विकासन्युज

रातो मच्छिन्द्रनाथको रथ धमाधम निर्माण हुँदै  (तस्बिरहरू)

काठमाडौं । नेपालको सबैभन्दा लामो जात्रा भनेर मानिने रातो मच्छिन्द्रनाथ जात्रा बैशाख २९ गते सुरु हुँदैछ । बैशाख २७ गते मच्छिन्द्रनाथको रथारोहणका लागि ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ जात्राका लागि निर्माण काम धमाधम भइरहेको छ । रथ निर्माणमा पाटनका बाराही गुठीका २३ जना र ञवा गुठीका १२ जना गुठीयार सहभागी छन् ।  

कर्णाली सरकारले आजै पूर्णता पाउँछ : मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारले आजै पूर्णता पाउने बताएका छन् । मुख्यमन्त्रीसहित सबै मन्त्रालयको जिम्मेवारी आफैँले सम्हालेका उनले सत्ता साझेदार दलहरुसँगको समन्वयमा आज मन्त्रिपरिषद् पूर्णता दिन थालेका हुन् । उनले यही वैशाख १२ गते विनाविभागीयमन्त्रीका रुपमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक रनसिंह परियारलाई नियुक्त गरेका थिए । आज नेकपा एमालेको भागमा परेका भौतिक पूर्वाधार तथा सहरी विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त गरिने मुख्यमन्त्री कँडेलले बताए । माओवादीको भागमा परेका आर्थिक मामिला तथा योजना, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण, जलस्रोत तथा ऊर्जा विकासमन्त्री नियुक्त हुने जनाइएको छ । नियुक्त हुने मन्त्रीहरुको नाम मुख्यमन्त्री कँडेललाई दिइसकिएको माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका नेता राजकुमार शर्माले जानकारी दिए । दुवै दलबाट को–को मन्त्री हुने भन्नेबारे भने खुलाइएको छैन । मन्त्रीहरू नियुक्त गरेर पद तथा गोपनीयताको शपथ आजै खुवाउने गरी गृहकार्य भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले जनाएको छ । मुख्यमन्त्री कँडेलले गत चैत २७ गते कर्णाली प्रदेश सरकारको नेतृत्व ग्रहण गरेका थिए ।

३२ करोडमा नेपालगञ्जमा तयार हुँदै अत्याधुनिक नगरभवन

राँझा । नेपालगञ्ज उपमहानगरपालिका–१४ भवानीयापुरमा निर्माणाधिन अत्याधुनिक नगरभवनको ८६ प्रतिशत काम सम्पन्न भएको छ । सहरी विकास मन्त्रालयको बजेटमा नगर भवन निर्माण भइरहेको सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ कार्यालय बाँकेका प्रमुख विजय केशर खनालले बताए । ‘हालसम्म सिटी हलको ८६ प्रतिशत भौतिक प्रगति भएको छ, माग गरिए बमोजिमको बजेट तत्काल आउने हो भने यही असारसम्म काम सम्पन्न हुनेछ’, खनालले भने, ‘निर्माण सामग्री समयमा नपाउनु र बीचमै डिजाइन समेत परिवर्तन गर्नु परेकाले तोकिएको समयमा सिटी हलको निर्माण पूरा हुन नसकेको हो ।’ २९ करोड ४५ लाख ५५ हजार नौ सय ५१ लागत रुपैयाँमा लामा कन्स्ट्रक्सनले निर्माण गरिरहेको सो बहुउपयोगी भवनको डिजाइन परिवर्तन गर्दा बजेट बढेर ३२ करोड रुपैयाँ पुगेको छ । उक्त आयोजना निर्माणका लागि निर्माण कम्पनीले २०७८ साल साउन २५ गते काम सम्पन्न गर्ने गरी २०७५ माघ २५ मा सम्झौता गरेको थियो । बहुउपयोगी भवनमा सात सय ९५ सिट क्षमतासहितका तीनवटा सम्मेलन हल छन् । अत्याधुनिक थिएटरसहितको सभा हलमा पनि छ । सभाहलमा २५ वटा चारपाङ्ग्रे र ६० वटा दुई पाङ्ग्रे सवारी अट्ने क्षमता पनि छ । नगर भवनको डिजाइन परिवर्तन गर्दा थप सात करोड रुपैयाँ बजेट थपिएको छ । माग गरिएको बजेट छिट्टै निकासा भए असार मसान्तसम्म निर्माण सम्पन्न हुने भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाई कार्यालय बाँकेका प्रमुख खनालले बताए । नेपालगञ्ज उपमहानगरपालिकाले पुरानो नगर भवन भत्काएर अत्याधुनिक नगर भवन निर्माण सुरु गरेपनि काम अलपत्र पर्दै आएको छ । निर्माणाधिन नगर भवनको काम समयमै सम्पन्न गर्नतर्फ सरोकारवाला निकायले चासो दिनुपर्ने नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए । सहरी विकास मन्त्रालय अन्तर्गतको बजेटमा भवानीयापुरमा निर्माणाधिन नगर भवन समयमै सम्पन्न हुनसके नेपालगञ्जको १४ नं वडा भवानीयापुरमा चहलपहल बढ्ने नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बताए । रासस

