प्रयोगशाला रिपोर्ट किर्तेबारे कान्तिबाललाई परिषदले सोध्यो स्पष्टीकरण
काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले कान्ति बाल अस्पताललाई एक साताभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ । अस्पतालमा गरिएको प्रयोगशाला परीक्षणका रिपोर्टहरू किर्ते गरिएको उजुरी परेपछि परिषद्ले औपचारिक रूपमा स्पष्टीकरण सोधेको हो । परिषद्का अनुसार चैत्र १ गतेदेखि एक महिनाको अवधिमा करिब एक हजार प्रयोगशाला रिपोर्ट प्रक्रियागत रूपमा शंकास्पद देखिएको उजुरी परेको छ । उजुरीमा अस्पतालले आफ्नै प्रयोगशालाबाट परीक्षण नगराई निजी प्रयोगशालाबाट तयार गरिएका रिपोर्टलाई अस्पतालकै आधिकारिक रिपोर्टका रूपमा वितरण गरेको आरोप लगाइएको छ । अस्पतालले सेरो डाइग्नोष्टिक कम्पनीले जडान गरेको भिट्रोस ५६०० मेसिनमार्फत सेवा सञ्चालन गरेपछि परीक्षण प्रक्रिया र रिपोर्ट प्रमाणीकरणबारे प्रश्न उठ्न थालेको थियो । आरोपअनुसार अस्पतालले बिरामीबाट नमुना संकलन गरी निजी प्रयोगशालामा पठाउने, त्यसपछि आएको रिपोर्टलाई कान्तिकै रिपोर्ट झैं प्रस्तुत गरेर अस्पतालका प्राविधिकमार्फत हस्ताक्षर गराई बिरामीलाई दिने गरिएको थियो । यो काम नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐनविपरीत भएको दाबी गर्दै परिषद्मा औपचारिक उजुरी परेको हो । त्यसपछि परिषद्ले गत बिहीबार अस्पताललाई पत्र पठाउँदै किन कारबाही नगर्ने ? भन्ने प्रश्नसहित सात दिनभित्र उपस्थित भएर स्पष्ट कारण पेश गर्न निर्देशन दिएको हो । परिषद्का प्रवक्ता शितल बस्नेतले उजुरीका आधारमा स्पष्टीकरण मागिएको पुष्टि गरे । उनका अनुसार प्राप्त विवरणमाथि प्रारम्भिक अध्ययनपछि परिषद् आवश्यक कारबाही प्रक्रियातर्फ अघि बढेको हो । बाल स्वास्थ्य सेवाका लागि देशकै प्रमुख सरकारी अस्पताल मानिने कान्तिमा यस्तो आरोप सार्वजनिक भएपछि बिरामीका अभिभावक र स्वास्थ्य क्षेत्रमै गम्भीर चासो बढेको छ । परीक्षण रिपोर्टको विश्वसनीयतामाथि प्रश्न उठेपछि अस्पताल प्रशासनमाथि पारदर्शी छानबिनको दबाबसमेत बढेको छ । कान्तिमा करोडौंका उपकरण थन्किए कान्तिबालको बदमासीमा मुछिए पूर्वमन्त्री बस्नेत, अख्तियारमा उजुरी कानुनी अपराधमा कान्ति बाल, निजी ल्याबको रिपोर्ट आफ्नो भन्दै हस्ताक्षर बदमासी ढाकछोप गर्न कर्मचारीको सातो खाँदै प्रशासन कान्ति बाल अस्पतालमा बदमासी : अत्याधुनिक मेसिन थन्क्याएर निजी ल्याबमा परीक्षण काजमै राज गरिरहेका भीआईपी चिकित्सक
प्रधानमन्त्रीलाई संसद्मा ल्याउन रास्वपाको प्रतिबद्धता
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिनिधिसभामा उपस्थित गराएर प्रश्नोत्तरमा सहभागी गराउने प्रतिबद्धता जनाएको छ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठकमा रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीलाई छिट्टै संसद्मा उपस्थित गराइने बताएका हुन् । बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीको नियमित संसदीय उपस्थितिलाई लिएर प्रश्न उठाएपछि रास्वपाले यस्तो प्रतिबद्धता जनाएको स्रोतले जनाएको छ । प्रधानमन्त्रीको संसद् उपस्थितिबारे पछिल्लो समय सत्ता र विपक्षबीच विवाद बढिरहेका बेला रास्वपाको उक्त अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
विधेयकमा शिक्षा मन्त्रालयले माग्यो सुझाव
