कर छलेका ३० कम्पनीलाई आन्तरिक राजस्वको पत्र
काठमाडौं । आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरले विभिन्न ३० वटा कम्पनीलाई कर निर्धारण नहुनु पर्ने कारणसहित जवाप पेस गर्न निर्देशन दिएको छ । मंगलबार विभिन्न ३० वटा कम्पनीलाई पत्र पठाउँदै कर निर्धारण हुनु नपर्ने ठोस प्रमाण तथा कागजात पेस गर्न १५ दिनको समय दिइएको छ । कार्यालयले आयकर ऐन, २०५८ को दफा १०१ को उपदफा ४ मा तथा मूल्य अभिबृद्धि कर ऐन, २०५२ को दफा २० को उपदफा (४क) बमोजिम पशुपति ट्रेड कन्सर्न, एन्टिक इन्जिनियरिङ्ग एण्ड कन्स्ट्रक्सन, जैन ईन्टरप्राईजेज, कृष्ण सर्जिकल सप्लायर्स, जय सचिदानन्द अटो पार्टस, आकाश ट्रेड कन्सर्न, कर्पोरेटिभा मुराटोरी एण्ड सिमनटिष्ट, चैतन्य ब्युटी, पावर प्याक रिपेयरीङ्ग सेन्टर, प्रभात श्री इन्टरनेशनल, मेराज रेडिमेड कपड़ा पसल पिक ट्रेडिङ, अभयकान्ति ईन्टरप्राईजेजलाई ठोस प्रमाण पठाउन निर्देशन दिएको हो । यस्तै, खाँडदेवी इन्टरप्राइजेज, सूर्या सप्लायर्स, विज थी सिक्स्टी वान, ऊझ साई मेशिनरी सप्लायर्स, सनसाइन टेडर्स/ऋषभ जोगाई, बेल स्टोन हाईटेक नेपाल, सिने डे सेफ कम्पनी, काठमाण्डौ स्क्रेप सप्लायर्स, सगुन सुमित्र इन्टरप्राईजेज, श्री जय दुर्गा ट्रेडर्स, काभ्रे ट्रेड एण्ड जनरल सप्लायर्स, मरु विनायक इन्टरप्राइजेज, डि.सि. डेस्कोट फेशन स्टोर्स, ओम गोरख मेशिनरी ट्रेडर्स, प्रिन्ट प्वाइन्ट पब्लिसिङ्ग, एभरेष्ट इन्टरनेशनल/शुदर्शन कुमार चुडिवाला, क्वालिटेक स्क्यान एण्ड प्रि–प्रेस लाई निर्देशन दिएको हो । ‘जालसाजीले गर्दा कुनै व्यक्तिको कर निर्धारण गलत ढङ्गबाट भएको रहेछ भने जुनसुकै बखत विभागले त्यस्तो कर निर्धारणमा संशोधन गर्न सक्नेछ । यसरी संशोधन गर्दा जालसाजी गरी विवरण राखेको वा कर निर्धारण गरेको जानकारी प्राप्त भएको एक वर्षभित्र संशोधन गरिसक्नु पर्नेछ,’ आयकर ऐन, २०५८ को दफा १०१ को उपदफा ४ मा उल्लेख छ । त्यस्तै, मूल्य अभिबृद्धि कर ऐन, २०५२ को दफा २० को उपदफा (४क) मा कुनै व्यक्तिले झुट्टा लेखा वा बीजक वा अन्य कागजात तयार गरी वा जालसाजी गरी कर छलेको रहेछ भने जुनसुकै बखत विभागले पुनः कर निर्धारण गर्न आदेश दिन सक्ने व्यवस्था गरिएको छ ।
अर्थमन्त्रीले भेटे विश्व बैंक र वित्त निगमका उपाध्यक्षलाई, नेपालमा लगानी बढाउन अपिल
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र ग्वाङ्झे चेनसँग भेटवार्ता गरेका छन् । निसिओ विश्व बैंकका विकास वित्त (डीएफआई) परिचालन र वाङ्चेन पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष हुन् । दुवै उपाध्यक्षसँग मन्त्री पुनले वासिङटन डिसीस्थित विश्व बैंक मुख्यालयमा गएराति भेटेका थिए । यस्तै उनले अमेरिकी अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का उपाध्यक्ष रिकार्डो पुलिटीसँग पनि भेटेका छन् । विश्व बैंक उपाध्यक्ष आकिहिको निसिओसँग