म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना
म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना गरिएको छ । जिल्लाको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटको ज्ञानोदय माध्यमिक विद्यालय, अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको प्रभा मावि र धवलागिरि गाउँपालिका–४ मुदीको बुद्धिविकास माविमा २०÷२० वटा कम्प्युटरको व्यवस्थापन गरेर कम्प्युटर प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । क्वालिटी एजुकेसन नेपाल, अष्टे«लिया र एजुटेक नेपाल, न्युजिल्यान्डको आर्थिक सहयोगमा समृद्ध ग्रामीण नेपालका लागि शैक्षिक उन्नयन (लर्न) ले संयोजन गरेर १५÷१५ लाख रुपैयाँ लागतमा उक्त आधुनिक कम्प्युटर प्रयोगशला स्थापना गरिएको छ । तीनवटा विद्यालयमा सर्भर सिस्टमबाट चल्ने २० वटा कम्प्युटर जडान गरिएको लर्नका निर्देशक कृष्ण तिलिजाले जानकारी दिए । उनका अनुसार, आधुनिक कम्प्युटर ल्याबका रुपमा स्थापना गरिएको कम्प्युटर कक्षलाई डिजिटल साक्षरताका रूपमा विकास गर्न उपयोग गरिनेछ । तीनवटै विद्यालयमा फर्निचरलगायत व्यवस्थापनमा विद्यालयले करिब तीनदेखि चार लाख रुपैयाँ खर्च जुटाएको र कम्प्युटर, इन्भटर, सर्भरलगायतको खरिदमा दुईवटा संस्थाले १०÷१० लाख रुपैयाँ बढी लगानी गरेको लर्नका निर्देशक तिलिजाले बताए । बुधबार क्वालिटी एजुकेसन नेपाल, अष्ट्रेलियाका अध्यक्ष पिटर जेटी हलले प्रभा मावि र ज्ञानोदय माविको कम्प्युटर ल्याब सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरेका छन् । प्रयोगशाला हस्तान्तरण गर्दै अध्यक्ष हलले नेपालमा शिक्षण सिकाइमा आधुनिक प्रविधिको उपयोगका लागि एक हजार सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना गर्ने लक्ष्य रहेको जनाउँदै हालसम्म करिब दुई सय ५० वटा विद्यालयमा यस परियोजनालाई उपयोगमा ल्याइसकिएको जानकारी दिए । कक्षा ६ देखि १० सम्म नै कम्प्युटर विषयको पठनपाठन गराउँदै आएका सामुदायिक विद्यालयहरूले कम्प्युटरको अभावमा प्रयोगात्मक अभ्यासरहित तरिकाले पाठ्यपुस्तक मात्रै पठनपाठन गर्नुपर्ने बाध्यता रहेको थियो । विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना भएपछि विद्यार्थीहरुलाई प्रयोगात्मक अभ्याससहित कम्प्युटर विषयको पठनपाठन गराउन सहज हुने ज्ञानोदय माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि सुवेदीले बताए । ‘विद्यालयका कम्प्युटर पुराना भएर बिग्रिएपछि विद्यार्थीहरूले अभ्यास गर्न पाएका थिएनन्, हामीले कम्प्युटर बनाउन हैरानी खेप्नुपरेको थियो, अहिले लर्नको नेतृत्वमा दातृ संस्थाहरुको सहयोगमा सुविधा सम्पन्न र आधुनिक कम्प्युटर कक्ष तयार भएको छ, अब विद्यार्थीहरुसँगै समुदायमा नै डिजिटल साक्षरताको पहुँच विस्तार हुने विश्वास लिएका छौँ,’ उनले भने । विद्यालय समयबाहेक बिहान र बेलुकाको समयमा युवा क्लब, आमा समूहलगायत स्थानीयवासीलाई समेत लक्षित गरेर उक्त कम्प्युटरहरूलाई उपयोग गरेर कम्प्युटर सिकाइ सञ्चालन गर्ने अध्यक्ष सुवेदीले बताए । यस कम्प्युटर प्रयोगशाला सर्भर प्रणालीमा आधारित भएकाले कम्प्युटरमा विद्यार्थीहरुले सिकेका र खोजेका कुराहरुको कम्प्युटर शिक्षकले एउटै कम्प्युटरबाट नियन्त्रण गर्न र नियाल्न सक्ने व्यवस्था गरिएको छ । कम्प्युटर प्रयोगशाला हस्तान्तरण कार्यक्रममा रघुगङ्गा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारी र विद्यालयका प्रअ विजय शर्माले सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापनाले विद्यार्थीहरुमा आकर्षण बढाउने र आधुनिक सिकाइको पहुँच बढाउनेमा जोड दिए । कार्यक्रममा सहयोगदाता संस्थाहरुलाई विद्यालयले सम्मान गरेको थियो ।
