विकासन्युज

डढेलोबाट निस्किएको धुवा र शहरको प्रदुषणले धुम्म बन्यो काठमाडौं (फोटो फिचर)

काठमाडौं । डढेलोबाट निस्किएको धुवा र शहरको प्रदुषणका कारण आइतबार काठमाडौं उपत्यका धुम्म बनेको थियो भने आज सोमबार पनि अवस्था उस्तै रहेकाे छ । आइतबार प्रदूषित तुवाँलोले आकाश नै पहेँलिएको थियो । वायु प्रदूषण मापक आईक्यू एअरका अनुसार आइतबार काठमाडौं विश्वका १२१ वटा सहरमध्ये सबैभन्दा प्रदुषित सहरमा मापन गरिएको थियो ।

पैसा, सुन र घरजग्गाले भरिए बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको काम पैसाकाे कारोबार गर्ने हो । बचतकर्ताबाट निक्षेप लिने र सोही निक्षेपलाई ऋणीमा लगानी गरेर बैंकले आफ्नो बिजनेस गर्छन् । निक्षेपकर्तालाई दिएको ब्याजमा थोरै मार्जिन थपेर ऋणीलाई ऋण दिँदा प्राप्त भएको पैसालाई बैंकले आम्दानीका रूपमा गणना गर्छन् । बैंकले ऋणीबाट ऋण असुल गर्न सकेन भने धितोको रूपमा राखेको घरजग्गा, अन्य सम्पत्ति लिलाम वा बिक्री गरेर आफ्नो लगानी असुल गर्छन् । र, बाँकी रहेको पैसा ऋणीलाई नै फिर्ता गर्छन् । बैंक तथा वित्तीय संस्थाको नियामक नेपाल राष्ट्र बैंकले बैंकहरूलाई सुनको कारोबार गर्न पाउने व्यवस्था पनि गरेको छ । सोही व्यवस्थाअनुसार बैंकहरूले सुन आयात गरेर व्यवसायीलाई बिक्री पनि गर्ने गरिरहेका छन् । तर, अहिले यो सबै कारोबार ठप्प नै छ भन्दा फरक नपर्ला । कुनै बेला तरलताको अभाव रहेको भन्दै ब्याज बढाउन प्रतिस्पर्धा गर्ने बैंकहरू अहिले तरलता बढी भएर ऋण लिनका लागि उद्योगी व्यवसायीलाई आग्रह गरिरहेका छन् । ब्याजदर घटाउँदा पनि ऋणीहरूबाट ऋणको माग नभएपछि अहिले बैंकर ठूलो तनाबमा छन् । यही तनाब नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले गत बिहीबार प्रस्तुत गरे । संघले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘अहिले कर्जाको माग छैन, माग बढाउन निरन्तर ब्याजदर घटाइरहेका छौं, हाउजिङ र इलेक्ट्रिकल भेइकल लगायत क्षेत्रमा कर्जाको ब्याजदर एकल अंकमा झारिसक्यौं । तर, ऋणीबाट ऋणको माग हुन सकेको छैन ।’ उनले विगतमा ब्याज बढी भयो भनेर गुनासो आउने भएपनि अहिले ब्याज घट्दा पनि कर्जाको माग नहुनु बिडम्वना रहेको धारणा राखे । उनले कर्जाको ब्याज घटाए पनि माग नै नभएको गुनासो गरे । कर्जाको माग नबढ्नु बैंकिङ क्षेत्र र समग्र अर्थतन्त्रका लागि चिन्ताको विषय भएको उनको तर्क छ । अहिले बैंकिङ क्षेत्रमा ५ खर्ब बढी लगानीयोग्य रकम छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) औसत ८०.