‘घरजग्गा कारोबारको प्रतिकूल अवस्था अर्थतन्त्र कमजोर हुनुको एउटा कारण हो’
कास्की । नेपाल जग्गा तथा आवास विकास महासंघका केन्द्रीय अध्यक्ष भेषराज लोहनीले देशको अर्थतन्त्र कमजोर हुनुमा घरजग्गा कारोबारको प्रतिकूल अवस्था पनि एक भएको बताएका छन् । गण्डकी जग्गा तथा आवास विकास व्यवसायी संघ पोखराको २०औं वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै अध्यक्ष लोहनीले वार्षिक १५ खर्ब रुपैयाँबराबरको घरजग्गा कारोबार हुने गरेकामा कोरोना महामारी र आर्थिक मन्दीका कारण उक्त कारोबार घटेको बताए । घरजग्गा व्यवसायीलाई व्यवस्थित र मर्यादित बनाउन सरकारले घरजग्गा कारोबार नियमावली ल्याउन जरुरी भएको उनको भनाइ छ । ‘रियल स्टेट कम्पनीलाई व्यवस्थित गर्दै व्यवस्थित सहरको विकास गर्न नगर विकास योजना र रियल स्टेट कम्पनी सहकार्य गरेर अगाडि बढ्नुको विकल्प छैन,’ अध्यक्ष लोहनीले भने, ‘घरजग्गाको कारोबार रियल स्टेट कम्पनीले मात्र गर्न पाउनुपर्ने व्यवस्था सरकारले गर्नुपर्छ ।’ जग्गा व्यवसायी यदुनाथ अधिकारीले युवालाई विदेश जानबाट रोक्न स्वदेशमै सीपमूलक तथा विकास निर्माणमा लगाउनुपर्नेमा जोड दिए । घरजग्गा कारोबारलाई व्यवस्थित बनाउँदै एकीकृत रूपमा लगानी गर्नुपर्नेमा उनले जोड दिए । पोखरालाई व्यवस्थित सहर बनाउन जग्गा व्यवसायीको एकीकृत लगानी आवश्यक भएको अधिकारीको भनाइ छ । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेन्द्र ओझा, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, गण्डकी जग्गा तथा आवास विकास व्यवसायी संघ पोखराका अध्यक्ष अरुण त्रिपाठीलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
प्रधानमन्त्रीको राजीनामा माग्दै डा. केसीले सुरु गरे आमरण अनशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै डा. गोविन्द केसीले आमरण अनशन थालेका छन् । डा. केसीले तीनबुँदे माग राखेर पशुपति क्षेत्रमा अनशन सुरु गरेका हुन् । आफ्ना मागहरू सम्बोधन नभएको भन्दै उनले अपराह्न ४ बजे एक विज्ञप्ति प्रकाशित गरेर अनशन सुरु गरेका हुन् । यो उनको २२औं सत्याग्रह हो। ‘सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी, घोर अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतका कारण प्रचण्डको प्रधानमन्त्री पदबाट तुरुन्त राजीनामा होस्,’ विज्ञप्तिमा उल्लेख छ, ‘निष्पक्षरूपमा र पीडितहरुले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गरियोस्।’ उनले सबै नेपालीलाई गुणस्तरीय साथै निःशुल्क औषधोपचारको व्यवस्था गर्नुपर्ने माग पनि गरेका छन् । ‘जनताको नाममा हामीसँग भएका शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार र सबैको समान पहुँचसम्बन्धी गेटामा तुरुन्त प्रतिष्ठान सञ्चालन गर्ने, गण्डकी र मधेश प्रदेश साथै इलाम, उदयपुर र डडेल्धुरामा मेडिकल कलेज र प्रतिष्ठान तुरुन्त निर्माण गर्न, विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्डसम्बन्धी उच्च शिक्षा ऐन र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसम्बन्धी ऐन तुरुन्त पारित गर्नलगायत सबै सम्झौता कार्यान्वयन गर्न र कार्की आयोगले दोषी ठहर्याएका व्यक्तिहरूलाई कारबाही गर्न माग गरिन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।
विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग
काठमाडौं । विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउने विषयमा सरकारसँग भएको सहमति कार्यान्वयन नभएकामा नेपाल विद्यालय कर्मचारी परिषद्ले चिन्ता व्यक्त गरेको छ । परिषदको चौथो राष्ट्रिय भेलाको अवसरमा आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग भएको सहमति कार्यान्वयनका लागि सरकारलाई ध्यानाकर्षण गराएको हो । गत जेठ ५ गते राष्ट्रपतिबाट चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा बुँदा नं १७ मा ‘सामाुदायिक विद्यालयका कार्यरत विद्यालय कर्मचारीको सेवा सुविधा सम्बोधन गरिनेछ’ भन्ने उल्लेख भएकामा बजेट प्रस्तुतिका क्रममा सो कार्यक्रम हटाइएको र प्रतिबद्धताबमोजिम हालसम्म महँगी भत्ता नपाएको परिषद्का अध्यक्ष गङ्गाराम तिवारीले गुनासो गरे । भेलामा नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सेवासुविधाका दृष्टिले विद्यालय कर्मचारी र प्रारम्भिक विकासका शिक्षक बढी अन्यायमा परेको स्पष्ट पारे । उनले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० लाई सहमतिका आधारमा छिटो पारित गराउन माग गरे । परिषद्का महासचिव शान्तिनाथ योगीले विद्यमान शिक्षा ऐनमै विद्यालय कर्मचारीलाई दरबन्दीमा राख्न व्यवस्था भए पनि हालसम्म कार्यान्वयन नहुनु दुखद भएको बताए । सर्वोच्च अदालतको २०६७ माघ २३ को आदेशमा कर्मचारीको सेवा, शर्त, सुविधा उल्लेख गरी कार्यान्वयन गर्न भने पनि कार्यान्वयन भएको छैन । हाल विद्यालयका लेखापालले मासिक १३ हजार पाँच सय र कार्यालय सहायकले आठ हजार रुपैयाँ पारिश्रमिक पाउँदै आएका छन् । कार्यक्रममा शिक्षाका विषयमा कलम चलाउँदै आएका राससका प्रकाश सिलवाल, खबरएजुकेसन डटकमका लक्ष्मीप्रसाद ढकाल, एजुकेशन प्लस डटकमका रमेश लामिछाने र हिमाल प्रेस डटकमका रमेश दवाडीलाई सम्मान गरिएको थियो ।
पर्यटन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्न सबै एकजुट हुनुपर्छ : सभामुख घिमिरे
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकमा रहेका सांस्कृतिक र प्राकृतिक सुन्दरताको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–१० को नवनिर्मित वडा कार्यालय भवन उद्घाटनका लागि शनिबार आयोजित समारोहमा सभामुख घिमिरेले राजनीतिक परिवर्तनको आन्दोलन सम्पन्न भएको बताउँदै अब पर्यटन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्नेतर्फ सबै एकजुट भएर लाग्नुपर्ने बताए । जनप्रतिनिधि र राजनीतिक दलमा इच्छाशक्ति भयो भने हरेक क्षेत्रको विकास सम्भव हुने भन्दै स्थानीय तहको विकास र आकर्षणका लागि जनप्रतिनिधि र राजनीतिक दलले योजना बनाएर लाग्नुपर्ने सभामुखको भनाइ थियो । ‘समृद्धिको आधार पर्यटन हो, हिजो सबैभन्दा अपहेलनामा रहेको ठाउँ अहिले आकर्षक बन्ने क्रममा छ, यहाँ गणेशमान पार्क र मनमोहन पार्क बनेका छन्, भएका