सेयर बजारमा खुसीयाली, नयाँ अर्थमन्त्रीको पर्खाइमा लगानीकर्ता
काठमाडौं । सत्ता गठबन्धन फेरिएसँगै सेयर बजारमा खुसीयाली छाएको छ । नयाँ गठबन्धनसँगै अर्थमन्त्री पनि परिवर्तन हुने भएपछि लगानीकर्तामा खुसीयाली छाएको हो । यसको संकेत लगानीकर्ताले हालका अर्थमन्त्री डा.प्रकाशशरण महतलाई नरुचाएको र नयाँ अर्थमन्त्री खोजेको बुझ्न सकिन्छ । सोमबार ४ प्रतिशत बढेर २० मिनेका लागि स्थगित भएको सेयर बजार पुनः ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि कारोबार स्थगित भएको हो । सेयर बजार सुरुमा ४ प्रतिशत बढेर १४ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । त्यसपछि ५ प्रतिशतले बढेर ४० मिनेटका लागि कारोबारमा रोकिएको छ । यो अवधिमा नेप्से परिसुचक ९८.६९ अंकले बढेर २०५९ बिन्दुमा कायम भएको छ भने कुल २६ करोड ३७ लाख रुपैयाँबराबरको कारोबार भएको छ । नेप्से परिसुचक ६ प्रतिशतले बढेमा दिनभरीको कारोबारमा बन्द नै हुन्छ ।
अर्थमन्त्री फेरिने हल्लाले लगानीकर्ता खुसी, सेयर बजारमा लाग्यो सर्किट
काठमाडौं । सत्ता गठबन्धन फेरिएपछि सेयर बजारमा सकारात्मक सर्किट लागेको छ । गठबन्धनसँगै अर्थमन्त्री पनि परिवर्तन हुने भएपछि बजारमा सकारात्मक सर्किट लागेको हो । सोमबार कारोबार सुरु भएको ३ मिनेटमै बजार ४ प्रतिशत बढेको हो । कारोबार सुरु भएको पहिलो १ घण्टाभित्र ४ प्रतिशतले बजार घटबढ भएमा सर्किट ब्रेक लाग्छ । सर्किट ब्रेकपछि २० मिनेटका लागि कारोबार स्थगित भएको छ । यो समाचार तयार पार्दासम्म सेयर बजार ७९.२९ अंकले बढेको छ भने १४ करोड ८० लाख रुपैयाँबराबरको कारोबार भएको छ । कारोबार स्थगित भएको समयदेखि २० मिनेटपछि बजार फेरि खुल्नेछ ।
प्रधानमन्त्री निवासमा नयाँ मन्त्रिपरिषद् गठनबारे छलफल जारी
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ मन्त्रिपरिषद् गठनको विषयमा छलफल भइरहेको छ । नयाँ मन्त्रिपरिषद् गठनको विषयमा अहिले सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र), नेकपा(एमाले) रास्वपा, नागरिक उन्मुक्ति पार्टीका शिर्ष नेतृत्व सहभागी भएका छन् । पुरानो राजनीतिक समिकरणबाट बनेका मन्त्रिहरु हटाएर प्रधानमन्त्रीले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको जनाइएको छ । नेकपा एमालेले दलको दलको तर्फबाट पदम गिरीलाई सरकारमा पठाउने निर्णय गरिसकेको छ भने रास्वपाको सरकारमा सहभागी हुनेबारेमा निर्णय हुने अधिकार सभापति रवि लामिछानेले पाएका छन् । बालुवाटार बैठकमा सहभागी नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले आफ्नो पार्टी नयाँ गठबन्धनप्रति सकारात्मक रहेको र आफ्ना मागहरु सम्बोधन गराएर सहभागी हुने प्रतिक्रिया दिएका छन् ।
गुणस्तरहीन भारतीय दुध भित्रिदा नेपाली किसान समस्यामा
