विकासन्युज

सहकारीले घरखेत खायो, १० लाख ऋणको ब्याज साढे २ करोड माथि

नवलपुर । ५५ वर्षीय रीता भुर्तेल र दीर्घनारायण भुर्तेलको पाँच वर्ष अघिसम्मको ठाँट अब छैन । व्यापार थियो, नवलपुरको कावासोती बजारमा चारतले घर थियो, जग्गा जमिन प्रशस्त थियो । तर, सहकारी संस्थाबाट लिएको ऋणको मिटरब्याजले अहिले सबै सकिँदै गएको छ । दीर्घनारायणले भने, ‘चिन्ताले म डिप्रेसनको सिकार भएको छु । औषधि खानुपर्ने बनायो । छोरा बिरामी छन्, रीतालाई तनावले थिचेको छ । यो तनावबाट परिवारै उम्कन सकेका छैनौँ ।’ भुर्तेल परिवार २०७२ सालमा कावासोतीमा खुलेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको बचतकर्ता भए । त्यसको पाँच महिनापछि १० लाख रुपियाँ लगानी गरेर सेयर सदस्य भए । सहकारीमा बचतकर्ताको रकम थपिँदै गयो । सहकारीको अध्यक्ष र प्रबन्ध निर्देशक पुख्र्यौली घर पर्वतका गाउँले भान्जा योगेन्द्र पाण्डे रहेको दीर्घनारायणले बताउँदै भने, ‘भान्जाले बिनाधितो ऋण लिन उकासेपछि २०७३ सालमा १० लाख रुपियाँ ऋण लियौँ । अहिले त्यही १० लाख रुपियाँले हामीलाई मर्नु न बाँच्नु बनाएको छ । साँवा र ब्याजमा दुई करोड ७५ लाख रुपियाँ सकिइसकेको छ ।’ २०७७ सालमा १० लाखको ब्याज ६० लाख रुपियाँ पुर्‍याइयो । त्यो ६० लाख असुल गर्नका लागि कावासोतीकै एक ठाउँको १८ कट्ठा र अर्को ठाउँको दुई बिघा जग्गा धितो राखेर कागज गराइयो । उक्त ऋण व्यवस्थापन गर्नका लागि २०७३ सालमा चितवनको नारायणघाटमा रहेको सनराइज बचत तथा ऋण सहकारी संस्थाबाट बिनाधितो ३० लाख रुपियाँ उपलब्ध गराइयो । छिपछिपे सहकारीको अध्यक्ष र प्रबन्ध निर्देशक रहेका योगेन्द्र पाण्डे नै सनराइज सहकारीको सचिव रहेको जानकारी दिइएको छ । २०७८ सालमा छिपछिपेको ब्याज ७८ लाख रुपियाँ पुगेको थियो । त्यसको २९ दिनपछि ब्याज बढेर ८५ लाख १६ हजार रुपियाँ पुर्‍याइयो । उता सनराइजको ब्याज महिना महिनामा तिरेको ३० लाख र ६ महिना अघिसम्मको जोड्दा थप १ करोड २६ लाख रुपियाँ पुगिसकेको थियो । त्यो ब्याज तिर्नका लागि भुर्तेल परिवार ४ करोड रुपियाँ पर्ने जग्गा २ करोड रुपियाँमै बेच्न बाध्य भयो र सनराइजको बाँकी रहेको १ करोड २६ लाख तथा छिपछिपेको ८५ लाख १६ हजार साँवा ब्याज तिरेर चुक्ता गरिसकेको छ । यहाँसम्म आइपुग्दा भुर्तेल परिवारले सनराइजलाई एक करोड ५६ लाख रुपियाँ र छिपछिपेलाई एक करोड १९ लाख रुपियाँ गरी दुई करोड ७५ लाख रुपियाँ बुझाइसकेको बताएको छ । जसमा २०७२ सालमा छिपछिपेमा राखेको १० लाख रुपियाँबराबरको सेयरको हिसाबकिताब र मासिक बचतको हिसाब कतै देखिन्न । सनराइज सहकारी भने बचतकर्ताको रकम हिनामिना गरेर बन्द भइसकेको छ । नवलपुर प्रहरीले सहकारीको रकम हिनामिना गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । छिपछिपेका प्रबन्ध निर्देशक योगेन्द्र पाण्डे, सनराइज सहकारी चितवनका तत्कालीन अध्यक्ष नगेन्द्रबाबु रिमाल र सहकारीबाट हिनामिना गरिएको रकम व्यवस्थापन गर्ने बर्दियाका शिवलाल लामिछानेलाई पक्राउ गरिएको नवलपुरका प्रहरी प्रमुख नरहरि रेग्मीले जानकारी दिए । ‘सरकारीमार्फत बचतकर्ताको रकम हिनामिनामा ठुलो गिरोह सक्रिय भएको देखिएकाले प्रहरीले अनुसन्धानलाई तीव्रता दिइएको छ,’ उनले भने । फिर्ता भएन धितो २०८० साल भदौ ६ गते सबै रकम तिरिसक्दा पनि २०७७ सालमा छिपछिपेमा धितो राखेको ३, ४ र ९० कित्ता नम्बरको दुई बिघा १८ कट्ठा जग्गाको तीन वटा जग्गा धनीपुर्जा भुर्तेल परिवारले फिर्ता पाउन सकेको छैन । उक्त पुर्जा छिपछिपेले राष्ट्रिय सहकारी बैंकमा धितो राखेर आफैँले ऋण लिएकाले ऋण तिर्न नसक्दा फिर्ता हुन सकेको छैन । राष्ट्रिय सहकारी बैंकका अनुसार छिपछिपेले झन्डै १६ लाख रुपियाँ तिर्न नसकेर भुर्तेल परिवारको जग्गा धनीपुर्जा बन्धक बनेको हो । अनुसन्धान हुँदै छिपछिपेले बचतकर्ताको १० करोड रुपियाँ हिनामिना गरेको शङ्कामा गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले पनि छानबिन गरिरहेको छ । रकम फिर्ता नपाएपछि बचतकर्ताको उजुरीका आधारमा गण्डकी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयले छानबिन गरिरहेको हो । २०७२ देखि २०७९ सम्म एउटै व्यक्ति ९योगेन्द्र पाण्डे० सहकारीको अध्यक्ष र व्यवस्थापक भएर बचत हिनामिना गरेको छानबिनका क्रममा देखिएको छ । पाण्डेले सहकारीको रकम मिटरब्याजमा समेत लगानी गरेको शङ्कामा सहकारी रजिस्ट्रार र प्रहरीले पनि अनुसन्धान गरिरहेको जनाएका छन् । गण्डकी प्रदेश सहकारी रजिस्ट्रार कार्यालय प्रमुख भेषराज रिजालले पाण्डेले सहकारीकै रकम झिकेर मिटरब्याजमा लगाएको तथा बिनाधितो आफू र नजिकका व्यक्तिलाई कर्जा प्रवाह गरेकोसमेत छानबिनका क्रममा देखिएको बताए । पाण्डेले चितवनको एउटा सहकारी संस्थामा करिब एक करोड र बर्दियाको सहकारीमा करिब ९० लाख रुपियाँ रकमान्तर गरेको पाइएको पनि उनले बताए । व्यवस्थापक पाण्डेले कावासोती–१६ मा रहेको आफ्नो १० धुर जग्गा धितो राखेर २०७९ पुसमा सहकारीबाट आफैँले ३२ लाख रुपियाँ ऋण लिएका थिए । सहकारीका वर्तमान अध्यक्ष गोपी शर्माले सञ्चालक समितिको बैठकबिनै जग्गाको नक्कली कागजात बनाएर पाण्डेले मालपोतबाट धितो फुकुवा गराएर अन्तै बिक्री गरिसकेको जानकारी दिए । लामो समयसम्म एउटै व्यक्ति सञ्चालक समितिको अध्यक्ष र व्यवस्थापक रहेर तालुकदार निकायमा वर्षौंसम्म हिसाब पेस नगर्दासमेत संस्थाको निगरानी गर्ने प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय बेखबर रहेको बचतकर्ताको आरोप छ । पाण्डेले आफैँ सहकारीको अध्यक्ष र निर्देशक बनेर आफ्नी बहिनी नाता पर्ने (सानीआमाकी छोरी) सुनीताकुमारी न्यौपानेलाई व्यवस्थापक बनाएरसमेत रकम हिनामिना गरेको पाइएको वर्तमान अध्यक्ष शर्माले बताए । पाण्डेले बचतकर्ताको रकममा गम्भीर अपचलन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपुरले अनुसन्धान गरिरहेको र सहकारी रजिस्ट्रार कार्यालयको प्रतिवेदनपछि थप प्रक्रिया अघि बढ्ने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए । गोरखापत्रबाट साभार

