७ हजार ४६२ बालबालिका सरकारको संरक्षणमा
काठमाडौं । चालु आर्थिक वर्षमा बालबालिका विरुद्धको हिंसा तथा जोखिममा परेका ५८८ जनाको उद्धार गरिएको छ । सरकारद्वारा सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु आवको फागुनसम्ममा उद्धार गरिएका ५८८ जनासमेत गरी सरकारले सात हजार ४६२ बालबालिकालाई आवश्यक राहत, संरक्षण, मनोविमर्शलगायत सेवा उपलब्ध गराएको हो । आव २०८१/८२ मा हिंसा तथा जोखिममा परेका एक हजार ५५ बालबालिकाको तत्काल उद्धार गरिएको थियो । त्यसैगरी, सरकारले सडक बालबालिका मुक्त नेपाल बनाउने अभियानअनुसार २०७३ वैशाख २७ देखि २०८२ को फागुनसम्म दुई हजार ६५८ (बालक दुई हजार २५८ र बालिका ४००) सडक बालबालिकाको उद्धार गरी संरक्षण र व्यवस्थापन गरेको छ । बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना, २०८२ र बालबालिका उत्तरदायी बजेट सङ्केत कार्यविधि, २०८२ स्वीकृत गरी कार्यान्वयन गरेको छ । कानुनको विवादमा परेका एक हजार १७६ बालबालिका १० बालसुधार गृहमा रहेका छन् । चालु आवमा नुवाकोटस्थित केन्द्रीय कारागारमा १८ वर्ष माथिका बालकलाई व्यवस्थापन गर्नका लागि बालसुधारगृह सञ्चालनमा आएको छ । चालु आवमा हराएका पाँच हजार ३६१ बालबालिका (बालक एक हजार ३८८ र बालिका तीन हजार ९७३ को खोजतलास गरी सोमध्ये चार हजार ९२९ जना बालक एक हजार २८९ र बालिका तीन हजार ६४०) बालबालिका फेला परी परिवारमा पुनर्मिलन भएका छन् । आव २०८१/८२ मा देशभर हराएका आठ हजार १८९ ९बालक दुई हजार १७९ र बालिका छ हजार जना बालबालिकाको खोजतलास गरी सोमध्ये फेला परेका सात हजार ६०४ बालक दुई हजार ३७ र बालिका पाँच हजार ५६७ परिवारमा पुनर्मिलन भएका थिए । आर्थिक वर्ष २०८१/८२ मा देशभर बेवारिसे अवस्थामा फेला परेका ४०९ बालबालिका (बालक २४६ र बालिका १६३) मध्ये २९८ बालबालिकाको परिवार खोजी गरी पारिवारिक पुनर्मिलन भएको छ । त्यसमध्ये १११ बालबालिकालाई पालनपोषण तथा संरक्षणका लागि बालगृह तथा अस्थायी संरक्षण सेवा केन्द्रको प्रबन्ध गरी पुनःस्थापना गरिएको छ । राष्ट्रिय बालअधिकार परिषद्को समन्वय, सहयोग र सहजीकरणमा हालसम्म ७५३ स्थानीय तहमध्ये ३९४ स्थानीय तहमा स्थानीय बालअधिकार समिति गठन तथा सञ्चालन भएका छन् । चार सय ९० स्थानीय तहमा बालकल्याण अधिकारी नियुक्त भएका छन् । तीन सय १० स्थानीय तहमा स्थानीय बालकोष स्थापना भएको र ४४२ स्थानीय तहले बाल अधिकार सम्मान, संरक्षण, सम्वद्र्धनसम्बन्धी एकीकृत कार्यविधि निर्माण गरी लागू गरेका छन् ।
सम्पर्कविहीन श्रीमान् खोज्दै रुस पुगेकी श्रीमतीको पनि मृत्यु भएपछि...