प्रभु बैंकको वितरणयोग्य नाफा धनात्मक, पौने २ अर्ब नाफा कमायो
काठमाडौं । प्रभु बैंकको वितरणयोग्य नाफा साढे १६ करोड रुपैयाँ रहेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार वितरणयोग्य नाफा १६ करोड ६५ लाख ४७ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा १८ करोड २९ लाख रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक थियो । ९ महिनाको अवधिमा बैंकले पौने २ अर्ब रुपैयाँ नाफा गरेको छ । चैतसम्म बैंकले १ अर्ब ८१ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९५ करोड ४६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चैत मसान्तसम्म बैंकले ८ अर्ब ४३ करोड ९६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ६८ करोड १४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १० अर्ब १९ करोड रुपैयाँ र सञ्चालन नाफा ३ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड रुपैयाँ र जगेडा कोष ९ अर्ब ८६ करोड रुपैयाँ छ । चैतसम्म बैंकले २ खर्ब ७८ अर्ब निक्षेप संकलन गरी २ खर्ब २९ अर्ब कर्जा लगानी गरेको छ । बैंकको तथ्याङ्क अनुसार खराब कर्जा ४.८१ प्रतिशत पुगेको छ । गत वर्षको चैतमा खराब कर्जा ३.४८ प्रतिशत थियो ।
लक्ष्मी सनराइज बैंकको नाफा २७.७० प्रतिशत बढ्यो
काठमाडौं । लक्ष्मी सनराइज बैंकको चालु आर्थिक वर्ष २०८०÷८१ तेस्रो त्रैमासमा खुद नाफा २७.७० प्रतिशत बढेर १ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब २६ करोड ५३ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चैत मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १०३ प्रतिशत बढेर ८ अर्ब ५३ करोड २७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा ४ अर्ब १९ करोड ३२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १०१ प्रतिशत बढेर १० अर्ब ४१ करोड रुपैयाँ र सञ्चालन नाफा ११.७८ प्रतिशत बढेर २ अर्ब २३ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ७ प्रतिशत बढेर २३ अर्ब १८ करोड रुपैयाँ र जगेडा कोष १६ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । साथै, बैंकको निक्षेप संकलन ५ प्रतिशत बढेर ३ खर्ब ११ अर्ब रुपैयाँ र कर्जा लगानी १ प्रतिशत बढाएर २ खर्ब ४९ अर्ब रुपैयाँ गरेको छ । बैंकको तथ्याङ्क अनुसार खराब कर्जा गत वर्षको चैतमा १.८२ प्रतिशत रहेकोमा यस वर्ष बढेर ५.४९ प्रतिशत पुगेको छ । साथै, बैंकको वितरणयोग्य नाफा पनि १ अर्ब २४ करोड रुपैयाँ ऋणात्मक छ ।
माछापुच्छ्रे बैंकको नाफा पौने १ अर्ब रुपैयाँ, एनपीएल ३.६८ प्रतिशत पुग्यो
