महालक्ष्मी विकास बैंकले गर्यो महिला उद्यमी लक्षित सशक्तीकरण अभियान
काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा विद्युतीय सवारीको माध्यमबाट महिला सशक्तीकरण गर्ने उद्देश्यका साथ एक अभियानको शुभारम्भ गरेको छ । हरित परिवहनको माध्यमबाट महिला सशक्तीकरण भन्ने मुल उद्देश्यका साथ धुलिखेल नगरपालिकाका विभिन्न महिला उद्यमीहरुलाई विद्युतीय सवारीको साँचो हस्तान्तरण गरिएको थियो । पर्यावरणीय मैत्री यातायातको बढ्दो माग र आवश्यकतालाई सम्बोधन गर्न अन्य स्थानीय तहहरुमा समेत बैंकले हरित कर्जा अन्तर्गत यस्तो अभियान थप विस्तार गर्दै जानेछ । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् । साथै मिति २०८०/०९/२८ मा सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।
गरिमा बैंक र ट्रेकिङ एजेन्सीबीच कर्जामा सहुलियत सहित सेवा उपलब्ध गराउने सम्झौता
काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकीबीच सम्झौता भएको छ । गरिमा विकास र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकीबीच सदस्य संस्थाहरुलाई बैंकको विभिन्न प्रकारका कर्जाहरुमा सहुलियत सहितको सेवा उपलब्ध गराउने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट क्षेत्रिय कार्यालय पोखराका क्षेत्रिय प्रबन्धक भोला प्रसाद तिवारी र टान गण्डकीको तर्फबाट अध्यक्ष धर्मराज पन्थीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार टानका सदस्यहरूलाई गरिमा विकास बैंक लिमिटेडले अधिकतम ५० लाख रुपैयाँसम्म गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा नियम अनुसार सहुलियत ब्याजदरका साथ उपलब्ध गराउनेछ र साथै ५ लाख रुपैयाँसम्म को बैंक ग्यारेन्टी मात्र १० प्रतिशतको नगद मार्जिनमा उपलब्ध गराउनेछ । यि सेवाहरुले गर्दा टान सदस्यहरूलाई व्यापार व्यवसायमा सहजीकरण हुने बैंकले विश्वास लिएको छ । इच्छुक सदस्यहरूले आफुलाई पायक पर्ने यस विकास बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गरी सेवा लिनसक्नेछन् । साथै, यस सम्झौता पश्चात टानले गरिमा विकास बैंकलाई बैंकिङ्ग पार्टनरको रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । यसअघि बैंकले टानको केन्द्रिय संगठनसंग काठमाडौंमा यसै किसिमको सम्झौता गरिसकेको बैंकले जनाएको छ ।
हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, १२ देशबाट प्रतिनिधि आउने
काठमाडौं । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा भएको छ । एक्स्पो आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी एक्स्पोको सबै तयारी पुरा भएको जानकारी दिएको हो । एक्स्पो आगामी बैशाख १२, १३ र १४ गते अर्थात अप्रिल २४, २५ र २६ मा भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा हुनेछ । बैशाख १२ गते बिहान ६ः३० बजे विद्युतीय सवारी (इभी) र्याली गर्दै एक्स्पोको सुरुवात हुनेछ भने बैशाख १३ गते सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलबाट एक्स्पोको समुद्घाटन गर्ने कार्यतालिका तय भएको इप्पानका अध्यक्ष गणेश कार्कीले पत्रकार सम्मेलनमा जानकारी दिए । विद्युतको आन्तरिक खपत वृद्धिगर्न र वातावरणमैत्री सवारीसाधन प्रयोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजना गरिएको इभी र्याली स्काई वाक टावर कमलादीबाट सुरु भई विद्युत प्राधिकरण, सिंहदरबार, कोटेश्वर, ग्वार्को, जावलाखेल, थापाथली, शितल निवास, बालुवाटर लगायतका मुख्य मुख्य स्थानहरुहुँदै करिब २६ किलोमिटरको यात्रा तय गरी एक्स्पो आयोजना स्थल भृकुटीमण्डपमा समापन हुने छ । र्यालीमा विद्युतबाट चल्ने दुई पाँग्रे, तीन पाँग्रे, चार पाँग्रे र छ पाँग्रे इभीहरुलाई निःशुल्करुपमा सहभागी गराइने छ । ‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आयोजना गर्न लागिएको यो एक्स्पोको पहिलो दिन इभी र्यालीका अलवा प्रदर्शनीस्थल भृकुटीमण्डपमा उच्चस्तरीय बिजनेश मिटिङहरु पनि आयोजना गरिएको छ । जसमा भारतका प्रतिष्ठित अडानी ग्रुप, पीटीसी, लगायतका कम्पनीका प्रतिनिधिहरुसँग बिजनेश मिटिङ हुनेछन् । एक्स्पोमा अहिलेसम्म १२ भन्दा बढी देशका १०० भन्दा धेरै स्टलहरुको बुकिङ सम्पन्न भइसकेको छ । आर्थिक गतिविधिहरु सुस्त भइरहेको अहिलेको अवस्थामा पनि एक्स्पोमा उत्साहजनक सहभागिता भएको अध्यक्ष कार्कीले बताए । एउटा आयोजना बनाउन जेजति सेवा र वस्तुहरु चाहिन्छन् सबै एकैठाउँमा पाइने भएकाले ऊर्जा क्षेत्रसँग सरोकार राख्ने सबैले एकपटक एक्स्पोमा भिजिट गर्नै पर्ने पनि उनले बताए । ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय र लगानी बोर्ड नेपालको संरक्षकत्वमा आयोजना हुने हाइड्रो एक्स्पोको कन्ट्री पार्टनरमा भारतीय राजदूतावास रहेको छ । नेपाल सरकारले भारतमा १० बर्षमा १० हजार मेगावाट विद्युत दीर्घकालीन रुपमा निर्यात गर्ने सम्झौता भैसकेको तथा आगामी सन् २०३५ भित्र बंगलादेशमा समेत गरी १५ हजार मेगावाट विद्युत निर्यात गर्ने उद्देश्यसहितको २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने मार्गचित्र ऊर्जा जलस्रोत तथा सिञ्चाई मन्त्रालयले निर्माण गरिसकेको सन्र्दभममा र लगानी सम्मेलनको पूर्व सन्ध्यामा आयोजना हुने यो एक्स्पो ऊर्जा क्षेत्रको समग्र विकासका लागि महत्वपूर्ण हुने इप्पानको अपेक्षा छ । ऊर्जा देशको आर्थिक समृद्धि र उज्यालो नेपालसँग जोडिएकोले यसलाई मूर्त रुप दिने गरी निजी क्षेत्रबाट यो भव्य एक्स्पो आयोजनाा गरिएको हो । नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपत बृद्धि गर्न तथा निर्यात बजारीकरणको ठूलो सम्भावनाका वारेमा ज्ञान र सूचना आदान प्रदान गर्न एक्स्पो उचित गन्तव्य हुने इप्पानका महासचिव बलराम खतिवडाले बताए । एक्स्पोमा ऊर्जा विकाससँग सरोकार राख्ने सरकारी तथा गैरकारी निकाय, विश्वविद्यालयरकलेज, स्वदेशी तथा विदेशी लगानीकर्ता कम्पनी, दातृ निकाय, कुटनीतिज्ञ नियोगहरु, मित्र राष्ट्रहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण व्यवसायी कम्पनी, बैंक तथा वित्तिय संस्था, बीमा कम्पनी लगायतका सबै सरोकारवाला निकायका प्रतिनिधि, प्रवुद्ध व्यक्तित्व, विज्ञ, विशेषज्ञ लगायतलाई एकै थलोमा उपस्थित गराएर ऊर्जा समृद्धिका विभिन्न आयामहरुबारे नीतिगत बहसका साथै नयाँ नयाँ प्रविधि र उपकरणहरुको प्रर्दशनी गर्न झण्डै एक दर्जनभन्दा बढी देशहरुको सहभागीता निश्चित भइसकेको एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालीका कार्यकारी निर्देशक बिजय सागर प्रधानले बताए । एक्स्पोमा दिगो, समावेशी, हरित, पहुँचयोग्य र प्रतिफलयुक्त ऊर्जा विकासका विविध आयामसँगै ऊर्जासँग सम्बन्धित स्वदेशी र विदेशी लगानी, पुँजी संकलन र व्यवस्थापन, जनताको सहभागिता, आन्तरिक खपत र विद्युत व्यापार, समृद्धि र सामाजिक विकास, नीति र राजनीतिको प्राथमिकता लगायतका विषयमा ७ वटा प्राविधिक सत्र तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ । यी सबै प्राविधिक सत्रहरुलाई विश्वको जुनसुकै स्थानबाट पनि सजिलै भर्चुअल माध्यम प्रयोग गरी सहभागीता तथा अवलोकन गर्न सकिने छ । साथै एक्स्पोमा सहभागी प्रदर्शनकर्ताहरुसँग सिधै सम्पर्क पनि गर्न सकिनेछ । हाइड्रो पावरको विकास र विस्तारमा सहयोग पुग्नेगरी हाइड्रो पावर सम्बन्धी वस्तु तथा सेवाको नयाँ अवधारणाबारे विद्यार्थी एवं व्यक्तिगत तवरवाट आविष्कार गरेका वस्तु तथा सेवाको प्रतिष्पर्धा एक्स्पोको आकर्षण बन्ने आयोजकले जानकारी दिएको छ ।