काठमाडौं । गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ । कामका लागि रुस गएका ज्ञानबहादुर सम्पर्कविहीन भएपछि उनको खोजीमा त्यहाँ पुगेकी श्रीमती इन्दिरा थापामगरको पनि हृदयघातबाट उतै निधन भएपछि तीन सन्तानसहित आफन्तजनमा बज्रपात परको छ । बर्दियाको बाँसगढी नगरपालिका-४ स्थायी घर भएका ४३ वर्षीय ज्ञानबहादुर सुरुमा दुबई जाने तयारीमा रहे पनि एजेन्टसँगको भेटपछि रुस पुगेका थिए । रुसमा उनको युक्रेन युद्धसँग जोडिएका क्षेत्रमा पुगेको र मारिएको खबर पाउन श्रीमती इन्दिरा उतै पुग्नुपर्यो । श्रीमान्को अवस्था बुझ्न र परिवारको भविष्य जोगाउने आशामा ४० वर्षीय इन्दिरा तीन सन्तानलाई लिएर पोखराको बाटुलेचौरमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएकी थिइन् । लामो समयसम्म श्रीमान्को कुनै खबर नआएपछि हारगुहार गर्दै उनी रुस पुगेकी थिइन् । सम्पर्कविहीन श्रीमान्को निधन नै भएको थाहा पाएर सबै प्रक्रिया पूरा गरी नेपाल फर्कने तयारीमा रहेकै बेला इन्दिरालाई एक्कासी हृदयाघात भयो । रुसस्थित नेपालीहरूको सहयोगमा उनलाई ओएमं पिलाटाभका नाममा रहेको सिष्टी क्लिनिकल अस्पताल १५ नम्बरको २३ वेश्न्याका भस्काया स्ट्रिट, मस्कोमा उपचारका लागि लगिएको थियो । गत वैशाख ३१ गते उपचारकै क्रममा इन्दिराको निधन भयो । अहिलेसम्म पनि शव परीक्षण रिपोर्ट आउन सकेको छैन र आर्थिक अभावका कारण उनको शव नेपाल ल्याउनसमेत कठिनाइ भएको इन्दिराका बुवा चिरन कार्की बताउँछन् । छोरी फागुनको ४ गते श्रीमान्को खोजी गर्न रुसका लागि पोखराबाट काठमाडौंतर्फ लागेको उनले जानकारी दिए। इन्दिराका परिवार अहिले मामाघरमा सँगै बस्दै आएका छन् । इन्दिराका कान्छा छोरा आठ वर्षीय सौरव थापामगर कक्षा ३ मा पढ्छन् । मुटुमा समस्या भएका कारण सौरवको बेग्लै समस्या छ । नियमित उपचार आवश्यक भए पनि आर्थिक अभावले उपचार रोकिएको छ । आमाको निधन भएको थाहा नदिएइ पनि केही दिनयता नाती सौरव बाटोतर्पm हेर्ने, कम बोल्ने, मलिन र एकोहोरो स्वभावको बन्दै गएको सौरवका हजुरबुबा कार्की बताउँछन् । पोखरा महानगरपालिका वडा नं १३ कसेरीस्थित मामाघरमा आश्रय लिएर बसिरेहका सौरवले भने, “आमा आउँदा साइकल ल्याइदिन्छु भन्नुभएको छ ।” ठूलो छोरा निरज थापामगरले भने घर राम्रोसँग हेर्नु र भाइबहिनीको ख्याल गर्नु भनेर आमाले सम्झाएर जानु भएको थियो आज यस्तो अवस्था आयो । ‘बुवाको निधनको पुष्टि भएपछि कुशको शव वनाएर दाहसंस्कार गर्यौं,’ भावविह्ल हुँदै २४ वर्षीय निरजले भने, ‘बुबाको किरिया गरेको एक वर्ष नपुग्दै आमाको पनि निधन भयो अब के गर्ने ?’ थापामगर परिवारको यो समस्या केबल एउटा परिवारको पीडा मात्र होइन, जोखिमपूर्ण वैदेशिक रोजगारीको कठोर यथार्थ पनि हो । गरिबी, बेरोजगारी र दलालको जालोले नेपाली युवालाई युद्धग्रस्त भूमिसम्म धकेलिरहेको छ । त्यसको सबैभन्दा ठूलो मूल्य निर्दोष बालबालिकाले चुकाइरहेको छन् । यो परिवारमा भविष्यको भन्दा पनि शव ल्याउने समस्यासमेत जटिल बनेको छ । पोखरा महानगरपालिका-१७ आँखा अस्पतालचोक निवासी इन्दिराकी माइतीतर्फ कान्छीआमा दिलमाया कार्कीका अनुसार एक साताअघि मात्रै इन्दिरासँग फोन सम्पर्क भएको थियो । ‘एउटै समस्या भएका हामी १२ जना नेपाली महिला एउटै कोठामा बसेका थियौँ, धेरै जना काम सकेर फर्किनुभयो कोठामा कसैले कसैलाई सहयोग गर्न गर्दैनन् । घर फर्किन पाए परिवारलाई भेट्थेजस्तो लागिरहेको छ’, इन्दिराले सुनाएको पीडा दिलमायाले सम्झाइन् । विमानस्थलमा अलपत्र परेकी इन्दिरालाई एक जनाले भेटेर हिन्दी भाषामा समस्या सुनाएपछि नेपालीले सहयोग गरेका थिए । इन्दिराको सहयोगी बनेर रुस पुगेका माइतीतर्फका काकाको छोरा भाइ सुरज कार्कीलाई सहयोगीका रूपमा लिएर रुसको मस्को विमानस्थलमा झर्नेवित्तिकै सुरक्षाकर्मीले सोधपुछ गर्दै थियो एकै छिनमा नेपाल फर्काइदियो । ‘भाइको कपडा मेरो झोलामा थियो र सम्पूर्ण रकम भाइसँग थियो बोल्न पनि नपाएपछि बेखर्ची भएर विमानस्थलमै अलपत्र परे’ छोरीले दिलमायाले भक्कानिँदै आँखाभरी आँसु पार्दै बताइन् । अब बितेका दुवै जानको क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारले रुसी सरकारसँग पहल गर्नुपर्नेमा उनको जोड थियो ।
नेपालमा अल्ट्राभोइलेट इलेक्ट्रीक मोटरसाइकलको नयाँ वितरकमा वैद्यज अर्गनाइजेसन नियुक्त
काठमाडौं । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन भारतीय प्रिमियम इलेक्ट्रीक मोटरसाइकल उत्पादक अल्ट्राभोइलेटको नेपालका लागि आधिकारिक वितरक र आयातकर्ता नियुक्त भएको छ । यसअघि केडिया ग्रुपले बिक्री गर्दै आएको यस ब्राण्डको डिलरशिप पाएसँगै प्रिमियम इलेक्ट्रीक स्कुटर एथर बिक्री गरिरहेको वैद्यज अर्गनाइजेसनले अब अल्ट्राभोइलेटका मोटरसाइकल पनि आफ्नो पोर्टफोलियोमा थपेको हो । यो साझेदारीसँगै कम्पनीले देशभर प्रिमियम शोरुम, अत्याधुनिक सर्भिस पूर्वाधार र भरपर्दो बिक्रीपछिको सेवा नेटवर्कसहित आक्रामक बजार विस्तारको योजना अघि बढाएको छ । अल्ट्राभोइलेटका सीईओ तथा सहसंस्थापक नारायण सुब्रमण्यम र वैद्यज अर्गनाइजेसनका सीईओ सूर्यांश वैद्यले यो सहकार्यले नेपालको ईभी मोटरसाइकल बजारलाई पूर्ण रूपमा नयाँ युगमा लैजाने र ग्राहकलाई अत्याधुनिक प्रविधिसहितको उत्कृष्ट राइडिङ अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । नयाँ डिलरशिप पाएसँगै कम्पनीले बजार विस्तारलाई तीव्र पार्दै आफ्नो सेगमेन्टमा इन्ट्रीग्रेटेड राडार भएको विश्वकै पहिलो मोटरसाइकल एक्स ४७ क्रसओभर नेपाल ल्याउने तयारी गरेको छ, जसको प्रि(बुकिङ छिट्टै सुरू हुनेछ । साथै, कम्पनीले नेपालमा अल्ट्राभोइलेटको लोकप्रिय मोडल एफ ७७ ओरिजिनलको सुरुवाती मूल्य ८ लाख ११ हजार रुपैयाँ र एफ ७७ रिकन को मूल्य ९ लाख ६९ हजार रुपैयाँ तोकेर बुकिङ खुला गरिसकेको छ । एफ ७७ मोटरसाइकलमा १०.