विकासन्युज

काठमाडौंका यी स्थानमा ४ दिनसम्म बिजुली जाने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार आजबाट वैशाख ८ गतेसम्म दैनिक ६ घण्टा बिजुली कटौती हुने भएको छ । विद्युत् प्राधिकरणले मंगलबार सूचना जारी गर्दै प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजनाले स्युचाटारदेखि बालाजु सब स्टेसनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको पुरानो कन्डक्टर (तार) लाई नयाँ कन्डक्टर तारले बदली गरी मर्मत कार्य गर्न लागिएको हुँदा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म बिजुली अवरुद्ध हुने भएको जानकारी दिएको छ । बिजुली कटौती हुने क्षेत्रहरूमा सीतापाइला फिडर, कुलेश्वर वितरण केन्द्र, इचङ्गु फिडर, बालाजु वितरण केन्द्र क्षेत्रका सोल्टी दोबाटो, मुसलमान टोल, ज्योति एकेडेमी, कारखाना चोक र सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक क्षेत्र सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक, सानो भर्‍याङ, ठुलो भर्‍याङ, कामना स्कुल, अन्नपूर्ण चोक क्षेत्र ढुङ्गेधारा, क्लब घर र तरकारी बजार (बालाजु सब स्टेसन पछाडि) छन् ।

कुमारी बैंकको १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको १० लाख कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकले बुधबार एक सूचना जारी गरी बैंकका संस्थापक सेयरधनी वीरेन्द्रकुमार साहको नाममा रहेको १० लाख कित्ता सेयर बिक्रीमा राखिएको जनाएको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिन सक्नेछन् । सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ । बैंकका अनुसार तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघसंस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने छ ।

देशभर मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले केही स्थानमा आंशिक बदली भई बाँकी भागमा सामान्यतया मौसम सफा रहने बताएको छ । अहिले देशका पहाडी भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना छ । त्यसैगरी राति देशका अधिकांश स्थानमा आंशिक बदली हुनेछ भने बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । महाशाखाले बुधबार बिहान जारी गरेको मौसम बुलेटिनमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा हुरीबतासको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।

हिन्दू धर्मावलम्बीले आज राम नवमी मनाउँदै

काठमाडौं । आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन । राम जयन्तीका नामले पनि परिचित राम नवमीलाई असत्य र अन्धकारमाथि सत्य र मर्यादाको उज्यालो प्रादुर्भाव भएको दिनका रूपमा लिइन्छ । देशका विभिन्न भागमा रहेका राम मन्दिरका साथै घर–घरमा वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले मर्यादा पुरुषोत्तम श्रीरामको श्रद्धा, भक्तिपूर्वक पूजा आराधना गरी राम नवमी पर्व मनाउँदै छन् । काठमाडौं उपत्यकाको बत्तीसपुतलीस्थित राम मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । जनकपुरधाममा रहेको रामजानकी मन्दिरमा पनि पूजाअर्चना गर्न भक्तजनको घुइँचो लागेको त्यहाँबाट हाम्रा समाचारदाताले जनाएका छन् । आज जानकी मन्दिर परिसरमा मेला पनि लाग्दछ । उक्त मेलामा भारतबाट समेत हजारौँ श्रद्धालु भक्तजन सहभागी भई पवित्र गङ्गासागरमा स्नान गरी रामजानकी मन्दिरमा पूजाआजा गर्दछन् । आज स्नान गरी पवित्र भएर व्रत बस्ने गरिन्छ भने रामगीता र रामायण पाठ पनि गरिन्छ । रामभक्तियुक्त भजनकीर्तनका साथ राति जाग्राम बस्ने परम्परा पनि छ । धार्मिक शास्त्रअनुसार भगवान् श्ररिामले परिवार, समाज र राज्यभित्र कायम हुनुपर्ने सबै मर्यादाको कायम गरेका कारण उनलाई मर्यादा पुरुषोत्तम भनिएको हो । राम राज्यका नामले परिचित भगवान् रामको राज्य न्यायका लागि नमुना मानिन्छ । रासस

