वैदेशिक रोजगारीमा ठगिएको ९ करोड २४ लाख फिर्ता
बागलुङ । पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा वृद्धि भएसँगै यस क्षेत्रमा आउने समस्या पनि बढ्दै गएका छन्। वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै दलालको लोभमा पर्ने, ठगिने, अङ्गभङ्ग हुने, शारीरिक अपाङ्गता, मानसिक समस्याका साथै घरपरिवारमा कलह सिर्जना हुने गरेका छन्। वैदेशिक रोजगारीमा जानेले पर्याप्त जानकारी नलिई, सिप नसिक्दै विदेश पुग्दा ठूलो दुःखकष्ट भोग्दै आएका छन्। वैदेशिक रोजगारीमा आउने समस्यामा बागलुङमा सामी परियोजना प्रभावकारी बन्दै आएको छ। दलालले प्रलोभनमा पारेर ठगेको रकम फिर्ताको पहल गर्ने, सिप सिकाउने, विदेश जानुपूर्व परामर्श दिने र विदेशबाट नेपालमा आएको रेमिट्यान्सको सदुपयोगमा प्रभावकारी भूमिका खेल्दै आएको सामी कार्यक्रमका गण्डकी प्रदेश व्यवस्थापक उमा शर्माले बताइन्। उनका अनुसार यहाँ सामी सुरु भएको चार वर्षमा परियोजनाको सहजीकरणमा दलालले ठगेको ९ करोड रुपैयाँभन्दा बढी रकम फिर्ता गरिएको छ। सामीको सहजीकरणमा रु ९ करोड २४ लाख ६७ हजार ७८९ विभिन्न ठगी गर्ने व्यक्तिबाट पीडितलाई फिर्ता गराउन सफल भएको व्यवस्थापक शर्माले जानकारी दिइन्। उनका अनुसार सामीमा दर्ता भएका तीन सय १४ निवेदनमध्ये एक सय ६८ वटाको समाधान भइसकेको छ। ‘२०७६ सालबाट बागलुङमा सामी परियोजना सुरु गरेका छौँ। अहिलेसम्म वैदेशिक रोजगारीमा आइपरेका ३१४ समस्या हाम्रो कार्यालयमा दर्ता भएकामा १६८ को समाधान गर्न सफल भएका छौँ। दलालले प्रलोभनमा पारेर ठगेको ९ करोड बढी रकम फिर्ता गराएका छौँ,’ शर्माले भनिन्, ‘पीडितले रकमसँगै आगामी दिनमा वैदेशिक रोजगारी जाँदा कसरी ठगिनबाट बच्ने भनेर सिकेका छन्।’ स्वदेशमै केही गर्नुपर्नेमा जोड दिइएको भन्दै उनले विदेश जानै परे सुरक्षित रुपमा जानका लागि सीप तथा आवश्यक परामर्श दिने गरिएको बताइन्। ‘कामको लेनदेन गर्दा बैंकिङ कारोबार र वैदेशिक रोजगारी खुल्ने गरी कारोबार गर्दा धेरै समस्या समाधान हुन्छ,’ उनले भनिन्। वैदेशिक रोजगारीमा जानु नेपालीको बाध्यतालाई धेरैले ठगीको धन्दा बनाउने गरेका शर्माको भनाइ छ। नेपालमा हरेक वर्ष पाँच लाख युवा श्रम बजारमा आउने गरेका छन्। नेपालले करिब साढे एक लाख जतिलाई सामान्य रोजगारी दिने तथ्याङ्कमा उल्लेख रहेको बताउँदै शर्माले बाँकी युवाको श्रम गन्तव्य वैदेशिक रोजगार रहेकाले अहिले ठूलो समस्या वैदेशिक रोजगार क्षेत्रमा देखिएको बताइन्। युवा वैदेशिक रोजगारी जाँदा अरुलाई विश्वास गर्ने तथा ठगी गर्नेले पनि उनीहरुको बाध्यताको फाइदा उठाउने गरेकाले पर्याप्त सूचना र ज्ञान लिएर मात्रै अघि बढ्नुपर्ने जिल्लास्थित परियोजनाका संयोजक मीन उपाध्यायले बताए। उनले पछिल्लो समय सामाजिक सञ्जालबाट आकर्षक तलब सुविधा भन्दै गरिएको प्रचारप्रसारको भरमा दलाललाई रकम बुझाउने समस्यामा धेरै परेको बताए। ‘कतिपयलाई वैदेशिक रोजगारीमा ठगिएपछि जाने निकायको विषयमा जानकारी छैन। बागलुङ नगरपालिका र वैदेशिक रोजगार विभागको समन्वयनमा सञ्चालित परियोजनाको विषयमा जानकारी छैन,’ उपाध्यायले भने, ‘राम्रो सूचना र जानकारीको अभावमा ठगिने र रकम दिने गरेका छन्। वैदेशिक प्रयोजनका लागि दिएको भन्ने प्रमाण नहुँदा ठगिएको रकम फिर्ता गर्न कठिन हुने गरेको छ। त्यसैले जिल्ला प्रशासनमा पासपोर्ट बनाउने समयमै हामीले परामर्श गर्दै आएका छौँ। केही हदसम्म हाम्रो कार्यक्रमले ठगिनबाट जोगिनुभएको छ।’ अवैधानिक बाटोबाट विदेश जाने बढी ठगिने गरेको उपाध्यायको अनुभव छ। ‘अहिले नेपालमा दैनिक २५ सय युवा वैदेशिक रोजगार विभागबाट श्रम अनुमति लिएर विदेश जान्छन्,’ उनले भने, ‘जति पासपोर्ट बनेका छन् त्यसको तुलनामा अनुमति लिनेको सङ्ख्या कम छ। यसको अर्थ अनुमति नलिइकन विदेश गएको भन्ने हो, त्यसै गएका झनै बढी ठगिएको पाइन्छ।’ उनका अनुसार परियोजनाले पाँच वटा योजनाअन्तर्गत काम गर्दै आएको छ। जिल्लाका बागलुङ, जैमिनी र गलकोट नगरपालिकाका साथै काठेखोला गाउँपालिकामा परियोजना सञ्चालित छ। परियोजनाले सूचना तथा परामर्श, न्यायमा पहुँच, वित्तीय साक्षरता, मनोसामाजिक परामर्श र सीप विकास तालिम कार्यक्रम सञ्चालन गरिरहेको संयोजक उपाध्यायले जानकारी दिए। परियोजनाले जिल्ला प्रशासन कार्यालयमा सूचना केन्द्रको स्थापना गरेर परामर्शसँगै ठगी लगायतका समस्यामा सहजीकरण गर्ने गरेको छ। वैदेशिक रोजगारीले नेपालमा ठूलो रेमिट्यान्स भित्रिए पनि त्यसको असरले समाजमा परेको सामाजिक मूल्य भने देशले चुकाउन नसक्ने अवस्थाको रहेको उनको भनाइ छ। अभिभावकको रेखदेखमा नरहेका बालबालिका, किशोर र युवावस्थामा प्रवेश गर्दा लागुऔषधलगायतका अन्य दुर्व्यसनमा जाने गरेको देखिएको छ। बागलुङबाट चालु आर्थिक वर्षमा मात्रै साढे १२ हजार बढी युवा वैदेशिक रोजगारीमा गएका छन्। परियोजनाले बागलुङका तीन सय नौ जनालाई सिपमूलक तालिम दिएको जनाएको छ। रासस
सलिकोको १ लाख १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको संस्थापक समूहको सेयर बिक्रीमा राखेकाे छ । कम्पनीले एक सूचना जारी गर्दै आजदेखि १ लाख १४ हजार ६ सय १२ कित्ता संस्थापक सेयर गोप्य शिलबन्दी बोलपत्रबाट बिक्रीमा राखिएकाे जनाएकाे हो । संस्थापक सेयरधनीले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याइएको उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य २७५ रुपैयाँ तोकिएको छ । खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ । बोलपत्र पेस गर्दा न्यूनतम एक हजार कित्ता र अधिकतम सबै कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरूले खरिद गर्न चाहेको सेयर संख्या र सोको मूल्यसमेत तोकि बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड नक्साल, काठमाडौंमा आवेदन दिनुपर्नेछ । आवेदन दिने अन्तिम मिति जेठ १ गते रहेको छ ।
आगलागीबाट दमकमा दुई करोडको क्षति
दमक । दमकस्थित लाइफलाइन अस्पताल नजिक मंगलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । अस्पताल नजिक रहेको प्रेमबहादुर धिमालको घरबाट सल्केको आगो अन्य तीन घरमा फैलिँदा उक्त क्षति भएको हो । प्रहरी कार्यालय झापाका अनुसार धिमालको घरबाट सुरु भएको आगो अस्पतालको डाइलिसिस गराउने भवनमा फैलदा अस्पतालका उपकरण र अन्य सामाग्री नष्ट भएका छन् । अस्पतालका अध्यक्ष डा. मुक्तिनाथ भट्टराईले डाइलिसिस मेसिन काम नलाग्ने भएकाले अस्पतालको डाइलिसिस सेवा पूर्ण बन्द भएको बताए । दमक नगरपालिका, कमल गाउँपालिका, पथरीशनिश्चरे नगरपालिका, उर्लाबारी नगरपालिकालगायत स्थानीय निकायका ६ वटा वारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा आगो निभाइएको थियो । लामखुट्टे भगाउन बालिएको अण्डा राख्ने ‘क्यारेट’बाट आगो सल्किएको स्थानीय एक महिलाले बताइन् ।