काठमाडौं । माछापुच्छ्रे बैंकले ९ महिनाको अवधिमा पौने १ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ तेस्रो त्रैमासमा खुद नाफा ३६ प्रतिशत घटेर ८५ करोड ५४ लाख ४६ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा १ अर्ब ३५ करोड १९ लाख रुपैयाँ नाफा गरेको थियो । चैत मसान्तसम्म बैंकले ३ अर्ब ८४ करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब १३ करोड ५५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकले कुल सञ्चालन आम्दानी ४ अर्ब ९० करोड रुपैयाँ, सञ्चालन नाफा १ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । साथै, यस अवधिमा बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ । चैतसम्म बैंकको यस्तो नाफा ३० करोड ५६ लाख रुपैयाँ ऋणात्मक छ । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ११ अर्ब ६२ करोड रुपैयाँ र जगेडा कोष ४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । साथै, बैंकले १ खर्ब ४९ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २६ अर्ब ९९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको तथ्याङ्क अनुसार खराब कर्जा गत वर्षको चैतमा २.३७ प्रतिशत रहेकोमा यस वर्ष बढेर ३.६८ प्रतिशत पुगेको छ ।
९ महिनामा एनआईसी एशिया बैंकको नाफा २ अर्ब रुपैयाँ
काठमाडौं । एनआईसी एशिया बैंकले ९ महिनाको अवधिमा झण्डै २ अर्ब नाफा गरेको छ । बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०/८१ तेस्रो त्रैमासमा १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको चैतमा बैंकले ४ अर्ब १ करोड ४९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा बैंकको नाफा ५२ प्रतिशत घटेको देखिन्छ । चैत मसान्तसम्म बैंकले ८ अर्ब १८ करोड ८१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ९ अर्ब ९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकले कुल सञ्चालन नाफा १० अर्ब ३० करोड रुपैयाँ, सञ्चालन नाफा ३ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । साथै, यस अवधिमा बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ । चैतसम्म बैंकको यस्तो नाफा १ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ ऋणात्मक छ । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड रुपैयाँ र जगेडा कोष १७ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । साथै, बैंकले ३ खर्ब २७ अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको तथ्याङ्क अनुसार खराब कर्जा गत वर्षको चैतमा ०.८५ प्रतिशत रहेकोमा यस वर्ष बढेर ३.०८ प्रतिशत पुगेको छ ।
खराब कर्जा ४.९६ प्रतिशत पुग्दा पनि हिमालयन बैंकको नाफा १२ प्रतिशत बढ्यो
काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्ष २०८०/८१ तेस्रो त्रैमासमा १ अर्ब ९४ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ७३ करोड ८८ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा बैंकको नाफा १२ प्रतिशतले बढेको हो । चैत मसान्तसम्म बैंकले ८ अर्ब ४३ करोड ३९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको चैतमा ६ अर्ब ४९ करोड २९ लाख रुपैयाा खुद ब्याज आम्दानी गरेको थियो । यसअवधिमा बैंकको कुल सञ्चालन आम्दानी ९ अर्ब ५५ करोड २२ लाख रुपैयाँ, सञ्चालन नाफा ३ अर्ब ५१ करोड ८९ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ, जगेडा कोष १९ अर्ब १५ करोड १७ लाख रुपैयाँ छ । बैंकले २ खर्ब ९८ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ३३ अर्ब १७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यसअवधिमा बैंकको खराब कर्जा भने बढेको छ । गत वर्षको चैतमा ४.५६ प्रतिशत रहेकोमा गत चैतसम्म बढेर ४.९६ प्रतिशत पुगेको छ । साथै, चैतसम्म वितरणयोग्य नाफा पनि ५ अर्ब २४ करोड २४ लाख रुपैयाँ ऋणात्मक छ ।
पर्यटन बोर्ड सीईओमा २० जनाको प्रतिस्पर्धा
