नागरिक लगानी कोषले सुपर खुदीको सेयर प्रत्याभुति गर्ने
काठमाडौंं । नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर लिमिटेडको सेयर प्रत्याभूति गर्ने भएको छ । सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता मंगलबार भएको हो । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र सुपर खुदीको तर्फबाट सञ्चालक वटु लामिछानेले हस्ताक्षर गरेका हुन् । सुपर खुदीको प्रति कित्ता एक सय रुपैयाँ अंकित ७५ लाख ९५ हजार कित्ताबराबर हुन आउने ७५ करोड ९५ लाख रुपैयाँको सेयर कोषले प्रत्याभूति गर्ने छ । सम्झौता कार्यक्रममा कोषका का.मु.नायव कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी, हेमन्त पोखरेल एवं विभागीय प्रमुख र हाइड्रोपावरका उच्च व्यवस्थापक सहभागी थिए । यो भन्दा अघि पनि कोषले विभिन्न कम्पनीहरूको सेयर प्रत्याभूति गर्दै आएको छ ।
आवास र भोजन सेवाको वृद्धि २२ प्रतिशत, आर्थिक वृद्धि ३.८७ प्रतिशतले हुने
काठमाडौं । यस वर्ष नेपालकाे आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान गरिएकाे छ । यससँगै कुल ग्राहस्थ उत्पादन ५७ खर्ब ४ अर्ब ८० करोड रुपेयाँको हुने कार्यालयको अनुमान छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार लेखा तथ्यांकसम्बन्धी विवरण सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०८०/०८१ मा नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान गरेको हाे । याे वर्ष गत वर्षकाे तुलनामा बढ्ने अनुमान गरिएकाे हाे । गत वर्षको आर्थिक वृद्धिदर १.८६ प्रतिशत थियो । यस्तै चालु आर्थिक वर्षमा आधारभुत मूल्यवृद्धिदर ३.५४ प्रतिशत हुने अनुमान गरिएको छ । कृषि क्षेत्रको आर्थिक वृद्धिदर ३.०५ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ३.७५ प्रतिशत हुने अनुमान कार्यालयले सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षमा कुल मूल्य अभिवृद्धि वृद्धिदर प्राथमिक क्षेत्रको ३ प्रतिशत, द्वितीय क्षेत्रको १.२ प्रतिशत र सेवा क्षेत्रको ४.५ प्रतिशत रहेको केन्द्रीय तथ्यांक कार्यालयले जनाएको छ । चालु आर्थिक वर्ष २०८०/८१ मा कृषि क्षेत्रको ३.०५ प्रतिशत र गैरकृषि क्षेत्रको ३.७५ प्रतिशत वृद्धिदर हुने प्रारम्भिक अनुमान गरिएको छ। संशोधित विवरण अनुसार गत आर्थिक वर्ष २०७९/८० मा कृषि क्षेत्रको वृद्धिदर २.७६ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर २.१३ प्रतिशत रहने अनुमान गरिएको छ। त्यसैगरी, अन्तिम विवरणअनुसार आर्थिक वर्ष २०७८/७९ मा कृषि क्षेत्रको वृद्धिदर २.३५ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ६.५४ प्रतिशत कायम हुने तथ्याङ्क सार्वजनिक गरिएको छ। चालु आर्थिक वर्षमा नेपालीकाे प्रतिव्यक्ति आय १४५६ अमेरिकी डलर हुने अनुमान छ । तथ्यांक विभागका प्रमुख तथ्यांक अधिकारी अर्जुनप्रसाद पोखरेलले तीन आर्थिक वर्षको आधारमा यो तथ्यांक तयार पारिएको बताए । विभिन्न क्षेत्रको मूल्यांकन तथा मापन गरेर आर्थिक वृद्धिको अनुमान हुँदै आएको छ । १८ वटा आर्थिक क्षेत्रका क्रियाकलापको विश्लेषण गरेर अनुमान निकालिएको उनले बताए । उद्योग क्षेत्र ऋणात्मक चालु आर्थिक वर्षमा उद्योग क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ऋणात्मक (-१.