नेपालसँग घाँस किन्दै तिब्बत, घाँस खेती गर्ने किसानलाई निर्यातको ढोका खुल्यो

काठमाडौ । तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपालबाट ओट घाँस र जनावरको दाना खरिद गर्ने भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रबीच तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपालका दुई कम्पनीसँग सम्झौता गरेको हो । प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपाल क्राउन एग्रिकल्चर इन्टरप्राइजेज र न्यु होप नेपाल कम्पनीसँग क्रमशः ओट घाँस र जनावरको दाना खरिदको सम्झौता गरेको छ । नेपालका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदुत चेन सोङको उपस्थितिमा घाँस र दाना निर्यात गर्नेबारे सम्झौता भएको हो । नेपालको दक्षिणी तराईको हावापानी र माटोको अवस्था ओट ग्रासको विकासको लागि उपयुक्त मानिन्छ । ओट घाँसमा कच्चा फाइबरको मात्रा राम्रो हुन्छ । जुन याकजस्ता पशुका लागि महत्वपूर्ण मानिन्छ । तिब्बतमा ओट ग्रासको ठूलो माग छ । आन्तरिक उत्पादनले यो माग पूरा गर्न नसकेपछि सरकारले घाँस आयात गरिरहेको छ । नेपालबाट उच्च गुणस्तरको ओट घाँस र पशु दानाको आपूर्तिलाई प्रभावकारी रूपमा सुधार गर्न तिब्बत सरकारले नेपाली किसानसँग सहकार्य गरेको हो । घाँस लैजाने कम्पनी तिब्बत प्लेटु ब्लु एग्रिकल्चरका निर्देशक झ्याङ्ग जियाङ्गले तिब्बतका दुग्ध फार्महरू र किसानहरुको लागि चीनको अर्को क्षेत्रबाट घाँस ल्याउनुभन्दा तातोपानी र केुरुङ नाका हुँदै नेपालबाट घाँस किनेर लैजान सहज र सस्तो हुने बताए । यसले नेपाली जनताको आय आर्जन बढ्ने र रोजगारीसमेत सिर्जना हुने भएकाले पनि चीनले नेपालमा उत्पादित घाँस आयातलाई प्राथमिकतामा राखेको उनले बताए । २०७८ सालमा चिनियाँ विदेशमन्त्रीले नेपालको भ्रमण गर्दा नेपालबाट चीनमा घाँस निर्यात गर्नेसम्बन्धी ‘प्रोटोकल’ मा हस्ताक्षर गरेका थिए । त्यसपछि चितवनको एक नेपाली कम्पनीले हाइलेज (घाँसको विशेष प्रकार) बनाएर तिब्बत पठाइरहेको छ । सम्झौतासँगै नेपाली किसानले ठूलो परिणाममा घाँस खेती गर्न सके निर्यात गर्ने ढोका खुलेको छ ।