८८ प्रतिशत छ । राष्ट्र बैंकको व्यवस्थाअनुसार बैंकहरूको सीडी रेसियो ९० प्रतिशत तल हुनुपर्छ । निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह हुन नसक्दा वित्तीय प्रणालीमा अधिक तरलता देखिएको बैंकरहरू बताउँछन् । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार हाल बैंक तथा वित्तीय क्षेत्रमा कुल ६१ खर्ब ६ अर्ब रुपैयाँ निक्षेप छ भने ५० खर्ब ८८ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा प्रवाह गर्न पाउने प्रावधानअनुसार बैंकहरूसँग ५ खर्ब बढी कर्जा दिन सक्ने क्षमता छ । अहिले बैंकहरू राष्ट्र बैंकमा पैसा राख्न बाध्य छन् भने अन्तर बैंक कारोबार पनि न्यून ब्याजदरमा गरिरहेका छन् । ग्राहकबाट गुणस्तरीय कर्जाको माग हुन नसकेको बैंकरहरू बताउँछन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को फागुनसम्म बैंकहरूको कर्जा प्रवाह ४.२ प्रतिशत बढेर १ खर्ब ९९ अर्ब ५० करोड रुपैयाँ लगानी गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब २८ अर्ब १८ करोड रुपैयाँ मात्रै कर्जा प्रवाह गरेका थिए । पैसाले भरिएका बैंकहरूसँग घरजग्गाको पनि अहिले भण्डारण छ । अहिले बैंकहरूले ऋण नतिर्ने ग्राहकबाट सकारेको घरजग्गा बिक्री गर्न सकेका छैनन् । एक बैंकरकाअनुसार सस्तोमा घरजग्गा बिक्री गर्छु भन्दा पनि ग्राहक पाउन सकिएको छैन । ऋण असुल नहुँदा बैंकको खराब कर्जा अनुपात बढेको बढ्यै छ । त्यसलाई कम गर्नका लागि पनि बैंकहरूले ऋणीले राखेको धितो लिलाम गर्ने गरेका छन् । बैंक तथा वित्तीय संस्थाले लगानी गरेको ऋणलाई जोखिममुक्त पार्नका लागि धितोकारूपमा घरजग्गा राख्ने गरेका छन् । कुनै बेला घरजग्गा धितो राख्दा पनि बैंकलाई ऋण डुबे पनि फरक पर्थेन । किनकी घरजग्गाको मूल्य बढिरहेको थियो भने खरिद गर्ने ग्राहक पनि सजिलै पाउन सकिन्थ्यो । मन परेको घरजग्गा बैंक आफैंले सकार्थे । यसरी बैंक आफैंले स्वीकार गरेको सम्पत्तिलाई गैर-बैंकिङ सम्पत्ति भन्निछ । अहिले बैंकहरूलाई सोही गैर-बैंकिङ सम्पत्तिले पिरोलिरहेको छ । ‘पहिले बैंकले प्रकाशित गर्ने लिलामीका सूचनाहरू व्यवसायी या खरिदकर्ताले नियालिरहन्थे, सूचना आउने बित्तिकै बैंकमा आइहाल्थे । तर, अहिले केही सस्तोमा बिक्री गर्छौं भन्दा पनि ग्राहक पाइँदैनन्, बैंकका लागि गैर-बैंकिङ सम्पत्ति चिन्ताको विषय छ,’ एक बैंकका सीईओले भने । कुन बैंकको गैर-बैंकिङ सम्पत्ति कति ? हाल वाणिज्य