विकासन्युज

मुक्तिनाथ कृषि कम्पनीको ७० हजार कित्ता सेयरको लकइन अवधि जेठ १८ गते सकिने

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको ७० हजार कित्ता सेयरको लकइन अवधि जेठ १८ गते समाप्त हुने भएको छ । कम्पनीले सोमबार एक सूचना जारी गर्दै सामूहिक लगानी कोषका लागि छुट्टाएको ५ प्रतिशतले हुन आउने ७० लाख रुपैयाँबराबरको ७० हजार कित्ता सेयरको लकइन अवधि जेठ १८ गते सकिन लागेको जनाएको हो । कम्पनीले आम सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ गत मंसिर १९ गते बाँडफाँड गरेको थियो । जेठ १८ गते उक्त साधारण सेयर बाँडफाँड भएको ६ महिना पुग्दैछ । साधारण सेयर बाँडफाँड भएको ६ महिनासम्म सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयर रोक्का हुने प्रावधान रहेको छ ।

१५ हजार घुससहित पक्राउ परेका महाराजगञ्जका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । गत चैत १८ गते वडाध्यक्ष अलीलाई १५ हजार रुपैयाँ घुस रकमसहित अख्तियारले पक्राउ गरेको थियो । सेवाग्राहीको घरबाटो सिफारिस दिने नाममा घुस मागेको भन्ने सूचनाका आधारमा खटिएको अख्तियार टोलीले उनलाई रकमसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार पक्राउ परेका अलीलाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कैद सजाय तथा बिगो जरिवाना माग गरिएको छ ।

उपराष्ट्रपति यादव र भियतनामी राजदूतबीच भेटवार्ता

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि भियतनामका राजदूत न्हुएन थान हाईले शिष्टाचार भेट गरेका छन् । भारत र भुटानका लागि समेत भियतनामी राजदूत रहेका न्हुएन थान हाई काठमाडौंमा आयोजित लगानी सम्मेलनका निमित्त नेपाल आएका हुन् । राजदूत न्हुएन थान हाईले उपराष्ट्रपतिसमक्ष नेपाल र भियतनामबीच कूटनीति सम्बन्ध स्थापनाको ५० वर्ष पुग्नै लागेको उल्लेख गर्दै दुई मुलुकबीच लगानी अभिवृद्धिमा सहकार्य गर्नुपर्ने धारणा राखे । नेपाल बुद्ध जन्मस्थल भएकाले भियतनामबाट ठूलो संख्यामा पर्यटक नेपाल आइरहेको उल्लेख गर्दै उनले आउँदा दिनमा पर्यटन लगायतका क्षेत्रमा सहकार्य गर्न आफ्नो मुलुक इच्छुक रहेको धारणा राखे । भेटमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालले भियतनामसँगको सम्बन्ध अझै विस्तार गर्न चाहेको र यसका लागि सहकार्य प्रगाढ बनाउनुपर्ने धारणा राखे । उपराष्ट्रपति र राजदूतबीचको भेटमा नेपालका लागि भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठलगायत प्रतिनिधिहरु सहभागी थिए ।

नेक्सजेन म्यानेजमेन्टले ६ अर्ब विदेशी लगानी भित्र्याउने, कोरियन कम्पनीसँग सम्झौता

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रालिले वैदेशिक लगानी भित्र्याउन कोरियन कम्पनीसँग सम्झौता गरेको छ । लगानी सम्मेलनको अवसरमा चीनका लागी नेपालका राजदूत बिष्णु पुकार श्रेष्ठको उपस्थितिमा नेक्सजेन म्यानेजमेन्टले कोरियन कम्पनी एमएबिसी इन्भेष्टमेन्ट ग्रुपसँग सम्झौता गरेको हो । एमएबिसी इन्भेष्टमेन्ट ग्रुपका अध्यक्ष जियोन योगं लि र नेक्सजेन म्यानेजमेन्टका प्रतिनिधि शिवराज दवाडी (माधव दवाडी) ले सम्झौतामा हस्ताक्षर गरेका हुन् । कोरियन कम्पनी एमएबिसी इन्भेष्टमेन्ट ग्रुपले उद्योग व्यवसाय, हरित उर्जा, सेवा उद्योग, नवीनतम प्रविधि, कृषि तथा खनिज क्षेत्रहरूमा लगानी गर्न स्वीकृति पाएको छ । कम्पनीले विभिन्न क्षेत्रमा ६ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी गर्ने भएको हो । वैदेशिक लगानीमार्फत स्थापना र सञ्चालनमा आउने उद्योग व्यवसायमा नेक्सजेन म्यानेजमेन्टले सहजीकरण तथा परामर्श सेवा प्रदान गर्ने अध्यक्ष रमेश कुमार भट्टराईले बताए ।