काठमाडौं । नेपालको सार्वजनिक(निजी साझेदारीको पहिलो र नमुना संस्था नेपाल पर्यटन बोर्डमा प्रमुख कार्यकारी अधिकृत ९सीईओ० पदका लागि २० जनाले आवेदन दिएका छन् । पूर्वसीईओ डा. धनन्जय रेग्मीको कार्यकाल सकिएसँगै बोड नेतृत्वविहीन थियो । पूर्वसीईओ डा. रेग्मीले फेरि सीईओ बन्न आवेदन दिएका छन् । रेग्मी आफ्नो कार्यकालमा विवादित पनि बनेका थिए । यसैगरी पर्यटन बोर्ड सीईओको प्रतिस्पर्धामा दीपकराज जोशी, राजाराम गिरी, श्रद्धा श्रेष्ठ र लक्ष्मण गौतम छन् । जोशी बोर्डका पूर्वसीईओ, गिरी तत्कालीन पर्यटन पुनरुत्थान समिति संयोजक, श्रेष्ठ पर्यटन बोर्डकी प्रबन्धक र गौतम कार्यवाहक निर्देशक हुन् । त्यसैगरी अन्य प्रतिस्पर्धीमा ठाकुरप्रसाद देवकोटा, बोर्डका निर्देशक हिक्मतसिंह ऐर, विजय नेपाल, पदम बम, राजाराम केसी, नवीन पोखरेल, ज्ञानिन राई, ज्ञानेश्वर महतो, सूर्यबहादुर घिमिरे, सन्तोष थापा, ज्ञानेन्द्र अधिकारी, चक्शुविक्रम मल्ल, दीपक बस्ताकोटी, कमल ढोडारी र रामचन्द्र सेढाईं छन् । सीईओका लागि आवेदन दिने अन्तिम म्याद आजसम्म छ ।
चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप
चीन । भ्रष्टाचारविरुद्धको एक दशक लामो कारवाहीको पछिल्लो घटनामा चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी गभर्नरमाथि उच्च पदस्थ अधिकारीका रूपमा आफ्नो कार्यकालमा ठूलो घुस लिएको आरोप लगाइएको सरकारी सञ्चारमाध्यमले बिहीबार बताएको छ । फ्यान यिफेई पहिलो पटक सन् २०२२ नोभेम्बरमा ‘अनुशासन र कानूनको संदिग्ध उल्लङ्घन’ का लागि अनुसन्धानको दायरामा आएका थिए । उक्त शब्द सामान्यतया कथित भ्रष्टाचारका घटनाहरूमा प्रयोग गरिन्छ । एक दशकअघि सत्तामा आएपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले सरकारी भ्रष्टाचारविरुद्ध व्यापक कारवाही अभियान सुरु गरेका छन् । चिनियाँ राज्य प्रसारक सिसिटिभीले फ्यानमाथि अहिले गैरकानूनीरूपमा ‘३८ करोड ६० लाख युआन (पाँच करोड ३० लाख अमेरिकी डलर) भन्दा बढीको सम्पत्ति’ प्राप्त गरेको आरोप लगाइएको बताएको छ । यी गैरकानूनी गतिविधिहरू कथितरूपमा सन् १९९३ देखि सन् २०२२ को बीचमा भएको समाचारमा उल्लेख छ । बिहीबार मध्य प्रान्त हुबेईमा घुसखोरी मामिलमा प्रारम्भिक सार्वजनिक सुनुवाइपछि अदालत स्थगित गरिएको र फैसलाको घोषणा पछि गरिने सिसिटिभीले बताएको छ । सत्तारूढ कम्युनिष्ट पार्टीको आन्तरिक भ्रष्टाचारविरोधी एजेन्सीले सन् २०२३ जुनमा ‘व्यावसायिक कर्तव्यको गम्भीर उल्लङ्घन’ गरेको भन्दै फ्यानले घुस लिएको आशङ्का गरिएको बताएको थियो । केन्द्रीय अनुशासन निरीक्षण आयोगले सो बेला फ्यानलाई सार्वजनिक पदबाट बर्खास्त गरिएको, उनको गैरकानूनी आम्दानी जफत गरिएको र फौजदारी मुद्दा चलाइएको बताएको थियो । समर्थकहरूले राष्ट्रपति सीको भ्रष्टाचारविरोधी अभियानले स्वच्छ शासनलाई बढावा दिने बताए पनि आलोचकहरूले उक्त अभियान सीका लागि राजनीतिक प्रतिद्वन्द्वीहरूलाई हटाउने माध्यम भएको बताएका छन् । भ्रष्टाचार नियन्त्रण अभियान हाल चीनको वित्तीय र बैंकिङ क्षेत्रमा हावी भएको छ । सरकारी स्वामित्वको चाइना डेभलपमेन्ट बैंकका पूर्वउपप्रमुख ली जिपिङ गत महिना अनुसन्धानको दायरामा आएका थिए भने सरकार समर्थित चाइना मर्चेन्ट्स बैंकका पूर्वप्रमुख तियान हुइयुलाई फेब्रुअरीमा घुस लिएको आरोपमा निलम्बित मृत्युदण्डको सजाय दिइएको थियो । रासस