एनसीएचएल र नेप्सले डाके विशेष साधारण सभा

काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) लाई प्राप्ति गर्न दुवै संस्थाले विशेष साधारण सभा बोलाएका छन् । दुवै संस्थाको चैत २५ गते बसेको सञ्चालक समिति बैठकले आगामी वैशाख १३ गते बस्ने गरी छुट्टाटुट्टै साधारण सभा बोलाएका हुन् । उक्त सभामा एनसीएचएलले नेप्सलाई प्राप्ति गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरिनेछ । सभामा मर्जरका विषयमा अहिलेसम्म भएका सबै निर्णय र प्रगति विवरण पारित हुनेछन् । यसैगरी प्राप्ति कार्यपछि परिवर्तन हुने सेयर तथा चुक्तापुँजी वृद्धि गर्ने र सेयर समूह स्वामित्व परिवर्तन गर्ने विशेष प्रस्ताव पनि पारित हुनेछ । संस्थाले छुट्टाछुट्टै साधारण सभामार्फत आफ्ना सेयरधनीको समर्थन लिई नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतिपछि कम्पनी रजिष्ट्रार कार्यालयकको आवश्यक प्रक्रिया सम्पन्न गरी एकीकृत कार्य गर्नेछन् । नेप्सले हालसम्म विभिन्न कार्ड स्किमको लागी कार्ड स्वीचको पूर्वाधार विस्तार गर्दै बैंक वित्तीय संस्थालाई सेवा दिँदै आएको छ भने एनसीएचएलले कार्ड बाहेकका विभिन्न विद्युतीय भुक्तानी प्रणाली, पूर्वाधार तथा प्ल्याटफर्ममार्फत आफ्नो सदस्यहरूलाई सेवा दिँदै आएको छ ।

महुली लघुवित्तको ११औं साधारण सभा आज, के छन् मुख्य एजेन्डा ?

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ११औं वार्षिक साधारण सभा आज बस्दैछ । सभा महुली लघुवित्तको केन्द्रीय कार्यालय महुली सप्तरीमा बिहान ११ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० असार मसान्तसम्मको वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण प्रस्तुत हुनेछन् । सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०/८१ को लागी लेखापरीक्षण समितिको सिफारिसबमोजिम लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले चैत १४ गतेका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ चैत १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीमात्रै सभामा सहभागी हुन योग्य हुनेछन् ।

