गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे
गलेश्वर । अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म सडकमार्ग हुँदै हिमालपारिको जिल्ला मुस्ताङमा चार लाख पर्यटक पुगेका छन् । म्याग्दी–मुस्ताङ छिर्ने नाकाअन्तर्गतको घासा प्रहरीचौकीमा रहेको तथ्याङ्कअनुसार गत वर्षको वैशाख १ गतेदेखि चैत मसान्तसम्म चार लाख १४ हजार दुई सय ८० जना आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ पुगेका हुन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार सडकमार्ग हुँदै मुस्ताङ प्रवेश गर्ने आन्तरिक पर्यटकको सङ्ख्या तीन लाख ३५ हजार चार सय ६६ छ । तीमध्ये दुई लाख २० हजार सात सय २४ जना पुरुष छन् भने महिलाको सङ्ख्या एक लाख १४ हजार सात सय ४२ छ । विसं २०८० मा ७८ हजार आठ सय १४ बाह्य पर्यटक मुस्ताङ घुमेका छन् । यीमध्ये ७२ हजार सात सय ५६ जना सार्क राष्ट्रभित्रका हुन् भने छ हजार ५८ जना सार्कराष्ट्र बाहिरका रहेका प्रनाउ पाण्डेले जानकारी दिए । उनका अनुसार सार्क राष्ट्रबाट ३८ हजार आठ सय २१ पुरुष र ३३ हजार नौ सय ३५ महिला छन् । सार्क राष्ट्र बाहिरबाट तीन हजार छ सय ४८ पुरुष र दुई हजार चार सय १० महिला मुस्ताङ पुगेका प्रहरीको तथ्याङ्कबाट देखिएको छ । सोही अवधिमा हवाइमार्गबाट ११ हजार चार सय ८४ पर्यटक मुस्ताङ भित्रिएका छन् । यीमध्येका एक हजार एक सय ३४ पुरुष र पाँच सय ४५ महिला गरी एक हजार छ सय ७९ आन्तरिक पर्यटक रहेका प्रनाउ पाण्डेले जानकारी दिए । सार्क राष्ट्रबाट तीन हजार सात सय ६७ पुरुष र चार हजार दुई सय ८८ महिला गरी आठ हजार ५५ पर्यटकले मुस्ताङ घुमेका छन् । सार्क राष्ट्र बाहिरबाट आठ सय ८६ पुरुष र आठसय ६४ जना महिला गरी एक हजार सात सय ५० पर्यटक मुस्ताङ भित्रिएका तथ्याङ्कले देखाएको छ । सडकको सहज पहुँचका साथै सामाजिक सञ्जालको बढ्दो प्रभावका कारण पनि पछिल्ला वर्षमा पर्यटकको सङ्ख्या बढ्दै गइरहेको कागबेनीका होटेल व्यवसायी छेप्तेन गुरुङले बताए । उनका अनुसार पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा मुस्ताङ आकर्षक गन्तव्यस्थल बनेको छ । सडक मार्ग सहज बनेपछि मुस्ताङमा पर्यटकको लर्को लाग्न थालेको छ । बिदा सदुपयोग र तीर्थयात्रा गर्ने आन्तरिक पर्यटकदेखि प्राकृतिक दृश्य नियाल्न चाहने बाह्य पर्यटकसम्मले मुस्ताङ भ्रमण गर्न चाहने हुँदा मुस्ताङमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो बढ्न थालेको हो । मुस्ताङ आफैँमा पनि निकै सुन्दर, आकर्षक र मनमोहक छ । मुस्ताङमा घुमफिर गरेर रमाउनका लागि थुप्रै धार्मिक, पर्यटकीय र ऐतिहासिकस्थल रहेका छन् । पछिल्लोपटक मुस्ताङमा स्वदेशी र विदेशी पर्यटक धेरै पुग्ने गरेका छन् । मुस्ताङ प्रवेशद्वारमा रहेको थासाङ गाउँपालिकामा पर्यटकीय टिटीताल पर्दछ । यसका साथै यहाँ सेकुङ ताल, धौलागिरि आइसफल, टुकेचे ९हिमाल० पिक, भुसर्तोताल, नाउरीकोटा गाउँ (जहाँ कबड्डी–कबड्डी फिल्म सुटिङ) भएको थियो । यसैगरी घरपझोङ गाउँपालिकामा जोमसोम बजार, पर्यटकीय ढुम्बाताल, छेमाताल, यारुजो डाँडा (भ्यु–प्वाइन्ट), कुछपतेरङ्गा गुम्बा, छैरु गाउँ (जहाँ तिब्बतीयनहरु बस्दछन्), मार्फा गाउँ र स्याउ बगैँचा रहेका छन् । बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकामा प्रसिद्ध मुक्तिनाथ मन्दिर पर्दछ । यस्तै यहाँ कागबेनी (पितृ तर्पण दिने