३ किलोवाट आवरको ब्याट्रीप्याक र ३० किलोवाटको मोटर जडान गरिएको छ, जसले एकपटकको फुल चार्जमा ३२३ किमीको रेन्ज र १५५ किमी प्रतिघण्टाको टप स्पीड दिन्छ । मात्र २.८ सेकेन्डमा ० देखि ६० किमीको रफ्तार समात्न सक्ने यो बाइकमा ३९ लेभल ट्रयाक्सन कन्ट्रोल, १० लेभल रिजेनेरेटिभ ब्रेकिङ प्रणाली, डाइनामिक स्टेबिलिटी कन्ट्रोल र हिल होल्ड जस्ता अत्याधुनिक सुरक्षा सुविधाहरू समावेश छन् ।
हात्तिसारमा शान्त वातावरण खुल्यो ‘हिमालयन रेष्ट्रोरेण्ट’
काठमाडौं । व्यस्त सहरको कोलाहलबीच शान्त र पारिवारिक वातावरणमा स्वादिष्ट परिकारको अनुभव दिलाउने उद्देश्यसहित हात्तिसारमा ‘हिमालयन रेष्ट्रोरेण्ट’ सञ्चालनमा आएको छ । करोडौं रुपैयाँको लगानीमा स्थापना गरिएको रेष्ट्रोरेण्टले आधुनिक सेवा, आरामदायी वातावरण र बहुराष्ट्रिय खानाको स्वादलाई एकै ठाउँमा समेट्ने प्रयास गरेको छ । रेष्ट्रोरेण्टका प्रबन्ध निर्देशक सन्तोष गौतमका अनुसार ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यसहित रेष्ट्रोरेण्ट सञ्चालनमा ल्याइएको हो । बिहान ७ बजेदेखि राति १० बजेसम्म खुला रहने रेष्ट्रोरेण्टमा हाल २५ जना कर्मचारी कार्यरत छन् । गौतमले रेष्ट्रोरेण्टमा एकैपटक करिब २०० जना अट्न सक्ने क्षमता भएका दुई वटा विशाल हल रहेको बताए । पारिवारिक जमघट, व्यावसायिक भेटघाट तथा विभिन्न कार्यक्रमलाई लक्षित गर्दै ५ देखि ६ वटा मिटिङ रुमसमेत निर्माण गरिएको उनले जानकारी दिए । ग्राहकको सहजताका लागि ४० वटा सवारी साधन पार्किङ गर्न सकिने सुविधा उपलब्ध रहेको उनको भनाइ छ । ‘हिमालयन रेष्ट्रोरेण्ट’मा चाइनिज, इन्डियन तथा इटालियन परिकार विशेष रूपमा उपलब्ध छन् । स्वादसँगै स्वच्छता र गुणस्तरमा विशेष ध्यान दिइएको व्यवस्थापनको गौतमले उल्लेख गरे । प्रत्यक्ष रूपमा रेष्ट्रोरेण्टमै पुग्न नसक्ने ग्राहकका लागि डेलिभरी सेवासमेत सुरु गरिएको छ । ग्राहकले पठाओ र फुडमाण्डुमार्फत सहजै खाना अर्डर गर्न गौतमले जानकारी दिए । सहरको भीडभाड र कोलाहलबीच पनि शान्त अनुभूति दिलाउने गरी गार्डेनसहितको आकर्षक संरचना तयार गरिएको रेष्ट्रोरेण्टले छोटो समयमै ग्राहकको ध्यान तान्न थालेको छ । आधुनिक डिजाइन, पारिवारिक वातावरण र विविध स्वादका कारण ‘हिमालयन रेष्ट्रोरेण्ट’ हात्तिसार क्षेत्रमा स्थापित गरिएको गौतमले बताए ।
गैरआवासीय नेपाली विधेयक ‘शून्य ड्राफ्ट’ मात्रै हो, व्यापक छलफल हुन्छ: परराष्ट्रमन्त्री