उनले आगामी जुनमा काठमाडौंमा विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ बैठक गर्ने नेपालको प्रस्ताव स्वीकार गरेकामा धन्यवाद दिए । आईडा बैठकको राम्रो तयारी भइरहेको भन्दै त्यसका लागि काठमाडौंस्थित विश्व बैंकको देशीय कार्यालयसँग समन्वय गरिरहेको बताए । उनले नेपालमा सहुलियतपूर्ण कर्जा वा अनुदानमार्फत लगानीका थप क्षेत्र पहिल्याउन आग्रह गरे । आईडालाई नेपालजस्ता विकासोन्मुख देशहरूका लागि भरपर्दो माध्यम बनाउन सकिने भन्दै मन्त्री पुनले पछिल्लो दशकमा दूरसञ्चार, यातायात, स्वच्छ ऊर्जाजस्ता क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धी विश्व समुदायले हेर्न लायक भएको उल्लेख गरे । नेपाल सरकार र १६ विकास साझेदारले सन् २०२१ मा संयुक्त रुपमा अनुमोदन गरेको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) का लागि रणनीतिक कार्ययोजना समावेश गरिएको काठमाडौं घोषणापत्रको मार्गनिर्देशनमा अघि बढेको जानकारी उनले दिए । उक्त घोषणापत्रको अवधारणाअनुसार आगामी वर्ष पहिलो हरित उत्थान र समावेशी विकास कार्यक्रम अन्तर्गतको (ग्रिड डिपीसी) कार्यान्वयन गर्न लागिएको उनको भनाइ थियो । मन्त्री पुनले १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्थजलासययुक्त आयोजना र ६ सय ३५ मेगावाटको दूधकोशी जलासययुक्त आयोजनामा विश्व बैंकले लगानी गर्न देखाएको तत्परताका लागि प्रशंसा गरे । विश्व बैंकको पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष ग्वाङ्झे चेनसँग भएको भेटमा मन्त्री पुनले नेपालले पूर्वधार विकासलाई उच्च प्राथमिकतामा राखेको बताए । सरकारका तर्फबाट ऊर्जा, यातायात र शहरी पूर्वाधार केन्द्रित योजनामा जोड दिइएको उनको भनाइ थियो । उनले गत साता मात्र दुई ठूला जलविद्युत आयोजनाहरू माथिल्लो अरुण र दूधकोशीको वित्तिय ढाँचाबारे विश्व बैंकका काठमाडौंस्थित अधिकारीहरुसँग भएको राउण्डटेबल बैठक फलदायी भएको भन्दै उनले छिट्टै वित्तीय व्यवस्थापनको टुंगो लाग्ने आशा व्यक्त गरे । दुवै आयोजना नेपालको नेपालको ‘गेम चेन्जर’ आयोजना रहेको भन्दै उनले ती अयोजनाको विकासले नेपालको ठूला पूर्वधार निर्माण क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गरे । आगामी असार महिनाभित्रमा माथिल्लो अरुण जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन हुनेमा आफूहरु ढुक्क रहेको बताए । माथिल्लो अरुण आयोजना क्षेत्रका प्रभावितलाई मुआब्जा र क्षतिपूर्ति वितरण, पहुँच मार्ग निर्माण तथा जमिनको अधिग्रहणजस्ता काम सकिने चरणमा पुनेको जानकारी उनले दिए । नेपालले जलविद्युतका लागि क्षेत्रीय बजारको समेत सुनिश्चितता गरेको भन्दै उनले भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने सम्झौता गरेको र बंगलादेशले समेत नेपालको विद्युत किन्ने प्रक्रिया अघि बढिसकेको स्पष्ट गरे । आईएफसीका उपाध्यक्ष