राँझा । बाँकेमा भारतीय दुधको बिक्री वितरणले नेपाली किसान मर्कामा पर्दै गएका छन् । नेपालगञ्जलगायत आसपासका ग्रामीण बजारमा खुलेयाम भारतीय दुध बिक्री वितरणले नेपाली किसान मर्कामा परेको दुग्ध व्यवसायी सङ्घ बाँकेका अध्यक्ष दीपकराज भण्डारीले बताए । उनका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका, खजुरा, जानकी, नरैनापुर र डुडुवा गाउँपालिकामा भारतीय दुध बिक्री वितरण हुने गरेको छ । ‘भारतीय दुध बिना रोकतोक आएपछि नेपाली दुधको बजारमा असर परेको छ । अवैध बाटोबाट भित्रिने गुणस्तरहीन भारतीय दुधका कारण नेपाली किसान मारमा परेका छन्’, अध्यक्ष भण्डारीले भने, ‘हरेक दिन ठूलो परिमाणमा भारतीय दुध आएर नेपाली किसानको व्यवसायलाई धाराशायी बनाएको छ ।’ पछिल्लो दिनमा भारतबाट भित्रिने दुधको ‘रेकर्ड’ नै छैन । पशु क्वारेन्टाइन र नेपालगञ्ज भन्सार कार्यालयले तथ्याङ्क नराखेको उनको गुनासो छ । भारतीय दुधलाई भन्सार लगाउन सकेमा मात्र नेपाली किसानले प्रतिस्पर्धा गर्नसक्ने उनको भनाइ छ । भारतबाट भित्रिएको दुध सस्तो दरमा बिक्री वितरण हुन थालेपछि स्थानीय किसानको दुधले बजार पाउन नसकेको डुडुवा गाउँपालिका–५ कम्दीका अगुवा सूर्यलाल यादवले बताए । ‘कम्दीका किसानको मुख्य आयस्रोत दुध बिक्री हो । यहाँका प्रत्येक घरबाट दुध बेच्ने गरिएको छ’, उनले भने, ‘कम्दी गाउँमा मात्रै करिब दुई हजार भैँसीपालन गरिएको छ । तर पछिल्लो समय दुध बिक्री वितरण नहुँदा समस्या भएको बढ्दै गएको छ ।’ बाँके जिल्ला दुध उत्पादनमा आत्मनिर्भर भएको हुँदा भारतबाट अवैधरुपमा आउने कच्चा दुध तथा दुग्धजन्य पदार्थले राजस्व चुहावट हुनुका साथै यहाँका किसानले उत्पादन गरेको दुध बिक्री नहुने अवस्था आएकाले नेपाल भित्रिने दुध तथा दुग्धजन्य पदार्थ तत्काल रोक्नुपर्ने माग गर्दै दुग्ध व्यवसायी सङ्घ बाँकेले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई ध्यानाकर्षण गराइएको अध्यक्ष भण्डारीले बताए । बजारमा खुलारुपमा कुनै पनि निकायमा दर्ता तथा परीक्षणसमेत नगरी भित्रिएका दुध तथा दुग्धजन्य पदार्थको गुणस्तर परीक्षण र बजार अनुगमनको लागि पनि अनुरोध गरिएको उनले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी पोखरेलले दुग्ध व्यवसायी र दुध उत्पादक किसानको समस्या समाधानको लागि आवश्यक पहल गरिने बताए । रासस
प्रभु इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले चुक्ता पूँजी एक अर्ब ३७ करोड ६१ लाख २२ हजार २६० रुपैयाँको ४.७५ प्रतिशत बोनस र सोमा लाग्ने कर बापत ०.२५ प्रतिशत नगद गरी जम्मा ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने छ ।
चन्द्रागिरिमा १० प्रकारका जडीबुटीलाई औषधिका रुपमा प्रवर्द्धन गर्न सकिने