बैंकसँग १९ अर्ब ९१ करोड ५० लाख रुपैयाँबराबरको गैर–बैंकिङ सम्पत्ति छ । सबैभन्दा बढी गैरबैंकिङ सम्पत्ति एनआइसी एसिया बैंकको छ । चालु आर्थिक वर्षको पुससम्म यस्तो सम्पत्ति ३ अर्ब ४० करोड नाघेको छ । चालु आर्थिक वर्षको पुससम्म ग्लोबलको २ अर्ब १८ करोड २० लाख, प्राइम कमर्सियल बैंकको २ अर्ब ७ करोड ९० लाख, नेपाल इन्भेष्टमेन्ट मेगाको १ अर्ब ९७ करोड ८० लाख, कुमारीको १ अर्ब ७६ करोड ४० लाख, नबिलको १ अर्ब ४९ करोड ६० लाख, माछापुच्छ्रेको १ अर्ब ४५ करोड १० लाख, लक्ष्मी सनराइजको १ अर्ब ४१ करोड १० लाख र हिमालयनको ८२ करोड ८० लाख रुपैयाँ गैर बैंकिङ सम्पत्ति रहेको छ । यस्तै, एनएमबि बैंकको ७९ करोड २० लाख, सिद्धार्थको ६४ करोड ४० लाख, प्रभुको ५४ करोड ६० लाख, सिटिजन्सको ३० करोड १० लाख, सानिमाको २५ करोड ८० लाख, कृषि विकासको २५ करोड २० लाख, राष्ट्रिय वाणिज्य बैंकको १८ करोड ७० लाख, नेपाल बैंकको १८ करोड ५० लाख, एभरेष्टको १५ करोड ५० लाख र नेपाल एसबिआई बैंकको ७ करोड ७० लाखको गैर बैंकिङ सम्पत्ति रहेको छ । सुन पनि थुप्रियो बैंकमा पैसा र घरजग्गा मात्रै होइन सुन पनि थुप्रिएको छ । पछिल्लो समय सुनको मूल्य निरन्तर बढिरहेको छ । सोमबार सुनचाँदीको मूल्यले नयाँ रेकर्ड राखेको छ । सोमबार तोलामा ६ सय रुपैयाँले सुनकाे मूल्य बढेको छ । सोमबार छापावाल सुनको मूल्य बढेर प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य बढे पनि सुनको माग भने बजारमा एकदमै कम रहेको बुझिएको छ । सोही कारण पनि बैंकले आयात गरेको सुन बैंकमै थुप्रिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले अहिले सुनको माग न्यून रहेको बताएको छ । नेपाल राष्ट्र बैंकले सुनको दैनिक कोटा २० किलो तोकेको भएपनि बजारमा दैनिक पाँच केजी सुन पनि बिक्री हुन सकेको छैन । अहिले कोटाअनुसार सुन खरिदबिक्री नभएको महासंघका अध्यक्ष माणिकरत्न श्रेष्ठले बताए । अहिले बैंकमा एक सय केजी बढी सुन मौज्दात रहेको बुझिएको छ । फागुन मसान्तसम्म करिब २ सय केजी सुन मौज्दात रहेकोमा चैत अन्त्यसम्म भने एक सय केजीको हाराहारीमा सुन छ । रुस र युक्रेनबीच जारी द्वन्द्व र डलरको भाउ उकालो लागेपछि सुनको भाउले कीर्तिमानी बनाएको छ । अन्तर्राष्ट्रिय बजार र भारतको बजारलाई आधार मानेर सुनेकाे मूल्य निर्धारण गरिन्छ । चालु आर्थिक वर्षको पहिलो ८ महिनामा १५ अर्ब २३ करोड ४१ लाख रुपैयाँको १८ लाख ५ सय किलो सुन आयात भएको भन्सार विभागले जनाएको छ ।

