बत्तीसपुतलीमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु, ४ पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका–९ बत्तीसपुतलीस्थित कुमारी टोलमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । झडपमा मोरङका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । उनले भने, ‘गए राति दुई समूहबीच झगडा हुँदा एकजनाको मृत्यु भएको छ, घटनामा संलग्न रहेको अभियोगमा चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।’ धिमालको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षणका लागि राखिएको प्रवक्ता अधिकारीले बताए । रासस
इन्स्टाग्राम एपले एकैसाथ ५ वटा एकाउन्ट चलाउन सक्छ, जान्नुहोस् कसरी ?
काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्राम युवाहरूमाझ निकै चर्चित छ । मेटाको यो एपमार्फत फोटो र भिडियोहरू सेयर गरिन्छ । धेरै मानिसहरूले यस प्लेटफर्ममा पोस्ट गरेर रिलहरू बनाएर राम्रो पैसा पनि कमाइरहेका छन् । यद्यपि, इन्स्टाग्राममा धेरै सुविधाहरू छन्, तर के तपाईंलाई थाहा छ एकै साथ कति इन्स्टाग्राम खाता थप्न सकिन्छ ? यदि तपाईंलाई पनि यो हिडन विकल्पको बारेमा थाहा छैन भने पहिले यसको बारेमा राम्ररी जान्नुहोस् । इन्स्टाग्राम एपमा कुनै पनि व्यक्तिले एकैपटक ५ वटा एकाउन्ट चलाउन सक्छन् । यदि तपाईं आफ्नो इन्स्टाग्राममा एकभन्दा बढी खाताहरू थप्न चाहनुहुन्छ भने तपाईं यसका लागि एक धेरै सजिलो प्रक्रिया अपनाउन सक्नुहुन्छ । यसरी थप्न सकिन्छ एकभन्दा बढी इन्स्टाग्राम एकाउन्ट · सबैभन्दा पहिले आफ्नो फोन वा ल्यापटपमा इन्स्टाग्राम एप खोल्नुहोस् । · गृहपृष्ठको तल दायाँ कुनामा देखिने आफ्नो प्रोफाइल तस्वीरमा क्लिक गर्नुहोस् । · पेजको शीर्षमा देखिएको आफ्नो आईडीमा क्लिक गर्नुहोस्। अब तपाईको अगाडि एड इन्स्टाग्राम एकाउन्टको विकल्प देखा पर्नेछ। यसमा क्लिक गर्नेबित्तिकै तपाईंको अगाडि दुईवटा नयाँ विकल्प खुल्नेछन्। · एउटा विकल्पमा तपाईंलाई अर्को आईडीबाट लग इन गर्न भनिनेछ र अर्कोमा ‘नयाँ खाता सिर्जना गर्नुहोस्’ लेखिनेछ। · यो प्रक्रिया पूरा गरेपछि तपाईं यसलाई सजिलैसँग चलाउन सक्नुहुन्छ। · यदि तपाईं एक खाताबाट अर्को खातामा स्विच गर्न चाहनुहुन्छ भने त्यसपछि तपाईंको इन्स्टाग्राम एपको गृह पृष्ठमा आफ्नो प्रोफाइल तस्वीरमा क्लिक गर्नुहोस् । यसपछि तपाईंको आईडीमा क्लिक गर्नुहोस् । · क्लिक गरेपछि तपाईंले स्विच गर्न चाहनु भएको खाताको विकल्प देखा पर्नेछ । यसमा क्लिक गरेर अर्को खाता पनि सञ्चालन गर्न सकिन्छ । · तपाईंले इन्स्टाग्राम प्रयोगकर्ता नाममा क्लिक गर्नेबित्तिकै तपाईंले एपमा थप्नुभएका सबै एकाउन्टहरू देख्न सक्नुहुनेछ । एजेन्सी
३८ प्रतिशतले बढ्यो चन्द्रागिरि हिल्सको नाफा
काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले चालु आर्थिक वर्ष तेस्रो त्रैमाससम्म १० करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । चन्द्रागिरि हिल्सले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणमार्फत १० करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको जनाएको हो । यो गत वर्षको यसै अवधिको तुलनामा ३८.