स्थान), तिरीगाउँ, १२ वटा गाउँहरु, तिरीताल (डोल्पा जाने बाटोमा पर्ने), छुसाङ पारी ऐतिहासिक गुम्बा र तेताङ नुनखानीसमेत पर्दछ । लो–घेकर दामोदरकुण्ड गाउँपालिकाभित्र दामोदरकुण्ड (पवित्र कालीगण्डकी नदीको उत्पत्ति भएको स्थान), चुङ्सी गुफा, घिलिङ गाउँलगायत बस्ती र धार्मिक तथा पर्यटकीय क्षेत्रहरु पर्दछन् । त्यस्तै उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा लोमान्थाङ गाउँ ‘माटोको सहर’को नामले पनि चिनिन्छ । उपल्लो मुस्ताङमा मुस्ताङ र तिब्बतकाबीचमा हुने व्यापारको राजस्व सङ्कलन गर्ने नेचुङ–लिची भन्सार कार्यालयसमेत छ । छोसेर गाउँमा रहेको चर्चित झोङ गुफा, बहुचर्चित (मुस्ताङ–तिब्बत) कोरला नाकालगायत पर्यटकीय क्षेत्र उपल्लो मुस्ताङमा रहेका छन् । सन् २०२२ मा विदेशी पर्यटक ६५ हजार नौ सय ४० जनाले मुस्ताङको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका प्रशासन सहायक कमलराज जोशीले जानकारी दिए । सन् २०२३ मा ७८ हजार आठ सय १४ जना बाह्य पर्यटक भित्रिएका छन् । मुस्ताङमा खासगरी धार्मिक पर्यटक कागबेनीमा आफ्ना पितृहरुको उद्धारका लागि पिण्डदान (श्राद्ध गर्न) जाने गर्दछन् भने प्रसिद्ध मुक्तिनाथ मन्दिरको दर्शन गर्नुका साथै एक सय आठ वटा धारा र पोखरीमा स्थान गर्न पुग्छन् । साथै मार्फाको स्याउ बगैँचा, जोमसोम बजार क्षेत्र, उपल्लो मुस्ताङको लोमान्थाङ र बहुचर्चित मुस्ताङ–तिब्बत कोरला नाका, गुफा तथा गुम्बाको अवलोकन तथा भ्रमणमा बर्सेनि पर्यटक पुग्ने गरेका छन् । पछिल्लो समय मुस्ताङमा विदेशीभन्दा पनि स्वदेशी पर्यटकहरुको बाहुल्यता बढ्दै गएको छ । मुस्ताङ पर्यटकीय गन्तव्य बन्दै जान थालेको छ । विश्वमै चर्चित स्थानमध्ये पर्ने मुस्ताङमा भारतसहित तेस्रो मुलुकबाट अधिकांश पर्यटक विभिन्न समयमा भ्रमण गर्न पुग्ने गर्दछन् । पछिल्लोपटक नेपालीमा पनि घुम्नुपर्छ भन्ने बानीको विकास भएसँगै अहिले देशका विभिन्न जिल्लाबाट पनि यहाँ घुम्न जाने पर्यटकको भीड लाग्ने गरेको छ । पछिल्लोपटक मुस्ताङमा स्वदेशी र विदेशी पर्यटकको सङ्ख्या बढ्दै जान थालेको पर्यटन व्यवसायी बताउँछन् । मुस्ताङ भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकहरु खासगरी म्याग्दीको बेनी हुँदै सवारीसाधनमार्फत पुग्ने गरेका छन् । कतिपय पर्यटकहरु ट्रेकिङ एजेन्सीमार्फत पर्यटक गाइडहरुको सहयोगमा मनाङको थोरङ्लापास क्षेत्र र कोही पर्यटक पोखरा–जोमसोम हवाईमार्गबाट पनि पुग्ने गर्दछन् । रासस
बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा पाँच तारे होटल बन्दै
महोत्तरी । महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता होटल व्यवसाय फस्टाउँदै गएको छ । पछिल्लो पटक बर्दिवास–१ म एक अर्ब रुपैयाँमाथिको लगानीमा सुविधा सम्पन्न पाँच तारे होटल निर्माण काम थालिएको छ । बर्दिवास चोकको नजिकै ‘होटल रामिणी’को निर्माण थालिएको हो । कोरोना महामारीमा सुस्ताएको पर्यटकीय गतिविधि पछिल्ला दिनमा बढ्न थालेसँगै होटल, व्यवसाय तथा पर्यटनलाई लक्षित गरेर विभिन्न क्षेत्रमा लगानी गर्ने बढिरहेका छन् । होटल रामिणीको निर्माणका लागि एक अर्ब १० करोड रुपैयाँ लागत अनुमान गरिएको होटल रामिणी निर्माण समितिका अध्यक्ष शम्भु घिमिरेले जानकारी दिए । यसअघि केही महिना पहिले मात्र बर्दिवासस्थित होटल गौतमले लालगढमा ५० करोड रुपैयाँ बढी लागतमा