६०%) हुने प्रारम्भिक अनुमान गरिएको छ । निर्माण तथा व्यापार क्षेत्रमा सुधार हुन नसक्दा वस्तु तथा सेवाको समग्र मागमा कमी आएका कारण उत्पादनमूलक उद्योगले पूर्ण क्षमतामा उत्पादन गर्न नसकेकोले यो क्षेत्रको वृद्धिदर ऋणात्मक हुने अनुमान गरिएको हो। साथै, पछिल्लो समयमा अर्थतन्त्रमा सिर्जित विभिन्न प्रतिकुल कारणले विश्वव्यापी रूपमा नै अर्थतन्त्रमा उल्लेख्य सुधार आउन नसकेको अवस्थामा नेपालका उद्योगहरूको उत्पादनमा समेत संकुचन देखापर्ने अनुमान गरिएको हो। ‘यो ६ देखि ९ महिनाको वास्तविक तथ्यांक र अन्य महिनाको राष्ट्रिय लेखा अनुमानको विधिबमोजिम निकालिएको छ,’ उनले भने, ‘विगतको तुलनामा अर्थतन्त्र सुधार हुँदै गएको छ, अधिकांश सूचक सकारात्मक हुँदै गएका छन् ।’ निर्माण पनि ऋणात्मक यस क्षेत्रको चालु आर्थिक वर्षको कुल मूल्य अभिवृद्धि वृद्धिदर ऋणात्मक (-२.०७%) हुने प्रारम्भिक अनुमान गरिएको छ। निर्माण सामाग्रीको आयातमा आएको कमी, निर्माण सामाग्रीको स्वदेशी उत्पादनमा भएको कमी जस्ता कारणले चालु आर्थिक वर्षमा यस क्षेत्रको मूल्य अभिवृद्धिमा संकुचन हुने अनुमान गरिएको हो। यातायात तथा भण्डारणमा सुधार चालु आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ११.८९ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । गत आर्थिक वर्षको तुलनामा सवारी साधनको आयातमा भएको वृद्धि, पर्यटकको आवागमनमा भएको वृद्धि जस्ता कारणले चालु आर्थिक वर्षमा यस क्षेत्रको मूल्य अभिवृद्धि सुधार हुने अनुमान गरिएको हो। आवास तथा भोजन सेवामा २२ प्रतिशत वृद्धि चालु आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर २१.८४ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । विदेशी पर्यटकको आवागमनमा भएको वृद्धि, आन्तरिक पर्यटनमा भएको वृद्धि जस्ता कारणले चालु आर्थिक वर्षमा यस क्षेत्रको मूल्य अभिवृद्धिमा उल्लेख्य सुधार हुने अनुमान गरिएको हो। वित्तीय तथा बीमा क्षेत्रमा चालु आर्थिक वर्षमा कुल मूल्य अभिवृद्धि वृद्धिदर ७.८० प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । बैंकमा निक्षेप तथा ऋण प्रवाहमा भएको वृद्धि, बैंक र वित्तिय संस्थाको सेवा शुल्कको आम्दानीमा भएको बृद्धिसँगै यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा बढोत्तरी हुने अनुमान गरिएको हो। त्यस्तै, चालु आर्थिक वर्षमा सूचना तथा सञ्चार क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ४.