काठमाडौं । चन्द्रागिरि नगरपालिकाले प्राथमिकतामा परेका विभिन्न दश आयुर्वेदिक जडीबुटीको उद्यान एवं प्रशोशन केन्द्र निर्माण गर्ने भएको छ । हाल नगरपालिकाले चन्द्रागिरि–८ मातातीर्थमा सञ्चालित मातातीर्थ आयुर्वेद औषाधालयलाई १५ श्ययामा स्तरोन्नति गरिसकेको छ । नगरपालिकाले आफ्ना सामुदायिक वनभित्र रहेका आयुर्वेदिक प्रजाति सुगन्धवाला, चिराइतो, गुर्जो, तितेपाती, टिमुर, पाखानवेद, धासिङ्गरे, लौठसल्ला, पिपला र कौलोको संरक्षण, उपयोग एवं प्रवद्र्धन गर्न लागेको हो । यसका लागि नगरपालिकाले पहिलोपटक जडीबुटीको स्रोत सर्वेक्षण सम्पन्नसमेत गराएको छ । काठमाडौं उपत्यकाभित्रका नगरपालिकामध्ये चन्द्रागिरिले सम्भवतः पहिलोपटक सङ्घीय सरकारको ‘जडीबुटी सर्वेक्षण मार्गदर्शन २०१२’ अनुसार विज्ञ टोली मार्फत ‘चन्द्रागिरि नगर क्षेत्रभित्र रहेका औषधीय तथा सुगन्धित जडीबुटीको वैज्ञानिक अध्ययन तथा लगत सङ्कलन सर्वेक्षण’ गराएको थियो । चन्द्रागिरिका १५ सामुदायिक वन मध्ये जडीबुटी क्षेत्र पहिचान गरेका विभिन्न आठ वन सो सर्वेक्षणमा समेटिएका थिए । ती वन समूहमा मसिने, चन्द्रागिरि, मच्छेनारायण, चुनदेवी, गुमालचोक सचेत महिला, काफलडाँडा, रातमाटेडाँडा, जमुनाडाँडा वनक्षेत्रमा अध्ययन टोलीले वैज्ञानिक अध्ययन गरेको थियो । अध्ययनका क्रममा जडीबुटीहरुको भौगोलिक अवस्थितिलाई ‘प्लटिङ’ समेत गरिएको थियो । ती वन क्षेत्रका सात सय १३ हेक्टरमध्ये एक सयदेखि एक सय ५० हेक्टरमा जडीबुटी पाइएको थियो । सम्भावना बोकेका एकसय जडीबुटी, खेतीयोग्य ६० प्रकारका जडीबुटी र प्रमुख दश जडीबुटी तुरुन्तै प्रशोधन गरेर बजारमा लान सकिने अध्ययनका क्रममा देखिएको थियो । पाँच प्रकारका जडीबुटी ९चिराइतो, सुगन्धवाला, टिमुर, पिपला र धासिङ्गरे० लाई खेती गर्न सकिने अनुसन्धान सर्वेक्षणले पुष्टि गरेको छ । ती जडीबुटी एउटै विधिद्वारा प्रशोधन गर्न सकिने जनाइएको छ । ती जडीबुटीबाट वार्षिक ५३ हजार केजी सङ्कलन सकिने अध्ययनले औँल्याएको छ । सर्वेक्षणले वार्षिकरुपमा कम्तीमा रु ३५ लाख बराबरको जडीबुटी सङ्कलन गर्न सकिने, यदि ती जडीबुटी सङ्कलन नगर पनि बिरुवा मरेर नजाने, कुहिएर जाने तथा कुनै क्षति नपुर्याउने जनाइएको छ । यसैबीच अध्ययन तथा लगत सङ्कलन सर्वेक्षण अध्ययन टोलीले चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई आइतबार अध्ययन प्रतिवेदन हस्तान्तरण गर्यो । सो अवसरमा उनले औषधीय तथा सुगन्धित जडीबुटीको संरक्षण , सम्वद्र्धन तथा उपयोग गर्ने नीति नगरपालिकाले लिएको जानकारी दिँदै चन्द्रागिरिमा आयुर्वेद रिसर्च सेन्टर स्थापना गर्ने र मातातीर्थ आयुर्वेदिक औषधालयलाई आवश्यक पर्ने स्रोतलाई सुदृढ बनाउने बताए । प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले सामुदायिक वनको दीगो व्यवस्थापन एवं सदुपयोग गर्दै यसलाई आयआर्जनसँग जोड्न र जैविक विविधता संरक्षण गर्न नगरपालिकाले सहयोग गर्ने बताए । मातातीर्थ आयुर्वेदिक औषधालयका प्रमुख डा नारायण अचार्यले पहिलोपटक गरिएको बहुआयामिक अध्ययनले चन्द्रागिरिमा प्रचुर मात्रामा औषधीय तथा सुगन्धित जडीबुटीको सम्भाव्यताको उजागर गरेको जानकारी दिए । उनले भने, ‘औषधालयको आफ्नै जडीबुटी उद्यान बनाउने, प्रशोधन केन्द्र स्थापना गर्ने तथा औषधिसमेत उत्पादन गर्ने नीतिलाई सहयोग गर्ने छ ।’ अध्ययन टोलीमा डा नवीन जोशी, स्नेहा बर्मा तथा शालिकराम कँडेल थिए । टोलीले सामुदायिक वनभित्रका जडीबुटीका स्रोत स्थानीयवासी, वनमा आश्रित समुदायका लागि नगद आम्दानीको महत्वपूर्ण स्रोत र जीविकोपार्जनको माध्यम बन्न सक्ने सुझाव दिएको छ । साथै स्थानीयस्तरमा जडीबुटीको खेती, दिगो विकास, प्रशोधन गरेर वन तथा जैविक विविधताको संरक्षण गर्दै स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने अवसर हुने पनि टोलीले निष्कर्ष निकालेको छ । चन्द्रागिरिमा जडीबुटीका प्रजातिको व्यवस्थापन, खेती, दिगो व्यवस्थापनको सम्भावना औँल्याएको छ । यसैगरी सामुदायिक वन, निजी वन तथा निजीस्तरमा जडीबुटी खेती गर्र्ने प्रयोजनका लागि अध्ययनले थप प्रोत्साहन गरेको जनाइएको छ । रासस
काठमाडौंको पानीपोखरीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा विस्तार
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले काठमाडौंको पानीपोखरीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं. ०३ मा सोमबारदेखि पानीपोखरी शाखा संचालनमा ल्याएको हो । यो शाखा गरि बैंकको शाखा संख्या २७० पुगेको छ । नयाँ शाखाबाट सोमबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले नयाँ शाखाहरुको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा सिइओ पाण्डेले नयाँ शाखाहरुबाट ग्राहकहरुलाई उत्कृष्ट बैंकिब सेवा तथा सुविधाहरु दिने बताए । हाल बैंकको २७० शाखा कार्यलय, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखा रहित बैंकिब र २६८ वटा एटीएम रहेको छ ।
कार्यान्वयनको प्रतिक्षामा ४० लाख मानिस लाभान्वित हुने नौमुरे बहुउद्देश्यीय आयोजना
काठमाडौं । भेरी बबई डाइभर्सन र सुनकोशी मरिण डाइभर्सन आयोजनाले सिर्जना गरेको विश्वासका आधारमा सरकारले थप अर्को डाइभर्सन आयोजना अगाडि बढाउने भएको छ । विशेष गरी दाङ, बाँके र कपिलवस्तुमा सिँचाइ सुविधा विस्तार गर्ने एवं बिजुलीसमेत उत्पादन गर्ने लक्ष्यका साथ सरकारले नौमुरे बहुउद्देश्यीय आयोजना निर्माण गर्न लागेको हो । लामो समयदेखि चर्चामा रहेको सो आयोजनाको सम्पूर्ण अध्ययन कार्य पूरा भएको छ । सो आयोजनाको विकासपछि दाङ, कपिलवस्तु र बाँकेको कूल ८० हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुनेछ । कृषिको आधुनिकीकरण गर्ने र आत्मनिर्भरताका लागि बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराउने सरकारको दीर्घकालीन