बालेनविरुद्ध अदालत पुगे निजी विद्यालय, नाम नफेर्ने अडान

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी नाम परिवर्तन गर्न दिएको निर्देशन विपरित सर्वोच्चमा मुद्दा दर्ता भएको छ । निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन (प्याब्सन) आबद्ध करिब २० विद्यालय सञ्चालकले कामपाले दिएको निर्देशन पूर्ण रूपमा गलत भएको उल्लेख गर्दै मुद्दा दर्ता गरेका हुन् । विद्यालयलले शिक्षा नियमावली २०५९ (संशोधनसहित) को नियम १५४ को १ र कामपा विद्याललय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० विरुद्धमा मुद्दा दायर गरिएको जनाइएको छ । महानगरले सबै विद्यालयको नाम नेपालीमा हुनुपर्ने भन्दै गत चैत २१ गते सबै विद्यालयलाई नाम परिवर्तन गर्न पत्र पठाएको थियो । काठमाडौं महानगर भित्र रहेका २ सय ३४ विद्यालयको नाम अंग्रेजीमा राखेकाले नेपालीमा राख्न भनेको थियो । महानगरले चैत २७ गतेभित्र कार्यालयमा सम्पर्क गरी मौलिक नामकरण प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो । महानगरका अनुसार २ सय ३ विद्यालयले भने महागरमा नयाँ नाम राख्न जवाफ पठाएको छ ।

डढेलोले उदयपुरमा तीन सय हेक्टर वनमा क्षति

गाईघाट । केही दिनदेखि जिल्लाको पूर्वी क्षेत्र चौदण्डीगढी, बेलका र त्रियुगा नगरपालिका क्षेत्रको जंगलमा लागेको डढेलोका कारण तीन सय हेक्टरभन्दा बढी जंगलका रुखबिरुवामा क्षति भएको छ । डिभिजन वन कार्यालयका अनुसार दशदिनअघिदेखि लागेको डढेलोका कारण त्रियुगा चौदण्डीगढी र त्रियुगा नगरपालिकाबीच क्षेत्रको फुलजोर देवीस्थान, सरस्वती, बेल्टार सामुदायिक वनमा क्षति भएको हो । खडेरीका कारण जंगल क्षेत्रमा डढेलो चारैतिर फैलिएकाल साना रुख बिरुवामा क्षति पुगेको डिभिजन वन कार्यालय गाईघाटका सूचना अधिकारी तथा सहायक वन अधिकृत जागेश्वर साहले बताए । यसैगरी, जिल्लाको मध्यउत्तरी पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिका–५ क्षेत्रका जंगलमा पनि डढेलो लाग्दा वनमा क्षति भएको छ । डढेलो नियन्त्रणको प्रयास भए पनि हुरीबतासका कारण त्यो पूर्ण रूपमा सफल नभएको डिभिजन वन कार्यालयले जनाएको छ ।

प्रभु बैंकमा दुई सञ्चालक नियुक्त

काठमाडौं । प्रभु बैंकमा रिक्त रहेको सञ्चालक समितिमा दुई सञ्चालक नियुक्त भएका छन् । बैंकको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको दुई सञ्चालक पदमा नयाँ नियुक्ति गरेको हो । बैंकले संस्थापक सेयरधनीको समूहबाट रिक्त रहेको सञ्चालक पदमा काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ४ बिशालनगर बस्ने किशोर जंग कार्की (प्रतिनिधि क्लाउड मण्डप प्रा.लि.) लाई नियुक्त गरेको छ । सर्वसाधारण समूहबाट रिक्त रहेको सञ्चालक पदमा ललितपुर महानगरपालिका-१५ खुमलटार बस्ने भावना बलायरलाई नियुक्त गरेको छ। बैंकले एक सूचना जारी गर्दै सो निर्णय गरेको जानकारी दिएको हो ।