अत्याधुनिक होटल निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । विनायक, गुञ्ज, नाव्या र पावनमिथिला बर्दिवासमा सञ्चालन हुँदै आएका आधुनिक सेवासहितका होटल मानिन्छन् । यसबाहेक २० भन्दा बढी १० करोड लागतमा निर्माण भएका होटल बर्दिवासमा सञ्चालित छन् । मधेसको राजधानी र प्राचीन मिथिला राज्यको मुख्य सांस्कृतिक केन्द्र जनकपुरधाम र भारतको अयोध्यासँगको रामायणकालीन सम्बन्धलाई पर्यटन आदानप्रदानमार्फत जोड्ने उद्देश्यले होटल निर्माण थालिएको घिमिरेको भनाइ छ । आदर्श नारी सीताको माइती जनकपुरधाम र मर्यादा पुरुषोत्तम श्रीरामको जन्मभूमि अयोध्याको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अत्याधुनिक होटल सञ्चालन भएको भन्दै यसले स्थानीयको आर्थिकस्तरमा सुधार ल्याउनुका साथै रोजगारीका अवसर सिर्जना गर्ने उनले बताए । बर्दिवासबाट ३० किलोमिटरको दूरीमा भारतीय सीमावर्ती कन्हमा बजार छ । जहाँबाट भारतको राजधानी दिल्ली र अन्य ठूला नगरसँग सिधा यातायात सेवाले जोडेको छ । साथै ३५ किमी दूरीमा पर्ने जनकपुरधामका पर्यटकीय गतिविधिसँग सोझै जोडिन सकिने बर्दिवासका होटल तथा पर्यटन व्यवसायी बताउँछन् । ‘रामिणी’ सीताजीकै मिथिला, वैदेही, जानकी, मैथिली, किशोरीजी र जनकनन्दिनी जस्तै नाउँ हो । जनकपुरधाम र अयोध्याका सम्बन्ध घनिभूत बनाउन र दोहोरो आवागमन सघन बनाउन सुविधा सम्पन्न होटल र यसको सेवाले सहयोग पुग्ने अपेक्षा गरिएको छ । कूल एक बिघा क्षेत्रफलमा निर्माण हुने यस होटलमा सात/सात तलाका दुई वटा भवन बन्ने छन् । होटलमा ८२ वटा अत्याधुनिक सुविधासहितका कोठा हुने जनाइएको छ । होटल निर्माण दुई वर्षभित्र सम्पन्न भइसक्ने प्रबन्धक श्रेया पाण्डेको भनाइ छ । पूर्वपश्चिम राजमार्ग, बिपी राजमार्ग, मदन भण्डारी राजमार्ग र भारतसँग जोड्ने बर्दिवास जलेश्वर तथा बर्दिवास सम्सी सडकको सङ्गम रहेको हुँदा यो ठाउँ आम यात्रीका लागि बसोबास गर्न उपयुक्त केन्द्र बन्दै गएको प्रबन्धक पाण्डेले बताए । चुरे पहाडको काखमा अवस्थित बर्दिवास वरपर टुटेश्वरधाम, पञ्चधुरा माइस्थान र राइमण्डल धार्मिक क्षेत्र पर्यटकका गन्तव्य बन्दै आएका छन् । यसैगरी १० हजार वर्ष पहिलेको पाषाणकालीन हतियार कारखाना यहाँ रहेको तथ्य प्रकाशमा आउँदै गएपछि यसबारे चासो राख्ने अन्वेषकको बाक्लो आउजाउ बढेको बर्दिवास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्काले बताए । साथै पूर्वपश्चिम राजमार्गमा मधेसको झण्डै मध्यविन्दूमा परेको हुँदा बर्दिवासमा होटल तथा पर्यटन सम्भावना बढेको उनको भनाइ छ । सेवा, सुविधा र अपनत्वभाव होटल तथा पर्यटन सम्भावना विकासका अपरिहार्य पक्ष रहेको होटल तथा पर्यटन व्यवसायी सङ्घ मधेस प्रदेश समितिका अध्यक्ष हिरालाल गौतमले बताए । यही कुरालाई मध्यनजर गर्दै मुलुकमा ३५ लाख पर्यटक धान्ने होटल पूर्वाधार रहेका उनले जानकारी दिए । हाल मुलुकमा पाँच तारे होटलको सङ्ख्या २२ र चार तारे होटलको सङ्ख्या ३४ पुगेको छ । नयाँ बन्न लागेको होटल रामिणीले भारतका होटल ब्राण्डसँग छलफल गरी सेवा तथा सुविधा स्तरीय बनाइने प्रबन्धक पाण्डेले बताए । उनका अनुसार होटल सञ्चालनमा आएसँगै एक सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने छन् । रासस
स्वास्थ्य मन्त्रालयले भन्यो : सरकारीमा कार्यरत चिकित्सकले निजीमा काम नगर्नू