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले ‘प्राविधिक तथा व्यावसायिक तालिमसम्बन्धी संशोधन र एकीकरण गर्न बनेको विधेयक’माथि सुझाव मागेको छ । गुणस्तरीय प्राविधिक शिक्षा र सीप विकासको अवसरलाई पहुँचयोग्य बनाइ शिक्षा र तालिमलाई सीप, श्रम, रोजगारी, उत्पादन र समृद्धिसँग आबद्ध गर्न ल्याउन लागिएको सो विधेयकलाई मन्त्रालयले बेवसाइटमा राखेर सुझाव मागेको हो । मुलुकको सामाजिक तथा आर्थिक रूपान्तरणमा योगदान गर्न सक्ने आधारभूत, मध्यम तथा उच्चस्तरको प्राविधिक जनशक्तिको उत्पादन गर्नका लागि सो विधेयक तयार गरिएको मन्त्रालयले जनाएको छ । विद्यमान ‘प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन, २०४५’ लाई खारेज गर्ने गरी प्रस्ताव गरिएको एकीकृत विधेयकमा परिषद्लाई श्रम बजारको आवश्यकताबमोजिम पाठ्यक्रम, सम्बन्धन र शिक्षालय निर्धारणको अधिकार दिइएको छ ।
नेपाल बैंकको सञ्चालकमा अमृत लम्साल नियुक्त
काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालकमा अमृत लम्साल नियुक्त भएका छन् । बैंकले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडलाई पठाएको पत्रमार्फत अर्थ मन्त्रालयको तर्फबाट लम्साललाई सञ्चालक समितिमा नियुक्त गरिएको जानकारी गराएको हो । कम्पनीका सचिव केशवप्रसाद भण्डारीका अनुसार अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्दै आएका सञ्चालक महेश भट्टराई बिदा समेत भएका छन् ।
तोलामा एक हजार तीन सयले घट्यो सुनको मूल्य
काठमाडौं । स्थानीय बजारमा मंगलबार छापावाला सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला दुई लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबारका लागि भने दुई लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार हुने गरी निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा ९० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला पाँच हजार १५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने पाँच हजार ६० निर्धारण भएको छ ।
काठमाडौं महानगरको छात्रवृत्तिमा २६ हजार बढीको आवेदन, त्रुटि सच्याउन २ दिनको समय
काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरूमा कक्षा ११ र १२ मा छात्रवृत्ति पाउनका लागि २६ हजार ८८८ जना विद्यार्थीले अनलाइन आवेदन दिएका छन् । महानगरपालिकाको शिक्षा विभागका अनुसार आवेदन दिनेहरूमा १६ हजार ५४९ जना छात्र, १० हजार ३३३ जना छात्रा र ६ जना अन्य रहेका छन् । २३ हजार बढीको आवेदन स्वीकृत, त्रुटि सच्याउन आग्रहप्राप्त आवेदनहरूमध्ये हालसम्म २३ हजार ४९९ जनाको आवेदन स्वीकृत भइसकेको छ । बाँकी आवेदकहरूमध्ये ३ हजार ३०२ जनाको विवरणमा त्रुटि देखिएकाले त्यसलाई सच्याउन महानगरले आग्रह गरेको छ । शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार विवरण सच्याउनुपर्ने विद्यार्थीहरूलाई उनीहरूको मोबाइल र इमेलमार्फत सूचित गरिसकिएको छ । त्रुटि भएका आवेदकहरूले विवरण सच्याएर पुनः पेश गरिसक्नुपर्नेछ । तोकिएको समयभित्र आवश्यक कागजात वा विवरण अपलोड नगरेमा आवेदन स्वतः रद्द हुनेछ । हालसम्म आवश्यक प्रक्रिया नपुर्याएका, सबै ठाउँमा एउटै डकुमेन्ट राखेका तथा अनावश्यक कागजात संलग्न गरेका ८४ जनाको आवेदन अस्वीकृत भइसकेको छ । जेठ १३ गतेसम्म आवेदन फाराम स्वीकृत गर्ने प्रक्रिया जारी रहने महानगरले जनाएको छ । छात्रवृत्तिका लागि आवेदन दिने विद्यार्थीहरूमध्ये सबैभन्दा ठूलो संख्या विज्ञान विषय अध्ययन गर्न चाहनेहरूको छ । विज्ञानमा १८ हजार ९९६, व्यवस्थापनमा ७ हजार २७१, कानुनमा ४०७, शिक्षामा १३५ र मानविकीमा ७९ जना विद्यार्थी रहेका छन् । विद्यार्थी र अभिभावकका लागि सहायता कक्षअनलाइन प्रणालीमार्फत आवेदन दिन कठिनाइ महसुस गर्ने विद्यार्थी र अभिभावकहरूलाई सहजीकरण गर्न महानगरको शिक्षा विभागमा सहायता कक्ष स्थापना गरिएको छ । त्यहाँबाट आवश्यक प्राविधिक सहयोग लिन सकिनेछ । प्रवेशपत्र र परीक्षा प्रणाली आवेदन स्वीकृत भएका विद्यार्थीहरूले जेठ १४ गते बिहान १० बजेपछि फाराम भरेकै वेबसाइटमा गएर आफ्नो प्रवेश पत्र डाउनलोड गरी कलर प्रिन्ट गर्न सक्नेछन् । परीक्षा केन्द्र र परीक्षा सम्बन्धी अन्य विस्तृत विवरण प्रवेश पत्रमै उल्लेख हुनेछ।