अवैधरुपमा बसिरहेका १० जना बङ्लादेशीलाई अध्यागमनमा बुझाइयो

काठमाडौं । भिसा सकिएर नेपालमा अवैधरुपमा बसिरहेका १० जना बङ्लादेशी नागरिकलाई प्रहरीले पक्राउ गरी आइतबार अध्यागमन विभागमा बुझाएको छ । विभिन्न मितिमा नेपाल प्रवेश गरी भिसा सकिए पनि गैरकानुनीरूपले बसोबास गर्नुका साथै शङ्कास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा खोजतलास गर्दा १० जना बङ्लादेशी नागरिक पक्राउ परेका थिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार प्रहरीको विशेष टोलीले काठमाडौंको सोह्रखुट्टे तथा ठमेल क्षेत्रबाट गैरकानुनी तवरले बसिरहेका उनीहरुलाई नियन्त्रणमा लिएको थियो । पक्राउपर्नेमा मोहम्मद अनिशुर रहमान, मोहम्मद अब्दुल्ला, मोहम्मद इमाउल हसन, मोहम्मद हाफिज रहमान, सजिव हसन, सैफुल इस्लाम, मोहम्मद विलल हसन, मोहम्मद सलिम, मोहम्मद नासिर उद्दीन र मोहम्मद एसिन खान रहेका छन् । एसपी रेग्मीले पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आज अध्यागमन विभाग, कालिकास्थान पठाइएको बताए । यसअघि पनि यसैगरी शङ्कास्पद गतिविधि गरिरहेको पाइएपछि प्रहरीले पाँच जना बङ्लादेशी नागरिकलाई पक्राउ गरी अध्यागमनलाई बुझाइएको थियो । पछिल्लो समयमा बङ्गलादेशी नागरिकलाई युरोप पठाउने भन्दै नेपालमा ल्याएर बन्धक बनाउने तथा अवैधरुपमा नेपाल बस्ने घटना देखिन थालेकाले निगरानी बढाइएको प्रहरीले जनाएको छ । रासस

बन्दीपुरमा ५६ करोड लागतमा बन्यो पाँच तारे होटल, क्वीन टावर अन्तिम चरणमा  

तनहुँ । बन्दीपुर केबलकार एण्ड टुरिजमले अन्तराष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सम्पन्न गरेको छ । बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गास्थित केबलकारको तल्लो स्टेशनमा होटल निर्माण गरिएको हो । ५६ करोड रुपैयाँको लागतमा ५६ रोपनी क्षेत्रफलमा होटल निर्माण गरिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । आगामी वैशाख १ गते नयाँ वर्षको अवसरमा पाँचतारे होटल सञ्चालनमा ल्याइने तयारी भइरहेको उनले बताए । क्वीन टावर अन्तिम चरणमा