प्रधानमन्त्रीलाई विश्वास मत दिन्छौं : माधव नेपाल
काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने कुरामा शंका गर्न जरुरी नभएको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ७ गते सोमबार (भोलि) चौथो पटक संसदमा विश्वासको मत लिँदै छन् । अध्यक्ष नेपालले सरकारमा भएकाले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने स्पष्ट पारे । आइतबार पार्टी मुख्यालय आलोकनगरमा सञ्चारकर्मीलाई उनले नैतिकताको प्रश्न पनि खडा हुने हुनाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिँदैन कि भनेर आफ्नो पार्टीमाथि शंका नगर्न र दुविधा नपाल्न पनि आग्रह गरे । प्रधानमन्त्रीलाई विश्वासको मत दिन किन्तु परन्तु नहुने स्पष्ट पारे । उनले भने,‘भोलि प्रधानमन्त्रीले विश्वासको मत लिन खोज्नुभएको छ । त्यसमा कुनै दुविधा राख्न जरुरी छैन । किनभने हामी सरकारमा छौं । यहाँ नैतिकताको प्रश्न खडा हुन्छ । त्यसो भएको हुनाले यसमा कसैले शंका गर्न जरुरी छैन । त्यसैले मैले अघि भनेको थिए–नो ईफ, नो बट । हामी मन्त्री छौँ । सरकारका सहभागी छौं । त्यसो हुनाले हामीले विश्वासको मत दिन्छौं ।’ अध्यक्ष नेपालले संसदलाई सहज ढंगले अघि बढाउने कुरामा सबै राजनीतिक दलहरूले ध्यान दिनुपर्ने समेत बताए ।
उपप्रधानमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेविसंघको प्रदर्शन
काठमाडौं । नेपाली काँग्रेस निकट विद्यार्थी संगठन (नेविसंघ) ले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै आन्दोलन गरेको छ । आइतबार माईतीघर मण्डला क्षेत्रमा नेविसंघले गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन गरेको हो । सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेले राजीनामा दर्नुपर्ने भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले चिया छानेको, सहकारी ठग जोगाउन कति जानेको, रविको जीविकोपार्जन सहकारी ठगी, गृहमन्त्रीज्यु प्रमाणित भए राजनीति छोड्ने रे, अनि प्रमाणित हुन छानबिन गर्नु परेन, ए रवि दाई, खोइ त जीवि राई, रवि लामिछाने, होइन, होइन ठगि लामिछाने लगायतका प्लेकार्डहरु प्रर्दशन गरेका थिए । संसद्मा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लामिछानेमाथि छानबिन हुनुपर्ने माग राख्दै अवरोध गर्दै आइरहेको छ ।
राष्ट्रिय सभाको बैठक भोलिसम्मका लागि स्थगित
काठमाडौं । राष्ट्रिय सभाको बैठक बस्दै नबसी स्थागित भएको छ । सहकारी ठगीका विषयमा बनाउन लागिएको संसदीय छानबिन समितिको कार्यादेशमा दलहरूबीच सहमति हुन नसेपछि राष्ट्रिय सभा बैठक आइतबार बस्दै नबसी स्थगित भएको हो। आइतबार दिउँसो १ः१५ मिनेटमा बोलाइएको अपराह्न ३ः१५ मा बस्ने गरी सारिएको थियो । तर, दलहरूबीच अझै कार्यादेशमा सहमति हुन नसकेपछि स्थागित गरिएको छ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक भोलि (सोमबार) दिउँसो १ः१५ बस्नेगरी बोलाएका छन् ।
‘सीइओ कन्फरेन्स’ आयोजना हुँदै