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले हाल छलफलका लागि सार्वजानिक गरिएको गैरआवासीय नेपालीसम्बन्धी विधेयकको मस्यौदमा सबै सरोकार भएका निकायका प्रतिनिधिसँग व्यापक छलफल हुने बताएका छन् । एशोसिएशन अफ नेपाली ओरिजिन (एएनओ) केन्द्रीय समितिका तर्फबाट उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त नेतृत्वको प्रतिनिधिमण्डलसँग आज मन्त्रालयमा भएको भेटमा उनले हाल सार्वजनिक भएको मस्यौदा एकप्रकारले ‘शून्य ड्राफ्ट’ भएको जानकारी दिँदै त्यसमा सबै पक्षसँग बृहत् छलफल गरेर मात्र संसद्मा पेस हुने बताए । एएनओले ऐनको सार्वजनिक मस्यौदाका कतिपय बुँदा अव्यावहारिक रहेका र विदेशिएका नेपालीलाई नेपालसँग जोड्नका लागि पर्याप्त नरहेको भन्दै मन्त्री खनालको ध्यानाकर्षण गराएको थियो । एएनओको ध्यानाकर्षणपत्र ग्रहण गर्दै मन्त्री खनालले यो विधेयकका सम्बन्धमा आफूले प्रश्नावली तयार गरेको बताउँदै संसद्मा पेस गर्नुअघि यस विषयमा सरोकार भएकाहरू सबैसँग रायसुझाव लिइने आश्वासन दिए । त्यस अवसरमा उपाध्यक्ष पन्तले उक्त प्रस्तावित कानुनले नेपाली पन र नेपाली मनलाई नेपालसँग दीर्घकालसम्म सेतुका रुपमा जोड्न सक्नुपर्ने धारणा राखेका थिए । उक्त पत्रमा नेपाली उत्पत्तिका व्यक्तिसम्बन्धी परिभाषामा संशोधनको आवश्यकता रहेको, तीनपुस्ताभित्र र त्यस बाहिरका पुस्ताका विदेशिएका नेपालीलाई सम्बोधन गर्न मस्यौदामा व्यापक छलफल र परिमार्जनको आवश्यकता रहेको उल्लेख छ । प्रतिनिधिमण्डलमा एएनओका महासचिव चूडामणि भट्टराई, बोर्ड अफ ट्रस्टी सदस्य बाबुकृष्ण कार्की, एएनओ नेपालका अध्यक्ष कृष्णप्रसाद सापकोटालगायत रहेका थिए ।
राष्ट्रपति पौडेललाई अर्थमन्त्री वाग्लेले दिए 'बजेट ब्रिफिङ'
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे जानकारी गराएका छन् । बिहीबार अपरान्ह राष्ट्रपति कार्यालय शितलनिवास पुगेर उनले आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) बारे राष्ट्रपतिलाई जानकारी गराएका हुन्। भेटमा अर्थमन्त्री डा. वाग्लेले संसदमा पेस गरेको आर्थिक सर्वेक्षण २०८२/८३ र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन पनि राष्ट्रपति पौडेललाई हस्तान्तरण गरे । अर्थमन्त्रीले शुक्रबार (भोलि) अपरान्ह ४ बजे संसदको संयुक्त सदनमा सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दैछन् । सरकारले आगामी आर्थिक वर्षका लागि करिब २० खर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको उच्च स्रोतले जनाएको छ । सुस्त अर्थतन्त्रलाई चलायमान बनाउने, निजी क्षेत्रको मनोबल उकास्ने तथा पूँजीगत खर्च बढाउने लक्ष्यसहित बजेट निर्माणको काम अन्तिम चरणमा पुगेको बताइएको छ । स्रोतका