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागको मौसम मुख्यतया सफा रहेको छ । बुधबार दिउँसो पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुनुका साथै बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानका साथै अन्य केही भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
१३२ केभी बुर्तिबाङ सबस्टेसनको काम अन्तिम चरणमा
ढोरपाटन । पाँच वर्षअघि निर्माण सुरु भएको बुर्तिबाङ सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ । पश्चिम बागलुङलाई केन्द्रीय प्रसारण लाइनसँग जोड्न कपिलवस्तुको मोतिपुर–अर्घाखाँचीको सन्धिखर्क–गुल्मीको तम्घास–पौँदीअमराई हुँदै बुर्तिबाङ जोड्ने १३२ केभीको सबस्टेशनको काम अन्तिम चरणमा पुगेको हो । ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा निर्माणाधीन सबस्टेसनको काम ८० प्रतिशत सम्पन्न भएको ‘१३२ किलोभोल्ट बुर्तिबाङ सबस्टेशन आयोजना’ प्रमुख मनोज चौधरीले बताए । निर्माण पू्रा हुनासाथ गुल्मीको तम्घासको सवस्टेशन आगामी वैशाख १९ गते तथा सोही जिल्लाको पौँदीअमराई र बागलुङको बुर्तिबाङ सबस्टेसन अगामी असारमा परीक्षण गर्नेगरी द्रुत गतिमा काम भइरहेको उनले बताए । आयोजना प्रमुख चौधरीले भने, ‘सबस्टेसन बनाउने र लाइन तान्ने काम निर्माण कम्पनीहरुले धमाधम काम गरिहेका छन्, असारसम्म कुनै प्राविधिक अवरोध नभए परीक्षण गर्ने योजना छ, निर्माण कम्पनीलाई पनि असारभित्रमा काम सम्पन्न गर्ने ठेक्का दिइएको हो । अब फिल्डको काम मात्रै बाँकी छ, पौँदीअमराई र बुर्तिबाङमा एकैपटक परीक्षण हुन्छ ।’ सदरमुकाम बागलुङ बजार र आसपासका क्षेत्र केन्द्रीय प्रसारण लाइनले जोडिए पनि पश्चिम बागलुङमा केन्द्रीय प्रसारण लाइन पुगेको थिएन । नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले जिल्लाको पश्चिम क्षेत्रलाई प्राथमिकता दिएर लाइन विस्तार गर्दै आएको छ । अहिलेसम्म निसीखोला र तमानखोला भेग केन्द्रीय लाइनबाट जोडिएका छैनन् तर प्राधिकरणले निसीखोला, तमानखोला र ढोरपाटन नगरपालिका धेरै स्थानमा पोल गाड्ने र तार तान्ने काम गरिरहेको छ ।
अर्थतन्त्र विकासका लागि सरकार र निजी क्षेत्रबीच थप सहकार्य आवश्यक छ : मन्त्री अर्याल
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले देशको अर्थतन्त्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच थप सहकार्य आवश्यक रहेको बताएका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँगको भेटमा उनले सो बताएका हुन् । भेटमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषदका सभापती ज्योत्सना श्रेष्ठले श्रम संबन्धलाई भरपर्दो, बलियो र उत्पादकत्व बृद्धि गर्नतर्फ जोड दिन पर्ने बताइन् । केहि महिना अगाडी महासंघ र जेटीयूसीसीबीच समझदारी भएको र त्यसलाई प्रभावकारी बनाउने क्रममा चाँडैनै रणनीतिक योजना बनाएर अगाडी बढ्ने विषय जानकारी गराउँदै उनले देशबाट सीपयुक्त श्रम शक्ति बाहिर गई रहँदा भोली देशले भोग्न पर्ने श्रम चुनौतीलाई अहिल्यै मनन गर्नुपर्ने बताइन् । साथै, उनले श्रमिकहरुका लागि तालिम कार्यक्रमहरु संचालन र तिनीहरुलाई उत्पादनमूलक