बन्दीपुर–४ स्थित केबलकारको माथिल्लो स्टेशनमा निर्माणधीन सत्र तलाको ‘क्वीन टावर’ को काम अन्तिम चरणमा पुगेको छ । पाँचतारे होटलसँगै केबलकार पनि छिट्टै सञ्चालनमा ल्याउने गरी निर्माणलाई तिव्रता दिइएको कम्पनीका अध्यक्ष शर्माले बताए । अन्तराष्ट्रियस्तरको ‘क्यूए सर्टिफिकेट’ लिने कार्य बाँकी रहेकाले सञ्चालनमा ढिलाइ भएको कम्पनीले जनाएको छ । ‘केबलकारमा अहिले कम्पनीमा कार्यरत कर्मचारी ल्याउने लैजाने कार्य भइरहेको छ’, उनले भने, ‘सर्वसाधारण बोक्ने योजना तत्काललाई बनाइएको छैन ।’ एसियाकै ठूलो दाबी गरिएको बन्दीपुरको सिद्धगुफा र हरियाली डाँडाको मनोरमदृश्य अवलकोन गर्दै उक्त केबलकारबाट पर्यटकले आनन्दका साथ यात्रा गर्न सक्नेछन् । केबलकारको अहिले पटक–पटक परीक्षणको गर्ने कार्य भइरहेको अध्यक्ष शर्माले जानकारी दिए । उनका अनुसार केबलकारको २१ डिब्बा यात्रु बोक्ने, छ वटा रेष्ट्रो क्याबिन र दुई एड्भेन्चर गरी २९ डिब्बा हुनेछन् । एक डिब्बामा आठ जनासम्म यात्रुको क्षमता हुनेछ । ‘एड्भेन्चर डिब्बा अन्य डिब्बाको तुलनामा फरक किसिमको हुनेछ । त्यो सिसैसिसाको र आधुनिक किसिमबाट निर्माण गरिएको छ’, उनले भने । केबलकारभित्रै सुत्न र खान पाइने व्यवस्थासहित रेष्ट्रो क्याबिनसमेत सञ्चालन गर्ने योजना रहेको अध्यक्ष शर्माले बताए । उनले भने, ‘न्यूनतम रु ५० देखि रु २५ हजारसम्म टिकट शुल्क तोकिएको छ ।’ पृथ्वीराजमार्गमा रहेको तल्लो स्टेशनबाट माथि स्टेशनको बन्दीपुर बजारस्थित कलेजमा पढ्न जाने र आउने विद्यार्थीलाई पचास रुपैयाँ, पत्रकारलाई तीन सय पचास रुपैयाँ, अन्य यात्रुका लागि पाँच सय रुपैयाँ, रेष्ट्रो क्याबिनको २५ हजार रुपैयाँ र ६५ वर्ष माथिका नागरिकलाई टिकटमा सहुलियत दिइने कम्पनीले जनाएको छ । केबलकार र पाँचतारे होटल गरी कूल तीन अर्ब रुपैयाँ अन्ठाउन्न करोडको लागतमा निर्माण सम्पन्न गर्न लागिएको कम्पनीका इन्जिनियर हरिदत्त पौडेलले जानकारी दिए। उनका अनुसार बन्दीपुर आउने पर्यटकले केबलकारबाटै रमणीय प्राकृतिक स्थलको अवलोकन गर्दै मनोरञ्जन प्राप्त गर्न सक्नेछन् । रासस