अनुसार यस वर्षको बजेटमा सरकारी कर्मचारीको तलब वृद्धि गर्ने तयारी गरिएको छ । बढ्दो महँगी र कर्मचारीबाट आएको दबाबलाई ध्यानमा राख्दै तलब समायोजनको तयारी गरिएको जनाइएको छ । यद्यपि तलब वृद्धि कति प्रतिशत हुने भन्ने विषयमा अन्तिम निर्णय हुन बाँकी रहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । यसपटक करका दरमा पनि उल्लेख्य फेरबदल हुने संकेत देखिएको छ । उद्योगी–व्यवसायीले उत्पादन, आयात, विद्युतीय सवारीसाधन, सूचना प्रविधि तथा साना तथा मझौला व्यवसायसँग सम्बन्धित कर संरचनामा सुधारको अपेक्षा गरेका छन् । निजी क्षेत्रले कमजोर माग र घट्दो लगानीका कारण अर्थतन्त्र दबाबमा परेको भन्दै राहतमुखी बजेट ल्याउन सरकारसँग माग गर्दै आएका छन् । व्यवसायीहरूले लगानीमैत्री वातावरण, कर प्रणालीमा स्थायित्व, अनावश्यक झन्झट हटाउने व्यवस्था तथा उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम बजेटमा समेटिनुपर्ने बताएका छन् । निर्वाचनपछि बनेको शक्तिशाली बालेन नेतृत्वको सरकारप्रति सर्वसाधारणको अपेक्षा पनि उच्च देखिएको छ । रोजगारी सिर्जना, महँगी नियन्त्रण, सुशासन, विकास निर्माणको तीव्रता तथा सेवा प्रवाह सुधारलाई नागरिकले मुख्य प्राथमिकताका रूपमा हेरेका छन् । आर्थिक सुस्तता, राजस्व संकलनमा दबाब र बढ्दो सार्वजनिक अपेक्षाबीच आउने यस वर्षको बजेटलाई सरकारको आर्थिक दिशानिर्देशका रूपमा चासोका साथ हेरिएको छ ।
बिदा मनाउन तथा मनोरञ्जनका लागि नेपाल आउँछन् पर्यटक
काठमाडौं । नेपाल आउने अधिकांश पर्यटक बिदा तथा मनोरञ्जनका उद्देश्यले आएको तथ्यांकले देखाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका तथ्यांकअनुसार सन् २०२५ मा नेपाल आउने कुल पर्यटकमध्ये ६०.२ प्रतिशत बिदा तथा मनोरञ्जनका लागि आएका थिए । मनोरञ्जपछि नेपालमा सबैभन्दा धेरै पर्यटकहरू तीर्थयात्राका लागि आउने गरेका छन् । तथ्यांकअनुसार सन् २०२५ मा १४.४ प्रतिशत पर्यटक तीर्थयात्राका लागि नेपाल आएका थिए । त्यस्तै, १४.२ प्रतिशत पर्यटक पदयात्रा तथा पर्वतारोहणका लागि नेपाल आएको तथ्यांक छ । व्यापार, अध्ययन, भ्रमण तथा अन्य विविध प्रयोजनका लागि नेपाल आउने पर्यटकको हिस्सा ११.२ प्रतिशत रहेको छ । मन्त्रालयका तथ्यांकअनुसार सन् २०२५ मा ११ लाख ६३ हजार ३६५ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । जुन सन् २०२४ को तुलनामा १.३ प्रतिशतले वृद्धि हो । सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ पर्यटक नेपालमा आएका थिए । पर्यटक आगमनमा वृद्धि हुँदै गएसँगै पर्यटकको औसत बसाइँ अवधिमा सुधार भएको छ । सन् २०२४ मा प्रति पर्यटक औसत बसाइँ अवधि १३.३० दिन रहेकोमा सन् २०२५ मा १६.