मुस्ताङ भित्रने पर्यटक र तिर्थयात्रीको स्वास्थ्य परीक्षण

म्याग्दी । मुस्ताङ भित्रने पर्यटक र तीर्थयात्रीको स्वास्थ्य परीक्षण गर्न थालिएको छ । गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराले जिल्ला प्रहरी कार्यालय मुस्ताङसँग समन्वय गरेर घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित पर्यटक प्रहरी चोक पोष्ट परिसरमा आइतबार शिविर स्थापना गरेर स्वास्थ्य परीक्षण गर्न थालेको हो । प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले तीर्थयात्रा, भ्रमण, पदयात्रा र अवलोकनका लागि मुस्ताङ आउने आन्तरिक तथा बाह्य पर्यटकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर शिविर सञ्चालन गरिएको जानकारी दिए । ‘चैते दसैंको सोह्र श्राद्ध तिथि पारेर कागबेनीमा पिण्डदान र मुक्तिनाथ दर्शनका लागि तीर्थयात्रीका साथै अनुकूल मौसमसँगै विद्यालय र विभिन्न संघसंस्थाबाट मुस्ताङ घुम्न आउनेको चाप बढेको छ,’ उनले भने, ‘लेक लाग्ने (अक्सिजन कमी हुने), बिरामी हुने, ढल्ने जस्ता समस्या सृजना भई मानवीय क्षति हुन सक्ने भएकाले स्वास्थ्य परीक्षण गर्न थालिएको हो ।’ जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०÷८१ को हालसम्ममा दुई नेपाली र ६ विदेशी नागरिकको मुस्ताङमा लेक लागेर मृत्यु भएको छ । पछिल्लो तीन वर्षमा लेक लागेर २८ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा अधिकांश समुन्द्री सतहदेखि तीन हजार आठ सय मिटर उचाइमा रहेको मुक्तिनाथ दर्शनका लागि आएका तीर्थयात्री हुन् । एक हप्तासम्म सञ्चालन हुने शिविरमा अशक्त, ज्येष्ठ नागरिक र दीर्घरोगीको स्वास्थ्य परीक्षण गरी परामर्श तथा प्राथमिक उपचारको व्यवस्था मिलाइएको छ । प्रदेश प्रहरी अस्पताल गण्डकीका स्वास्थ्य अधिकृत डा. मृदुषा श्रेष्ठको नेतृत्वमा तीन स्वास्थ्यकर्मी खटिएको सो शिविर सञ्चालन गर्न मुस्ताङ अस्पतालले प्राविधिक सहयोग गरेको छ । समुन्द्री सतहदेखि दुई हजार पाँच सय मिटरभन्दा माथिको उचाइमा अक्सिजनको कमीले स्याँ स्याँ हुने, टाउको दुख्ने, वाकवाकी हुने, रिङ्गटा लाग्ने, आँखा धमिलो हुने, निद्रा नलाग्ने, खान मन नलाग्ने, फोक्सो सुन्निने, स्मरण शक्ति हराउँदै जाने र सास फेर्न गाह्रो हुन्छ । प्रहरीले म्याग्दीको सिमानामा रहेको घाँसामा पनि पर्यटक र तीर्थयात्रीलाई अक्सिजनको कमीका कारण हुने स्वास्थ्य समस्याका बारेमा सचेतनामूलक कार्यक्रम गरेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले प्रहरीको स्वास्थ्य शिविर र सचेतनामूलक कार्यक्रमले अक्सिजनको कमीका कारण मानवीय क्षति न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको बताए । मुस्ताङमा आइतबार एक हजार दुई सय सात सवारीसाधनमा ११ हजार एक सय ९२ नेपाली र तीन सय ४७ बाह्य पर्यटक भित्रिएको प्रहरीको तथ्यांक छ । शनिबार चार सय ३७ सवारीसाधनमा तीन हजार पाँच सय २७ नेपाली र चार सय ५६ विदेशी पर्यटक भित्रिएका थिए ।

