काठमाडौं । स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू र निषेधाज्ञा उल्लङ्घन गरी प्रदर्शन गरेको तथा सामाजिक सद्भावमा खलल पुर्याएको आरोपमा प्रहरीले तराई-मधेशका विभिन्न जिल्लाबाट ३६ जनालाई पक्राउ गरेको छ ।
मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार कर्फ्यू लगाइएका क्षेत्रमा नियम तोडेर प्रदर्शनमा उत्रिएका उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सबैभन्दा धेरै धनुषाका रहेका छन् ।
धनुषाबाट १९ जना, सर्लाहीबाट ९ जना, सिरहाबाट ५ जना, महोत्तरीबाट २ जना र पर्साबाट १ जना गरी कुल ३६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सामाजिक तनाव नियन्त्रण गर्नका लागि शुक्रबार (आज) पनि सुनसरीसहित सिरहा, सप्तरी र धनुषामा कर्फ्यू जारी राखिएको छ भने पर्सामा निषेधाज्ञा कायमै छ ।
प्रशासनका अनुसार बिहीबारको तुलनामा आज प्रदर्शनका घटनाहरूमा कमी आएको छ । यद्यपि, सिरहामा भने केहीबेर प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।
यसैबीच, सुनसरीमा भएको घटनामा ज्यान गुमाएका दुवै मृतकका परिवारले गृहमन्त्रीसँग सहमति भएपछि शव बुझेका छन् ।
घटनापछि उत्पन्न तनाव कम गर्न र सामाजिक सद्भाव कायम राख्न तराईका विभिन्न जिल्लाहरूमा सद्भाव र्याली पनि निकालिएको छ ।
सुरक्षा निकायले स्थिति नियन्त्रणमै रहेको र थप अप्रिय घटना हुन नदिन उच्च सतर्कता अपनाइएको जनाएको छ ।