पुलिटीसँगको भेटमा मन्त्री पुनले आगामी दिनमा आईएफसी र नेपालबीचको सहकार्य थप प्रगाढ र सुदृढ भएर जाने विश्वास व्यक्त गरे । नेपाल र आएफसीबीच पाँच दशक लामो सहकार्य रहेको स्मरण गर्दै मन्त्री पुनले नेपालको पर्यटन क्षेत्रमा आईएफसीले पहिलोपटक लगानी गरेको स्मरण गरे । उनले सोही होटलमा आगामी जुनमा विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ बैठक आयोजना गरिएको पनि जानकारी गराए । निजी क्षेत्रसँग सम्बन्धित भएर नेपालको आर्थिक विकास प्रयास तथा पुँजीको व्यवस्थापनमार्फत निजी क्षेत्रको विकासमा आईएफसीले गरेको सहयोग सराहनीय रहेको उनको भनाइ थियो । उनले आगामी दिनमा लगानीका क्षेत्र बढाउन तथा पुँजी परिचालन तथा प्राविधिक सहयोग बढाउन पनि अपिल गरे । नेपालको पर्यटन, ऊर्जा, यातायात र कृषि क्षेत्रमा आईएफसीको सहयोग रहँदै आएको उनले बताए । आगामी दिनमा नेपालमा सूचना प्रविधि क्षेत्रका लागि लगानीको राम्रो वातावरण रहेको उनले बताए । सानो अर्थतन्त्र भएका कारण लगानीयोग्य पुँजी रहेकाले वैदेशिक लगानीका स्वागत गर्ने नीति अख्तियार गरिएको बताए । निजी पूँजी परिचालन बढाउन, थप रोजगारीका अवसर सिर्जना गर्न तथा आर्थिक गतिविधि र वित्तीय पहुँच बढाएर जनताको जीवनस्तर उकास्न सरकार लागिपरेको मन्त्री पुनले उल्लेख गरे । तीनवटै भेटमा पुनले वैदेशिक लगानी भित्र्याउन आगामी १६ र १७ वैशाखमा तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गरिएको भन्दै त्यसमा उच्चस्तरको सहभागिताको अपेक्षा राखिएको बताए । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन मन्त्री पुन सोमबार बिहान अमेरिका प्रस्थान गरेका गरेका थिए ।
१० करोड लगानीमा ‘त्रिशुली भिल्ला’ सञ्चालनमा, कसरी पुग्ने ?
काठमाडौं । पृथ्वी राजमार्गको मलेखु नजिक बेनिघाटमा त्रिशुली रिभरसाइड रिसोर्ट सञ्चालन गरिरहेका उद्दव कँडेलले त्रिशुली नदी पारी ‘त्रिशुली भिल्ला’ सञ्चालनमा ल्याएका छन् । १५ रोपनी क्षेत्रफलमा फैलिएको भिल्लाको निर्माणमा करिब १० करोड रुपैयाँ लगानी भएको सञ्चालक कँडेल बताउँछन् । त्रिशुली रिभर साइड रिसोर्ट भन्दा लक्जरी सुविधासहितको भिल्लामा १२ वटा आकर्षक भिल्लाहरूमा ३७ वटा कोठा बनाइएको छ । २२ वटा कोठा सञ्चालनमा आएको र अबको केही महिनामै बाँकी १५ वटा कोठा सञ्चालनमा ल्याइने सञ्चालक कँडेल बताउँछन् । भिल्लामा ३ सय जना क्षमताको कन्फ्रेन्स हल निर्माण गरिएको छ । जसले कर्पोरेट ग्राहकहरूलाई समेत सहज हुने कँडेलको विश्वास छ । ‘वेलनेस’ प्रेमी पाहुनालाई ध्यानमा राख्दै भिल्लामा साउना र स्टिम समेत निर्माण गरिएको छ । यसबाहेक आवश्यकता अनुसार भिल्लाका ग्राहकहरूले प्राइभेट पार्टी, क्याम्प फायर, बार्बिक्यु लगायतको मज्जा लिन सक्नेछन् । भिल्लामा न्युनतम ४ हजार रुपैयाँ देखिको प्याकेज बुक गर्न सकिनेछ । भिल्लामा बुकिङ गर्ने ग्राहकले डिनर, रुम र