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीले निजी स्वास्थ्य संस्थामा पूर्णकालीन कार्य गर्नु कानुनविपरीत भएको जनाएको छ । मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले अपिल जारी गर्दै मन्त्रालयअन्तर्गत कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निजी स्वास्थ्य संस्थामा पूर्णकालीनरुपमा कार्य गर्नु प्रचलित कानुनविपरीत भएकाले त्यसो नगर्न आग्रह गरेका छन् । ‘मन्त्रालयअन्तर्गत कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारी बिदा स्वीकृत गराइ वा नगराइ स्वदेशमा सञ्चालित निजी स्वास्थ्य संस्था तथा विदेशस्थित सरकारी वा निजी स्वास्थ्य संस्थामा पूर्णकालीनरुपमा कार्यरत रहेको भनी गुनासो प्राप्त भएको हुँदा यस सम्बन्धमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’, अपिलमा भनिएको छ, ‘यसरी काम गर्नु प्रचलित कानुन र विधिको प्रतिकूल हुने हुँदा यससम्बन्धी कार्यमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीलाई संयमित तथा कानुनसम्मत क्रियाकलाप गरिदिन हुन मन्त्रालय हार्दिक अनुरोध गर्दछ ।’ रासस
कसरी गर्ने पदयात्राको तयारी ?
गण्डकी । पदयात्राका लागि नेपाल उत्कृष्ट गन्तव्यमा चिनिन्छ । विश्वका विभिन्न देशका पर्यटकहरू पदयात्राका लागि यहाँ आउने गरेका छन् । पछिल्ला वर्षहरुमा आन्तरिक पर्यटकहरु पनि छोटो वा लामो दूरीका पदयात्रामा निस्किएको पाइन्छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सन् २०२३ मा नेपाल आएका कुल विदेशी पर्यटकमध्ये १५ प्रतिशत पदयात्रा र माउन्टेनियरिङका लागि गएको देखिन्छ । सो वर्ष कुल १० लाख १४ हजार आठ सय ८२ पर्यटक नेपाल आएकोमा एक लाख ५४ हजार दुई सय ६२ जना पदयात्रा र माउन्टेनियरिङका लागि आएका थिए । नेपालमा पदयात्राका लागि असोज–कात्तिक र चैत–वैशाखको याम उत्तम मानिन्छ । अहिले दोस्रो मुख्य पर्यटकीय याम चलिरहेको छ । गन्तव्यस्थलमा पर्यटकको आउजाउ बाक्लिएको छ । पदयात्रामा रमाउनेको सङ्ख्या पनि उल्लेख्य छ । कुनै समय विदेशी पर्यटकले चिनाएको नेपालको पदयात्रा पर्यटन पछिल्लो समय आन्तरिक पर्यटकमाझ पनि उत्तिकै लोकप्रिय छ । नेपालको प्राकृतिक सौन्दर्य, विशिष्ट भूगोल, हावापानी, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता र संस्कृतिको अवलोकनसँगै घुमफिरको आनन्द बटुल्न मानिसहरु पदयात्रामा निस्कन्छन् । शारीरिक, मानिसक स्वास्थ्य र तन्दुरुस्तीका दृष्टिले पनि पदयात्रा गर्नु उपयुक्त मानिन्छ । तपाईं पनि पदयात्राका लागि कुनै गन्तव्य रोज्दै हुनुहुन्छ भने त्यसका लागि गर्नुपर्ने बन्दोबस्ती र तयारीबारे पदयात्री तथा पर्यटक पथप्रदर्शक दिवस गुरङसँगको कुराकानीमा आधारित रहेर हामीले यो सामग्री प्रस्तुत गरेका छौँ । खर्चको जोहो तपाईँ कुन गन्तव्यमा जाँदै हुनुहुन्छ भन्ने कुराले खर्चको निर्धारण गर्छ । सामान्यतया दिनको तीनदेखि चार हजारसम्म जोहो गर्नुहोस् । सगरमाथा क्षेत्र जाँदै हुनुहुन्छ अझ बढी पैसा लाग्छ । छोटो, मध्यम या लामो दुरीमध्ये जुन रोज्नुहुन्छ त्यसअनुसार खर्च तलमाथि हुनुसक्छ । पर्यटकीय क्षेत्रको सेवासुविधा यसै पनि महङ्गो हुन्छ । अहिले प्रायः पदमार्गमा इन्टरनेट र अनलाइन सुविधा पुगेको छ । अनलाइन भुक्तानी सेवा पनि छ । विकट गाउँबस्ती र भूगोलतिर त्यो सेवा नहुन पनि सक्छ । नगद पैसा पनि बोकेर जाँदा सजिलो हुन्छ । गन्तव्यस्थलको