एसईईपछि म्यानेजमेन्ट पढ्ने सोचमा हुनुहुन्छ ? यी हुन् काठमाडौंका उत्कृष्ट कलेज
काठमाडौं । के तपाईं एसईई दिएर बसिरहनुभएको छ ? त्यसो हो भने मैले कति जीपीए ल्याउँछु ? चाहेको विषय पढ्न पाउँछु कि पाउँदिन ? भन्ने कौतुहलता पक्कै होला । आजभोलि नेपालमा एसईईपछि व्यवस्थापन (म्यानेजमेन्ट) पढ्ने विद्यार्थीको संख्या बढेको छ । यसैको लागि अहिले एसईई दिएर बसेका विद्यार्थी ब्रिजकोर्सको तयारी गरिरहेका छन् । म्यानेजमेन्ट पढेका विद्यार्थीलाई रोजगारीको अवसर भएकाले विद्यार्थीको रुचीमा म्यानेजमेन्ट पर्न थालेको हो । व्यवस्थापन विषयमा सैद्धान्तिक र व्यवहारीक दुवै विषयको मिश्रण हुन्छ । म्यानेजमेन्ट अन्तर्गत अर्थशास्त्र, लेखा, आइटी, कम्प्युटर साइन्स, होटेल म्यानेजमेन्ट मार्केटिङ लगायतका विषय पर्छन् । यी विषयको लागि राम्रो कलेज कुनकुन हुन् ? कहाँ पढ्ने भन्नेमा हुनुहुन्छ ? त्यसो भए आउनुहोस् हामी तपाईंलाई म्यानेजमेन्टका लागि मात्र हैन अन्य संकायको लागि पनि अब्बल ठानिएका कलेजको बारेमा जानकारी गराउँछौँ । प्रसादी एकेडेमी ललितपुरमा रहेको प्रसादी एकेडेमी महंगो र राम्रो कलेजमध्येमा चिनिन्छ । आजभन्दा करिब २७ वर्ष अगाडि ‘एकल कार्यक्रम, एकल व्यवस्थापन’को अवधारणा सहित सुरुवात भएको हो । यहाँ कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकायमा पठनपाठन हुन्छ । प्रसादीको शैक्षिक परिणाम हरेक वर्ष उत्कृष्ट हुन्छ । यो कलेजले ९७ प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण गराउन सफल रहेको दाबी गरेको छ । यो एकेडेमीले म्यानेजमेन्टतर्फ २ सय जनाको सिटमा भर्ना लिएर अध्यापन गराउँदै आएको छ । यहाँ भर्ना हुन २.५ जीपीए ल्याएको हुनुपर्छ । कलेजले विद्यार्थीले ल्याएको ग्रेड र प्रवेश परीक्षाको रिजल्ट हेरेर मात्र छात्रवृतिको व्यवस्था गरिने कलेजले जनाएको छ । यसका लागि विद्यार्थी भर्ना शुल्क र मासिक शुल्क गरी ८९ हजार तिनुपर्छ । तर, यो वर्षको शुल्क भने निर्धारण गर्न बाँकी रहेको जनाएको छ । ट्रिनिटी कलेज काठमाडौंको डिल्लीबजारमा अवस्थित यो कलेज पनि म्यानेजमेन्ट पढ्न विद्यार्थीका लागि राम्रो मानिन्छ । ‘शिक्षा नै भविष्यको आधार’ भन्ने उद्देश्यले सञ्चालनमा आएको कलेज गुणस्तरि शिक्षामा आफु उत्कृष्ट रहेको दाबी गर्छ । दक्ष र अनुभवी शिक्षकबाट गुणस्तरिय शिक्षा दिदै आएको कलेज सतप्रतिशत रिजल्ट दिरहन सफल कलेज हो । बृहत पुस्तकालय, खेलमैदान, साइन्स ल्याब, क्यान्टिनको कलेजमा सुविधा छ । बायोमेट्रिक, फिजिक्स, साइन्स लगायतका छुट्टा छुट्टै ल्याबहरू छन् । पाठ्यक्रममा मात्र विद्यार्थीलाई सीमित नराखेर कलेजले प्रयोगात्मक सिप पनि सिकाउने गरेको छ । यस्तै अध्ययन भ्रमण, गोष्ठी लगायतका कार्यक्रम पनि गर्ने गरेको छ । पठनविधि प्रयोगात्मक र व्यवहारिक, शतप्रतिशत रिजल्ट दिने कलेजका रुपमा आफुलाई दाबी गर्दै आएको छ । ग्लोबल कलेज अफ म्यानेजमेन्ट काठमाडौंको मध्यबानेश्वरमा रहेको यो कलेज म्यानेजमेन्टको लागि उत्कृष्ट ठहरिन्छ । सन् २००१ मा स्थापना भएको यो कलेजले अत्याधुनिक ल्याबसहित शिक्षा दिरहेको छ । व्यवस्थापनको अध्यापनमा सफल बनेपछि यसले ग्लोबल स्कुलअफ साइन्स सञ्चालनमा ल्याएको छ । यो कलेजमा कक्षा ११ मामात्र हरेकवर्ष ९ सय विद्यार्थी भर्ना हुन्छन् । यो कलेजले भौतिक पूर्वाधार, आधुनिक