‘देशैभर पुग्यो पाठ्यपुस्तक’

भक्तपुर । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको छ । २०८१ को शैक्षिक सत्रको सुरुवातमै देशभर पाठ्यपुस्तक पुर्‍याएको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए । चैत १६ गतेदेखि केन्द्रले आफ्ना सात वटै प्रादेशिक कार्यालय, देशभरका वितरण केन्द्र एवं डिपो र १ हजार २ सय ६७ वटा स्थानीय बिक्रेतामार्फत पुस्तक पुर्‍याएको उनले बताए । प्रबन्ध निर्देशक झाले भने, ‘हामीले जिम्मेवारी पाएको कक्षा ५ देखि १० सम्मका सम्पूर्ण सेटमै सतप्रतिशत पाठ्यपुस्तक छपाइ सकेर देशभर पुस्तक वितरण गरेका छौँ । नयाँ शैक्षिक सत्र सुरु हुदाँसम्म पूरै सेट सबै कक्षाका विद्यार्थीको हातहातमा पुग्ने गरी वितरण भएको छ ।’ केन्द्रले यस वर्षका लागि १ करोड २० लाख थान पुस्तक बिक्री गरेको उनले जानकारी दिए । गत वर्ष १ करोड ३१ लाख थान पुस्तक बिक्री गरेको थियो । यस वर्ष पुस्तकको माग कम भएकाले गत वर्षभन्दा ११ लाख थान पुस्तक कम बिक्री गरेको केन्द्रको तथ्यांक छ । उनले गत वर्षको स्टक र यस वर्षको छपाइ गरेर कूल १ करोड ७५ लाख थान पुस्तक केन्द्रसँग रहेकोमा अहिले ३० प्रतिशत पुस्तक स्टक रहेको जानकारी दिए । गत वर्ष नयाँ पाठ्यक्रमको पुस्तक छपाइ गरेकाले बढी बिक्री भएको र यस वर्ष पुरानै पाठ्यक्रमका पुस्तक रहेकाले कतिपय विद्यार्थीले गत वर्षकै पुस्तक चलाएकाले कम बिक्री भएको हुनसक्ने उनले बताए । ‘यस वर्ष पुस्तक कम बिक्री भएपनि सबै विद्यालयमा पुस्तक पुगिसकेको जानकारी पाएका छौँ,’ उनले भने, ‘कुनै विद्यालयमा पुस्तक पुगेन भने खबर पाउनासाथ तुरुन्तै पुस्तक पु(याउँछौँ, हाम्रो टेलिफोन नम्बर पनि पठाएका छौँ, अहिलेसम्म पुस्तक छौँ भनेर कतैबाट गुनासो आएको छैन ।’ केन्द्रले यसै शैक्षिक सत्रका लागि ५ देखि १२ कक्षासम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको थियो । गत शैक्षिक सत्रमा कक्षा ६ देखि १२ सम्मको पुस्तक समयमै पुर्‍याउन सफल भएकाले सरकारले केन्द्रलाई कक्षा ५ देखिकै पुस्तक छपाइको जिम्मेवारी दिएको थियो । केन्द्रका प्रबन्ध निर्देशक झाले आगामी वर्षदेखि सरकारले कक्षा १ देखिकै पुस्तक छपाइको जिम्मेवारी दिए केन्द्रले समयमै वितरण गर्न सक्ने बताए । सरकारले गत वर्ष निजी क्षेत्रका छापाखानालाई कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मा दिए पनि यसवर्ष कक्षा १ देखि ४ सम्मको मात्रै दिएको थियो ।

गृहमन्त्री लामिछानेको प्रश्न : जीबी राईका बदमासीको ठेक्का मैले लिनुपर्ने हो ?

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नभएको बताएका छन् । रुपन्देहीको सुप्रिमो सहकारी ठगी प्रकरणमा सार्वजनिक समाचारका विषयमा गृहमन्त्री लामिछानेले मंगलबार सामाजिक सञ्जालमार्फत उक्त प्रकरणमा आफ्नो सहभागिता अस्वीकार गरेका हुन् । उनले आफ्नो नाममा नक्कली खाता खोलेर ऋण प्रावह भएको जनाउँदै आफूले ऋण नलिएको र व्यक्तिगत खातामा सहकारीको पैसा नआएको दाबी पनि गरेका छन् । उनले अनुसन्धानले देखाएअनुसार उक्त ऋण खाता खोल्दा नागरिकता, ऋण माग गरेको फारम, तिनपुस्ते विवरणलगायतका कुनै विवरण नभएको तथा ल्याप्चे, हस्ताक्षरसमेत नभएको पनि बताएका छन् । उनले के जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनुपर्ने हो ? भन्दै प्रश्न पनि गरेका छन् । उनले गोरखा मिडिया नेटवर्क प्रालिमा तत्कालीन समयमा सेयरधनी रहेकोबाहेक अरु केही नभएको जानकारी गराउँदै अभियोगपत्रमा पनि सोही कुरा उल्लेख भएको दाबी गरेका छन् । उनले सहकारी ठगी कार्यमा कहीँकतैबाट नजोडिएको र नदेखिएको तथ्य पुष्टि हुँदाहुँदै प्रहरीको अनुसन्धान र अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने कार्यमा नलाग्न पनि अनुरोध गरेका छन् ।