पूर्वअध्ययन आफू घुमफिरमा जान लागेको गन्तव्य र त्यहाँको भौगोलिक अवस्थाबारे जानकारी लिनुहोस् । सूचना बटुल्नुहोस् । त्यस क्षेत्रमा रहेका होटल, रेष्टुराँ र चिया घरबारे बुझ्नुहोस् । गुगल या अन्य नक्साको सहायता लिएर पनि गन्तव्यस्थलबारे धेरै कुरा थाहा पाउन सकिन्छ । कति लामो र उचाइसम्मको पदयात्रा हो त्योबारे पहिल्यै थाहा पाएर आफूलाई शारीरिक र मानसिक रुपमा तयार राख्नुपर्छ । नयाँ ठाउँबारे जान्ने जिज्ञासा र उत्साहसहित पदयात्रामा निस्कनुपर्छ । बन्दोबस्ती ऋतु याम, मौसम, हावापानी आदि विचार गरेर लुगालगायत पदयात्राका लागि चाहिने सामग्री जुटाउनुपर्छ । सामानको जोहो गर्दा हतार गर्नुहुँदैन । झोलामा राख्नुपर्ने महत्वपूर्ण सामान छुट्न सक्छ । ट्रेकिङ झोला, जुत्ता, लठ्ठीलगायत सामग्री पदयात्राका लागि नभइहुँदैन । हलुका र धेरै सामान अट्ने झोला किन्नुहोस् । ६५ लिटर जानेसम्मको ट्रेकिङ झोला भयो भने २५ किलोसम्म तौल धान्छ । आफूले बोक्ने सामानको लेखाजोखा गरेर त्यही अनुसार क्षमता भएको झोला किन्न सकिन्छ । बजारमा ट्रेकिङका लागि चाहिने सामग्री सजिलै पाइन्छ । ती सामग्री किन्न १५ हजार जति खर्च हुन्छ । गुणस्तर र ब्राण्डका कारण कुनै सामान अझै महङ्गो पनि पर्छ । गोल्डस्टारलगायत नेपाली ब्राण्डका टे«किङ जुत्ता पनि अहिले बढी प्रयोगमा आइरहेको छ । जुत्ता आरामदायी, बाक्लो सोल र ग्रिप भएको, झट्ट पानी नछिर्ने, हिलो र हिउँमा नचिप्लने चाहिन्छ । ट्रेकिङ ज्याकेट, टिसर्ट, ट्रयाक, ट्राउजर, टोपी, मोजा र पञ्जा आवश्यक पर्छ । गर्मी याम छ भने सोही अनुसारको लुगा चाहिन्छ । जाडो याम छ र हिमाली क्षेत्रमा जाँदै हुनुहुन्छ भने फेदर डाउन ज्याकेटलगायत न्यानो लुगा बोक्नुहोस् । पदयात्रामा जाँदा आँखाको सुरक्षाका लागि चश्मा अनिवार्य चाहिन्छ । गर्मी याममा घामबाट जोगिने चश्मा प्रयोग गर्नुपर्छ । टोपी र ह्याट पनि त्यहीअनुसार चाहिन्छ । छालालाई घामबाट जोगाउने क्रिम, लोसन पनि प्रयोग गर्न सकिन्छ । औषधि र हलुका खानेकुरा पदयात्रामा निस्कदाँ प्राथमिक उपचारका औषधि र सामग्री साथमा बोक्नुपर्छ । आफूले कुनै नियमित खाने गरेको औषधि छ भने नबिर्सिइ झोलामा राख्नुहोस् । उचाइमा जाँदा लेक लाग्ने समस्या हुनुसक्छ । कसैलाई तीन हजार मिटरदेखि माथि जाँदा ‘अल्टिच्युड सिकनेस’को लक्षण देखिन थाल्छ । त्यसकार एकैदिन धेरै हिँड्नुहुँदैन । विश्राम लिँदै पदयात्रा गर्नुपर्छ । तीनहजार मिटरदेखि माथिको यात्रा छ भने दिनमा पाँच सय मिटर मात्र उकालो चढ्नु उपयुक्त मानिन्छ । यात्रामा कहिलेकाहिँ आपतकालीन अवस्था आइपर्न सक्छ । त्यसैले पर्यटक सूचना केन्द्र, प्रहरी, होटललगायत स्थानीयवासीको सम्पर्क नम्बर लिनुपर्छ । पदयात्रामा जाँदा पानीलगायत हलुका खानेकुराको प्रबन्ध गर्नुपर्छ । बिस्कुट, चक्लेट, काजु, बदामआदि साथमा राख्दा राम्रो हुन्छ । एक्लै निहिँड्नुहोस् नयाँ र टाढाको गन्तव्यस्थल छ भने एक्लै पदयात्रामा निस्कनुहुँदैन । नजिक र मानिसको आउजाउ बाक्लो हुने ठाउँ छ भने छोटो दुरीको पदयात्रा एक्लै पनि गर्न सकिन्छ । पदयात्रामा जाँदा पथप्रदर्शक साथमा लिएर जाँदा धेरै सहज हुन्छ । समूहमा पदयात्रा गर्दा झनै सजिलो । सुरक्षादेखि अन्य व्यववस्थापकीय तयारीका लागि पनि समूहमा जाँदा उपयुक्त हुन्छ । पछिल्लो समय पथप्रदर्शक नलिई पदयात्रामा जान नपाइने नीति पनि सरकारले ल्याएको छ । एक्लै हिँड्दा सुरक्षा जोखिम हुन्छ । दुर्घटना भइहोलमा उद्धार जटिल बन्छ । हिमाली भेग छ भने विशेष ख्याल गर्नुपर्छ । हाम्रो हिमालय क्षेत्रमा झण्डै छ हजार मिटरसम्म उचाइ छिचोलेर पदयात्रा गर्नुपर्ने गन्तव्य छन् । रासस