९१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा कम्प्यूटर प्रोगामिङ तथा इन्फर्मेशन सर्भिससम्बन्धी क्रियाकलापमा भएको वृद्धि, इन्टरनेट सेवा प्रदायकको कारोवार तथा ताररहित सञ्चार सेवामा भएको वृद्धिको कारणले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि सामान्य बढ्ने प्रारम्भिक अनुमान रहेको छ । चालु आर्थिक वर्षमा घरजग्गा कारोवारको सेवा क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर २.९८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । घर जग्गाको कारोबारमा तुलनात्मक रूपमा कमी आएको भए तापनी निजी आवास तथा भाडाका क्रियाकलापमा भएको बढोत्तरीले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो वर्षको तुलनामा सामान्य रूपमा बढ्ने प्रारम्भिक अनुमान गरिएको हो । त्यस्तै चालु आर्थिक वर्षमा पेशागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ४.१५ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । पछिल्लो समयमा विभिन्न प्राविधिक कार्यका लागि पेशागत संस्थासँग सेवा लिने प्रवृत्तिमा भएको बढोत्तरीले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो वर्षको तुलनामा सामान्य बढ्ने प्रारम्भिक अनुमान गरिएको हो । चालु आर्थिक वर्ष २०८०/८१ मा जीडीपीको २४.४५ प्रतिशत कुल स्थिर पुँजी निर्माण हुने प्रारम्भिक अनुमान गरिएको छ। त्यस्तै जीडीपीको ९२.३८ प्रतिशत अन्तिम उपभोग खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ।
विदेश पठाइदिन्छु भन्दै ४२२ जनालाइ ठगि गर्ने पक्राउ, प्रहरीद्वारा सार्वजनिक
काठमाडौं । नेपाल प्रहरीले वैदेशिक रोजगारीको सिलसिलामा बुल्गेरिया, न्युजिल्याण्ड, रोमानिया, सर्विया, क्रोशियासमेतका देशहरुमा पठाउने भनि ठगि गर्ने दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले वैदेशिक रोजगारीको सिलसिलामा बुल्गेरिया, न्युजिल्याण्ड, रोमानिया, सर्विया, क्रोशियासमेतका देशहरुमा पठाउने भनि आफ्नो नक्कली नाम बताइ अर्को व्यक्तिको नाममा कम्पनी तथा बैंक खाता खोल्न लगाइ सिमकार्ड समेत निकाली ४२२ जनालाई ठगि गर्ने गिरोह पक्राउ परेको बताए । उनले पक्राउ पर्नेमा जिल्ला धादिङ, जीवनपुर गाविस हाल धुनिबेँसी नगरपालिका ४ घर भएका आफ्नो नाम जीवा गौतम बताउने रमेश बयलकोटीलाई पक्रा गरिएको बताए । बयलकोटीले कीर्तिपुर नगरपालिका ६ बस्ने ललितजंग बमलाई भिजा प्लस प्राइभेट लिमिटेड नामको कम्पनी दर्ता गर्न लगाइ सामाजिक सञ्जालमा वैदेशिक रोजगारीका लागि बुल्गेरिया, न्युजिल्याण्ड, रोमानिया, सर्विया, क्रोशिया, मकाओ, टर्की लगायतका देशमा जान अवसर रहेको भनि विज्ञापन पोस्ट गरी कन्सलटेन्सीमै बोलाइ करिव ४२२ जनालाई प्रतिव्यक्ति १० देखि १४ लाखसम्म लाग्ने बताइ शुरुमा ५० हजारदेखि ३ लाख लिने र भिजा आएपछि अन्य रकम दिने भनि कर्मचारी खटाइ रकम लिने गरेको खुलेको बताए । त्यस्तै पक्राउ पर्नेमा अर्का सञ्चालक कालिकोट छाप्रे ६ घर भएका दर्शन नेपालीलाई कागेश्वरी नगरपालिका ७ बाट पक्राउ गरी आवश्यक कारबाही शुर गरिएको जानकारी दिए । यसको मुख्य गिरोहहरु भारतमा बसि काम गर्ने गरेको पनि बताए । ४२२ जनाबाट करिव ३ करोड भन्दा बढी रकम उठाएको बताए । महाराजगञ्जको कन्सलटेन्सीबाट थान २० र दर्शन नेपालको जडिबुटीस्थित कोठाबाट १ र बयलकोटी बस्ने कोठा एकान्तकुनाबाट ६३ गरी ८४ थान राहदानी लगायत १८२ जनाको रेकर्ड फाइल बरामद गरेको पनि जानकारी दिए । कार्यालयले सोमबार कतारबाट काठमाडौंमा आएका सिकेन्द्र यादवलाई अपहरण गरी कुटपिट गर्ने दुई जनालाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा एसएसपी भट्टराईले पक्राउ पर्नेमा सर्लाही मंगलबार ३ का २५ वर्षका अजिम अली र वर्ष २५ कै सोही स्थानका एमडी शनि अलाही रहेको बताए । कतारबाट फर्किंदा कतारमा बस्ने मन्सुर अली नाम गरेका व्यक्तिले २५ ग्राम सुन दिइ आफ्नो भतिज अजिम अलीलाई दिनु भनि निजको मोबाइल नम्बर दिइ पठाएको र पीडित काठमाडौंमा आएपछि अजिम अलीलाई फोन गरी सामान लिन बोलाएकोमा अर्कै मान्छे आइ रिसिभ गरेको भन्ने बुझिएको बताए । निज अजिम अलीले सुन आफूले नपाएको भनि आफू बस्ने डेरा सिनामंगलमा जबरजस्ती लगि कुटपिट गर्नुका साथै पीडितकी श्रीमतीलाई ४ लाख ८० हजार रकम दिएपछि मात्रै छोड्ने भनि धम्की दिएको जानकारी दिए । प्रहरीले पक्राउ परेकाहरुमाथि थप अनुसन्धान जारी रहेको र उनीहरुमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको जनाएको छ ।
ललितपुरको आनन्दवनमा डढेलो निभाउने क्रममा घाइते भएका दुई जनामध्ये एकको मृत्यु
काठमाडौं । ललितपुरको लेलेस्थित आनन्द हस्पिटल क्षेत्रमा मंगलबार दिउँसो लागेको डढेलो निभाउने क्रममा घाइते भएका दुई जनामध्ये एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका-४ तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाउते भएका स्थानीय शंकर पहरीको मृत्यु भएको ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए । कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । डढेलो निभाउने क्रममा अर्का स्थानीय रमेश पहरी घाइते भएका थिए । गम्भीर घाइते रमेशको उपचार भइरहेको बताइएको छ। डढेलो निभाउने क्रममा अरू १५ जना फसेका थिए । उनीहरूको भने सकुशल उद्धार गरिएको जनाइएको छ । डढेलो फैलिएपछि त्यहाँस्थित कुष्ठरोग अस्पतालका ९३ जना बिरामी अन्यत्र सारिएको छ। हस्पिटल क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको छ । हस्पिटल क्षेत्रको आगो नियन्त्रणमा आए पनि वनमा लागेको आगो भने नियन्त्रणमा आएको छैन ।
टेलिकमले ल्यायो आइसीटी डे अफर, ४९ रुपैयाँमा दिनभरी डाटा र भ्वाईस सेवा
काठमाडौं । नेपाल टेलिकमले ‘आईसीटी डे अफर’ सार्वजनिक गरेको छ । बैशाख २० गते आयोजना हुन लागेको संचार प्रविधि दिवस (आइसीटी डे)का अवसरमा नेपाल टेलिकमले ‘आइसीटी डे’ अफर सार्वजनिक गरेको छ । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारा सहित आगामी बैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२४ को अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि उक्त अफर सार्वजनिक गरेको हो । यो बैशाख १९ देखि प्रारम्भ हुनेछ र आगामी २०८१ बैशाख २१ सम्म लागु हुनेछ । यस अन्तर्गत ४९ रुपैयाँमा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ । कम्पनीका अनुसार यसैगरी डाटा प्याकेज अन्तर्गत १ सय ११ रुपैयाँमा ५ दिन चलाउन सकिने ६ जीबी डाटा, १ सय ९९ रुपैयाँमा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, २ सय ९९ रुपैयाँमा १२ दिन चलाउन सकिने २० जीबी डाटा र ३ सय ९९ रुपैयाँमा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ । कम्पनीका अनुसार यही अफर अन्तर्गत ७ सय ८९ रुपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६ सय मिनेट अल नेट भ्वाइस सुविधा र २ सय अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुन्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ ।
कागबेनीमा कलेज बस दुर्घटना, २१ घाइते
म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । काठमाडौंबाट कलेजका विद्यार्थी लिएर मुक्तिनाथ दर्शन गर्न मुस्ताङ आएको प्रदेश-३-०१-००६ ख ६२२ नम्बरको यात्रुबाहक बस मुक्तिनाथबाट जोमसोम फर्किन क्रममा आज बिहान करिब ९ बजे कागबेनीमा दुर्घटना भएको थियो । सडकको घुम्तीको ओरालोमा दुर्घटनामा परेको बसमा सवारमध्ये १४ जना पुरुष र सात महिला घाइते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । बसमा चालकसहित ३० जना सवार रहेका थिए । दुर्घटनामा परेर घाइते भएकालाई स्थानीयबासी, जनप्रतिनिधि र प्रहरीले उद्धार गरी मुस्ताङ जिल्ला अस्पताल पुर्याएका छन् । अहिले घाइतेहरुको उपचार भइरहेको र अवस्था सबैको सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए । प्रारम्भिक अनुसन्धानको क्रममा बसको ब्रेकफेल भएपछि बिच सडकमा नै बस पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । बस पल्टिएपछि करिब तीन घण्टा कागबेनी-मुक्तिनाथ सडक अवरुद्ध भएको थियो । जनप्रतिनधि, प्रहरी र प्रशासनको समन्वयमा डोजरको सहायताले दुर्घटनाग्रस्त बसलाई सडक किनारामा पन्छ्याइपछि अवरुद्ध सडक सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए ।
छानबिन नगरी समाचार हटाउने सर्वोच्चको आदेश संविधानको भावनासँग बाझियो : पत्रकार महासंघ
काठमाडौं । ‘सिधाकुरा डट कम’ का नाममा सर्वोच्च अदालतबाट जारी भएको आदेशबारे नेपाल पत्रकार महासंघले चासो देखाएको छ । मंगलबार महासंघले एक विज्ञप्ती प्रकाशन गर्दै ‘द डार्क फाइल’ श्रृंखलाअन्तर्गत प्रकाशित सामग्री तथा त्यस सन्दर्भमा सर्वोच्च अदालतले लिएको कदम र त्यस सन्दर्भमा दिएको पछिल्लो आदेशलाई गम्भीरताका साथ हेरिएको बताएको छ । ‘नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत गर्दै कुनै पनि सामग्री प्रकाशनपूर्व प्रतिबन्ध लगाउन नपाइने व्यवस्था गरेको छ, यो संवैधानिक व्यवस्थाका आधारमा नेपालको प्रेस तथा सम्पादकीय स्वतन्त्रताको फराकिलो परिधिलाई कुनै पनि निकायको आदेश तथा निर्देशनले सीमित गर्न सक्दैन र गर्न पनि हुँदैन भन्ने कुरामा नेपाल