आइएमई लाइफकाे खुद नाफा ३३ करोड बढी 

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा ३३ करोड १५ लाख ६० हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ७५.७९ प्रतिशतले बढेको हो । गत वर्ष सोही अवधिसम्म कम्पनीले १८ करोड ८६ लाख १३ हजार रुपैयाँ खुद नाफा गरेको थियो । चालु आर्थिक वर्षको त्रैमाससम्म कम्पनीले ३ अर्ब २९ करोड १५ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १०.२४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ९८ करोड ५८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । यस अवधिमा कम्पनीले ३ अर्ब ११ करोड ५६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ८९ करोड ४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ७.७९ प्रतिशत बढी हो । कम्पनीको चुक्ता पूँजी ४ अर्ब रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीले सेयर प्रिमियम शीर्षकमा १ अर्ब ५३ करोड रुपैयाँ सञ्चित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्ति कोषमा १५ करोड ९१ लाख रुपैयाँ र सञ्चित जगेडा कोषमा ८५ करोड ९२ लाख रुपैयाँ रहेको छ । यस अवधिसम्म कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ११ रुपैयाँ ५ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ २५ पैसा रहेको छ ।

सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसन नेपाललाई सिलाई मेसिन प्रदान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत फातिमा फाउन्डेसन नेपाललाई सहयोग प्रदान गरको छ । बाँके जिल्लामा अवस्थित फातिमा फाउन्डेसन महिलाले नेत्रित्व गरि चलाउँदै आएको एक सामाजिक संस्था हो जसले मुस्लिम, मधेशी र अन्य पिछडिएका बर्गका महिला तथा बालबालिकाहरुको हकहितका लागी काम गर्दै आएको छ । बैंकले फातिमा फाउन्डेसनमा आवद्द विपन्न पृष्ठभूमिका महिलाहरुलाई स्वरोजगार सृजना गर्ने उद्देश्यका साथ २० वटा सिलाई मेसिन सहयोग स्वरुप वितरण गरेको छ । बैंकले यस कार्यबाट विपन्न समुदायका महिलाहरूमा रोजगारीको अवसर सृजना हुने, आय आर्जन हुने र उनीहरूको जीवनशैलीको पनि स्तरोन्नति हुने विश्वास लिएको छ । संस्थामा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलज्यूले सहयोग स्वरुप सिलाई मेसिनहरु हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकको यो सानो पहलले महिलाहरूलाई आत्मनिर्भर बन्न र उनीहरुको जीवनस्तर उकास्न मद्दत गर्ने विश्वास व्यक्त गरे । विपन्न समुदायका महिलाहरूलाई सहयोग प्रदान गर्न पाँउदा आफु हर्षित भएको पनि बताए । बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको र आगामी दिनमा पनि गर्ने योजना रहेको जानकारी गराएको छ ।