आइसरले पहिलो वार्षिकोत्सवमा गर्यो वृक्षारोपण कार्यक्रमको आयोजना
काठमाडौं । आइसरले पहिलो वार्षिकोत्सवमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । नेपालका लागि आधिकारिक बिक्रेता बतास एमएडब्लु कर्मसियल भेहिकलमा अग्रणी रहेको आइसरको पहिलो वार्षिकोत्सवको अवसरमा शुक्रबार वातावरणीय दिगोपन र कर्पोरेट सामाजिक उत्तरदायित्वको लागि निरन्तर प्रतिबद्धताको रूपमा टंगाल स्थित बतास अर्गनाइजेसनको प्राङ्गणमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वृक्षारोपण कार्यक्रममा सम्पूर्ण कर्मचारीहरू, सरोकारवालाहरू र समुदायका सदस्यहरूको सहभागीता रहेको थियो । जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न, हावाको गुणस्तर सुधार गर्न र जैविक विविधता बढाउन रुखहरूले महत्वपूर्ण भूमिका खेल्छन् । हाम्रो वृक्षारोपण कार्यक्रम मार्फत, हामी आउने पुस्ताको लागि हरियाली र स्वस्थ भविष्य सिर्जना गर्दै हाम्रो वातावरणको संरक्षण र पुर्नस्थापनामा हरियाली कायम गरी योगदान गर्ने लक्ष्य वृक्षारोपण कार्यक्रमको रहेको थियो । ‘कार्यक्रममा सहभागीहरूले रुख रोप्ने, वनीकरणको महत्वबारे जान्न र वातावरण संरक्षण सम्बन्धी अन्तरक्रियात्मक जनचेतनामुलक कार्यक्रममा संलग्न हुने अवसर पाए । वृक्षारोपण कार्यक्रममा भाग लिएर सँगै, हामी वातावरणमा सकारात्मक प्रभाव पार्न सक्छौं र पृथ्विमा हरियालीका लागि दिगो भविष्य सिर्जना गर्न सक्छौं’, कार्यकारी निर्देशक दिपक अग्रवालले भने ।
अब नेपालमै सिरिञ्ज उत्पादन हुने, भवानी राणासहितको ८० करोड लगानी
काठमाडौं । फरच्युना हेल्थ केयरद्वारा नेपालमै सिरिञ्ज उत्पादन शुरु गरेको छ । उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणासहितको टिमले नेपालमा पहिलो पटक ललितपुरको चुनिखेलमा सिरिञ्ज उद्योग सञ्चालनमा ल्याएका हो । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवले उद्घाटन गरेसँगै फरच्युना ब्राण्डका सिरिञ्ज बिक्रीवितरण समेत शुरु भएको छ । नेपालमा अन्तर्राष्ट्रिय स्तरको सिरिन्जलगायत मेडिकलजन्य सामग्री उत्पादन तथा बिक्री वितरण गर्ने उद्देश्यले उद्योग स्थापना गरिएको फरच्युना हेल्थ केयर प्रा.लि.का अध्यक्ष राणाले जानकारी दिइन् । अध्यक्ष राणाले नेपालको औद्योगिक क्षेत्र र गुणस्तरीय स्वास्थ्य उपकरणको अभावलाई पूर्ति गर्ने र आयात प्रतिस्थापन गर्ने लक्ष्य लिएको बताइन् । उनले नेपाली बजारमा आवश्यक पर्ने सबै खाले सिरिञ्ज उत्पादन गरी आत्मनिर्भर बनाउने उद्देश्य उद्योगको रहेको बताइन् । नेपालमा वार्षिक रुपमा १७ भन्दा बढी मुलुकबाट ५७ करोड ८३ लाखभन्दा बढीको सिरिञ्ज आयात भएको देखिएको उनको भनाई छ । उनले एक वर्षका अवधिमा ६ करोड ४७ लाखको संख्यामा सिरिञ्ज भित्रिए पनि गुणस्तर परीक्षण नहुँदा स्वास्थ्यकर्मी र सेवाग्राहीहरुले दुःख पाइरहेको बताइन् । तत्कालका लागि नेपाली बजारमा बिक्री वितरण गर्ने र भविष्यमा विदेशसमेत निर्यात गर्ने लक्ष्य रहेको बताउँदै उनले फरच्युना सिरिञ्ज उत्पादनको गुणस्तरणमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाइन् । अध्यक्ष