काठमाडौं । नेपाल व्यवस्थापन सङ्घको आयोजनामा यही जेठ १८ गते ‘सीइओ कन्फरेन्स’ (प्रमुख कार्यकारी अधिकृत) हुने भएको छ । संघले आइतबार पत्रकार सम्मलेन गरी यही जेठ १८ गते शुक्रबार उक्त कन्फरेन्स हुने जानकारी दिएको हो । संघका अध्यक्ष मोहनराज ओझाले उक्त सम्मेलनले अन्तर्राष्ट्रिय विज्ञबाट अनुसन्धानमा आधारित दृष्टिकोण, ज्ञान एवं विचार प्रस्तुत हुने जानकारी दिए । उनले भने, ‘विश्वका मुद्दाहरुका सम्बोधनका लागि यो सम्मेलनले नेपालको व्यवस्थापनका सन्दर्भमा नवप्रवर्तनमा आधारित सोच, ज्ञान, व्यवहारिक पहलको आदानप्रदान र सहकार्यका लागि मञ्च प्रदान गर्नेछ ।’ सम्मेलनको मुख्य विषयवस्तु ‘कामको भविष्यः परिवर्तित परिदृश्य आत्मसात’ रहेको छ । सम्मेलनको उद्देश्य सरोकार भएकालाई प्रविधि, उद्योग, नवप्रवर्तनमा आधारित व्यावसायिक अवधारणद्वारा परिवर्तित कार्यस्थलको भविष्य कसरी आत्मसात गर्न सकिन्छ र सोबारेमा अन्वेषण गर्न सहयोग गर्नु रहेको उनले जानकारी दिए । सम्मेलनमा चार विषयगत सत्रहरू सञ्चालन हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । कार्यक्रममा चारजना विदेशी वक्ताको सहभागिता रहनेछ भने विभिन्न संघ संस्थाबाट दुई सयभन्दा बढी सीइओहरु उपस्थित हुने आयोजकले जनाएको छ ।
कामना सेवा विकास बैंक र एफवान सफ्ट इन्टरनेशनलबीच सम्झौता
काठमाडौं । कामना सेवा विकास बैंक र एफवान सफ्ट इन्टरनेशनलबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई लक्षित गरी विभिन्न योजनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकको मोबाइल बैंकिङमा रजिष्ट्रर गरी कुनै पनि रकमको टप-अप गर्नेमध्ये भाग्यशाली ५० जना ग्राहकले ५० रुपैेयाँको टप-अप जित्न सक्नेछन् । यो अफर नयाँ ग्राहकलाई मात्र मान्य हुने बैंकले जनाएको छ । त्यसैगरी, ग्राहकले न्यूनतम १०० रुपैयाँको टप-अपमा वा कुनै पनि डाटा प्याक खरिद गर्दा २ जना भाग्यशाली विजेताले लक्की-ड्रमार्फत इयरबर्डस जित्न सक्नेछन् । यो अफर नयाँ तथा पुराना ग्राहक दुबैलाई मान्य हुनेछ । यसैगरी, कारोबार गर्ने ग्राहकमध्ये एक जना लक्की विजेताले बम्पर पुरस्कार स्मार्टफोन जित्न सक्नेछन् । यो योजना जेठ मसान्तभरि लागु हुनेछ । बैंकले हाल देशभरि १३५ वटा शाखा सञ्जाल र ७७ वटा एटिएम वुथमार्फत बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।
सरकारी जग्गा हिनामिना गर्ने ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड बिगो दाबी
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय टीकापुर, कैलालीका तत्कालीन कार्यालय प्रमुख र नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आइतबार विशेष अदालतमा मालपोत कार्यालयका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाइली र नापी कार्यालयका तत्कालीन कार्यालय प्रमुख मानबहादुर चन्दविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । यस्तै, अख्तियारले मुद्दा दायर गरेका अरूमा नायब सुब्बा अग्निबहादुर शाही, सर्वेक्षक दशरथ मण्डल, जग्गाधनी दर्ता