ब्रेकफास्टसँगै वेलनेस प्याकेज अन्तर्गत स्विमिङ पुल, साउना, स्टिम र हाइकिङ समेत पाउँछन् । भिल्लामा पुगेका पाहुनाहरूलाई यि सबै किसिमका लक्जरी सुविधाहरू उपलब्ध छ । भिल्लामा रेस्टुरेन्ट तथा बारको समेत व्यवस्था गरिएको छ । रुमको बालकोनीबाट त्रिशुली नदीको सुन्दर दृश्यावलोकन गर्न पाउनु भिल्लाको अर्को आकर्षण हो । साथै जंगल छेउमा भएकाले सुन्दर तथा शान्त वातावरण सहितको प्रकृतिमा लीन हुन सकिनेछ । कर्पोरेट ग्राहकमात्र नभएर कुनै विशेष पार्टीको मज्जा लिन तथा विवाह गर्न समेत भिल्ला उत्तम गन्तव्य बन्ने सञ्चालक कँडेल बताउँछन् । अविरल बग्ने त्रिशुली नदी र आसपासमा भएका वनजंगल लगायतको दृश्यावलोकन गर्दै भिल्लामा रमाउँदाको आनन्द वर्णन नै गर्न सकिँदैन । भिल्लामा सोही आनन्द लिनका लागि पाहुनाहरू आइरहेको कँडेल बताउँछन् । रिभरसाइड रिसोर्ट साहसिक पर्यटनको हबको रुपमा विकास हुँदै गएको छ । त्रिशुली नदीमाथि स्काइ साइक्लिङ, जिपलाइन, त्रिशुली नदीमा साहसिक र्याफ्टिङ जस्ता साहसिक पर्यटनको मज्जा समेत रिसोर्टका पाहुनाले लिन सक्नेछन् । कसरी पुग्ने ? भिल्ला पुग्न पृथ्वी राजमार्गको मालिङ्गा झरेपछि त्रिशुली रिभरसाइड रिसोर्टबाट जिपलाइन वा स्काई साइक्लिङमार्फत जान सकिन्छ । एडभेञ्चर नरोज्ने पाहुनाहरू झोलुङ्गे पुल तरेर भिल्ला पुग्न सक्छन् । सवारी साधन लिएर जानेका लागि नदी वारी नै पार्किङको सुविधा छ । बाइकमा भने झलुङ्गे पुल हुँदै भिल्ला सम्मै पुग्न सकिन्छ ।
हङकङमा पर्यटक आगमनमा १.५ गुणा वृद्धि
काठमाडौं । हङकङमा यस वर्षको पहिलो त्रैमासिकमा ११.२३ मिलियन आगन्तुक आगमन रेकर्ड गरिएको छ । गत वर्षको तुलनामा १.५ गुणाले वृद्धि भएको र त्रैमासिकमा ५ प्रतिशतले वृद्धि भएको हङकङ पर्यटन बोर्ड (एचकेटीबी) ले घोषणा गरेको छ । यो तथ्याङ्कले पर्यटकको संख्यामा निरन्तर वृद्धि भएको देखाएको बताइएको छ । मार्चमा करिव ३४ लाख पर्यटक आएका थिए । जुन अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतले बढी हो । ती मध्ये २.४६ मिलियन भन्दा बढी चिनियाँ मुख्य भूमिबाट थिए । जुन वार्षिक रूपमा २५.४ प्रतिशतले बढेको छ । गैर–मुख्यभूमि भ्रमणहरू ९ लाख ३० हजार नाघेको छ । जुन वार्षिक रूपमा ९२.१ प्रतिशतले बढेको छ । पर्यटन बोर्डले मे महिनादेखि चाडपर्व वा ठूला कार्यक्रमको संयोजनमा समुन्द्रमा रमाउने ड्रोन प्रदर्शन गर्ने पनि घोषणा गरेको छ । पहिलो ड्रोन प्रदर्शनले मे ११ मा भिक्टोरिया हार्बरमा रातको आकाश सजाउनेछ । थप आगन्तुकहरूलाई आकर्षित गर्नेछ ।
दुग्ध विकास संस्थानको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान, २१ दिनभित्र आवेदन दिनुपर्ने
काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले महाप्रबन्धक नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । बुधबार एक सूचना प्रकाशन गरी डीडीसीले २१ दिनको समय दिएर महाप्रबन्धक पदका लागि दरखास्त आह्वान हो। महाप्रबन्धक पदका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारकी नियुक्ति तथा मनोनय सम्बन्धी निर्देशिका २०७६ (संशोधन सहित) को दफा ३ को उपदफा २ (ग) बमोजिमको शैक्षिक योग्यता हासिल गरी कुनै संस्था वा निकायमा अधिकृतस्तररव्यवस्थापनको हैसियतले कम्तिमा दस वर्ष काम गरेको हुनुपर्ने योग्यता तोकिएको छ। त्यस्तै दरखास्त दिने व्यक्तिको उमेर ३० वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ। योग्यता पुगेका नेपाली नागरिकहरूले कृषि तथा पशुपंक्षी मन्त्रालय सिंहदरबारको कर्मचारी प्रशासन शाखामा गोप्य शिलबन्दी आवेदन दिनुपर्नेछ ।
प्लाइउड उद्योगमा ३ सय स्थानीयलाई रोजगारी
राँझा । बाँकेको कोहलपुर नगरपालिका–१४ मा निजी क्षेत्रबाट सञ्चालित योयो प्लाइउड इण्डष्ट्रिजमा तीन सय बढी मजदुरले रोजगारी पाएका छन् । विगत चार वर्षदेखि सञ्चालित उद्योगमा कोहलपुर नगरपालिका–१४ ढोरपुर र ठाडागाउँका अधिकांश स्थानीयवासीले मजदुरका रूपमा काम गर्दै आएका छन् । खटिक समुदायको बसोबास रहेको ढोरपुर र ठाडागाउँवासीलाई यो उद्योगले रोजगारी दिएको छ । उद्योगमा कार्यरत स्थानीय युवा राधेश्याम खटिकले प्लाइउड उद्योग स्थानीयवासीका लागि जीविकोपार्जनको प्रमुख आधार भएको बताए । ‘कामको खोजीमा दैनिक भौतारिनुपथ्र्यो, अहिले गाउँमा खुलेको उद्योगले ढोरपुर र ठाडागाउँका सबैजसोलाई रोजगारी दिएको छ,’ उनले भने । स्थानीय रामछविले खटिकले गाउँमा स्थापना भएको उद्योगले स्थानीयवासीलाई रोजगारीमा प्राथमिकता दिएका कारण आफूहरूले रोजगारी पाएको बताए । उद्योग बन्द हुँदा सबैभन्दा बढी मार आफूहरूलाई पर्ने भएकाले भर्खर सञ्चालनमा आएको उद्योगमा कुनै पनि राजनीतिक आस्थाका आधारमा ट्रेड युनियन गठन गर्नभन्दा पनि उद्योगलाई स्थापित गर्न मजदुर लाग्नुपर्नेमा उनले जोड दिए । सोही उद्योगमा तीन वर्षदेखि कार्यरत सुर्जा कार्की भण्डारीले गाउँमै स्थापना भएको उद्योगका कारण अहिले रोजगारी पाएपछि स्थानीयवासीको जीविकोपार्जनमा सहजता भएको बताइन् । देशमा काम नपाएर विदेश जानुपर्ने अवस्थामा योयो प्लाइउडले गाउँमै रोजगारी दिएर आफूहरूलाई ठूलो गुन लगाएको उनले बताइन् । उद्योगमा ट्रेड युनियन गठनका नाममा काममा अवरोध भएको प्रति उनलाई चित्त बुझेको छैन । आफूलाई उद्योग नै बन्द गराउने ट्रेड युनियन नचाहिएको उनले बताइन् । ‘ट्रेड युनियन गठन भएर धेरै सेवा सुविधा मागेपछि केही दिन उद्योग बन्द भयो, उद्योग बन्द हुँदा हाम्रो रोजगारी पनि बन्द हुन्छ,’ उनले भनिन् । उद्योगका प्रबन्ध निर्देशक राजीव श्रेष्ठले उद्योग अझै पूर्ण रूपमा सञ्चालन नभएको बताए । अहिले तीन सय बढी मजदुरलाई रोजगारी दिएको उद्योग पूर्ण रूपमा सञ्चालन हुँदा आठ सय बढीले रोजगारी पाउने उनले जानकारी दिए । उद्योगको क्षमताअनुसार पूर्ण रूपमा सञ्चालन हुन नसक्दा दैनिक करिब ५ लाख रुपैयाँ घाटा व्यहोर्दै आएको उद्योगले मजदुरलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउँदै आएको उल्लेख गर्दै उनले भने, ‘हामी सरकारले तोकेको मापदण्ड पालना गर्दै मजदुरलाई पारिश्रमिक दिँदै आएका छौँ, घाटामा गएको उद्योगले अहिले तत्काल मजदुरको पारिश्रमिक वृद्धि र बोनस खुवाउन सक्ने अवस्था छैन, तर परिस्थिति सुध्रिनासाथ मजदुरको सेवा सुविधा र सङ्ख्या बढाउँदै लैजाने हाम्रो सोच छ ।’ ट्रेड युनियन गठनले कर्मचारी विभाजित उद्योग पूर्ण रूपमा सञ्चालन हुन नपाउँदै मजदुर सङ्गठनका नाममा अवरोध सिर्जना गर्ने काम भएको उद्योगका प्रबन्ध निर्देशक श्रेष्ठको गुनासो छ । अहिले सञ्चालन हुँदा दैनिक पाँच लाख रुपैयाँ घाटा व्यहोर्दै आएको उद्योग बन्द हुँदा दैनिक १० लाख रुपैयाँभन्दा बढी घाटा हुने भएकाले सहज रूपमा उद्योग सञ्चालनको वातावरण बनाउन उनले अनुरोध गरेका छन् । स्थानीयवासीको बाहुल्य रहेको उक्त उद्योगमा तीन सय बढी मजदुरले काम गर्दै आएका छन् । हाल उद्योगमा नरहेका गैरमजदुरलाई सङ्गठित गरी जबर्जस्ती ट्रेड युनियन गठन गर्न खोजेपछि त्यहाँ कार्यरत मजदुर त्यसको विपक्षमा उत्रिएका छन् । उद्योगमा अखिल नेपाल औद्योगिक मजदुर सङ्घले शान्ति रानाको नेतृत्वमा मजदुर सङ्घ गठन गरेको छ । उद्योगका प्रबन्धक पूर्णबहादुर विष्टले सङ्घको नेतृत्व गरेकी रानासहितका अधिकांश सदस्य उद्योगमा कार्यरत नै नरहेको बताए । उनले उद्योगमा कार्यरत नै नरहेका फर्जी नाम राखेर ट्रेड युनियन गठन गरेकामा आपत्ति जनाए । ट्रेड युनियनकी अध्यक्ष रानाले आफूहरूले मजदुरको हकहितका लागि ट्रेड युनियन खोलेको बताए । ट्रेड युनियनको पक्षमा लाग्ने मजदुरलाई उद्योगले कामबाट निकालेको उनको आरोप छ । ट्रेड युनियन गठनसँगै मजदुर विभाजित भएका छन् । अधिकांश मजदुर उद्योग नियमित सञ्चालन गरी आफ्नो रोजगारी सुनिश्चित हुनुपर्ने माग गर्दै ट्रेड युनियन खारेजीको पक्षमा लागेका छन् । रासस
मानव–हात्ती द्वन्द्व घटाउन ७६ किलोमिटर सौर्य तारबार
झापा । मानव–हात्ती द्वन्द्व घटाउन झापाका विभिन्न स्थानमा ७६ किलोमिटर अफसेट सोलार फेन्स (सौर्य तारबार) निर्माण गरिएको छ । झापामा पहिलोपटक बाहुनडाँगीमा २०७३ सालमा १ करोड २० लाखको लागतमा १८ किलोमिटर विद्युतीय तारबार निर्माण गरिएको थियो । त्यसपछि २०७६ साल चैतमा जलथल वन क्षेत्रमा पहिलो चरणमा ३५ किलोमिटर सौर्य तारबार लगाइको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए । हल्दिबारी, कचनकवल, बाह्रदशी र भद्रपुरसँग जोडिएको वन क्षेत्रअन्तर्गत निर्माण गरिएको सौर्य तारबारको लागत ५ करोड ६५ लाख २७ हजार छ । २०७८ चैतमा जलथल वन क्षेत्रमा दोस्रो चरणमा भद्रपुरमा १ करोड १ लाख ४४ हजार लागतमा ६ दशमलव ३९ किलोमिटर सौर्य तारबार उक्त गरिएको कार्यालयले जनाएको छ । मेचीनगर नगरपालिकाको चारआली–मागुरमाडी खण्डअन्तर्गत १६ दशमलव ९८ किलोमिटर सौर्य तारबार