विकासन्युज

हेराल्ड कलेजद्वारा विद्यार्थीलाई १ करोड बराबरको छात्रवृत्ति प्रदान

काठमाडौं । हेराल्ड कलेजले ८९ विद्यार्थीलाई १.५ करोड रुपैयाँ बराबरीको छात्रवृत्ति प्रदान गरेको छ । कलेजका अनुसार एएए छात्रवृत्ति समारोह २०२४ को आयोजना गर्दै यस शैक्षिक सत्रमा प्राज्ञिक, अनुशासन र सहभागिताका क्षेत्रमा उत्कृष्टता हासिल गर्न सफल विद्यार्थीहरूलाई पुरस्कृत गरिएको छ । उपस्थिति र हाजिरी, प्राज्ञिकता र आचरण लाई एकै सुत्रमा बाँध्ने यस एएए छात्रवृत्तिको उद्देश्य शैक्षिक शुल्कमा सत प्रतिशत छात्रवृत्ति मार्फत हाम्रा विद्यार्थीहरुलाई शैक्षिक सत्रभर उत्कृष्ट अध्ययन गर्न प्रोत्साहित गर्नु रहेको कलेजले जनाएको छ । छात्रवृत्तिको यस संस्करणमा आवेदकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो । कलेजका अनुसार करिब १.५ करोड पुरस्कार राशिको यस छात्रवृत्तिका प्राज्ञिक तथा अन्य सम्बन्धित सदस्यहरूले योग्यताका आधारमा ८९ उत्कृष्ट विद्यार्थी छनोट गरेका थिए । यिनै विद्यार्थीको सम्मानमा आयोजित उक्त समारोहमा उनीहरूलाई आफ्ना हर्षित परिवारजन तथा सम्पूर्ण कलेज परिवारका माझ इनोभेट हेराल्ड कलेजका सीईओ प्रकाश श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए । यो छात्रवृत्ति कार्यक्रम छोटो समयमै विद्यार्थीहरूका लागि आफ्नो उत्कृष्टता प्रदर्शन गर्ने एउटा अद्भुत अवसर बन्न सफल भएको छ । यसको परिकल्पना विद्यार्थीहरूलाई सक्रिय रुपले विभिन्न गतिविधिहरुमा संलग्न गराउदै शैक्षिक अग्रता हासिल गर्न प्रोत्साहन दिन गरिएको कलेजले जनाएको छ ।  

पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का युवा बेपत्ता

लिस्बन । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ । अर्का नेपाली युवा बेपत्ता भएका छन् । शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको डुबेर मृत्यु भएको हो । सोही स्थानका ३८ वर्षीय टेकबहादुर तामाङ बेपत्ता भएका छन् । दुवैजना शनिबार राति बेपत्ता भएको तामाङ समाज पोर्चुगलका अध्यक्ष गोपाल योञ्जनले जानकारी दिए । बेपत्तामध्ये धनबहादुरको शव आइतबार उद्धार टोलीले समुद्रमा भेट्टाएको थियो । टेकबहादुर हालसम्म बेपत्ता छन् । धनबहादुर र टेकबहादुरसहित अन्य दुई नेपाली पनि सामुद्रिक जीव खोज्न गएका थिए । बेपत्ता टेकबहादुरको झोला र बाल्टी मात्रै भेटिएको योञ्जनले बताए । धनबहादुरको शव परीक्षणका लागि मोन्तिजोस्थित बरेइरो अस्पतालको शवगृहमा राखिएको छ । दुवै जना समुद्रमा बेपत्ता भएपछि उद्धारका लागि तत्काल प्रहरीलाई खबर गरिएको मोन्तिजो नेपाली समाज पोर्चुगलका सचिव प्रबल भट्टराईले जानकारी दिए । उद्धार टोलीले शनिबारदेखि नै विभिन्न माध्यममार्फत बेपत्ताको खोजी गरिरहेको छ । धनबहादुर वैदेशिक रोजागारीको सिलसिलामा फ्रान्स हुँदै गत वर्ष पोर्चुगल आएका थिए । यस्तै चार महिनाअघि क्रोसिया आएका टेकबहादुर १८ दिन अघि मात्रै पोर्चुगल आएका थिए । दुवैजना नाताले काकाभतिज पर्छन् । दुवैजना मोन्तिजो बस्दै आएका थिए । रासस