प्रमाणपुर्जा बनाउने विन्द्रा रावल, कमलबहादुर रावल, सुशीलबहादुर रावल र विमलबहादुर रावल छन् । जिल्लाको साविक नारायणपुर-८ अन्तर्गतको कित्ता नम्बर ९०८ को क्षेत्रफल १५-०-० बिगाह जग्गा फिल्डबुकमा जंगल कायम भए पनि कित्ताकाट गरी मालपोत कार्यालय, टीकापुरबाट २०६८ सालमा व्यक्तिको नाममा कायम गरेको पाइएकाले भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । उनीहरूले सरकारी जग्गा व्यक्तिका नाममा गर्दा २४ करोड ६ लाख ६९ हजार रुपैयाँ हिनामिना गरेको अख्तियारले जनाएकाे छ । अख्तियारले उनीहरू सबैसँग २४ करोड ६ लाख ६९ हजार रुपैयाँ बिगो दाबी गरेको छ ।
सडक कालोपत्र भएपछि दैनिकी सहज बन्दै
ढोरपाटन । कुश्मिसेरा–बरेङ सडकअन्तर्गत पर्छ राङ्खानी गाउँ । यस गाउँमा दुई वर्ष अगाडिसम्म बर्खामा हिलो र हिउँदमा धुलो उडाउँदै गाडी गुड्थे । दक्षिण बागलुङको मेरुदण्डका रुपमा रहेको यो सडक अहिले कालोपत्र भएको छ । ग्रामीण सडक कालोपत्र भएपछि हिजोआज गाउँमा छुट्टै रौनक छाएको छ । स्थानीयको दैनिकीसमेत सहज बन्दै गएको छ । विसं २०६५ देखि ट्रयाक खुलाउन सुरु गरेर विसं २०७० मा बरेङसँग जोडिएको यो सडक तीन खण्डमा स्तरोन्नति र कालोपत्र गर्न थालिएको हो । जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरादेखि देवलधारासम्मको पहिलो खण्डको जिम्मा पाएको निर्माण व्यवसायी क्याराभान कन्स्ट्रक्सन लामो समय सम्पर्कविहीन बनेपछि अहिले बल्ल काममा फर्किएको छ । दोस्रो खण्ड राङ्खानी देवलधारादेखि बरेङ गाउँपालिका–१ लिउवासम्मको खण्ड कालोपत्र भइरहेको छ । अघिल्लो वर्षदेखि कालोपत्र थालिएको दोस्रो खण्ड यस वर्ष सकिँदैछ । राङ्खानदेखि बरेङसम्मको ११ किलोमिटर सडक पूर्वाधारसहित कालोपत्र गर्नका लागि विसं २०७८ साउनमा दुई वर्षमा कालोपत्र र घुम्ती सडकमा ढलान गर्नेगरी ३४ करोड २५ लाख ३६ हजारमा रौताहखानी/धुलिखेल जेभीसँग ठेक्का सम्झौता गरिएको थियो । गत वर्ष सात किमी सडक कालोपत्र र ढलान गरिसकिएको थियो भने यस वर्ष चार किमीको काम हुँदैछ । हालसम्म तीन किमी सडक कालोपत्र भइसकेको र एक किमी सडकमा काम गर्न बाँकी रहेको छ । उक्त सडक एक महिनामै सकिने पूर्वधार विकास कार्यालयका इञ्जिनियर प्रकाश श्रीसले बताए । बरेङ–१ लिउवादेखि अर्को खण्डका लागि नयाँ ठेक्का खुलाइएको उनको भनाइ छ । लिउवादेखि बरेङ बजारसम्मको सात किमी सडक कालोपत्रका लागि २० करोड रुपैयाँको ठेक्का आह्वान गरिएको इञ्जिनियर श्रीसले जानकारी दिए । इञ्जिनियर श्रीसले भने, ‘राङ्खानी क्षेत्रमा कालोपत्र भइसकेको छ, अघिल्लो र यो वर्ष गरी ११ किमी सडक कालोपत्र भएको छ, यो दोस्रो खण्ड हो, पहिलो खण्डमा लामो समय काम भएको थिएन, अहिले निर्माण कम्पनी काममा फर्किएको छ, तेस्रो खण्ड सात किमी पर्छ, त्यसका लागि नयाँ ठेक्का खोलिएर मूल्याङ्कनको चरणमा छौँ, केही समयमै तेस्रो खण्डको पनि काम सुरु हुनेछ, राङ्खानी खण्डको एक किमी बाँकी छ, अहिले धमाधम काम भइरहेको हुँदा एक महिनामै सकिन्छ ।’ बर्खाको समय राङ्खानी र बरेङ पुग्नका लागि निकै समस्या थियो । गाउँको सडक कालोपत्र भएपछि स्थानीयमा खुसी छाएको छ । सडक कालोपत्र भएपछि पालिकाको केन्द्र कुश्मिसेरासहित, बागलुङ, पोखरालगायका स्थानमा पुग्न सहज भएको जैमिनी–१० राङ्खानीका दलबहादुर श्रीसले बताए । यो सडक खुलेको दशक बढी हुँदा बल्ल कालोपत्र भएको भन्दै पक्की सडकले गाउँलेको जनजीवन फेरिने उनले बताए । सडक कच्ची हुँदा यात्रा र सामान ढुवानीमा निकै समस्या भएको स्मरण गर्दै अहिले घरै अगाडिको सडक कालोपत्र हुँदा विकासको अनुभूति भएको उनको भनाइ छ । सडक कालोपत्र भएपछि बजार जानआउन पनि चाँडो भएको श्रीसले बताए । ‘कच्ची सडकमा गाडी दगुर्दा धुलो सबै घरभित्रै आउँथ्यो, बजार झर्न पर्यो भने गाडीले झ्याक्दा शरीर दुख्ने समस्या, भाडा बढी तिर्नुपर्ने अवस्था थियो, अहिले सडक कालोपत्र भएपछि यात्रा गर्न निकै सहज भएको छ’, श्रीसले भने, ‘पहिले घण्टौँ लगाएर पुग्ने ठाउँमा अहिले एकै छिनमा पुग्न सकिन्छ, गाउँमा विस्तारै विकास आउँदै छ, आजभन्दा १०/१५ वर्ष अगाडि विकट जस्तै थियो यो ठाउँ अहिले हेर्दाहेर्दै सुगम बन्न थाल्यो, माथिपट्टीको सडक कालोपत्र भइसक्यो, तलतिरको अझै भएको छैन, सरोकारवाला निकायले कडाइ गरे त्यो खण्ड पनि चाँडै कालोपत्र हुने थियो ।’ जैमिनीका नगर उपप्रमुख हरिहर शर्माले गाउँमा पुगेको कालोपत्र सडकले स्थानीयलाई आयआर्जनसँग जोड्ने बताए । यो सडकले जैमिनीको राङ्खानीलगायत अन्य गाउँलाई जोडेको हुँदा अब यहाँ उत्पादन हुने वस्तु सहजरुपमा बजार पुर्याउन सकिने उनको भनाइ छ । सडकको ट्रयाक खुलाउँदा यस क्षेत्रका नागरिकले ठूलो योगदान पुर्याएको भन्दै अब यातायातमा समस्या भोग्नु नपर्ने उपप्रमुख शर्मा बताउँछन् । पहिलो खण्डमा पनि निर्माण कम्पनी काममा फर्किएको हुँदा नगरपालिकाले समयमै काम सक्नका लागि ताकेता गरिरहेको उनको भनाइ छ । उपप्रमुख शर्माले भने, ‘गाउँमा विकास पुग्दैछ, यो सडक निर्माण भएको लामो समयपछि कालोपत्र भयो, अझै केही खण्डमा कालोपत्र गर्न बाँकी छ, अब गाउँबाट आउने गाडी रित्तो आउने छैनन्, गाउँमा उत्पादन भएका हरेक वस्तु बजारमा पुग्नेछन्, नागरिक उत्पादनसँग जोडिने छन्, त्यसका लागि नगरपालिकाले पनि सहजीकरण गर्नेछ, यात्रा गर्न निकै कठिन थियो, अहिले ११ किमी सडक कालोपत्र भयो, बाँकी अन्य खण्डको पनि काम सकियो भने बरेङदेखि बागलुङसम्म नै पक्की सडक बन्नेछ ।’ रासस
नेप्सेकाे वेबसाइटमा समस्या
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) काे वेबसाइटमा समस्या देखिएको छ । साताको पहिलो दिन कारोबार बन्द हुनुभन्दा केही समयअघि वेबसाइटमा समस्या देखिएकाे हो । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार नेप्सेको साइटको सर्भर डाउन भएका कारण समस्या आएको हो । उनी भन्छन्, ‘साइटको सर्भर डाउन भएको हो, अन्य कामहरू भइरहेको छ ।’ समस्या छिट्टै समाधान हुने उनले बताएका छन् । मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षापछि सेयर बजारमा आज रौनक छाएको थियो ।