क्लासिक भ्यु रिसोर्टले आइपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा एनआईसी एशिया
काठमाडौं । क्लासिक भ्यु रिसोर्टले प्राथमिक सेयर (आइपीओ) जारी गर्ने भएको छ । काठमाडौंको बुढानिलकण्ठस्थित डाँडागाउँमा रजिष्ट्रार कार्यालय रहेको क्लासिक भ्यु रिसोर्ट प्रालिले १ सय अंकित दरका १० लाख ५० हजार कित्ता आइपीओ जारी गर्न लागेको हो । यसका लागि कम्पनी र एनआईसी एशिया क्यापिटलबीच सेयर निष्काशन तथा विक्री प्रबन्धन नियुक्ती गर्नेसम्बन्धी सम्झौता भएको हो । एनआइसी आइडीया टु आइपीओ सेवा अन्तर्गत क्लासिक भ्यु रिसोर्टसँग उक्त सम्झौता गरेको हो । कम्पनीले जारी पुँजीको १४ प्रतिशत सेयर जारी गर्न लागेको हो । क्लासिक भ्यू रिसोर्ट बुढानिलकण्ठ, काठमाडौंमा अवस्थित १९ रोपनीको क्षेत्रफलमा निर्माणधिन अवस्थामा रहेको छ । हालसम्म उक्त रिसोर्टको ६५ प्रतिशत भन्दा बढी कार्य सम्पन्न भइसकेको छ । रिसोर्टको अध्यक्ष मुकुन्द राज कुँवर लगायत अन्य संचालक तथा संस्थापक सेयरधनीहरुको रियल इस्टेट लगायत अन्य व्यवसायमा एक दशक भन्दा बढीको अनुभव हाशिल गरेका विज्ञ छन् । क्लासिक भ्यु रिसोर्ट त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट नजिकको दुरीमा अवस्थित रहेको हुँदा स्वदेशी तथा विदेशी प्रर्यटकको पहिलो रोजाइको रिसोर्ट हुन सक्ने कम्पनीले जानकारी दिएको छ । साथै क्लासिक भ्यु रिसोर्ट संचालनको लागि भारतीय ख्याती प्राप्त ब्राण्ड सरोवरको रोयल टुपिलसँग व्यवस्थापकिय सम्झौता समेत सम्पन्न भइसकेको छ ।
मुग्लिन-पोखरा सडक विस्तार : म्याद सकियो, काम सकिएन
तनहुँ । मुग्लिन-पोखरा सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको सम्झौता म्याद सकिएको छ । २०८१ साल वैशाख २ गते सम्झौता म्याद सकिएपछि म्याद थपको प्रक्रिया अघि बढाइएको छ । कोभिडका समयमा निर्माणकार्य स्थगित गर्नुपरेकाले नेपाल सरकारबाट छ महिना म्याद थप गर्न लागिएको आयोजना पूर्वी खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए । वि.सं २०७८ वैशाख महिनादेखि निर्माण सुरु गरिएको थियो । कोरोनाका कारण काम गर्न नपाएका योजनाका म्याद थप गर्ने मन्त्रिपरिषद्को निर्णयअनुरुप म्याद थप्न लागेको उनले बताए । उक्त खण्डमा हालसम्म १८ किमी चार लेन र नौ किमि दुई लेन सडक कालोपत्र भएको छ । उनका अनुसार हालसम्म पूर्वी खण्डमा ५६ प्रतिशत कार्य प्रगति भएको छ । पूर्वी खण्डको अन्तिम विन्दु तनहुँको म्याग्दे जामुनेदेखि दमौलीतर्फ कालोपत्र अघि बढाइएको छ । अहिले कालोपत्र कार्यलाई प्राथामिकता दिँदै आवश्यक स्थानमा पहाड काट्ने काम भइरहेको आयोजनाले जनाएको छ । आयोजना पूरै सम्पन्न गर्न एक वर्ष अवधि थप गर्नुपर्ने आयोजना पूर्वी खण्डका प्रमुख श्यामकुमार यादवले जानकारी दिए । उनका अनुसार नेपाल सरकार, लगानीकर्ता र कन्ट्र्याक्टबीच त्रिपक्षीय छलफल भइरहेको छ । पूर्वी खण्डमा ४१ दशमलव ७ किलोमिटर दूरी रहेको छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको थियो । उक्त खण्डका लागि रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का सम्झौता भएको हो । त्यसैगरी पश्चिम खण्डमा दुई लेनको सात दशमलव पाँच किमि सडक कालोपत्र भइसकेको छ । वर्षाअघि कल्भर्ट र