कुटरसहित राई पक्राउ

काठमाडौं । बुढानिलकण्ठबाट चोरीको स्कुटरसहित एक जना पक्राउ परेका छन् । बुधबार २७ वर्षीय सुजन राईलाई बुढानिलकण्ठ १० को भङ्गालबाट प्रहरीले पक्राउ गरेको हो । बा.प्र ०२ ०४२ प ८८१६ नम्बरको स्कुटर २०८२ पुस ८ गते पञ्चकन्या चोकबाट आफ्नै घरबाट हराएको भनेर बुढानिलकण्ठ प्रहरी प्रभागमा निवेदन परेको थियो । खोजतलासको क्रममा बुढानिलकण्ठ ८ को थापागाउँबाट चोरीको स्कुटरसहित राईलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए । काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप गरेर प्रहरी वृत्त बौद्धबाट अनुसन्धान भइरहेको छ ।   

मनसुनको जोखिम घटाउन ट्राफिक प्रहरीको अभियान सुरु

काठमाडौं । सडक र सवारी लक्षित ‘मनसुनजन्य विपद् न्यूनीकरण अभियान २०८३’ शुक्रबारबाट औपचारिक रूपमा सुरु गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा नयाँ बसपार्कमा आयोजित कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यमा अभियानको शुभारम्भ गरिएको हो । अभियानअन्तर्गत नयाँ बसपार्कसहित कलंकी, नागढुङ्गा, फर्पिङ र भक्तपुर लगायतका स्थानमा ‘नागरिक सहायता कक्ष’ स्थापना गरी सेवा सुरु गरिएको छ । मनसुनको समयमा हुने सडक दुर्घटना, पहिरो, डुवान, चिप्लोपन तथा दृश्यता कम हुने समस्याका कारण मानव जीवन र यातायात व्यवस्थापनमा चुनौती बढ्दै आएको सन्दर्भमा यस्ता जोखिम न्यूनीकरण गर्दै सुरक्षित सडक संस्कृतिको विकास गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो । कार्यक्रममा यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला, राष्ट्रिय सडक सुरक्षा परिषद्का टेक्निकल एडभाइजर सरोज प्रधान, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव राम बहादुर केसी तथा अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक केसीले मन्तव्य व्यक्त गरेका थिए । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले स्वागत मन्तव्य राख्दै अभियानको औचित्यबारे प्रकाश पारेका थिए । सोही अवसरमा ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच ‘लज ट्यागिङ प्रणाली’ लागू गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर समेत गरिएको छ । कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक ओम प्रसाद अधिकारी लगायत नगर प्रहरी, विभिन्न यातायात मजदुर संघ, व्यवसायी, सामुदायिक सेवा केन्द्रका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।