जेसीबी इन्डियाले एक्साभेटरमा ५ वर्ष वारेन्टी दिने, ल्यायो नयाँ योजना

काठमाडौं । निर्माण उपकरण उत्पादनमा विश्वबजारको ब्राण्ड जेसीबी इन्डियाले एक्साभेटरहरूको लागि ५ वर्ष वा १० हजार घण्टाको वारेन्टी योजना ल्याएको छ । जेसीबीले नेपाली बजारलाई सहयोग गर्ने उद्देश्यले आफ्नो आधिकारिक वितरक एमएडब्लू अर्थ मुभर्सद्वारा उक्त योजना ल्याएको हो । एमएडब्लू अर्थ मुभर्सले विगत दुई दशक वर्षदेखि नेपालमा जेसीबीका निर्माण उपकरणहरु वितरण गर्दै आएको छ । एमएडब्लूको केन्द्रिय कार्यालय काठमाडौंमा छ भने नेपालभर ३२ वटा शाखा कार्यालयहरु छन् र तीनवटा अपरेटर प्रशिक्षण संस्थानहरू छन् । जहाँ युवाहरूलाई जेसीबी मेसिन चलाउन तालिम दिइन्छ । एमएडब्लूले नेपालमा आफ्नो चौथो अपरेटर ट्रेनिङ सेन्टर चितवनमा छिट्टै उद्घाटन गर्दैछ । जेसीबी इन्डियाका प्रमुख कार्यकारी अधिकृत दिपक शेट्टीले भने- ‘नेपाल हाम्रो लागि दक्षिण एसियाली क्षेत्रको महत्वपूर्ण बजार हो । यस क्षेत्रमा नेपालको नौलो पहिचान र स्थान छ, र हामीले हाम्रा ग्राहकहरूका लागि यहाँ सधैं अत्याधुनिक प्रविधियुक्त र उन्नत उत्पादनहरू प्रस्तुत गर्दै आएका छौं । हामी हाम्रो आधिकारिक डिलर एमएडब्लू अर्थ मुभर्समार्फत हामीले निरन्तर राम्रो सम्बन्ध कायम राख्न सफल भएका छौँ ।’ नेपालमा जेसीबीका १० हजार पाँच सयभन्दा धेरै उपकरणहरु सञ्चालनमा छन् । जसमध्ये ब्याकहो लोडर्स, एक्साभेटर, विल्ड लोडर्स, र टेलिह्याण्डलर्स प्रसिद्ध छन् । यी सम्पूर्ण उपकरणहरुका पार्ट-पूर्जा र सर्भिसमा एमएडब्लू अर्थ मुभर्सका राष्ट्रव्यापी आउटलेट सञ्जालमार्फत सर्भिस भ्यानहरु परिचालन गरी ग्राहकहरूलाई सेवा सहायता प्रदान गरिन्छ । जेसीबीका उपकरणहरुमा जेसीबी लाईभलिङ्क नामक अत्याधुनिक प्रविध जडित हुन्छ, जसले मेसिनहरूको सेवा, सञ्चालन र सुरक्षाको बारेमा तत्कालै जानकारी प्रदान गर्छ । शेट्टीले थपे- ‘नेपाली बजारमा निर्माण प्रक्रियाका विभिन्न चरणहरूमा रहेका पूर्वाधार परियोजनाले गर्दा आगामी वर्षहरूमा बृद्धिको बलियो अवसर रहेको देखिन्छ र जेसीबी यस प्रक्रियाको हिस्सा बन्न तत्पर छ ।’ एमएडब्लूका प्रिन्सिपल डिलर विष्णु अग्रवालले भने- ‘विश्वस्तरीय जेसीबीका उपकरणहरुद्वारा ग्राहकहरुलाई सहायता गर्नेवाहेक हामीले नेपाली युवा जनशक्तिहरुलाई देशमै रोजगारका अवसरहरु प्रदान गर्न पाउँदा निकै गर्व गर्छाैं । एमएडब्लूले हाल करिब ५०० जनालाई रोजगारी दिएको छ भने चालकहरूका लागि तीनवटा विश्वस्तरीय प्रशिक्षण केन्द्रहरूमा पनि लगानी गरेको छ । यी अपरेटर प्रशिक्षण केन्द्रहरूमा चालकहरूलाई जेसीबीका मेसिनहरू कसरी सुरक्षित रूपमा सञ्चालन गर्ने भनेर सिकाइन्छ। हालसम्म हामीले झण्डै ५ हजार चालकहरूलाई तालिम प्रदान गरिसकेका छौं ।’

अर्थतन्त्रका समस्या समाधान गर्न ठूलो शल्यक्रियाको खाँचो छ, मलमपट्टीले हुँदैन

