काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं र ललितपुरका विभिन्न उद्योग तथा फर्ममा अनुगमन गरी आवश्यक निर्देशन तथा कारबाही गरेको छ ।
विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम अनुगमनका क्रममा ७ वटा उद्योग तथा व्यवसायिक फर्मलाई विभिन्न निर्देशन दिएको हो ।
काठमाडौं महानगरपालिका–१० चाँदनीनगरस्थित युवा इन्टरप्राइजेजलाई व्यवसाय दर्ता, इजाजतपत्र, प्यान, कर चुक्ता प्रमाण, ग्यास विक्रेताको इजाजत तथा २०८३ साउन १ गतेदेखि हालसम्मको विभिन्न कम्पनीका ग्यास खरिद–बिक्रीको बिलसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
त्यसैगरी, काठमाडौं महानगरपालिका–१० पुष्पनगर मार्गस्थित बाईजुराज सप्लायर्सलाई ग्यास सिलिण्डरको सहज आपूर्ति गर्न तथा बिलबिजक बिनाको कारोबार नगर्न निर्देशन दिइएको छ ।
यस्तै, काठमाडौं महानगरपालिका–१० सहभागिता मार्गस्थित पी. भी. ग्यास स्टोर लाई ग्यास वितरणसम्बन्धी मापदण्ड पालना गर्दै बिक्री–वितरण गर्न, अभिलेख व्यवस्थित राख्न तथा खरिद–बिक्रीका बिल व्यवस्थित गर्न निर्देशन दिइएको विभागले जनाएको छ ।
काठमाडौं महानगरपालिका–११ बबरमहलस्थि रातो भाले रेष्टुरेन्ट एण्ड होटेल लाई बिलबिजकको प्रयोग तथा सरसफाइ व्यवस्थापन चुस्त बनाउन निर्देशन दिइएको छ ।
यस्तै, काठमाडौं महानगरपालिका–३२ स्थित तीनकुनेस्थित मार्बल प्यालेस इन्डष्ट्रिज प्रालि, ललितपुर–१५ सातदोबाटोस्थित फ्रुट एण्ड जुस पसल र मन्न बेकरी एण्ड कन्फेक्सनरीलाई सामान्य निर्देशन दिइएको विभागले जनाएको छ ।