नाला निर्माण कार्यलाई तीव्रता दिइएको पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलले जानकारी दिए । उनका अनुसार उक्त खण्डमा भौतिक प्रगति २० प्रतिशत पुगेको छ । पश्चिम खण्ड अन्तर्गत जिल्लाको जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८ दशमलव ८८ किलोमिटर दुरी रहेको छ । उक्त खण्डको ठेक्का चीनको यनहुइै काइयुन हाइवे एन्डब्रिज कम्पनीले पाएको थियो । यस खण्डका लागि सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । विसं २०७८ भदौबाट काम सुरु भएको यस खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने सम्झौता छ । रासस
चितवन बन्यो माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर
चितवन । माछा, मासु, दूध र अण्डा उत्पादनमा जिल्ला आत्मनिर्भर भएको छ । यहाँ उत्पादित माछा, मासु, दूध र अण्डा प्रतिव्यक्ति आवश्यकता भन्दा बढी उत्पादन हुने गरेको छ । पशुसेवा कार्यालय चितवनका अनुसार दूध प्रतिव्यक्ति न्यूनतम आवश्यकता भन्दा ४५ दशमलब ३३ लिटर बढी उत्पादन हुने गरेको छ । प्रतिव्यक्ति न्यूनतम आवश्यकता अनुसार दूध वार्षिक ९१ लिटर आवश्यक पर्नेमा जिल्लामा एक सय ३६ दशमलब ३३ लिटर उपलब्ध भएको हो । कार्यालयका प्रमुख सुशील केसीका अनुसार मासु ११ दशमलब ५३ किलो, अण्डा चार सय १३ वटा र माछा एक दशमलब ४४ किलो प्रतिव्यक्ति उपलब्ध हुने गरेको छ । जिल्लामा उत्पादित यी वस्तु जिल्लाको कूल जनसङ्ख्यालाई आवश्यक पर्ने न्यूनतम आवश्यकता भन्दा बढी उत्पादन हो । प्रतिव्यक्ति वार्षिक मासु १४ किलो, अण्डा ४८ वटा र माछा पाँच किलो न्यूनतम आवश्यक पर्ने उनले जानकारी दिए । अहिले जिल्लामा मासु प्रतिव्यक्ति २५ दशमलब ५३ किलो, अण्डा चार सय ६१ गोटा र माछा छ दशमलब ४४ किलो उपलब्ध छ । यहाँको कृषि क्षेत्रमा लाग्ने किसानले उत्पादन गरेको खाद्य वस्तुलाई व्यवस्थित गर्न सके राष्ट्रिय आवश्यकतालाईसमेत पूर्ति गर्न सहज हुने उनले बताए । प्रतिव्यक्ति प्रतिवर्ष राष्ट्रिय उपलब्धता दूध ८५ लिटर, मासु १८ दशमलब एक किलो, अण्डा ५४ वटा, माछा तीन दशमलब तीन किलो रहेको छ । राष्ट्रिय न्यूनतम आवश्यकतालाई आधार मान्ने हो भने यो एकदमै न्यून उपलब्धता हो । जिल्लामा भने न्यूनतम आवश्यकता भन्दाबढी यी खाद्य सामग्री उपलब्ध हुँदै आएको केसीले जानकारी दिए । यहाँ गाईभैँसी, बाख्रा, कुखुरा, बङ्गुर र माछा पालनलाई किसानले व्यावसायिक रुपमा अघि बढाएका छन् । जसमध्ये गाईफार्म तीन सय ५९ वटा, भैँसी फार्म ५० वटा, बाख्रा फर्म चार सय ५३ वटा, बङ्गुर फार्म ६० वटा, कुखुरा फार्म एक हजार नौ सय वटा र माछा फर्म पाँच सय सात वटा दर्ता भई सञ्चालनमा छन् । त्यसैगरी कुखुरा ह्याचरी ९५ वटा दर्ता भई ५२ वटा मात्रै सञ्चालनमा छन् । आर्थिक वर्ष विसं २०७९र८० को तथ्याङ्क अनुसार जिल्लामा दूध ९८ हजार एक सय ८३ मेट्रिकटन, मासु एक लाख ८३ हजार ८१ मेट्रिकटन, माछा ४६ हजार ३८ मेट्रिकटन र अण्डा ३३ करोड २४ लाख ६१ हजार दुई सय १२ वटा उत्पादन भएको थियो । रासस
कब्जामा रहेका विद्यार्थीलाई फर्काउन पहल हुँदैछ : प्रधानमन्त्री