प्राकृतिक र सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्दै नभएका कुराहरुको विकास गर्न सकियो भने राजधानी नजिकैको सुन्दर र रमणीय ठाउँ आकर्षणको केन्द्र बन्न सक्छ । गर्मीमा यो चिसो ठाउँमा आएर सुन्दरताको उपभोग गर्ने लालयीत हुन्छन्,’ सभामुख घिमिरेले भने । सभामुख घिमिरेले उद्घाटन भएको भवनबाट जनताको दैनिक सेवासुविधालाई सहज बनाउन गुणात्मक उपलब्धि हुने अपेक्षा गरेका थिए । स्थानीय जनताको प्रयत्न र लगनशीलताले मात्रै समृद्धि हासिल हुने बताउँदै आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । वडा कार्यालयको भवन निर्माणले जनतालाई छिटो र सहजरुपमा सेवा प्रदान गर्ने भन्दै यसले संघीयताको प्रभावकारिताका लागि सहयोग पुर्याएको बताए । प्रतिनिधिसभा सदस्य प्रेमबहादुर महर्जनले ग्वार्कोबाट पनौतीसम्म पुग्ने यहाँको सडकलाई स्तरोन्नति गरेर सहज बनाउने कार्यमा लाग्ने र यहाँको पर्यटन विकासमा क्रियाशील रहने बताए । उनले नगरकोट र धुलिखेल जस्तै पर्यटकीय क्षेत्र बनाउनका लागि संघीय सांसदका रूपमा भूमिका निर्वाह गर्ने बताए । सांसद महर्जनले स्थानीय उत्पादनलाई बजारीकरण गरेर समृद्धि हासिल गर्नतर्फ लाग्न आग्रह गर्दै त्यसका लागि आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाए । महालक्ष्मी क्षेत्रको औद्योगिक, सांस्कृतिक र पर्यटकीय विकासमा सबैले हातेमालो गरेर लाग्नुपर्नेमा उनको जोड थियो । बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले पहिलो कार्यकालमा आफू नगरप्रमुख हुँदा स्वच्छ, सफा, समृद्ध र सुन्दर नगरपालिका बनाउने कार्ययोजना तय गरेको बताए । मन्त्री श्रेष्ठले आफ्नो कार्यकालमा ६८ वटा ऐन, कानुन बनाएको जानकारी गराउँदै विभिन्न प्राविधिक कारणले नगरपालिका भवन निर्माण हुन नसकेको बताए । उनले प्रदेश तहबाट हरेक किसिमले महालक्ष्मी नगरपालिकाको समृद्धिका लागि क्रियाशील रहने प्रतिबद्धता जनाए ।
नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नुपर्दैन : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा नोटमा समावेश गर्दा अरु देशलाई चिन्ता हुनु नपर्ने बताएका छन् । नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय परिषद् भेलाको आज शुभारम्भ गर्दै पूर्वप्रधानमन्त्री ओलीले नेपालको संसद्ले पारित गरेको राजनीतिक नक्सा, नेपाल सरकारको निर्णय र नेपालकै लगानीमा मुद्रामा छापिँदा अरुले टाउको किन दुखाउनुपर्ने भनी प्रश्न गरे । उनले देशभक्ति र स्वाधीनताका लागि बुद्धिजीवीहरुको महत्वपूर्ण भूमिका रहनेमा जोड दिए । भेलालाई एमाले नेताहरू भानुभक्त ढकाल, रघुजी पन्त, विद्या भट्टराईलगायतले सम्बोधन गर्दै शुभकामना दिए । दुई सञ्चालन हुने भेलामा देशभरका बुद्धिजीवीहरूको सहभागिता रहेको परिषद्का महासचिव गजेन्द्र थपलियाले जानकारी दिए ।
वीरगञ्जमा चापाकल सुक्न थालेपछि खानेपानीको अभाव