८१ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ७ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा पर्यटक संख्यामा वृद्धि भएसँगै होटलको तृतीय त्रैमासिक अवधिमा सञ्चालन आम्दानी बढ्दा नाफामा वृद्धि वृद्धि भएको उल्लेख गरिएको छ । यस कारण समीक्षा अवधिमा होटलको आम्दानी ६२ करोड ९० लाख रुपैयाँबाट बढेर ६९ करोड ७३ लाख रुपैयाँ पुगेको छ । अन्य आम्दानी पनि ४४ लाख रुपैयाँबाट बढेर ८६ लाख पुगेको छ । चन्द्रागिरि हिल्सले केबुलकार, होटेल तथा रेष्टुराँसहित अन्य पर्यटन व्यवसाय सञ्चालन गर्छ । हाल कम्पनीको वित्तीय खर्च पनि २० करोड ६६ लाखबाट घटेर १८ करोड २९ लाख रुपैयाँ कायम भएको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ छ । गत वर्ष यस अवधिसम्म चन्द्रागिरी हिल्सको ५ रुपैयाँ ७ पैसा रहेको कम्पनीको प्रतिसेयर आम्दानी यस वर्ष ७ रुपैयाँ ३ पैसा कायम भएको छ । यस वर्ष कम्पनीको प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ ३ पैसा कायम छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म रहेको निम्नचापीय क्षेत्रको पनि प्रभाव रहेको बताएको छ । विभागका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभरि आंशिकदेखि साधारणतया बदली रहने जनाउँदै विभागले मुलुकका केही स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने बताएको छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । आगामी २४ घण्टामा मुलुकका केही स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले आज बिहान जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ । विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको तथा देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि ६ जनाको उम्मेदवारी
काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि ६ जनाको उम्मेदवारी परेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुुुसार मेघराज खड्का (रुकुमपश्चिम), सङ्गीता खड्का (काठमाडौंं), डा. मधुसुधन न्यौपाने (काठमाडौं), सोमप्रसाद डोटेल (झापा) र फणिन्द्र फुँयाल (सिन्धुली) को उम्मेदवारी परेको छ । समितिको अध्यक्ष पदका लागि सञ्चार मन्त्रालयले वैशाख १६ गते सूचना जारी गरेको थियो । सोही सूूचनाबमोजिम दरखास्त माग गरिएकामा उनीहरूले दरखास्त दिएका थिए । सञ्चार मन्त्रालयका सचिव रामकृष्ण सुवेदीका अनुसार उनीहरूको दरखास्त स्वीकृत भएको छ । श्रमजीवी पत्रकारले पाउने न्यूनतम पारिश्रमिक रकम निर्धारण गर्न तथा त्यस्तो पारिश्रमिक रकम आवश्यकतानुसार पुनरावलोकन गर्ने सम्बन्धमा नेपाल सरकारसमक्ष सिफारिस गर्नका लागि न्यूनतम पारिश्रमिक निर्धारण समिति गठन गरिएको हो ।
गायक रवि ओडले गरे आत्मसमपर्ण
काठमाडौं । गायक तथा नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा प्रहरीमा आत्मसर्मपण गरेको कञ्चनपुर प्रहरीले जनाएको छ । ओडको घर कञ्चनपुर कृष्णपुर नगरपालिका, गुलरिया हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ओड बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएको जनाएको छ । उनकै श्रीमतीले चैत २० मा कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन् । वैवाहिक बलात्कारको जाहेरी परेपछि उनीविरुद्ध पक्राउका लागि प्रहरीले प्रक्रिया अघि बढाएको थियो । प्रहरीका अनुसार ओडमाथि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
उत्तर कोरियाका ह्याकरहरूद्वारा दक्षिण कोरियाको अदालतको कम्प्युटरबाट डाटा चोरी