आईएमई लाईफको चिफ मार्केटिङ अफिसरमा चौलागाई

काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् । कम्पनीका सञ्चालक समितिको १८८ औँ बैठकले उनलाई नियुक्ति गर्ने निर्णय गरेको हो । चौलागाईसँग बीमा क्षेत्रमा करिब १८ वर्ष लामो कार्य अनुभव छ । उनी  यसअघि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख व्यापार अधिकृतको रूपमा आबद्ध थिए । चौलागाईले भारतको सिक्किम मनिपाल विश्वविद्यालयबाट एमबिए र नेपाल कमर्श क्याम्पसबाट एमबिएस तहको शैक्षिक उपाधि हासिल गरेका छन् ।

इजरायलद्वारा दक्षिणी गाजाबाट सेना फिर्ता

काठमाडौं । इजरायलले आईतबार दक्षिणी गाजाबाट एउटा ब्रिगेड बाहेक सबै जमिन सेना फिर्ता गरेको छ । गाजाको दक्षिणबाट उत्तरतर्फ नागरिकहरूलाई फर्किन रोकेको छ । इजरायल रक्षा बलले गाजा वरपर नयाँ सुरक्षा क्षेत्रहरू स्थापना गरेपछि आफूलाई पुनर्गठित गरेको छ । इजरायली सेनाले अब गुप्तचरमा आधारित छापा मार्ने र आवश्यक परेमा गाजामा फर्कने तयारीमा रहेको बताइएको छ । सेनाको प्रस्थान राजनीतिक दबाबसँग सम्बन्धित नरहेको बताइएको छ ।

एमाले स्याङ्जाको अध्यक्षमा पुनः गैह्रे

स्याङ्जा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे निर्वाचित भएका छन् । उनी यसअघि पनि एमाले स्याङ्जाको अध्यक्ष हुन् । उपाध्यक्षमा महेश पुरी, सचिवमा रामचन्द्र भट्टराई, उपसचिवमा अमृत श्रेष्ठ र चीनमाया गुरुङ निर्विरोध चयन भएको नवौँ अधिवेशन निर्वाचन कमिटीका संयोजक टङ्कप्रसाद न्यौपानेले जानकारी दिए । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई आज शपथ खुवाइने छ । नवौँ अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र एक सय सदस्य गरी एक सय पाँचजनाको जिल्ला कमिटी चयन गरेको हो । एमाले स्याङ्जामा नौ हजार पाँच सय ४३ पार्टी सदस्य रहेका छन् । नवौँ अधिवेशनमा स्याङ्जाका ११ स्थानीय तहका ९७ वडा कमिटी, पार्टीका जनसङ्गठन सबैको प्रतिनिधित्व हुने गरी कूल ६ सय नौ प्रतिनिधि सहभागी रहेका संयोजक न्यौपानेले बताए ।

नेपाल इन्जिनियरिङ कलेज हत्याउन खोज्ने न्यौपानेको साढे १२ करोड अवैध

काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्था हत्याउन उद्यत लम्बोदरकुमार न्यौपानेले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको ठहर भएको छ । गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने दोषी ठहर भएका हुन् । आइतबार विशेष अदालतका न्यायाधीशद्वय टेक नारायण कुँवर र रामबहादुर थापाको इजलासले गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै उनलाई सजाय निर्धारणको लागि पेस गर्ने आदेश दिएको छ । सजाय निर्धारणका लागि विशेष वैशाख १६ गते पेसी तोकिएको छ । २०७८ सालमा न्यौपानेसहित तत्कालिन कलेजका संस्थापकहरूविरुद्ध सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । त्यसमध्ये प्रतिवादी बनाइएका रामरत्न उपाध्यायसहित अन्य ८ जनालाई भने सफाइ दिइएको छ । न्यौपानेमाथि १२ करोड ४४ लाख रुपैयाँ गैरकानूनी रूपमा आर्जन गरेको आरोप थियो । उनले कलेजको अबौं सम्पत्ति हत्याउन ठूलो षड्यन्त्र गरेका थिए । त्यसका लागि उनले नेपाल इन्जिनियरिङ कलेज प्रालि नामक नक्कली कम्पनी समेत खडा गरेका थिए । कलेजका संस्थापक अध्यक्ष प्राडा दीपक भट्टराईले लम्बोदर न्यौपानेको सड्यन्त्रको भण्डाफोर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न सरकारी निकायमा उजुरी दिएकोमा लम्बोदरले अख्तियारको उजुरी तामेलीमा राख्न तत्कालिन अख्तियार आयुक्त राजनारायण पाठकलाई समेत ७८ लाख घुस खुवाएका थिए । सो प्रकरणमा समेत विशेषले उनलाई दोषी ठहर गरिसकेको छ । लम्बोदर न्यौपानेको कर्तुत सार्वजनिक भएपछि संसदको शिक्षा तथा स्वास्थ्य समिति, अख्तियार, सम्पत्ति सुद्धिकरण, नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो समेतले छानविन गर्दै न्यौपानेले करोडौं सम्पत्ति सुद्धिकरण गरी आर्जन गरेको ठहर गर्दै मुद्दा दायर गरेका थिए । कलेज बचाउन शिक्षा मन्त्रालयले चाँगुनारायण नगरपालिकाका प्रमुखको नेतृत्वमा कलेज सञ्चालक समिति गठन गरेको थियो । हाल कलेज सोही अनुसार सञ्चालन भइरहेको छ । न्यौपाने नेपाल इन्‍जिनियरिङ कलेजमा २०५६ असार १८ देखि २०५७ म‌ंसिर ७ गतेसम्म पहिलो कार्यकाल र २०७० मंसिर २३ देखि २०७५ असोज १५ गतेसम्म दोस्रो कार्यकाल अध्यक्ष रहेका थिए । उनी अध्यक्ष भएका बेला कलेजको बेरुजु २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ देखिएको छ । नेपाल इन्जिनियरिङ कलेजमा न्यौपाने २०५६ असार १८ देखि २०५७ मंसिर ७ गतेसम्म पहिलो पटक कार्यकारी अध्यक्षका रूपमा कार्यरत थिए । यस्तै उनको दोस्रो कार्यकाल २०७० मंसिर २३ देखि ०७५ असोज १५ गतेसम्म अध्यक्षको रूपमा कार्यरत थिए ।