कक्षा १० सम्मको छात्रवृत्ति वडास्तरीय समितिको सिफारिसमा हुने गरे पनि कक्षा ११ र १२ को हकमा भने शिक्षा विभागले परीक्षा सञ्चालन गर्नेछ । परीक्षापछि योग्यता क्रम र म्याचिङ लिष्टका आधारमा विद्यार्थीको नाम सिफारिस गरिनेछ। यसरी छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीहरूले कक्षा ११ र १२ मा कुनै पनि प्रकारको शैक्षिक शुल्क तिर्नुपर्ने छैन ।
मानसरोवर जाँदै गरेका मगर १४ हजार ५ सय डलरसहित पक्राउ
काठमाडौं । रसुवामा अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् । सोमबार साँझ रसुवा उत्तरगया गाउँपालिका ५ बेत्रावती बजारस्थित पासाङ ल्हामु सडकखण्डमा ३९ वर्षीय मिनबहादुर मगर पक्राउ परेका हुन्। काठमाण्डौंबाट टिमुरेतर्फ जाँदै गरेको बा. प्र. ०१००६ ख ७६०७ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा ओखलढुङ्गा ठुलाछाप गाउँपालिकाका मगरलाई पक्राउ गरिएको रसुवा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजु शाहले जानकारी दिए । मानसरोवर जाँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । उनीसँग ८ जना मलेसियन पर्यटक रहेको प्रवक्ता शाहले जानकारी दिए । शाहले मगरलाई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग, हरिहर भवन, ललितपुर पठाइएको जानकारी दिए । केही दिनअघि रसुवाबाटै ४३ हजार अमेरिकन डलरसहित सुशील गुरुङ पक्राउ परेका थिए ।
अटोचालकको पेसामा महिलाको आकर्षण, आत्मनिर्भरतातर्फ अघि बढ्दै
कर्णाली । पछिल्लो समय अटोचालक व्यवसायमा महिलाहरू आकर्षित हुँदै गएका छन् । सुर्खेतमा १०० भन्दा बढी महिला अटो चालक पेसामा आबद्ध छन् । सहर पसेसँगै उनीहरुले श्रम, सीप र साहसका साथ पेसालाई आत्मनिर्भर बनाउँदै लगेका छन् । जसबाट उनीहरुको दैनिकी मात्र चलेको छैन, भविष्यका लागि बचत समेत गर्न सफल भएका छन् । महिलालाई आत्मनिर्भरतर्फ उन्मुख राखिराख्न कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले ५४ अटोचालक महिलालाई यहाँ तालिम प्रदान गरेको छ । अटोचालकहरु कार्यक्रममा सहभागी मात्र भएनन्, त्यहाँ उनीहरुले पेसाको जोखिम, समाजले उनीहरुप्रति राख्ने दृष्टिकोण, गर्ने व्यवहार र सामना गर्नुपरेको चुनौतिका बारेमा खुलेर आ–आफ्नो धारण राखेका थिए । कार्यक्रममा अटो चालक सुशीला सापकोटाले समाजमा महिलाले पनि चुनौतीपूर्ण कामलाई अवसरमा ढाल्न सक्ने र उनीहरु कमजोर नभएको तर्क गरे । तालिम कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले पेसालाई माया गर्न र व्यबसाय प्रति प्रतिबद्ध भएर कर्म गर्न सुझाव दिए । कर्णाली महिला स्वास्थ्य क्लिनिक सुर्खेतका प्रमुख तथा कर्णाली प्रदेश अस्पतालका स्त्रीरोग विशेषज्ञ तथा डा ललित शाहीले महिला अटोचालकलाई बच्चा र आमाको स्वास्थ्य अवस्था ठिक राख्न बेला बेलामा अस्पतालमा जाँच गर्नसमेत सल्लाह दिए । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालले महिला अटोचालकको व्यवसायलाई मर्यादित, सम्मानित र सुरक्षित बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताए । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अधिकृत खगेन्द्रप्रकाश गैरेले महिला अटोचाललाई मानसिक र नसर्ने रोगका बारेमा जानकारी दिए । मानसिक रोगका कारण कर्णालीमा दैनिक एकजनाले आत्महत्या गरेको बताउँदै उनले अस्पतालमा १२ प्रकारका औषधि निःशुल्क पाइनेबारे जानकारी दिए ।