निजी क्षेत्र भन्छ : लगानी सम्मेलनबाट उत्साहित छौं

काठमाडौं । दुई दिन सञ्चालन भएको तेस्रो लगानी सम्मेलनमा भएको सहभागिता र प्रतिवद्धताबाट नेपालको निजी क्षेत्र उत्साहित भएको छ । सरकारले आयोजना गरेका विगतका दुई लगानी सम्मेलन भन्दा अहिलेको लगानी सम्मेलन सफल र फलदायी भएको भन्दै निजी क्षेत्र उत्साहित भएको हो । लगानी सम्मेलनमा सरकारले निजी क्षेत्रलाई सह-आयोजकको रुपमा सँगै लिएर जाँदा निजी क्षेत्र सन्तुष्ट देखिएको छ । तेस्रो लगानी सम्मेलनमा करिव ९ अर्ब भन्दा बढीको लगानी स्वीकृत समेत भएको छ । निजी क्षेत्रले नेपालमा अब लगानीको ठूलो सम्भावना रहेको सन्देश विश्वमा पुगेको भन्दै अब मुलुकको आर्थिक गतिविधि चलायमान बनाउन समेत सहयोग पुग्ने वातावरण बन्ने अपेक्षा निजी क्षेत्रको छ । व्यवसायीहरुले विगतका लगानी सम्मेलनमा सन्तोषजनक प्रतिफल लिन नसकेको भएपनि अहिलेको लगानी सम्मेलनमार्फत प्रतिफल समेत प्राप्त हुने आशा निजी क्षेत्रको छ । निजी क्षेत्रले सरकारले लगानी सम्मेलनको मुखमा निजी क्षेत्रले माग गरे अनुसार विदेशी तथा स्वदेशी लगानीलाई सहज बनाउनको लागि केही कानूनहरु संशोधन समेत गरेकाले थप आशा जागेको उनीहरुको भनाई छ । सरकार लगानी प्रवद्र्धन तथा सहजता बनाउनको लागि प्रतिवद्ध रहेको सन्देश दिन सकेकाले पनि विगतको भन्दा यो लगानी सम्मेलन उत्साहका साथ सफल भएको निजी क्षेत्रको दाबी छ । देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा लिइएको निजी क्षेत्रलाई साथमा लिएर हिँड्ने सरकारी घोषणा र नेपालमा लगानी गर्न तयार रहेको विदेशी लगानीकर्ताको घोषणापछि निजी क्षेत्र उत्साहित बनेको देखिन्छ । सरकारले कानून संशोधन मात्रै भन्दा पनि कार्यान्यनमा पनि तदारुकता देखाउन आवश्यक रहेको निजी क्षेत्रको माग छ । उनीहरुले सरकारले लगानी सम्मेलनमा आएका प्रतिवद्धतालाई सदुपयोग गर्नेगरी भावी दिनमा काम गर्नुपर्नेमा जोड दिए । तर विगतका लगानी सम्मेलनमा भएका प्रतिवद्धता अनुसार काम नदेखिएकाले थप चुनौतीपूर्ण छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई सहआयोजक बनाएर गरेको लगानी सम्मेलनमा निजी क्षेत्रको पनि स्वामित्व रहेको बताए । उनले विगतका लगानी सम्मेलन भन्दा यो केही फरक भएकाले प्रतिफल आउने गरी सम्पन भएको दाबी गरे । उनले स्वदेशी तथा विदेशी लगानीको लागि बाधक रहेका पुराना कानूनहरुलाई सरकारले संशोधन गरेकाले आशा जगाएको बताए । उनले निजी क्षेत्रले दिएका सबै सुझावका आधारमा कानूनहरुलाई संशोधन गरेकाले लगानीको प्रतिवद्धता जनाउन लगानीकर्तालाई सहज भएको बताए । लगानी सम्मेलनको मुखमा आएर बिआईए गर्नसक्ने ऐन मन्त्रीपरिषद्बाट पास हुँदा सरकार लगानी प्रवद्र्धनमा प्रतिवद्ध रहेको सन्देश बाहिर गएको बताए । भारत, चीन लगायतका मुलुकबाट आएका प्रतिनिधिहरुले धेरै क्षेत्रमा लगानीको सम्भावना रहेको बताएकाले आगामी दिनमा लगानी आउने थप वातावरण बनेको उल्लेख गरे । उनले सरकारको मात्रै नभएर सरकार बाहिरका