मकैखेती गर्ने किसानलाई कृषियन्त्र वितरण

टीकापुर । कैलालीको जानकी गाउँपालिका–२ मा मकैखेती गर्ने किसानलाई कृषियन्त्र वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र कैलालीको वसन्ते तथा हिउँदे मकैखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषियन्त्र वितरण गरिएको हो । किसानलाई मकै लगाउने मेसिन, गोड्ने मेसिन, दाना छोडाउने मेसिनलगायत आठ लाख रुपैयाँ बराबरका सामग्री वितरण गरिएको कृषि ज्ञान केन्द्र कैलालीका बाली विकास अधिकृत रामनारायण चौधरीले जानकारी दिए । कृषि ज्ञान केन्द्र कैलालीको अनुदान सहयोगमा अन्नपूर्ण कृषक समूह कालिकापुरमा २९ हेक्टर जमिनमा मकैखेती गरिएको छ । मकैखेतीमा कृषि ज्ञान केन्द्रले ५० प्रतिशत अनुदान प्रदान गरेको छ । किसानलाई मकैखेती विस्तारसँगै बजारीकरणमा सहयोग पुगोस् भनेर कृषि सामग्री वितरण गरिएको बाली विकास अधिकृत चौधरीले बताए । ‘किसानलाई कृषिमा थप आकर्षित गर्न र हौसला प्रदान गर्न सहयोग गरिएको हो,’ उनले भने, ‘सामग्री सहयोगले खेती गर्न र बजारीकरणमा सहयोग पुग्नेछ ।’ कालिकापुरमा १ सय १९ किसानले अहिले व्यावसायिक मकैखेती गर्दैआएका छन् । मकै उत्पादन गर्न राम्रो क्षेत्र रहेको र बजारीकरणमा समस्या नभएकाले धेरै किसानले मकैखेती गरेका अन्नपूर्ण कृषक समूहका अध्यक्ष पदमबहादुर विष्टले बताए । ‘समूहमार्फत खेती गर्दा सहज भएको छ । समूहमार्फत किसानले कृषियन्त्र प्राप्त गरेका छन्,’ उनले भने, ‘गत वर्षको तुलनामा यस वर्ष किसानले मकैखेती गर्ने जमिन बढाएका छन् ।

प्रहरीमा दुई डिआइजीको दरबन्दी थप

काठमाडौं । नेपाल प्रहरीमा दुई डिआइजीको दरबन्दी थपिएको छ । साइबर ब्युरो र केनाइन महाशाखामा डिआइजीको पद राखिएको हो । प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरोमा साइबर हेर्ने गरी डिआइजी राख्न प्रस्ताव गरेको थियो । त्यसैगरी केनाईन महाशाखामा डिआइजीको दरबन्दी राख्नुपर्ने प्रस्ताव गरिएको थियो । साइबर ब्युरोका एसएसपी नवीन्द्र अर्याल तथा केनाइनकी डा. देउती गुरुङलाई बढुवाका लागि विशेष दरबन्दी थप भएको हो । एसएसपी अर्याल र गुरुङको पुगनपुग एक वर्षमात्रै अवधि बाँकी रहेको छ । बढुवा भएका अधिकारीले अवकाश पाएलगत्तै पद खारेज हुने गरी विशेष दरबन्दी थपिएको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रस्ताव स्वीकृत गरेको छ ।