शिक्षण प्रणाली, आधुनिक ल्याब र लाइब्रेरीमा विशेष ध्यान दिएको छ । विद्यार्थीले ल्याएको जीपीए र विद्यार्थीको क्षमता हेरेर सबै विद्यार्थीलाई छात्रवृत्ति दिने गरेको कलेजका कार्यक्रम कोर्डीनेटर जय गौडेलले बताए । यो कलेजमा अध्यनरत विद्यार्थी गएको ८,९ वर्षदेखि उत्कृष्ट नतिजा ल्याइरहेका छन् । उत्कृष्ट शिक्षकबाट शिक्षा प्रदान गर्ने यो कलेजमा रेगुलर पढ्ने विद्यार्थी सबै पास हुन्छन् । विषयगत प्रोजेक्ट कार्य, शैक्षिक भ्रमण, व्यापारिक सर्भे, सामाजिक सेवाका कार्यक्रम र खेलकुद गतिविधि ग्लोबल कलेजमा पढाइसँगसँगै सञ्चालन हुने गर्छन् । यो कलेज विद्यार्थीका लागि उत्कृष्ट कलेज हो । काठमाडौं मोडल कलेज काठमाडौंको मुटु बागबजारमा रहेको काठमाडौं मोडल कलेज एक उत्कृष्ट शैक्षिक संस्था हो । कक्षा ११ र १२ मा टप ५ भित्र परेको यो कलेज सन् २००२ मा स्थापना भएको हो । यहाँ अनुभवी र मिहिनेती शिक्षकबाट अध्यापन गराइन्छ । राष्ट्रिय शिक्षा दिवस २०८० का अवसरमा यसलाई उत्कृष्ट क्याम्पस घोषणा गर्दै विश्वविद्यालय अनुदान आयोगको मूल्याङ्कनका आधारमा निजीतर्फ पुरस्कृत भएको थियो । विद्यार्थीलाई पायक पर्ने ठाउँमा रहेको यहाँ विश्वस्तरीय भवन, ल्याब, कक्षाकोठा, पुस्तकालय, क्यान्टिन, खेल मैदान विद्यार्थी तथा अभिभावकलाई आकर्षित गर्ने कलेजको अर्को विशेषता हुन् । आइएसटी कलेज काठमाडौंको ज्ञानेश्वरमा रहेको आइएसटी कलेज सार्लजबर्ग युनिभर्सिटी अफ एप्लाइड साइन्स, अस्ट्रियाको सम्बन्धनमा सञ्चालित छ । नेपालमै उत्कृष्ट ‘हस्पिटालिटी’ एजुकेसन उपलब्ध गराउने उद्देश्यसहित यो कलेज सन् २००४ मा स्थापना भएको हो । होटेल म्यानेजमेन्ट र टुरिजमको लागि यो कलेज उत्कृष्ट मानिन्छ । कक्षा ११ मा होटेल म्यानेजमेन्ट, आइटी, जनरल म्यानेजमेन्ट यो कलेजमा पढाइ हुन्छ । यो कलेजमा बेकरी, बार, प्राक्टिकल किचन, प्राक्टिकल रेस्टुरेन्ट, हाउस किपिङका लागि मेकअप रुम, होटल रिजर्भेसन सिस्टमलगायत सुविधा छन् । जसले यस कलेजलाई होटल म्यानेजमेन्ट अध्ययनका लागि उपयुक्त बनाएको कलेका प्रधानाध्यापक सम्झना बस्न्यातले बताइन् । उनका अनुसार यो कलेजमा विद्यार्थीलाई शैद्धान्तिकसँगै व्यवहारिक ज्ञान दिइन्छ । अन्य कलेजभन्दा फरक र प्रयाक्टिकल्ली शिक्षा प्रदान गरिने भएकाले यो कलेज महंगो पनि मानिन्छ । यहाँ कक्षा ११ मा पढ्ने विद्यार्थीहरूले १० देखि १२ हजार माशिक शुल्क तिर्नुपर्छ । लिटिल एञ्जलस् कलेज व्यवस्थापन संकाय कक्षा ११ मा भर्ना हुनको लागि लिटिल एञ्जलस् कलेज पनि राम्रो मानिन्छ । ललितपुरको हातीबनमा रहेको यो कलेजमा व्यवस्थापन संकाय अन्तर्गत विभिन्न विषयहरू पढाइ हुने गर्छन् । यो कलेजले राम्रो जिपीए ल्याउने विद्यार्थी र इन्ट्रान्स परिक्षामा राम्रो ल्याउने विद्यार्थीलाई छात्रवृत्तिको समेत व्यवस्था गरेको छ । यो कलेजमा पनि माशिक शुल्क र कूल कति शुल्कमा पढाइ पुरा गर्ने भन्ने विषयमा छलफल गर्न भने बाँकी छ । तर अन्य कलेजहरू भन्दा यो कलेज महंगो मानिन्छ । गएका वर्षमा मासिक शुल्क ३७ हजार, मासिक शुल्क ७ हजार लिँदै आएको कलेजले जनाएको छ । साउथ वेस्टर्न स्टेट काठमाडौंको बसुन्धारामा रहेको यो कलेज २०६६ सालमा स्थापना भएको हो । कलेजमा म्यानेजमेन्ट अन्तर्गत होटेल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, बिजनेस स्टडी पढाइ हुन्छ । म्यानेजमेन्टका हिसामा आफुलाई अब्बल रहेको दाबी गर्दै वर्षेनी सयौँ विद्यार्थी अध्यापन गराउँदै आएको कलेजले ग्लोबल मार्केटले खोजिरहेको जस्तै विद्यार्थी उत्पादन गरिरहेको जनाएको छ । यहाँ शिक्षकले विद्यार्थीलाई पढाउने