लक्ष्यलाई समेत मद्दत गर्नेछ । विद्युत् उत्पादनका अलावा, वातावरणको संरक्षण, बाढी नियन्त्रण, पर्या पर्यटनको विकास, सिँचाइ, मत्स्यपालनलगायतका सुविधा विस्तारका लागि सो आयोजना महत्वपूर्ण हुने विश्वास लिइएको छ । अध्ययनअनुसार आयोजना निर्माणका लागि छ वर्ष लाग्नेछ । रोल्पाबाट प्यूठान भएर बगेर आउने माडी र झिम्रुक नदी मिसिएपछि बन्ने राप्ती नदीको पानी उपयोग गरेर नौमुरे आयोजना अगाडि बढाउने तयारी छ । यो आयोजनाको विशिष्ट र महत्वपूर्ण पक्ष भनेको तीन जलाशय पनि हो । विसं २०७४ देखि सम्भाव्यता अध्ययन सुरु भए पनि लामो समय लगाएर २०७८ मा सम्पन्न भएको हो । आर्थिक वर्ष २०७७\०७८ को अनुमान अनुसार आयोजनाको कूल लागत एक खर्ब २६ अर्ब रुपैयाँ बराबर रहनेछ । सो आयोजनाअन्तर्गत दुई सय १८ दशमलव तीन मेगावाट क्षमताको नौमुरे जलविद्युत् आयोजना निर्माण गर्ने गरी प्रस्ताव गरिएको छ । यस्तै, लामाताल जलविद्युत् आयोजना आठ मेगावाट क्षमताको हुनेछ । सुराइनाका जलविद्युत् आयोजनाको क्षमता ५४ दशमलव सात मेगावाट बराबर छ । नौमुरे बहुउद्देश्यीय आयोजनाका प्रमुख वीरबहादुर बोहोराका अनुसार कपिलवस्तु जिल्लामा मात्रै २९ हजार सात सय ३६ हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुनेछ । देशमा उपलब्ध जलस्रोतको सदुपयोग गरी हरित ऊर्जा र प्रभावकारी सिँचाइ प्रणालीबाट समृद्ध नेपालको आधारशिला तयार गर्ने नौमुरे बहुउद्देश्यीय आयोजनाको खास मक्सद रहेको उनको भनाइ छ । पछिल्ला दिनमा सरकारले बहुउद्देश्यीय प्रकृतिका आयोजना अगाडि बढाइरहेको छ । भेरी बबई र सुनकोशी मरिण बहुउद्देश्यीय आयोजना त्यसको खास उदाहरण हुन् । नौमुरे बहुउद्देश्यीय आयोजना बहुजलाशयसहितको जलविद्युत् तथा सिँचाइ आयोजना हो । नौमुरे मुख्य बाँधस्थल माडी र झिमरुक खोलाको सङ्गमबाट करिब तीन किलोमिटर तल प्यूठान र अर्घाखाँची जिल्लाको भूभागमा रहने गरी प्रस्ताव गरिएको छ । लामाताल रिरेगुलेटिङ बाँधस्थल प्युठान र अर्घाखाँची जिल्लाको भूभागमा र नौमुरे मुख्य बाँधको करिब छ किलोमिटर तलतिर अवस्थित छ । कूल एक सय ५४ क्युविक मिटर\सेकेन्ड डिस्चार्ज सहितको नौमुरे जलविद्युत् योजना माथिल्लो भागमा छ । यसको तल्लो तहमा लामाताल जलविद्युत् योजना छ । लामाताल जलविद्युत् योजनाको ब्यारेजले बाँके र देउखुरीका विद्यमान सिँचाइ आयोजनाका लागि राप्ती नदीमा छोड्ने पानीको प्रवाहलाई पुनः नियमन गर्छ । सुरैनाका जलविद्युत् योजना र प्रस्तावित कपिलवस्तु सिँचाइ आयोजनाको २९ हजार सात सय ३६ हेक्टर सिँचाइका लागि ४१ दशमलव छ क्युविक मिटर प्रतिसेकेन्डको डिस्चार्ज पथान्तरण गरिनेछ । सुरैनाका बाँधस्थल कपिलवस्तु जिल्लाको सुरैनाका गाउँमा, सुरै नाला (खोला) को दाहिने किनारमा पूर्व–पश्चिम राजमार्गको पश्चिमतर्फ प्रस्ताव गरिएको छ । यसबाहेक, लामाताल ब्यारेजको करिब २२ किलोमिटर तल प्रगन्ना र बड्कापथ सिँचाइ आयोजनाको इन्टेक छन् भने सिक्टा सिँचाइ आयोजनाको बाँधस्थल करिब एक सय २६ किलोमिटर तल पर्दछ । नौमुरे बहुउद्देश्यीय आयोजनाअन्तर्गत प्रस्तावित कपिलवस्तु सिँचाइ प्रणालीबाट २९ हजार सात सय ३६ हेक्टरसहित देखुरी उपत्यका १० हजार आठ सय हेक्टर र बाँकेको ४२ हजार सात सय ६६ हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुनेछ । सो आयोजनाले मत्स्यपालन, बाढी नियन्त्रण, पर्यटन र मनोरञ्जन विकासमा समेत योगदान पु¥याउने सम्भावना देखिएको छ । सरकारले चालु आवमा सो आयोजनाका लागि छ करोड ४३ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो । झण्डै तीन दशकदेखि चर्चाको केन्द्रमा रहेको सो आयोजना आफँैमा महत्वपूर्ण र विशिष्ट प्रकारको रहेको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतका जनसम्पर्क सल्लाहकार तिलकराज भण्डारीको कथन छ । आधुनिक एवं आत्मनिर्भर कृषिका लागि वर्षभरि नै सिँचाइ सुविधा उपलब्ध गराउने र बिजुली पनि उत्पादन गर्ने लक्ष्यका साथ सरकारले सो आयोजनालाई विशेष प्राथमिकतामा राखेको जानकारी दिँदै जनसम्पर्क सल्लाहकार भण्डारीले स्थानीयवासीको मागअनुसार आगामी आवको नीति तथा कार्यक्रम र बजेटमा समेत विशेष सम्बोधन गर्ने तयारी भइरहेको बताए । अर्घाखाँची, दाङ, कपिलवस्तु र बाँकेका लागि सो आयोजनाको विशिष्ट महत्व रहेको उल्लेख गर्दै उहाँले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पहिलो कार्यकालमा विशेष महत्व र प्रचार पाए पनि अगाडि बढ्न नसकेको भए पनि यस पटक भने आयोजनाले नयाँ गति लिने विश्वास व्यक्त गरे । राप्ती नदीको बढीले तराईमा हुने डुबान नियन्त्रण गर्न, सिँचाइ सुविधा विस्तार र विद्युत् उत्पादनका दृष्टिले आयोजना रणनीतिक महत्वको छ । प्रधानमन्त्रीका रुपमा प्रचण्ड २०६५ सालमा भारत भ्रमण जाँदा नै सो आयोजनाका विषयमा चर्चा भएको थियो । यद्यपि, प्रक्रिया भने अगाडि बढ्न सकेको थिएन । विसं २०४५ मा सो आयोजनाको प्रारम्भिक अध्ययन भएको थियो । लामो अलमलपछि सरकारले २०७४ सालदेखि आन्तरिक स्रोतबाटै आयोजनाको अध्ययन गरेको हो । आर्थिक वर्ष २०७३\७४ को बजेट वक्तव्यमा नै नौमुरे आयोजनाको विषय समावेश गरिएको थियो । आयोजनाको वातावरणीय अध्ययन र विस्तृत अध्ययन पूरा भएको छ । जग्गा अधिग्रहणका लागि लगत लिने काम पनि पूरा भएको छ । आयोजनास्थलमा पुग्नका लागि पहुँचमार्गको सामान्य स्तरोन्नति गरिएको छ । सो आयोजनाबाट उत्पादन हुने बिजुली ५५ किलोमिटर लामो दुई सय २० केभी क्षमताको प्रसारण लाइन निर्माण गरेर नेपाल विद्युत् प्राधिकरणको नयाँ लमही सवस्टेसनबाट राष्ट्रिय प्रणालीमा जोडिनेछ । आयोजनाबाट लुम्बिनी प्रदेशका झण्डै ४० लाख मानिस प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् । आयोजना प्रमुख बोहोराका