राजनीतिक दलहरुको समेत आर्थिक एजेण्डा र लगानी बढाउने कुराहरुमा एक ठाउँमा उभिएकाले सम्मेलन सफल भएको बताए । नेपालमा लगानीको सम्भावना र आकर्षण रहेको सन्देश सबैतिर गएको जानकारी दिए । ‘सरकारले निजी क्षेत्रलाई सहआयोजक बनाएर गरेको लगानी सम्मेलन हो । लगानी सम्मेलनमा निजी क्षेत्रको पनि स्वामित्व रहेको छ । विगतका लगानी सम्मेलन भन्दा यो केही फरक भयो । किन भन्दा पुराना कानूनहरु जुन स्वदेशी तथा विदेशी लगानीको लागि बाधकका रुपमा रहेका थिए । सरकारको मात्रै नभएर सरकार बाहिरका राजनीतिक दलहरुको समेत आर्थिक एजेण्डा र लगानी बढाउने कुराहरुमा एक ठाउँमा उभिएका छन् । नेपालमा लगानीको सम्भावना र आकर्षण रहेको सन्देश सबैतिरबाट गएको छ । समग्रमा लगानी सम्मेलनले विश्वमा नेपालमा लगानीको सम्भावना छ भन्ने सन्देश गएको छ’, उनले भने । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणाले समग्रमा लगानी सम्मेलनले राम्रो सन्देश दिएको बताइन् । उनले लगानी सम्मेलनमा सरकारले निजी क्षेत्रका माग अनुसार केही कानूनलाई संशोधन गरेर लगानीको वातावरण बनाउने प्रतिवद्धता जनाएर कानून संशोधन गरेकोमा थप उत्साहित भएको बताइन् । पूर्वअध्यक्ष राणाले निजी क्षेत्रले माग गरेको ऐनहरु सरकारले संशोधन गरेर लगानीकर्ताहरुलाई राम्रो सन्देश दिन सकिएको बताइन् । उनले कानून संशोधन गरेर सरकार लगानीको वातावरण बनाउनको लागि प्रतिवद्ध छ भन्ने सन्देश दिइएको पनि दाबी गरिन् । स्वदेशी र विदेशी लगानीकर्ताको लागि अफ्ठ्यारो अवस्थालाई सहज बनाएको बताइन् । सरकारले प्रश्तुत गरेका आयोजनाहरुमा लगानीको प्रतिवद्धता लगायत केहीमा सम्झौता पनि भएको उल्लेख गरिन् । उनले सरकारले गरेको कोभिड पछिको लगानी सम्मेलन विगतको भन्दा सफल भएको पनि दाबी गरिन् । सरकार र निजी क्षेत्रले सोचे जस्तो लगानी सम्मेलन सफल भएको उनको भनाई थियो । उनले लगानी सम्मेलनमार्फत टेक्नोलोजी,जलविद्युत र कृषि क्षेत्रमा विभिन्न सम्झौता समेत भएकाले नेपाल लगानीको आकर्षण बन्न सफल भएको पनि बताइन् । नेपालमा भएका स्रोतहरुलाई लगानीमा परिणत गर्न सक्नुपर्ने भन्दै ठूला पूर्वाधारमा लगानीको आवश्यकता देखिएको र विदेशी लगानीकर्ताको चासो पनि त्यसैमा रहेको बताइन् । लगानी सम्मेलनमा ठूला लगानीसँगै लघुघरेलु उद्योग क्षेत्रमा समेत लगानीको कुरा गरेकाले त्यसमा जिटुजीमार्फत संयुक्तहरुमा लगानीको वातावरण बन्ने अवस्था बनेको बताइन् । उनले लगानीको लागि भएका प्रतिवद्धता अनुसार तत्काल सरकारले गर्न सक्नुपर्नेमा जोड दिइन् । सरकारले गरेका कानूनहरु संशोधन भएपनि कार्यान्वयन गर्नसके मात्रै विदेशी र स्वदेशी लगानीलाई फस्टाउन मद्दत पुग्ने बताइन् । ‘समग्रमा लगानी सम्मेलनले राम्रो सन्देश दिएको छ । लगानी सम्मेलनमा सरकारले निजी क्षेत्रका माग अनुसार केही कानूनलाई संशोधन गरेर लगानीको वातावरण बनाउने प्रतिवद्धता जनाएर कानून संशोधन गरेको छ । स्वदेशी र विदेशी लगानीकर्ताको लागि अफ्ठ्यारो अवस्थालाई