लगाइएको छ । गत असारमा २ करोड ५३ लाख ९५ हजार रुपैयाँको लागतमा उक्त खण्डमा बार लगाइएको हो । बार लगाउन राज्यकोषबाट रकम खर्च भएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोषले त्यसमा प्राविधिक परामर्श प्रदान गरेको थियो । पहिले लगाइएका केही स्थानका बार जीर्ण भएकाले मर्मत गर्नुपर्ने भएको छ । बाहुनडाँगीस्थित १८ किलोमिटर तारबार मर्मत गर्न करिब ३० लाख र जलथल क्षेत्रका लागि ४४ लाख ४७ हजार रुपैयाँ आवश्यक पर्ने प्रमुख राईले जानकारी दिए । देशको पूर्वी नाकाबाट प्रत्येक वर्ष दुईपटक मानव बस्तीमा हात्ती प्रवेश गर्दै आएका छन् । वैशाखको दोस्रो हप्तादेखि असारको तेस्रो हप्तासम्म र कात्तिकको दोस्रो हप्तादेखि पुस–माघतिर हात्ती आउने गरेका छन् । विसं २०७५ अघि झापामा १०–१२ वटा हात्ती बस्ने गरेकामा त्यसपछि उक्त सङ्ख्या वृद्धि हुँदै हाल ३५ पुगेको छ । अहिले वर्षैभरि बस्ने गरेका डिभिजन वन कार्यालयले जनाएको छ । ‘यसै वर्ष झापाको विभिन्न स्थानमा चारवटा छावा जन्मेका छन्,’ प्रमुख राईले भने । जिल्लामा २०६८ सालदेखि हालसम्म हात्तीको आक्रमणबाट ६७ जनाको मृत्यु भइसकेको छ भने २०६२ सालदेखि हालसम्म २० वटा हात्तीको मृत्यु भएको छ । विसं २०६८ देखि गत वर्षसम्म ७ करोड १९ लाख ७० हजार ६ सय ९७ रुपैयाँ पीडितलाई राहत रकम वितरण भएको छ । हात्तीको आक्रमणमा परी चालु आर्थिक वर्षमा सातजनाको मृत्यु भएको छ । चालु आवमा हात्तीको आक्रमणबाट ५ सय ३२ घटनाका पीडितलाई १ करोड २६ लाख रुपैयाँ राहतस्वरुप प्रदान गर्न बाँकी छ ।
आजदेखि काठमाडौं महानगरले क्यान्सरको निःशुल्क परीक्षण गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ । महानगरलेले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता (अस्वस्थ्यता) सम्बन्धी निःशुल्क परीक्षण शिविर सञ्चालन गर्ने भएको हो । महानगरपालिकाका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा वैशाख महिनाभरि शिविर सञ्चालन हुने महानगरले जनाएको छ । वडा नम्बर ३१ भीमसेनगोलामा वैशाख ५ र ६ गते, वडा नम्बर २५ र २७, इनबहालमा ७, ९ र १० गते, वडा नम्बर ३, महाराजगन्जमा ११ र १२ गते, वडा नम्बर २६, लैनचौरमा १४ गते, वडा नम्बर २०, भीमसेनस्थानमा १६ गते, वडा नम्बर २१, यंगालमा १७ गते, वडा नम्बर २३, ओमबहालमा १८ गते र वडा नम्बर १५, स्वयम्भूमा २० र २१ गते शिविर हुने मिति तोकिएको छ । रामघाट प्राथमिक स्वास्थ्य केन्द्रमा २३ गते, वडा नम्बर २, लाजिम्पाटमा २४ गते, वडा नम्बर २४, मखनमा २५ गते, वडा नम्बर २२, टेबहालमा २६ गते, वडा नम्बर १८, नरदेवीमा २७ गते, वडा नम्बर १९, कङ्केश्वरीमा २८ गते, वडा नम्बर ३२, पाल्पाकोट ९छाप्रे०, कोटेश्वरमा ३० र ३१ गते सर्वसाधारणले सेवा लिन पाउने छन् । शिविरबाट थप परीक्षणको आवश्यकता भएका महिलाका लागि सिभिल अस्पताल, मीनभवनमा निःशुल्क परीक्षण हुने महानगरले जनाएको छ ।