क्षेत्रमा लगाईराख्न ध्यानाकर्षण गराइन् । भेटमा गएका पदाधिकारीले श्रम विवादको छिटोछरितो समाधान गर्न प्रदेशमा रहेका उच्च अदालतलाई श्रम सम्बन्धी बिबाद हेर्ने गरी क्षेत्राधिकार तोक्ने व्यवस्था गर्न अनुरोध गरे । साथै, अन्तराष्ट्रिय श्रम संगठन महासन्धी नं. ८७ र त्यसका मापदण्डहरुमा व्यापक छलफल गर्न पर्ने र बैदेशिक रोजगारीबाट फर्केर आएकाहरुको पुन एकिकरण, श्रमिकलाई तालिम आदि बिषयहरुमा सरकार र निजी क्षेत्र कोअर्डिनेटेड रुपमा काम गर्न पर्ने पदाधिकारीहरुको भनाई थियो । श्रममन्त्री अर्यालले महासंघले उठाएका बिषय गम्भीर रहेको र त्यसमध्ये प्रदेशमा रहेका उच्च अदालतहरुलाई ऐनको दफा १५८ अनुसार क्षेत्राधिार तोकी श्रम अदालतको काम गर्न दिने भने बिषयमा बागमतीलाई काठमाण्डौले हेर्ने र बाँकी सबै ६ प्रदेश स्थित उच्च अदालतहरुलाई अधिरकार दिने गरी मन्त्रालयबाट काम भइसकको बताए । त्यसैगरी श्रमिकलाई तालीम दिने सम्बन्धमा मन्त्रालयले तालिम दशक मनाउँदै गरेकाले त्यसका लागि निजी क्षेत्र नेउवा महासंघसंग सहकार्य गरेर अगाडी बढ्ने विषयमा मन्त्रालयमा छलफल भइरहेको समेत उनले जानकारी गराए । साथै, अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धी नं. ८७ का सम्बन्धमा मन्त्रालयमा छलफल भइरहेको उनले जानकारी गराए ।
ग्लोबल आईएमई बैंकको ऋणपत्रको सूचीकरण खारेज
काठमाडौं । ग्लोबल आईएमई बैंकको ऋणपत्रको सूचीकरण खारेज भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बैंकको ‘१०.२५ प्रतिशत ग्लोबल आइएमई लि. डिबेन्चर २०८०।८१’ को सूचीकरण खारेज भएको हो । सो ऋणपत्र चैत २७ गते परिपक्व भएकोले नेप्सेले सूचीकरण खारेज गरेको जनाएको छ । बैंकले जारी गरेको ५ वर्षे अवधिको प्रतिथान अंकित मूल्य एक हजार रुपैयाँ दरको १ अर्ब ५० करोड बराबरको १५ लाख थान ऋणपत्रको सूचीकरण खारेज भएको हो ।
ग्रीन डेभलपमेन्ट बैंकको लाभांशसँगै सेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको प्रस्तावित लाभांश पारित भएको छ । मंगलबार सम्पन्न बैंकको दशौं र एघारौं वार्षिक साधारण सभाले बैंकको ३.८ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । त्यस्तै, बैंकको संस्थापक सेयर र सर्वसाधारण सेयरको अनुपात ५१ः४९ प्रतिशत कायम हुने प्रस्ताव पनि पारित भएको छ । सभामा संस्थापक सेयरधनीहरुको प्रतिनिधित्व गर्ने ३ (तीन) जना संचालकहरुको निर्विरोध निर्वाचन भएको छ । त्यस्तै, सभाले सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्ने २ (दुई) जना संचालकहरुको नियुक्ती अनुमोदन गरेको छ । साथै, सञ्चालक समितिले स्वतन्त्र संचालक नियुक्त गरेको जानकारी समेत सभामा दिएको छ । उक्त सभाले आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण नियुक्ती गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखापरीक्षक सुजन काफ्ले एण्ड एसोसियट्स चार्टड एकाउन्टेन्टलाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ । साधारणसभामा बैंकका प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकीले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएको लक्ष्यहरु हासिल हुने गरी कार्यक्रम संचालन गरिएको तथा चालु आर्थिक वर्षमा बैंकले सेयरधनीको अपेक्षा बमोजिमको लक्ष्य हासिल गर्ने बताए ।