नेपाल उद्योग परिसंघले उत्पादनमुलक तथा सेवामुलक उद्योगहरुको छाता संगठनको रुपमा विगत २० वर्षदेखि मुलुकमा औद्योगिक वातावरण निर्माण, लगानी प्रवर्द्धन, रोजगारी सिर्जना गर्दै देशको आर्थिक, सामाजिक विकासमा बलियो साझेदारको रुपमा महत्वपूर्ण योगदान गर्दै आएको छ । आगामी दिनमा समेत नेपाल सरकार, विकास साँझेदारलगायत निजी क्षेत्रका अन्य संघ संस्थाहरुसँग सहकार्य, समन्वय गर्दै यही दिशामा आफ्ना गतिविधिहरुलाई अगाडि बढाउन परिसंघ प्रतिबद्ध छ । परिसंघले केन्द्रमा ठूला र मझौला उद्योगहरुलाई प्रतिनिधित्व गरिरहेको छ भने सातै प्रदेश तथा जिल्ला उद्योग संघहरुमार्फत लघु, घरेलु तथा साना उद्योगहरुका मुद्धाहरुलाई समेत सशक्त रुपमा उठाउँदै आएको छ । १६औं योजना तर्जुमा गर्दा प्राथमिकता दिनुपर्ने विषयहरुको अध्ययन गरी राष्ट्रिय योजना आयोगलाई सुझाव बुझाएका छौं । परिसंघले दिएको सुझावहरुमध्ये करिब ४१ प्रतिशत सुझाव मस्यौदामा समेटिएको पनि छ । सन् २०२६ देखि हामी विकासशिल मुलुकमा स्तरउन्ती भएपछि हुन सक्ने हाम्रो अन्तर्राष्ट्रिय व्यापार, हामीले पाउदै आएको सुविधामा के कस्तो असर पर्छ र विकासशिल मुलुकमा स्तरोन्नती हुनुपूर्व कस्तो तयारीका साथ बस्नुपर्छ भन्ने विषयमा केन्द्रित रही नीतिगत बहस, सीप विकास सम्बन्धमा सार्वजनिक निजी संवाद, बजेटको सफल कार्यान्वयनमा रचनात्मक सहयोग पुर्याउने उद्देश्यले बजेट वाच जस्ता महत्वपूर्ण पहल, बहस तथा छलफल गर्दै आएका छौं । उद्यमशीलताको विकासका लागि परिसंघले युवा उद्यमीहरुलाई प्रबर्द्धन एवं प्रोत्साहन गर्ने कार्यलाई उच्च प्राथमिकतामा राख्दै इन्क्यूबेसन सेन्टर स्थापना गरी स्टार्टअप कम्पनीहरुलाई इन्टरनेशन ट्रेनरबाट तालिम प्रदान गर्दै आईरहेका छौं । साथै वार्षिक कार्यक्रम स्टार्टअप फेष्टमार्फत नविन सोच भएका युवा उद्यमीहरुलाई लगानी जुटाउने काम पनि हामीले गर्दै आएका छौं । परिसंघले सीप-स्कील नेपाल अभियान अन्तर्गत उद्योगहरूमा कामदारहरूको सीप विकास, रोजगारी सुनिश्चितता, उद्योगको उत्पादकत्वमा वृद्धि गर्न यूकेएआईडी सीपको सहयोग तथा साझेदारीमा सदस्य उद्योगहरूमा एप्रेन्टिससिप कार्यक्रम गरी २ हजार ३ सय ७५ जनालाई रोजगारीको अवसर सिर्जना गरेका छौं । साथै नेपाल सरकारको कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम एप्रेन्टिससिपमा पनि परिसंघमार्फत १ हजार ६ सय ६५ जनालाई तालिम दिई रोजगार उपलब्ध गर्ने गरी उद्योग मन्त्रालय अन्तर्गतको लघु, घरेलु, तथा साना उद्योग प्रवर्द्धन केन्द्र र ६ वटा उद्योगसँग परिसंघले त्रिपक्षिय सम्झौता गरेका छौं । यस्तै डुयल भीईटी एप्रेन्टिससिप कार्यान्वयनका लागि इन्स्योरसँग सहकार्य गरेका छौं । सीएनआईको नेतृत्वमा सीटीईभीटी/एनएसटीबीको समन्वय तथा सहकार्यमा उद्योग व्यवसायमा क्षेत्रमा आवश्यक जनशक्तिहरूको दक्षता विश्लेषण गरी सो अनुरूपको सीप प्रमाणिकरण, पाठ्यक्रम निर्माण तथा जनशक्ति उत्पादन गर्न नेपाल भोकेशनल क्वालिफिकेसन सिस्टम प्रोजेक्ट, एनभीक्यूएस-पीको प्राविधिक सहयोगमा कार्यक्रम संचालन गरिरहेका छौं । नेपाल उद्योग परिसंघले रिसर्चलाई उच्च महत्व दिएको छ । उद्योगसँग सम्बन्धित विषयमा रिसर्च गरेर मात्रै वास्तविक अवस्थाका विषयमा नेपाल सरकार, नियामक निकायहरुलाई सुझाव दिँदै आएका छौं । परिसंघमा स्थापना गरिएको अनुसन्धान इकाईले उद्योगहरूको वास्तविक अवस्थाको बारेमा त्रैमासिक रुपमा सिएनआई इन्डष्ट्रि स्ट्याटस् रिपोर्ट, मासिक रुपमा सीएनआई नेपाल इकोनोमी इन्साइट प्रकाशन गर्दै आएका छौं । उद्योग, उत्पादन एवं अर्थतन्त्रसँग सम्बन्धित विषयमा नेपाल सरकार, नियामक निकायहरुलाई आवश्यक तथ्यांकका लागि सहकार्य गर्दै आवश्यकता अनुसार रिसर्च गर्न परिसंघ तयार रहेको समेत जानकारी गराउन चाहन्छु । नेपाल उद्योग परिसंघले ठूला उद्योगहरुको प्रबर्द्धनमा मात्रै होइन साना