सामाजिक सुरक्षा कोषमा पर्यटन क्षेत्रका श्रमिकको आबद्धता न्यून

काठमाडौं । सरकारले लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा पदयात्रा तथा पर्वतीय पर्यटन क्षेत्रमा कार्यरत श्रमिकको आबद्धता न्यून रहेको बताइएको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले सामाजिक सुरक्षा कोषको सहकार्यमा आइतबार यहाँ आयोजना गरेको ‘पर्वतीय पर्यटन क्षेत्रमा आबद्ध व्यवसायी तथा श्रमिकका लागि योगदानमा आधारित सुरक्षा प्रणालीमा आबद्धतासम्बन्धी अभिमुखीकरण कार्यक्रम’ का वक्ताले सामाजिक सुरक्षा कोषमा पर्यटन क्षेत्रको न्यून उपस्थिति रहेको बताएका हुन् । कार्यक्रममा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक नरेशराज खरेलले काम गर्न नसक्ने अवस्थामा सामाजिक सुरक्षा कोषले सहयोग गर्ने भएकाले सबै व्यवसायी तथा श्रमिक उक्त कोषमा आबद्ध हुनुपर्ने बताए । ‘योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीले व्यवसायी र श्रमिकबीचको सम्बन्धलाई समेत बलियो बनाउन सहयोग पुग्नेछ,’ उनले भने । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले विसं २०७६ साउनदेखि लागू भएको योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा हालसम्म पाँच लाखभन्दा बढी श्रमिक आबद्ध भइसकेको र तीन लाख श्रमिकले निरन्तर कोषमा योगदान गरिरहेको उल्लेख गरे । श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध हुने हक संविधानले नै प्रदान गरेकाले सरकारले उक्त योजना अगाडि सारेको उनको भनाइ छ । कोषका उपनिर्देशक दिनेशकुमार कोइरालाले अन्य क्षेत्रको भन्दा पर्यटन क्षेत्रको आबद्धता सामाजिक सुरक्षा कोषमा कमी भएको बताए । ‘सामाजिक सुरक्षा कोषमा पर्यटन क्षेत्रको एक सय ६५ कम्पनीका झन्डै ६ सय श्रमिकमात्र आबद्ध रहेका छन्, यो पर्यटन क्षेत्रका लागि न्यून हो,’ उनले भने । टानका अध्यक्ष नीलहरि बाँस्तोलाले श्रमिकका लागि जोखिमपूर्ण मानिएको साहसिक पर्यटन यामअनुसार चल्ने भएकाले सामाजिक सुरक्षा कोषमा यस क्षेत्रको आबद्धता कमी भएको बताए । उनले टानमा आबद्ध सबै व्यवसायीलाई र त्यहाँ कार्यरत श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउन लागिएको उल्लेख गरे । टानका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद दाहालले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीले जोखिमपूर्ण अवस्थामा रहेका नेपालका पर्यटन क्षेत्रमा कार्यरत श्रमिकलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे । सोही कार्यक्रममा सामाजिक सुरक्षा कोषमा आबद्ध टानका कार्यसमितिको पदाधिकारी तथा सदस्यलाई आबद्धता प्रमाणपत्र वितरण गरिएको टानका महासचिव विनोद सापकोटाले जानकारी दिए । कार्यक्रममा नेपाल पर्यटन बोर्ड, पर्यटन क्षेत्रमा क्रियाशील नेपाल एसोसिएसन टुर्स एन्ड ट्राभल (नाट्टा), टुरिष्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान), गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) लगायतका अध्यक्ष एवम् पदाधिकारीको सहभागिता रहेको थियो ।

कोशीका २३ लाख नागरिक स्वास्थ्य बीमामा आबद्ध

मोरङ । सरकारले नागरिकको स्वास्थ्य उपचारका लागि ल्याएको स्वास्थ्य बीमा कार्यक्रम विश्वमा सबैभन्दा न्यून रकममा स्वास्थ्य सेवा भएको सहभागीहरूले बताएका छन् । स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशद्वारा ‘स्वास्थ्य सेवामा सर्वव्यापी पहुँचका लागि स्वास्थ्य बीमा’ आठौँ स्वास्थ्य बीमा वार्षिकोत्सवको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा सहभागी वक्ताले स्वास्थ्य सेवा संस्थाले सहज र सरल रुपमा सेवा प्रवाह गर्नुपर्ने तथा बीमितले अनावश्यक स्वास्थ्य परीक्षण गरी सेवाको दुरुपयोग गर्न नहुने धारणा राखे । उनीहरूले राज्यले धेरै ठूलो अपेक्षा राखी सुरु गरेको यस कार्यक्रमलाई हामी सबैले सफल गरी संरक्षण गर्नुपर्ने बताए । कार्यक्रममा डा. शंकरप्रसाद अधिकारीले स्वास्थ्य बीमा कार्यक्रमले न्यूनतम रकममा अधिकतम स्वास्थ्य उपचार सेवा प्राप्त हुने भएकाले सम्पूर्ण नागरिकले बीमा गर्न आग्रह गरे । बोर्डका प्रदेश संयोजक अर्जुन पण्डितले बोर्डले मुलुकभरि गत वर्ष १६ अर्ब र चालु वर्षको आठ महिनाको अवधिमा चारपटक गरी आठ अर्ब रुपैयाँ सेवा प्रदायक स्वास्थ्य सेवा संस्थालाई भुक्तानी गरेको जानकारी दिए । कार्यक्रममा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने विभिन्न स्वास्थ्य संस्थाका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सोही अवसरमा विराटनगर–३ का उत्कृष्ट बीमा दर्ता सहयोगी विमला खनाललाई सम्मान गरिएको थियो । प्रदेशमा कूल बीमित परिवार संख्या चार लाख ४४ हजार नौ सय ११, कूल बीमित जनसङख्या २३ लाख नौ हजार आठ सय ५५ जना (४७ प्रतिशत), सेवा लिनेको बीमितको संख्या ११ लाख तीन हजार चार सय ३४ जना (४८ प्रतिशत) र नवीकरण गर्ने बीमितको संख्या ७७ दशमलव २९ प्रतिशत रहेको बोर्डद्वारा उपलब्ध तथ्यांकमा उल्लेख गरिएको छ । प्रदेश बोर्डअन्तर्गत सरकारी ८०, सामुदायिक चार र निजी २२ गरी एक सय ६ सेवा प्रदायक स्वास्थ्य संस्था आबद्ध रहेका छन् । हालसम्म नेपालमा ७७ लाख ४१ हजार चार सय ५३ जना (२२ दशमलव ५४ प्रतिशत) नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका छन् । बोर्डले लक्षित वर्गबाहेक स्वास्थ्य बीमा सेवाको दुरुपयोग रोक्नका लागि सेवा प्रदान गर्ने स्वास्थ्य संस्थामा जम्मा रकमको १० प्रतिशत भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको छ ।