फत्तेवाल आँखा अस्पतालमा उपचारका लागि भारतीय बिरामी

जानकी । भारत श्रावस्ती चिरैयारानीसिरका ६२ वर्षिय अमेरिकाप्रसाद यादव आँखाको उपचारका लागि नेपालगञ्ज–६ फुलटेक्रा स्थित फत्तेवाल आँखा अस्पताल आएका छन् । उनले गत शुक्रबार देब्रे आँखाको शल्यक्रिया गराए । उनले यसअघि पनि दाहिने आँखाको शल्यक्रिया यही अस्पतालमै गराइसकेका छन् । यादव श्रावस्तीमा आँखा अस्पताल नभएर यहाँ आएको भने होइन । ‘जिल्लामा दुई वटा आँखा अस्पताल छन् । तर यहाँ जस्तो गुणस्तरीय सेवा जस्तो छैन’, उनले भने, ‘म मात्रै होइन परिवारका अन्य सदस्य र साथीहरु पनि आँखाको यहीँ उपचारका लागि आउने गरेका छन् ।’ नेपाल नेत्र ज्योति सङ्घ, बाँके शाखाले सञ्चालन गरेको उक्त अस्पतालका अनुसार यादव मात्रै होइन, उपचारका लागि यहाँ आउने भारतीयहरुको सङ्ख्या उल्लेख्य छ । अस्पतालका प्रबन्ध निर्देशक डा कौशलकुमार बर्माका अनुसारमा अस्पतालमा नेपालीसँगै भारतीयहरुको पनि विश्वास बढ्दो छ । ‘स्थापनाकालदेखि नै अस्पतालमा उपचारका लागि आउने भारतीयको सङ्ख्या उल्लेख्य छ’, उनले भने, ‘नेपाली र भारतीय बिरामीहरुको सङ्ख्या बराबरी जस्तै छ ।’ छिमेकी देश भारतबाट मात्रै होइन टाढाका बिकट पहाडी जिल्लाबाट पनि बिरामीहरु अस्पतालमा आउने गरेका छन् । जुम्लाका ६४ वर्षे मुनबहादुर बुढा क्षेत्री आँखाको शल्यक्रियाका लागि गत शुक्रबार अस्पतालमा आएका छन्। पतारासी गाउँपालिका–५ माथिल्लो लोर्पाका क्षेत्रीले आँखाको उपचारका लागि अस्पताल भरपर्दो लागेकाले यहाँसम्म आएको सुनाए । ‘उहिल्यै २०५० सालतिर देब्रे आँखाको मोतियाबिन्दुको शल्यक्रिया यही अस्पतालमा गरेको थिएँ’, उनले भने, ‘आजसम्म यो आँखामा कुनै समस्या आएको छैन । त्यही विश्वासले अहिले अर्को आँखाको उपचारका लागि यहाँ आएको हुँ ।’ क्षेत्रीको जस्तै अस्पतालप्रतिको विश्वास बाँके बैजनाथ–५ बनकट्टिका देउमा बुढामगरको पनि छ । आँखाको शल्यक्रिया गर्न यहाँ आएका उनले भने, ‘आँखाको शल्यक्रियाका लागि धेरैले अन्यत्रै जान सुझाव दिएका थिए । तर मलाई यहीँ अस्पतालमा विश्वास लागेर आएकी हुँ ।’ लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका साथै भारतका बहराइच, गोण्डा, श्रावस्ती, गोरखपुर, लखिमपुर, सीतापुर, बाराबङ्की, लखनउ, अयोध्या, फैजाबाद तथा सुल्तानपुरलगायतबाट पनि बिरामीहरुले अस्पतालमा सेवा लिनका लागि आउन गरेका छन् । विसं २०४३ सालमा स्थापना भएको उक्त आँखा अस्पताल स्थापना भएको वर्षदेखि हालसम्म २७ लाख ४६ हजार पाँच सय १४ जनाको आँखाको परीक्षण तथा उपचार गरिसकेको डा बर्माको भनाइ छ । उनका अनुसार दुई लाख ७९ हजार छ सय ९६ जना बिरामीको आँखाको शल्यक्रिया गरिएको छ । हाल अस्पतालमा दैनिक सरदर चार सयको हाराहारीमा आँखाका बिरामीहरु उपचारका लागि आउने गर्दछन् । ‘यहाँ वार्षिक एक लाख ४० हजार बिरामीको आँखा परीक्षण गरिनुका साथै आँखाको उपचार समेत भइरहेको छ’, डा बर्माले भने, ‘अस्पतालले वार्षिक १० हजारभन्दा बढी बिरामीको आँखाको शल्यक्रिया गर्दै आएको छ ।’ सुरुवातमा १० शय्या क्षमताको अस्पतालले हाल दुई सय ५० शय्यामार्फत सेवा दिइरहेको छ । अस्पताल अन्तर्गत विभिन्न जिल्लामा पाँच वटा आँखा उपचार केन्द्र सञ्चालनमा छन् । सो अस्पतालले निःशुल्क आँखा शिविर पनि सञ्चालन गर्दै आएको छ । रासस