३४ दिन पुगेको छ । बसाइँ अवधि बढे पनि प्रति पर्यटक औसत दैनिक खर्च भने घटेको छ । सन् २०२४ मा प्रति पर्यटक प्रति दिन औसत खर्च ४०.८४ अमेरिकी डलर रहेकोमा सन् २०२५ मा ३३.०८ अमेरिकी डलर रहेको छ । सन् २०२५ देखि केन्द्रीय विद्युतीय पर्यटन व्यवस्थापन सूचना प्रणालीबाट अध्यागमन विभागले पर्यटकको आगमन र प्रस्थान मिति प्रविष्ट गरेपछि स्वचालित हिसाबले गणना हुने प्रबन्ध गरिएकाले पर्यटकको प्रतिदिन औसत खर्च समेत सोही अनुपातमा घटेको देखिन्छ । पर्यटक आगमन वृद्धि भएसँगै भ्रमण आयमा समेत वृद्धि हुँदै गएको छ । सन् २०२५ मा भ्रमण आय ४.८ प्रतिशतले वृद्धि भएको छ । सन् २०२४ मा पर्यटन क्षेत्रबाट प्राप्त हुने भ्रमण आय .८३ अर्ब ३९ करोड ४० लाख रुपैयाँ रहेकोमा सन् २०२५ मा बढेर ८७ अर्ब ३७ करोड १६ लाख पुगेको छ । विनाशकारी महाभूकम्प र विश्वव्यापी कोभिड- १९ महामारीका बाबजुद पनि सन् २०१६-२०२५ को दशकमा करिब ८३ लाख ८५ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । पर्यटकीय पूर्वाधारमा लगानी वृद्धिको साथै पर्यटकीय नयाँ गन्तव्यको विकास र पर्यटन क्षेत्रको विविधिकरण गर्दै मुलुकलाई आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नुपर्ने देखिन्छ ।
निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न निजी क्षेत्रको आग्रह
काठमाडौं । निजी क्षेत्रका छाता सङ्गठन नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्शले मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च मूल्यवृद्धिले निर्माण व्यवसायीमाथि परेको आर्थिक तथा मानसिक दबाबलाई सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् । परिसङ्घ र चेम्बरले आज बेग्लाबेग्लै विज्ञप्ति जारी गर्दै निर्माण व्यवसायीको समस्या सम्बोधन गरी समग्र अर्थतन्त्रलाई चलायमान बनाउन आग्रह गरेका हुन् । डिजेल, मट्टितेल, बिटुमिनसहितका निर्माण सामग्री तथा ढुवानी लागतमा उच्च वृद्धि हुँदा निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको निर्माण व्यवसायीको भनाइ छ । मूल्यवृद्धिका कारण व्यवसायीलाई मात्रै १० अर्ब रुपैयाँभन्दा बढी नोक्सानी भइसकेको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च मूल्यवृद्धिले नेपाली अर्थव्यस्था प्रत्यक्ष प्रभावित भएको जनाउँदै परिसङ्घले निर्माण परियोजना प्रभावित हुँदा यससँग प्रत्यक्ष सरोकार राख्ने अन्य उद्योगमा शिथिलता आउन सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । निर्माण क्षेत्रमा बढ्दो लागत, ढिलो भुक्तानी तथा प्रशासनिक जटिलताका कारण निर्माण व्यवसायी समस्यामा परेको भन्दै चेम्बरले निर्माण क्षेत्रलाई थप सङ्कटमा जानबाट रोक्न आवश्यक नीति तथा निर्णय तत्काल लागू गर्न सरकारसँग आग्रह गरेको छ ।