द्वारिका काफ्लेको नेतृत्वमा फोटो पत्रकार क्लबको नयाँ कार्यसमिति चयन

काठमाडौं । फोटो पत्रकारहरूको छाता संगठन पिजे क्लब, नेपालमा नयाँ नेतृत्व आएको छ । आइतबार सम्पन्न संस्थाको १३औं वार्षिक साधारणसभाले द्वारिका काफ्लेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा कान्तिपुर दैनिकका अंगद ढकाल, महासचिवमा नयाँपत्रिकाका अमुल थापा, सचिवमा गोरखापत्र दैनिकका कबिन अधिकारी, कोषाध्यक्षमा केशव थापा निर्विरोध निर्वाचित भएका छन् । यसै गरी सदस्यहरूमा संन्जोग मानन्धर, निशा भण्डारी, इलिट जोशी, बिजु महर्जन, सरोज बैजु र सन्जित परियार निर्विरोध चयन भएका छन् । नेपालका विभिन्न छापा सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरुको छाता संगठन पिजे क्लब, नेपालको निर्वाचन अधिवेशनका रूपमा समेत सम्पन्न साधारणसभाले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो ।

सेबोनको अध्यक्षका लागि पाँच जनाको नाम सर्टलिष्ट, कसले मार्ला बाजी ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि पाँच जनाको नाम सर्टलिष्ट भएको छ । आबेदन दिएका १९ जनाहरूमध्येबाट पाँच जनाको नाम सर्टलिष्ट गरिएकाको हो । सर्टलिष्टमा धितोपत्र बोर्डका कार्यकारी निर्दशक डा.नवराज अधिकारी, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, र तत्कालीन बीमा समितिका अध्यक्ष चिरिन्जीवी चापागाईं र सन्तोष नारायण श्रेष्ठ रहेका छन् । बोर्डमा अध्यक्ष नियुक्तिको सिफारिसका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठ संयोजक रहेको समितिले सर्टलिष्टमा परेका पाँच जनाको अन्तर्वार्ता र प्रस्तुतिकरण लिएपछि तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नेछ । सिफारिसमा परेका तीन जनामध्येबाट एक जनालाई मन्त्रिपरिषदले धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ । अहिले सर्टलिष्टमा परेका नवकार र मुक्ति बोर्डमै कार्यकारी निर्देशकका रूपमा काम गरिरहेका छन् । कार्की नेप्सेमा सीईओका रूपमा कार्यरत छन् । चापागाईंले तत्कालीन बीमा समिति (हालको बीमा प्राधिकरण)को अध्यक्षको रूपमा काम गरेका थिए । धेरैले चापागाईंलाई सेबोनको अध्यक्षको बलियो दाबेदारका रूपमा हेरेका छन् । समितिको अध्यक्ष हुँदा प्रभावकारी काम गरेकोले सेबोनमा पनि उनले नेतृत्व गर्न सक्ने भन्दै सरकारले उनलाई अध्यक्षका लागि नियुक्त गर्न सक्ने अनुमान धेरैको छ ।