शैक्षिकसत्र सुरु नहुँदै विद्यालयमा पुग्न थाल्यो पाठ्यपुस्तक

काठमाडौं । कोशी प्रदेशका सामुदायिक विद्यालयहरूमा नयाँ शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक पुगेको छ । यसअघि शैक्षिक सत्र सकिँदासम्म किताब नपाउने बाध्यता व्यहोरेका विद्यार्थीले यसपटक समयमै पुस्तक पाउने भएका हुन् । विगतका वर्षमा शैक्षिकसत्र सकिने बेलासम्म पाठ्यपुस्तक नपाएपछि विद्यार्थीहरूले किताब नहेरी परीक्षा दिनुपर्ने बाध्यता थियो । तर यसपटक भने उनीहरूले समयमै किताब पाउने निश्चित भएको छ । स्रोत, साधन र जनशक्ति अभावको समस्यालाई सरकारले समाधान गरेपछि यसपटक विद्यालयहरूमा समयअगावै पुस्तक पुग्ने जनक शिक्षा सामग्री केन्द्र कोशी प्रदेश कार्यालयले जनाएको छ । नजिकिँदै गरेको २०८१ सालको शैक्षिक सत्रलाई मध्यनजर गर्दै केन्द्रले यस वर्ष चैत्र १३ गतेदेखि नै पाठ्यपुस्तकको बिक्री–वितरण थालेको हो । हालसम्म कोशी प्रदेशको १४ मध्ये १२ वटा जिल्लामा पुस्तक पुगिसकेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, कोशी प्रदेशकमा प्रमुख भूपराज थापाले बताए । कोशी प्रदेशका पहाडी जिल्लाहरु खोटाङ र सोलुखुम्बुमा जनकपुर र काठमाडौंबाट जाने भएकाले बाँकी अन्य पहाडी जिल्लाहरुमा पाठ्यपुस्क पठाइसकिएको बताए । पहाडी जिल्लामा पठाइसकेकाले अब तराईका जिल्लामा पनि पठाउने काम भइरहेको बताए । वैशाख १ गतेभित्र विद्यार्थीहरुले सहज रुपमा पाठ्यपुस्तक प्राप्त गर्ने बताए । उनले अहिलेसम्म ४१ प्रतिशत पाठ्यपुस्तक बिक्री वितरण भइसकोको जानकारी दिए । विशेषगरी कोशी प्रदेशको पहाडी जिल्लाहरूमा यसअघि शैक्षिक सत्र शुरु भएको महिना दिनपछि मात्र पाठ्यपुस्तक पुग्थ्यो । छपाइ कम हुँदा र समयमै छपाइ नहुँदा जनक शिक्षासँग पनि मागअनुसारको पर्याप्त पुस्तक आइपुग्दैन थियो । तर यसपालि नयाँ शैक्षिक सत्र आउनुभन्दा तीन साताअघि नै कोशी प्रदेशको पूर्वी तराई र विकट पहाडी जिल्लाहरूमा पाठ्यपुस्तक पुगिसकेको छ । हालसम्म कुल १६ लाख किताबमध्ये सात लाख ५० हजार पुस्तक बिक्री वितरण भइसकेको छ । चैत मसान्तसम्ममा प्रदेशका सबै सामुदायिक विद्यालयहरूमा मागबमोजिमको पाठ्यपुस्तक पुगिसक्ने केन्द्रको दाबी छ । विगतका वर्षहरूको तुलनामा यसपालि पाठ्पुस्तक पाउन निकै सहज भएको पुस्तक व्यावसायीहरू बताउँछन् । धनकुटाका पुस्तक व्यवसायी खेमराज पौडेलले २०७० सालदेखि ०८० सम्ममा सबैभन्दा सहज र समयमै पाठ्यपुस्क पाएको पहिलो पटक अनुभव गरेको बताए । त्यस्तै अर्का पुस्तक व्यवसायी शोभित तिम्सिनाले विगत भन्दा धेरै नै सहज रुपमा पाठ्यपुस्तक आएको बताए । दुर्गम भएको कारणले गर्दा यातायातको सामग्रीमा जनक शिक्षा सामग्रीले वितरणमा व्यवसायीहरुलाई दिने सहुलियतमा ब्यालेन्स नमिलेको बताए । त्यस्तै अर्का पुस्तक व्यवासायी शान्तिराम पौडेलले अहिलेसम्म माग गरेअनुसारको पुस्तक पाएको जानकारी दिए । कोशी प्रदेशमा कुल एक सय २२ वटा पुस्तक व्यावसायीहरू जनक शिक्षा सामग्री केन्द्रमा सूचिकृत छन् । ती व्यावसायीसँग किताव किनेर विद्यालयहरूले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई निःशुल्क वितरण गर्छ । कोशी प्रदेशमा जम्मा ६ हजार ७७३ वटा सामुदायिक विद्यालय छन् । जसमा करिव पाँच लाख विद्यार्थी अध्ययनरत छन् । पछिल्लो समय सरकारी विद्यालयको बढ्दो आकर्षणले गर्दा यो शैक्षिक सत्रमा विद्यार्थीको संख्या झन् बढ्ने अनुमान गर्न सकिन्छ ।