मात्र नभइ शिक्षकले पढाएको र विद्यार्थीले सिकेको विषय एकअर्कालाई सेयर गर्ने गरिन्छ । पाठ्यक्रममा भएको कुरा पढाउने भन्दा पनि प्राक्टिकल धेरै गरिन्छ । यहाँ क्लासलाई ल्याबसँग जोडिर पढाउने गरेको कलेजका कार्यक्रा निर्देशक गणेश महरा बताउँछन् । यो कलेजमा बिहान र दिउँसो पढ्ने विद्यार्थीको शुल्क अलग अलग छ । यो वर्ष कक्षा ११ मा भर्ना हुने विद्यार्थीबाट कति शुल्क लिने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको बताउँदै महराले गएका वर्षमा १ लाख ३० हजारमा विद्यार्थीबाट शुल्क लिएको बताए ।
कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरि हस्तान्तरण
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, पोखरामा स्वास्थ्य प्रयोगशाला निर्माण गरि एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको छ । पोखरा विश्वविद्यालय, शिक्षण अस्पतालमा शुक्रवार पोखरा विश्वविद्यालयका उपकुलपती प्रा.डा. प्रेम नारायण अर्यालको प्रमुख आतित्थ्यतामा उक्त हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । उक्त स्वास्थ्य प्रयोगशाला उपकुलपती अर्यालको समुपस्थितीमा कामना सेवा विकास बैंकका संचालक बलराम बरालले विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. दिपक वहादुर भण्डारीलाई हस्तान्तरण गरेका छन् । उक्त कार्यक्रममा बोल्दै उपकुलपती अर्यालले विश्वविद्यालयको सर्वाङ्गीण विकास, कर्मचारीहरुले प्राप्त गर्ने बैंकिङ सेवामा कामना सेवा विकास बैंकको उत्कृष्ट योगदान भएको बताए । विश्वविद्यालय स्थापना देखी नै शिक्षण अस्पताल स्थापनाको सपना देखिएको भएतापनी हाल शिक्षण अस्पतालले १०० शैयाको संचालन अनुमती प्राप्त गरिसकेको जानकारी गराए । १०० शैयाको अनुमती प्राप्त गर्नको लागि अनिवार्य आवश्यक भएको उक्त स्वास्थ्य प्रयोगशाला निर्माण गरिदिएकोमा बैंक परिवारलाई धन्यवाद व्यक्त गरे । सोही कार्यक्रममा बोल्दै विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.दिपक वहादुर भण्डारीले बैंकले आफ्ना विभिन्न कार्यक्रमहरुमा विश्वविद्यालयलाई पुर्याएको योगदानको कदर गरेका थिए । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै कामना सेवा विकास बैंकका संचालक बलराम बरालले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विश्वविद्यालयसँग जोडिन पाएकोमा खुशी व्यक्त गरे । विश्वविद्यालयको शैक्षिक विकास, कर्मचारीहरुको वित्तीय पहुँच तथा वित्तीय सेवा, सामाजिक सेवा तथा विद्यार्थीहरुको शैक्षिक भविष्यको साझेदार बन्न पाएकोमा बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले खुशी व्यक्त गरे । साथै, प्रमुख कार्यकारी अधिकृत थकालीले आगामी दिनहरुमा विश्वविद्यालयसँग साझेदारी गर्दै अन्य कार्यक्रमहरुमा समेत साझेदारी गर्ने समेत बताए । उक्त कार्यक्रम शिक्षण अस्पतालका निर्देशक डा.दिपेन्द्र यादवको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा विभिन्न संकायका डिन, निर्देशक तथा बैंकका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । सोही कार्यक्रमका बिच कामना सेवा विकास बैंक र पोखरा विश्वविद्यालयविच वित्तीय सेवा सुविधा प्रदान सम्बन्धी औपचारीक समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा विश्वविद्यालयका तर्फबाट रजिष्ट्रार प्रा.डा.दिपक बहादुर भण्डारी र बैंकको तर्फवाट प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले हस्ताक्षर गरेका छन् । उक्त समझदारी पश्चात विश्वविद्यालयका प्राध्यापक, कर्मचारीहरुलाई बैंकले सहुलियत रुपमा विभिन्न अत्याधुनिक वित्तीय सेवा प्रदान गर्नेछ । हाल पोखरा विश्वविद्यालयले देशैभरका विभिन्न ५८ वटा क्याम्पसहरुलाई सम्वन्धन प्रदान गरि उक्त क्याम्पसहरु तथा विश्वविद्यालयको केन्द्रीय क्याम्पसवाट विभिन्न २६ वटा कार्यक्रममा अध्यापन गराउदै आएको छ । हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।