पत्रकार महासंघ प्रष्ट छ,’ महासंघका महासचिव रोसन पुरीले जारी गरेको उल्लेख छ, ‘यस सन्दर्भमा सम्मानित सर्वोच्च अदालतको आदेशमा उल्लख भएको ‘यस विषयसँग सम्बन्धित अन्य कार्यक्रम प्रस्तुत निवेदनको अन्तिम निर्णय नभएसम्म उत्पादन, प्रसारण, पुनः प्रसारणलगायत सार्वजनिक गर्ने कुनै कार्य नगर्नुरनगराउनु’ भन्ने विषय र छानबिन बिना सामग्री हटाउने आदेश संविधानको त्यो भावनासँग बाझिने हाम्रो ठम्याइ छ ।’ सञ्चार सामग्री प्रवाह गरेकै विषयलाई फौजदारी कानुन आकर्षित गरी त्यस आधारमा मनाशाय जोकोहीबाट पनि प्रकट हुनु सर्वथा गलत भएको र अदालतको यो कदमले प्रेस स्वतन्त्रतामाथि निरन्तर हमला गर्ने गम्भीर खतरा निम्त्याउन सक्नेतर्फ सचेत हुन जरुरी रहेको महासंघले जनाएको छ । सिधाकुराको विषय अदालत प्रवेश गरेको भए पनि नेपालको संविधानको मर्म, प्रेस स्वतन्त्रताको प्रचलित मान्यता र अभ्यास तथा सम्पादकीय स्वतन्त्रताको प्रवर्द्धनमा कुनै पनि आँच नआउने गरी यो विषयको निरुपण हुनुपर्ने कुरामा पत्रकार महासंघ दृढ रहेको विज्ञप्तिमा छ । त्यस्तै सञ्चारमाध्यममा प्रकाशित र प्रशारित सामग्रीको नियमनको दायित्व प्रेस काउन्सिलको रहेको र त्यो दायित्व काउन्सिलले जस्तोसुकै अवस्थामा पनि गम्भीरतापूर्वक निर्वाह गर्ने महासंघको भनाइ छ ।
नौ महिनामा एक अर्ब ७८ करोड राजस्व सकंलन
अत्तरिया । आन्तरिक राजस्व कार्यालय धनगढीले चालु आवका नौ महिनामा एक अर्ब ७८ करोड ९८ लाख रुपैयाँ राजस्व सकंलन गरेको छ । कार्यालयले चालु आव २०८०/८१ को साउनदेखि चैत मसान्तसम्मको अवधिमा उक्त राजस्व सकंलन गरेको हो । आयकरबाट एक अर्ब एक करोड ६७ लाख रुपैयाँ, मूल्य अभिवृद्धि करबाट ६२ करोड १० लाख रुपैयाँ, अन्तःशुल्कबाट १० करोड ५६ लाख रुपैयाँ, ब्याजबापत तीन करोड ७० लाख रुपैयाँ, बहाल करबाट ९१ लाख रुपैयाँ र स्वास्थ्य सेवा करबाट एक लाख रुपैयाँ राजस्व सकंलन भएको आन्तरिक राजस्व कार्यालय धनगढीका सूचना अधिकारी दुर्गाप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार कार्यालयको चालु आवका नौ महिनामा दुई अर्ब १० करोड ९६ लाख रुपैयाँ राजस्व सकंलनको लक्ष्य रहेकामा लक्ष्यको ८४ दशमलव ८४ प्रतिशतमात्रै राजस्व सकंलन भएको छ । चालु आवमा तीन अर्ब आठ करोड ४१ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने कार्यालयको लक्ष्य रहेकामा नौ महिनामा सकंलन भएको राजस्व वार्षिक लक्ष्यको ५७ दशमलव ८० प्रतिशत रहेको सूचना अधिकारी पौडेलले जानकारी दिए । ‘करदाताको कारोबारमा गिरावट आएको छ, बहाल करको दायरा घटेको छ, पूँजीगत खर्च कम छ’, उनले भने, ‘आर्थिक क्रियाकलाप घटेको छ, जसले गर्दा राजस्व सकंलनमा कमी आएको छ ।’ कार्यालयको आव २०७९/८० मा तीन अर्ब ३६ करोड रुपैयाँ राजस्व सकंलनको वार्षिक लक्ष्य रहेकामा दुई अर्ब ५७ करोड ९८ लाख रुपैयाँ मात्रै राजस्व सकंलन भएको सूचना अधिकारी पौडेलले जानकारी दिए । जुन वार्षिक लक्ष्यको ७६ दशमलव ७८ प्रतिशतमात्रै थियो । रासस