वीरगञ्ज । वीरगञ्ज महानगर क्षेत्रमा सुक्खायामका कारण चापाकल सुक्न थालेपछि खानेपानीको चर्को अभाव देखिएको छ । घर–घरमा गाडिएको चापाकल सुकेर खानेपानीको अभाव भएसँगै नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जमा नयाँ धारा जडानका लागि सर्वसाधारण आउने क्रम बढेको छ । अहिले कार्यालयमा दैनिक सयौँको सङ्ख्यामा नयाँ धारा जडानको लागि निवेदन लिएर आउने गरेका छन् । खानेपानी संस्थान शाखा कार्यालयका वितरण प्रमुख सञ्जीवकुमार यादवले गत वर्षदेखि वीरगञ्ज बजार क्षेत्रका अधिकांश चापाकल सुकेसँगै सर्वसाधारण खानेपानीको लाइन जडान गर्न आउन थालेका बताए । ‘विगतमा घरमा गाडिएको चापाकलमा पर्याप्त पानी आउँदासम्म खानेपानीको धारा जडानमा स्थानीयवासीको खासै रुचि देखाउँदैन्थे । गत वर्षको हिउँदेयामदेखि चापाकल सुकेर पानीको सङ्कट महसुस गरेपछि अहिले खानेपानी संस्थानमा धारा जोड्नेको घुइँचो नै लाग्ने गरेको छ’, उनले भने । वितरण प्रमुख यादवले चालु आर्थिक वर्षको हालसम्मको अवधिमा मात्रै दुई हजार चार सयभन्दा धेरै नयाँ धारा जडान भएको जानकारी दिए । ‘गत आवको अन्त्यसम्म महानगर क्षेत्रमा आठ हजार चार सय घरधुरी मात्रै ग्राहक थिए’, उनले भने, ‘खानेपानीको चर्को सङ्कट हुन थालेपछि अहिले कूल ग्राहक सङ्ख्या १० हजार आठ सयभन्दा धेरै पुगिसकेको छ ।’ वडा कार्यालयको सिफारिसमा संस्थानले ६ हजार तीन सय ७० रुपैयाँ लिएर नयाँ धारा जडान कार्य अघि बढाउँदै आइरहेको छ ।
बाँकेको जमुनाहा नाका बन्द
खजुरा । बाँकेको नेपाल-भारत जमुनाहा नाका तीन दिनका लागि बन्द गरिएको छ । भारतको उत्तरप्रदेशस्थित बहराइच जिल्लामा यही वैशाख ३१ गते हुने लोकसभा निर्वाचनका लागि सीमा नाका शुक्रबार राति १० बजेदेखि तीन दिनका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीका अनुसार खुला सीमाका कारण बढ्न सक्ने सुरक्षा चुनौतीका कारण नाका बन्द गरिएको हो । नाका बन्द रहेका बेला एम्बुलेन्सलगायत अत्यावश्यक सेवालाई दुवै देशका सुरक्षाकर्मीको समन्वयमा कुनै अवरोध नहुने उनले बताएका छन्। निर्वाचनलाई लक्षित गरेर दुई देशका सीमा क्षेत्रमा मदिराको बेचबिखन र सेवनमा समेत रोक लगाइएको छ । लोकसभा निर्वाचनलाई दशगजा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीले संयुक्त रूपमा गस्ती गर्दै आएका छन् ।
मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु
सङ्खुवासभा । सङ्खुवासभामा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु भएको छ । आरोहण गरी फर्किने क्रममा पर्वतारोही सोलुखुम्बु जिल्ला महाकुलुङ गाउँपालिका-४ का ५४ वर्षीय ल्हाक्पा तेञ्जी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिए । मकालु हिमाल आरोहण गरी फर्कने क्रममा मकालु गाउँपालिका-२ र ३ को सिमानामा बेपत्ता भएका शेर्पाको शव शुक्रबार दिउँसो मकालु आधार शिविरमा फेला परेको प्रहरी निरीक्षक जबेगुले बताए । घटनास्थलबाट शेर्पाको शव मुचुल्कापश्चात् सोलुखुम्बु लगिएको उनको भनाइ छ । यातायात र सञ्चार सेवा नभएका कारण मकालुक्षेत्र भौगोलिकरूपमा विकट मानिन्छ । घटनास्थल सदरमुकाम खाँदबारीदेखि पाँच दिनको पैदल दूरीमा पर्दछ । पर्वतारोही शेर्पाको शव मुचुल्का पछि शनिबार नै सोलुखुम्बु लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।