अफ्रिकी किशोरी भन्छन् : नेपाली भाषा र संस्कृति लैजान्छौँँ
काठमाडौं । चार महिनाअघि नेपाल आउँदा रुवान्डाकी क्रिस्टिना युविज्जेसँग झोलामा लुगा बाहेक अर्थोक केही थिएन । यहाँ आउनुअघि उनले नेपालबारे ‘गुगल सर्च’ गरे । उनको सूचनामा नेपाल पहाडै पहाडको देश भन्ने जानकारी आयो । रुवान्डाबाट नेपालसम्मको हवाई यात्राभरी उनको कल्पनामा नेपाल पहाड र चुचुरा मात्र थियो । अफ्रिकासँग नेपालको भाषा या शैली मिल्ने कुरा पनि भएन । तर उनीसँग स्काउटले सिकाएको सिक्ने र सिकाउने बानी छ । तर कसरी गर्ने होला ? यो कुरा उनको दिमागमा खेलिरहेको थियो । यही स्वभावका कारण क्रिस्टिनाले सबैभन्दा पहिला नेपाली भाषा सिक्न थाले । सुरुमा खानाका परिकार र त्यसपछि सञ्चोबिसञ्चोको खबर आदानप्रदानका केही शब्दबाट सुरु भएको उनको नेपाली भाषा सिकाइ अहिले आफ्नो परिचयसम्म पुगेको छ । अहिले उनी आफ्नो छोटो परिचय नेपाली भाषामै दिनसक्ने भएका छन् । स्काउटमार्फत नेपाल आएकी उनले चार महिनामै नेपाली भाषा र संस्कृति सिकेका छन् । अहिले त आफ्नो परिचय पनि नेपाली भाषामै दिन्छन् । भेट हुने नेपालीसँग उनी भन्छन्, ‘नमस्कार म क्रिस्टिना, अफ्रिकाको रुवान्डाबाट नेपाल आएकी ।’ क्रिस्टिनालाई लाग्छ, कसैसँग आत्मियता बढाउनु छ भने उसको भाषा र शैली सिक्नुपर्छ । यसले छिट्टै उनीहरुसँग घुलमिल हुन र अपनत्व बढाउन सजिलो हुन्छ । अफ्रिकाबाट नेपाल आएको चार महिना नपुग्दै उनले नेपाली शब्द कोष समेत बटुल्न थालेका छन् । यतिबेला नेपाल स्काउटको निम्तोमा अफ्रिकाका विभिन्न देशबाट क्रिस्टिनासहित पाँच किशोरी नेपाल आएका छन् । घाना, मलावी, मदगास्कर, रुवान्डा र युगान्डाका किशोरीहरुले यहाँको संस्कृति र भाषा सिक्ने मात्रै होइन, आफ्नो अनुभव समेत विद्यालयहरुमा पुगेर सुनाउने गरेका छन् । उनीसँगैकि रेश्मा सलिम मलावीबाट आएका छन् । अफ्रिकी मूलकी युवतीको नाम कसरी रेश्मा रहन गयो रु उनलाई धेरै नेपालीले सोध्ने प्रश्न हो यो । उनको नामसँगै पूर्वीय इतिहास जोडिएको छ । हजुरआमा भारतीय मूलकी भएकाले नातिनीको नाम रेश्मा राखेको उनले सुनाए । रेश्मालाई नेपाल मन पर्नुमा छिमेकी मुलुक भारतको निकटता पनि रहेछ । मावली देश भारतकै छेउमा आउदा नेपालप्रति उनमा आत्मीय भाव छ । ‘म मावली छेउमै छु जस्तो लागेको छ’, उनी थप्छन्, ‘कोमल हृदय भएका यहाँ धेरै मान्छे रहेछन् ।’ मदागास्करकी फेलाना भने नेपालको प्राकृतिक सौन्र्दयबाट मोहित छन् । केही सुन्दरता तस्वीरमा कैद गरेका छन् । घानाबाट आएकी युजेनिया इडोइफ्याड्रोलाई नेपालको एड्भेञ्चरले खुबै तानेको छ रे । स्काउटले किशोरीलाई सशक्तिकरण गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको नेपाल स्काउटकी युवा कार्यक्रम अधिकृत सरु गोसाईले जानकारी दिए । यस ‘गर्ल्स मुभमेन्ट’ (एसस)की नेपालको संयोजक समेत रहेकी सरुका अनुसार स्काउटमा दुई वटा विश्व सङ्गठन छन् । एउटा वर्ल्ड अर्गनाइजेसन अफ स्काउट द मुभमेन्ट (वजम) र अर्को वर्ल्ड एसोसिएसन अफ गर्ल गाइडस् एण्ड गर्ल्स स्काउटस (वाग्स) । यही वाग्स अन्तर्गत विभिन्न इनिसिएटीभ्सहरु छन् । जसमध्ये ‘यस गर्ल्स मुभमेन्ट’ पर्छ । यो युथ एक्सचेन्ज साउथ टु साउथ हो । यो विधामा ‘एक्सचेन्ज प्रोग्राम’ हुन्छ । एउटा छ महिना