उद्योगहरुको प्रवर्द्धन एवं प्रोत्साहनका लागि पनि काम गर्दै आएको छ । हालै सीएनआई वोमेन लिडरशीप फोरमको संयोजनमा प्रादेशिक तहमा कृषि क्षेत्रमा केन्द्रित महिला नेतृत्व कृषि सम्मेलन चितवनमा सम्पन्न गरेका छौं । यस सम्मेलनमा महिला कृषकहरुले उठाउनु भएका विषयहरु नीतिगत सुधारका लागि कृषि तथा पशुपन्छी मन्त्रालयलाई बुझाउँदैछौं । आसन्न लगानी सम्मेलनलाई सफल बनाउन सहयोग गर्ने गरी लगानी सम्मेलनको प्री इभेन्टको रुपमा लगानी बोर्डसँगको सहकार्यमा सीएनआई, एनएएस-आईटी र अमछम् नेपालको संयुक्त आयोजनामा सूचना प्रविधि उद्योगमा केन्द्रित टेकपिक नेपाल २०२४ सम्पन्न गरेका छौं । उद्योग परिसंघले सन् २०२१ देखि नेपाल सरकारसँगको साझेदारीमा ‘मेक इन नेपाल-स्वदेशी’ अभियान संचालन गरिरहेको छ । औद्योगिक उत्पादन वृद्धि गरी नेपाली वस्तु तथा सेवाको पहुँच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने यस महाअभियानमा ३ खर्ब रुपैयाँ बढीको कारोबार गरिरहेका, २० हजार बढीलाई प्रत्यक्ष एवं करिब ७५ हजारलाई परोक्ष रुपमा रोजगारी दिइरहेका १३५ स्वदेशी कम्पनीहरू आवद्ध भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयसँगको साँझेदारीमा परिसंघले संचालन गरिरहेको मेक इन नेपाल स्वदेशी अभियान अन्तर्गत आगामी बैशाख २१ गते स्वदेशी सम्मेलन आयोजना गर्न गईरहेका छौं । यो सम्मेलन स्वदेशी उद्योगहरुको प्रबर्द्धनका लागि आगामी बजेटले लिनुपर्ने नीतिगत सुझावमा केन्द्रित हुनेछ । दीगो पूर्वाधारबाट समग्र विकास गर्न सकिन्छ । उच्च अंकको आर्थिक बृद्धि हासिल गर्न पूर्वाधारमा लगानी बढाउन अति आवश्यक छ । सोही अवधारणालाई आत्मसाथ गर्दै परिसंघले सन् २०१४ देखि हरेक दुई दुई वर्षमा पूर्वाधार सम्मेलन गर्दै आएको छ । पूर्वाधार सम्मेलनको पाँचौं संस्करण आगामी सेप्टेम्बर १२ र १३ मा ‘सस्टिनेबल इन्फ्रास्ट्रक्चर थ्रु स्ट्रयाटेजिक इन्भेष्टमेन्ट’ थिममा काठमाडौंमा आयोजना हुन गइरहेको छ । निजी क्षेत्रले भोगेको अनुभव र अवस्था विदेशी विनिमय संचितिको हिसाबले बाह्य क्षेत्र राम्रो स्थितिमा छ । भुक्तानी सन्तुलन र चालु खाता समेत बचतमा छ । हालको विदेशी विनिमय सञ्चिति ८ वर्षयताकै उच्च हो । बाह्य क्षेत्र राम्रो भएपनि आन्तरिक अर्थतन्त्रमा अझै पनि अपेक्षित सुधार आउन नसक्नु बाह्य कारण मात्रै थिएन र होइन, आन्तरिक नै प्रमुख कारण हो भन्ने पुष्टि गर्दछ । बैंक तथा वित्तीय संस्थाहरुमा अर्बौ रुपैयाँ लगानी योग्य रकम छ । बैंकहरुमा पैसा थुप्रिने, लगानी गर्न नसक्ने अवस्थाको अन्त्य अपरिहार्य छ । समग्र बजार मागमा आएको उच्च कमीका कारण उद्योगी व्यवसायीहरु निकै अप्ठ्यारो अवस्थामा छन् । कतिपय उद्योग व्यवसायहरु बन्द भईसकेका छन् भने कतिपय बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन् । यस्तो असरबाट सबैभन्दा बढी साना तथा मझौला उद्योगहरु प्रभावित भईरहेकाछन् । साथै ठूला उद्योगहरुमा समेत यसको असर परेको छ । हाल समग्रमा उत्पादनमुलक उद्योगहरुले आफ्नो क्षमताको ४० प्रतिशत हाराहारीमा मात्रै उत्पादन गरिरहेका छन् । त्यसैले अर्थतन्त्रलाई अगाडि बढाउन समग्र माग बढाउने नीति लिन आवश्यक छ । केन्द्रिय तथ्यांक विभागले हालै सार्वजनिक गरेको जीडीपी सम्बन्धी प्रक्षेपणमा औद्योगिक वस्तु उत्पादन क्षेत्रमा गिरावट आउने, निर्माण क्षेत्रमा न्यून मात्र सुधार आउने प्रक्षेपण गरेको छ । नियामक निकायले लिएको नीतिका कारण अर्थतन्त्र विस्तार हुन नसक्ने र त्यसको असर आर्थिक बृद्धिमा पर्ने परिसंघले भन्दै आएको थियो । त्यसलाई विभागको प्रक्षेपण समेत पुष्टि गरेको छ । अर्थतन्त्रमा अस्वाभाविक संकुचन आउँदा, समग्र माग बढ्न नसक्दा उद्योग व्यवसाय बन्द हुने क्रम बढ्दै गएको छ । यसको गम्भिर असर बैंक तथा वित्तीय संस्थाहरुको वासलातमा समेत देखिएको छ भने बैंकहरुको एनपीएल ३.