राणाले मुलुकमा आवश्यक हुने सिरिञ्ज उत्पादन गर्नसक्ने पूर्ण क्षमता रहेको दाबी गरिन् । विभिन्न देशबाट उच्च गुणस्तरीय कच्चा पदार्थ आयात गरी सिरिञ्ज उत्पादन गरिएको बताउँदै उनले फरच्युना हेल्थ केयरमार्फत उत्पादन हुने सिरिञ्जले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट समेत मान्यता लिइसकेको उनको भनाई छ । अध्यक्ष राणाले नेपालमा गुणस्तरीय सिरिञ्ज उत्पादन भएपछि कम गुणस्तरका उपकरणहरु आयातमा राज्यले प्रतिवन्ध लगाउनुपर्ने माग गरेकी छिन् । उनले कोभिड १९ अघि (सन् २०१९)देखि उद्योग सञ्चालन तयारी भएपनि कोरोनाका कारण विदेशबाट आवश्यक सामान आयात गर्न ढिलाइ हुँदा लागत बढेको बताइन् । साथै, नेपालभर सिरिञ्ज बिक्री वितरण गर्ने भएकाले रोजगारी संख्या अझै थपिँदै जाने उनको विश्वास छ । ‘हामीले स्वास्थ्य उपकरणको उत्पादनमा हात हालेका छौं । यसले मुलुकको औद्योगिक क्षेत्रमा पुर्याउने योगदान छर्दैछ । गुणस्तरीय स्वास्थ्य उपकरण अभावलाई पूर्ति गर्ने र आयात प्रतिस्थापन गर्ने लक्ष्य पनि लिएको छ । एक वर्षमा ६ करोड ४७ लाखको संख्यामा सिरिञ्ज भित्रिए पनि गुणस्तर परीक्षण नहुँदा स्वास्थ्यकर्मी र सेवाग्राही र विरामीहरुले दुःख पाइरहेका छन् । तत्कालका लागि नेपाली बजारमा बिक्री वितरण गर्ने र भविष्यमा विदेशसमेत निर्यात गर्ने लक्ष्य पनि लिएको छ । फरच्युना सिरिञ्ज उत्पादनको गुणस्तरणमा कुनै कमी हुन दिँदैनौं ।’ उनले अध्यक्ष राणाले भनिन् । उद्योग स्थापना तथा उत्पादन विविधिकरणका लागि ८० करोड रुपैयाँ लगानी भएको छ । उद्योगले अहिलेसम्म ५० करोड लगानी भइसकेको जनाएको छ । कम्पनीले सिरिञ्ज उत्पादन विश्व स्वास्थ्य संगठनले औषधि उद्योगका लागि तोकेको मापदण्ड जी.एम.पी.मा आधारित रहेर आइइसओ मापदण्डको स्ट्याण्डर्ड पूरा गरेको जनाएको छ ।
माथिल्लो अरुणको वित्तिय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित
काठमाडौं । संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलासययुक्त जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन विषयमा सैद्धान्तिक सहमति जुटेको छ । अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुन अनन्त र विश्व बैंक उच्च नेतृत्वबीच वासिन्टन डिसीमा भएको वार्तामा त्यसबारे सैद्धान्तिक सहमति भएको हो । मन्त्री पुन र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच माथिल्लो अरुणसहित विश्व बैंकको लगानीमा नेपालमा सञ्चालित आयोजनाबारे छलफल भएको थियो । माथिल्लो अरुणमा विश्व बैंकले वित्तीय व्यवस्थापनको नेतृत्व गर्ने विषयमा सैद्धान्तिक निस्कर्षमा पुगिएको मन्त्री पुनको भ्रमण टोली सदस्य एवं अर्थ मन्त्रालयको अन्तर्राष्टिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालले जानकारी दिए । नेपाल सरकारले सैद्धान्तिक स्वीकृति दिएपछि सहमतिले औपचारिकता पाउनुका साथै वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता हुनेछ । गेमचेन्जर आयोजना माथिल्लो अरुणको वित्तीय व्यवस्थापनको नेतृत्व विश्व बैंकले गर्नेछ विश्व बैंकको सहवित्तीयकरणमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको सहुलियतपूर्ण ऋण र स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट गरी ७० प्रतिशत ऋण लगानी जुटाउनुका साथै ३० प्रतिशत स्वपुँजी (इक्विटीं) बाट वित्तीय