र अर्को १० महिनाको हुन्छ । जसमा १३ वटा देश आबद्ध छन् । यसअन्तर्गत नेपाल र बङ्गलादेश पनि छन् । विभिन्न देशका स्काउटहरु स्वंयसेवकमा आएर एक अर्काको देशमा अनुभव बुटल्ने गर्छन् । यसै अन्र्तगत यसपटक अफ्रिकाबाट पाँच जना किशोरी स्काउट स्वंयमसेविकाका रुपमा नेपाल आएका हुन् । उनीहरुले यहाँ बसुन्जेल यहाँको काम गर्ने तरिका, जीवनशैली, भाषा, गतिविधि र परिवेश अवलोकन गर्नेछन् । नेपालबाट पाँच जना किशोरी पाँच वटा फरक देशमा बसेर काम गरिरहेका छन् । नेपालमा सन् २०१८ मा यो कार्यक्रम सुरु भएको हो । सुरुमा तीन जना पठाउने गरिन्थ्यो भने अहिले सङ्ख्या बढाएर पाँच पुर्याइएको छ । सन् २०२० बाट पठाउने र बोलाउने गर्न थालिएको हो । यसभन्दा अघि बोलाउने मात्रै गरिन्थ्यो । सरुका अनुसार सहभागी अफ्रिकाका स्काउट स्वयंसेवकहरु विभिन्न सामुदायिक र निजी स्कुलमा गएर कार्यक्रमहरु सञ्चालन गर्ने, स्काउटमा बस्नुको महत्व बुझाउने, शिक्षासम्बन्धी चेतना जगाउनेलगायत चेतनामुलक कार्यक्रमहरु पनि गर्छन् । यसै अन्तर्गत ‘ग्रीन टेक जेनेरेसन’ अभियान छ । यसमा वातावरणसम्बन्धी जानकारीमुलक क्रियाकलाप हुन्छ । अर्को ‘रेड प्राइड’मा महिनावारीसँग सम्बन्धित शिक्षाहरु दिइन्छ र सिकाइन्छ । यस वर्ष नयाँ कार्यक्रम थपिएको छ । जुन विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितसँग सम्बन्धित छ । तुलनात्मक रुपमा यस क्षेत्रमा पुरुषको भन्दा महिलाको उपस्थिति न्यून छ । सहभागिता बढाउन जोड दिने हेतुले यो कार्यक्रम थपिएको हो । साथै ‘एस गर्ल्स क्यान क्याम्पेन’अन्तर्गत मूल नारा ‘एस गर्ल्स क्यान से नो टु साइवर बुलिङ’ रहेको छ । पछिल्लो समय अनलाइनमार्फत हुने विभिन्न हिंसाबाट सुरक्षित हुने तरिका सिकाउँदै आइएको सरुले बताए । रासस
विकास बैंकका सूचक खस्किए, वितरणयोग्य नाफा ध्वस्त
काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरूको नाफामा सामान्य गिरावट आएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको वित्तीय प्रतिवेदनका आधारमा राष्ट्रिय स्तरका ८ वटा विकास बैंकको खुद नाफा २.०५ प्रतिशत घटेर ३ अर्ब ५३ करोड ८८ लाख रुपैयाँ आर्जन गरेका छन् । गत वर्षको सोही अवधिमा ३ अर्ब ६१ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । समीक्षा अवधिमा सबैभन्दा धेरै नाफा सांग्रिला डेलभपमेन्ट बैंकले गरेको छ । यस बैंकको नाफा ९.४४ प्रतिशत बढेर २६ करोड ९३ लाख रुपैयाँ आर्जन गरेको छ । यस्तै, कामना सेवा विकास बैंकले ८.४० प्रतिशत बढेर ३३ करोड १३ लाख रुपैयाँ, मुक्तिनाथ विकास बैंकले ८.१२ प्रतिशत बढेर ८७ करोड १८ लाख रुपैयाँ र गरिमा विकास बैंकले ४.८४ प्रतिशत बढेर ६८ करोड ३४ लाख रुपैयाँ खुद नाफा गरेका छन् । चैत मसान्तसम्म गत वर्षको तुलनामा विभिन्न ४ वटा राष्ट्रियस्तरका विकास बैंकको खुद नाफा घटेको छ । महालक्ष्मी विकास बैंकको १.४२ प्रतिशत घटेर ३७ करोड ३५ लाख रुपैयाँ, शाइन रेसुङ्गा डेलभपमेन्ट बैंकको ७.१८ प्रतिशत घटेर ५१ करोड ४६ लाख रुपैयाँ, ज्योति विकास बैंकको २६.३९ प्रतिशत घटेर १५ करोड २४ लाख रुपैयाँ र लुम्बिनी विकास बैंकको २६.९१ प्रतिशत घटेर ३४ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यी विकास बैंकहरूको खराब कर्जा औसत ९.४४ प्रतिशत बढेका कारण नाफामा असर परेको तथ्याङ्कले देखाएको छ । चैतसम्मको तथ्याङ्क अनुसार ०.३१ प्रतिशत बिन्दु बढेर ३.५८ प्रतिशत बिन्दु पुगेको छ । जबकी गत वर्षको सोही अवधिमा ३.२७ प्रतिशत बिन्दु खराब कर्जा थियो । समीक्षा अवधिमा महालक्ष्मी विकास बैंक र लुम्बिनी विकास बैंकले खराब कर्जा घटाएका छन् भने अन्य सबै बैंकको बढेको देखिन्छ । महालक्ष्मीको ९.