सोल । उत्तर कोरियाली ह्याकरहरूले दुई वर्षको अवधिमा दक्षिण कोरियाली अदालतको कम्प्युटर नेटवर्कबाट व्यक्तिहरूको वित्तीय रेकर्डसहित संवेदनशील डाटा चोरेको सोल प्रहरीले शनिबार बताएको छ । आणविक सशस्त्र सम्पन्न उत्तर कोरियालाई पृथक मुलुकभित्र स्पष्टरूपमा विदेशमा सञ्चालन गर्ने हजारौँ ह्याकरको सेना सञ्चालन गर्न चिनिन्छ । विगतमा धेरै ठूला साइबर हमलाका लागि उत्तर कोरियालाई दोषी ठहर गरिएको छ । ह्याकरहरूले सन् २०२१ जनवरीदेखि सन् २०२३ फेब्रुअरीसम्म एक अदालतको कम्प्युटर प्रणालीबाट एक हजार १४ गिगाबाइट डाटा चोरेको मुलुकको जासुसी एजेन्सी र अभियोजकहरूसँगको संयुक्त अनुसन्धानलाई उद्धृत गर्दै दक्षिण कोरियाली प्रहरीले बताएको छ । ह्याकरहरूको मालवेयरले दक्षिण कोरियालीहरूको विवाह र व्यक्तिगत ऋण रेकर्डसहितको चोरी डाटा ‘चार घरेलु र चार विदेशी सर्भर’ लाई ‘एन्टिभाइरस सफ्टवेयरले पत्ता लगाउनुअघि’ पठाएको राष्ट्रिय प्रहरीले एक विज्ञप्तिमा बताएको छ । अधिकारीहरूले पत्ता लगाएका दुर्भावनापूर्ण कार्यक्रम, सर्भर भुक्तानी विवरण र आइपी ठेगानाहरू प्योङयाङलाई श्रेय दिएका पहिला ह्याकिङका घटनाहरूमा पहिचान गरिएकाहरूसँग तुलना गरेपछि डाटा चोरीमा उत्तर कोरियाली ह्याकिङ सङ्गठनको काम भएको पाइयो । सोल अधिकारीहरूले चोरिएको डाटाबाट चार दशमलव सात गिगाबाइट मात्र पुनःप्राप्त र पहिचान गरेको प्रहरीले बताएको छ । यसमा व्यक्तिगत ऋण पुनरवास मामिलासँग सम्बन्धित पाँच हजार एक सय ७१ दस्तावेज संग्रहित छन् । जसमा विवाह प्रमाणपत्र, ऋण र दिवालिया हुनुपर्ने कारण समावेश छ । उत्तर कोरियाले उसको आणविक र मिसाइल कार्यक्रमहरूमाथि लगाइएको संयुक्त राष्ट्रसङ्घीय प्रतिबन्धको सामना गर्न विदेशी मुद्रा आर्जन गर्नका लागि हालैका वर्षहरूमा साइबर हमलालाई बढाएको विश्लेषकहरूले बताएका छन् । सोल, टोक्यो र वासिङ्टनका अनुसार प्योङयाङ एक्लैले सन् २०२२ मा क्रिप्टोकरेन्सीमा एक अर्ब ७० करोड डलरभन्दा बढीको चोरी गरेको र ‘दुर्भावनापूर्ण साइबर गतिविधिहरू’ मार्फत जानकारी संकलन गरेर आफ्नो हतियार कार्यक्रमलाई समर्थन गरेको थियो ।
सेती नदी आसपासका १५ स्थानमा ‘अलर्ट साइरन’
तनहुँ । तनहुँ जलविद्युत आयोजनाले आपतकालीन तयारी योजनाअन्तर्गत सेती नदी आसपासका १५ स्थानमा ‘अलर्ट साइरन’ जडान सुरु गरेको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको यस आयोजनाले तनहुँको भीमाददेखि चितवनको घुमाउनेसम्म जडान गर्न लागेको हो । करिब ३५ किलोमिटर दुरीमा अलर्ट साइरन राखेर नदी तटीय क्षेत्रका समुदायको सुरक्षाका लागि अग्रीम सूचना दिन लागेको आयोजनाले जनाएको छ । जिल्लाको भीमादस्थित हुक्सेटार, दमौलीको तनहुँ सभाहल र आयोजना क्याम्पभित्र गरी तीन स्थानमा जडान गरिसकिएको तनहुँ जलविद्युत आयोजना वातावरण अधिकृत विशाल भट्टराईले जानकारी दिए । ‘अब छिट्टै इलाका प्रहरी कार्यालय बन्दीपुर साराडघाटमा राखिनेछ,’ उनले भने, ‘बर्खा अघि सबै स्थानमा अलर्ट साइरन राखि सक्ने योजना अनुरूप काम थालिएको छ ।’ उनका अनुसार अलर्ट साइरन वायरलेस र सोलारबाट चल्ने छन् । प्याकेज–१ अन्र्तगत करिब ४० मिटर अस्थायी बाँध निर्माण सम्पन्न गरिसकिएको छ । बर्खा भएकाले बीस वर्षमा आउनसक्ने सम्भावित बाढीलाई मध्यनजर गर्दै उक्त बाँध निर्माण गरिएको हो । आयोजना प्रवर्द्धक तनहुँ हाइड्रोपावरका प्रबन्ध–सञ्चालक किरणकुमार श्रेष्ठले बाढी पहिराको समयमा अग्रीम सूचना दिनका लागि अलर्ट साइरन राखिएको बताए । उक्त आयोजनामा सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन, नेपाल जेभीले गरिरहेको छ ।