७३ प्रतिशत पुगेको छ । गत वर्षको फागुनमा यस्तो एनपीएल २.६३ प्रतिशत थियो । यस्तै कालोसूचीमा पर्नेहरुको संख्या निकै बढेको छ । गत वर्षको फागुनमा ३९ हजार रहेकोमा यो फागुनसम्म बढेर ७७ हजार बढी पुगिसकेको छ । निकै चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई गतिशिलता प्रदान गर्न कुनै पनि निकायले यो वा त्यो बहानामा यथास्थितीमा बस्न सक्ने अवस्था छैन्, हुनुहुँदैन । समग्र बजार मागमा सुधार आउन नसक्दा कम उत्पादन गरिरहेका उद्योगहरुको उत्पादन लागत बढिरहेको छ । नियमित विद्युतको आपूर्ती उद्योगहरुका लागि लाइफलाइन नै हो तर पछिल्ला केही महिनादेखि उद्योगहरुमा गरिएको अघोषित् लोडसेडिङ्गले थप मर्माहत बनाएको छ । एकातिर विद्युत खपत बढाउन नेपाल विद्युत प्राधिकरण लागिरहेको छ अर्कोतर्फ धेरै विद्युत खपत गरिरहेका उद्योगहरुमा नै १६ घण्टासम्म लोडसेडिङ्ग गराइरहेको छ । यो कस्तो नीति हो हामीले बुझ्न सकेका छैनौं । विद्युत प्राधिकरणले अहिले विद्युत आयात गर्दा महङ्गो पर्ने भनिरहेको छ । केही समय आयात गर्दा प्राधिकरणलाई केही घाटा भएपनि विद्युत उपलब्ध भए समग्र अर्थतन्त्रको विकासमा त्यसले सहयोग गर्छ । त्यसैले महङ्गो दरमा आयात गरेरै भएपनि उद्योगहरुलाई विद्युत उपलब्ध गराउन माग गर्दछौं । यस्ता समस्या र चुनौतीका कारण निजी क्षेत्र आत्तिएको छ । यद्यपी यी समस्या र चुनौतीहरुको सामना गर्न सरकारले अवश्य वातावरण बनाउनेछ भन्ने अपेक्षा र आशाका साथ मनोबल बलियो बनाइराख्ने प्रयास निजी क्षेत्रले गरिरहेको छ । यी चुनौतीहरुका बीच आशाको किरण सरकारले देखाउनेमा हामी विश्वस्त छौं । आशा आशामै सीमित नहोस्, हाम्रो कामना छ । मुलुकको अर्थतन्त्र, नेपाली निजी क्षेत्रको प्रकृति र संकट झेल्न सक्ने सामथ्र्य अन्यत्रभन्दा भिन्न रहेको साबित यसअघिका संकटहरुले समेत देखाइसकेको हुँदा हालको अर्थतन्त्रमा रहेको चुनौतीको पनि सामना गर्न सक्छौं । यसका लागि निजी क्षेत्रलाई हौसला प्रदान गर्न आवश्यक छ । उद्यमी व्यवसायीलाई सम्मानपूर्ण व्यवहार हुन आवश्यक छ । अर्को महत्वपूर्ण, सरकार, नियामकीय निकाय एवं कर्मचारीतन्त्रमा बलियो इच्छाशक्तिको आवश्यकता छ । अर्थ मन्त्रालयले नयाँ बजेटको तयारी गरिरहेको छ । आगामी बजेटले स्वदेशी उद्योगहरुको प्रवर्द्धन गर्ने रणनीति लिनुपर्ने आवश्यकता छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि आगामी बजेट कोशेढुङ्गा सावित होस् भन्ने नेपाल उद्योग परिसंघको चाहना रहेको छ । स्वदेशी वस्तुहरुको अधिकतम प्रयोग, प्रयोगका लागि प्रोत्साहन गर्ने नीतिले मात्रै हाम्रो अर्थतन्त्रलाई बलियो बनाउँछ । नेपाल आत्मनिर्भर भइसकेका तथा आत्मनिर्भर उन्मुख वस्तुहरूको आयात निरूत्साहित गरी स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने नीति लिन अनुरोध गर्दछु । भारतबाट नेपालतर्फ हुने अवैध व्यापारको प्रवाह नेपालमा भएको १३ प्रतिशत मूल्य अभिवृद्धि करका कारण वस्तु महंगो भएका कारण पनि एक हो भन्ने हामीले बुझेका छौं । भारतमा सोही वस्तुमा ५ प्रतिशत मात्र कर लाग्ने र नेपालमा १३ प्रतिशत कर लाग्ने भएकोले सो मूल्य अन्तरका कारण भारतबाट नेपालतर्फ अवैध रुपमा वस्तुको प्रवाह भइरहेको छ । यसलाई नेपालले बहुदरको भ्याट लगाइ भारत समान करको दर बनाउँदा वस्तुको मूल्य समान हुन गइ अनधिकृत व्यापारको