९५ प्रतिशत घटेर ४.१६ प्रतिशत बिन्दु र लुम्बिनीको १.८६ प्रतिशत घटेर ३.६९ प्रतिशत एनपीएल कायम भएको छ । चैत मसान्तसम्म शाइन रेसुङ्गाको ६१.६१ प्रतिशत बढेर ३.४१ प्रतिशत बिन्दु, ज्योतिको २७.७६ प्रतिशत बढेर ४.९७ प्रतिशत बिन्दु, कामना सेवाको ८.८५ प्रतिशत बढेर ३.५५ प्रतिशत बिन्दु, सांग्रिलाको ८.१६ प्रतिशत बढेर ३.८४ प्रतिशत बिन्दु, मुक्तिनाथको १.५ प्रतिशत बढेर २.०२ प्रतिशत बिन्दु र गरिमाको ०.६७ प्रतिशत बढेर २.९७ प्रतिशत बिन्दु पुगेो छ । ब्याज आम्दानी साढे १४ अर्ब समीक्षा अवधिमा ८ वटा विकास बैंकको खुद ब्याज आम्दानी साढे १४ अर्ब रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म १.५३ प्रतिशत बढेर १४ अर्ब ६५ करोड ४४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् । गत वर्षको सोही अवधिमा १४ अर्ब ४३ करोड २५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेका थिए । समीक्षा अवधिमा सबैभन्दा धेरै खुद ब्याज आम्दानी बढाउनेमा शाइन रेसुङ्गा बैंक रहेको छ । यस बैंकले ५.६५ प्रतिशत बढाएर १ अर्ब ६३ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । यस्तै, ज्योतिको १.७४ प्रतिशत बढेर १ अर्ब ७० करोड रुपैयाँ, सांग्रिलाको ३.४९ प्रतिशत बढेर १ अर्ब ४४ करोड रुपैयाँ, मुक्तिनाथको ३.३४ प्रतिशत बढेर ३ अर्ब १३ करोड रुपैयाँ र गरिमाको ५.५४ प्रतिशत बढेर २ अर्ब ५१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका हुन् । विभिन्न तीन वटा विकास बैंकको खुद ब्याज आम्दानी भने घटेको छ । जसमध्ये महालक्ष्मीको ०.४९ प्रतिशत घटेर १ अर्ब ४८ करोड रुपैयाँ, कामना सेवाको ४.६८ प्रतिशत घटेर १ अर्ब ४५ करोड रुपैयाँ र लुम्बिनीको ७.१४ प्रतिशत घटेर १ अर्ब २८ करोड रुपैयाँ ब्याज आम्दानी गरेका हुन् । वितरणयोग्य नाफा ध्वस्त समीक्षा अवधिमा विकास बैंकहरूको वितरणयोग्य नाफामा गिरावट आएको छ । चैत मसान्तसम्म ८ वटा विकास बैंकको वितरणयोग्य नाफा ३९ करोड २२ लाख रुपैयाँ छ । गत वर्षको सोही अवधिमा १ अर्ब ६० करोड रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक थियो । चैतसमम्म कामना सेवाको वितरणयोग्य नाफा १५७.५४ प्रतिशत बढेर २८ करोड ७३ लाख रुपैयाँ रहेको छ । यस्तै, शाइन रेसुङ्गाको २४.५५ प्रतिशत घटेर १४ करोड ८८ लाख रुपैयाँ, गरिमाको ४५.५६ प्रतिशत घटेर १० करोड २१ लाख रुपैयाँ वितरणयोग्य नाफा छ । गत वर्ष वितरणयोग्य नाफा ऋणात्मक रहेका मुक्तिनाथको यस वर्ष भने १ करोड २८ लाख रुपैयाँ, महालक्ष्मीको ९ करोड ८८ लाख रुपैयाँ र लुम्बिनीको ९ करोड १६ लाख रुपैयाँ धनात्मक छ । तर, ज्योति बैंक र सांग्रिला बैंकको भने ऋणात्मक नै छ ।
जसपा सांसद खानद्वारा प्रतिनिधि सभा सदस्यको शपथग्रहण
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालबाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनियताको शपथग्रहण गरेकी छन् । शुक्रबार सिंहदरबारमा खानलाई सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्यको शपथग्रहण गराएका हुन् । मञ्जु शर्मा अन्सारीको निधन भएपछि जसपाले रिक्त स्थानमा २७ वर्षीया खानको नाम सिफारिश गरेको थियो । जसपाबाट समानुपातिक सांसद बनेकी शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा मञ्जु सांसद मनोनित भएकी थिइन् । उनको पनि चैत ४ गते निधन भएपछि रिक्त स्थानमा हसिना सिफारिस गरिएको थियो । शुक्रबार सभामुख घिमिरेले उनलाई प्रतिनिधि सभा सदस्यको शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाइदिएका छन् ।