अनुसार सितखोला पुलको विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ । बजेट स्रोत सुनिश्चित भएमा आगामी आवमा निर्माण कार्य थालनी गर्न सकिन्छ । यस्तै दर्भानदेखि झिलिवाङ हुँदै बाँधस्थल र लामातालदेखि अर्को बाँधस्थलसम्मको बाटोको विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ । बजेट उपलब्ध भएअनुसारको निर्माण कार्य अगाडि बढेको छ । दर्भानदेखि झिलिवाङसम्मको बाटोको प्रस्तावित तीन वटा पुलको वस्तृत परियोजना प्रतिवेदन तयार पार्ने काम जारी छ । बजेट उपलब्ध भएको खण्डमा आगामी आवदेखि निर्माण सुरु गर्न सकिनेछ । आयोजनाले लामाताल जलविद्युत् आयोजनाका लागि रिसेटलमेन्ट एक्सन प्लान तयार भएको छ । नौमुरे जलविद्युत् आयोजना क्षेत्रको जग्गा प्राप्ति र रिसेटलमेन्ट एक्सन प्लान तयार गर्ने कार्य हाल पनि जारी छ । लामाताल जलविद्युत् आयोजना रहने क्षेत्रका लागि सरकारबाट करिब एक हजार तीन सय रोपनी जग्गा प्राप्ति गर्ने निर्णय भएको छ । प्रारम्भिक कामका लागि आवश्यक गृहकार्य भइरहेको आयोजना प्रमुख बोहोराको भनाइ छ । हाल सञ्चालित कार्यक्रमका लागि पर्याप्त बजेट उपलब्ध हुन सकेको छैन । जग्गा प्राप्तिका हकको पनि उस्तै समस्या छ । आयोजना कुन मोडालिटीमा निर्माण गर्ने हो भन्नेबारेमा सरकारले तत्काल यकिन गर्नुपर्ने देखिन्छ । आयोजनाको समग्र निर्माणका लागि पनि स्रोतको जोहो गर्नुपर्ने उत्तिकै आवश्यकता छ । अध्ययन प्रतिवेदनअनुसार नौमुरे आयोजना निकै सस्तो र बहुउपयोगी आयोजना हो । आयोजनास्थलको दुवैतर्फ कडा चट्टान र साँघुरो गल्छी भएकाले पनि बाँध निर्माण असाध्यै सजिलो हुने देखिन्छ । आयोजनाको माथिल्लो क्षेत्र रोल्पामा माडी जलाशययुक्त आयोजनाको अध्यनय भइरहेको छ । सो आयोजना निर्माणपछि नौमुरे थप आकर्षक बन्ने बताइन्छ । नौमुरे र माडी दुवै आयोजना सम्भव र सम्भाव्य रहेको अध्ययनमा संलग्न प्राविधिकको टिप्पणी छ । हरेक वर्ष सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा स्थान पाउँदै आएको सो आयोजनालाई वर्तमान सरकारले विशेष प्राथमिकतामा राखेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री बस्नेतले सो आयोजनालाई विशेष प्राथमिकतामा राखिएको बताउँछन् । स्थानीयवासीको माग र चाहनालाई सम्बोधन गर्ने गरी आयोजनाको छिट्टै मोडालिटी तय गर्ने र स्रोतको सुनिश्चित गराउनका लागि मन्त्रालयमा आवश्यक छलफल भइरहेको उनको भनाइ छ । आयोजना निर्माणमा जाला र आयोजना प्रभावितको जीवनस्तरमा सुधार होला भनेर अपेक्षा गरेर बसेका स्थानीयवासीलाई सरकारले शीघ्र आशाको सञ्चार गराउनुपर्नेछ । विश्वास भर्नुपर्नेछ । सरकारले वर्षभरि नै सिँचाइ सुविधा उपलब्ध गराई कृषि क्षेत्रको आधुनिकीकरण गर्ने लक्ष्य राखेको छ । सो लक्ष्य पूरा गर्न पनि नौमुरे बहुउद्देश्यीय आयोजनालाई अगाडि बढाउनैपर्छ । रासस