महेन्द्रनगर । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्यालेस्टाइन विद्रोहीको कब्जामा रहेका विद्यार्थीलाई सकुशल नेपाल फर्काउन सरकारले गम्भीरतापूर्वक कूटनीतिक पहल गरेको बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ‘प्रचण्ड’ले प्यालेस्टाइन विद्रोहीको आक्रमणमा परेर नेपाली विद्यार्थीले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरे । ‘सुदूरपश्चिम विश्वविद्यालयको कृषिविज्ञान सङ्कायबाट ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल गएर काम गरिरहेको अवस्थामा हाम्रा विद्यार्थीहरूले प्यालेस्टाइन विद्रोहीको आक्रमणमा परेर ज्यान गुमाउनु परेको घटनाले मलाई निकै दुःखी तुल्याएको छ’, प्रधानमन्त्री दाहालले भने, ‘उक्त घटनामा परेर ज्यान गुमाउनुहुने विद्यार्थीहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछु । उहाँका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।’ उनले उक्त आक्रमणमा परेर घाइते भएका तथा अन्य प्रभावित विद्यार्थीलाई यथाशीघ्र स्वदेश फिर्ता ल्याउन र ज्यान गुमाउने विद्यार्थीहरूको शव फिर्ता ल्याउनका लागि सरकारले निर्वाह गर्नुपर्ने भूमिका तदारूकतापूर्वक निर्वाह गरेको उल्लेख गरे । ‘अझै पनि एकजना विद्यार्थी विद्रोहीको कब्जामा रहेका छन्,’ प्रधानमन्त्री दाहालले भने, ‘उहाँलाई सकुशल स्वदेश फर्काउन आवश्यक कूटनीतिक प्रयास भइरहेको छ ।’ रासस
सिटिजन्स बैंकद्वारा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको छ । बैंकले फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको हो । सिटिजन्स बैंकमा आयोजित एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवश कुमारबीच भर्चुअल क्रेडिट कार्ड सञ्चालन सम्बन्धी सम्झौता भएको छ । साथै बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले भर्चुअल क्रेडिट कार्डको उद्घाटन गरेका हुन् । भर्चुअल क्रेडिट कार्डको लागि सिटिजन्स मोबाइल बैंकिङ एप मार्फत योग्य ग्राहकहरूले सिधै आवेदन दिन सक्नेछन । कुनै कागजी कार्य र भौतिक कार्डको आवश्यकता नपर्ने यस्तो कार्डमा ग्राहकहरूले २० हजार देखी २ लाख ५० हजार रुपैयाँसम्मको क्रेडिट सीमा उपभोग गर्न पाउनेछन् । भर्चुअल क्रेडिट कार्ड क्यूआरकोड स्क्यान गरेर किनमेल गर्न, नेपाल भित्र अनलाइन खरिदहरू गर्न प्रयोग गर्न सकिनेछ । यसमा ई.एम.आइ को सुविधा पनि रहेको छ । बैंकले ग्राहकहरुलाई ४५ दिनको समयावधि भित्र सजिलै कर्जा चुक्ता गर्ने विकल्प प्रदान गरेको छ साथै उनीहरूको कुल क्रेडिट कार्डको बक्यौताको १० प्रतिशत देखि १०० प्रतिशतसम्म भुक्तानी गर्ने विकल्प पनि प्रदान गरेको छ । भर्चुअल क्रेडिट कार्ड एक पूर्ण डिजिटल रुपमा सञ्चालित क्रेडिट कार्ड हो र ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप्लिकेशन मार्फत नै यो कार्ड प्राप्त गर्न तथा आफ्नो कारोबार गर्न सक्नेछन् । यो कार्डले भुक्तानी कार्ड उद्योग र ग्राहकहरुलाई पुनः परिभाषित गर्ने अपेक्षा गरिएको बैंकले जनाएको छ ।
ह्वाइट लोटसले आइपीओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट
काठमाडौं । ह्वाइट लोटस पावर लिमिटेडले साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । ह्वाइट लोटस पावरले आफ्नो जारी पूँजीको २६ प्रतिशत अर्थात प्रतिसेयर अंकित मुल्य १०० रुपैयाँ दरका १२ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणमा निष्काशन तथा बिक्रि गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ । यस सम्बन्धि सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र ह्वाइट लोटस पावर लिमिटेडका तर्फबाट कार्यकारी निर्देशक सुमन कुमारी जोशीले हस्ताक्षर गरे । ह्वाइट लोटस पावरले लमजुङ्ग जिल्लाको भुलभुले स्थित हिदि खोलाको पानी सदुपयोग गरि ६.८२ मेगावाटको नदि प्रवाहिमा आधारित हिदि खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
बजारमा छायो हरियाली, १२ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आइतबारको सेयर बजारमा हरियाली छाएको छ । विगत पाँच दिनदेखि निरन्तर ओरालो लागेको बजारमा आइतबार भने अन्तिमको समयमा दोहोरो अंकले बढेर हरियाली छाएको हो । सेयर मूल्य मापक नेप्से परिसूचक १२.२९ अंकले बढेर १९८४.४३ बिन्दुमा पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ०.६२ प्रतिशतले बढी हो । बजारमा परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । गत बिहीबार २ अर्ब ९ करोडको सेयर कारोबार भएको बजारमा आइतबार भने २ अर्ब २५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् । आइतबार ३१० वटा स्क्रीप्स कारोबार भएकोमध्ये गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार भएको छ । फाइनान्सको एकैदिन १० करोड २७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूूल्य भने ३२.९० अंकले घटेर प्रतिकित्ता ७८७.१० रुपैयाँमा झरेको छ । सो दिन बैंकिङ र म्युचुअल फण्ड बाहेक बाँकी समूह हरिया देखिएका छन् । दोल्टी पावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी अर्थात ९.८८ प्रतिशतले बढेर प्रतिकित्ता ४८७ रुपैयाँ पुगेको छ । त्यस्तै, एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.४८ प्रतिशत र रु रु जलविद्युत् परियोजनाको सेयर मूल्य ८.१८ प्रतिशतले बढेको छ । यी दुई कम्पनीको सेयर मूल्य क्रमशः ७०० र ५४६ रुपैयाँ रहेको छ । टप लुजरको शीर्ष स्थानमा भने पिपुल्स पावर रहेको छ । जसको सेयर मूल्य ७.४६ प्रतिशतले घटेर प्रतिकित्ता ६०८ रुपैयाँमा झरेको छ ।
चन्द्रागिरी नगरपालिकामा सरसफाई अभियान कार्यक्रम सम्पन्न
काठमाडौं । चन्द्रागिरी नगरपालिकामा शनिबार सरसफाई अभियान कार्यक्रम सम्पन्न भएको छ । चन्द्रागिरी नगरपालिका र चन्द्रागिरी पूर्व सुरक्षाकर्मी परिषद्को संयुक्त आयोजनामा (नागढुङ्गा -ढुङ्गे अड्डा) सरसफाई गरिएको हो । उक्त कार्यक्रममा चन्द्रागिरी नगरपालिका नगर प्रमुख घनश्याम गिरी, उप-प्रमुख बसन्ती श्रेष्ठ, नगर प्रवक्ता कृष्ण प्रसाद खड्गी, अध्यक्ष विक्रम पाण्डे लगायत नगर प्रहरी र पूर्व सुरक्षाकर्मीहरुको सयौँको संख्यामा उपस्थित थियो । पूर्व सुरक्षाकर्मी नगरपालिकाका सचिव नेपाली सेनाका अवकास प्राप्त प्रमुख सुबेदार सुब्बा थपलियाले विभिन्न ४ स्थानबाट सरसफाइ अभियान प्रारम्भ गरी करिब ३ घण्टा पछि उक्त अभियान समापन भएको बताए । उनले आगामी दिनहरुमा पनि नगरपालिका सँग सहकार्य गर्दै नगर भित्रका विभिन्न धार्मिक, सांस्कृति, एतिहासिक तथा पर्यटकीय महत्वको स्थानहरुमा सरसफाइ, स्वयं सेवकको भुमिका निर्वाह गर्दै नगर भित्र जुनसुकै कार्य गर्ने पनि जानकारी दिए ।