एनआइसी एशियाको ऋणी सदस्यलाई ब्याज छुट योजना सार्वजनिक

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले ऋणी सदस्यहरुलाई प्रदान गरिने ब्याज तथा अन्य छुट सम्वन्धी योजना सार्वजनिक गरेको छ । देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण लघुवित्तको ऋणी सदस्यहरुरकर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पु-याउने हेतुले यस्तो योजना ल्याएको हो । संस्थाले प्रचलित नियमनकारी व्यवस्था अनुसार २०८० फाल्गुन मसान्तमा निष्क्रिय कर्जाको रुपमा वर्गीकरण भएका कर्जाहरुको हकमा सम्बन्धित ऋणीले भुक्तान गर्ने मितिसम्मको पाकेको ब्याज तथा किस्ता रकम पूर्ण रुपमा चुक्ता भुक्तान गर्नुको साथै सम्पूर्ण कर्जा रकम नै २०८० चैत्र मसान्त भित्र पूर्ण रुपमा चुक्ता भुक्तान गरेमा भुक्तान गर्ने मितिसम्म लाग्ने जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र ब्याज रकममा समेत संलग्न तालिकामा उल्लेख भएको योजना बमोजिम छुट प्रदान गर्ने ‘ब्याज छुट योजना’ ल्याएको हो । यस संस्थाबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका तथा अन्य कारणले मर्कामा परेका ग्राहकहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्नेछन् । यस आर्थिक जटिलताको घडिमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाहरूले आ–आफ्नो हिसाबले योगदान पु-याउनुपर्ने आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस संस्थाले आफ्ना ऋणी सदस्यहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको हो । संस्थाले ल्याएको यस ब्याज छुट योजनाबाट विविध कारणले आर्थिक समस्यामा पर्नु भएका ऋणी सदस्यहरुको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दीगो सबलीकरणमा समेत टेवा पुग्ने संस्थाले विश्वास लिएको छ । यस एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले विगत ६ वर्ष भन्दा बढि अवधि देखी क्रमिक रुपमा ७४ जिल्लाको ५६० भन्दा बढी स्थानिय तहमा कार्यक्षेत्र रही २८७ शाखा सञ्जाल विस्तार गरी लघुवित्त कार्यक्रम संचालन गदै आईरहेको छ । वित्तीय समावेशीकरणका लागि जाजरकोट, रोल्पा, रुकुम, मुगु, कालिकोट, बाजुरा, बझाङ, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिती नभएको स्थानमा शाखा विस्तार गरी कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।    

कामना सेवा विकास बैंकको केएसबीबीएल फाइनान्सियल फुटस्टेप्स भिडियो सार्वजनिक

काठमाडौं । कामना सेवा विकास बैंकले वित्तीय साक्षरता सन्देशमूलक भिडियो सिरिज केएसबीबीएल फाइनान्सियल फुटस्टेप्सको टिजर भिडियो सार्वजनिक गरेको छ । नयाँ वर्षको अवसरमा बैंकले उक्त सन्देशमूलक भिडियो श्रृङ्खला सार्वजनिक गरिने बैंकले जनाएको छ । १३ वटा श्रृङ्खला भएको सो भिडियो विभिन्न आर्थिक चुनौतीहरु र माईलस्टोनहरु पार गर्दा सम्बन्धित पारिवारिक पात्रहरुको सेटको जिवनलाई पछ्याउँछ । प्रत्येक एपिसोडले वित्तीय योजनाका विभिन्न पक्षहरुमा जीवनको आवश्यकता र चाहना, बजेट, बचत, लगानी र ऋण व्यवस्थापनको महत्वलाई प्रस्तुत गरिएको छ । भिडियो श्रृङ्खलाको उद्धेश्य आकर्षक कथा–कथन मार्फत वित्तीय साक्षरता र योजनाको महत्व झल्काउने बैंकले जनाएको छ । सो भिडियो सिरिज प्रत्येक हप्ताको आईतबार बैंकको सामाजिक सञ्जाल मार्फत सार्वजनिक हुने बैंकले जनाएको छ । बैंकले बचत, ऋण तथा बैंकिङ कारोबार सम्बन्धी यस्ता वित्तीय साक्षरता कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।