सहज बनाएको छ । सरकारले प्रश्तुत गरेका आयोजनाहरुमा लगानीको प्रतिवद्धता लगायत केहीमा सम्झौता पनि भएको छ । लगानीको लागि भएका प्रतिवद्धता अनुसार तत्काल सरकारले गर्न सक्नुपर्छ । सरकारले गरेका कानूनहरु संशोधन भएपनि कार्यान्वयन गर्न आवश्यक छ । त्यो भए मात्रै विदेशी र स्वदेशी लगानीलाई फस्टाउन मद्दत गर्छ’, उनले भनिन् । फेडरेशन अफ नेपाल एक्सपोर्ट एशोसिएशनका अध्यक्ष पवनकुमार गोल्यानले लगानी सम्मेलनले लगानीको वातावरण बनाउन खाजेको बताए । उनले हरेक लगानी सम्मेलनमा लगानीको भाईब्रेट सिर्जना गरेको बताए । सम्मेलनबाट मुलुकको लागि आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने आशा गरेको बताए । उनले सरकारको लगानीका प्राथमिक क्षेत्रहरु पर्यटन,जलविद्युत क्षेत्रमा होमवर्क कम भएको बताए । सरकारले सम्मेलनमा कृषिलाई प्राथमिकता नदिएको भन्दै असन्तुष्टि जनाए । उनले कृषि प्रशोधन उद्योगमा विदेशी लगानी ल्याउने गरी योजना बनाउनुपर्ने बताए । समग्रमा लगानी सम्मेलनमार्फत लगानीको वातावरण बनाउने राम्रो प्रयास भएको जानकारी दिए । उनले क्षेत्रलाई समेटेर भन्दा पनि अब क्षेत्रगत प्राथमिकताका आधारमा गर्न आवश्यक देखिएको बताए । नेपाल लगानीको लागि सधैँ आकर्षण देश रहेको उल्लेख गरे । लगानी सम्मेलन सफल हुदाँ खुशी हुने मात्रै नभएर अब परिणाम आउने गरी काम गर्न जरुरी रहेको बताए । लगानी सम्मेलनमा अन्तर्राष्ट्रिय देशहरुबाट भएको सहभागितालाई लगानीको रुपमा सरकारले ग्रहण गर्नसके मुलुकको आर्थिक विकासमा ठूलो टेवा पुग्ने जाानकारी दिए । ‘लगानी सम्मेलनले लगानीको वातावरण बनाउन खाजेको छ । हरेक लगानी सम्मेलनमा लगानीको भाईब्रेट सिर्जना गर्छ । सम्मेलनबाट मुलुकको लागि राम्रो हुन्छ भन्ने आश गरेको छु । तर सम्मेलनमा सरकारको लगानीका प्राथमिक क्षेत्रहरु पर्यटन,जलविद्युत क्षेत्रमा होमवर्क कम भएको छ । लगानी सम्मेलनमा आएका प्रतिवद्धताहरु कार्यान्वयनको लागि सरकारले केही कानूनहरु संशोधन गरेको छ । तर यति लामो समय हुँदा पनि धेरै कानूनहरुमा सहजता ल्याउन सकिएको छैन । सरकारले मौखिक रुपमा भनेर भन्दा पनि कामले एक्सनमा गएर देखाउनु पर्छ’, उनले भने । त्यस्तै, उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य मनोज पौडेलले नेपाल वैदेशिक लगानीको लागि राम्रो गन्तव्य भएको सन्देश दिएको बताए । लगानीको लागि सरकारले वातावरण बनाए लगानी निजी क्षेत्रले गर्ने बताए । सरकारले कानूनी समस्याहरुलाई समाधानको लागि सरकारले कानूनहरु संशोधन गरेर राम्रो काम भएको बताए । सरकारले गरेका कानून संशोधनले विदेशी लगानीकर्तालाई आकर्षण गरेको जानकारी दिए । उनले लगानी सम्मेलनमा उल्लेखिय सहभागिता रहेको भन्दै सम्मेलनमा विदेशी सरकारी निकायको प्रतिनिधि भन्दा पनि विदेशी निजी क्षेत्रलाई ल्याउन आवश्यक देखिएको बताए । लगानीको लागि नयाँ क्षेत्रमा युवाहरुलाई सहभागिता गराउने गरी सरकारले पनि सहजिकरण गर्न आवश्यक रहेको जानकारी दिए ।