प्रवाहमा कमी आउनेछ । अनअथोराइज्ड ट्रेड स्वदेशी उद्योग एवं सरकारका लागि अर्को खतराको कारक बनिरहेको छ । अवैध व्यापारका कारण एकातिर राज्यले राजस्व गुमाइरहेको छ भने अर्कोतिर स्वदेशी उद्योगहरु प्रभावित भईरहेका छन् । यसका लागि ठोस उपाय अबलम्बन गर्न अनुरोध गर्दछु । सरकारको नीति आन्तरिक उत्पादनमुखी हुनुपर्छ, आयात प्रोत्साहन होइन । उत्पादनमुखी नीति भए कर्जा पनि उत्पादनशील क्षेत्रमा बढ्छ, दीगो हुन्छ । कर्जा उत्पादनशील क्षेत्रमा विस्तार हुने नीति अबलम्बन गर्न अनुरोध गर्दछु । स्वदेशी वा विदेशी लगानी आकर्षित गर्न नीतिगत स्थीरता अनिवार्य सर्त हो । एउटा नीतिलाई हेरेर लगानीकर्ताले लगानी गरेको हुन्छ, तर त्यो नीति परिवर्तन हुन एक वर्ष पनि लाग्दैन । यस्तो अस्थीर नीतिले लगानीलाई प्रोत्साहन गर्दैन । कुनै पनि नीति निश्चित अवधि तोकेर न्यूनतम यो समयसम्म परिवर्तन हुँदैन भन्ने ग्यारेन्टी गर्न आवश्यक छ । हाम्रा नीति तथा कानूनहरु लगानी प्रोत्साहन गर्ने खालका हुनुपर्छ । त्यसका लागि नीतिगत स्थिरतासँगै लगानी निरुत्साहन गर्ने कानूनहरुमा सुधार अति आवश्यक छ । अहिले पनि करिब ५० वर्ष पुराना ऐनबाट व्यवसायलाई नियन्त्रण गर्न खोजिरहेका छौं । पछिल्लो पटक भारतले लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यले एकै पटक ४२ वटा कानुनका १८३ वटा प्रावधानहरुमा कैदको व्यवस्था हटाई आर्थिक जरिवाना मात्र लगाउने गरी आर्थिक संमृद्धिका लागि अनूकरणीय संकल्प लिएको छ । उद्योगी व्यवसायीबाट आर्थिक कसुर भएमा थुन्ने नभई आर्थिक जरिवाना गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेको छ । नेपाल उद्योग परिसंघले आर्थिक कसुरमा आर्थिक जरिवाना मात्रै हुने व्यवस्था गर्न आग्रह गर्दै आईरहेको छ । आर्थिक कसुरमा जरिवाना धेरै गरियोस् तर उद्योगी व्यवसायीलाई थुनेर राज्यले लाभ हासिल गर्न सक्दैन् भन्ने विषयमा गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु । यस्तै करको संरचना तथा प्रणालीमा रुपान्तरण गर्दै दोस्रो चरणको आर्थिक सुधारमा जान अब ढिला गर्न हुँदैन भन्ने परिसंघको धारणा रहेको छ । नेपाल उद्योग परिसंघले कानुन सुधारमा विशेष ध्यान दिन आग्रह गर्दै विस्तृत अध्ययन गरेरै २४ वटा ऐन तथा नियमावली संशोधन गर्न, ५ वटा ऐन खारेज गर्न र तीन वटा नयाँ कानून ल्याउन सुझाव दिएका छौं । संशोधन किन आवश्यक छ, खारेज किन गर्नुपर्छ र कस्ता नयाँ कानुन ल्याउनुपर्छ भन्ने विषयमा किटान गरी सम्माननीय प्रधानमन्त्रीज्यूसहित संसद्, कार्यपालिका सहित अन्य सरोकारवालाहरुलाई सुझाव उपलब्ध गराइसकेका छौं । सोही सुझाव समेतलाई आधार मानेर नेपाल सरकारले लगानी सम्मेलन अगाडि ११ वटा ऐन तथा नियमावली संशोधन गर्न प्रक्रिया अगाडि बढाएको जनाएको छ । लगानी सम्मेलन अगाडि पक्कै पनि ती ऐन निजी क्षेत्रको सुझाव अनुसार आउनेछन् र त्यसले लगानीकर्तालाई नयाँ सन्देश दिनेछ भन्ने विश्वास परिसंघले लिएको छ । कतिपय सरकारी कर्मचारीमा काम गर्ने उत्कृष्ट चाहना भएको पनि पाइन्छ तर काम गर्ने कर्मचारीमा ओभरसाइट एजेन्सीको कारणले नियम संगत निर्णय गर्न पनि डराइरहेको अवस्था देखिएको छ । जसका कारण हुनुपर्ने काम पनि सरकारी निकायहरुबाट हुन सकिरहेको छैन । कर्मचारीतन्त्रमा समेत एक प्रकारको डर पैदा भएको छ । यो अवस्था मुलुकका लागि राम्रो संकेत हो जस्तो लाग्दैन । सामान्य उजुरीकै भरमा पहिले थुन्ने अनि सुन्न खोज्ने चलन बढ्न लागेको छ । यस्तो अवस्था निजी क्षेत्रको लागि मात्रै होइन कर्मचारीतन्त्र, राजनीतिकमाथि समेत भईरहेको छ । थुन्ने नाममा