व्यवस्थापन गर्ने तयारी छ । उक्त आयोजना निर्माणको लागत कति हुने भने टुंगो लाग्न बाँकी छ । अमेरिका उड्नुअघि मन्त्री पुनले ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, विश्व बैंक र एसियाली विकास बैंकका नेपाल निर्देशकसँग माथिल्लो अरुणको वित्तिय व्यवस्थापन छिटो सकेर निर्माणको काम अघि बढाउनेबारे छलफल गरेका थिए । माथिल्लो अरुणको पूर्वतयारीस्वरुप २ किलोमिटर सुरुङ मार्ग र २१ किलोमिटर पहुँच मार्ग निर्माणको काम अघि बढेको छ । जग्गा प्राप्ति र मुआब्जा वितरण करिब सकिएको छ । विद्युतको उच्च माग हुने हिउँदको ६ महिना दैनिक ६ घण्टा पूर्ण क्षमतामा सञ्चालन गरिने माथिल्लो अरुण नेपालकै गेमचेन्जर आयोजना हो । सो आयोजनाबाट वार्षिक चार अर्ब ५३ करोड युनिट ऊर्जा उत्पादन हुनेछ । उत्पादित विद्युत ६ किलोमिटर ४ सय केभीको प्रसारण लाइनमार्फत् संखुवासभाको हाइटारमा नयाँ बन्ने सबस्टेसनमार्फत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । भुँवाघाटमा निर्माण हुने ६ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा सामावेश गरेको छ । बैठकमा विश्व बैंकको लगानीमा सञ्चालित अरु विकास आयोजनाको कामलाई समेत तीव्रता दिने विषयमा छलफल भएको थियो । नेपालले परम्परागत रुपमा उपयोग गर्दै आएको विश्व बैंकको सहुलित दरमा ऋण दिने संस्था इन्टरनेशनल डेभलपमेन्ट एसोसिएसन ९आईडीए० सुविधा बढाउने र आयोजनाहरुमा विविधिकरण गर्नेबारे समेत कुराकानी भएको छ । त्यस क्रममा मन्त्री पुनले नेपालको विकास पूर्वधार निर्माणमा आन्तरिक श्रोतको सीमितता रहेकाले वैदेशिक लगानीको जरुरी रहेको बताए । उनले मलेरिया निवारुणको समयदेखि नै विश्व बैंकले नेपालका लागि गर्दै आएको अनुदान र सहुलीयतपूर्ण ऋण सहायताका लागि धन्यवाद दिँदै आगामी दिनमा थप लगानी बढाउन आग्रह गरे । रेजरले आगामी जुनमा काठमाडौंमा हुने आइडीए–२१ बैठकको राम्रो तयारी गरेको भन्दै नेपालको प्रशंसा गरे । नेपालले आफूलाई ग्रिड अवधारणामा अघि बढाएकामा पनि उनले खुसी प्रकट गरे । उनल आईडीए–२१ बैठकमार्फत काठमाडौँबाट संसारलाई ठूलो सन्देश दिन सकिने विश्वास पैदा भएको बताए । आईडीएमा सदस्य राष्टका ९० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुँदैछन् । यस्तै मन्त्री पुनले आगामी १६ र १७ वैशाखमा हुने तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा उच्चस्तरको प्रतिनिधित्व गर्न लागेकामा विश्व बैंक समूहलाई धन्यवाद दिए ।
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं. ६, मदनआश्रित चोक, तुल्सीपुरस्थित मालपोत कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । तुल्सीपुर उप–महानगरपालिका प्रमुख टिकाराम खड्काले एक समारोहकाबिच उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन गरेका छन् । सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो । यो काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन तथा राजश्व संकलन काउन्टरहरुको संख्या ६८ पुगेको छ । नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा, रेमिट्यान्सको सुविधा लगायत सबै किसिमका साधारण बैंकिङ्ग सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ । बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन । ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।