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित छौं : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्यरूपमा सफल भएको बताएका छन् । सम्मेलनमा सहभागी हुन आएका विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) तथा नेपालका लागि विभिन्न देशका राजदूतहरूुसँगको साइडलाइन बैठकमा बोल्दै उनले सम्मेलन सफल भएको बताएका हुन् । उनले लगानी सम्मेलनमा विकास साझेदारहरूको सक्रिय सहभागिताले आफूहरू उत्साहित भएको उल्लेख गरे । विकास साझेदार, लगानीकर्ता र सरोकारवालाहरूको उल्लेख्य उपस्थितिले लगानी सम्मेलन सफल भएको उनको भनाइ थियो । लगानी सम्मेलनमा भएको उपस्थितिले नेपाल लगानीका लागि विश्वकै उत्कृष्टमध्येको लगानी गन्तव्य भएको पुष्टि गरेको मन्त्री पुनले बताए । बैठकमा विकास साझेदारहरूसँगको सहकार्यलाई आगामी दिनमा थप सुमधर बनाइने प्रतिबद्धता जनाए । ‘जुन स्तरमा लगानीकर्ता, विकास साझेदार र सरोकारवालाहरुको उपस्थिति देखिएको छ, त्यसबाट लगानी सम्मेलन सफल भएको छ’, मन्त्री पुनले भने, ‘नेपाल लगानीका लागि उदीयमान र आकर्षक गन्तव्य हो र यहाँ लगानीका प्रसस्त अवसरहरू छन् भन्ने तथ्यलाई स्थापित गर्न हामी सफल भएका छौं ।’ सम्मेलनको उदघाटन सत्रमा सरकारका तर्फबाट मात्र नभई प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थिति र प्रतिबद्धताले लगानी वातावरण बनाउने सन्दर्भमा सिंगो देश एकढिक्का रहेको सन्देश विश्वभर प्रवाह भएकामा खुसी व्यक्त गरे । नेपालको विकास प्रयासमा साथ दिन विकास साझेदारका तर्फबाट सम्मेलनमा भएको उपस्थिति र प्रतिबद्धताका लागि धन्यवाद दिए । ‘उदघाटन सत्रमा प्रतिपक्षी दलका नेता, निजी क्षेत्रका प्रतिनिधि, विपक्षी लगानीकर्ताहरू र सम्बन्धित सरोकारवालाहरूबाट नेपालमा लगानीका लागी राम्रो वातावरण बनेको सुन्न पायौं,’ उनले भने, ‘त्यो समर्थनका लागि सरकारका तर्फबाट भन्यवाद दिन चाहन्छु र भन्न चाहन्छु कि वास्वतमै यो हाम्रो सामूहिक शक्ति हो ।’ उनले लगानी सम्मेलनमा प्रदर्शनीमा राखिएका आयोजनाहरुमा विकास साझेदार र लगानीकर्ताको राम्रो आकर्षण देखिएकामा खुसी व्यक्त गरे । मन्त्री पुनले विगतदेखि गरिँदै आएको प्रतिबद्धताअनुसार लगानीमैत्री वातावरण बनाउन अध्यादेशमार्फत ९ वटा कानूनमा गरिएको संशोधनले लगानीकर्तामा विश्वास बढेको अनुभूति भएको उल्लेख गरे । यस्तै विकास साझेदारहरूले चासो राख्खै आएको मुलुकको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) को प्रक्रिया अघि बढेको जानकारी उनले गराए । यस्तै मन्त्री पुनले सरकार नीतिगत सुधार र नीतिगत स्थायित्व कायम गर्न तथा काम गर्ने सिलसिलामा आइपरेका समस्या समाधान गरी लगानी अनुकूल वातावरण तयार गर्न प्रतिबद्ध रहेको सन्देश लगानीकर्तालाई दिन विकास लगानीकर्तालाई आग्रह गरे । मन्त्री पुनले नेपालको ऊर्जा, पर्यटन, सूचना प्रविधि, कृषि व्यवसाय र पूर्वाधारका परियोजनाहरूमा प्रचुर सम्भावना रहेको औंल्याए । नेपाल अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने अवधि नजिकै आइसकेको उल्लेख गर्दै उनले त्यसका लागि अरु क्षमता विकासलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिए । । उनले नेपाल दुई ठूला उदयीमान अर्थतन्त्र भएका चीन र भारतको बीचमा रहेका रहेका कारण नेपालमा स्वदेशी तथा विदेशी लगानीका लागि ठूलो अवसर रहेको बताए । नेपालको जैविक विविधता तथा प्राकृतिक स्रोतहरूको प्रचुरताका कारण पनि व्यावसायिक सम्भावना उच्च रहेको मन्त्री पुनको भनाइ थियो । आगामी दिनमा थप नीतिगत र कानूनी सुधार तथा प्रक्रियागत सरलीकरणमार्फत व्यवसायिक वातावरण सुधारको काम गर्दै जाने उनको प्रतिबद्धता जनाए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिमा जोड दिएको भन्दै उनले आगामी बजेटले ती विषयलाई प्रमुखताका साथ सम्बोधन गर्ने बताए ।

बझाङ प्रदेशसभा १ मा एमालेका भण्डारी विजयी

काठमाडौं । बझाङको प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् । उनले नेपाली काँग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंकलाई २६६ मतले पराजित गर्दै विजयी भएका हुन् । भण्डारीले ११ हजार ६१२ मत पाएका छन् भने काँग्रेसका सिंहले ११ हजार ३४६ मत पाएका हुन् । तेस्रो भएका माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ९६७ मत पाए । यसको औपचारिक घोषणा हुन भने बाँकी छ ।