बार्गेनिङ गर्ने, मान मर्दन गर्दै जनमानसमा नराम्रो स्थापित गर्न खोज्ने जस्ता काम भईरहेका छन् । त्यसैले नेपाल उद्योग परिसंघले अग्रीम जमानत सम्बन्धी व्यवस्था गर्न आग्रह गरेको छ । अग्रीम जमानत सम्बन्धी व्यवस्था निजी क्षेत्रका लागि मात्रै होइन कर्मचारीतन्त्र, राजनीतिज्ञ, व्यवसायिक व्यक्तिलगायत आम सर्वसाधारणको हितमा छ । समग्र मागमा आएको उच्च संकुचनले उत्पादक मर्कामा परिरहेका बेला उधारो समेत उठाउन नसक्दा अर्को पीडा थपिएको छ । अन्य मुलुकमा भुक्तानी सुरक्षण ऐनको व्यवस्था भएपनि हाम्रोमा यो व्यवस्था छैन् । त्यसैले भुक्तानीको संरक्षण गर्न आवश्यक व्यवस्था गर्न यसै अवसरमा अनुरोध गर्दछु । परिसंघले अर्थतन्त्रलाई गतिशिल बनाउन प्राथमिकता क्षेत्र पहिचान गरी सरकार, नियामक निकायलाई सुझाव दिँदै आएका छौं । उद्योग, उर्जा, पर्यटन, सूचना प्रविधि, निर्माण तथा पूर्वाधार, कृषिजस्ता हाम्रा प्रतिस्पर्धी क्षमता बढी भएका क्षेत्रमा तत्काल गर्नुपर्ने, दीर्घकालिन रुपमा गर्नुपर्ने कामको स्पष्ट सुझाव दिएका थियौं । तर, ती सुझावहरु अझै कार्यान्वयनमा आउन सकेका छैनन् । नेपाल उद्योग परिसंघले स्थापनाको यो २० वर्षमा अर्थतन्त्रमा धेरै आरोह अवरोध खेप्दै आएको छ । मुलुकको समग्र आर्थिक विकासका लागि परिसंघले लिएको नेतृत्वदायी भूमिकाले केही क्षेत्रमा सकारात्मक परिवर्तन पनि आएका छन् । तर, २० वर्षअघिदेखि नै कल्पना गरिएको दोहोरो अंकको आर्थिक वृद्धि अझैसम्म मुलुकले हासिल गर्न सकिरहेको छैन । दोहोरो अंकको आर्थिक वृद्धि केवल हाम्रो आकांक्षामै सीमित हुने हो ? राजनीतिक अस्थिरता लामो समयसम्म रह्यो । राजनीतिक स्थिरताका लागि ठूला ठूला आन्दोलन समेत भए । करिब स्थीर जस्तो रहेको राजनीति फेरी अस्थीरतातर्फ उन्मुख भएको हो की भन्ने डर लाग्न थालेको छ । रुल अफ ल हुनुपर्नेमा रुल बाइ लतर्फ केन्द्रित हुन थालेको हो की भन्ने संशय निजी क्षेत्रमा पर्न थालेको छ । यसतर्फ गम्भीर भइदिन सबै सरोकारवालाहरुलाई हार्दिक अनुरोध गर्न चाहन्छु । मुलुकमा उद्योग व्यवसायलाई प्रोत्साहन नदिदा देशभित्र रोजगारका अवसरमा सिर्जना हुन सकिरहेको छैन । रोजगारी नहुँदा युवाहरुको विदेश पलायन बढ्दो छ । अहिले हामी उद्योगी व्यवसायीहरुलाई देशभित्रै जनशक्ति पाइदैन की भन्ने जति चिन्ता छ, राजनीतिक नेताहरुलाई पनि आफूलाई भोट हाल्ने जनता पनि नरहने हुन् की भन्ने चिन्ता हुनुपर्यो । अर्थतन्त्रमा चौतर्फी चुनौती र समस्या छन् । यी चुनौती र समस्या समाधानका लागि ठूलो सल्यक्रियाको खाँचो छ तर मलमपट्टि गरेर शिथिल अर्थतन्त्र उकास्न सोचिरहेका छौं । यस्तो सोंचले अर्थतन्त्रलाई उकास्ने होइन थप संकटतर्फ लैजान्छ । कर्मठ उद्योगी व्यवसायीको अभावमा मुलुकले समृद्धि हासिल गर्न सक्दैन् । उद्योग व्यवसाय बचाउनु, प्रोत्साहन गर्नु, उद्योगीलाई सम्मान गर्नु राज्यको दायित्व हो । उद्योगी व्यवसायीको मनोबल गिराएर, अपमानित गरेर समृद्धिको लक्ष्य हासिल हुन सक्दैन । स्वदेशी लगानीलाई पहिले प्रवर्द्धन गरौं, लगानीकर्तालाई प्रोत्साहित गरौं, सम्मान गरौं । स्वदेशी लगानी बढ्यो भने नै विदेशी लगानीकर्ताको पनि नजर नेपालमा पर्छ । एक उद्योगीको नाताले, उद्योगीहरुको प्रतिनिधिमुलक संस्थाको हिसाबले निजी क्षेत्रले भोग्नु परेको तितो यथार्थ यहाँ व्यक्त गर्न बाध्य भए । यसलाई सकारात्मक रुपमा लिई आगामी दिनमा यस्तो अवस्था आउन नदिन गम्भीर भईदिन सरोकारवाला सबैप्रति हार्दिक अपिल गर्दछु । (अग्रवालले नेपाल उद्योग परिसंघको २१औं वार्षिक साधारण सभाको उद्घाटन समारोहमा राखेका मन्तव्य)